• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सन्जोग ठकुरी
२०७७ फाल्गुण २२ शनिबार ०८:२४:००
रिपाेर्ट

हम ब्रह्मा नै बनबई

२०७७ फाल्गुण २२ शनिबार ०८:२४:००
सन्जोग ठकुरी

नेपालको नारीवादी आन्दोलनमा पुरुषको पनि संलग्नता आवश्यक छ ?

 

नेपालमा महिलाहिंसा र त्यसका खबर जताततै छन् । हरेक दिनजसो नछुटाईकन अखबारमा घटना आइरहन्छन् र साथसाथै कैयन् घटना उजुरीसम्म नहुने, भए पनि बीचमै हराउने जस्ता समाचार पनि आइरहन्छन् । यस्तो अवस्थामा पटक–पटकको दुर्व्यवहार, हाम्रा मूल्य–मान्यता, व्यहार र सोचमा महिलाप्रतिको संकीर्णता, राज्यको पुरुषवादी चिन्तन र व्यवहारले आजित भएर नागरिक समाजका महिला साथीहरूको नेतृत्वमा गत माघ ३० गते महिला मार्चको आयोजना गरियो । हो त्यहीँ हो, हामीले समकालीन महिला साथीहरूको ऊर्जाशील विचार, प्रतिगमनको विरुद्धका आवाज सुन्न, हेर्न र अनुभव गर्न पाएको ।

 

अधिकारकर्मी सपना सञ्जीवनीको कविता पनि मैले त्यहीँ सुनेको थिएँ । आज पनि केही अनलाइनले राखेको भिडियो हेर्दा पहिलोपटक सुनेझैँ गरी झसंग र जर्‍याकजुरुक पार्छन्, ती शब्दले । पछिल्लो समय महिला मार्चमा महिलाहरूले अभिव्यक्त गर्नुभएको आवाज, विचार र नेतृत्वलाई लिएर सामाजिक सञ्जालमा लामो बहस भइरहेको छ । अझ खासगरी सीमान्तकृत समुदाय र पछाडि पारिएका समुदायलाई लक्षित गरी रिसाएर, डराएर, चिढिएर मानिसहरूले महिला साथीहरूलाई मार्ने, सार्वजनिक बेइज्जत गर्ने धम्की दिए भने सामाजिक सञ्जालमा त बेइज्जत नै पनि गरियो ।

 

केही महिनाअघि यसै पत्रिकाको ‘झन् नयाँ’ परिशिष्टाङ्कमा ब्राह्मणवादी पितृसत्ताको विषयमा मैले लेख लेखेको र महिला मार्चमा सपनाजीले वाचन गर्नुभएको कवितालाई आधार मानी उहाँलगायत साथीहरूमाथि गरिएको अनलाइन आक्रमणलाई मध्यनजर गर्दै यो विषयमा पुनः लेख्नुपर्ने जिम्मेवारी महसुस गरेको छु । सुरु महिला मार्चको सपनाजीको कविताबाट गरौँ । सपनाजीले वाचन गर्नुभएको कविताको मेरो छोटो भावानुवाद यस्तो छ :

 

‘ए पितृसत्ताको कलम,
तिमीले लेखेजसरी भनिएको सीता, अब म बन्नेछैन
सदैव कोमल, सहनशील मात्र भनिएको जानकी माता बन्नेछैन
तिम्रो लागि भनेर अनुहार झुकाएर, आगोमा देह त्याग गर्नेछैन
आफ्नै छोरी सरस्वतीलाई 
बलात्कार गर्ने बुबा ब्रह्मालाई, म मेरो रक्षक मान्नेछैन
हे कौरव र पाण्डव, खबरदार !
आजको द्रौपदीलाई तिमीहरूले 
फेरि उनको अस्मिता र मानमाथि धाबा बोल्ने होइन
अब भने आँखा झुकाएर,
द्रोेपदी चुपचाप बस्नेवाला पनि छैन’

 

