• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ माघ ३ शनिबार ०८:१४:००
फिल्म

मेरो लागि सिनेमा केवल व्यापार होइन : दीपक रौनियार

मेकरले दुई खालका सिनेमा बनाउँछन्  एउटा मुनाफा कमाउन, अर्को आफूलाई अभिव्यक्त गर्न

२०७७ माघ ३ शनिबार ०८:१४:००

दीपक रौनियार नेपाली सिनेजगतमा रुचाइएका निर्देशक हुन् । उनको सिनेमा ‘सेतो सूर्य’ नेपाली सचेत दर्शकमाझ निकै रुचाइयो । पछिल्लो पुस्ताका आशा लाग्दा निर्देशक पनि मान्छिन् रौनियार । ‘द स्काई इज माइन’ फिल्म निर्माण गरिरहेका रौनियारसँग नवीन प्यासीले गरेको सिने–संवाद :

 

प्रख्यात लेखक पाउलो कोहेलोले तपाईंको सिनेमा ‘सेतो सूर्य’ गजब लागेको अनुभव ट्विट गरे । उनीजस्ता नाम कमाएका लेखकले नेपाली सिनेमामाथि त्यस्तो प्रतिक्रिया लेख्दा कस्तो अनुभूति भयो ? 


उहाँजस्तो ख्यातिप्राप्त लेखकले मेरो सिनेमा खोजेर हेर्नु, हेरेपछि प्रतिक्रिया दिनु, असाध्यै खुसीको कुरा हो । ‘सेतो सूर्य’माथि अरू राम्रा फिल्म मेकरले पनि प्रतिक्रिया दिनुभएको थियो । तर, सिनेमा रिलिज भएको चार वर्षपछि एकजना प्रख्यात लेखकले त्यसरी ट्विट गर्नुहुन्छ भन्नेचाहिँ लागेको थिएन । 


‘सेतो सूर्य’ सन् २०१६ मा आयो । अन्तर्राष्ट्रिय रूपमा चर्चा पनि कमायो । त्यसपछि तपाईंका अन्य सिनेमा दर्शकले हेर्न पाएनन् । वैकल्पिक सिनेमा बनाउँछु भन्नेहरूले सिनेमा बनाउन निकै समय खर्चिरहेको देखिन्छ । खासमा यति ढिलो किन हुन्छ ?


पाँच, ६ वर्षको ग्याप ठूलो होइन । चाहे छिमेकको चैतन्य तामहानेको कुरा गरौँ वा अल्फोन्सो क्युरोनको । ग्याप त्यस्तै देखिन्छ । हाम्रोे सवालमा यो ग्याप घटाउन सकिन्थ्यो । समस्या कहाँनेर छ भने पैसा बाहिरबाट आफैँले खोजेर ल्याउनुपर्छ । रिसर्च, लेखन आफैँ सहभागी हुनुपर्छ । भनेजस्तो टिम तत्काल पाइँदैन । पञ्चायत ढलेको तीन दशकपछि पनि हाम्र्रो उद्योग त्यही पञ्चायतको कानुनले नियमन भइरहेको छ ।

 

छिमेकी भारतसँग पनि को–प्रोडक्सनको सम्झौता भएको छैन । औपचारिक रूपमा लगानी खोज्न गाह्रो छ । स्क्रिप्ट लेख्न समय लाग्छ । आर्थिक पाटोले समय खाइदिन्छ । गत वर्ष नै हुनुपर्ने काम अहिलेसम्म हुन सकेको छैन । लगानी नेपालमै पनि खोज्न सकिन्थ्यो, तर एक करोडले दुई करोड कमाइन्छ भनेर झुटो बोल्नु हुँदैन ।

 

मैले सिनेमालाई पैसा कमाउने माध्यम बनाइनँ । त्यसरी झुट बोल्दै नहिँड्दा हाम्रो स्रोत भनेको ग्रान्ड र अवार्डहरू हुन् । त्यहाँ हजारौँसँग भिडेर बल्लतल्ल जित्ने हो । नेपालमा त्यो पैसा लगेर भ्याट तिरेर बाँकी रहेको पैसाले बल्ल सिनेमा बनाउने हो । त्यसले समय लागेको हो ।


तर, नेपाली सिने क्षेत्रमा वर्षमा सयभन्दा बढी सिनेमा बन्छन् । वार्षिक दुई सय करोडमाथि लगानी हुन्छ भनिन्छ । यत्रो प्रत्यक्ष लगानी देखिँदा पनि तपाईंहरू विदेशी फन्डमै लागिरहनुभएको देखिन्छ । किन ?


