• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
विष्णु भण्डारी
२०७७ फाल्गुण २९ शनिबार ०७:५२:००
सम्झना

चैत ३ : एक साहसिक आन्दोलन

२०७७ फाल्गुण २९ शनिबार ०७:५२:००
विष्णु भण्डारी

साहित्यमा राजनीति हुन्छ र हुनुपर्छ भन्ने सोचलाई नेपाली साहित्यको एउटा वृत्तमा त्यति साह्रो रुचाइँदैन । राजनीतिक परिवर्तनमा कलासाहित्यको भूमिकाबारे बहस भएको पनि खासै पाइँदैन । 

 

राजनीति र साहित्यबीचको अन्तरसम्बन्ध कस्तो हुन्छ ? के साँच्चै साहित्य राजनीतिबाट निरपेक्ष र असम्पृक्त नै हुन्छ त ! यी प्रश्नहरू अहिले पनि अनुत्तरित नै छन् । तर पनि ‘राल्फा आन्दोलन’, ‘चैत्र तीन’ र ‘लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च’ हुँदै ‘स्रष्टा आन्दोलन २०७७’ सम्म आइपुग्दा हामीले यी प्रश्नको उत्तर भेट्टाउन सक्छौँ । 

 

हामीकहाँ राजनीतिक परिवर्तन र अग्रगमनका लागि गरिएका आन्दोलन र अभियानहरूको सूची सानो छैन । कुनै स्वस्फूर्त त कुनै संगठित रूपमा आए, गए । एक समय तिनीहरूले समाजलाई प्रभावित पनि गरे । राजनीतिक र साहित्यिक क्षेत्रमा हलचल पनि ल्याए । तर, केही समयमै तिनीहरू सेलाए र गुमनाम भए ।

 

नेपाली समाजको पछिल्लो एक शताब्दीको इतिहास हेर्ने हो भने राजनीतिक परिवर्तनमा साहित्यकारहरूले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । समाजमा चेतना जगाउने, मानिसहरूलाई आन्दोलित गर्ने र अग्रमोर्चामा रहेर निरंकुशताविरुद्ध आवाज बुलन्द गर्ने काम लेखकहरूले गर्दै आएका छन् ।

 

पुस्तकालय पर्व र जयतु संस्कृतम्बाट सुरु भएको जागृतिको अभियान अहिलेसम्म पनि रोकिएको छैन । खासगरी पञ्चायतविरोधी आन्दोलन, जनयुद्ध र पहिलो तथा दोस्रो जनआन्दोलनमा लेखक कलाकारले देखाएको साहस अतुलनीय छ । 

 

लोकतान्त्रिक आन्दोलनमा कवि–लेखकहरूले आफ्ना सिर्जनाका माध्यमले मात्र होइन, विभिन्न आन्दोलन र अभियानमार्फत पनि आफूलाई समर्पित गरे । ‘चैत्र तीन’ तिनै साहसिक आन्दोलनमध्येको महत्वपूर्ण परिघटना थियो । यसो त ‘चैत्र तीन’ आधा घन्टा मात्र मुखमा कालोपट्टी बाँधेर गरिएको विरोध प्रदर्शन थियो । तर, त्यसले ०४६ सालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्यो । 

 

आन्दोलनका वेला प्रतिगमनविरुद्ध सतीसालजस्तै उभिने कवि–साहित्यकार पछि मैन पग्लिएसरी किन पग्लिन्छन् ? किन ती आन्दोलन र अभियान बिस्तारै सेलाउँदै जान्छन् ?

