अझै पनि अन्तर्सम्बद्धताको खाका चिन्ने र अपनाउने खुलापन वा गतिशीलता नेपालको नारीवाद र मूलधारको महिला आन्दोलनमा छ भन्ने आधार भेटिँदैन ।
गएको डेढ दशकयता सहमति–विमति, समर्थन–आलोचना, संवाद–विवाद, ऐक्यबद्धता–विरोधसँगसँगै नेपालमा नारीवादको अर्थ र बुझाइको आयातन फाँटिलो बन्दै गएको छ । यद्यपि महिलालाई हेर्ने नेपाली समाजको नजर अझै संकीर्ण र द्वेषले भरिपूर्ण नै छ । महिलाप्रति राज्यको दृष्टिकोण र व्यवहार पूर्णतः पुरातनी संरक्षणवादी नै छ भन्नेमा कुनै शंकै छैन ।
भर्खरै राज्यले ४० नपुगेका नेपालका महिलाहरूले परिवारको अर्थात् पुरुषको मञ्जुरी र स्थानीय निकायको सिफारिसबेगर बाह्य मुलुकमा जान नपाउने प्रावधान ल्याउनुपूर्वको जन–आलोचना परीक्षण सम्पन्न गरेको छ । महिला आन्दोलन र अभियानहरू अझै पनि ‘आन्दोलनको शक्ति निःसर्त महिला एकतामै छ’ भन्ने ढर्राको उदार नारीवादी अवधारणाबाटै निर्देशित र सञ्चालित पनि छन् । आशा जगाउने कुरा, त्यस्तो व्यवस्था र अवस्था बदल्न खोज्ने अधीर प्रतिरोधी जमात बढ्दो छ । नेपाली समाजको सामाजिक–सांस्कृतिक–भौगोलिक–वर्गीय–लैंगिक–यौनिक–उमेरगत विविधताअनुरूप नारीवाद गतिशील र परिष्कृत हुनु आवश्यक छ भन्ने नारीवादी तथा महिला अधिकारकर्मीहरूको आवाज चर्किँदो छ ।
महिलामाथि हुने कुनै पनि खालको शोषण, विभेद, हिंसाको विरोध होस् या नारीवादी अभ्यास र त्यसको विश्लेषणको कम्पन–केन्द्र र प्रतिरोध–केन्द्र पितृसत्तात्मक संरचना, सोच र व्यवहारमा मात्रै सीमित राख्न नचाहने उदाउँदो पुस्ता तयार हुन थालेको राम्रै संकेत देखिन थालेको छ । उदाउँदो पुस्ताको सोच हो– अब नारीवाद भनेको महिलामाथि हुने शोषण–दमन–उत्पीडिन–हिंसाबारेको चेत र तिनकै अन्त्यका लागि गरिने सचेत अभ्यास तथा क्रियाकलाप हो भनेर मात्रै पुग्दैन ।
कुन महिलामाथि भएको शोषण र अत्याचारले आन्दोलन र विरोधको रूप धारण गर्छ ? कस्ता महिलाका सरोकारका कुरा मूल–प्रवाहमा ‘एजेन्डा’ बन्न ‘लायक’ वा सम्प्रेषित हुन ‘योग्य’ ठहर्याइन्छन् ? कस्ता महिलाले जनाउने विरोध र प्रतिरोध स्वीकार्य वा अस्वीकार्य बनाइन्छन् ?