यी कुनै पनि लाइनले कहीँ कतै हामी क्रिस्चियन बनौँ वा हिन्दू नबनौँ भनेको छ र ? वा पूरै कविता सुन्दा पनि त्यस्तो लाग्छ र ? एकजना महिला सार्वजनिक रूपमा प्रश्न गर्नुहुन्छ, ‘हे पुरुषहरू ! अब महिलालाई कौडामा बाजी थाप्ने र वस्त्रहरण गर्ने नसोच । आजको महिला हामी परापूर्व कालका जस्तो शिर झुकाएर तिमीले गरेका अन्याय सहेर बस्नेवाला छैनौँ । अब हामी श्रीमान्को प्रेम भनेर सती जानेवाला छैनौँ तर अपराधीसँग जुझेर न्याय स्थापित गर्छौं । हामी महिलालाई माया, करुणा, सहनशील भन्ने विशेषणले पुज्ने दिन गए, किनकि हामी यी तीन कुराहरूको दासी हुन चाहन्नौँ ।’ हेर्नुहोस् त कति शक्तिशाली शब्दहरू, कति बेजोड विचार ! यी विचारहरूमा कहाँनेर गलत कुराहरू छन् र ? साथीहरूलाई लाग्ला, कवितामा उल्लेख गरिएका पात्रहरू हिन्दू मिथकबाट आएका छन्, तसर्थ किन निरन्तर हिन्दू धर्मग्रन्थका पात्रहरू नै छान्नुपर्‍यो भन्ने लागेको होला । तर, हामी हुर्केको नै हिन्दु धर्मको सेरोफेरोमा हो । मैले देखे–सुनेको र मान्दै आएको धर्म संस्कृति पनि हिन्दू नै त हो । अब मलाई जेबारे थाहा छ र जे भोगेको छु, त्यहीबारे न लेख्छु ।

विरोधाभासपूर्ण भाष्य र संस्कारबारे छलफल गर्न हामी किन हिचकिचाउने ? के हाम्रो हिन्दुत्व, हाम्रा भगवान् त्यति कमजोर छन् कि विभेदकारी संस्कार परिवर्तन गर्नासाथ पूरापूर धर्म नष्ट हुन्छ ? कि हाम्रा भगवान् त्यति खराब छन् कि कसैमाथि विभेद हुनुहुन्न भन्नासाथ उनीहरू रिसाउँछन् ? 

परिपक्वता कुनै व्यक्तिको उमेर कति भयो भनेर होइन, उसले समाजभित्रको विभेद, असमानतालाई कसरी हेर्छ र न्यायपूर्ण थितिका लागि कसरी व्यवहार गर्छ, त्यसले मापन गर्ने हो । त्यसैले त उमेरमा ६० काटेका मानिसभन्दा बाल क्लबका भाइबहिनीहरूमा कतिपय सन्दर्भमा परिपक्वता पाइन्छ । हाम्रो धर्म पनि परिपक्व हुनका लागि यसभित्र भएका विभेदहरूलाई खुट्याउन आवश्यक छ । म व्यक्तिगत रूपमा निरन्तर हिन्दू धर्मको आलोचनात्मक दृष्टिकोणले खासगरी महिला अधिकार र दलित अधिकारको आँखाबाट जानेसम्मको पढ्ने गर्छु । हिन्दू मेरो धर्म त हो, तर म यसलाई समयक्रमसँगै परिष्कृत पनि हुनुपर्छ भन्ने मान्यता पनि बोक्छु, ताकि मेरी दुई वर्षकी छोरी हुर्कंदै गर्दा र बुझ्ने उमेरको भइसक्दा उनले पनि स्वतन्त्रसँग बाँच्ने यो धर्म होस् । र, पक्कै पनि विनासंकोच उनको परिपक्वताको आधारमा कुनै दिन उनले धर्म परिवर्तन नै गर्ने वा कुनै पनि धर्म नमान्ने निर्णय गर्छिन् भने यो उनको जन्मसिद्ध अधिकार हो, जसको ग्यारेन्टी मेरो देशको संविधानले नै गरेको छ ।

