• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
प्रमिला देवकोटा
२०७७ माघ १० शनिबार ०८:५०:००
सम्झना

विदेशमा देश दुख्ने सिलसिला

शिक्षा

२०७७ माघ १० शनिबार ०८:५०:००
प्रमिला देवकोटा

सन् २०१५ को सेप्टेम्बरमा अध्ययनका लागि चीन प्रस्थान नगरेको भए ‘गजब नेपाल’बारेको मेरो भ्रम उस्तै रहन्थ्यो होला । खासमा गणतन्त्र आइदियो भने अझ गजब हुन्छ भन्ने सोच्नेहरूमध्ये म पनि थिएँ । गणतन्त्र आइसकेको थियो, त्यसैले सब ठीकठाक भइरहँदा विदेश हिँड्ने मेरा मित्रहरू देशकै शत्रु थिए । 


मलाई यहाँका विकृतिहरूप्रति असन्तुष्टि थियो । जस्तो पानीभन्दा हावा धेरै फाल्ने धारा, गायब भएका पैदलयात्रीका सडकपेटी, शिक्षक नपाउने क्याम्पसका कक्षाकोठा, हावामा मिसिएका धुवाँ र धुलो, कामैपिच्छे घुस माग्ने कर्मचारी, पावर लगाउने वर्गका चुरीफुरी नेपालमा बस्नै नसकिने अवस्थाका मापक होइनन् भन्ने मेरो बुझाइ थियो । देशमा सगरमाथा थियो, लुम्बिनी थियो, कतै नपाइने गैँडा थियो, तालमा तस्बिर देखिने हिमालहरू छ्यापछ्याप्ती अनि ४० प्रतिशतमाथि जंगल । यतिले देश गजबै छ भन्न पर्याप्त थियो । 


सब ठीक भइरहँदा देशलाई एउटा संविधान मात्रै चाहिएको थियो । अनि म त्यो जवान मान्छे थिएँ जसलाई सब कुरा थाहा थियो र देशमा गजब भइरहेको थियो ।त्यसैले मुलुक छाडेर विदेशमा बस्ने र नेपालबारे गनगन गर्ने साथीहरूलाई म छुची भएर भन्थेँ, ‘हाम्रा लागि देश गज्जब छ, तिमीहरूलाई लाग्दैन भने उतै मजा लिएर बस, हाम्रो देशबारे बेइज्जत नगर ।’ तर, पाँच वर्ष देशबाहिर बिताएपछि मेरो चेत फर्किएको छ र देशको बेहाल अवस्थाबारे ज्ञात हुँदै गएको छ । मुलुकमा बस्न कठिन भएको र बसेकाहरू माहोलमा जुधेर बसेका भन्नमा म स्पष्ट भएकी छु ।


मौसम र माहोल अनुकूल नहुँदा आफ्नो वास र आहारा खोज्न प्राणीहरू ठाउँ बदल्दै हिँड्छन् । मानव सभ्यताको विकास हुनु त्यही क्षमता र रुचिको महत्वपूर्ण योगदान थियो । तर, चारो खोज्न जहाँ पुगे पनि हुर्केको ठाउँप्रतिको लगाव र प्रेमसँग केहीको पनि तुलना हुन सक्दैन । साइबेरियाको चिसो छल्न न्यानो खोज्दै आउने चराहरू पनि फर्कने समयको पर्खाइमा हुन्छन् । त्यस्तै विदेशमा बसेका नेपालीहरूमा पनि देश अनुकूल भइदिए गइहाल्थेँ भन्ने आस बाँचिरहेको हुन्छ । 


देशमा जे भए पनि झेल्दै जिउने बानी परेका हामी सन्तानको हकमा डराउँदा रहेछौँ । साढे तीन वर्षको भएको मेरो छोराको जीवनका सम्झनाहरू यो देशमा ठीकठाक अवस्थाबाट सुरु होस् भन्ने अहिलेको मेरो पहिलो सपना हो । तर, पछिल्ला राजनीतिमा त्यस्तो अवस्था असम्भव देखिन थालेपछि आजकल म कहिले माइतीघर त कहिले प्रज्ञाप्रतिष्ठानमा उभिएर आक्रोश शान्त गर्न पुग्छु ।


