• वि.सं २०८१ मङ्सिर ८ शनिबार
  • Saturday, 23 November, 2024
२०७७ फाल्गुण २२ शनिबार ०९:३३:००
समाज

मध्यम वर्गीय महिलाको मुखमा सम्पत्तिको बुजो छ

२०७७ फाल्गुण २२ शनिबार ०९:३३:००

कमला भसिन चर्चित भारतीय नारीवादी अभियन्ता हुन् । सामाजिक लैंगिक समानताबारे करिब चार दशकदेखि निरन्तर विमर्श गर्दै आएकी उनी महिला अधिकारका क्षेत्रमा काम गर्ने ‘संगत’की संस्थापकसमेत हुन् । उनीसँग ‘१११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’को सन्दर्भमा नरेश ज्ञवालीले संवाद गरेका छन् :

विश्वभर कति संख्यामा महिलाहरू हिंसाको सिकार हुने गरेका छन्, र कतिले न्यायका लागि कानुनको ढोका ढकढक्याउने गरेका छन् ? साथै दक्षिण एसियाका मुलुकमा यसको तस्बिर कस्तो देखिन्छ ?

सन् २०१२ मा विश्व स्वास्थ्य संगठनले एउटा अध्ययन गरेको थियो, त्यसमा प्रत्येक तीन महिलामा एकजनामाथि हिंसा हुने गरेको देखाएको थियो । अर्थात् समग्र विश्वमा एक सय करोडभन्दा बढी महिलामाथि हिंसा हुने गर्छ । योभन्दा पनि दुःखको कुरा के हो भने संसारको यो एक मात्र युद्ध हो, जुन घरभित्र लडिन्छ । त्यसैले हामीले सन् २०१२ मा ‘वन विलियन राइजिङ’को सुरुवात गरेका थियौँ । रह्यो कतिजनाले न्यायको ढोका ढकढक्याउँछन् भन्ने त्यसमा हामीले के बुझ्नुपर्छ भने हिंसा गर्ने मान्छे मेरो पति अर्थात् ‘मालिक’, ‘स्वामी’, ‘परमेश्वर’ हो भने मैले त्यसको उजुरी कहाँ गर्न सक्छु र ? किनभने मेरो विवाह हुँदा मेरो परिवारले मेरो ‘कन्यादान’ गरेँ, ‘गंगाको स्नान’ गरेँ भनिरहेको हुन्छ ।

त्यो परिवार जिम्मेवारीबाट पन्छिन पाएकोमा सन्तोषको सास फेरिरहेको हुन्छ । त्यसपछि ऊ मेरो जिम्मेवारी लिन तयार हुँदैन । जहाँ बिहे गरेर मलाई पठाइएको हो, त्यो घरकाले मलाई बलियो गरी उभिनै सिकाएको हुँदैन कि त्यति साहस बटुल्न सकुँ । म मध्यम र श्रमजीवी वर्गकी महिला हुँ भने अलिकति हिम्मत गर्न सक्छु, किनभने मैले परिवार पाल्न काम गर्नुपरेको हुन्छ । अन्य महिलाको हकमा यो सम्भव नै छैन । त्यसैले न्याय माग्ने कुरा त छोडिदिनुस् त्यसबारे सोच्न पनि सक्दैनन् आममहिलाहरू । 

निकै कम महिलाहरू जो न्याय माग्न जान्छन्, तिनलाई प्रहरीले भन्छ– ‘घर जाऊँ, लोग्नेले अलिकति कुट्यो त के भो ? उसको अधिकार हो ।’ यस्तो किन हुन्छ भने हाम्रा प्रहरीले संविधान नै पढेका हुँदैनन् । उनको घरमा संविधानको एक प्रति हुन्छ कि हुँदैन, मलाई त्यो पनि थाहा छैन । भारतको हकमा भन्नुहुन्छ भने तीन दिनअघि मात्रै प्रधानन्यायाधीशले एकजना बालिकाको बलात्कार गर्ने सरकारी अधिकारीलाई बलात्कृत बालिकासँग विवाह गर्न भने । उनका अनुसार ती बालिकासँग बिहे गरेपछि सजाय पनि हुँदैन र जागिर पनि जोगिन्छ ।

