• वि.सं २०८१ मङ्सिर ६ बिहीबार
  • Thursday, 21 November, 2024
२०७७ माघ २४ शनिबार ०८:२९:००
साहित्य

माटो खोसिएको एउटा गाउँको कथा 

२०७७ माघ २४ शनिबार ०८:२९:००

उनीहरूले पहिला पैसाले माटो खोसे, त्यसपछि धानले र अहिले ‘विकास’ले माटो खोसिरहेका छन् 

हेर्दाहेर्दै झम्टेवीर तामाङको गाउँमा सबथोक फेरियो । उनी पहिला गाउँवासी थिए, अहिले नगरवासी भए । पहिला उनको गाउँमा गोरु र पाडाले तान्ने गडी गुड्थ्यो । अहिले कार गुड्छ । टुकी बत्ती विस्थापित भयो, बिजुलीबत्ती आयो । गाग्रीमा पानी बोक्नु परेन, घरघरमा नगरको धारा आयो । चिठी बोकेर हुलाक कार्यालय धाउनु परेन । घरघरमा इन्टरनेट आयो । सहकारीदेखि मनी ट्रान्सफरसम्म, स्वास्थ्य चौकीदेखि पुलिस चौकीसम्म, टेलिफोनदेखि टेलिभिजनसम्म सबै सुविधा उनको गाउँमै आयो । झम्टेवीरको गाउँमा के मात्रै फेरिएन र अहिले, सबथोक फेरियो । सरसर्ती हेर्दा झम्टेवीरको गाउँमा अब फेरिन बाँकी केही रहेन ।

तर, गाउँमा धेरैथोक फेरिँदा पनि उनको जीवन भने फेरिएन । गाउँमा विकासको लहर चलेर सबथोक फेरिँदा पनि झम्टेवीरको परिचय भने फेरिएन । भोट हालेपछि केही दिनका लागि त उनको औँलाको रंग फेरियो । तर, उनको शरीरमा लुगा फेरिएको गाउँलेहरूले देखेनन् । उनको खुट्टामा चप्पल परेको पनि गाउँलेहरूले आजसम्म देखेनन् । उमेरले ५ दशक टेक्न लागेका उनलाई गाउँलेहरूले अझै ‘दाउरे’कै रूपमा चिन्छन् । उनी गाउँभरिका मानिसको दाउरा चिरिदिन्छन्, खेत खनिदिन्छन्, मल बोकिदिन्छन् । हिजोआज गाउँलेहरू भन्दै छन्, ‘अब झम्टेवीरले पहिलाको जस्तो दाउरा चिर्न सक्दैन । खेत खन्न सक्दैन । किनकि उनलाई पोहर सालदेखि टिबी रोग लागेको छ ।’ 

                        ०००

माथिका दृश्यहरू एका–अर्कामा विरोधाभासपूर्ण देखिन्छन् । एकातिर गाउँमा विकासको मूल फुट्यो भनिएको छ । अर्कोतिर एकजना किसान खाली खुट्टै हिँडिरहेका छन् । गाउँमा यतिका विकास भइसक्दा पनि एकजना तामाङ चाहिँ किन खाली खुट्टै हिँडिरहेका छन् ? के एकजना ‘दाउरे’को खाली पैतालाले ‘विकास’को महाअभियानलाई चुनौती दिइरहेको हो ? यो विरोधाभास बुझ्न महोत्तरी, बर्दिवास नगरपालिका–११ खयरमाराको माटोको इतिहास खोतल्नुपर्ने हुन्छ । त्यो माटोको कथा यस्तो छ :

माटोको कथा 

खयरमारा गाउँ महोत्तरीको उत्तरी कुना सिन्धुली र सर्लाहीको सिमानामा पर्छ । पूर्व–पश्चिम राजमार्गबाट उत्तर, चुरेको फेदीमा रहेको यो गाउँको इतिहास करिब ९० वर्ष लामो छ । तत्कालीन महोत्तरी–धनुषा जिल्लाको दक्षिणी क्षेत्रमा ठूलोे आवादी थियो । जिल्ला विभाजनको प्रतिवेदनअनुसार सन् १९५२ तिर महोत्तरीको जनसंख्या २ लाख ३५ हजार थियो । तर, जिल्लाको उत्तरी क्षेत्र चुरेको काखतिर भने मानिसको बसोवास त्यति थिएन । सिन्धुलीको सिमानाले छोएको चुरेको खोँचभित्र चाहिँ केही तामाङहरू रोगव्याधि र महामारीबाट बच्न लुकेर बस्ने गरेको स्थानीयहरू बताउँछन् । खयरका रूखहरूको झाडीले खयरमारा ढाकिएको थियो । त्यही ठाउँमा फाट्टफुट्ट सिन्धुली, रामेछाप र काभ्रेतिरबाट आएका तामाङहरू झाडी फाँटेर बस्न थाले । 

