बेबी ब्लुज
हाम्रा आमा, दिदीबैनीहरूले भनेको सुनिन्छ– सुत्केरी हुँदा कसैले सानो कुराभन्दा पनि चित्त दुख्ने, रुन मन लाग्ने, आफ्नो मान्छे वरिपरि नहुँदा नरमाइलो लाग्ने, धेरै झर्को लाग्ने, खान मन नलाग्ने, निन्द्रा नलाग्ने, चिन्ता लाग्ने आदि हुन्छ । हो, यही अवस्थालाई ‘बेबी ब्लुज’ अर्थात् ‘पोस्टपार्टम ब्लुज’ पनि भनिन्छ । बच्चा जन्मेको दुई÷तीन दिनपछि देखिने एक प्रकारको मनोसामाजिक समस्या हो यो । सामान्यतया पन्ध्र दिनपछि बिस्तारै ठीक हुँदै जान्छ । यतिवेला परिवारको साथ, माया, स्वच्छ हावा आवतजावत गर्ने ठाउँ तथा आफूलाई मनपर्ने कुराहरूको आवश्यकता पर्छ ।
भनिन्छ, आमा बन्नु नै महिलाका लागि सबैभन्दा खुसी तथा सन्तुष्टिको क्षण हो र आमा हुनुले धेरै खुसी मिल्छ, तर आमा बन्नेजति सबैले यो अनुभूति गर्न सक्दैनन् । आज एउटा भूमिका र वातावरणमा रहेको महिला, भोलिदेखि नै अर्को फरक भूमिका, जिम्मेवारी, वातावरण तथा पहिचानमा पुग्दाको अवस्थामा उसमा मनोवैज्ञानिक रूपमा केही समस्याहरू आउन सक्छन् । त्यसैले बच्चा जन्माएपछि सबैमा हामीले सोचेजस्तो खुसी, सन्तुष्टिको अवस्था मात्रै नहुन सक्छ ।
प्रसवकालीन मानसिक स्वास्थ्य (पेरिनेटल मेन्टल हेल्थ) भनेर बच्चा जन्मिनुअघि र पछिको आमाको मानसिक स्वास्थ्यको अवस्थालाई हेरिन्छ । विश्व स्वास्थ्य संगठनले गर्भावस्थाको बाइस हप्ता (१५४ दिन)देखि बच्चा जन्मेको एक हप्तासम्मको समयावधिलाई प्रसवकालीन अवस्थाका रूपमा परिभाषित गरेको छ । यो समयमा हर्मोनमा एक्कासि हुने परिवर्तन, शारीरक, आर्थिक, सामाजिक, पारिवारिक अवस्थाजस्ता कारणहरूले गर्दा महिलाको मानसिक स्वास्थ्य स्थितिमा नकारात्मक असर गर्न सक्छ । यसलाई पनि प्रसव अगाडि (प्रिनेटल) र प्रसव पछिको (पोस्टनेटल)को मानसिक अवस्थालाई हेर्नुपर्ने हुन्छ । शारीरिक स्वास्थ्यलाई मात्रै प्राथमिकतामा राख्ने गरेको हाम्रो समाजमा मानसिक स्वास्थ्यको कुरा सधैँ छायामा परेको छ । त्यसैले यसबारे कुरा गर्नु जरुरी छ ।
प्रिनेटल डिप्रेसन
गर्भावस्थाको पछिल्लो समय वा बच्चा जन्मिनु अगाडिको पछिल्लो समयमा यो समस्या देखिन सक्छ । डिप्रेसन (अवसाद) भन्नेबित्तिकै हाम्रो सामान्य बुझाइमा टोलाएर बस्ने, चिन्ता लिने, नबोल्ने आदि भनेर बुझिन्छ । डिप्रेसन शारीरिक लक्षणका रूपमा पनि देखिन्छ । जस्तै, टाउको दुख्नु, ढाड दुख्नु, पैताला झमझमाउनु/पोल्नु, पिसाब पोल्नु, पिसाब आउलाझैँ हुनु, तर नआउनु, पखाला लाग्नु, थकाइ लाग्नु, मधुमेहको जस्तो लक्षण देखिनु आदि ।
