• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
शरद पौडेल
२०७७ पौष १८ शनिबार ०८:४२:००
सम्झना

अलबिदा ! अथक तपस्वी

स्वनाम साथी भन्थे, ‘कति बाँच्ने होइन, कसका लागि, केका लागि र कति मानिसको मनमा बाँच्ने भन्ने मुख्य कुरा हो’

२०७७ पौष १८ शनिबार ०८:४२:००
शरद पौडेल

स्वनाम (सायद यो नाम एकता केन्द्र निर्माणको समयमा) निनु चापागाईं दाइले न्वारान गरिदिएको नाम थियो । हो, उही स्वनाम साथी, एक दृढ, अविचलित तपस्वी श्रमजीवीहरूको नवीन संसारका सम्भावनाबारे ध्यानस्थ हुँदाहुँदै यही मंसिर ११ गते अस्त भयो । अगणित रोगहरूसँग धेरै वर्षअघिदेखि पौँठेजोरी खेलेर, रोगलाई पराजित गर्दै जीवन बाँचिरहेको एउटा बहुआयामिक महापात्र र तपस्वी गहिरो रिक्तता छाडी र पत्याउनै गाह्रो हुने गरी हामीबाट बिदा भयो । 


जीवनसँगै मृत्युको अनिवार्यता र स्वाभाविकतालाई उसले बहुतखुब बुझेको थियो । हो, स्वनाम जति गहिरोसँग जीवन र मृत्यु बुझ्थ्यो हामी सामान्य चेतले त्यही गहिराइमा जीवन र मृत्युको स्वाभाविकता सायदै बुझ्छौँ । नजिकबाट देखिजान्नेहरूलाई थाहा छ– आफ्नो पारिवारिक र निजी सम्भ्रान्त परिवेशलाई युवावयमै चटक्क बिर्सेर सिंगैै संसारलाई सम्भ्रान्त बनाउने कम्युनिस्ट यात्रामा निस्केको, कम्युनिस्ट हुन हिँडेको तपस्वीले जीवनलाई मृदुमुस्कानका साथ उत्सवमय ढंगबाट बाँच्यो । सुख त यसै पनि ओठमा मुस्कानका लागि काफी थियो, तर तपस्वी स्वनामले हर दुःख र समस्यालाई पनि ओठमा मुस्कान भरेरै जित्यो र बाँच्यो । 


कम्युनिस्ट जातका कम्युनिस्ट जप्ने अरूहरू कति कम्युनिस्ट भए थाहा भएन, तर तपस्वी स्वनामले अलिक फरक अभ्यासमा जीवन जियो । उसले एक दिनका २४ घन्टामा एकाध मिनेट नै सही कम्युनिस्ट हुने अभ्यास गर्‍यो । कसैको शाषक नहुनु, कसैबाट शाषित नहुनु, सबैखाले मालिक्याइँ र दासपनाबाट समूल बाहिर निस्कनु, आफ्नो जीवनका सबै आयामका मालिक आफैँ हुने अभ्यास आजै र यहीँ आफैँबाट सुरू गर्नु, निजी सम्पत्तिबाट बाहिर निस्कनु, साम्यवादलाई सुदूर भविष्यको विषय नबनाई जे सकेको आजै आफूबाट थालिहाल्नु उसको कम्युनिस्ट बन्ने र कम्युनिस्ट समाज अनि संसार बनाउने अभ्यासतिरको पहिलो पाइलो थियो । 


आफूसँग नजिक आएका सबैजसो मित्रहरूलाई एकैछिन सही कम्युनिस्ट बनेर जिउन उसले निरन्तर आग्रह गरिरह्यो । तर, सुन्दा सरल र सहजजस्तो लाग्ने तपस्वी महापात्रको यो भनाइभित्रको मर्मसम्मै पस्नु, बुझ्नु र अभ्यासमा सामेल हुनु धेरै नै कष्टकर थियो । त्यसैले, त यो अभ्यास पनि तपस्वीको एक्लो अभ्यास र तपस्याजस्तो थियो ।