विंसं २०२४/२५ सालतिर तराईको बारेमा अध्ययन गरेका विद्वान् अनुसन्धाता फ्रेडरिक एच.गेजले आफ्नो पुस्तक ‘रिजनालिज्म एन्ड नेसनल युनिटी इन नेपाल’मा लेखेका छन्, ‘महोत्तरी–धनुषाको विमवन भनिने ठाउँ राणा प्रधानमन्त्री वीर शमशेरका दुई छोराहरूलाई बिर्ता दिइयो । सन् १९५० को दशकको सुरुतिर ती दुई दाजुभाइले तामाङ र मगरहरूलाई जमिन अधिया दिने लोभ देखाएर जंगल फँडानी गर्न लगाए ।’ 

गेजले भनेको विमवन र खयरमारा एउटै ठाउँ होइन, तर एउटै भेग भने हो । खयरमाराका तामाङ बुढापाकाहरू विंसं.१९९० सालतिर त्यहाँ आएर झाडी फाँडेर बस्न थालेको बताउँछन् । त्यसवेला झाडी फाँडेर बसेका जितमान तामाङका ७५ वर्षीय छोरा बुद्धिमान तामाङ सम्झिन्छन्, ‘९० साल आसपास नै बुबाहरू सिन्धुलीबाट यहाँ झरेर जंगल फाँडेर बस्न थालेछन् ।’ उनी त्यसवेलाका स्थानीयहरू सम्झिन्छन्, ‘त्यसवेला डिम्डोङ खलक, कीर्तिमान पाख्रिन, छोड्केली वाइबा, म्योबा बोम्बो, मोक्तान साँजी, लट्टे स्याङ्तान, चुँइसे गोले, मोक्तान जेठाहरू थिए । राना कान्छा, बाह्रकोटी मगर, एकचए मगर, पनि थियो । अने कामी, मन्जिते सार्की, शिवलाल गेलाल, फत्तेबहादुर कटुवाल र पसले बाहुन पनि थियो ।’

जो पैसा बोकेर गाउँ पसे

बहुसंख्यक सोझा तामाङहरू, केही मगरहरू, छिटफुट क्षेत्री–बाहुन र दलितहरू खयरमारामा झुपडी बनाएर बसेका थिए । २००७ को परिवर्तनपछि खयरमारामा बस्ती बढ्न थाल्यो । औलो उन्मूलन सुरु भएपछि नेपालभित्र आन्तरिक बसाइसराइँ झनै बढ्यो । पहाडी क्षेत्रबाट क्षेत्री–बाहुन समुदायका मानिस पैसा बोकेर खयरमारा झर्न थाले । जतिजति बस्ती बढ्दै गयो तामाङहरू किनाराकृत हुँदै जाने क्रम सुरु भयो । तामाङले फाँडेको खयरमाराको केही भू–भाग नारायणबाबु भनिने खस–आर्य समुदायका मानिसले बिर्ता पाए । बिर्ताद्वारा केही जमिन खोसिए पनि तामाङहरूसँग प्रशस्त जमिन र अन्न थियो, तर पैसा थिएन । क्षेत्री–बाहुनसँग पैसा थियो, तर जग्गा थिएन । ‘हामीलाई पैसा सबथोक हो भन्ने लाग्न थाल्यो । हामीसँग खोल्माभरि मकै हुन्थ्यो । तर, पैसा हुन्थेन,’ बुद्धिमान छक्क पर्छन्, ‘त्यसवेला छेत्री–बाहुनसँग चाहिँ पैसा हुने । हामीसँग चाहिँ नहुने, कसरी यस्तो भयो थाहा छैन ।’ 

