• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
पुष्पा विष्ट
२०७७ फाल्गुण ८ शनिबार ०७:२९:००
समाज

दलितसँग प्रेम गर्न दिँदैन कर्णाली

२०७७ फाल्गुण ८ शनिबार ०७:२९:००
पुष्पा विष्ट

अपवादबाहेक देशभरिका दलित बस्तीहरू प्रायः गाउँको छेउछाउमा छन् । म त्यही छेउछाउमा बस्ती भएका जितबहादुर टमटाकी (कामी) छिमेकी थिएँ । स्कुलमा पाइला टेक्नुअगावै गाई चराउन जाँदा उनकी छोरी बिस्ना र म साथी बन्यौँ । जब छोरीलाई स्कुलसम्म तान्नलाई लिटो र तेल दिने कार्यक्रम आयो, तब हामी एक हातमा बटुको, अर्को हातमा कापी समाएर सँगै स्कुलसम्म पुगेका थियौँ । 


स्कुल पढ्दा हुने हरेक बर्खेबिदा हाम्रा लागि सरकारले गाई चराउन छुट्याएजस्तो लाग्थ्यो । स्कुल भर्ना हुनुभन्दा अगाडि नै गाई गोठालो बनेर होला गाई चराउन जान खासै मन लाग्दैनथ्यो । तर, गाई गोठालोको साथी बिस्ना भएकाले पनि ती बर्खेबिदा हाम्रा लागि रमाइला थिए । झोलामा अर्नी (खाजा) राख्यो । हातमा डन्डीबियो समायो । गोजीमा गट्टा हाल्यो । अनि गाई चराउन गयो । बर्खायामको समय । जता हेर्‍यो उतै हरियाली ।

 

गाई लगेर एक ठाउँ छाड्यो भने हामीले जति खेले पनि भयो । घाम पनि हामीले खेलेको डन्डीबियो र गट्टा हेरेरै बस्थ्यो कि क्या हो डाँडाबाट ढिलो ओरालो लाग्थ्यो । त्यसरी बितेका ती बर्खेबिदाहरूले हामीलाई यति नजिक बनाए कि समाजले कथित तल्लो जातकी वा अछुत भनिएकी बिस्नाको अर्नी (खाजा) त के, उसले चपाएको सिम्ती खोटो (सल्लाको खोटो) समेत मेरो मुखमा विनासंकोच आउँथ्यो । 

 

उसको र मेरो यो संगत । हामी दुईजनाको एकअर्काको घरमा हुने आउजाउ । यी सब कुरा समाजका लागि शोभनीय भएन । पटक–पटक सुन्न पथ्र्याे, ‘कामी–दमाईंसँग संगत गरेको राम्रो होइन ।’ सायद यही वाक्य मेरा लागि समाजले जातीय विभेदको बारेमा दिएको पहिलो क्लास थियो । साथी नै ठूलो लाग्ने बालापनका अघि समाजको यति गहिरो कुरा चासोको विषय नै बनेन र बिस्नासँग मेरो संगत बिएड प्रथम वर्ष पढ्दासम्म भयो । 

 

सानै छँदा मेरो संगतलाई नै लिएर आपत्ति जनाइरहेको समाजमा जब म बढ्दै र पढ्दै गएँ, तब जातीय विभेदका घटनाहरूको लामै फेहरिस्त भेट्टाएँ । स्कुले जीवनको सुरुवाती चरणहरूमा के पढियो खासै याद छैन । तर, मावि पढ्दा भने सामाजिक पढाउने शर्मा सरले जातीय विभेदको विषयलाई लिएर भन्नुहुन्थ्यो, ‘मान्छे सबै बराबर हुन् । कसैले कसैलाई जातको नाममा विभेद गर्न हुँदैन ।’ मेरो संगतलाई लिएर समाजले ‘कामी–दमाईंसँग संगत गर्नु राम्रो होइन’ भनेको कुरालाई सरको कुराले सिधै खारेज गरेको महसुुस हुन्थ्यो र भन्थेँ, ‘अरे वाह ! क्या सही बात ।’ 


