• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
प्रकाश धौलाकोटी
२०७७ पौष २५ शनिबार ०९:१०:००
सम्झना

सिंहदरबार अघिको त्यो आन्दोलन अझै बिर्सेको छैन

२०७७ पौष २५ शनिबार ०९:१०:००
प्रकाश धौलाकोटी

४८ दिनसम्म चलेको बादी आन्दोलनको नेतृत्व गरेकी उमादेवी बादी सन् २०१८ मा विश्वका एक सय प्रभावशाली महिलामध्ये दसौँ स्थानमा परिन् । हाल सुदूरपश्चिम प्रदेशमा कांग्रेसबाट समानुपातिक सांसद रहेकी बादीसँग प्रकाश धौलाकोटीले गरेको संवाद :

तपाईंहरूले काठमाडौंका सडक र सिंहदरबारअघि ४८ दिनसम्म आन्दोलन गर्नुभएको पनि १३ वर्ष पुगेछ । अहिले ती दिन सम्झिनुहुन्छ कि बिर्सिनुभयो ?


ती दिनहरू कसरी बिर्सिन सक्छु र ? सिंहदरबार अघिको त्यो आन्दोलन अझै बिर्सेको छैन । मेरा लागि सबैभन्दा अप्ठ्यारा दिन हुन्, ती र सुनौला दिनहरू पनि । त्यसैले ती क्षण म हरेक दिन सम्झिरहन्छु । 


तपाईंलाई आज पनि झस्काइरहने त्यसवेलाको कुनै क्षण छ ? 


झस्काइरहने घटना त कति छन् कति ! त्यसवेला हामीसँग जिउ ढाक्ने कपडासम्म थिएन । न खाने ठाउँ थियो, न बस्ने ठाउँ थियो । धेरै अनुरोध गरेपछि वनकालीमा बस्ने ठाउँ पायौँ । हाम्रा दिदी–बहिनी कति त सुत्केरी पनि थिए, कतिपय वृद्ध महिला पनि थिए ।

 

एक दिन हामी बिहान चिउरा खाएर माइतीघर पुग्यौँ, हामीलाई समातेर प्रहरीले दिनभरि थुन्यो । बेलुकी भोकै वनकाली फर्कियौँ । त्यसवेला हामीसँग चिउरासमेत थिएन । हामीसँग केही थिएन, न दाउरा, न रासन, न साथमा पैसा । चौतारामा बसेर सुस्ताउनुबाहेक केही उपाय थिएन । केही साथीहरू चिसो लागेर बिरामी परेका थिए । केहीलाई ज्वरो आएको थियो । त्यसवेला म आत्तिएकी थिएँ, के गर्ने ? कसो गर्ने ? भनेर । त्यही वेला एकजना महिलाले ऋणस्वरूप पैसा दिनुभयो । त्यही पैसाले त्यो साँझको छाक टार्‍यौँ, त्यो पलले मलाई अहिले पनि झस्काइरहन्छ ।


अर्कोचाहिँ, तिजको वेला थियो । वरिपरि अरू महिला मिठो मिठो खाएर नाचिरहेका थिए । हामीचाहिँ सडकमा नारा लगाइरहेका थियौँ । हामी भन्दै थियौँ, ‘आमाको नाममा नागरिकता दे !’ बादी महिलाहरूको स्वास्थ्य सुरक्षा र पुनस्र्थापना गर् !’ ‘हैन भने हामीलाई गोली हानेर मार् !’ त्यो पलले आज पनि झस्काइरहन्छ । 


राज्यसँग सम्झौता भएको त्यस दिनलाई तपाईं आज विजयको दिनका रूपमा सम्झिनुहुन्छ कि धोकाको दिनको रूपमा सम्झिनुहुन्छ ? 


