माघ लहैली
सुरिक सिकार खैली रे हा
सखिय हो
माघक पिली गुरीगुरी जार ।
माघ (पर्व)मा थारू समुदाय यो गीतले गुञ्जायमान हुन्छ । ‘सखिय हो, माघक पिली गुरीगुरी जार’ परम्परादेखि चल्दै आएको थारू लोकभाका हो । थारूहरूले नेपालमा कहिलेदेखि बसोवास गरे भन्ने कुरा कसैलाई थाहा नभएको कुरा लेखक डोरमणि विष्टले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । थारूहरूको आफ्नो कुनै लिखित इतिहास छैन । थारूहरूले मनाउने चाडपर्वका बारेमा पनि लिखत पाइँदैन । त्यसकारण, थारूहरूले मनाउने विभिन्न पर्वका सवालमा पुर्खाहरूले सुनाउँदै आएका किंवदन्तीमा हामी विश्वास गर्छौँ ।
पश्चिम तराईको प्रत्येक थारू घर र प्रत्येक थारू बस्तीमा मनाइन्छ माघ । पुसको अन्तिम दिन गाउँभरिकालाई पुग्ने जिटा मार्ने (सुँगुर मार्ने), रातभर थारू पुरुषहरू जम्मा भएर डफ बजाउँदै ढमार (गीत) गाउने, भोलिपल्ट माघ १ गते सबेरै नजिकको नदीमा गएर नुहाउने, नुहाउँदा डुबुल्की लगाउनैपर्ने, घर आएर ढकियामा राखेको चामल, नुन छुने जूनपछि विवाहित दिदी–बहिनीलाई निसराउ (पाहुर)का रूपमा दिइन्छ, र घरको सबैभन्दा पाको व्यक्तिलाई ढोग गर्दै आशीर्वाद लिने, गोटियार र छिमेक सबैको घरमा गई सेवाढोग गर्ने र ढिक्री सिन्कीको चटनीलगायतका परिकार खाने, मघौटा नाच नाच्ने परम्पराअनुसार मनाइने माघ यही हो पश्चिमा थारूहरूको ।
माघ २ गते खिचरहुवा मनाइन्छ । यस दिन बजार खेले (बजारमा किनमेल गर्न) जाने दिन हो । बजार खेल्नका लागि नजिकमा लाग्ने माघ मेला वा नजिकको बजार जाने चलन व्यापक थियो । छिटफुट रूपमा अझै छ । ‘बजार खेले जैना कलक, मेरी हजुरआमा भन्नुहुन्छ, माघ पठैना हो ।’ अर्थात् बजार खेल्न जानु भनेको माघलाई बिदाइ गर्नु हो । यसरी थारूहरूले मुख्य रूपमा तीन दिन माघ मनाउने गर्छन् । तर, समग्रमा माघ महिना नै थारूहरूका लागि विशेष रहन्छ । थारू गाउँमा भलमन्सा र बरघर, चिरक्या, गुरुवा आदि चुन्ने काम माघ महिनामै गरिन्छ । गाउँको वर्षभरिको योजना बनाउने काम हुन्छ । त्यसैले, थारूहरूले माघ महिनाभरि माघ मनाउँछन् पनि भनिन्छ । अझ जार (जाँड) खान रुचाउनेहरू त खानपिउनकै लागि पनि ‘थारून्के माघ–महिनाभर चलट’ अर्थात् थारूको माघ पर्व माघ महिनाभरि चल्छ भन्छन् ।
थारू घर र गाउँमा मात्र सीमित माघ, पहिलोपटक विसं २०५९ मा औपचारिक कार्यक्रम गरी मनाइएको थियो । काठमाडौंको नेपाल टुरिजम बोर्डमा थारू कल्याणकारिणीसभा र थारू विद्यार्थी समाजको संयुक्त आयोजनामा कार्यक्रम गरिएको थियो । औपचारिक माघ कार्यक्रमलाई निरन्तरता दिँदै दास्रो वर्ष बानेश्वरको सहकारी भवन, तस्रो वर्ष राष्ट्रिय सभा गृह, चौथो वर्ष प्रज्ञा भवन त्यसपछि २०७२ मा रंगशाला र अन्य वर्ष टुँडिखेलमा माघी महोत्सव आयोजना गरियो । काठमाडौंको कार्यक्रमले जिल्लास्तर हुँदै अहिलेको स्थानीय तहसम्म माघ कार्यक्रम गर्ने हौसला थपियो ।