नेपालको नारीवादी संवादहरूमा त्यस्ता शोषण–दमन–हिंसा कुन महिलामाथि बढी हुने गरेको छ ? कुन महिलामाथि भएको शोषण र अत्याचारले आन्दोलन र विरोधको रूप धारण गर्छ ? कस्ता महिलाका सरोकारका कुराहरू मूल प्रवाहमा ‘एजेन्डा’ बन्न ‘लायक’ वा सम्प्रेषित हुन ‘योग्य’ ठहर्याइन्छन् ? कस्ता महिलाले जनाउने विरोध र प्रतिरोध स्वीकार्य वा अस्वीकार्य बनाइन्छन् ? कस्ता महिलासँग भएको सामाजिक–सांस्कृतिक पुँजीको सकारात्मक गणना र मूल्यांकन गरिन्छ ? महिला–पुरुषको सामाजिक लिंगको स्थिरता र जडता त्याग्नै नसक्ने गरी बनाइएको सामाजिक व्यवस्था र मानसिकता भत्काउन त्रसित रहनेहरू प्रगतिशील र न्यायोचित समाज निर्माणका संवाहक कसरी हुन् ? भन्ने जस्ता अनेक प्रश्नमाथि खुला र गहन छलफल गर्ने थलो पनि निर्माण गर्नुपर्छ ।
त्यो सोचलाई अभ्यासमा उतार्न वा भनौँ न, कुनै पनि महिला वा व्यक्तिमाथि भएको शोषण–विभेद–हिंसालाई सैद्धान्तिक विश्लेषण गर्न र त्यसलाई परिवर्तनउन्मुख आन्दोलनहरूसँग जोड्न अन्तरसम्बद्धताको कोण (इन्टरसेक्सनल लेन्स) अवलम्बन गर्न थालिएको छ । नेपालका नारीवादी, खासगरी उदाउँदो पुस्ताकाहरूले आफ्ना कामकाजहरू अन्तरसम्बद्ध पहिचान र सवालहरूतर्फ केन्द्रित गर्दै अन्तरसम्बद्ध नारीवादको अवधारणा पछ्याउने गरेको बताउन थालेका छन् । नारीवादको अवधारणालाई सही ढंगले बुझ्नै नखोज्नेको बाहुल्य रहिरहेको नेपाली समाजमा अन्तरसम्बद्ध नारीवादको अवधारणा अवलम्बन गर्नु कति चुनौतीपूर्ण छ भनेर अनुमान लगाउन गाह्रो छैन ।
के हो अन्तर्सम्बद्धता ?
गएको दुई वर्षमा मैले व्यक्तिगत तथा औपचारिक तवरमै प्राप्त गरेको एउटा साझा प्रश्न भनौँ वा जिज्ञासा हो– इन्टरसेक्सनालिटीको नेपाली शब्द के हो ? इन्टरसेक्सनालिटीलाई नेपालीमा के भनिन्छ ? यो जिज्ञासा नेपालमा भर्खर–भर्खर परिचित बन्न थालेको‘इन्टरसेक्सनालिटी’लाई प्राविधिक तवरमा नेपाली भाषामा उल्था गर्ने ध्येयले मात्रै उत्पन्न भएको पक्कै होइन । यस्तो प्रश्न र जिज्ञासा पहिल्यै पनि उठ्ने गरेका थिए र पछि पनि उठिरहनेछ । मूलतः उक्त शब्दको सारतत्व समेट्ने उपयुक्त नेपाली शब्द के हुन सक्ला भन्नेबारे स–साना नारीवादी समूहहरूमा कुराकानी भइरहेकै छ । कतिपयले प्रतिच्छेदन शब्दको प्रयोगमार्फत इन्टरसेक्सनालिटीको अवधारणालाई बोलचाल र लेखन अभ्यासमा ल्याएका छन् । कतिपयले सही शब्दको खोजी गर्ने क्रममा अन्तरवर्गीयता पनि भन्ने गरेको पाएँ । कतिपयले अन्तरसम्बद्धता शब्द प्रयोग गर्ने गरेका छन् ।