साहुले ऋण दिइरह्यो, तामाङहरूले अन्न र जग्गा बुझाइरह्यो । तामाङहरू ऋण लिएको पैसा लिएर गौशाला र बर्दिवास बजार धाउन थाले । जाँडरक्सीमा जुवा–तास मिसियो । तामाङहरू झन्झन् ऋणमा डुब्दै गएपछि छेत्री–बाहुनले तोकुवा सुरु गरे । बुद्धिमान सम्झिन्छन्, ‘भदौमा १ मन मकै दिन्छु १० रुपैयाँ पैसा दिनुस् भन्न थालियो । कुनै साल मकै फल्दैन थियो । त्यसपछि ऋण तिर्न नसकेर धेरै तामाङहरूले जग्गा बुझाए ।’

तोकुवाले अधिकांश तामाङको जमिन घटाउँदै लग्यो । उब्जनी कम भएको वर्ष अनिकाल पर्न थाल्यो । अब तामाङहरू भोकै पर्न थाले । त्यसपछि उनीहरू उही पैसा दिनेकोमा बोरा लिएर पुगे । तामाङहरूबाटै मकै जम्मा गरेका छेत्री–बाहुनले ६ मासे कानुन बनाए । ७० वर्षीय अर्का रैथाने लालबहादुर तामाङ सम्झिन्छन्, ‘१ सय रुपैयाँको २५ रुपैयाँ ब्याज तिर्नुपर्थ्यो। ६ महिनामा तिर्न सकिएन भने त्यो २५ रुपैयाँ साउँमा गाभिन्थ्यो । साउँको ब्याज, ब्याजको स्याज जोड्दाजोड्दै बाँकी जमिन पनि तामाङले गुमाउँदै गयो ।’ 

देशमा महेन्द्रको जगजगी सुरु भइसकेको थियो । ०२२ मा भूमि सुधार लागू हुँदा धेरै तामाङहरू भूमिहीन भइसकेका थिए । अर्का ६८ वर्षे स्थानीय धनबहादुर तामाङ भन्छन्, ‘नापी भइसकेपछि त पहाडबाट छेत्री–बाहुनहरू ओइरिन थालिहाले नि ।’ अब ती गरिब तामाङ उही स्थानीय छोटे सामन्तको घरमा हरूवाचरुवा बस्न थाले । थोरै मात्रै तामाङले घरबारी, पाखो रेखो बचाए ।

जो धान बोकेर गाउँ पसे 

०२५ सालतिरबाट मधेसी साहुहरू काठको गडीमा धान बोकेर खयरमारा उक्लिए । बुद्धिमान भन्छन्, ‘हामीलाई छेत्री–बाहुनले लुटिरहेकै थियो । अब गाउँमा मधेसी साहुहरू पस्यो । यहाँ धान फल्दैन थियो । गडीका गडी धान देखेपछि तामाङहरूले लालपुर्जा बन्दकी राखेर धमाधम धान किन्न थाले ।’ त्यसवेला तराईको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा धान उत्पादन थियो । तर, चुरेको फेदीमा भने धान पुगिसकेको थिएन । उनीहरू जीविकाका लागि मकै, कोदो, फापर, तिल, जुनेलो, घैयाजस्ता अन्नहरू प्रयोग गर्थे । त्यसवेला तराईमा फलेको धान ठूलो परिणाममा भारत र पहाडतिर निर्यात हुने गरेको अनुसन्धाता गेजले सोही पुस्तकमा लेखेका छन् । उनी लेख्छन्, ‘सन् १९६५ मा ३४८,००० मेट्रिकटन धान तराईबाट भारतमा निर्यात गरिएको अनुमान गरिन्छ । 

कहिल्यै चिउरा, मिठ्ठा, सिद्रा र जेरी नखाएका तामाङको जिब्रोमा नयाँ स्वाद थपियो । लालबहादुर भन्छन्, ‘एक किलो चिउरासँग ४ किलो तोरी साट्थ्यौँ ।’ त्यसपछि गाउँलेहरूमा मधेसी साहुको घरमा लालपुर्जा धितो राखेर धान किन्ने होड चल्यो । लालपुर्जा बोकेर मधेसी साहुको घरमा लाइन लागेको बुद्धिमान अझै सम्झिन्छन् । ‘हामी साथीभाइ मिलेर लालपुर्जा बोकेर बसतपुर (दक्षिण सर्लाहीको एउटा गाउँ)सम्म पुग्थ्यौँ । कतिले ऋण तिर्न नसकेर जग्गा बुझाए ।’ 