माघबारे बहस
पहिचान र संस्कृतिप्रेमी थारू वृत्तमा बहसको सतहमा आएको विषय हो थारूहरूले माघ मनाउँछन् कि माघी । वास्तवमा पश्चिम थारू समुदायमा मनाउने माघ नै हो । मध्य तराई क्षेत्र (नवलपरासी चितवन)मा माघ १ गतेलाई खिचडा भन्ने गरिन्छ । पूर्वी तराईका थारूहरूले तिला संक्रान्ति भन्ने गर्छन् । थारू विद्यार्थी समाजका अध्यक्ष चन्द्रप्रसाद चौधरीका अनुसार यस दिन तिलको लड्डु खाने हुनाले तिला संक्रान्ति भनिएको हो । (नेपाली) भनिने समुदायले माघ १ गतेलाई माघे र मकर संक्रान्ति भन्ने गर्छन् ।
पश्चिम तराई (दाङदेखि कञ्चनपुर)का थारू पुर्खाहरू भन्छन् ‘हमरे माघ लहइठी, माघ खइठी, माघ मनइठी ।’ अर्थात् हामी माघ (मा) नुहाउँछाैँ, माघ(मा) खान्छाैँ, माघ मनाउँछाैँ । बाँचिरहेका पुर्खाहरू माघी मनाएको जिकिर कहिल्यै गर्दैनन् । पश्चिम थारूहरूको माघलाई माघी नामाकरण गरेको धेरै समय भएको छैन । धेरैलाई लाग्न सक्छ, माघ त महिनाको नाम हो । माघ महिनामा पर्ने भएकोले पर्वचाहिँ माघी हो । त्यस्तो होइन ।
पश्चिमका थारूहरूले माघ मनाउँदै गर्दा अन्य स्थानमा तिलारमाघे वा मकर संक्रान्ति मनाइन्छ । एकातिर, थारूको माघ, अर्कोतिर अन्यको माघे वा मकर संक्रान्ति हो भने माघी कसको हो ? बुझ्दै जादाँ माघी त कसैको होइन । माघी शब्द प्रयोगमा आएको पनि धेरै भएको छैन । यो बिलकुल नयाँ शब्द हो । अझ यस्तो भन्न सकिन्छ, माघी थारूहरूको माघको हालसालै गरिएको नेपाली रूपान्तरण हो । अहिले आएर माघी शब्द यस्तो राष्ट्रिय शब्द भइसक्यो कि थारूहरूले माघी होइन, माघ मनाउँछौँ भन्दा ‘अराष्ट्रिय हुन्’ भन्न बेर छैन ।
समग्रमा माघ महिना नै थारूहरूका लागि विशेष रहन्छ । थारू गाउँमा भलमन्सा र बरघर, चिरक्या, गुरुवा आदि चुन्ने काम माघ महिनामै गरिन्छ । गाउँको वर्षभरिको योजना बनाउने काम पनि माघमै हुन्छ । त्यसैले, थारूहरूले माघ महिनाभरि माघी मनाउँछन् पनि भनिन्छ ।
माघे संक्रान्ति उच्चारण गर्न लामो हुने भएकाले पनि पछि सर्टकर्टमा माघी भनिएको हुन सक्छ । एक नेपाली गीत ‘हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा’ले पनि माघी शब्द स्थापित गरायो । माघ महिनामा रेडियो, एफएम यो गानाले गुञ्जायमान हुन्छ । यसको प्रभावले पनि थारूको माघ, माघीमा रूपान्तरित भएको हुन सक्छ ।