इन्टरसेक्सनालिटीको अवधारणाबारे संवाद र अन्तरक्रियाहरू बाक्लिँदै जाँदा त्यसको अर्थ र परिभाषाअनुरूपको नेपाली शब्द चयन वा निर्माण कार्यले अझ उपयुक्त शब्द भेट्टाउने सम्भावना खुलै राखिराखौँ । अहिलेलाई भने इन्टरसेक्सनालिटीको सारसत्व निकट भएको उपयुक्त नेपाली शब्द अन्तरसम्बद्धता हो भन्ने ठम्याइसहित यो लेख लेखिरहेको छु । अन्तरसम्बद्धता एउटा सैद्धान्तिक अवधारणा हो । एउटा दृष्टिकोण हो । एउटा खाका हो ।
जसले महिलामाथि हुने शोषण, दमन र विभेदमा एकभन्दा बढी अन्तरसम्बद्ध आयाम र पहिचानहरूले एकैसाथ काम गरिरहेका हुन्छन् भन्ने कुरामा जोड दिन्छ । तसर्थ त्यस्ता शोषण, दमन र विभेदको एकभन्दा धेरै कारण, प्रभाव र परिणाम हुन्छन् । र, तिनको जटिलता र घनत्व वा मात्रात्मक भिन्नता वा सघनता बुझ्नु र सोहीअनुरूप तिनको सम्बोधन गरिनु अत्यावश्यक छ भन्ने मान्यता राख्छ ।
अमेरिकी अश्वेत नारीवादी किम्बर्ले क्रेनसले सन् १९८९ मा पहिलोपटक ‘इन्टरसेक्सनालिटी’ शब्दको प्रयोग गरेकी थिइन् । अमेरिकी महिला आन्दोलनले सबै महिलाका लागि क्रमिक रूपमा परिवर्तन हासिल गर्दै लगे पनि अश्वेत जातिका महिलाहरू अदृश्य रहिरहे । त्यस्तै, नश्लभेदी/रंगभेद/वर्णभेदविरुद्धको आन्दोलनका बाबजुद अश्वेत जातिका महिलाहरूको अवस्थामा कुनै सुधार आएन । अश्वेत जातिका महिलाहरू नश्ल, लैंगिकता र वर्गको आधारमा कसरी बहुपक्षीय शोषण र विभेदमा परेका छन् भन्ने कुरालाई वास्तविक अनुभवहरूसहित दर्साउन उनले यो शब्दावली चयन गरेकी थिइन् । उनीहरूसँग भएका वास्तविक अनुभवका थाक लेखाजोखा गरिसाध्य हुने कुरै भएन ।
क्रेनसले इन्टरसेक्सनालिटीको खाका अघि सार्नुअघि अश्वेत जातिका महिलाका त्यस्ता अनुभव दर्साउने अनेक खाकाहरू पनि नल्याइएका होइनन् । उनले एक अश्वेत महिला शरीरमा अन्तरनिहित नश्ल, लैंगिकता र वर्गजनित पहिचान र शोषण–दमन–हिंसाका आयामहरूलाई पोयोमा बाटेर सैद्धान्तीकरण गर्ने अवधारणाको रूपमा इन्टरसेक्सनालिटीलाई अघि सारिन् । त्यहाँको समाज र न्यायिक व्यवस्थामा अश्वेत जातिका महिलाहरूको बहुपहिचानजनित दमन–शोषणलाई न्यायिक प्रक्रियाको मूल प्रवाहमा पुर्याई कानुनी सम्बोधन गर्नमा जोडबल दिइन् । जुन केही हदसम्म प्रभावकारी पनि साबित भयो । त्यसपछि अश्वेत महिलाहरू दमित–उत्पीडित हुनुको मुख्य निर्धारक तत्व नश्ल, लैंगिकता र वर्गको अन्तरसम्बद्धता हो भन्ने कुरा नश्लभेद÷रंगभेदविरोधी र अश्वेत नारीवादीहरूका लागि पनि विश्लेषणको केन्द्रबिन्दु बन्न पुग्यो ।
उनीहरूले नारीवादी आन्दोलन र राज्यको कानुनी व्यवस्था र प्रावधानमा रहेको नश्ल–अन्धता, नश्ल–तटस्थता र नश्ल–वस्तुनिष्ठतामा रहेको समस्याहरूका कारण अश्वेत महिलाहरूमाथि भएको बहुरूपी र बहुतहगत शोषण खुट्याउँदै लगे । लैंगिकता र वर्गभित्र नश्लीय विविधता र नश्ल र वर्गभित्र लैंगिक विविधताका अन्तरसम्बद्धता अन्वेष गर्दै अश्वेत महिलाहरू लैंगिकता वा नश्लको