करिब एक घन्टा बाटो हिँडेर हामी स्कुल पुग्थ्यौँ । त्यही बाटोको मुनितिर दुई–चारवटा घर कामीका थिए । ती घरमध्ये एक घरमा मेरो गाउँको एकजना दिदी नाता लाग्ने, जो उमेरले करिब मेरो आमा उमेरको हुनुहुन्छ, उहाँको अन्तर्जातीय बिहे भएको छ । जुन दिन सरले क्लासमा जातीय विभेद गर्न हुँदैन भनेर पढाउनुभएको थियो, त्यही दिन स्कुलबाट घर फर्किंदा मेरै थरका साथीहरू त्यो घरतिर हेर्दै भने, ‘कस्ती, बिग्रेकी, अरू कोही नपाएझैँ विष्टकी छोरी भएर कामीसँग बिहे गरेकी ।’ साथीहरूको उक्त भनाइले सरले क्लासमा भनेको कुरालाई सिधै खारेज गरिदियो ।


घरमा पनि तिनै दिदीको कुरालाई लिएर एक साँझ बज्यैले तमाखुको धुवाँ उडाउँदै भन्नुभयो, ‘छोरी भएर धेरै नखरमाउली हुने होइन है ! हाम्रो नाक काटौली नाक । एक त एउटीले गाउँमा कामीसँग बिहे गरेर पहिल्यै नाक काटिसकेकी छ ।’ बज्यैको त्यो कुरालाई इन्कार गर्दै, ह्या, बज्यैहरू पनि के भन्नुहुन्छ के ? सरले भन्नुभएको, ‘तमाखुको धुवाँ उडाउनु र मान्छेलाई कामी–दमाईं भनेर हेला गर्नु दुवै राम्रो होइन रे !’ बज्यैले कट्किँदै भन्नुभयो, ‘खुब, पढाएछन् तेरा सरले, सरले भनेजस्तो कहाँ हुन्छ ? आज पनि त्यो माइत आउन पाउँदिन । तिमीहरूलाई पनि त्यस्तै हुन मन छ कि क्या हो ?’ सायद, मेरा बज्यैहरूले भनेजस्तै उनीहरूका बज्यैहरूले पनि घरमा उनीहरूलाई यही कुरा भनेका थिए । 


कक्षा सातमा पढ्दै गर्दाको कुरा हो, आइतबारको दिन थियो । दश बजेको लाइनमा पिटी खेलेर कक्षाकोठामा छिरेका मात्र के थियौँ, अर्को गाउँका साथीहरूबीच खुब खासखुस चल्यो । त्यत्तिकैमा सर आएर फटाफट हाजिर गर्नुभयो । हाजिरमा त पार्वती शाही र ललित हिरोजक (सार्की) गयल भए । अनि पो त थाहा भयो, उनीहरू बिहे गरेर हिजै इन्डियातिर भागेछन् । त्यसपछिका दिनहरूमा ती साथीहरू क्लासमा सधैँ गयल भइरहे ।


जुन क्लासका विद्यार्थीलाई जातीय विभेद गर्न हुँदैन भनेर सामाजिक सरले पढाउनुभएको थियो । त्यही क्लासका साथीहरू अन्तर्जातीय बिहेका कारण देश छाड्ने स्थिति आयो । गाउँमा अन्तर्जातीय बिहे गरेकी दिदीको अवस्था र साथीहरूको यो अवस्थाले बज्यैले ‘तेरा सरले भनेकोजस्तो कहाँ हुन्छ ?’ भनेका कुरालाई जबर्जस्त ढंगमा स्थापित गरिदियो । आज पनि ती दिदीलाई हिँडेर जम्मा पन्ध्र मिनेट लाग्ने माइतीघर सात समुद्र पारिको प्रदेशजस्तो भएको छ । समाज अजिंगरको जस्तो फँणा फैलाएर बसेको छ । 