 

मालिक हुन र दासतामा रमाउन पल्केका र बाध्य भएका दुवैथरी हामीले तपस्वीलाई आफ्नो साथी त मान्यौैँ तर उसको चुरो कुरामा खास ध्यान लगाउन सकेनौँ । साथी भनिएकाहरूको रुचि र बाध्यताबारे तपस्वी बहुत खुब जानकार थियो, त्यसैले त उसले मुस्कान भरेरै मित्रताबीचका भव्य जटिलतालाई पनि सामान्यीकरण गर्न कोसिस गरिरह्यो । अरू थोक बिर्सेर मित्रतालाई जोगाउन कोसिस गरिरह्यो । विराट आत्मिक सतहमा उर्लिरहेका अनेकानेक अरुचिहरू त महापात्रभित्र पनि निश्चय नै हुँदो हो, तर तिनलाई तपस्वीले कसैसामु पस्केन । बरु त्यो कालविष आफूले नै पिइरह्यो र साथीहरू मुखेन्जी सदैव मुस्कुराइरह्यो ।


तत्कालीन समयका ठूला ठेकेदार नुयन्द्रप्रसाद शेरचनको कुलीन, सम्भ्रान्त र धनी पारिवारिक परिवेश तथा म्याग्दीको ग्रामीण जनजीवनले करिब सातवर्षे उमेरसम्ममा स्वनामको कलिलो दिमागको ठूलो हिस्सामा तत्कालीन सामाजिक मान्यता, ठीक र बेठीक, असल र खराब भरिदिइसकेकै थियो । त्यही ठीक र बेठीक, असल र खराब अनि पाप र धर्म, स्वर्ग र नर्कसहितका सामाजिक मूल्य र मान्यता टाउकोमा बोकेर थप औपचारिक अध्ययनका लागि भन्दै म्याग्दीको गाउँघरबाट २०१६ सालमा दार्जिलिङको बोर्डिङतिर हान्निएको स्वनाम काकतालीले काठमाडाैं आइपुग्यो । आफ्नो जेठा दाजुसँगको काठमाडौंको बसाइ, दाजुको क्रान्तिकारिता र दाजुका माक्र्सवादी साथीहरूसँगको हिमचिम र संगत स्वनाम महापात्रको अर्काे र नवीन पाठशाला बन्यो । यही क्रान्तिकारी पाठशालाले स्वनामलाई श्रमजीवीको उन्मुक्तिका लागि २०२१/२२ सालदेखि जीवन पर्यन्त तपस्यारत रहने तपस्वी महापात्र बनायो । 


हो, स्वनाम दिमागमा पुराना रूढीसहित म्याग्दीको अर्मान राताढुंगे गाउँबाट काठमाडौं आएको हो । तर, जब काठमाडौमा झर्‍यो, बिस्तारै आफ्नै जेठा दाजुलगायतका माक्र्सवादी व्यक्तित्वहरू र क्रान्तिकारी आन्दोलनसँग उसको भेट भयो । स्वाभाविक रूपमा पुराना रूढीसहितको स्वनामभित्र द्वन्द्वात्मक भौतिकवादको भेटपछि आँधीबेहरी आयो ।

ऊभित्र अन्तद्र्वन्द मच्चियो । तर, यहाँसम्म आइपुग्दा माक्र्सवादी आन्दोलनले निर्माण गर्न चाहेको सत्ताहीनता, सबैखाले शोषणहीनता, र शासनहीनताको सुन्दर न्यायपूर्ण संसारको तस्बिरले स्वनामको आत्मिक तहलाई वशीभूत गरिसकेको थियो । ऊ निर्वगीयताका लागि वर्गीय समाजविरूद्ध क्रान्तिको खेतीका लागि तयार भइरहेको थियो । हो, यसरी पुराना रूढीवादी विचारसहितको शशी शेरचन आफ्ना दिमागमा कायापलट, कायाकल्प, विस्फोट र विद्रोह गर्दै, क्रमशः नयाँ साम्यवादी संसार निर्माणका लागि गरिने क्रान्तिका लागि तपस्यारत तपस्वी महापात्रमा बन्दै र फेरिँदै गयो । ऊ फेरियो, अर्को अर्थमा तपस्वी महापात्र स्वनामको पुनर्जन्म भयो । 