मेरो बलात्कार कहिल्यै भएन, तर म बलात्कारको भयबाट कहिल्यै मुक्त हुन सकिनँ । आफ्नै सहरको सडकमा पनि म पछाडि हेर्दै हिँड्ने गर्छु कि कसैले मलाई पछ्याइरहेको त छैन ? भारत सन् १९४७ मा स्वतन्त्र भयो, तर त्यहाँका महिला, दलित कहिल्यै पनि स्वतन्त्र भएनन् ।

एउटी सानी बालिकासँग बलात्कार गर्नेलाई प्रधानन्यायाधीशले यस्तो आदेश दिन्छन् भने प्रहरीले कस्तो व्यवहार गर्दो हो । सम्झिएर पनि काहाली लाग्छ । त्यसैले संविधान र कानुन बनाउनु महत्वपूर्ण प्रक्रिया हुँदाहुँदै पनि म के ठान्छु भने यतिले मात्रै पुग्दैन । न्याय दिने प्रणालीमा जो–जो सहभागी छन् तिनको मनमा न्यायको भावना, अधिकारप्रतिको बुझाइ र समानताको भावना छ कि छैन ? के उनीहरू पारिवारिक हिंसालाई हिंसा ठान्छन् ? के उनीहरू सडकमा हुने हिंसाको अर्थ बुझ्छन् ? यो निकै महत्वपूर्ण हो । समग्रमा भन्ने हो भने निसासिने अवस्था छ । 

संसारभरि नै महिलाको अवस्था दयनीय छ । विश्वभरि पितृसत्ता हाबी छ । धर्ममा पितृसत्ता हाबी छ । दक्षिण एसियाको संस्कृतिमा पितृसत्ता हाबी छ । त्यहीँबाट श्रीमती कुट्नु पतिको अधिकार हो भन्ने भावनाको विकास हुन्छ । त्यसैले कानुनीमा परिवर्तन हुनुभन्दा पहिले मानसिकतामा परिवर्तन हुनु जरुरी छ । त्यसैले मैले हाम्रो संस्कृति नै बदल्नुपर्ने देख्छु । हामीलाई सांस्कृतिक क्रान्तिको खाँचो छ । धेरै हदसम्म नेपाल अधिकारका विषयमा अरू देशभन्दा अघि छ, किनभने त्यहाँ जबर्जस्त राजनीतिक क्रान्ति भयो । तर, के छाउपडी, गुफा प्रथा बन्द भयो ? 

विश्वस्तरमा हेर्ने हो भने मेक्सिको महिलाका लागि निकै असुरक्षित देश ठानिन्छ, तर हाम्रो समाज, जहाँ जात व्यवस्था घिनलाग्दो ढंगले अझै पनि अस्तित्वमा छ, यहाँ र त्यहाँका महिलाको अवस्थाबारे कहिल्यै तुलनात्मक अध्ययन गर्नुभएको छ ? यसका साथै महिलाका लागि जात व्यवस्थाले के अर्थ राख्छ ? 

कुन देशमा कति बढी र कुन देशमा कति कम हिंसा छ भन्ने विषयमा मेरो रुचि छैन । तर, एकजना पनि महिला र पुरुषमाथि हिंसा भइरहेको छ भने त्यो गलत हो । जात व्यवस्थाको प्रभाव दक्षिण एसियामा त्यस्तै छ, जस्तो संयुक्तराज्य अमेरिकामा अश्वेत महिलाको छ । संसारमा यस्ता विविध खालका व्यवस्था छन्, जसले हामीमाथि थिचोमिचो गरिरहेकै छन् । त्यसमध्ये जात व्यवस्था एउटा हो ।

पितृसत्ताले महिलामाथि हिंसा गर्ने छुट दिएजस्तै जात व्यवस्था अर्को अन्यायपूर्ण व्यवस्था हो, जहाँ कथित उच्च जातका (उच्च जात भन्नु नै गलत अवधारणा हो भने तल्लो जातका भन्नु अपराध हो) मानिसलाई दलितमाथि अन्याय र हिंसा गर्न छुट छ । तेस्रो नश्लीय व्यवस्था हो भने चौथो वर्ग व्यवस्था हो । जसले महिला र पुरुष दुवैमाथि अन्याय र हिंसा थोपरिरहेको छ । यी व्यवस्थामा महिला थप हिंसाको सिकार हुने गर्छन् । 