विनाकारण दुःखी भइरहनु, अरूवेला खुसी लाग्ने कुरामा पनि खुसी हुन नसक्नु, नरमाइलो मात्रै लाग्नु, निन्द्रा नलाग्नु वा धेरै निदाउनु, खान मन नलाग्नु, आफू बेकार छु भन्ने खालको हीनताभाव मनमा आउनु, चिन्ता लागिरहनु, अस्थिर हुनु, दैनिक क्रियाकलाप तथा आफ्नो रेखदेख गर्न छोड्नु, रुन मन लाग्नु, मर्ने कुरा गर्नु, आत्महत्याको सोचाइ आउनुजस्ता लक्षणहरू लगातार पन्ध्र दिनभन्दा बढी भएमा डिप्रेसनको लक्षण हुन सक्छन् । मनोपरामर्श तथा डाक्टरको सल्लाहअनुसार यसको उपचार गर्न सकिन्छ ।
पोस्टनेटल/पोस्टपार्टम डिप्रेसन
सामान्यतया पोस्टनेटल र पोस्टपार्टमलाई एउटै अर्थमा बुझिन्छ । अलिकति फरक के छ भने पोस्टनेटल भन्नाले बच्चा जन्मेपछिको आमाको अवस्थालाई बुझिन्छ भने पोस्टपार्टम भन्नाले आमा र बच्चा दुवैसँग सरोकार राख्छ । पोस्टपार्टम डिप्रेसन बच्चा जन्मेको एक महिनादेखि एक वर्षसम्ममा महिलाहरूमा देखिन सक्ने एक प्रकारको मनोसामाजिक समस्या हो । यसका लक्षणहरू यस्ता छन् :
बच्चादेखि झर्को लाग्नु, बच्चा र आफ्नो हेरचाह नगर्नु, म खराब आमा हो भन्ने खालको सोचाइ आइरहनु, विनाकारण दुःखी भइरहनु, नरमाइलो मात्रै लाग्नु, निन्द्रा नलाग्नु वा धेरै निदाउनु, खान मन नलाग्नु, आफू बेकार छु भन्ने हीनताभाव आउनु, चिन्ता लागिरहनु, अस्थिर हुनु, आफ्नो रेखदेख गर्न छोड्नु, सानो कुराले पनि विचलित हुनु, रोइरहनु, नकारात्मक सोचाइ आउनु, रिस उठ्नु, विनाकारण डराउनु, आत्तिनु, केही कुरामा ध्यान दिन नसक्नु, आफू र बच्चालाई आघात पुर्याउने सोचाइ आउनेजस्ता लक्षणहरू देखिन्छन् । यसले आत्महत्याको घटनासम्म पुर्याउन सक्छ भने बच्चालाई आघात पुर्याउने डर हुन्छ । त्यसैले हामीले यो कुरामा धेरै ख्याल राख्नुपर्ने हुन्छ ।
प्रजनन स्वास्थ्यबारे कानुनले महिलालाई अधिकार त दियो, तर समाजमा छोरा नभएको घर सधैँ अलिनो हुन्छ भन्दै सुत्केरी घाउमा नुन छर्किई नै रह्यो
यो समस्या यति समयसम्म रहन्छ भनेर निक्र्योल गर्न नसके तापनि सामान्यतया तीनदेखि ६ महिना वा त्योभन्दा बढी समयसम्म पनि रहन सक्छ । बच्चा जन्मेपछि एक्कासि हर्मोनमा आउने परिवर्तन, वंशाणुगत कारण, पारिवारिक वातावरण, पेसागत जीवन, आर्थिक अवस्था, सामाजिक परिवेश, पहिला पनि कुनैवेला डिप्रेसन भएको आदि कारणले पोस्टपार्टम डिप्रेसनको समस्या देखिने गर्दछ । अर्को कुरा जतिसुकै शिक्षित परिवार होस्, समाज या आफन्तबाट छोरा होस् भन्ने चाहना भएको ठाउँमा छोरी हुँदा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दिइने तनाव, महिलाको कारणले छोरा नभएको भन्ने गलत बुझाइ, विशेष ख्याल राख्नुपर्छ भन्ने ज्ञानको कमीजस्ता कुराहरूले पनि यस्तो समस्यामा पुर्याउन सक्छन् ।