‘नयाँ पत्रिका’की मेरी एक पूर्वसहकर्मी भन्थिन्, ‘यो दुनियाँमा महिलामाथि हुने विभेद भन्ने नबुझेको भए मेरो जीवन सुखी हुन्थ्यो । मेरी आमा मभन्दा सुखी भइन्, अन्जान भएकोले । म दुःखी छु सबै जानेकाले ।’ म पनि दिमागमा गज्जब छ भइन्जेल यो मुलुकमा खुब सुखी थिएँ, जब देश गज्जब के–केले हुन्छ भनेर देखियो र बाँचियो अनि दुःखी हुँदै गइयो । तपाईंको दिमागमा आउँछ कि नाई विदेशमा बस्ने कतिपय नेपाली किन सामाजिक सञ्जालमा अति सक्रिय हुन्छन् ? मेरो अनुभव सुनाउँछु, हरपल यो देशमा के हुँदै छ भन्ने चासोले । 


अनि त्यहाँ नेपालबारे के कुरा सबैभन्दा बढी मिस हुन्छ ? मःमः ! गुन्द्रुक ! लप्सीको अचार ! रायोको साग ! मालदह आँप ! मालभोग केरा ! वसन्तपुरको चिया ! दोलालघाटको माछा ! मलेखुको आलुचप ! पोखराको डुंगा ! नगरकोटको भ्यू टावर ! चितवनको गैँडा ! लुम्बिनीको पोखरी ! अनि अरू ।तर, यी सबै सम्झेर तपाई लोभिनुहुन्छ, आत्तिनुहुन्न । म विदेशमा बस्दा नेपाल सम्झेर आत्तिने विषयमा यहाँ आफ्ना अनुभव सुनाउँछु । 


बजारको पुँजीकरण गरेको चालिस वर्षमा चीनले विकासमा चमत्कार गरेको विषय पुरानो हो । क्यानाडाबाट चीन फर्केर देश सेवा गरिरहेका मेरा एक प्रोफेसर चीनमा बनेका ठूला भौतिक संरचनाप्रति कुनै लगाव नभएको बताउँदा म भर्खर चीन पुगेकी थिएँ । त्यहाँको भव्य संरचनाबाट प्रभावित मलाई उनको कथनप्रति त्यतिवेला अलिकति अचम्म लागेको थियो । त्यहाँ मैले १६ सयभन्दा बढी दिन बिताएपछि आफ्ना ती गुरुको भाव पूरै बुझ्ने भएकी छु, ठूला संरचनाहरूले मानिसका आँखा र मुखलाई एकैछिन तन्काएर अचम्मित पार्न सक्छ, तर त्यो दैनिक जीवनमा खुसीको कारण बन्न सक्दैन ।

चीनको चिनानमा विद्यार्थीका रूपमा पुगेपछि मैले हामीसँग त्यस्ता साना–साना संरचना र सुविधा के–के छैनन् भन्ने बुझेँ । हामी प्रकृतिले आफैँ बनाएका संरचनामा अतिरिक्त गर्व गरेर कसरी मानव सभ्यताका न्यूनतम संरचनाको पनि हकदार नभई वीर गोर्खाली भन्दै बसिरह्यौँ भन्ने बुझेँ ।


काठमाडौंमा झन् अग्लिएर बन्दै गरेको धरहराको तस्बिरभन्दा, रानीपोखरी ब्युँतिएको हाम्रा आँखालाई किन बढी मजा आयो भने रानीपोखरी सबका लागि हुनेछ, धरहरा त्यहाँ छिर्न पैसा तिर्नेहरूका लागि । जस्तो कि उमेर बढाएर खाडी पुगेका किशोरकिशोरीहरूलाई पक्कै पनि त्यहाँका ठूला टावर देखेर देशमा यस्तै भइदिए भन्ने भाव आउँदै आउँदैन । सजिलोसँग जीवन चलाउन जागिर किन छैन भन्ने भाव आउँछ । म शिक्षाका लागि परदेसिएकी थिएँ, त्यसैले मलाई मेरै दुःखको रुचि थियो र यत्तिको पढ्ने ठाउँ देशमा किन भएन भन्ने भइरह्यो । 