यदि तपाईंको घरमा गरिब परिवारकी दलित महिला काम गर्न आउँछिन् भने उनीसँग जे पनि गर्न सकिन्छ । किनभने पहिलो उनी गरिब हुन् । दोस्रो दलित हुन र तेस्रो महिला हुन् । महिला त्यसमा पनि गरिब र दलित हुनु भनेको थप हिंसा र विभेदको सिकार हुनु हो । हाम्रो सामाजिक व्यवस्थाले यसैलाई मलजल गरिरहेको हुन्छ किनभने यी सबै एकआपसमा मिलेर काम गर्छन् । हामी समाजको जति–जति पीँधमा जान्छौँ हिंसा पनि त्यति नै बढ्दै जान्छ । शोषक जातको हकमा ऊ पुरुष हो, धनी छ, ब्राह्मण पनि हो र सरकारी जागिरे छ भने उसको शक्ति कैयौँ गुणाले बढ्दै जान्छ ।

महिला आफ्नो घरबाट बाहिर चियाउन त थाले, तर उनीहरू आफ्नो भान्साबाट अझै बाहिर आइसकेका छैनन् । भान्सामा खाना–खाजा बनाएर मात्रै उनीहरू आफ्नो काममा जाने गर्छन् । मध्यम र उच्च वर्गकी महिलाले पुरुषले गर्ने सबै काम गर्न थाले, तर ती वर्गका पुरुषले महिलाका काम गर्दैनन् ।

अंग्रेजीमा यसलाई ‘इन्टर्सेक्सनल सिस्टम’ भनिन्छ । महिलाको हकमा ऊ ‘इन्टर्सेक्सनल सिस्टम’मा कहाँ उभिएकी छ भन्नेले अर्थ राख्छ । इन्टर्सेक्सनल अनुहार हामीले महिला, दलित, गरिब, अश्वेत, एकल महिला, विकलांग महिलामा देख्न सक्छौँ । यो व्यवस्थाले कुनै पनि उत्पीडित समुदायको मानिसलाई ६ गुणापछि धकेलिरहेको हुन्छ भने कुनै पनि उत्पीडक समुदायको मानिसलाई ६ गुणाले शक्ति प्रदान गरिरहेको हुन्छ ।

नेपाल–भारतका नारीवादीहरूले मध्यम वर्गका महिलामाझ निकै न्यून काम गरेका छन् । किनभने मध्यम वर्गका महिला हामीलाई सुन्न पनि तयार छैनन् । उनीहरू सोच्छन् पैसा छ, त्यसैले ठीक छु । उनीहरू आफ्ना पीडाबारे पनि बोल्दैनन् । जसले राम्रो घर, गाडी, गहना, बैंक ब्यालेन्स दिएको छ उसले गर्ने हिंसाबारे किन बोल्ने भन्ने भावना पनि उनीहरूमा छ । त्यसैले उनीहरू वैवाहिक बलात्कारबारे बोल्दैनन् । भन्नुको अर्थ मध्यम वर्गीय महिलाको मुखमा सम्पत्तिको बुजो छ । यिनको तुलनामा श्रमजीवी वर्गका महिलाहरू बोल्छन् । यसका साथै मध्यम वर्गीय महिलामा कथित इज्जतको सवाल पनि त्यति नै ठूलो अहंको प्रश्न हुन्छ ।

त्यसैले जो महिला अधिकारका क्षेत्रमा काम गरिरहेको छ उसले बुझ्नुपर्छ हामीले पितृसत्ताका विरुद्ध संघर्ष गरेर मात्र पुग्दैन । केही हुँदैन भन्ने होइन, पक्कै पनि केही त हुन्छ, तर अब उसले पितृसत्ता, जात व्यवस्था, वर्गवाद, नश्लवादका विरुद्ध एकैचोटि बोल्नुपर्ने हुन्छ । उसले एलजिबिटिआइक्यू र विकलांगताको अधिकारका लागि पनि संघर्ष गर्नुपर्ने हुन्छ । यसमा नेपाल निकै अगाडि छ ।