वर्गीकरणमा मात्रै पारिनुलाई गलत ठह¥याए । श्वेत महिलाले ‘महिला’को रूपमा भोग्ने दमन र विभेद र अश्वेत महिलाले ‘महिला’को रूपमा भोग्ने शोषण, दमन र विभेदबीचको भिन्न वास्तविक यथार्थलाई सूक्ष्म तहबाट केलाउँदै लगे । अश्वेत महिलाका हकमा ‘अश्वेत’ र ‘महिला’को दुई भिन्न ‘कोटी’को पहिचान वा ‘अश्वेत–महिला’को योगयुक्त पहिचानको ‘कोटीहीनता’को बहुआयामिक पक्षबारे अन्तरसंवाद, आपसी संवाद र बृहत् छलफल सघन बनाउँदै लगे ।
नारीवादको रूपमा अन्तर्सम्बद्धता
अन्तरसम्बद्ध नारीवाद खासगरी नश्ल/वर्ण/रंगवाद, लिंगवाद र वर्गवादले अलग–अलग होइन, एकैसाथ कसरी महिलामाथि हुने विभेद र असमानताहरूलाई एकैठाउँमा खप्ट्याउँछ र परस्परमै गाँसेर राखीरहन्छ भनेर बुझ्ने अवधारणा हो । जुन नारीवादका अन्य स्वरूप र अवधारणाहरूभन्दा तुलनात्मक रूपमा नयाँ र जटिल पनि छ । यसले सीमान्त एवं पिँधका महिलालाई बहुरूपी र विविधतायुक्त बहुपहिचानजनित असमान र विभेदित व्यक्ति वा सामाजिक समूहको रूपमा हेर्छ । अन्तरसम्बद्ध सीमान्त पहिचानहरूको योगफलमा सिर्जित र निहित बहुविभेदले एउटा कुनै महिलालाई अर्को महिलाभन्दा कसरी भिन्न प्रभाव पारेको हुन्छ भन्ने कुरालाई प्राथमिकतामा राख्छ । कुनै एक व्यक्ति वा महिलाको एकभन्दा बढी सीमान्त पहिचानहरूको जालोमा जेलिएका अनेक आयामहरू खोतल्दै त्यसले पारेको प्रभावको प्रासंगिकता र विश्लेषणमा जोड दिन्छ ।
मुख्यतः तीनवटा पहिचानका आयाममा जोड दिई अभ्यासमा ल्याइएको अन्तरसम्बद्ध नारीवादी अवधारणाले सन्दर्भअनुरूप व्यक्तिको अन्तरसम्बद्ध अनेक पहिचान र सवालहरू बुझ्ने, विश्लेषण गर्ने र समीक्षा गर्ने ठाउँ मनग्य दिन्छ । निश्चित समाज व्यवस्था, सामाजिक–सांस्कृतिक परिवेश र ऐतिहासिक चरणहरूमार्फत ‘किनारामा पारिएकाहरूभित्रका पनि पिँधमा पारिएकाहरू’माथि हुने पारस्परिक दमन र विभेदका बहुस्वरूपहरूलाई केन्द्रमा राखेर बहुपक्षीय कोणबाट सैद्धान्तिक विश्लेषण गर्छ । जहाँ ‘महिला’को रूपमा निर्मित सामाजिक लिंगको पहिचानसँगसँगै गाँसिएर आउने अन्य पहिचानहरू– यौनिकता, लैंगिकता, उमेर, व्यावसायिकता, धर्म–संस्कृति, जात–जातीयता, भाषा, अपांगताको अवस्था, शैक्षिक स्थितिलगायत अवयवबीचको अन्तरसम्बद्धपनलाई केलाउन सकिन्छ ।
अनि, जन्मजात लिएर आएको पहिचानका अलावा पछि बन्दै जाने वा बनाउँदै लगिने पहिचानहरू र शोषण–विभदेबीचको अन्तरसम्बद्ध जालोहरू बुझ्न र तिनको औचित्य पुष्टि गर्ने आधार पनि दिन्छ । अन्तरसम्बद्ध नारीवादी खाकामार्फत कुनै पनि व्यवस्थाअन्तर्गतका सीमान्तकृत महिलाहरूसँग खप्टिएर र जेलिएर रहेका विभेदहरू पत्ता लगाई, मूलधार वा कुलीन वा सहुलियतयुक्त र प्रभावशाली महिलाहरूसँग भएको संरचनागत लाभको समेत लेखाजोखा गर्दै उनीहरू एकभन्दा बढी– दोहोरो, तेहेरो मारमा परेको दाबी सशक्त पार्दै ल्याएका छन् । त्यस अर्थमा अन्तरसम्बद्ध नारीवाद महिलाका निश्चित बहुपहिचान र बहुरूपी उत्पीडन र विभेदको अन्तरछेदन र अन्तरसम्बद्धतालाई सैद्धान्तिक खाकामा ढालेर हेर्ने एउटा आलोचक दृष्टिकोण हो ।