अन्तर्जातीय बिहे गर्नेलाई समाजले दिएको सजाय हेर्दै उच्च माविसम्मको शिक्षा गाउँकै स्कुलबाट सकियो । क्याम्पस पढ्न दैलेख सदरमुकाम गयौँ । भदौको महिना । दिउँसो बाह्र बजेको टन्टलापुर घाम । त्यसमाथि जस्ताले छाएको कोठा । गर्मीले हुत्ताएर हामीलाई बाटानजिकैको सिमलको छहारीमा पुर्‍याएको थियो । घरदेखि पहिलोपटक बाहिर बसेर पढ्न थालेका हामीलाई धेरै कुरा असामान्य लागिरहेको थियो । शीतलमा बसेर तिनै कुरामा गफिरहेका थियौँ । धारातिरबाट आएको युगल जोडी हाम्रै अगाडि भएर अलि परको होटेलभित्र पस्यो । 


तिनीहरूलाई देखेर वरपरका मान्छेहरू यसरी हेरे, मानौँ संसारको आठाैँ आश्चर्य हेरिरहेका छन् । त्यत्तिकैमा एकजना काकीले घृणाको भावमा फ्याट्ट भनिन्, ‘रेडियोले, ठकुरीकी छोरी दमाईंसँग पोइल गई भन्छ नि ? ती यिनीहरू नै हुन् । नाक नभएका नकचराहरू यस्तो हुँदा पनि कसरी बाँच्न सकेका ?’ काकीको यो भनाइले मलाई एक्कासि बज्यैको याद गरायो । गाउँमा अन्तर्जातीय बिहे गरेकी दिदीको बारेमा भन्दा बज्यैले पनि यही तरिकाले यही भावमा भन्नुभएको थियो । 

 

नौमुले गाउँपालिका–१ निवासी सन्तबहादुर दमाईं र राजकुमारी शाहीको ०६८ साउन २८ मा अन्तर्जातीय बिहे भयो । कथित तल्लो जातको सन्तबहादुरसँग हिजोका भुरेटाकुरे भएर शासन गरेका शाही परिवारकी छोरी भागेपछि शाही परिवारमा नौ रेक्टरको भूकम्प गयो । राजकुमारीकी फुपू विन्दकला शाहीको निर्देशनमा हातहतियारसहितको दश–दशजनाको जत्था चैत–वैशाखको हावाहुन्डरीजसरी सन्तबहादुरको आँगनमा ठोक्कियो । परिणाम, सन्तबहादुरका जेठा बाउ घाइते भए । बाउको हत्या भयो । उनीहरू विस्थापित, अनि घरभरि आतंक । 


सन्तबहादुरको अन्तर्जातीय विवाह स्थानीयदेखि राष्ट्रियस्तरसम्मका सबै मिडियामा समाचारको विषय बन्यो । त्यही विषयलाई लिएर सिंगो बजार गफमय भइरहेको थियो । दिउँसो बजार निस्केका हामी खाजा खान होटेलमा छिर्दै थियौँ । सन्तबहादुर र राजकुमारी त्यही होटेलको अगाडि भएर अदालततिर गए । होटेल साहुले टेबुलमा पानीको जग राख्दै उनीहरूतिर हेरेर भने, ‘दमाईंको छोरो भएर कति ठूलो सपना देख्नुपरेको होला ? आखिर यसले के पायो ? बिहेको कारण जन्मदिने बाउलाई गुमाउनुपर्‍यो ।’ 

स्कुलको हाजिरमा पार्वती शाही र ललित सार्की गयल भए । पछि पो त थाहा पाएँ, उनीहरू बिहे गरेर हिजै इन्डियातिर भागेछन् । त्यसपछिका दिनमा ती साथी क्लासमा सधैँ गयल भइरहे ।