गर्न हुने, गर्न पर्ने र गर्न सकिने आदर्श र व्यवहारबीचको अन्तर्विरोधमा कुशलतापूर्वक तैरन तपस्यारत एउटा तपस्वी महापात्र । साथीहरूका शब्दमा ‘निराकार, व्यक्त÷अव्यक्तभन्दा पर बोधमय, सत्चित् अनि आनन्द ।’ सर्वहारा आन्दोलन र व्यवहारको सर्वनाम बन्दै गयो त्यो महापात्र– अर्थात् स्वनाम साथी । ‘कति बाँच्ने होइन, कसका लागि, केका लागि बाँच्ने र कति मानिसको मनमा बाँच्ने भन्ने मुख्य कुरा हो’ भन्ने मर्मलाई आत्मसात् गरेको तपस्वी महापात्रले, आफ्ना भनाइ जसरी नै सिंगैै जिन्दगी गरिखाने वर्गका मानिसहरूको पक्षमा निर्भीकतापूर्वक, शालीनताका साथ अगणित मानिसहरूको मुटुमा प्रेमपूर्वक बाँच्यो । 


‘यो साहुहरूको व्यवस्था हो, यतिवेला कम्युनिस्ट भनिने मेरा साराजसो साथीहरू पनि तिनै साहुको कन्तुरमा अझ सम्पत्ति थपिदिन अथक लाग्नु भएको छ । उहाँहरू त्यसैमा रमाउनु भएको छ । मचाहिँ त्यता समय दिन भ्याउन्न, र मेरो रुचि पनि त्यता रहेन । बरु मैले गर्नुपर्ने, गर्न सक्ने, र गर्न हुने कामका सूची साहु कमरेडहरूका भन्दा अलिक भिन्न छन् ।’ हो, तपस्वी महापात्रले आफ्नो सक्रियता र तपस्या पद, पैसा र प्रतिष्ठामा कहिल्यै लगाएन । बरु ऊ त पुँजीवादमा गहिरिँदै गएको संकट निहारिरहेको, त्यसमाथि चिन्तन गरिरहेको थियो । महापात्रको संष्लेषण थियो–आजको संकटग्रस्त पुँजीवादको अन्त्यपछि मानव समाज चाहेर नचाहेर साम्यवादसम्म नै पुग्नेछ । त्यसैले त तपस्वीको सम्पूर्ण प्रयत्न र ध्यान साम्यवादसम्म मानव समाजले हिँडिरहेको गतिलाई अलिक तीव्र बनाउन सकिन्छ कि भन्नेतिर केन्द्रित थियो । 

कहिले अभिभावकजस्तो, कहिले साथीजस्तो, सरलजस्तो, जटिलजस्तो, गुरुजस्तो, शिष्यजस्तो, योगीजस्तो, नेताजस्तो उसलाई अनेक भावमा, अनगिन्ती भंगीमामा सम्झन र बुझ्न सकिन्छ