यसो भनिरहँदा प्रश्न उठ्नु स्वाभाविक हुन जान्छ– त्यसो हो भने के अन्तरसम्बद्ध नारीवादले अश्वेत जातिका महिलाकेन्द्रित अश्वेत नारीवाद, वर्गकेन्द्रित माक्र्सवादी नारीवाद र समरूपी महिला छवि अनि महिला एकतामा जोड दिने उदार नारीवादलाई विस्थापित गर्छ ? प्रश्नको स्वाभाविक उत्तर हो– अहँ, गर्दैन । अन्तरसम्बद्ध नारीवाद नारीवादका कुनै पनि स्वरूपलाई विस्थापित गर्नका लागि होइन, अस्तित्व र अभ्यासमा रहेका नारीवादका खाकाहरूमा रहेको सीमा भत्काउने अर्को एउटा नारीवादी खाकाको रूपमा ल्याइएको हो ।
बरू यसले अन्तरछेदीय र अन्तरसम्बद्ध पाटोहरूलाई सन्तुलित रूपमा अघि सार्न नसकेको खण्डमा महिला–महिलाबीचको फुट र दूरी बढाउने जोखिम सँगै लिएर आएको कुरा नकार्न भने सकिँदैन । जति पनि नारीवादका स्वरूपहरू अभ्यासमा ल्याइए, ती निश्चित जाति, वर्ग, धर्म–संस्कृति र क्षेत्र–भेगका महिलालाई मात्रै प्राथमिकतामा राखी अभ्यास गरिए र उनीहरूकै लागि मात्रै उपयोगी साबित भएको कुराले धेरै सीमान्तकृत र पिँधमा पारिएका महिलाहरू प्रभावित अवस्थामै रहिरहेका छन् । त्यही अवस्थाप्रति गम्भीर भई सबैका लागि उपयोगी नारीवादको खोजीस्वरूप अन्तरसम्बद्ध नारीवादलाई अवलम्बन गरिनु उचित हुनेछ ।
नेपालको सन्दर्भ
नेपालमा यौनिक तथा लैंगिक विविधता, जात–जातीय तथा क्षेत्रीय बहुपहिचान, जनसांख्यिक विविधता, भिन्न क्षमता वा अपांगताका आधारमा महिलाहरूभित्रका पृथक् मुद्दा र सरोकारका विषयमा आवाज मुखरित हुन थालेको करिब दुई दशक नाघिसक्यो । दोस्रो जनआन्दोलनले अझ झाँगिने आधारभूमि उपलब्ध गराएपछि विविध बहुपहिचानसँग गाँसिएका पृथक् मुद्दा, सरोकार र समस्याहरू सहतमा ल्याइए । अपांगता भएका, यौनिक विविधता भएका समुदाय, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, मनोरञ्जन क्षेत्रमा संलग्न, बाध्यात्मक यौन पेसामा संलग्नलगायत महिलाले आ–आफ्ना पहिचानजनित समस्या, सवाल र सरोकारसहित मूल प्रवाहको महिला आन्दोलन, राज्य र सामाजिक न्यायउन्मुख आन्दोलनहरूमा स्थान दाबी गर्दै आएका छन् ।