पहिलो कुरा, उनीहरूले कस्तो सिनेमामा लगानी गरिरहेका छन्, त्यो हेर्नुपर्‍यो । लगानी गर्नेहरूले कस्तो दबदबा सिर्जना गर्छन्, त्यो हेर्नुपर्‍यो । हामीकहाँ अहिले भइरहेको लगानीको मूल उद्देश्य नाफा हो । तर, लगानीकर्तालाई सोधे हुन्छ, नाफा कति कमाए । मचाहिँ नाफा मात्र मूल उद्देश्य राखेर सिनेमा बनाउँदिनँ । नाफा कमाउनुहुन्छ, भोलि करोडपति बन्नुहुन्छ भन्ने हो भने लगानीकर्ता धेरै पाइन्छन् । तर, म त्यो ग्यारेन्टी दिन सक्दिनँ ।

 

एक करोडले दुई करोड कमाउँछ भनेर झुटो बोल्न सक्दिनँ । सिनेमा भनेको जोखिम हो, पैसा लगाएपछि डुब्न सक्छ । त्यो बुझ्न सक्ने मान्छे चाहिन्छ । झुट बोल्दै हिँड्नुहुँदैन । एउटा व्यक्तिलाई मात्र ‘पैसा लगाऊ’ भनेर सिनेमा बनाउनु अपराध हो । नाम होला, भोलि पैसा नउठ्न सक्छ । नेपालमा एकजना मान्छेले करोड लगानी गर्नु ठूलो पैसा हो । त्यो मान्छेको घरबार जान सक्छ । हामीले त्यो सोच्नुपर्छ । त्यसैले म व्यक्तिसँग पैसा नमागेर फन्डतिर लागेको हो । यस्तो अवस्थामा हाम्रो स्रोत भनेको अवार्ड र ग्रान्डहरू हुन्, या त प्रिसेल हो । ग्रान्ड जित्न सयौँसँग प्रतिस्पर्धा गर्नुपर्छ । समय लाग्छ । 


त्यसो भए नेपाली सिने क्षेत्रमा सुझबुझपूर्ण ढंगले लगानी नभएको हो त ?


त्यसो पनि होइन । आँट भएकोले पैसा कमाउन सक्छु, उठाउन सक्छु भन्नेले बुझेरै लगानी गर्नुभएको होला । तर, किन प्रत्येक सिनेमामा लगानीकर्ता फरक हुन्छन् ? सिनेमा कस्तो पेसा हो भन्ने थाहा नपाईकन लगानी गर्नु राम्रो होइन । त्योे बाटो सिनेमाका लागि होइन ।

 

फिल्म चल्छ भनेर मसलाका लागि दुई–चारवटा गीत हाल्न सक्दिनँ । चल्छ भनेर मनै नपर्ने कलाकार राख्न सक्दिनँ । तीन–चार फाइट सिन राखेर फिल्म बनाउन सक्दिनँ । मेरो लागि सिनेमा कलाकर्म हो, केवल व्यापार होइन । संसारभरि दुई खालका सिनेमा बन्छन्– व्यापार गर्ने र कलाकर्म गर्ने । तर, सबै सिनेमाको प्रमुख प्राथमिकता कला या अभिव्यक्ति हुन्छ । 


नेपाली सिने क्षेत्रमा अधिकांश लगानी डुबेको भनिन्छ । त्यो हुँदाहुँदै पनि त्यही खालको विचार, कथा, विषय र सूत्रमाथि नै लगानी थुप्रिएको देखिन्छ । यस्तो किन हुन्छ ?


अहिले संसारमा सिनेमामा लगानीको कुरा गर्दा को–प्रोडक्सनको कुरा हुन्छ । एकै देशबाट मात्र लगानी नगरेर जोखिम बाँड्ने भन्ने हुन्छ । ‘सेतो सूर्य’ नै अमेरिका, नेदरल्यान्ड र नेपाललगायत चार देशको संयुक्त लगानीमा बनेको सिनेमा हो । यसो गर्दा यी देशहरूमा पनि सिनेमा वितरण हुने भयो । 