तपस्वी महापात्रले सधैँभरि कम्युनिस्ट आन्दोलनको गुणवत्तालाई कम्युनिस्ट भनिने नेता कार्यकर्ताहरूका विश्लेषण गर्ने, अनुभूति गर्ने क्षमताको बोधको स्तरमा खोजिरह्यो । संगठनका नेता कार्यकर्ताको बोधको स्तर, अनुभूतिको स्तर जति विस्तृत विविध र व्यापक गहिरो र उच्च रहन्छ आन्दोलन त्यति नै समृद्धशाली, सुन्दर, व्यापक र क्रान्तिकारी हुन्छ भन्ने बुझाइ तपस्वीमा थियो । ऊ ठान्थ्यो– त्यसका लागि आकुलव्याकुल होइन, ताकि चित्त स्थिर हुन जरुरी छ । त्यही चित्त स्थिरताका लागि उसले ध्यानलाई साधन बनाउने सम्भावनाबारे सोच्यो, आफूले प्रयोग गर्‍यो र साथीहरूलाई सुनायो । ऊ भन्थ्यो– ध्यानले हामीलाई यो समाजका कुरूपता देखेर विक्षिप्त हुनबाट आफूलाई जोगाउन र सुन्दरतालाई अभिवृद्धि गर्दै आफूभित्र क्रान्तिकारिता बढाउन मद्दत गर्छ ।


तपस्वीले आफ्नो धोद्रो र बेसुरा स्वरमै सही यु जे पोतर, सुफि सन्त कवीर, फैज अहमद फैज, मजाज, रामेश र रायन आदिसम्मका जीवनमुख र क्रान्तिचेतका गीत, दोहा र गजलहरू गाउन कोसिस गर्‍यो । आफ्ना भनाइलाई अरूसामु सहजताका साथ सम्प्रेषित गर्न तपस्वी महापात्रले सन्दर्भअनुसार पञ्चतन्त्रका, अकबर वीरबलका, जातक कथाका, नसरुद्दिनका, चेखबका, गोर्कीका, प्रेमचन्द्रका तथा कतिपय सन्दर्भमा सेक्सपियरका, लाओत्सुका, शंकराचार्यदेखि रजनीश पाउलो फ्रेरीसम्मका कथा, नाटक, सोध भनाइ तथा अनगिन्ती नेपाली लोककथा र अनेकन पूर्वीय प्राचीन ग्रन्थहरूको बहुतै लोभलाग्दो प्रयोग गर्‍यो ।


जीवनमा एकबार भेटिनेजति सबैसँग ऊ जीवन्त भयो, तर ऊ भने आफ्नो सोचअनुसार नै कर्कलामाथि बसेको पानीको थोपाजस्तो बन्यो । त्यसैले, ऊ सबैको भयो र भएन पनि । कमलको फूललाई स्नेह गर्नेले कमलको फूलको तलको किचड र हिलोलाई घिन गर्न मिल्दैन कि ? महापात्र आफ्नो ठूलो निधार खुम्च्याएर फूलसँगै हिलोबारे पनि चिन्तन गरिरहेको भेटिन्थ्यो । हो, उसले सधैँभरि सुखसँग दुःखलाई, पाउनुसँग गुमाउनुलाई, हाँसोसँग आँसुलाई यसरी नै सधैँ एकसँग अर्कालाई विपरीतमा राखेर हेर्ने र बुझ्ने कोसिस गरिरह्यो । 


नयाँ र न्यायपूर्ण साम्यवादी संसार निर्माणको आन्दोलनमा हेलिएको महापात्र स्वनामले, विभिन्न नामका कम्युनिस्ट पार्टीमा रहेर काम गर्‍यो, अझ भनौँ एउटा तपस्वी तपस्यारत रहिरह्यो । श्यामप्रसादजीको नेतृत्वको नेकपादेखि सुरु भएको महापात्रको संगठित यात्रा आफ्नै नेतृत्वको सर्वहारावादी कम्युनिस्ट लिग हुँदै अन्तमा प्रचण्ड नेतृत्वको माओवादी केन्द्रसम्म रह्यो ।