पहिलोपटक औपचारिक रूपमा आयोजना गरिएको कार्यक्रममै माघी उल्लेख गरियो । त्यसपछि निरन्तर आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री, सभामुखलगायतका उच्च ओहोदाका व्यक्तित्वले सम्बोधन गर्ने भएपछि सञ्चारमाध्यमको चासो बढ्दै गयो । केन्द्रदेखि गाउँसम्म माघी लेख्ने र भन्नेहरूको जमात बढ्दै गयो । त्यसैको प्रभावमा अहिले जहाँ–जहाँ माघको कार्यक्रम गरिन्छ, माघी महोत्सव वा माघी मेला लेखेको पाइन्छ । माघी लेख्दैमा र भन्दैमा धेरै केही बिग्रिहाल्ने पनि होइन । नेपाली भाषा सधैँ डोमिनेन्ट र राष्ट्रिय भाषाको दर्जा पाएकाले, थारू शब्दको नेपालीकरण गर्दा राष्ट्रिय भइन्छ भन्ने मानसिकताले सीमान्तकृतहरूले आफ्नो मौलिक शब्दको नेपालीकरण स्विकारेका होलान् ।
आफ्नो भाषा, संस्कृति र पहिचानको संरक्षण र संवद्र्धन गर्न वकालत गरिरहेको तप्काले अहिले माघ र माघीबारे बहस चलाउँदै छन् । माघ वा माघे संक्रान्ति मनाउने समाजमा माघी कहाँबाट भित्रियो, सोचनीय विषय छ । थारूहरूले प्रयोग गर्ने मौलिक शब्द नेपालीकरण गरेको यो पहिलोपटक होइन । यो पुरानै परिपाटी हो ।
थारूहरूको मौलिक शब्दका गाउँका नामहरू व्यापक परिवर्तन गरिएका छन् । जस्तो थारू गाउँका नाम घोरीघोरा घोडाघोडी हुनु, पिर्ठीपुर पृथ्वीपुर हुनु, रानामुरा रानामुडा हुनुजस्ता थुप्रै उदाहरण छन् । त्यस्तै, थारूहरूको बरघरलाई बडघर भन्नु र लेख्नु अर्को उदाहरण हो । त्यसकै निरन्तरता हो माघलाई माघी बनाइनु । यसरी ठेट र मौलिक शब्द परिवर्तित हुँदै जानु थारू भाषा र समुदायमाथिको प्रहार हो । हेर्दा सामान्य लाग्छ, माघलाई माघी भन्यो, बरघरलाई बडघर भन्यो । तर, यी शब्द केवल शब्द मात्र होइनन् । यी शब्द भनेका थारूका पहिचानसँग जोडिएका विषय हुन् । यी शब्दसँग थारूको इतिहास जोडिएको छ ।
माघ पश्चिमा थारूहरूको नयाँ वर्ष हो । माघबाट थारूहरूले धेरै नयाँ कुराहरूको सुरुवात गर्ने गर्छन् । प्रत्येक माघमा थारू गाउँले नयाँ भलमन्सा चुन्छ । चिरक्या, गुरुवा, भर्रा यसैवेला चुनिन्छन् । गाउँको विकासको योजना बन्छन् । कहाँ पुल बनाउने, बाँध बनाउने, कुलो खन्नेजस्ता योजना बनाइन्छन् । कमैया कम्लरी प्रथाका वेला तिनले कमैया बसेको घर छोड्न सक्दथे र नयाँ मालिक चुन्न सक्दथे । सबै अवस्थामा यसो गर्न सम्भव थिएन । विशेषगरी, किसानको घरमा कमैया बसेकालाई यसो गर्न सहज हुन्थ्यो । जमिनदार किसानको तुलनामा धेरै दमनकारी भएकाले कमैया कैयौँ पुस्ता एउटै जमिनदारकहाँ कमैया बस्न बाध्य बनाइन्थे ।
कतिपयले माघलाई मुक्ति दिवसका रूपमा पनि व्याख्या गर्ने गर्छन् । जुन बिलकुलै गलत कुरा हो । नेपाल सरकारले १७ जुलाई २००० मा कमैयाहरू मुक्त भएको घोषणा गरेको थियो । पूर्वकमैयाहरू त्यस दिनयता प्रत्येक वर्षको १७ जुलाईमा मुक्ति दिवस मनाउँदै आएका छन् । सरकारले कमैया मुक्ति घोषणा गर्नुपहिले कमैयाहरू कसै न कसैकोमा कमैया बस्नुपथ्र्यो, जीविकोपार्जनका लागि । अनि माघलाई मुक्ति दिवसका रूपमा मनाउने सवाल नै हुँदैन ।
फेरिएको माघ