चीन या भारतसँग नै को–प्र्रोडक्सनको काम भएको छैन । देशले त्यस्तो सम्झौता गरेको भए औपचारिक रूपमा हामी लगानी ल्याउन सक्थ्यौँ नि ! त्यो अवस्था छैन । राज्यले नीति र नियम बनाउनेमा केही गरिदिएको छैन, त्यसले कलाप्र्रतिको राज्यको गाम्भीर्यता प्रस्ट देखाउँछ । 

 

हामी सिनेमा राम्रो बनेन भनिरहेका छौँ । सिनेमा हेर्ने, स्कुलमा सिनेमा देखाउने चलन छैन । हामीसँग सिनेमा म्युजियम पनि छैन । यहाँ दर्शकको स्वाद परिवर्तनमा काम भएकै छैन । धेरै दर्शकले देखेको बलिउड फिल्म मात्रै हो ।


अर्को पाटो हेर्दा, हरेक देशको सिनेमाको विकासमा त्यहाँको राज्यले मिहिनेत गरेको छ । नेपालमा सबै काम व्यक्तिको पहलमा भइरहेको छ । सबैले आ–आफ्नो ज्ञानले भ्याएसम्म जोखिम लिएका छन् । नेपाली सिने क्षेत्रमा वार्षिक सय सिनेमा बन्छन् । त्यसमध्ये पाँचवटा चल्छ ।

 

यो पनि व्यक्तिलाई सिनेमाप्रति माया भएर जोखिम मोलेरै बनाएको हो । जसका कारण कतिले रोजगारी पाउँछन्, त्यो भुल्नु हुँदैन । त्यही लगानीले उद्योग टिकेको हो । अब दर्शक त्यस्तै सिनेमामा रमाइरहेका छन् । हामी बलिउडका सिनेमा हेरेर हुर्किएकाले त्यस्तै सिनेमा रुचाउँछौँ । त्यो रुचि परिवर्तन गर्न राज्यले कहाँ काम गर्‍यो ? दर्शकको स्वाद परिवर्तन गर्न राज्यले के काम गरेको छ ? त्यो हेर्नुपर्छ ।


बजार हाम्रो प्राथमिकता होइन । त्यही भएकाले नै फन्ड खोजिरहेका छौँ । अब बजार प्राथमिकतामा राख्नेहरूले त्यस्ता सिनेमा बनाउनुभएको होला । आइटम नम्बर राख्दा चल्छ भनेर सोच्नुभएको होला । उहाँहरूको प्रयासलाई नकारात्मक तवरले हेर्नु पनि हुँदैन । सबैले आ–आफ्नो ठाउँबाट प्रयास गर्ने हो । 


मूलधारको नेपाली सिनेमाले गाली खाइरहन्छ, आलोचित पनि भइरहन्छ । तर, त्यस्तै सिनेमाले करोड कमाएको समाचार पनि आइरहन्छ । गाली खाइरहनु, तर त्यस्तै सिनेमा दर्शकले हेरिरहनुमा समस्या कहाँनेर छ ?


बलिउडमा पनि सबैभन्दा बढी पैसा कमाउने ‘सुल्तान’जस्ता फिल्महरू नै हुन् । नेपालमा जसले आलोचना गर्छन्, ती प्रायः काठमाडौं बस्छन् । उनीहरूको विभिन्न देशको सिनेमाको पहुँच छ । सिनेमाको ज्ञानमा भएको परिवर्तनले स्वादमा पनि परिवर्तन भयो होला । अधिकांश दर्शकको स्वाद परिवर्तनमा काम भएको छैन । उनीहरू ‘मेरी बास्सै’ नै हेर्छन् ।

त्यहीखालको सिनेमा खोज्ने हुन् । भारतीय टिभी सिरियलले पनि स्वाद निर्माण गरिदिएको छ । काठमाडौंमा जुन सिनेमाको आलोचना भइरहेको हुन्छ, नारायणघाटमा पाँच सय दर्शक त्यही सिनेमा हेर्न जाँदैन भन्ने हुँदैन । जस्तो सिनेमा मूलधारमा बनिरहेको छ, उनीहरूको उद्देश्य नै नाफा कमाउनु हो ।

 

अनि करोड कमाएको समाचार कति नै ठूलो कुरा भयो र ! चाहे भारत होस् या अमेरिका, बजारमुखी सिनेमाको दबदबा नै छ । हिजो पनि थियो, भोलि पनि हुनेछ । निर्माताले त पैसाको लागि नै सिनेमा बनाउने हो । दर्शकको स्वाद परिवर्तन गर्ने, कलाको संस्कार बसाउने काम राज्यको हो । हामीलाई कस्तो खालको सिनेमा चाहिएको हो, त्यो राज्यले सोच्ने कुरा हो । 


‘सेतो सूर्य’मा देखाइएको मृत्यु संस्कारका दृश्यबारे नेपाली दर्शक चिरपरिचित छँदै छन् । विदेशका दर्शकलाई त्यो नयाँ लाग्न सक्छ । यी र यस्ता पाटोबाट हेर्दा ‘सेतो सूर्य’ नेपाली दर्शकका लागि भन्दा फेस्टिभलका लागि मात्रै केन्द्रित भएको हो कि ?