मान्छेमा रहेको अन्धविश्वासलाई कुनै पनि शास्त्रको शस्त्रले परास्त गर्न नसक्ने रहेछ भन्ने उदाहरण काठमाडौं सहरकै एक शिक्षित परिवारको साथीले भर्खरै भोग्दै गरेको पीडालाई सम्झिन्छु । दोस्रो सन्तानका रूपमा पनि छोरी जन्माएकी उनलाई परिवारबाट छोरा नै चाहिन्छ भन्ने अप्रत्यक्ष रूपमा दिएको दबाबले यति तनावमा परिन् कि उनी ज्वानोको झोल पिउँदै, अप्रेसन गरेको खाटा नबसेको घाउ छाम्दै पछि फेरि अर्को बच्चा जन्माउने निर्णयमा पुगिन् । यस्तो अवस्था समाजमा अनगिन्ति हुन सक्छन् । प्रजनन स्वास्थ्यबारे कानुनले महिलालाई अधिकार त दियो, तर समाजमा छोरा नभएको घर सधैँ अलिनो हुन्छ भन्दै सुत्केरी घाउमा नुन छर्किई नै रह्यो ।
बच्चा जन्माइसकेपछिको अवस्था शारीरिक तथा मानसिक स्वास्थ्यका हिसाबले एक संवेदनशील अवस्था हो । यसवेलामा पाउनुपर्ने उचित हेरचाह तथा माया नपाएको खण्डमा तत्कालका लागि मात्रै नभएर दीर्घकालीन असरका रूपमा विभिन्न समस्याहरू रहिहन्छन् । यो विशेष अवस्था भएकै कारणले यसमा महिलाका भावानात्मक कुराहरू पनि जोडिएका हुन्छन् । जस्तै कोही महिला परिवारमा भोगेको दुःखमध्ये सुत्केरी अवस्थामा पाएको दुःखलाई बढी सम्झिने गर्छन् । कोही त्यहीवेला लगाएको ‘गुण’ सम्झेर खुसी हुने गर्छन् । एक अध्ययनअनुसार विश्वमा दशदेखि पन्ध्र प्रतिशत महिलामा यो समस्या देखिन्छ भने पचास प्रतिशतभन्दा बढी महिलामा बेबी ब्लुजको समस्या देखिने गरेको छ ।
अध्ययनका अनुसार आमालाई मात्रै नभएर कहिलेकाहीँ बाबुलाई पनि विभिन्न आर्थिक, सामाजिक, मनोवैज्ञानिक कारणले यो समस्या देखिन सक्छ । अमेरिकन साइकियाट्रिक एसोसिएसनद्वारा प्रकाशित जर्नलका अनुसार नौ प्रतिशत महिलामा प्रिनेटल डिप्रेसन र दश प्रतिशत महिलामा पोस्टपार्टम डिप्रेसनको समस्या देखिने गरेको छ । नेपालमा पनि यो समस्या उत्तिकै रहेको अध्ययनले देखाउँछ । यसको समाधानका लागि मनोपरामर्श, उपचार, सजिलो किसिमको शारीरिक व्यायाम तथा परिवारको साथ, हेरचाह र मायाको आवश्यकता पर्दछ ।
हाम्रो समाजमा मनोपरामर्श तथा मनोचिकित्सा सेवा सबैको पहुँचमा छैन, किनकि यो सेवाको विस्तार भएको छैन । त्यसैले यस्तो अवस्थामा परिवार तथा आफ्नो नजिकको व्यक्तिको ठूलो भूमिका रहन्छ । आमाले खाएको पौष्टिक तत्व मात्र नभएर आमाले पाएको खुसी पनि बच्चाले पाउने हुँदा शारीरिक स्वास्थ्यको हेरचाहसगैँ मानसिक स्वास्थ्यमा पनि ध्यान दिनुपर्ने हुन्छ । बच्चा मात्रै होइन, तिमी पनि हाम्रा लागि उत्तिकै महत्वपूर्ण छौ, तिम्रो हरेक अवस्थामा हामी तिम्रो साथमा हुनेछौँ भन्ने अनुभूति दिलाएर आत्मबल बलियो बनाउन सहयोग गर्न सकिन्छ ।