त्यस दिनलाई म विजयकै रूपमा सम्झिन्छु । किनभने हाम्रो सानो समुदाय हो । हामीले त्यो आन्दोलनको उपलब्धिका रूपमा भएको सम्झौता कार्यान्वयन गर भनेर आज पनि भनिरहेका छौँ । त्यो सम्झौता देखाएर आज पनि बादीहरूले गाउँपालिका, नगरपालिका र सरकारसँग बजेट देऊ भनिरहेका छन् । शिक्षा र स्वास्थ्य देऊ, हामीलाई पुनस्र्थापना गर भनेर माग गर्न पाएका छौँ । बादी महिलाका लागि केही गर्नुस् भनेर दबाब दिन पाएका छौँ । त्यहीवेला थोरै भए पनि बजेटमार्फत बादी महिलाहरूको समस्या सम्बोधन गर्ने अभ्यास सुरु भयो । त्यसैले म त्यो सम्झौतालाई विजयकै रूपमा लिन्छु । 


त्यसवेला भएका सम्झौता के–के पूरा भए ? के–के बाँकी छन् ? 


सबैभन्दा ठूलो कुरा त आमाको नामबाट नागरिकता पाउने कुरा हो । त्यही आन्दोलनकै जगमा यो मुद्दा स्थापित भयो । बादी महिलालाई मात्रै होइन, सबै महिलालाई आफ्ना सन्तानलाई नागरिकता बनाइदिन पाउने अवस्था बन्यो । अर्को, हामीले सरकारलाई बादी आयोग गठन गर्न भनेका थियौँ, सरकारले बादी विकास समिति गठन गर्‍यो ।

 

समितिले केही हदसम्म काम गरेको छ । हिजो पुस्तौँदेखि खोलामा, पाखामा, सडकको दायाँबायाँ बस्दै आएका बादी समुदायलाई अहिले सरकारले ल्याएको जनता आवास कार्यक्रमले घर निर्माण गरिदिएर सहयोग पुर्‍याएको छ । तर, अझैसम्म पनि सबै बादीहरूको पुनस्र्थापना भएको छैन । भूमि पाएका छैनन् । घर छैन । रोजगारी छैन । वर्षौंसम्म शोषणमा, उत्पीडनमा परेका बादी महिलाहरू र उनीहरूबाट जन्मिएका बच्चाहरूको पठनपाठनसहित रोजगारीको व्यवस्था हुन सकेको छैन । त्यस्ता अझै धेरै माग थिए, तर सरकारले त्यसतर्फ चासो दिएको छैन । 


हरेक आन्दोलनपछि प्रमुख नेताहरूले त्यो आन्दोलनको फाइदा लिने बाँकी भुइँको मान्छे भुइँमै छाडिने परम्परा नेपालमा छ । तपाईं त सांसद हुनुभयो । ४८ दिनसम्म सँगै आन्दोलन गरेका तपाईंका सहयात्रीहरू कहाँ छन् यतिवेला ? 


म उहाँहरूलाई सम्झिरहेकी छु । हामीलाई त्यसवेला धेरैले सहयोग पनि गर्नुभयो । म अहिले पनि उहाँहरूका बारेमा जानकार छु । उहाँहरू सबैको नाम लिन मन छ, तर यहाँ सम्भव नहोला । म त्यही आन्दोलनको जगमा सांसद भएँ । मेरो समुदायको साथ मलाई छ, र म समुदायको साथमा छु । मलाई त्यही बादी समुदायले यहाँ पुर्‍याएको हो । त्यसैले म ती सबै बादी महिलाहरूको प्रतिनिधि हुँ । मैले उहाँहरूका बारेमा जानकारी नराख्ने हो भने कसले राखिदिन्छ र ? उहाँहरूलाई मैले मात्र होइन, मेरो समुदायले नै कहिल्यै भुल्नेछैन । 


बितेको १३ वर्षमा बादी महिलाको जीवनमा चाहिँ के परिवर्तन भयो त ?