त्यसैले म यहाँ शिक्षाको कुरा गर्न चाहन्छु । सुरुवात भौतिक संरचनाबाट गरौँ । हामी अध्ययन गर्ने क्याम्पस कस्तो थियो, अझै कस्तो छ ? मेरो निजी अनुभव यस्तो छ; क्याम्पसमा भौतिक संरचनाको नाममा कक्षा कोठा र त्यसभित्र बेन्च र टेबल हुन्छन् । कुनै कोठाहरूमा पर्याप्त नहुनु सामान्य नै हो, उभिएर पढ्नु शिक्षाप्रति झनै प्रतिबद्ध हुनु हो । ट्वाइलेट गल्तीवश सफा छ, पानीको पनि व्यवस्था छ भने त्यसमा विद्यार्थीलाई अतिरिक्त गुन लगाइएको हो । यति संरचना भएपछि नेपालमा उच्च शिक्षा दिने ठेक्का लिन पाइन्छ । 


अनि विद्यार्थी कस्ता छन् ? जस्तो राज्यले बनाउन चाहेको छ । पर्यटकशैलीमा क्याम्पस जानु सामान्य हो, नियमित पुगे भने बरु असामान्य । शिक्षकले के पढाइरहेको छ भन्ने विषयमा उसले खासै ध्यान नदिँदा हुन्छ, बरु शिक्षक कुन दल आबद्ध छ भनेर उसले थाहा पाउनुपर्ने हुन्छ । कुनै विद्यार्थी शिक्षकसँग अति डराउँछन्, कुनै विद्यार्थी शिक्षकलाई अति हेप्छन् । नेपालकै शिक्षा प्रणालीको वातावरणमा विद्यार्थीले शिक्षकलाई मरणासन्न हुने गरी कुट्छ । शिक्षकसँग प्रश्न गर्ने र छलफल गर्ने विद्यार्थी निर्माण गर्ने संस्कृति नेपालका विश्वविद्यालयको लक्ष्य नै होइन, कि भेडाजस्तो डोरिएर पछि लाग्ने कि साँढेझैँ हान्न जाने माहोल बनाउने हाम्रो देशको शिक्षा प्रणाली हो । 


शिक्षकहरू नि ? बीस वर्षअगाडि बनाएको नोटले कक्षा चलाउँछन् । उनीहरू अतिव्यस्त हुन्छन्, पार्टीका काममा । विद्यार्थी जति कम जिज्ञासु भयो, उति उनीहरूलाई जीवन चलाउन सजिलो हुन्छ । आफ्ना कुरा चुपचाप सुनेर ठ्याक्कै त्यही परीक्षामा लेख्ने विद्यार्थीहरू शिक्षकका प्रिय हुन्छन् । आफूसँग सवालजवाफ गर्ने विद्यार्थी चोथाले हुन् । विद्यार्थी आफूले भन्दा बढी पढ्नेखालको रहेछ भने कुनामा बसेर सुनाउन त सक्छ, तर कक्षामा सबका अगाडि प्रश्न गर्न र त्यसलाई व्याख्या गर्न सक्दैन ।


थेसिस कसरी लेखिन्छ र पास हुन्छ ? सम्भवत यो विषय नेपालको शिक्षा क्षेत्रमा सबैभन्दा बढी आलोचित र छलफल भएको तर पटक्कै नबदलिएको विषय हो । मेरो थेसिस लेखन अनुभवमा थेसिसको सुपरभाइजर उसको ज्ञानको दायरामा तोकिँदैन, विभाग प्रमुखको रुचिमा तोकिन्छ । 


विद्यार्थीको आफ्ना सुपरभाइजरसँग थेसिसको शीर्षक पास गर्दा र थेसिसको डिफेन्स गर्दा मात्रै भेट हुन्छ । उनीहरूलाई थेसिसमा आफूलाई किताबको पहिलो पृष्ठमा आफ्नो नाम छ कि छैन हेर्न रुचि हुन्छ, उसले लेखेको विषय कहाँबाट ल्यायो भन्ने विषयमा हुँदैन । पर्यटक विद्यार्थी बनेर माथि भनेजस्ता शिक्षकहरूबाट भग्नावशेषजस्ता कक्षा कोठाहरूमा स्नातकोत्तर भएकी ममाथि चीन पुगेपछि के भयो त्यो म भन्छु । 


मलाई पनि चीन पुगेपछि थाहा भयो, जसरी देश बन्न भूगोल र जनसंख्या पहिलो सर्त हो, विश्वविद्यालय बन्न भौतिक संरचना र विद्यार्थी पनि पहिलो सर्त हुन् । अनुशासन विद्यार्थीको मात्र होइन, शिक्षक, विभाग चलाउने नेतृत्वको पनि हुन्छ,उनीहरूका पनि मापदण्ड र ज्ञानको सीमा हुन्छ ।