तिनको हेतु ब्राह्मणवादी पहाडे पितृसत्तात्मक नेपाली समाजले सीमित वर्ग, जाति, क्षेत्र र धर्मका महिलाहरूबाहेकमा भिन्न मात्रा र स्वरूपमा शोषण, दमन, नियन्त्रण गरेको कुरामा आवाज उठाउनु थियो । नेपालका महिलाहरूमाझ रहेको विविधता, असमानता र भिन्न–भिन्न सवाल र प्राथमिकताका वास्तविकतालाई अगाडि ल्याउनु थियो । तर, ती मुद्दा र समस्याहरू अन्तरसम्बद्धताको अवधारणाबारे पूरापूर जानकार वा सुसूचित भएर उठाइएका चाहिँ होइनन् । उदाहरणका लागि बादी महिलामाथि हुने शोषण–दमन–विभेद केवल महिलाको रूपमा मात्रै गरिएको हुँदैन, उनको जात–लिंग–वर्ग–शरीर–कार्यक्षेत्रको आधारमा त्यस्ता शोषण–दमन–विभेद संरचित हुन्छन् । उनीहरू स्वयंले आफ्नै अर्थ र परिभाषासहित बादी महिलाको पहिचान आत्मसात् गर्ने गरे पनि त्यो पहिचान उनीहरूबाहेकको राजनीतिक, सामाजिक, आर्थिक र प्राविधिक निकायबाट निर्धारित, निर्देशित र लादिएको हो भन्नेतर्फ कमै ध्यान पुर्याइएको छ ।
अन्तरसम्बद्ध नारीवाद नारीवादका कुनै पनि स्वरूपलाई विस्थापित गर्नका लागि होइन, अस्तित्व र अभ्यासमा रहेका नारीवादका खाकाहरूमा रहेको सीमा भत्काउने अर्को एउटा नारीवादी खाकाको रूपमा ल्याइएको हो ।
उल्लेखनीय कुरा, विविध महिलाका आवाज र आन्दोलनहरूले नेपालको नारीवादी छलफल र मूलधारको महिला आन्दोलन रूपान्तरण गर्नुपर्नेतर्फ झक्झक्यायो । लैंगिकतासँगै अन्तरनिहित अरू पाटाहरू हेर्न र बुझ्नमा चासो नराख्ने महिला–पुरुषबीचको असमानताको खाडल पुर्नमै उद्यत् उदार नारीवादी सोच, अभ्यास र क्रियाकलापको प्रभुत्वलाई कमजोर पार्दै लानेतर्फ धक्का दिन सघायो । यद्यपि तिनलाई महिलाका अन्तरसम्बद्ध सवालहरूको रूपमा हेरिएन । बरू उनीहरू स्वयंले दाबी गर्न थालेको पहिचानकै आधारमा उनीहरूका मुद्दा र सवालहरूको ‘पराईकरण’ गर्ने काम भएको आवाजहरू सुनिन थाल्यो ।
जस्तै– दलित महिलाका मुद्दा, अपांगता भएका महिलाका समस्या, जनजाति महिलाका सवाल, कम्लहरी महिलाका समस्या, मधेसी महिलाका एजेन्डा, बादी महिलाका मुद्दा, युवा महिलाका सरोकार भनी छेदन गरिए । त्यसरी ‘पराईकृत’ पहिचान, मुद्दा र प्राथमिकताहरू मूल प्रवाहको महिला आन्दोलन, राज्य व्यवस्था र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति, योजना र कार्यक्रममा समावेश हुनु नितान्त आवश्यक छ । केही–केही मुद्दा समावेशिता, विविधता र प्रतिनिधित्वको खाकाअन्तर्गत समावेश हुँदै जाने क्रममा पनि छन् । तर ती समावेश हुने क्रममै पूर्वाग्राही सोचको सिकार हुन पुगेको, ‘पराईकृत’ ढाँचामै ढालिएको अनुभव पनि सवाल उठानकर्ताहरूले पर्याप्तै बटुलिसकेका छन् । त्यस्तो सम्भावना अझै बढ्दै जान सक्ने संकेत पनि भेटिन्छन् ।
आन्दोलन वा अभियानको पाटोमा अन्तरसम्बद्धताको कोण प्रस्ट हुन नसके पनि पचासको दशकको अन्त्य र साठीको दशकको सुरुमै सेरा तामाङले उक्त पदावलीको उल्लेख नगरीकन नारीवादको सैद्धान्तिक खाकामा ढालेर प्रस्टसँग आलोचक विश्लेषण प्रस्तुत गरेकी थिइन् । उनले आफ्नो लेखमा नेपालको नारीवादको विश्लेषण र आलोचना गर्दै विविध महिलाहरूको भिन्न पृष्ठभूमि र उनीहरूले उठाएका सवालहरू बेवास्तामा परेको उजागर गरेकी थिइन् । अझै पनि अन्तरसम्बद्धताको खाका चिन्ने र अपनाउने खुलापन वा गतिशीलता नेपालको नारीवाद र मूलधारको महिला आन्दोलनमा छ भन्ने आधार भेटिँदैन ।