नेपाली जनताको संघर्षले यति सघन परिवर्तन ल्याइदिएको छ, जुन कानुनीस्तरमा स्थापित भइसकेको छ । समाजस्तरमा अझै आउन बाँकी छ । दक्षिण एसियामा नेपाल पहिलो देश हो, जहाँ समलैंगिक सम्बन्धलाई कानुनी अधिकार दिइयो, वैवाहिक बलात्कारलाई अपराध मानियो । यी विषयमा भारतमा अझै संघर्ष चलिरहेको छ ।

आधुनिकताको प्रवेशसँगै समाजमा संस्कृति जोगाउनुपर्छ भन्ने भाष्य बलियो गरी स्थापित भएको छ । यसले आफ्नो वेशभूषा, ऐतिहासिक परम्परा, रीतिथितिलाई जोगाउनुपर्छ भन्छ । संस्कृतिको आवरणमा त्यस्ता के–के तत्व लुकेका हुन्छन्, जसले एउटी महिलालाई अघि बढ्नबाट रोक्छ ? 

यहाँनेर प्रश्न गर्नुपर्ने हुन्छ– के संस्कृति हाम्रो जीवनभन्दा भिन्न हो ? संस्कृति ‘भगवान्’ले बनाएको हो कि प्रकृतिले ? संस्कृति वर्तमान हो कि विगत मात्र ? यदि संस्कृति विगत हो भने हामी जतिवेला बाँदरबाट मान्छे बन्ने चरणमा थियौँ, हामी बाँदरजस्तै नांगै घुम्थ्यौँ । त्यतिवेला हाम्रो नांगोपना नै हाम्रो संस्कृतिको अंश थियो । जनावरले झैँ हामीले सबैसँग यौनिक सम्बन्ध राख्थ्यौँ । भनेपछि संस्कृति जोगाउन हामी त्यतै फर्कने ? हजारौँ वर्षसम्म महिला र पुरुषबीचमा यौनसम्बन्ध राखेपछि मात्र बच्चा जन्मन्छ भन्ने थाहै थिएन । जसरी पृथ्वीले सूर्यको परिक्रमा गर्छ भन्ने हामीलाई थाहा थिएन ।

हाम्रा हजुरआमाको पालामा १०–१२ वटा केटाकेटी जन्माउँथे । आमाको पालासम्म आइपुग्दा ६–७ जना केटाकेटी जन्माए पुग्ने भयो । हाम्रो पालामा आइपुग्दा एउटा–दुईवटा केटाकेटी जन्माए पुग्ने भयो । कुनै वेला धेरै केटाकेटी जन्माउनु संस्कृतिको हिस्सा थियो, अहिले आएर संस्कृतिलाई अँगाल्ने भनेर हामीले धेरै केटाकेटी जन्माउनेतर्फ हामी लाग्छौँ त ? संस्कृति कुनै अमुक विषय होइन । संस्कृति भनेको त्यही हो, जुन आज हामीले जीवन व्यवहारमा अँगालेका छौँ । यो बदलिँदै गर्छ । निर्माण हुने र विनिर्माण हुने नै संस्कृति हो ।

म के ठान्छु भने हाम्रो संस्कृति र धर्ममा त्यस्ता कैयौँ विषय छन्, जुन हाम्रो संविधानविपरीत छ । संस्कृतिले पतिलाई ‘परमेश्वर’ भन्छ, तर संविधानले महिला–पुरुष बराबर भन्छ । धर्म र संस्कृतिले विधवालाई अपवित्र भन्छ, तर संविधानले विधवालाई नागरिक ठान्छ र उसको पनि अधिकार सुनिश्चित गर्छ । नेपालमा केही समय पहिले राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरको जानकी मन्दिर प्रवेश गरेकै कारण त्यहाँका मठाधीशहरूले मन्दिर धोएर सफा गरे । उनीहरूको त्यो काम संविधानविपरीत थियो, तर ती मठाधीशलाई कारबाही भएको सुनिएन । प्रश्न के हो भने, तपाईंले संविधान मान्ने कि संविधानविपरीत उभिएको अन्यायपूर्ण व्यवस्था मान्ने ? जहाँ पनि अन्यायपूर्ण व्यवस्था अर्थात् पितृसत्ता, जात व्यवस्था, नश्ल व्यवस्था र वर्ग व्यवस्था हुन्छ, त्यहाँ हिंसा हुन्छ । हिंसाको आड नलिईकन यो व्यवस्था टिक्नै सक्दैन ।

