• वि.सं २०८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२०७७ माघ १० शनिबार ०९:०६:००
समाज

लोकतन्त्र धर्मराउनु वंशवाद दोषी

२०७७ माघ १० शनिबार ०९:०६:००

००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि नेपालमा पटकपटक निर्वाचन भयो । ती सम्पूर्ण निर्वाचनमा भोट
हाल्नेमध्येका एक हुन् वरिष्ठ पत्रकार भैरव रिसाल । ९३ वर्षीय पाका पत्रकार रिसालले पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्ना धारणा राजु स्याङ्तानसँग साटेका छन् :

२२ वर्ष राणाशासन भोगेँ । त्यसपछि पञ्चायत भोगेँ र अहिले गणतन्त्र पनि भोगिरहेको छु । सबैभन्दा बिझाउने समय राणाकाल नै थियो । त्यसबेला आममानिसलाई हिँडडुल गर्नसमेत छुट थिएन । राजा हिँड्ने र रैती हिँड्ने बाटो नै फरक थियो । सिंहदरबारअघि पृथ्वीनारायण शाहको शालिकअघि आममान्छे हिँड्न पाउँदैन थिए । पुलमुनिबाट हिँड्नुपथ्र्यो । उपत्यकाबाहिर मकवानपुरको चिसापानीगढी पुग्नसमेत राहदानी चाहिन्थ्यो । नाटक पनि हेर्न नपाइने । जातपातको कठोरता त्यस्तै थियो । 


मैले २०१५ सालमा पहिलोपटक भोट हालेँ । फागुन ५ गते सुरु भएको मतदान वैशाख २१ गतेसम्म भयो । जहाँ मतदान सकिन्थ्यो, त्यहाँ मतगणना भइहाल्थ्यो । मतपरिणाम आएपछि जित्ने पार्टीलाई भोट दिनुपर्छ भन्ने मनोविज्ञान जनतामा बन्दै जान्थ्यो । त्यसवेला नेपाली कांग्रेसले धेरै सिट जित्नुमा त्यो पनि एउटा कारण हो । 


२०१५ सालको निर्वाचनमा जनतामा निकै ठूलो उत्साह थियो । प्रजातन्त्र र परिवर्तनप्रति मान्छेको आस्था थियो । जनतामा अहिलेजस्तो अधिकार मात्रै होइन, राज्य नै पाउँछौँ भन्ने आशा थियो । त्यसवेला यातायातको सुविधा थिएन । मानिसहरू वास बसेर पनि भोट हाल्न आए होलान् । त्यसवेला विशेष गरी काठमाडौं उपत्यकामा बिर्ता प्रथाको धेरै शोषण थियो । पार्टीहरूले बिर्ता प्रथा उन्मूलन गर्छौं भनेका थिए । मोही किसानहरूले त्यो शोषणबाट मुक्त हुन पाइने आशामा पनि भोट हाले । त्यसवेला जम्मा ४८ लाख ४६ हजार ७ सय ६८ जना मतदाता थिए । त्यसमध्ये १७ लाख ९१ हजार ९ सय ५४ जनाले भोट हाले । 


२०१५ सालको चुनावताका नेताहरूले मानिसलाई प्रलोभन कम दिन्थे । जनतालाई कम ढाँट्थे । त्यसताका राजनीतिमा इमानदारीको मात्रा बढी थियो । ६२ वर्ष बित्दा त्यो मात्रा बढ्नुपर्नेमा झन् घट्दै गयो । अहिले नोक्सान यसैबाट भएको छ । जनताले आशा गरिरह्यो, नेताले ढाँटिरह्यो । जनता सधैँ जाग्नुपथ्र्यो, अनि नेताले बदमासी गर्न पाउँदैन थिए । जनता पनि वेलावेलामा आँखा खोल्छ, अनि फेरि आँखा चिम्लिहाल्छ । नेपाली जनता वेलावेला झुक्किन्छ, तर प्रतिक्रियावादी छैन ।

 

इमान्दार छ, सोझो पनि छ, तर बेइमान छैन । वेलावेला नेताले फकाउँदा फकी पनि हाल्छ । यसको एउटा उदाहरण हो, २०३६ सालको जनमतसंग्रह । त्यसवेला आम मतदाताहरू बहुदल चाहन्थे । तर, सत्तापक्षले धाँधली गरेर जित्यो । 
२०१५ सालदेखि अहिलेसम्म यतिका वर्ष बित्दा पनि पात्र फेरियो, तर प्रवृत्ति फेरिएन । बरु प्रवृत्तिको स्वरूप बदलिरह्यो । त्यसैको परिणाम हो, श्रीपेचविनाका नयाँ महाराजहरूको जन्म ।