त्यो आन्दोलनपछि सबैभन्दा मुख्य कुरा बादी जातिले आफ्नो अधिकारका लागि आफैँ बोल्नुपर्छ, आफ्ना दुःख, पीडा र मुद्दाहरू आफैँले उठाउनुपर्छ भन्ने जनचेतनाको विकास भयो । त्योभन्दा अगाडि पनि बादीहरू राजनीतिमा थिए, सामाजिक क्रियाकलाप, कार्यक्रम, गोष्ठीहरूमा थिए, तर आफ्ना कुरा बोल्न सक्दैनथे । पीडा सुनाउन सक्दैनथे । तर, आज निडर भएर उनीहरूले आफ्ना कुरा सुनाउन सक्छन् ।

 

आफ्नो हक माग्न सक्छन् । सरकारसमक्ष आफ्ना कुरा राख्न सक्ने भएका छन् । वडामा, गाउँपालिकामा, नगरपालिकामा अहिले बादीको आवाज पुगेको छ । अहिले बादी बच्चाहरू स्कुल जान्छन् । बादी महिलाहरू सीप सिकेर आयआर्जनमा लाग्न थालेका छन् । हिजोको पेसाले गर्दा हाम्रो निधारमा कलंकको दाग लागेको छ, बादी समुदाय भन्नेबित्तिकै समाजले हेर्ने दृष्टिकोण किन गलत छ ? भनेर प्रश्न गर्न सक्ने भएका छन् । तर, सबै कुरा ठिकठाक भएकोचाहिँ होइन ।

 

अझै पनि समाजले र सरकारले बादी दिदी–बहिनीहरूको पीडालाई बुझ्न सकेका छैनन् । सरकारले बादी महिलाहरूलाई जसरी पुनस्र्थापना गर्नुपर्ने हो, त्यसो गरेको छैन । बादी महिलाप्रतिको दृष्टिकोण अझै पनि धमिलो नै छ । 


सरकारले बादी विकास समिति गठन गरेको थियो । तर, अहिले त्यो समिति बजेट, योजना र कार्यक्रमविहीन बनेको छ भन्ने सुनिन्छ नि ! 

हो । सरकारले बादी विकास समितिलाई कामविहीन बनाइदिएको छ । हामीले त्यत्रो आन्दोलन गरेर पाएको उपलब्धि हो यो । बादीहरूको पुनस्र्थापनाका लागि विकास समितिले काम गर्छ भन्ने आशा गरेका थियौँ । तर, काम बनेन । समिति गठन गरेर मात्रै पुग्दैन । बजेट, योजना र कार्यक्रम चाहिन्छ भनेर मैले पटक–पटक कुरा उठाएकी छु ।

 

म आफैँले राष्ट्रपतिज्यूलाई भेटेर पनि त्यसबारे कुरा राखेकी छु । प्रधानमन्त्रीज्यूलाई पनि भेटेर ज्ञापनपत्र बुझाएकी छु । तर, सरकारले त्यसलाई संस्थागत र दिगो बनाउन चाहेको छैन । मैले त सबै प्रदेशमा समितिको शाखा स्थापनाका लागि समेत भनिरहेकी छु । तर, अहिले त समितिको कार्यालयमा साथीहरूले तलबसमेत खान पाएका छैनन् भन्ने सुनेकी छु । 


अहिले बादी महिलाप्रति समाजले हेर्ने दृष्टिकोण फेरिएको छ कि उस्तै छ ?


समाजले बादी महिलालाई हेर्ने दृष्टिकोण पहिलेभन्दा अहिले धेरै फरक छ । पूरै परिवर्तन भएको छ भन्दिनँ, तर केही परिवर्तनचाहिँ अवश्य भएको छ । त्यसको एउटा उदाहरण म पनि हुँ । एउटा बादी समुदायको महिला, जसले राम्रोसँग बोल्न जान्दैन, राम्रोसँग लेखपढ गर्न सक्दैन, उसलाई प्रदेश सांसद बनाइदियो ।

 

हिजो हामी समाजमा अपहेलित भएर बस्थ्यौँ, सामाजिक कार्यक्रम, सभा–सम्मेलन, गोष्ठी, गाउँका बिहेभोजहरूमा जस्तो अपमान खेप्नुपथ्र्यो, त्योचाहिँ अहिले अलि फरक भएको छ । अहिले त्यस्ता कार्यक्रममा बोलाउँछन्, र सम्मानपूर्वक व्यवहार गर्छन् । हामीले पहिलेभन्दा अहिले केही न केही सम्मानित समाजमा बाँच्न पाएका छौँ । 