विद्यार्थी, शिक्षकका लागि भौतिक संरचना नबनाई क्याम्पस भन्न पाइँदैन । त्यो भनेको नेपालमा जस्तो एउटा घर लिएर क्याम्पस बनाउनु होइन । कक्षाकोठामा हरेक विद्यार्थीलाई डेक्स र बेन्च, त्यसको छेउमा पिउने पानीको व्यवस्था, सफा र हरेक तलामा केटा र केटीका छुट्टै शौचालय, क्याम्पस हाताभित्रै विद्यार्थी क्षमताको होस्टेल, उनीहरू एकैसाथ खाना खान मिल्ने क्यान्टिन, क्यान्टिनमा पर्याप्त पौष्टिक आहार र बजारभन्दा सस्तोमा खान पाइने व्यवस्था, लाखौँ पुस्तक अट्ने पुस्तकालय त्यसमा हजारमाथि विद्यार्थी अट्ने हल, इन्टरनेटका पुस्तकमा पहुँच, अनि खेल्न कुद्न पर्याप्त मैदान र संरचना । यो एउटा विश्वविद्यालयको भौतिक संरचनामा पूरा हुनैपर्ने मापदण्ड हो ।

 
दोस्रो कक्षाकोठामा सक्रिय रूपमा अध्ययनमा सहभागी हुनुपर्छ । त्यसमा सयमध्ये चालीस अंक पाइन्छ । फेरि विषयवस्तुमा ज्ञान छ भनी प्रमाणित गर्न कक्षामा वेलावेलामा प्रस्तुतीकरण दिनुपर्छ, सन्दर्भसामग्रीसहित । भनेपछि यहाँजस्तो कक्षाकोठामा बसेर टाउको हल्लाएर तपाईंको अध्ययन सकिँदैन, प्रमाणित गर्नुपर्छ । 


अनि कक्षामा शिक्षकले आफूसँग बहस गर्न जुनसुकै वेला निम्ता दिन्छन् । मैले भनेको के तिमीहरूलाई सही हो भन्ने लाग्छ जस्ता प्रश्न प्रोफेसरहरूबाट हरेक विद्यार्थीले सामना गरेको हुन्छ र आफ्नो मत राख्ने मौका र दबाब रहन्छ । त्यति मात्रै होइन, प्रोफेसरको तर्कमा विश्वस्त नभए वा गलत पढाइरहेको ज्ञान भए विद्यार्थीलाई स्पष्ट हुने र सुधार्ने अधिकार हुन्छ । 
कक्षाको अवधि सकिएपछि त्यसमा पेपर लेख्नु अनिवार्य हुन्छ । कक्षा पेपरमा चोरी नगरुन् भनेर पटकपटक सचेत गराइन्छ । अँ साच्ची ! नेपालमा भने चोरी गर्नेलाई नियुक्ति नै पो दिइन्छ । 


राजनीतिशास्त्रमा स्नातोकोत्तर गरेकी, दशौँ वर्ष पत्रकारिता गरेकी म आफ्नो हात्ती र हात्तीछाप चप्पल उस्तैउस्तै शैलीको शिक्षा प्रणालीमा खोट नदेखी राष्ट्रवादमा रुमल्लिई सब वेवास्ता गर्नुमा केको दोष थियो । म अहिले स्पष्ट छु, त्यसमा त मेरो दोष नै थिएन । 


कन्फ्युसियस जन्मिएको सहर छ्युफूबाट २ घन्टाको बसयात्रामा पुगिने सान्तोङ प्रान्तको राजधानी चिनानमा विद्यार्थीका रूपमा पुगेपछि मैले हामीसँग त्यस्ता साना–साना संरचना र सुविधा के–के छैनन् भन्ने बुझेँ । हामी प्रकृतिले आफैँ बनाएका संरचनामा अतिरिक्त गर्व गरेर कसरी मानव सभ्यताका न्यूनतम संरचनाको पनि हकदार नभई वीर गोर्खाली भन्दै बसिरह्यौँ भन्ने बुझेँ । 