 

फेरि कवितामा फर्कौं । कवितामा सपनाजी हामीलाई बलात्कार गर्ने सबै अपराधी हुन्, चाहे त्यो आफ्नो बुबा नै किन नहोस् भनेर बताउनुहुन्छ । यसमा हामीलाई आपत्ति के कुरा को भएको हो ? कि बलात्कारी बुबा भएमा चाहिँ हामीले सम्मान गर्नुपर्ने हो र ? अनि ती बलात्कारी चाहे ब्रह्मा हुन् या अरू कोही भगवान् हुन्, हामी मान्दैनौँ भन्नुमा डलरवादी देखिनु कहाँसम्मको न्यायसंगत छ ? यस्तो तर्कले विनासंकोच उहाँ र उहाँलगायतका साथीहरूलाई गाली गरिरहँदा हाम्रा छोरीहरूले आफ्ना बुबालाई कसरी परिभाषित गरिरहेका छन्, उनीहरूको प्रतिक्रिया के होला भनेर हामीले कल्पना पनि गर्न नसकौँला । बरु हामी पुरुष साथीहरूले ऐक्यबद्धतास्वरूप, सपनाजी, हम ब्रह्मा नै बनबई पो एकस्वरमा भन्नुपर्ने हो । सपनाजी द्रोपदीलाई जसरी जुवा वा कुनै पनि आधारमा बेइज्जत गर्ने समुदायमा अब हामी चुप लाग्दैनौँ भन्नुहुन्छ ।

 

यो आवाज द्रोपदीका नाममा ढाड देखियो भनेर कुर्लिने समाजविरुद्ध हो, कसैको लैंगिक पहिचानकै आधारमा उनीमाथि निरन्तर टिकटक, युट्युबमा गाली बेइज्जती गर्ने समूहमाथि हो भने वरिष्ठ भनिएका नेताहरूले सहजै महिलाको क्षमतालाई पुरुषसँग जोडेर हेर्ने नेता र नेतृत्वलाई भनिएको कुरा पनि हो । म त उहाँको कवितामा महिलामाथिको अन्तरनिहित शक्ति (एजेन्सी) को व्याख्या देख्छु, जहाँ महिलाहरू सदियौँदेखिको उत्पीडनविरुद्ध आजका महिला जोडदार रूपमा प्रस्तुत हुनुभएको छ । मैले त महिला मार्चमा सहभागी भएर सपनाजीमार्फत महिलाको त्यो अन्तरनिहित शक्तिलाई प्रत्यक्ष रूपमा नै महसुस गर्ने अवसर प्राप्त गरेँ । यदि हामी महिलालाई सार्वजनिक रूपमा बेइज्जत गर्दा उनीहरूले चुप लागेर सहेर बस्नुपर्छ भनेर भन्छौँ भने हामी कस्तो समाजको परिकल्पना गरिरहेका छौँ भन्ने कुरा त प्रस्टै हुन्छ नि !

 

कविताका ती हरफहरू हिन्दू धर्मविरुद्धभन्दा पनि हिन्दू धर्मलाई कसरी सबैको साझा बनाउने भन्ने ठूलो सन्देशको रूपमा म पाउँछु । सपनाजीलगायत मलाई पनि मेरो ब्राह्मणवादी पितृसत्ता भन्ने लेखमा मनग्य डलरे भन्ने प्रतिक्रिया आएको थियो । म हिन्दू परिवारमा हुर्किएँ, हिन्दू सभ्यता र संस्कृति बुझ्ने र हेर्ने अवसर पाएँ, तसर्थ म यसै विषयमा नै लेख्ने र पढ्ने गर्छु । सपनाजीले पनि त्यसै नै गर्नुभयो । जसरी मधेसी समुदायका आवाज मधेस मूलका साथीहरूले पहाडे समुदायका साथीभन्दा राम्रोसँग व्यक्त गर्न सक्नुहुन्छ, महिलाका समस्याहरूको विषयमा महिलाले जसरी पुरुषले व्याख्या गर्न सक्दैनन्, त्यसरी नै हिन्दू धर्मको प्रशंसा र यहाँभित्र भएको विरोधाभासपूर्ण अभ्यासहरू हामीले नै राम्रोसँग गर्न सक्छौँ ।

