• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
राज सरगम काठमाडाैं
२०७५ चैत ३० शनिबार ०९:२०:००
फिल्म

नेदरल्याण्डका भोजपुरी गायक

२०७५ चैत ३० शनिबार ०९:२०:००
राज सरगम काठमाडाैं

‘सात समुद्र पार कराइके, 
एक नवा देश के सपना देखाइके 
सरनाम बताइके...’

हालैको एउटा चिसो दिन मण्डला नाटकघरमा माथिको गीत गाइसकेपछि नेदरल्याण्डस् मूलका भोजपुरी गायक–संगीतकार राज मोहनले भावुक हुँदै भने, ‘मञ्चमा यो गीत गाइनँ भने अधुरो हुन्छु ।’

भोजपुरीहरू कसरी नेदरल्याण्डस् पुगे भन्ने इतिहास बोकेको यस गीत गाएर उनी दर्शकमाझ झुल्किन्छन् ।
०००
सेता/काला फुस्रा दाह्री । पातलो ज्यान । तर, भरिलो स्वर । उनको गायकीले दर्शकलाई बाँधेर राख्छ । र, गायकीमा आफ्नो भोजपुरी संस्कृति जोडेर जब गुनगनाउँछन् दर्शक–श्रोता मुग्ध भइरहन्छन् । 

एक सय ५० वर्षअघि तत्कालीन ब्रिटिस शासकले खेतीपाती गर्न नेपाल, भारतको बिहार र उत्तर प्रदेशका गरी ७० भोजपुरी–भाषी परिवारलाई सुरिनाम लगेको र आफू तिनैको सन्तति भएको ५६ वर्षे गायक राज मोहन सुनाउँछन् । तिनै भोजपुरी शरणार्थीका एक सन्तान राज मोहन देशविदेशमा गिर्मिटिया (माटोको गीत) गाउँदै छन् । 

नेदरल्याण्डमा शरणार्थी वंशज गायक राज मोहनका पुर्खाले अझै भोजपुरी लोकसंस्कृति नबिर्सेको बताउँदै उनी भन्छन्, ‘अहिले पनि हामीलाई गिर्मिटिया नामले पुकार्छन् नेदरल्याण्डमा ।’ उनी सधैँ सुनाउँदा रहेछन्, ‘अरूको देशमा झुक्याएर लगियो र शरणार्थी बनाइयो, हामीलाई त्यो देश कहिल्यै आफ्नो झैँ लाग्दैन ।’

अहिले पनि नेदरल्याण्डमा सरनामी–भोजपुरी गाउँदै उनी बिहारका माटोको गीत सुनाउँछन् । भन्छन्, ‘सरनामी गाउन पाउँदा गर्व लाग्छ ।’ 

आफ्ना पुर्खालाई ब्रिटिसहरूले सुरिनाम लगिँदा ‘श्रीराम टापु’मा जाँदै छौँ भनी झुक्याएर लगेको रहस्य उनले खोले  । सुरिनाम मात्र नभई त्यतिवेला मरिसस, गुयाना, त्रिनिडाड, टोबाके आदि मुलुकमा मजदुरी गर्न लगिएका सोझा भोजपुरी भाषी अहिले ती मुलुकमा ठूलो जनसंख्यासहित शासन–प्रशासनको तहसम्म पुगिसकेको रोचक तथ्य पनि खोले । भन्छन्, ‘पुर्खाले नेपाल, भारत हुँदै सात समुद्रपारि सुरिनाम पुग्दा पाएको कष्ट नै हाम्रा लागि प्रेरणा हो ।’
०००
पछिल्लो वर्ष उनले ‘पपिहरा’ नामक फिल्ममा संगीत दिए । त्यसमा मिलाए टिपिकल सरनामी । आफू नेदरल्याण्डस् भए पनि उनी गीतमा माटोको संगीत र लय मिलाउन चाहन्छन् । भन्छन्, ‘माटोको गीतले मान्छेको मन छुन्छ । र, कुनै पनि जाति र भाषाको संगीत विश्वव्यापी हुन्छ  । यदि ‘टची’ भयो भने सबैको प्रिय हुन्छ ।’

पछिल्लो समय आधुनिकताका नाममा बहुअर्थी शब्दका गीतको बाहुल्य बढिरहेका वेला २० वर्षदेखि भोजपुरी गीतलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन खोजिरहेका छन् राज मोहन । 