 

०४६ साल फागुन ७ बाट सुरु भएको पञ्चायतविरोधी आन्दोलनले एक महिनासम्म पनि खासै गति लिएको थिएन । मानिस सडकमा निस्किन सक्ने अवस्था पनि थिएन । आन्दोलनकारीले लुकेर पर्चा छर्ने र प्रहरीको आँखा छलेर छड्के जुलुस निकाल्नेबाहेक अरू गर्न सकिरहेको थिएन । देशैभरि आतंक फैलिएको थियो । 

 

यस्तो अवस्थामा लेखक साहित्यकारहरू मुखमा कालोपट्टी बाँधेर सडकमा निस्किएका थिए । यो विरोध प्रदर्शन मात्र थिएन, प्रजातान्त्रिक, वामपन्थी र स्वतन्त्र लेखक कलाकारको साझा र एकताबद्ध अभियान थियो । 

 

इतिहास खोतल्ने हो भने सयौँ आन्दोलन, अभियान र संस्था भेटिन्छन् नेपालमा । तर, तिनीहरूमध्ये केहीको मात्र आज पनि नाम लिने गरिन्छ । त्यसरी नाम लिइनेमा ‘पुस्तकालय पर्व’, ‘राल्फा आन्दोलन’, ‘बुटपालिस आन्दोलन,’ ‘सडक कविता क्रान्ति’, ‘चैत्र तीन’, ‘लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च’ र ‘सिर्जनशील अराजकता’ पर्छन् ।

 

किन लिइन्छन् यी नामहरू ? यो प्रश्नको उत्तर सानो लेखमा दिनु सम्भव छैन । छोटकरीमा भन्दा यी आन्दोलन र अभियान सफल हुनुको पछाडि दुई कुराले काम गरेका थिए । ती हुन्, राजनीतिक पृष्ठभूमि र साझा मुद्दा ।

 

नेपालमा जति पनि आन्दोलन, अभियान र संघसंस्थाहरू बनेका छन्, ती सबैजसो कुनै न कुनै विचार र राजनीतिक गुटबाट प्रभावित छन् । राजनीतिक पार्टीपिच्छेका संगठन र अभियानहरू त छन् नै, सँगसँगै पार्टीभित्रका गुट–उपगुटका अलग्गै कोटरीहरू पनि छन् । स्वतन्त्र हुँ भन्नेहरूका पनि आआफ्नै समूह र संस्थाहरू छन् ।

 

मोर्चा र संगठन बन्नु, आन्दोलन र अभियान चलाउनु नराम्रो होइन । यसले भाषासाहित्यको श्रीवृद्धिमा सहयोग नै पुर्‍याउँछ । केही नगर्नुभन्दा केही गर्नु उत्तम हो । तर, कलासाहित्य र यससँग सम्बन्धित संघसंस्थालाई बुझ्ने र पर्गेल्ने भनेको तिनले बोक्ने विचार, उद्देश्य र मुद्दाका आधारमा हो । जुन आन्दोलन, अभियान वा संस्थाहरू स्पष्ट विचार र राजनीतिक सोद्देश्यका साथ सञ्चालित हुन्छन्, साझा मुद्दा र राष्ट्रिय हितका लागि सुरु गरिन्छन्, तिनको महत्व र आयु बढी हुन्छ नै । 

 

माथि लिइएका नामहरू सायद यही कारणले अहिलेसम्म पनि बाँचिरहेका छन् । जबसम्म ‘राल्फा आन्दोलन’ राजनीतिक पार्टीको फेरो र गुटभन्दा माथि उठेर परिवर्तनका लागि विद्रोही स्वर बोकेर हिँड्यो, त्यो सबल रह्यो । राजनीतिक पार्टीको छायाले छोएपछि त्यो मुर्झायो, फुट्यो र त्यसका अभियन्ता राजनीतिक पार्टीको कार्यकर्तामा रूपान्तरित भए । 

 

राजनीति र विचारको पक्ष–विपक्षमा बोल्नु र लेख्नु भनेको राजनीतिक पार्टीको झोला बोक्नु होइन । राजनीतिक पार्टीको सदस्य नभए पनि धेरै लेखक–साहित्यकारले प्रतिगमनविरुद्ध लेखेका छन् । अग्रगमनको पक्षमा बोलेका छन् । ‘चैत तीन’ कुनै अमुक पार्टीलाई सत्तामा पुर्‍याउने नभएर राजनीतिक परिवर्तन र पञ्चायतको अन्त्यका लागि गरिएको आन्दोलन थियो ।