अर्का स्थानीय वीरमान तामाङ (६६) त्यसवेला ऋण तिर्न नसकेपछि साहुले एकतर्फी जग्गा पास गर्ने गरेको घटना सम्झिन्छन् । ‘६ महिनाभित्र ऋण तिर्न सकेन भने साहुले एकतर्फी जग्गा पास गथ्र्यो, वीरमान भन्छन्, ‘ऋण तिर्न आउनु नत्र एकतर्फी जग्गा पास हुन्छ भनेर जलेश्वरबाट चिठी आउँथ्यो र घरमा टाँसिदिन्थ्यो ।’ 

वीरमानका दाइले १० कट्ठा जमिनको लालपुर्जा बुझाएर ५ सय रुपैयाँ र १० मन धान मधेसी साहु नथुनी मियाँबाट लिए । ६ महिनासम्म उनले ऋण तिर्न नसकेपछि मुसलमान साहुले एकतर्फी जग्गा पास गर्ने भयो । ‘त्यसपछि गाउँको छेत्री साहुले आफ्नो खसी र हलगोरु मधेसी साहुलाई दिएर लालपुर्जा निकालिदिए, वीरमान सम्झिन्छन्, ‘तर त्यो लालपुर्जा अब छेत्री साहुले नै राख्न थाल्यो । मधेसी साहुबाट फुत्काएको १० कट्टा जमिन अब छेत्री साहुले कमाउन थाल्यो । खसी र हलगोरुको ऋण नतिर्दासम्म हामीले त्यो जमिन धेरै वर्षसम्म फिर्ता पाएनौँ ।’ 

गेजकै अनुसार सन् १९५९ मा बिर्ता उन्मूलन ऐन लागू भएपछि तराईका अधियारहरूले आफूले कमाएको जमिनको लालपुर्जा पाए । तर, अधियारहरूले अधिकांश तेली र सुढी साहुको ऋणमा डुबेर फेरि जमिन गुमाए ।

खयरमारामा बस्ने अधिकांश तामाङहरू जालझेल गर्न नजान्नेहरू थिए । मगरहरूबारे छुट्टै अध्ययनको खाँचो छ । त्यसवेला परिवारमा कोही न कोही अपांग नभएको तामाङको घरै हुन्थेन । २०३० सालतिर जनकपुरमा बसी राससमार्फत पत्रकारिता गरेका लेखक मल्ल के. सुन्दर त्यसवेला खयरमारा पुगेको बताउँछन् । उनी सम्झिन्छन्, ‘चुरेको फेदमा रहेको खयरमारामा तामाङहरूका सानासाना खरका झुपडी थिए । त्यो बस्तीमा जम्मै अपांगता भएका मानिस थिए । मैले गोरखापत्रमा त्यहाँको बारेमा समाचार लेख्दा मानिसहरू छक्क परे ।’ बुद्धिमान सुन्दरको भनाइसँग सहमत छन्, ‘धेरैजसो तामाङहरूको गलगाँड थियो । धेरैजना लाटैलाटा र लठेप्राहरू थिए । बोल्न जान्नेहरू पनि सोझा थिए ।’ ००७ सालअघिसम्म प्रशस्त जमिन भएका तामाङहरू ३० सालतिर पुग्दा भूमिहीन हुने क्रम तीव्र बन्दै गयो । 

०४६ आसपास पुग्दा खयरमाराका धेरैजसो तामाङले जमिन गुमाइसकेका थिए । उनीहरूको बस्तीलाई पहाडबाट आन्तरिक बसाइँ सरी आउनेहरूको बस्तीले विस्थापित गरिसकेको थियो । कथित मूलधारे अर्थतन्त्र, राजनीति र संस्कृतिबाट दीक्षित ती समुदायले गाउँबाट तामाङहरूलाई सीमान्तकृत मात्रै गराएन, तामाङहरूको संस्कृतिमाथि हस्तक्षेप ग¥यो र उनीहरूले बसालेको टोलको नामसमेत फेरिदियो । पहिला जमिन खोसियो त्यसपछि नाम खोसियो । थिङ टोल जैसी टोल बन्यो । स्याङतान टोल पाँडे टोल बन्यो । डिम्डोङ टोल थापा टोल बन्यो । पाख्रिन टोल रहेन, खत्री टोल बन्यो । मन्जिते सार्की टोल भएन, वनथापा टोल बन्यो ।