संसारका प्रत्येक व्यक्तिलाई समानता उसको अधिकार हो भन्ने थाहा छ । त्यो नेपालकी दलित महिला होस अथवा भारतकी आदिवासी महिला दुवैलाई थाहा छ । यस्तो अवस्थामा जब ऊ अन्यायका विरुद्धमा बोल्छे उसमाथि हिंसा थोपरिन्छ । उसमाथि गरिने हिंसाद्वारा उसको समुदाय, गाउँले र त्यो वर्गका मान्छेलाई चेतावनी दिन खोजिन्छ । त्यसैले एउटा श्वेत प्रहरी अधिकारीले अश्वेतको घाँटी घुँडाले थिचेर उसको हत्या गरिदिन्छ । हत्यासँगै उसले के सन्देश दिइरहेको हुन्छ भने तेरो रक्षा गर्न कुनै कानुन आइपुग्दैन । संविधान त परको कुरा हो । यति हुँदाहुँदै पनि कसैले मुद्दा दायर गर्‍यो भने ऊ दशकौँसम्म अदालत धाइरहनपर्ने हुन्छ । किनभने न्याय दिने प्रणालीमा रहेका प्रहरी, अधिवक्ता, न्यायाधीश सबैका बाहुन, श्वेत र पुरुष हुन्छन् । त्यसपछि अदालतमा मुद्दा सरेकोसरै हुन्छ । 

मेरो बलात्कार कहिल्यै भएन, तर म बलात्कारको भयबाट कहिल्यै मुक्त हुन सकिनँ । आफ्नै सहरको सडकमा पनि म पछाडि हेर्दै हिँड्ने गर्छु कि कसैले मलाई पछ्याइरहेको त छैन ? भारत सन् १९४७ मा स्वतन्त्र भयो, तर त्यहाँका महिला, दलित कहिल्यै पनि स्वतन्त्र भएनन् । भारतभन्दा नेपालको अवस्था धेरै भिन्न छैन होला ।

जात व्यवस्था, अर्थतन्त्र र पितृसत्ता एकअर्कामा सहयोगी भएर कसरी काम गरिरहेका हुन्छन् ? यसलाई बुझ्नका लागि तपाईंसँग केही उदाहरण छन् कि ? 

जात व्यवस्था, अर्थतन्त्र र पितृसत्ता छुट्टा–छुट्टै व्यवस्था हुन् । तर, पनि यी एक–आपसमा मिलेरै काम गरिरहेका हुन्छन् । पितृसत्तात्मक व्यवस्थामा दलित पुरुषले आफ्नी पत्नीलाई कुट्न सक्छ, किनभने ऊ पुरुष हो । तर, जात व्यवस्थामा उही पुरुष ब्राह्मणबाट कुटाइ खाइरहेको हुन्छ । जात व्यवस्थाले, जसरी महिलालाई प्रताडित गर्छ, त्यसैगरी पुरुषलाई पनि प्रताडित गर्छ । यदि म कथित उच्च जातिकी महिला हुँ भने मेरो घरमा काम गर्न आउने पुरुषले पनि मलाई नमस्कार गर्छ । किनभने यहाँ जात व्यवस्था हाबी हुन्छ । तपाईंले काम गर्ने कार्यालयको प्रमुख महिला भइन् र अर्थतन्त्रमा ऊ तपाईंभन्दा माथि छे भने तपाईंले सधैँ नमस्कार गर्नुपर्छ ।

किनभने त्यहाँ अर्थतन्त्र हाबी भएर आउँछ । जुन देशमा पितृसत्ता, जात व्यवस्था, वर्ग व्यवस्था र नश्लीय व्यवस्थाजस्ता अन्यायपूर्ण व्यवस्था छन्, त्यहाँ प्रत्येक महिला प्रत्येक पुरुषको तल नहुन सक्छन् । उदाहरणका लागि सपना प्रधान मल्ल सर्वोच्च अदालतमा न्यायाधीश छिन् । ९९ प्रतिशत न्यायाधीशभन्दा माथि छिन् र अन्य पुरुषलाई काम लगाउने गर्छिन् । महिला भए पनि उनी अन्य पुरुषभन्दा श्रेणीक्रममा माथि भएकैले यस्तो हुन सकेको हो । 

