उर्दी जारी छ सदियौँदेखि
लेख्न बन्द गर
बोल्न बन्द गर
बाँच्नै बन्द गर
लिगबेगर कुदिरहेको रेलजस्तो
छायाविना दौडिरहेको मान्छेजस्तो
गुलामी हातहरूले
कोरिरहेको बर्बर दस्ताबेजजस्तो,
यो वर्तमानको एक–एक पन्नाहरू
काफी छन् जन्माउन
आन्दोलनको नयाँ अध्याय ।
ए देशकै सबैभन्दा काँतर मान्छे
वर्षौंदेखि तिमी
एक सत्ता
एक अधिनायक
एक तानाशाह
म वर्षौंदेखिको
एक विद्रोह
एक आन्दोलन
एक युद्ध
जुगौँदेखिको नीलडाम
तिम्रो सत्ताको कुइनेटामा फालिएको एक सिंगो देश ।
जति बर्साउ दमनका फोर्राहरू
जति चलाउ सत्ताका कोर्राहरू
लगाउ कुनाकुना निषेधका मौसमी आदेशहरू
सयौ छालहरुले हिर्काएर ज्युँदो चट्टानजस्तै
मार्न खोज्दाखोज्दै
इतिहासको गर्तमा बाँचिरहेको
मेरो त्रासद इतिहासजस्तै,
छ मभित्र दन्किरहेको
घाउको भर्भराउँदो लप्का ।
डुबेर रातको दहमा कहिले नउदाएको छ र घाम ?
चलेर कहिले थाकेको छ बतास ?
बगेर कहिले सकिएको छ नदीको धारिलो वेग ?
देश तिम्रो क्यारेम बोर्ड होइन
लोकतन्त्र तिम्रो खेलौना होइन
एउटा अन्त्य तिम्रो
एउटा आरम्भ मेरो
भएजति बल लगाएर उठाऊ अब अन्तिम अस्त्र
तिम्रो अधिनायकत्वको धुरी भाँचिनेगरी
लेखिनेछ अब तेस्रो इतिहास
खातका खात सत्ता चुसाइविरुद्ध
पृथ्वीजत्रो आक्रोशले
ध्वस्त हुनेछ तिम्रो तानाशाही एक्सप्रेस ।