जमिन र ठाउँको नामसमेत खोसिएपछि एकदमै थोरै तामाङसँग थोरै मात्रै जमिन बाँकी रहे पनि अधिकांश तामाङहरू डाँडापाखा, खोरिया, खोलाको किनारमा पुगिसकेका थिए । बटैया कमाउनु नै अधिकांश तामाङको नियति बनिसकेको थियो । त्यहीवेला पहिला पैसा बोकेर, पछि धान बोकेर खयरमारा पसेकाहरू नै २०४६ को परिवर्तनपछि चुनाव चिह्न बोकेर गाउँ घुमे । तामाङहरू कोही एमाले बने, कोही कांग्रेस बने, कोही जनमोर्चा बने । जुलसमा गए । आन्दोलनमा गए । चुनावको अघिल्लो दिन राँगाको मासु र चिउरा खाए । कसैकसैले साइकल र सारी पनि पाए । चुनावपछि गरिबी निवारणको फर्म पनि भरे । तर, न गरिबी निवारण भयो, न गुमेको नाम र माटो नै फिर्ता भयो । तामाङहरू झन्झन् किनारामा धकेलिँदै गए । 

युद्ध सुरु भएको ५/७ वर्षपछि गाउँमा जनयुद्धको लहर चल्यो । चुरेको भित्री भाग माओवादी लुक्ने थलो बन्यो । खयरमाराको पाखो–रेखो र खोला किनारमा बस्ने प्रायः तामाङ युवाहरू माओवादी बने । केही छेत्री–बाहुन, मधेसी, मगर र दलितहरू पनि माओवादी बने । युद्ध अवधिमा खयरमारा गाउँकै २ जना तामाङ युवा युद्धमा मारिए, २ जना छेत्री–बाहुन समुदायका युवा पनि युद्धमा मारिए । दर्जनौँ घाइते भए । सयौँजना होलटाइमर भए । तर, बन्दुक नै बोकेर हिँड्दा पनि गुमेको जमिन फिर्ता भएन ।

जो ‘विकास’ लिएर गाउँ पसे
युद्ध रोकिएको आधा दशक बितेपछि खोटाङका नेकपा(नेकपा)का नेता गिरिराजमणि पोखरेल सिराहामा भएको ‘आधारशीला’ (कम्युन) लिएर जिल्ला पसे । महोत्तरीको उत्तरी क्षेत्रलाई आफ्नो किल्ला बनाउन लागे, जुन किल्ला निर्मल लामा, ऋषि देवकोटा ‘आजाद’, डिपबहादुर योन्जन, केशव बराल र कमल देवकोटाहरूले बनाएका थिए । पोखरेलले ‘विकास र समृद्धि’को नारा बाँड्न थाले । पहिल्यै पैसा लिएर, धान लिएर राज गरिसकेको ठाउँमा अब उनी ‘विकास’ लिएर पुगे । 

सत्तारोहणको मिसनसहित महोत्तरी पसेका पोखरेलले त्यहाँका तामाङहरूको मन कहाँनिर भाँचिएको छ भन्ने थाहै पाएनन् । दशकौँदेखि गरिबीले गाउँलेहरूलाई कहाँ डसिरहेको छ ? कहाँनिर दुखेको छ गाउँको छाती ? कहाँनिर लगाउनुपर्ने हो मलम ? उनले बुझ्ने चेष्टा नै गरेनन् । उता पोखरेलले भारी मतले चुनाव जितिरहे, यता रैथानहरूले सधैँ हारिरहे ।

पोखरेलले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पर्ने खयरमारामा गरेका अन्य कामको समीक्षा आगामी दिनमा गरिने नै छ । अहिले शिक्षातर्फ केन्द्रित होऔँ । पोखरेलले ६ दशकअघि नै स्थापना भएको नजिकैको सरकारी विद्यालयलाई अलपत्रै छाडेर २०७५ मंसिरमा लोकप्रिय तामाङ नेताको नाममा ‘निर्मल लामा बहुप्राविधिक शिक्षालय’ खोले । शिक्षालय खोल्नु बेठीक भयो भन्न खोजेको होइन । तर, समाजवादी शिक्षाको वकालत गर्ने उनले निजी शिक्षाको झल्को दिने प्राविधिक शिक्षालय होइन, पहिला सरकारी विद्यालयको स्तरोन्नति गर्नुपथ्र्यो । तर, उनले गाउँमा त्यस्तो स्कुल खोले, जुन सर्वसाधारणको पहुँचमै पुगेन । फलस्वरूप शिक्षालय त खोले, तर गाउँका गरिब तामाङ, मगर, दलित र मधेसीहरूको जीवनमा त्यसले प्रभाव पार्न सकेन । 