मैले सन् २०१० मा ‘पूजा’ नामक सर्ट फिल्म बनाएको थिएँ । त्यहाँ ब्याकग्राउन्डमा आइसक्रिम बेच्नेको कथा छ । सुरुमा पात्रले हिँडेर आइसक्रिमको बाकस बोकेर बेच्छ । त्यसपछि साइकलमा । र, अन्त्यमा मोटरसाइकलमा बरफ बेचेको देखिन्छ । ‘मोटरसाइकलमा पनि कहीँ बरफ बेच्छ ?’ भनेर काठमाडौंमा पत्रकार साथीहरू पड्किनुभयो । किनभने उहाँहरूको गाउँमा मोटरसाइकल चढेर बरफ बेचिँदैन, तर मेरो गाउँ उदयपुर ठोक्सिलामा त्यसरी पनि बेचिन्छ ।


हाम्रा दर्शकमा आफूले नदेखेको कुरा विश्वास नगर्ने बानी छ । अर्को कुरा मान्छे उड्दैन । तर, ब्याटम्यान, स्पाइडरम्यान उडेको पत्याउँछौँ । सिनेमाले आफ्नो पर्दाभित्र आफ्नै संसार बुन्छ । त्यो संसारभित्र त्यो कुरा विश्वसनीय हो कि होइन जाँच्नुपर्ने हो हामीले । त्यो भनेको सिनेमाभित्र पात्र कसरी स्थापित गरिएको छ भन्ने हो । सिनेमाको संसारभित्र त्यो कुरा हुन सक्छ कि सक्दैन भनेर हेर्नुपर्छ । 


त्यसो त हाम्र्रो सिनेमाथेक छैन । म्युजियम छैन । स्कुल या विश्वविद्यालयमा सिनेमा देखाउने चलन छैन । अघि नै कुरा गर्‍यौँ, दर्शकको स्वाद परिवर्तनमा काम भएकै छैन । धेरै दर्शकले देखेको बलिउड फिल्म मात्रै हो । त्यसैको यस्तो प्रतिक्रिया स्वाभाविक हो ।


तर, कथित मूलधारबाहेक वैकल्पिक सिनेमामा काम गर्नेहरूले दर्शकको चेतनासँग लड्न चाहेको देखिँदैन । यसो हुनुमा मूलधारप्रतिको वितृष्णा हो या दर्शकसँग भागेको हो ? 


मूलधारको सिनेमाले दर्शकले जे माग्छ, त्यो दिइरहेको छ । हामी चुनौती मोलिरहेका हौँ । हामीले नेपालमै रिलिज गरेर सिनेमा चलाउन खोजेका हौँ । यसले कहाँको दर्शकलाई च्यालेन्ज गर्न खोजेको हो त ? नवीन सुब्बाको ‘नुमाफुङ’अघि छिरिङरितार शेर्पाको ‘मुकुन्डो’ बनेको थियो । सिनेमा रिलिज भएको हीरारत्न हलमा मात्र हो ।

 

काठमाडौंमा कसैले रिलिज गरिदिएनन् । अहिले उहाँकै ‘कर्मा’ युट्युबमा रिलिज भयो । नवीन दाइले ‘नुमाफुङ’ कुन दुःखले बनाउनुभएको थियो होला ! त्यसमा कति पैसा डुबाउनुभयो होला । दर्शकलाई च्यालेन्ज नगर्ने भए त्यस्तै खालको सिनेमा बनाउनुहुन्थ्यो होला नि ! उहाँहरूले त्यो चुनौतीलाई नमोलेको भए अर्कै परिस्थिति निर्माण हुन्थ्यो । 


त्यसो भए प्रमुख समस्या दर्शकको कलाप्रतिको चेतना हो त ? तपाईंहरूले सामना गरिरहेको समस्यालाई कसरी र कहाँबाट हेर्दा न्यायसंगत होला ? 