एउटा यस्तो समय थियो, जतिवेला चीनमा कमरेड माओको नेतृत्वमा सांस्कृतिक क्रान्ति चलिरहेको थियो, र यता नेपालको पूर्वी सीमामा अवस्थित भारतको नक्सालबाडीमा चारु मजुमदारको वर्गशत्रु सफाया अभियान चलिरहेको थियो । ठीक त्यही समयतिर स्वनाम, खगेन्द्र संग्रौला, शारदारमण, गणेश पण्डितलगायतका युवाहरूको जत्थाले बुर्जुवा शिक्षा बहिष्कार गर्दै कम्युनिस्ट क्रान्तिका खातिर गाउँघरतिर गएर गाउँलेहरूलाई कहिले चौतारीमा कहिले बाटोघाटोमा रोकेरसमेत माओको रातो पुस्तक सुनाउन सुरु गरे ।

 

सचेत पार्दै, कम्युनिस्ट पार्टीमा श्रमजीवी मानिसहरूलाई संगठित गर्न कोसिस गरे । यही मेसोमा स्वनाम महापात्रले पनि मातातीर्थतिरबाट दाउरा बेच्न काठमाडौं सहरतिर आउने दाउरेहरू, भरियाहरू, काठमाडौंका चोकगल्लीमा रिक्सा, ठेलागाडा चलाउने मजदुर श्रमिकहरूलाई संगठित गर्ने, रातो पुस्तक पढाउने याने कि क्रान्तिको कष्टकर वेदीमा आफूलाई होम्यो । त्यही क्रममा उसले खुला आकाशमुनि सडकपेटीमा बोरा ओढेर सुत्नुको अनुभूति सँगाल्यो । त्यही क्रममा नै उसले भोकको आगो र त्यसले हृदयमा उमार्ने शोक र विद्रोहलाई गहिरोसँग अनुभूत गर्‍यो । 


कम्युनिस्ट क्रान्तिकारी बनेको तपस्वी महापात्रका सुरुवाती दिनहरू अरू कम्युनिस्ट क्रान्तिकारीहरूजस्तै केही तर्कशीलता, केही सक्रियता र लेखिएका कुरा भट्याउनुमा नै सीमित थियो । तर, समयक्रममा तपस्वी ब्युँझियो, र उसले अरूहरूमा र आफैँभित्र पनि कथनी र करनीमा एकरूपता खोज्यो । केही अपवाद थिए, जो बोलीजस्तै व्यवहार पनि गर्ने कोसिस गरिरहेका थिए । बाँकी त मालिक र दासताको चेत र व्यवहारसहित कम्युनिस्ट आन्दोलनमा थिए । यो तितो यथार्थले तपस्वीको दिमाग रन्थनायो ।

 

रेडिमेड उत्तर अभ्यास गरिरहेको र त्यसमै रमाएको तपस्वी त्यसपछि भने के ? किन ? कसरी ? कसले ? कसका लागि ? जस्ता जब्बर सवालसहित नयाँ शैलीमा देखापर्‍यो । प्रश्न गर्ने उसको यो नयाँ शैली, आदेशको लेनदेनमा रमाइरहेको परम्परागत कम्युनिस्ट आन्दोलनका लागि कत्ति पनि प्रिय थिएन । हर विषयका सवालमा उत्रिरहेको महापात्रका अघिल्तिर झन्पछि झन् नयाँ सवालगत चुनौती देखा पर्न थाले । उसका लागि कम्युनिस्ट आन्दोलन अब राजनीतिमा, राज्यसत्ता प्राप्तिमा मात्र सीमित रहेन । तपस्वीको तपस्याको क्षेत्र झन् पछि झन् विराट हुँदै गयो । 

 

समयक्रममा तपस्वी ब्युँझियो, र उसले अरूहरूमा र आफैँभित्र पनि कथनी र करनीमा एकरूपता खोज्यो । केही अपवाद थिए, जो बोलीजस्तै व्यवहार पनि गर्ने कोसिस गरिरहेका थिए । बाँकी त मालिक र दासताको चेत र व्यवहारसहित कम्युनिस्ट आन्दोलनमा थिए । 