शिक्षालयवरपर जसको घर सिमेन्टको छ, कोठाभाडा बिक्ने भएपछि उनीहरू खुसी भए । बजारका साहुजीहरू खुसी भए । जसको खेतलाई शिक्षालय पुग्ने बाटोले छोयो, उनीहरू पनि खुसी भए । तर, गाउँका आम किसान र श्रमिकका लागि शिक्षालयले खुसी दिन सकेन । 

प्रत्येक वर्ष तिहार मानेपछि शिक्षालय नजिकैको गरिबको घरमा किन ताला लाग्छ ? बसको अन्तिम सिटमा कोचिएर सिलावरको भाँडाकुँडासँगै स्कुले नानीबाबु पनि बोकेर उनीहरू कहाँ जान्छन् ? प्रत्येक वर्ष इँटाभट्टा धाउनुपर्ने साइकलको चेन घुमेजस्तो जिन्दगीबाट यहाँका गरिबहरू किन मुक्त हुन सकिरहेका छैनन् ?

शिक्षालयबाट डेढ किलोमिटर नजिक २०१६ सालमै बनेको पहिला प्रा.वि. र अहिले श्री लक्ष्मी नारायण जनता उ.मा.वि. छ । एसएलसीमा यो विद्यालयबाट प्रत्येक वर्ष धेरै विद्यार्थी फेल हुन्छन्, पास हुने पनि अधिकांश विद्यार्थी सेकेन्ड र थर्ड डिभिजनमा मात्रै पास हुन्छन् । यो विद्यालय कहिल्यै जिल्लाको टप विद्यालय भएको सुनिएन । २०७० सालमा एसएलसी दिने १४४ जना विद्यार्थीमध्ये जम्मा ४ जना मात्रै पास भए, त्यही पनि सेकेन्ड डिभिजनमा । त्यो अवस्था अहिले पनि सुध्रिएको छैन । तामाङ, दलित, मगर, मधेसी र गरिब छेत्री–बाहुनका छोराछोरीले पढ्ने त्यो स्कुललाई धुलोले पुरेर पोखरेलको गाडी सरासर शिक्षालयमा पुग्छ । आजसम्म गाडी रोकेर पोखरेल त्यो सरकारी विद्यालयको गेटभित्र पसेको अनि विद्यार्थीका अविभावकसँग भलाकुसारी गरेको गाउँलेहरूले देखेका छैनन् ।

यो स्कुलबाट अधिकांश विद्यार्थी किन सधैँ सेकेन्ड डिभिजनमा मात्रै पास हुन्छन् ? एसएसली वा प्लसटुपछि यहाँ पढ्ने विद्यार्थीमध्ये धेरैले किन पढाइ छाड्छन् ? ६० वर्षअघिदेखि नै स्कुल खुलेको गाउँबाट किन आजसम्म समाज र देशलाई काम लाग्ने शिक्षाशास्त्री, समाजशास्त्री, मानवशास्त्री, अर्थशास्त्री, लेखक, राजनीतिज्ञ जन्मिन सकेन ? गाउँका तामाङ, मगर र दलितहरू किन झन्झन् किनारामा धकेलिँदै छन् ? स्कुल छाडेर यो गाउँका विद्यार्थी किन टेम्पो ड्राइभर बन्छन् ? घरअगाडिको प्राविधिक शिक्षालयमा भर्ना हुन छाडेर किन कतार उड्छन् ? यहाँका रैथाने तामाङहरू अझै खोलाकिनार र डाँडापाखामा किन बसिरहेका छन् ? प्रत्येक वर्ष तिहार मानेपछि शिक्षालयनजिकैको तामाङको घरमा किन ताला लाग्छ ? बसको अन्तिम सिटमा कोचिएर सिलावरको भाँडाकुँडासँगै स्कुले नानीबाबु पनि बोकेर यिनीहरू कहाँ जान्छन् ? काठमाडौंका इँटाभट्टाहरूमा खयरमाराका गरिब तामाङहरू किन बाक्लै भेटिन्छन् ? प्रत्येक वर्ष तिहारपछि इँटाभट्टा धाउनुपर्ने साइकलको चेन घुमेजस्तो जिन्दगीबाट यहाँका गरिबहरू किन मुक्त हुन सकिरहेका छैनन् ? ‘विकास बोकेर गाउँ पसेका पोखरेलले यसबारे कहिल्यै सोधेका छैनन् । उनले खोलेको शिक्षालयमा पनि यसबारे कहिल्यै पढाएका छैनन् । 