अहिले नै त्यस्तो गहिराइमा जानुपर्दैन । संसारको कुनै उद्योग रातारात परिवर्तन भएको छैन । हामीले खुलेर सिनेमा बनाउन थालेको तीस वर्ष पनि भएको छैन । अनि अहिलेसम्मका प्रयास सबै व्यक्तिगत हुन् । तर, दर्शकको स्वाद परिवर्तन गर्न कसकसले काम गर्‍यो त्यो हेर्नुपर्छ । हाम्रो घरमा सिनेमाको कुरा हुन्छ ?

 

फिल्म चल्छ भनेर दुई–चारवटा गीत हाल्न सक्दिनँ । चल्छ भनेर मनै नपर्ने कलाकार राख्न सक्दिनँ । तीन–चार फाइट सिन राखेर फिल्म बनाउन सक्दिनँ । मेरा लागि सिनेमा कलाकर्म हो, केवल व्यापार होइन ।

 

बुबाआमाले छोराछोरीलाई थिएटर लिएर जानुहुन्छ ? तपाईं काम गर्ने पत्रिकामा सिनेमाबारे छलफल कति हुन्छ ? विदेशमा फेस्टिभल हुन्छन्, क्लबहरू हुन्छन् । सिनेमा पढाइन्छ । हाम्रोमा  जति भएको छ, सबै मेकरको कोसिसले हो । दर्शकलाई दोष दिनु हुन्न । उहाँहरूलाई ‘तीतो सत्य’ ‘जिरे खोर्सानी’मा ‘टुइँक्क’ साउन्डमा कलाकार पछाडि फर्केको मनपर्ला । मुख बंग्याएको देख्दा हाँस उठ्ला । अनि त्यो दर्शकले ‘सेतो सूर्य’ हेरिदिएन भनेर चित्त दुखाउने ठाउँ छ र ? 


‘सेतो सूर्य’मा जनयुद्ध सकिएपछिको संक्रमणकालीन समयको कथा छ । यस हिसाबले ‘सेतो सूर्य’ तत्कालीन समयको डकुमेन्टेसन मात्र हो या तपाईंको कलाको अभिव्यक्ति पनि हो ?


सिनेमालाई सिनेमाकै रुपमा बुझ्नुपर्छ । सिनेमा एउटा मेकरका लागि अभिव्यक्तिको माध्यम हो, कला पस्कने ठाउँ हो । मेकरले दुई खालका सिनेमा बनाउँछन् । एउटा मुनाफा कमाउन, अर्को आफूलाई अभिव्यक्ति गर्न । ‘सेतो सूर्य’ मुनाफाका लागि होइन । त्यो संक्रमणकालीन समयमा मैले के महसुस गरिरहेको थिएँ, त्यही अभिव्यक्त गरेको हुँ । 


सिनेमा कसैलाई मनपर्‍यो परेन, आ–आफ्नो ठाउँमा छ । पहिलो संविधानसभामा धेरै खालका अनुहार समेटिएका थिए । सन् २०१२ मा संविधानसभा भंग भएपछि दशवर्षे जनयुद्धलाई हेर्ने नजर बदलियो । माओवादीले आफ्नो वाचा बिर्सेको कारण पनि होला । युद्ध हुनु राम्रो होइन । तर, भइदियो । युद्धले केही परिवर्तन ल्याएको थियो कि समाजमा ? एउटा पात्रले दशवर्षे जनयुद्धमा हिँडेर के पायो त ? त्यो दुविधालाई हाम्रोतर्फबाट डकुमेन्टेसन गर्न खोजका हौँ । हामीले हाम्रो तर्फबाट हेर्‍यौँ, हेर्नेले आफ्नो तरिकाले हेर्नुभयो होला । त्यो नै सिनेमाको सौन्दर्य हो ।


भनिन्छ, फिल्म मेकरको आफ्नो किसिमको सिग्नेचर स्टाइल हुन्छ । आफ्नै कथ्य शैली हुन्छ । त्यसको स्रोत पनि हुन्छ । तपार्इंको कथ्य शैलीको स्रोतचाहिँ के हो ? 