हरेक मान्छेको शारीरिक, मानसिक क्षमता फरक हुन्छ । एउटै अवस्थालाई पनि फरकफरक व्यक्तिले फरकफरक अनुभूति गर्छन् । त्यसैले यो अवस्थालाई लिएर एकअर्कालाई दाँज्नुहुँदैन । एउटी सुत्केरी आमालाई बाहिरी शरीरमा जति न्यानोपनको आवश्यक पर्छ, त्यति नै न्यानोपनको आवश्यकता उसको मनलाई पनि पर्छ । एउटा स्वस्थ आमाले मात्रै आफू र बच्चाको राम्रो ख्याल गर्न सक्छ । यो आमा र बच्चाको हेरचाह मात्रै नभएर एउटा संवेदनशील अवस्थाको विशेष ख्याल पनि हो । दुभाग्यवश कसैको जीवित बच्चा नजन्मिन सक्छ वा जन्मेर जीवित नरहन सक्छ । यस्तो अवस्थामा अझ बढी माया र हेरचाहको आवश्यकता पर्छ ।
एउटी सुत्केरी आमालाई बाहिरी शरीरमा जति न्यानोपनको आवश्यक पर्छ, त्यति नै न्यानोपनको आवश्यकता उसको मनलाई पनि पर्छ । एउटा स्वस्थ आमाले मात्रै आफू र बच्चाको राम्रो ख्याल गर्न सक्छ ।
अहिले देश संघीयतामा गइसकेको अवस्थामा स्थानीय तहले पनि स्वास्थ्य सेवालगायतका सामाजिक सेवाको जिम्मेवारी बहन गर्न थालेका छन् । राष्ट्रिय नीतिलाई मार्गदर्शनका रूपमा लिएर, अन्य सेवा तथा विकासका साथै आधारभूत स्वास्थ्य सेवासम्बन्धी नीति तथा कार्यक्रम बनाएर कार्यान्वयन गर्ने स्वायत्त अधिकार स्थानीय सरकारलाई छ । सबै स्थानीय तहले आफ्नो स्वास्थ्यसम्बन्धीका कार्यक्रममा मानसिक स्वास्थ्यलाई पनि जोड्नु एकदमै आवश्यक छ ।
उदाहरणका लागि– एस.बि.ए.तालिममा पठाउने स्वास्थ्यकर्मीलाई स्थानीय सरकारले सहकार्य गरेर एस.बि.ए. तालिमसगैँ थप केही दिन वा महिनाको मनोसामाजिक परामर्शको तालिमको व्यवस्था गर्ने हो भने तालिमबाट फर्केपछि आफूले सिकेको कुरा सहकर्मी तथा स्वास्थ्य स्वयंसेविकाहरूलाई सिकाउन सक्छन् ।
मानसिक स्वास्थ्यजस्तो कुरा महत्वपूर्ण हुँदाहुँदै पनि यो अहिलेसम्म आममान्छेको चासो र जानकारीको विषयमा परेन । राज्यले जनतालाई दिने स्वास्थ्य सेवाभित्र मानसिक स्वास्थ्य नजोडिएपछि यसमा चासो नभएको हो । विकासका नीति तथा कार्यक्रमहरूले पनि यसलाई छुन सकेन । नत्र पोलियो थोपा खुवाउनुपर्छ, बिरामी हुँदा अस्पताल जानुपर्छ, भनेर बुझ्नेले मानसिक समस्या पनि हुन सक्छ र यसको उपचार हुन्छ भनेर किन बुझेन ?
‘राष्ट्रिय स्वास्थ्य नीति २०७६’ ले सीप मिश्रित सेवाको अवधारणामार्फत विशेष थप तालिममार्फत मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवालाई प्राथमिक अस्पतालमार्फत सबै नागरिकको पहुँचमा पुर्याउने नीति लिएको छ । यो सकारात्मक कदम हो । शारीरिक स्वास्थ्यको छेउमा मानसिक स्वास्थ्य शब्द राखेर मात्रै यसको लाभ लिन सकिँदैन ।
शारीरिक स्वास्थ्य हेर्ने स्वास्थ्यकर्मीको छेउमा मानसिक स्वास्थ्यसम्बन्धी तालिम प्राप्त व्यक्ति वा स्वास्थ्यकर्मी पनि हुने हो भने स्वास्थ्यचौकी वा अस्पताल पुग्ने बिरामीले औषधिको पोको मात्रै होइन, आवश्यकताअनुसार मनोपरामर्श लिएर आत्मबल पनि पोको पारेर आउन सक्छन् र आफ्नो दैनिकी राम्रो बनाउन सक्छन् ।