आज र यहीँ आफैबाट साम्यवादको अभ्यासको थालनी भनिरहेको र कोसिस पनि गरिरहेको महापात्रले यही मेसोमा पूर्वीय तथा पाश्चात्य दर्शन, भूगोल, खगोल, विज्ञानका नयाँ आयामलगायत पर्यावरण, कृषि, र प्रविधिका धेरै विषयमा आफूलाई केन्द्रित गर्‍यो । ज्ञानसँगै ध्यानको महत्तालाई पनि बुझ्यो र कम्युनिस्ट आन्दोलनमा ओझेल बनिरहेको मान्छेका मनोविज्ञानबारे विमर्शमा उत्रियो । तिनलाई कम्युनिस्ट आन्दोलनले अनदेखा गर्न नहुने निष्कर्षमा पुग्यो । निजी सम्पत्तिजन्य मानसिकताबाट बाहिर निस्केको यो तपस्वी महापात्र, जसले जीवनकालमा अनेकन आरोह–अवरोह व्यहोर्‍यो, लाञ्छना र आरोप व्यहोर्‍यो । तर, पनि कम्युनिस्ट समाजको निर्माणको (जहाँ निर्वगीयता, वर्गविहीनता, सत्ताविहीनता, र शोषणविहीनताको दुनियाँ सम्भव छ) चिन्तनमा आफूलाई अविचलित ढंगले तपस्यारत राखिरह्यो । र, अरूहरूलाई पनि उत्पे्ररणा, शिक्षा उज्यालो पस्किइरह्यो । 


कहिले अभिभावकजस्तो, कहिले साथीजस्तो, कहिले काखमा खेलिरहेको बालकजस्तो लागिरहने । अबोधजस्तो, दृढ निश्चयीजस्तो, सरलजस्तो, जटिलजस्तो, गुरुजस्तो, शिष्यजस्तो, योगी–ध्यानी र आध्यात्मिक हो किजस्तो, भौतिकवादी द्वन्द्ववादका प्रखर व्याख्याताजस्तो, नेताजस्तो कार्यकर्ताजस्तो, वक्ताजस्तो, शालीन श्रोताजस्तो । वृद्धहरूको संगतमा रहँदा महावृद्धजस्तो, युवाहरू बीचमा भर्भराउँदो तातो र रातो युवाजस्तो र वालकहरूका बीच सबैभन्दा बालखाजस्तो त्यो महापात्र, त्यो तपस्वीको जीवनतिर फर्केर हेर्दा उसलाई अनेक भावहरूमा, अनगिन्ती भंगीमामा सम्झन र बुझ्न सकिन्छ । 


त्रिचन्द्रको विद्यार्थी जीवनमा मन्डलेका आँखामा खुर्सानीको धुलो छर्केर सुरु भएको तपस्वीको सडक आन्दोलन, विकसित र परिमार्जित हुँदै विभिन्न किसान संघर्ष, पुर्तिघाट मनी एक्सन, अग्रगमनका लागि विभिन्न समयमा भएका जनआन्दोलन‌, ज्ञान, ध्यान र योगका लागि माक्र्सीय गुरुकुल, मानव केन्द्रित जैविक अभियान, सञ्जीवनी, सीमा बचाऊ, यमसिसीको विरोधजस्ता विविध फलक र आयाममा देख्न सकिन्छ । आफ्नै अगुवाइमा र सहभागितामा थालेका केही महत्वपूर्ण काम अधुरै छाडेर र अझ भनौँ साथीहरूलाई जिम्मा लगाएर यतिवेला तपस्वीको महाप्रस्थान भएको छ । तपस्वी महापात्रको विलयको आलो घाउले तपस्वीका मित्र भनिनेहरूको मनको कमानी हल्लाएको छ । समय बित्दै जाँदा मन अलिक दह्रो भएपछि महापात्रका तपस्याबारे थप स्मृति गाथा लेखिने नै छन् । यो क्षणमा यति मात्र भनँु– अलबिदा, महापात्र ! अलबिदा, अथक तपस्वी !! अलबिदा प्यारा, प्रिय स्वनाम साथी ।