गीतको अन्दाजमा पनि मौलिकता खोज्नुपर्ने बताउँछन् उनी । ‘हरेक भाषाको गीतको अन्दाज फरक हुनुपर्छ,’ राज भन्छन्, ‘गरिबको गीतमा पनि दर्शन हुन्छ । अमिर लोग (धनी मान्छे) गरिबको गीतमा पाइने दर्शनलाई पनि दरिद्र ठानिदिन्छन् ।’

नेदरल्याण्डमा सरनामी–भोजपुरी गीत गाउँदै राज मोहन बिहारका माटोको गीत सुनाउँछन् । भन्छन्, ‘सरनामी गाउन पाउँदा गर्व लाग्छ ।’ 

यही दर्शनको भाका सुनाउन खोजिरहेका छन् राज मोहन । खाली पैताला हिँडेर खेतका माटोसँग खेल्दै गुनगुनाउनेको गीत सुनाउन चाहन्छन् । भन्छन्, ‘लोकगीतमा धेरै तानावाना हुँदैन, तर जीवन्तता हुन्छ ।’ दम भए हरेकले गीत रुचाउने विश्वास छ उनमा । भन्छन्, ‘गीतमा आफ्नो जाति र संस्कृति आइदिए त्यो झन् दमदार हुनेछ ।’ आफ्नो संस्कृति र माटोसँग जोडेर गाउन रुचाउने राज मोहन गीतलाई जिन्दगीको एक हिस्सा मान्छन् । भोजपुरी पहिचानमा राज मोहन छुट्दैनन् । राज मोहन भन्छन्, ‘गानामा जिन्दगी देखिँदैन, तर गाना मेरो जिन्दगीको हिस्सा हो । हरेक मान्छेको जिन्दगीमा गाना हुन्छ र गानासँग जोडिने जिन्दगी पनि हुन्छ ।’ 
०००
भोजपुरी समुदायमा लोकसंस्कृतिको विशिष्ट पहिचान छ । जन्मदेखि मृत्यु संस्कारसम्म, बिहानदेखि बेलुकासम्मका हरेक गतिविधिबारे लोकगीत भेटिन्छन् । भोजपुरीमा अवधि र ब्रज भाषाको थोरै स्वाद मिसाएर उनले गीत तयार पारे— सरनामी भोजपुरी । 

सुरनामी भनिए पनि उनले ती गीतलाई सरनामी–भोजपुरीको संज्ञा दिए । शास्त्रीय गायनमा समेत पोख्त राज मोहनले गीत–संगीतमा परम्परागत संस्कृतिलाई मात्रै पछ्याएका छैनन्, पप र -याप पनि मिसाएर आधुनिकता दिन लागिपरेका छन् । 

भोजपुरी लोक संस्कृतिलाई गीत–संगीतमार्फत आमदर्शकसामु पेस गरिरहेका राज भन्छन्, ‘भुइँमा बस्ने हाम्रो संस्कृति र परम्परा हो । जमिनमा बसेर लोकगीत गाउँदा हाम्रा पुर्खाको मौलिकता झल्कन्थ्यो । त्यसैलाई पछ्याइरहेको छु ।’

सन् १९८७ ताका २४ वर्षको उमेरमा पहिलोपटक भारत आउँदा आफ्नो घर आएजस्तो लाग्यो उनलाई । त्यसपछि उनी बिस्तारै गिर्मिटियाको गीत गाउन लागे । अनेक चाडपर्वको अवसरमा अहिले पनि नेदरल्याण्डमा गिर्मिटियाकै गीत गाइन्छ । उनी भन्छन्, ‘हामी नेदरल्याण्डमा शरणार्थी भए पनि हाम्रो संस्कृति र भाषा शरणार्थी भएको थिएन, त्यसैको राग हामीमा छ । हाम्रा पुर्खाले माटोको गीत बोकेर गएका थिए ।’

आफ्नो गीत दोस्रो भाषीलाई सुनाउन पाउँदा उनी खुसी छन् । र, संगीतबाटै दर्शकको मन जित्न लागिपरेका राज भन्छन्, ‘कसैलाई कन्भिन्स गर्नु छैन मलाई । म कन्भिन्सको खिलाफ हुँ ।’ 

बीस वर्षको उमेरदेखि गीत गाउन थालेका राजले जीवनमा कसैलाई गुरु मानेनन् । ‘ममा म्युजिकको कुनै ब्याकग्राउन्ड छैन,’ उनी भन्छन् । 

गीतले आनन्दका साथ रोमाञ्च बनाउनु नै दर्शक कन्भिन्स हुनु हो भन्ने उनको सोच छ । भन्छन्, ‘कलाको कुनै भूगोल हुँदैन ।’