 

साझा मुद्दाकै कारण ‘चैत्र तीन’ अहिलेसम्म बाँच्यो । गर्न त त्यतिखेर पनि कवि–लेखकले राजनीति नै गरेका थिए, तर त्यो राजनीति ग्रीष्ममा गर्जिएको मेघजस्तो थियो । त्यही मेघले पञ्चायतको अवसानका लागि बाटो प्रशस्त गरिदियो ।

 

म अहिले पनि सरस्वती सदनको दृश्य सम्झिरहन्छु । वयोवृद्ध कवि युद्धप्रसाद मिश्र कसरी खम्बाजस्तै उभिएका थिए ? रोगले ग्रस्त भए पनि पारिजात दिदीले कसरी सत्ताविरुद्ध हुंकार गरेकी थिइन् ? सरस्वती सदनमा हामी ती मूर्धन्य कवि–लेखकहरूको वरिपरि एउटै गोलो भएर बसेका थियौँ । युद्धप्रसाद मिश्र, पारिजात, डायमण्ड शमशेर, भुवनलाल प्रधान, सत्यमोहन जोशी, वाशु शशी, कमलमणि दीक्षित, कृष्णचन्द्रसिं प्रधान, उत्तम नेपाली, मोहन कोइराला, शक्ति लम्साल, रुद्र खरेल, आनन्ददेव भट्ट, दुर्गालाल श्रेष्ठ, निनु चापागाईं, ध्रुवचन्द्र गौतम, खगेन्द्र संग्रौला, रामेश, रायन, महजोडी, गोविन्द वर्तमान, शारदा शर्मा, मोहन खड्का र यो पंक्तिकारसहित करिब एक सय पचहत्तरजना कवि, लेखक र कलाकारले मुखमा कालोपट्टी बाँधेर बस्दा आन्दोलनको माहोल नै अर्कै भएको थियो ।

 

त्यतिखेर पनि अहिलेजस्तै सत्ताको ललीपपमा रमाउनेहरू हाम्रा विरुद्ध थिए । जसरी बृहत् नागरिक आन्दोलन, स्रष्टा आन्दोलन २०७७ र माक्र्सवादी सांस्कृतिक मोर्चाको ब्यानरमा हामी सडकमा उभिँदा केही स्वघोषित प्राज्ञ र साहित्यकारहरू प्रतिगमनलाई सलाम ठोक्दै थिए । प्रज्ञा भवनको गेटमा बसेर विरोध प्रदर्शन गर्नसमेत दिइएन । हामीलाई त्यहाँबाट लखेटियो । त्यसपछि हो हामी सरस्वती सदनमा पुगेको ।

 

जब सरस्वती सदनमा सयौँको संख्यामा प्रहरी आए, त्यहाँको दृश्य बडो रोमाञ्चक भयो । हेर्नलायक थियो, त्यतिखेरको दृश्य । केही अघिसम्म आफूलाई अब्बल क्रान्तिकारी भन्नेहरू पुलिस आउँदा–नआउँदै भाग्न थालिसकेका थिए । हामीलाई गिरफ्तार गर्न थाल्दासम्म त्यहाँको भिड पातलिएको थियो । अब त्यहाँ थिए, परिवर्तनका लागि मनमा राप र ताप बोकेकाहरू मात्रै । 

 

रातको १० बज्दै थियो, महेन्द्र पुलिस क्लब हुँदै बग्गीखाना लगिएका स्रष्टाहरूलाई अब आइन्दा आन्दोलनमा नलाग्ने सर्तसहितको कागज गरेर छोड्न खोजियो । स्रष्टाहरू त्यसरी छुट्न चाहेनन् । सबैको एउटै आवाज थियो, हामी परिवर्तनका लागि सडकमा निस्किएका हौँ । हामी कुनै सर्तनामामा सही गरेर निस्किँदैनौँ ।पहिलोपल्ट सत्ता स्रष्टासँग पराजित भयो । अन्तिममा प्रत्येकको फोटो र सानो भिडियो क्लिप लिएर स्रष्टालाई राति नै छोडियो । 