उनीहरूको बसाइ हाम्रो कोठानजिकैको होटेलमा भएकाले हामी क्याम्पस जाँदा–आउँदा होस् या कोठाबाट भित्र–बाहिर गर्दा होस्, जतिवेला पनि उनीहरू बसेको होटेलतिरै हेथ्र्यौं । होटेलको छतमा बिरलै देखिन्थे उनीहरू । वेलावेला देखिँदा उनीहरू समाजको सांघातिक हमलाबाट थकित सिपाहीजस्ता देखिन्थे । जुन घटना अन्तर्जातीय बिहे गरेकी मेरी गाउँकी दिदी र मेरा क्लासमेट साथीहरूको जस्तै भएर पनि आतंकको हिसाबले हजार गुणा बढी थियो । जहाँ उनीहरूलाई हेरेर आकाश पनि रोइरहेझैँ लाग्थ्यो । 


अन्तर्जातीय बिहेमाथि समाजको निरन्तर भइरहेको आक्रमणको साक्षी बनेरै मैले पनि अन्तर्जातीय विहे गरेँ । मेरो बिहेको विषयमा दिदीहरूलाई सुरुमै सहमत गराउन सके पनि आमालाई सहमत गराउनु फलामको चिउरा चपाउनुसरह भयो । आमाको एउटै प्रश्न थियो, ‘समाजले के भन्छ ?’


जुन समाजले छोरा पाउन नसकेको निहुँमा आमाको अस्तित्वलाई नालीमा मिल्कायो, आमाले भने त्यही समाजलाई देखाएर मेरो खुसीलाई आफ्नो खुसी बनाउन मान्नुभएन । आमालाई गरेको अन्तिम प्रश्न थियो, ‘तपाईं  र ठुलीदिदीको बिहे त जात मिल्नेसँगै भएको थियो, तर किन तपाईंहरूमाथि उनीहरूले सौता ल्याएर अन्याय गरे ? मलाई त लाग्छ आमा, जातभन्दा पनि मान्छे असल हुनपर्छ । मैले बिहे गर्न लागेको मान्छे असल देखेर बिहे गर्दै छु । यसमा तपाईं  के भन्नुहुन्छ ?’ आमा धेरै बेरसम्म गम्भीर हुनुभयो र लामो सास फेरेर जवाफ दिनुभयो, ‘त्यसो भए बाहिरबाटै बिहे गर ।’ अनि हाम्रो बिहे भयो । 


बिहेपश्चात् पहिलोपटक हामी दैलेख (माइत) गयौंँ । हामी घरभित्र बसेको छिमेकीलाई पचेन । रक्सीका बोतलसँगै रातिराति छिमेकीको कचहरी बस्यो र निष्कर्ष निकाल्यो, डुमसँग बिहे गरेर हाम्रो घरभित्र पस्ने आँट कसरी गरी ? पढेर त्यसले हाम्रो मानमर्दन नराख्ने अब चुप लाग्नै हुँदैन । यिनै निष्कर्षसहित छिमेकीको आडमा वर्षौंदेखि हामीमाथि अन्याय गर्दै आएका बाउले बरबराउँदै ढोका फोड्ने असफल प्रयास गरे ।

 

बाउको त्यो बरबराइलाई आमाको अंश पाउने हकमा लगेर जुधायौँ र गल्ती गरेको भए कानुनी रूपमा कारबाही गर्न आग्रह गर्‍यौँ । समाजको नियमबाहेक कानुनसानुन थाहा नभएको बताउने मेरा बाउले अन्तिममा आएर जनप्रतिनिधिको रोहबरमा लिखित माफी मागे । वर्षौंदेखि मेरो बाउको सम्पत्ति अर्काकी छोरीलाई किन दिन्छु ? भन्दै दिन नमानेका बाउबाट आमाले कानुनी रूपमा अंश लिनुभयो ।

 

आज पनि मेरो बिहेलाई लिएर उनीहरूमा हीनताबोध कायम नै छ । गत जेठ १० गते रुकुममा भएको घटनाले कर्नालीमा अन्तर्जातीय विवाह कति कहालीलाग्दो र कति क्रूर छ भन्ने तथ्य विश्वसामु छताछुल्ल पोखियो । मनुस्मृतिबाट चलिरहेको हाम्रो समाजले देशको शिक्षा, नियम र कानुनलाई व्यंग्य गरिरहेको छ ।