सीमान्तका प्रत्येक समुदाय र समूहमा व्यक्तिको अन्तरसम्बद्ध बहुपहिचानको आधारमा एकैचोटि थुप्रै खालका पक्षहरूले कसरी काम गर्ने गर्छन् भन्ने कुरा भोग्ने भुक्तभोगीहरू छन् । सीमान्तभित्रका पनि पिँधमै पारिएकाहरूसँग त त्यस्ता भोगाइबाहेक अरू कस्ता भोगाइ होलान् त ! भनेर घोत्लिनैपर्ने हुन्छ । भर्खरकै एउटा घटनालाई लिऊँ । सबै खालका प्रतिगमनविरुद्धको प्रतिरोधमा उत्रिएको बृहत् नागरिक आन्दोलनले गएको माघ ३० मा महिला मार्च गर्यो । बृहत् नागरिक आन्दोलन र महिला मार्चप्रति अनेक प्रश्न र केही असहमतिका बाबजुद पनि महिलाहरूमाथि हुने शोषण र बलात्कारको प्रतिरोधमा उल्लेख्य समावेशी सहभागिता रह्यो । मार्चका हरेक प्रस्तोताले नेपाली पितृसत्तात्मक राज्य व्यवस्था र त्यसलाई धानी राख्ने पुरुषार्थरूपी पाखण्डी खाँबोहरूप्रति सशक्त रूपमा वैचारिक प्रहार गरे । सहभागी सबैले ती आवाजहरूलाई भरपूर भरथेग दिए ।
अब त्यसको अर्को पाटो, ब्राह्मणवादी पहाडे पितृसत्ताको सोचले त्यहाँ अभिव्यक्ति दिने महिलाहरूको अन्तरसम्बद्ध पृष्ठभूमिको आधारमा विचारहरूको श्रेणी निर्धारण गरिदियो । अनि तुलनात्मक रूपमा तराई–मधेस मूलकै गैरनेपालीभाषी पृष्ठभूमिबाट आएका महिलाका वैचारिकी अरूभन्दा अपाच्य ठानी दण्डित गरिए । युवा कलाकार तथा नारीवादी कवि सपना सञ्जिवनीले मार्चमा पौराणिक रामायणकी अग्निपरीक्षामा झोसिने कथित चरित्रवान् र आदर्शवान् सीता बन्न इन्कार गरेकी थिइन् । उनले त्यसरी महिलामाथि हुने दमन र हिंसाको हरेक स्वरूपको प्रतीकात्मक प्रतिरोध गरेको कुरालाई संगीन अपराधझैँ ठानियो । किन ? किनकि हाम्रो समाज व्यवस्था र संरचनामा धेरै अन्तरसम्बद्ध सीमान्त पहिचानका एकभन्दा बढी अवयवरहित व्यक्तिलाई र उसको जुनसुकै विचारलाई पनि अस्वीकृत गर्ने, नियन्त्रण गर्ने, कारबाही वा दण्डित गर्ने सहजपन उपलब्ध छ ।
जहाँ त्यस्तो सहजपनकै लाभ उठाउनेले आफ्नो सोच र मान्यताविपरीत बोलेकै कारण निश्चित खालको बहुपहिचानयुक्त महिलालाई जसरी दण्डित गरे पनि कुनै मूल्य व्यहोर्न लगाउनेसम्मको व्यवस्था हुँदैन । नेपालको महिला आन्दोलनले यस्तै घटनाहरूको साक्षी बनिरहँदा पनि सबै महिला एकैनासे, एकखाले उत्पीडन–शोषण–हिंसामा पर्छन्, र महिला–महिलाबीचको भिन्नता पहिल्याउँदा सबै आन्दोलनहरू कमजोर नै हुन्छन् भन्ने सोचको विकल्प नखोजे आन्दोलन र नारीवाद झनै साँघुरिँदै जानेछ ।