 

बितेको ७० वर्षमा पहिलाको तुलनामा मानिस धेरै सचेत भए  । तर, यो सचेतता समाज परिवर्तनका लागि प्रयोग भएको छैन । अहिले जनतालाई नेताहरूले बढी नै ढाँटिरहेका छन् । त्यो सचेतता नेताको झुटविरुद्ध प्रयोग हुनुपथ्र्यो । आममानिस भोट हाल्नु अघिल्लो दिनसम्म सचेत देखिन्छन्, भोट हाल्नेवेला मोहनी लगाएझैँ फेरि उही पार्टी रोज्छन् । यो प्रवृत्ति पहिला पनि थियो, अहिले पनि कायम छ ।


अहिले नेता इमान्दार छैनन् भन्ने कुरा जनतामा पर्‍यो । लोकतन्त्रमा यो सबैभन्दा बढी नोक्सान हुने कुरा हो । नेता इमान्दार छन् भन्ने पर्नुपथ्यो । त्यसवेला बिपी, पुष्पलाल, गणेशमान र मनमोहनप्रति मानिसको आशा थियो । अहिलेका नेताहरूले आममानिसमा त्यो तहको आशा जगाउन सकेनन् । प्रचण्डले त्यो संकेत देखाएका थिए । तर, बिस्तारै गडबढ हुँदै गयो ।

 

समय बित्दै जाँदा सबै नेताहरूको चरित्रमा तात्विक अन्तर देखिएन । इमानदारीको स्खलन हुँदै गयो । हामीले राणा शासनको वंशवादको विरोध गर्‍यौँ । तर, प्रजातन्त्र आइसकेपछि पनि वशंवादलाई निरन्तरता दिइरह्यौँ । नेपालमा लोकतन्त्रको सही अभ्यास नहुनुमा वंशवाद पनि दोषी छ । 

हामीले राणा शासनको वंशवादको विरोध गर्‍यौँ । तर, प्रजातन्त्र आइसकेपछि पनि वशंवादलाई नै निरन्तरता दिइरह्यौँ । नेपालमा लोकतन्त्रको सही अभ्यास नहुनुमा वंशवाद पनि दोषी छ ।


हामीले भोट हालेर स्थिर सरकारको चाहना राख्यौँ । तर, अहिले लाग्छ, त्यो स्थिरताको परिभाषा नै पुरानो भयो । अहिलेका प्रधानमन्त्रीले संसद् विघटनको कदम चालेर स्थिरताको परिभाषा नै नयाँ तरिकाले गरिदिनुभयो । स्थिरताको परिभाषा नै जनता र नेताको फरक भइदियो । हाम्रो समाजको सबैभन्दा ठूलो समस्या भनेको पत्याउन नहुनेलाई पत्याइदिन्छौँ । नेताको मीठो कुरामा लोभिन्छौँ । समग्र हेर्दैनौँ, अंशमै रमाउँछौँ । त्यसपछि नेताबाट निरन्तर धोका पाइरहन्छौँ ।


राजनीतिक नेतृत्व इमान्दार नहुँदासम्म आमजनताले आशा गरेको वास्तविक लोकतन्त्र आउन गाह्रो छ । अहिले नेताहरू इमान्दार नभइदिँदा राजनीतिमा ठूलो नोक्सान भएको छ ।  प्रजातन्त्र सबैलाई आउनुपथ्र्यो । तर, ७० वर्ष बित्दा नेपालमा केही मानिसलाई मात्रै प्रजातन्त्र आयो, धेरैलाई आउँदै आएन ।

 

१५ सालबाट यता ६२ वर्ष बित्दा देश आममान्छेको हित गर्ने बाटोतिर हिँडेकै छैन । संविधानमा देखाएको जस्तो लक्ष्यमा पुग्ने त झन् कहिले हो कहिले ! हामी पनि लोकतान्त्रिक हुन सकेनौँ । नेता पनि लोकतान्त्रिक हुन सकेनन् । हामीले अभ्यास गर्ने लोकतन्त्रको दोष होइन, पद र पैसामा लोभिने नेताका कारण समस्या आयो । यसलाई कसरी हटाउने अहिलेको चुनौती नै यही हो । 


दोस्रो जनआन्दोलनबाट जनताको सपना पूरा भएन । तेस्रो जनआन्दोलनबाट पूरा हुन्छ भन्ने ग्यारेन्टी के छ ? तर, अहिले आन्दोलन नगरी पनि भएको छैन, आन्दोलनपछि नतिजा राम्रो हुन्छ भन्ने ग्यारेन्टी पनि छैन । अहिले निकै असजिलो स्थिति छ ।