समयसँगै चाडपर्वहरू मनाउने शैली पनि परिवर्तित हुँदै जान्छन् । यसको एउटा ठूलो उदाहरण हो माघ । माघ अहिले माघी महोत्सवमा सीमित हुन पुगेको छ । भलै गाउँघरका थारूहरूले मौलिक रूपमै माघ मनाउँछन् । माघको मौलिकताको चर्चा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा कमै मात्र हुने गरेका छन् । सही मानेको माघ बुझ्ने, बुझाउने र अहिलेको माघलाई प्रचार गर्ने तरिकामा निकै भिन्नता छन् ।
माघमा थारू समुदायले चुन्ने बरघर, विवाहित दिदीबहिनीलाई दिने निसराउ, दाजुभाइ र साथीबीच गरिने उँकुवार भेट, रातभर डफ बजाउँदै गाइने ढमार (गीत) का बारेमा नगन्य मात्रामा चर्चा हुने गर्छ । माघमा खाने नमक्वा ढिक्री (लामो आकारको ढिक्री)भन्दा माघक गुरीगुरी जारको प्रचार गरिन्छ ।
आफ्नो राजनीतिक सांस्कृतिक अधिकारबारे चेतनशील भएदेखि थारूहरूले निराशा मिश्रित माघ मनाइरहेका छन् । नेपालको जनसंख्याको ठूलो हिस्सा ओगटेका थारूहरूको मुख्य पर्व माघमा सरकारसँग दुई दिनको बिदा माग गर्न थालेको धेरै भयो । थारूका माग सुनुवाइ गर्नु त कहाँ हो कहाँ, उल्टै माघको बिदा पनि कटौती गर्ने काम भयो । आदिवासी जनजातिहरूले बिदा पुनस्र्थापनाका लागि दबाब दिएपछि पुनः माघ १ गते बिदा दिने निर्णय केन्द्र सरकारले ग¥यो ।
प्रदेश ५ मा १५.१८ प्रतिशत थारू रहेका छन् । गत वर्ष त्यहाँको प्रदेश सरकारले माघ पर्वका लागि दुई दिनको बिदा घोषणा गर्यो । थारूहरू खुसी भए । सुदूरपश्चिम प्रदेशमा १७.२१ प्रतिशत थारू रहेका छन् । २ दिनको बिदा माग गर्दा पनि प्रदेश सरकारले माघ १ गते मात्रै एक दिनको बिदा दियो । धेरैको बुझाइ छ, यो बिदा माघका लागि होइन, माघे संक्रान्तिका लागि हो । ‘अन्यले माघे संक्रान्ति नमनाएको भए’, सुदूरपश्चिमका थारूहरू प्रश्न गर्छन्, थारूहरूको माघका लागि यो एक दिन पनि बिदा पाइँदैनथ्यो कि ?’ कमसेकम थारू बाहुल्य भएका क्षेत्रमा माघजस्तो थारूहरूको महत्वपूर्ण पर्वमा दुई दिनको बिदा दिनुपर्छ भन्ने थारू अगुवाहरूको बुझाइ छ । अहिले पनि थारूहरूले पुस अन्तिममा जिटा मार्ने र माघ १ गते धुमधामका साथ माघ मनाउँछन् ।
माघको एकातिर रौनक, अर्कोतिर आक्रोश रहन्छ । थारू भाषाप्रतिको प्रहार र माघको बिदालाई लिएर थारूहरूमा निराशा र आक्रोश दुवै छ । यही पीडा र आक्रोशका बीचमा थारू गाउँमा डफ बजेको छ, ढमार गाइएको छ, मादल ठोकिएको छ, मघौटाका नचुनियाहरू फनफनी घुमेका छन् । अनि लाग्छ पीडाका बीचमा पनि रमाउन सक्ने समुदाय थारू हो ।
मकर संक्रान्तिको नाममा एक दिन सरकारले बिदा दिएको छ । माघको नाममा अझैसम्म थारूहरूले बिदा पाएका छैनन् । मकर संक्रान्तिको नाममा दिइएको बिदालाई आफ्नो माघका लागि दिइएको भन्ने भ्रममा बहुसंख्यक थारूहरू छन् । अनि लाग्छ भ्रममै परेर पनि रमाउन सक्ने समुदाय थारू हो ।