बादी महिलाहरूले सबै तिरस्कारबाट मुक्त आत्मसम्मानपूर्ण जीवन कसरी प्राप्त गर्न सक्छन् ?
हामीले सरकारलाई ०६५ पुस ११ गते एउटा प्रतिवेदन बुझाएका थियौँ, त्यही आधारमा सरकारले ०६५ पुस २३ गते मन्त्रिपरिषद्बाट निर्णय पनि गरेको थियो । हामीले त्यतिवेलै सबै माग स्पष्ट राखेका छौँ, निरन्तर भन्दै आएको छौँ, तर अहिलेसम्म पनि सरकारले कार्यान्वयन गरेको छैन ।

 

जति पनि यौन–शोषणमा परेका दिदीबहिनीहरू छन्, उनीहरूको पुनस्र्थापना गरिनुपर्छ । शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गरिदिनुपर्छ । सरकारले त्यसवेला सबै गर्छु भनेर प्रतिबद्धता जनाएको थियो । सरकारले अझै गरेन । यो कार्यान्वयन भयो भने बादीहरूप्रति समाजको दृष्टिकोण बदलिन्छ । त्यसपछि हाम्रो समुदाय आत्मसम्मानपूर्वक यो समाजमा बाँच्न सक्ने अवस्था बन्छ । त्यतिवेला हामी पनि यो देशको नागरिक हौँ भन्ने महसुस गर्नेछौँ । 


दलितमाथिको दमन अझै रोकिएको देखिन्न । बादी समुदाय झनै उत्पीडनको पिँधमा छ । फेरि त्यस्तै आन्दोलन वा त्योभन्दा पनि ठूलो आन्दोलन गर्नुपर्ने दिन आउन सक्छ भन्ने लाग्छ ?


हामीलाई संविधानले थुप्रै अधिकार दिएको छ । तर, संविधानमा लेखेर मात्रै त हुँदैन नि । जुन कुरा संविधान र पार्टीका घोषणापत्रमा लेखिएका छन्, ती कुरा कार्यान्वयन हुनुपर्‍यो नि । कार्यान्वयन भएको छैन । सरकार र पार्टीहरूको चपाउने दाँत एउटा छ, देखाउने दाँत अर्को छ । आज पनि हामीलाई पाखा लगाउने नियत देखिन्छ ।

 

आज देशमा एउटा पनि दलित मन्त्री किन छैनन् ? यत्रो सात–सातवटा प्रदेश छन्, त्यहाँ नेतृत्वमा दलितहरू कहाँ छन् ? सुदूरपश्चिम प्रदेशमा त एउटा दलितलाई राज्यमन्त्री पनि बनाइएको छैन । एउटा समितिको संयोजक पनि दिइएको छैन । अब यस्तै रहने हो भने सबै दलित एक भएर फेरि एकचोटि ठूलो आन्दोलन गर्नुपर्नेछ । यो देशमा ठूलो आन्दोलनको आवश्यकता महसुस गरिरहेकी छु । 


कुनै एक–दुईजना व्यक्तिलाई सांसद वा मन्त्री बनाउँदैमा सिंगो समुदायको मुक्ति हुने रहेछ कि नहुने रहेछ ? तपाईंको अनुभवले के भन्छ ? 


म त्यही समुदायको तर्फबाट सांसद हुँ । म सांसद हुँदैमा मेरो समुदायको मुक्ति भइहाल्छ भन्ने हुँदैन । तर, उमा बादी हिजो सडकमा बोलेकी थिइन् । आज बादीको पीडा, मर्म र सवाललाई सदनमा आवाज उठाइरहेकी छिन् । सरकारलाई सुनाइरहेकी छिन् । मेरो मुद्दा भनेको नै बादी समुदायको उत्थान हो । बादीको पुनस्र्थापना हो । उनीहरूको शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गरिनुपर्छ भन्ने हो ।


चिउरा र नुन मात्रै खाएर आन्दोलन गरेका ती दिन मैले अझै बिर्सेकी छैन । बादी समुदायको जीवनमा केही परिवर्तन भएको छ, तर पुनस्र्थापना भइसकेको छैन । त्यसैले फेरि पनि हामीले उस्तै नियति भोगिरहनुपर्ने हो भने म बादीको अधिकारका लागि आन्दोलनमा होमिन पनि तयार हुन्छु ।