बदलिँदो समयसँगै महिलाहरू आफ्नो भान्साबाट बाहिर निस्केर अर्थतन्त्रमा जोडिन थाले भन्नु सही हो, तर त्यति नै के पनि सही हो भने अमेरिकाजस्तो मुुलुक, जो विश्वभर समानता र लोकतन्त्रको निर्यात गरिरहन्छ त्यहाँ अहिलेसम्म एकजना पनि महिला राष्ट्रपति हुन सकेका छैनन् । त्यति खुला समाजमा पनि त्यस्तो कुन सामाजिक तत्वले भूमिका निर्वाह गरिरहेको हुन्छ, जसले महिलालाई अझै पनि रोकिराख्न चाहन्छ ?

खुला समाज भनेको के हो भनेर हामीले प्रश्न गर्नुपर्ने हुन्छ । अमेरिका के साँच्चै खुला समाज हो ? अमेरिकाबारे के भनिन्छ भने एक प्रतिशत मानिसले ९० प्रतिशत मानिसको स्रोत–साधनमा कब्जा गरेर बसेका छन् । उनीहरूले महिलालाई मात्रै जंगिरमा कैद गरेका छैनन्, त्यहाँ आज पनि अश्वेतलाई जन्जिरमा कैद गरिएको छ । दुई महिना पहिले मात्र ४७ प्रतिशत भोट त्यस्ता मानिसले पाए, जसले न महिलालाई, अश्वेतलाई, मुसलमानलाई सम्मान गर्छन् । भन्नुको अर्थ यो खुलापन निकै सानो वर्गको खुलापन हो । त्यो वर्गको अनुकूलतामा निर्माण गरिएको खुलापन हो ।

संसारमा विविध खालका व्यवस्था छन्, जसले हामीमाथि थिचोमिचो गरिरहेकै छन् । त्यसमध्ये जात व्यवस्था एउटा हो । पितृसत्ताले महिलामाथि हिंसा गर्ने छुट दिएजस्तै जात व्यवस्था अर्को अन्यायपूर्ण व्यवस्था हो, जहाँ कथित उच्च जातका मानिसलाई दलितमाथि अन्याय र हिंसा गर्न छुट छ । तेस्रो नश्लीय व्यवस्था हो भने चौथो वर्ग व्यवस्था हो । जसले महिला र पुरुष दुवैमाथि अन्याय र हिंसा थोपरिरहेको छ । 

अमेरिकी प्रजातन्त्रको कुरा गर्ने हो भने उसले कसरी विश्वभरिका तानाशाहलाई समर्थन गर्छ भनेर हेर्न धेरै टाढा जानुपर्दैन । साउदी अरबदेखि पाकिस्तानसम्म हेरे पुग्छ । उनीहरू विश्वभरका सबै तानाशाहलाई समर्थन गर्छन् र आफू खुला भएको पाखण्ड गर्छन् । यो आफँैमा विरोधाभासी छ । संरचनागत रूपमै त्यहाँ सीमान्तकृतलाई पछाडि पारिएको छ भन्ने बिर्सन मिल्दैन । विश्वको सबैभन्दा धनी देशमा कोभिड–१९कै क्रममा खानाका लागि मानिस लाम लागेका तस्बिर हामीले देख्यौँ । त्यसमा पनि अश्वेत धेरै थिए । 

अर्को कुरा के हो भने महिला आफ्नो घरबाट बाहिर चियाउन त थाले, तर उनीहरू आफ्नो भान्साबाट अझै बाहिर आइसकेका छैनन् । भान्सामा खाना–खाजा बनाएर मात्रै उनीहरू आफ्नो काममा जाने गर्छन् । मध्यम र उच्च वर्गकी महिलाले पुरुषले गर्ने सबै काम गर्न थाले, तर ती वर्गका पुरुषले महिलाका काम गर्दैनन् भन्ने पनि त्यति नै सत्य हो । यसको अर्थ हो– सपना प्रधान मल्ल सर्वोच्च अदालतमा निर्णय सुनाएर साँझ घर फर्केपछि के खाने होला भनेर सोध्न बाध्य छिन् । किनभने त्यो जिम्मेवारी महिलाकै हो भन्ने बुझिन्छ । महिलालाई रोक्ने सबैभन्दा ठूलो पक्ष यही हो कि घरको काममा स्त्री–पुरुष अझै पनि समान छैनन् ।