म व्यक्तिगत सिनेमामा विश्वास गर्छु । मैले जुन खालको जीवन भोगेर आएँ, त्यही असर मेरा सिनेमामा देखिने हो । अरूले पनि त्यसै गर्नुपर्छ भन्ने लाग्छ । आफ्नो व्यक्तिगत भोगाइको जग नै नयाँ हुने हो । मचाहिँ आफ्नोखालको जीवनबाट प्रभावित भएर सिनेमा बनाउँ भन्छु । मैले आइडल मान्ने अब्बास किरोस्तामी, रोबर्ट ब्रेसोन छन् । छिरिङरितार शेर्पा, नवीन सुब्बा दाइहरूसँग काम गरेँ । उहाँहरूबाट पनि प्रभावित भएको हुँला । 


सन् २०१७ मा ‘न्युयोर्क टाइ्रम्स’ले तपाईंलाई पनि नौजना इमर्जिङ डाइरेक्टरको सूचीमा राख्यो । त्योवेला कस्तो अनुभूति भएको थियो ? अहिले चार वर्षपछि फर्केर हेर्दा के कारणले सूचीमा राखेजस्तो लाग्छ ?


त्यो जसलाई पनि खुसी लाग्ने कुरा हो । म ब्युँझिदा त्यो समाचार नेपालमा पुगिसकेको रहेछ । बधाई पाएँ । काम गर्दा यसरी सूचीमा राखिदेला भनेर गरिएको हुँदैन । त्यो भएकाले पनि खुसी स्वाभाविक हो । न्युयोर्कको ‘न्यु डाइरेक्टर्स न्यु फिल्म्स’मा सेतो सूर्य प्रदर्शन हुँदा न्युयोर्क टाइम्सका समीक्षकहरूले हेर्न पाउनुभएको हो । अनि मलाई योग्य ठानेर राख्नुभयो होला । 


नेपाली वैकल्पिक सिनेमामा काम गर्ने मेकरको अझै खडेरी नै देखिन्छ । कलालाई पर्गेल्न खोज्नेहरूको खडेरी किन भइरहेको छ ? 


मेकरको खडेरी पक्कै हो । तर, केही वर्षयता त्यो संख्या बढेको छ । फाइनान्सिङको समस्या छ । ‘मुर्गा’ नफसाउने हो भने लगान्री खोज्न गाह्रो छ । संख्या कमी त छँदैछ, फिल्ममेकरमा सामुदायिक प्रतिनिधित्व झनै कम छ । एउटा समुदायको कुरा बुझेर राम्रेस्रँग सिनेमा बनाउन त्यही समुदायको मेकर चाहिन्छ । अझैं दलित समुदायबाट राम्रा मेकर आउन सकेका छैनन् । महिला मेकर त औंलामा गन्न सकिन्छ । फिल्ममेकरमा विविधता ल्याउन राज्यले काम गर्न सक्नुपर्ने हो । त्यो भएको छैन । हाम्रो सबै व्यक्तिगत प्रयास छ, त्यसले ढिला भएको हो । 


व्यक्तिगत कोसिसले मात्र सिंगो उद्योगलाई पहिचान दिने, ‘स्कुल अफ थट’ निर्माण गर्ने काम सम्भव हुन सक्ला र ? 


हिजो र आज फरक छ । ‘मुकुन्डो’ व्यक्तिगत तवरले आएको हो । मूलधारमा हिजो जे थियो, त्यो पनि व्यक्तिगत कोसिसले नै हो । तर, राज्यले गरेजस्तो छिटोचाहिँ हुँदैन । चाँडो संस्थागत हुँदैन । बिस्तारै हुँदै जान्छ ।


अहिलेको परिवेशमा तपाईं राज्यसँग कत्तिको आशावादी हुनुहुन्छ ?


आफ्नै राज्यसँग आशावादी नभएर कोसँग हुने र ! नभएर विकल्प पनि छैन । चेतनाको स्तरमा पहल गर्नुपर्छ । गाईको ठूलो मूर्ति बनाएर चर्चा हुने होइन । त्यो लगानीले दश राम्र्रा फिल्ममेकर, दश राम्रो खेलाडी जन्माउँदा चर्चा बढी होला । इरानलाई मोहम्मदको मूर्तिले होइन, सिनेमाले चिनाएको हो । साउथ कोरियालाई हामीले पहिले ड्रामा र सिनेमा हेरेर चिनेका हौँ । विश्वकपमा गएको टिम हेरेर कुनै देशलाई चिनेका हौँला । राज्यले यस्तो तरिकाले सोच्नुपर्छ । कुन समाज कस्तो छ, चिनाउने भनेको कलाले हो ।