यता शिक्षालयमा पढ्ने गाउँ र जिल्लाबाहिरका विद्यार्थीलाई निर्मल लामा को हो थाहा छैन । प्राविधिक शिक्षा लिने उनीहरूलाई खयरमाराको माटोमा के फल्छ थाहा छैन । खयरमाराको कुन माटोमा कस्तो अन्न फल्छ भन्ने थाहा पाउने जैविक कृषि वैज्ञानिकहरू मलेसियाको कारखानामा छन् । खयरमारामा कस्तो घर बनाउँदा वातावरणलाई राम्रो हुन्छ भन्ने जान्ने पुख्र्यौली इन्जिनियरहरू काठमाडौंमा सडक खनिरहेका छन् । खयरमारा र बाँके खोलाले हरेक वर्ष कुन–कुन कुनामा क्षति पुर्‍याउँछ र त्यसलाई जोगाउन के गर्नुपर्छ भन्ने जान्ने स्थानीय भूगर्वविद्हरू मध्यपहाडी लोकमार्गमा डोजरको पछिपछि ढुंगा फ्याँकी रहेका छन् । भित्री खोलाको कुन जडीबुटी खाँदा कुन रोग निको हुन्छ भन्ने जान्ने गाउँले डाक्टरहरू काठमाडौंमा ट्याक्सी कुदाइरहेका छन् । यसबारे पोखरेल बेखबर छन् । अनि परिणाम हुन्छ, विकास र समृद्धिको नाममा खुलेको शिक्षालयमा ७०० जना बाहिरका विद्यार्थी पढ्छन् । स्थानीय मुस्किलले १० जना पढ्छन्, त्यही पनि नेताका आफन्त र छोराछोरी ।

२०७५ सालमा शिक्षालय खुलेपछि नजिकैका केही गाउँलेहरू दंग परे । पहिला कठ्ठाको ५ हजारमा पनि नबिक्ने जमिन अहिले कट्टाको ४० लाख पुग्यो । (त्यो सम्पूर्ण जमिन पहिला तामाङहरूको थियो ।) अहिले किनबेच मारामार चलिरहेको छ । मानिसहरू रातारात लखपति, करोडपति हुँदै छन् । स्थानीय युवा गोपाल तामाङ भन्छन्, ‘शिक्षालयवरपरको गाउँमा अहिले दिनहुँ झगडा हुन्छ । वडा कार्यालयमा दिनहुँ मुद्दा परिरहेको छ ।’ शिक्षालयले केही वर्षपछि वरपरका स्थानीयलाई झोलीतुम्बा बोकाएर लखेट्नेछ भन्नेबारे सायद कसैले सोचेका छैनन् ।

शिक्षालय खुलेपछि बाटो फराकिलो बन्यो । केही घर भत्किए । केहीका आधा घर मात्रै भत्कियो । र पनि गाउँलेहरू मख्ख छन् । भत्किएको आधा घरमा बसेर गाउँलेहरू भन्दै छन्, ‘गाउँमा शिक्षालय खुल्यो । बाटो फराकिलो भयो । बिजुलीबत्ती आयो । आँगनमै गाडी आयो । गाउँमा विकास आयो ।’ ‘अनि त्यो फराकिलो बाटो हुँदै तपाईंका छोराछोरी आए त ?’ गाउलेसँग उत्तर छैन । एकजना स्थानीय सुस्तरी भन्छन्, ‘छोरा ऋण तिर्न कतारमा छ । कहिले आउँछ थाहा छैन ।’ उनको नबोलिएको भाषा छ– विकास र समृद्धि नेतालाई आयो तर आममान्छेलाई आएन । 

झट्ट हेर्दा अहिले गाउँमा के छैन, सबथोक छ । प्राविधिक शिक्षालय छ । बिजुली छ, फराकिलो बाटो छ । घरघरमा खानेपानीको धारा छ । एक–दुई दर्जन पक्की घरहरू छन् । अहिले गाउँमा के छैन सबथोक छ, तर गाउँमा युवाहरू छैनन् । उनीहरू चाहेर पनि गाउँ फर्किन सक्दैनन् ।