मेडिसिन र प्राविधिक शिक्षा यति महँगो हुने र महत्व दिन नेपालले भारतबाट सिक्यो । तर, त्योबाहेकका अन्य विषयमा भारतले जसरी मोदीको शासन अगाडि लगानी गर्दै आइरहेको थियो, त्यसमा रुचि नै दिएन । देशमा सामाजिक विज्ञान, अर्थशास्त्र, इतिहासजस्ता विषय यति हल्का बनाइएको मैले विदेशमा पढेपछि बुझेँ । त्यसका लागि कुनै भौतिक संरचना, बजेट आवश्यक नै ठानिएन । बरु विश्वविद्यालयको जमिन पेट्रोल पम्प, प्रहरी चौकी र अन्य व्यापारिक भवनहरूले भरियो ।


कल्पना गरौँ त कीर्तिपुरको अहिलेको दृश्यमा होस्टेलका भवनहरू, त्यसको बार्दलीमा बसेर किताब पढिरहेका विद्यार्थी, सुकाउन झुन्डाइएका रंगबिरंगी लुगा र सहुलित दिइएको ठूला क्यान्टिनमा न्यूनतम मूल्य तिरेर पेट भरिरहेका विद्यार्थी, भव्य पुस्तकालयका कुनाकुनामा किताब च्यापेर बसेका विद्यार्थी, पुराना रूखमुनि ओत लाग्दै छलफल गर्ने समूहहरू । यसले तपाईंको आँखा र मनलाई दिने सन्तुष्टि झापामा डेढ अर्बमा बन्दै गरेको ओली टावरले दिन्छ ?


हाम्रा छिमेकी देशहरूमा भव्य विश्वविद्यालयहरू खोलिँदा हाम्रोमा स्कुलहरू पनि खोलिएनन् । जनता जाग्ने डरमा जनताको पहुँचमा शिक्षा पुग्न दिन हुन्न भन्नेमा राणाहरू स्पष्ट थिए । देशमा प्रजातन्त्र ल्याएको ७० वर्ष पुग्दा हामीसँग अझै सही शिक्षामा पहुँच छैन । किन ? किनभने निकम्मा र भ्रष्ट नेतृत्वलाई साथ दिने भिडहरू तयार गर्न । 


नत्र जनताका लागि राजनीति गर्ने भनेकाहरूले जनतालाई आफूसँग छलफल गर्न, प्रश्न सोध्न, नीतिहरूमा व्यापक मत व्यक्त गर्ने गरी मानव स्रोत तयार पार्न देशमा के भएको छ ? बरु त्यस्तो छ भने त्यसमा रूख, सूर्य हँसिया हथौडाका झन्डा कति बलियो पारी फहराउने भन्नेमा भने गजब भएको छ । 


देशमा स्तरीय शिक्षामा पहुँच नहुँदा हामी भेडा बन्दै गइरहेका छौँ । नत्र हामीले काठमाडौंमा उड्ने धुलोधुवाँले छोपिएका आँखा पुछ्दै मौसमको ताक पर्दा देखिने गणेश हिमाल हेरेर रमाउनुपर्छ भन्ने न्यारेटिभ किन पत्याउँथ्यौँ ? जनावर ओसार्ने ट्रक र सार्वजनिक यातायात उस्तै हुँदा पनि देशभित्रकै हावा खान पाइएकै छ भनेर कुनै मत नराख्ने संस्कार हामीमा कसले विकास गरिदियो ?


खाद्यान्नको महँगी र मिसावट, विष मिलानको सामान्यीकरण हुँदा हाम्रा खानामा ओखती छन् भन्दै उल्टै फुर्ती लगाउने हामी कसरी भयौँ ? नजिकको कुरा सम्झँदा त्यसैगरी भन्यौँ होला, जसरी हिमालमा ठोक्किएको हावाले हामीलाई रोग नै नलाग्ने गरी बलियो बनाएको थियो र हामीले त्यसलाई पत्याइदिनाले अस्पतालहरू भरिन पुगेका थिए ।


तपाईं चीनको सट्टा भारत वा बंगलादेश गएको भए पनि उस्तै अनुभव पाउनुहुन्थ्यो । भारतीय राजनीतिबाट प्रभावित भएको भनिने र नेपालको शिक्षामा भारतले लगानी गर्ने गरेको भए पनि नेपालमा एउटा विश्वविद्यालय, एउटा है एउटा मात्रै विश्वविद्यालय दक्षिण एसियामा राम्रामा पर्ने गरी किन विकास गरिएन ?