• वि.सं २०७७ फाल्गुण २३ आइतबार
  • Sunday, 07 March, 2021
मिमबहादुर परियार
२०७७ फाल्गुण ८ शनिबार ०७:०७:००
साहित्य

आरक्षण

कविता

२०७७ फाल्गुण ८ शनिबार ०७:०७:००
मिमबहादुर परियार

तिमीलाई असह्य हुन्छ होला
नीलो कोटमा घुम्ने मेचमा बसेको
सल्लाहसुझाब दिएको
रातो कलमले पत्रमा हस्ताक्षर गरेको
गोष्ठी, भेलामा सम्बोधन गरेको
अगाडिको कुर्सी रोजेको
सबैले नमस्कार गरेको
त्यो देख्दा तिमीलाई पीडा हुन्छ होला
रिस उठ्छ होला
हिजो खेतमा हलो जोत्नेले
आँगनको डिलमा बसेर भात खानेले
आज अधिकार जोतेको देख्दा ।

 

तिम्रो मुटु पोल्छ होला
हिजो आरनमा बस्नेले 
आज आरक्षणको आडमा 
तिम्रो ठाउँमा बसेको देख्दा
तिम्रो सत्ता चलाएको देख्दा
तिम्रो छातीमा चसक्क बिजाउँछ होला
दलित जनप्रतिनिधिहरू देख्दा
असह्य हुन्छौँ रन्थनिन्छौँ होला
अनि भन्छौँ जातीय आरक्षणको अन्त्य हुनुपर्छ,
हामी सब बराबर ।

 

सदियौँदेखि अपमान दिएको नदेख्ने
अपराध असमानता नदेख्ने
क्षण–क्षणमा दिएको पीडा नदेख्ने
पाइला–पाइलामा दिएको यातना नदेख्ने
गालीगलौज बहिस्कार नसुन्ने
जाबो आरक्षण दिएको देख्ने
कस्तो ‘सुन्दर’ तिम्रो नजर
अनि भन्छौ हामी सब बराबर ।

 

बराबर भए विभेद नभए
आरक्षणको सदुपयोग तिमी आफैँ गर
छानीछानी देऊ तिम्रा आफन्तलाई 
तराईमा बस्ने तागाधारीलाई देऊ
मासिन्या, नमासिन्या सबैलाई देऊ
मलाई पर्दैन, दिएकै छौ
बारम्बार दुखिरहने पीडा
क्षण–क्षणमा पोल्ने बहिस्कारको घाउ

 

मलाई विभेद, अन्याय र अत्याचार देऊ
खुसी जति सबै तिमीसँगै राख 
म बोल्दिनँ
म बोल्दा तिमीलाई पोल्छ
मैले छुँदा तिमीलाई दुख्छ
म रुँदा तिमी खुसी हुन्छौ, हर्षित हुन्छौ
अनि भन्छौ हामी सब बराबर ।

 

तिमीसँग चेतना छ भने
तिमीसँग मानवता छ भने 
मात्र एकपटक म भएर बाँच
तिम्रो घरको आँगनबाट मेरो आँगन हेर
तिम्रो बाको अनुहार र मेरो बाको अनुहार हेर
तिम्रो भकारी र मेरो भकारी हेर

 

तिमी आफैँ वकालत गर्नेछौ
सामाजिक स्वतन्त्रता हननका विरुद्ध लड्नेछौँ
क्षमाप्रार्थी हुनेछौ, लज्जित हुनेछौ
याद गर, बुझ, सम्झ
आरक्षण तिम्रो पेवा होइन
तिम्रो निजी सम्पत्ति होइन
यो त सानो क्षतिपूर्ति हो
तिम्रो अत्याचार, दुराचारको
तिमीले दिएको यातनाको
–जुम्ला