विवाहमा किन श्रीमतीले मेरो खुट्टा ढोग्नुपर्ने ? सम्मान नै गर्ने हो भने दुवैले एक–अर्काको सम्मान गरौँ र दुवैले एक–अर्काको खुट्टा ढोगौँ भन्नु खराब कुरा हो र ? कि महिला भनेको पुरुषभन्दा तल हुनुपर्छ भन्ने कुरा हामी बताउन चाहिरहेका छौँ ?

विवाहमा किन श्रीमतीले मेरो खुट्टा ढोग्नुपर्ने ? सम्मान नै गर्ने हो भने दुवैले एकअर्काको सम्मान गरौँ र दुवैले एकअर्काको खुट्टा ढोगौँ भन्नु खराब कुरा हो र ? कि महिला भनेको पुरुषभन्दा तल हुनुपर्छ भन्ने कुरा बताउन चाहिरहेका छौँ हामी ? यदि त्यसो हो भने र यसको व्याख्या यसरी गर्न खोजिरहेको हौँ भने त हामीले हाम्रो धर्म परापूर्वकालमा विभेदकारी थियो र हामी पनि त्यसैलाई आजको समाजमा पनि मान्नका लागि दबाब दिइरहेका छौँ । अनि यति स्पष्ट कुरामा पनि हामी किन विवाद गरिरहेको छौँ ? 

 

हामीले सदैव हिन्दू धर्मलाई जीवन जिउने पद्धतिको रूपमा बुझ्दै र व्याख्या गर्दै आइरहेका छौँ । हाम्रा धेरै प्रक्रिया सहज छन् । धेरै मूल्य–मान्यता असल छन् । हिन्दु धर्मभित्र हामी धेरै कुरामा सरलता र लचकता पनि पाउँछौँ र अभ्यास गर्दै आइरहेका छौँ । तर, सबै लचक र सरल कुरा सबैलाई सधैँलाई मान्य हुनुपर्छ भन्ने ठान्नुचाहिँ अतिवादी हुनु हो । एकातर्फ हामी हिन्दू धर्मको लचकताको गुनगान गाउँछौँ, तर अर्कोतर्फ भने यसमा केही आलोचनात्मक टिप्पणी सुन्नासाथ तल्लोभन्दा तल्लोस्तरको गालीमा उत्रिन्छौँ भने यसले पुनः हामी र हामीले अँगालेको धर्मलाई नै पहिचान गराउने हो ।

 

फेरि जुन धर्मको सबैको कल्याण हुनुपर्छ भन्ने मान्यता छ, त्यसैमा भएका विरोधाभासपूर्ण भाष्य र संस्कारबारे छलफल गर्नका लागि हामी किन हिचकिचाउने ? के हाम्रो हिन्दुत्व, हाम्रा भगवान् त्यति कमजोर छन् कि विभेदकारी संस्कार परिवर्तन गर्नासाथ पूरापूर धर्म नष्ट हुन्छ ? कि हाम्रा भगवान् त्यति खराब छन् कि कसैमाथि विभेद हुनुहुन्न भन्नासाथ उनीहरू रिसाउँछन् ? रिसाउँछन् भने उनीहरू भगवान् कसरी भए ? परापूर्वकालदेखि चल्दै आएको भन्दै सबथोक मस्तिष्कमा बिर्को लगाएर मान्नु सही हुन्न । हिजोका कतिपय कुरा आज काम लाग्दैनन् । हिजोका मानिसलाई महिलाका अधिकारबारे महसुस नै भएन भन्नुको अर्थ आज पनि हामीले त्यसैलाई मान्नुपर्ने अन्धविश्वासबाट भने हामी माथि उठ्नुपर्छ । म एक हिन्दू भएको नाताले मलाई मैले मान्दै आएको चलन, संस्कृतिले मसँगसँगै मेरा दिदी, बहिनी, आमा, श्रीमती, छोरी सबैका लागि सम्मानित हुनुपर्छ भन्ने लाग्छ । अब यति भन्नका लागि मैले कसको डलर खानुपर्ने ? अनि मलाई धर्म भाँड्यो भन्ने आरोप पनि लाग्ने ? फेरि हामीले हिन्दू धर्मभित्रका खराब कुराहरूको मात्र त विरोध गरेका हौँ नि ! 