जबसम्म घरको काम दुवैको मानिँदैन तबसम्म समानता आउन सक्दैन । त्यति वेलासम्म महिलाको कार्यबोझ झनै बढ्ने निश्चित छ । सन् १९९५ मा युएनडिपीले घरमा काम गर्ने ‘अनपेड लेवर’का बारेमा एउटा अध्ययन गरेको थियो । घरमा काम गर्ने एउटी महिलालाई न्यूनतम पारिश्रमिक दिँदा उसको वार्षिक पारिश्रमिक ११ ट्रिलियन हुन आउँदोरहेछ । अर्थात् संसारभरकी महिलाले घरमा ११ ट्रिलियनबराबरको काम गर्दा रहेछन् । महिलालाई अघि बढ्न नदिन यस्ता अदृश्य बाधाले पृष्ठभूमिमा काम गरिरहेका हुन्छन् । पुरुषको हकमा यो कहिल्यै लागू हुँदैन ।

यस्तो परिदृश्यका बीच एउटा पुरुषको भूमिका कस्तो हुनुपर्छ ?

संसारभर महिलामाथि हुने जति पनि अन्याय र हिंसा छन्, त्यो कसले गर्ने गर्छ ? बलात्कार कसले गर्छ ? बसमा, सडकमा, सपिङ मलमा जिस्क्याउने, होच्याउने, अपमानित गर्ने काम कसले गर्छ ? यो सबैको उत्तर हो– पुरुष । पुरुषहरू कम्तीमा मानव बने पुग्छ । त्यसैले मेरा सबै पुरुष साथीभाइले मावन बन्ने प्रयत्न गरे पुग्छ । हाम्रा लागि उहाँहरूले यति गरे पुग्छ । हिंसा गर्न छाडिदिनुस् ।

बलात्कार गर्न छाडिदिनुस् । अपमान गर्न छाडिदिनुस् । कम्तीमा मानव बन्ने प्रयास गर्नुस् । हामीले पुरुषसँग गर्ने अपेक्षा भनेकै यत्ति हो । आज पनि अमेरिकामा १४ प्रतिशत कम महिला सर्वोच्च निकायमा छन्, जबकि उनको संख्या ५१ प्रतिशत छ । भारतको सर्वोच्च अदालतमा न्यायाधीशमा ९८ प्रतिशत पुरुष छन् । उच्च अदालत र जिल्ला अदालतमा ९८ प्रतिशतजति ब्राह्मण पुरुष छन् । तर, पुरुषहरू धेरै खुसी हुने अवस्था छैन किनभने सबै पुरुष बलात्कारी छैनन्, तर सबै बलात्कारी पुरुष छन् । ९९ प्रतिशत आतंकवादी पुरुष छन् । आत्मघाती हमलावर पुरुष छन् ।

सडकमा चिच्याउँदै हिँड्ने पुरुष छन् । ९० प्रतिशत अपरधी पुरुष छन् । अब प्रश्न उठ्छ के भने सबै पुरुष हिंस्रक पैदा भएका थिए ? होइन कोही पनि हिंस्रक पैदा हुँदैन । उसलाई पितृसत्ताले हिंस्रक बनाइदिन्छ । पितृसत्ताले पुरुषलाई सत्ता त दिन्छ, तर उनीहरूसँग मानवता खोसिदिन्छ । त्यसैले पितृसत्ताबाट पुरुष पनि प्रताडित छन्, तर उनीहरू सत्ताको मदले मत्त छन् । त्यसैले म के ठान्छु भने ८ मार्च हरेक पुरुषले मनाउनुपर्छ । किनभने जति छिटो महिलाहरू स्वतन्त्र हुन्छन् त्यति नै छिटो पुरुष पनि स्वतन्त्र हुन्छन् ।