युवाहरू गाउँ फर्किए भने वडा अध्यक्षदेखि मेयरसम्मले पाउने तलब रोकिन्छ । जिल्ला सभापतिदेखि राष्ट्रपतिसम्मको सवारी साधनमा तेल सुक्छ । बैंकदेखि सपिङ सेन्टरसम्म टाट पल्टिन्छ । नेप्से ओरालो लाग्छ । गाउँघर र देशमा यस्तो विपत नहोस् भनेर युवाहरू कोही अरबमा छन्, कोही मलेसियामा छन् । कोही गाउँभन्दा टाढा ज्यामी काम गरिरहेका छन् । उनीहरू चाहेर पनि गाउँ फर्किन सक्दैनन् । गाउँमै भएका केही युवाहरूमा पनि आलोचनात्मक चेतना शून्य छ । छोराछोरीविनाको गाउँ वृद्धाश्रमजस्तो बन्दै गएको छ ।

                    ०००

‘नेपालमा गरिबीको बहस पुस्तकमा मानवशास्त्री मेरी डेसेनले नेपाली समाजको तीन चरणको ‘एकीकरणहरूको चर्चा गरेकी छिन् । उनका अनुसार नेपाललाई शासन गर्ने तप्काले मूलतः नेपाली समाजको तीनवटा ‘एकीकरण’का कथाहरू प्रचार गरे । पहिलो पृथ्वीनारायण शाहको भौगोलिक ‘एकीकरण ।’ त्यसपछि भानुभक्त आचार्यको भावनात्मक ‘एकीकरण ।’ अनि अहिले विकासमार्फत उन्नति÷समृद्धिको प्रचार गरी एकीकरणको भूमिका निर्वाह गरियो भन्ने दाबी । उनी भन्छिन्, ‘तिनवटै कथाको साझा कुरा सम्पूर्ण नेपालीलाई एकीकरणको नाममा समावेश गरिएको दाबी गर्दै श्रमजीवी वर्ग, दलित, आदिवासी जनजाति आदि समुदायलाई झन् सीमान्तकृत बनाउने हो ।’

मानवशास्त्री डेसेनले भनेजस्तै खयरमाराका तामाङहरूलाई अझै किनाराकृत गरी विस्थापित गराउन अहिले विकास सक्रिय छ । जतिजति विकासको बेग बढ्छ, रैथाने मानिस भने उतिउति विस्थापित हुँदै छन् । ‘विकास स्थानीय मानिसलाई झन् किनारामा धकेल्दै लैजाने मोडल हो, मानवशास्त्री डेसेन भन्छिन्, ‘यस्तो विकास जनताका लागि होइन, यो त पुँजीपतिहरूका लागि हो । यस्तो विकासले गाउँका थोरै मान्छेलाई धनी बनाएर धेरै मानिसलाई गरिब बनाउँछ ।’

स्थानीय तामाङहरूले कति बिघा जमिन गुमाए यसको कुनै ठोस प्रमाण छैन । त्यहाँका तामाङहरूको अधिकांश जमिन छेत्री–बाहुन र मधेसीले नै हडप्यो र अहिले बसोवास गर्ने गैरतामाङ सबैले गलत तरिकाले नै तामाङबाट जमिन हत्याए भन्ने पनि होइन । तर, खयरमाराका प्रत्येकजसो पुराना रैथाने तामाङसँग जमिन गुमाउँदाको तितो इतिहास मनग्य छ । अधिकांश तामाङले पैसा, धान, र विकासको कारणले जमिन गुमाएको भने सत्य हो । तामाङहरू मात्रै होइन, ‘विकास’को गलत दौडले छेत्री–बाहुन, दलित, मगर र मधेसी समुदाय पनि पीडित हुँदै गएका छन् । त्यसलाई महसुस नगर्नु, नदेख्नु अर्को पाटो हो । 

उहिल्यै पैसा बोकेर, धान बोकेर, चुनाव चिह्न बोकेर, अहिले ‘विकास’ बोकेर गाउँ पसेकाहरूकै छ, रजगज । उनीहरूकै सन्तान पढिरहेका छन् राजधानी र विदेशमा । उनीहरूकै सन्तान पुगेका छन् अड्डादेखि अदालतसम्म । झाडी फाँड्नेको सन्तान जहाँको तहीँ ।

                      ०००

त्यही झाडी फाँड्ने समुदायकै हुन् झम्टेवीर तामाङ । यसपालिको दसैँमा पनि झम्टेवीर खालीखुट्टै ससुराली गए । उनी सुस्तरी भन्दै थिए, ‘चप्पल लगाउने बानी नै छैन ।’