 

केही वर्षपहिले मर्यादित महिनावारीका विषयमा निरन्तर आवाज उठाउँदै आइरहनुभएकी अधिकारकर्मी राधा पौडेलजीले नेपालगञ्जमा भएको भेटघाटमा चिन्तित हुँदै भन्नुभएको थियो, ‘नेपालका छोरीहरूले सपना देख्न छोड्न थालेका छन् । गाउँ–गाउँमा छोरीहरूलाई सपना देख्न सहयोग गर्न आवश्यक छ ।’ हाम्रा छोरीहरू कसरी लैंगिक समानता र सम्मानपूर्ण समाज देख्न सकिरहेका छैनन् ? के कुराले उनीहरूलाई यस्तो बनाइरहेको छ ? र, यी विषयवस्तुमा हामीले काम गर्ने कि नगर्ने ? समयअनुसार हरेक कुरा परिष्कृत हुँदै आइरहेको छ र हुनु पनि पर्छ । यदि हामीले आज हाम्रो हिन्दू संस्कारमा रहेको विभेदपूर्ण संस्कृतिमा परिमार्जन गर्न सकेनौँ भने आजका युवापुस्ता, आजका महिलाहरूलाई हिन्दू धर्मभित्र भएको लैंगिक र जातीय विभेदपूर्ण व्यवहारबारे बोल्न र लेख्न कसैले डलर खुवाइरहनुपर्दैन । बरु यस्ता छलफलमा पुरुषहरूलाई पनि संलग्न गराउनु भने आवश्यक छ ।

 

यो अवस्थाको परिवर्तनका लागि के नेपालको नारीवादी आन्दोलनमा पुरुषको पनि संलग्नता आवश्यक छ त ? त्रिभुवन विश्वविद्यालय लैंगिक अध्ययन विभागका प्राध्यापक डा. मिरा मिश्र हामीले पुरुषको जीवन पनि अध्ययन गर्न आवश्यक भएको बताउनुहुन्छ । उहाँ थप्नुहुन्छ, ‘हामीले पुरुषहरूको पनि अध्ययन गर्न आवश्यक छ, जसले गर्दा के र कस्ता कुराहरूले उनीहरूलाई विषाक्त पुरुषत्वतर्फ डोहोर्‍याउने गर्छ, हामीले थाहा पाउनु छ । यसले सिंगो नेपाली नारीवादी अभियानलाई नै सहयोग पुर्‍याउने हो ।’ मासुको पिण्डबाट हुर्किने एउटा जातीय मानिसले अर्को जातिको सिंगो मानिसको समूहमाथि धर्म, राजनीति, संस्कारका नाममा गर्ने विभेदकारी दमनविरुद्ध एक भएर लड्नुसिवाय अर्को विकल्प देखिन्न । र, यस्ता कुरामा चिढिने साथीहरूलाई अन्त्यमा गोरख पाण्डेयको यो कविता ः

 

हजार साल पुराना है उनका गुस्सा
हजार साल पुरानी है उनकी नफरत
मै तो सिर्फ
उनके बिखरे हुए शब्दो को 
लय और तुक के साथ लौटा रहा हूँ
मगर तुम्हे डर है की
आग भडका रहा हूँ ।