 

चैत्र तीनलाई सम्झिँदै गर्दा हामीले भुल्न नहुने केही कुरा छन् । ती हुन्, कसरी त्यो आधा घन्टे विरोध प्रदर्शनले त्यति धेरै तहल्का मच्चायो ? कसरी त्यसले सुस्ताउँदै गएको आन्दोलनमा उभार ल्यायो ? र, किन आजसम्म पनि ‘चैत्र तीन’ जीवित रह्यो ? यसका पछाडि धेरै कारण छन्, तीमध्ये सबैभन्दा ठूलो कारण हो ‘चैत्र तीन’ राजनीतिक परिवर्तनका लागि गरिएको साझा आन्दोलन थियो । त्यसले छोडेको पाठ हो, साहित्यकारको काम राजनीतिक आन्दोलनको नेतृत्व गर्ने होइन, दिशाबोध गर्ने हो । चैत्र तीनले पहिलो जनआन्दोलनलाई दिशाबोध गरेको थियो । आन्दोलन लुकेर, पछि हटेर होइन, सडकमा निस्किएर, सत्तासँग आँखा जुधाएर मात्र सम्भव छ भन्ने पाठ सिकाएको थियो ।

 

०६२/०६३ सालमा पनि स्रष्टाहरूले हरेक मोर्चामा आफ्नो दरिलो उपस्थिति जनाएका थिए । जनयुद्धमा लेखक कलाकारहरूले उपस्थिति मात्र जनाएनन्, झन्डै दुई सयको संख्यामा सहादतसमेत दिए । यसले के देखाउँछ भने लेखक कलाकार कहिल्यै पनि राजनीतिक, सामाजिक विषय र मुद्दाबाट अलग हुन सक्दैनन् । 

 

लेखकहरू किन सत्तासँग पौँठेजोरी खेल्छन् ? किन हरेक राजनीतिक आन्दोलनमा उनीहरूको खोजी हुन्छ ? र, किन परिवर्तनपछि लेखक साहित्यकार गुमनाम हुन्छन् ? यसको पछाडि पनि कारण छन् । आन्दोलनका वेला प्रतिगमनविरुद्ध सतीसालजस्तै उभिने कवि–साहित्यकार पछि मैन पग्लिएसरी किन पग्लिन्छन् ? किन ती आन्दोलन र अभियान बिस्तारै सेलाउँदै जान्छन् ? जसरी ‘चैत्र तीन’, ‘राल्फा आन्दोलन’ र ‘सडक कविता क्रान्ति’हरू सेलाउँदै गए । यी पनि बहसका विषय हुन् ।

 

हामीले आन्दोलनको अग्रमोर्चामा उभिनेहरू सत्ताको मिठोमा लोभिएको, विचलित र दिशाहीन भएको देखेकै हो । त्यस्ता आदर्श पात्रको हविगत देखेर प्रश्न पनि गरिएको हो । र, अहिले पनि गरिँदै छ । ती प्रश्नहरू हुन्, किन उभिन सक्दैन एउटा लेखक सत्ताको विपक्षमा ? किन उसले आफ्नो छुट्टै सत्ता निर्माण गर्न सक्दैन ? वर्षौं सत्तासँग पौँठेजोरी खेलेको साहित्यकार किन जीवनको अन्तिम दिनमा आएर सत्ताको छहारीमा रमाउन पुग्छ ? सम्भवतः त्यस्तो पात्र पारिजात मात्र थिइन्, जसले जीवनपर्यन्त सत्तासँग आँखा जुधाएर बसिन् । 

 

विगतमा धेरै साहित्यकार कोही भ्रष्टाचारको दलदलमा, कोही प्रज्ञाको भत्तामा र कोही सत्ताको ललीपपमा आफूलाई धन्यधन्य बनाएर खुइलिए । यो क्रम अद्यापि जारी छ । यस्तो भएपछि कसरी हुन्छ, साहित्यको वैकल्पिक सत्ता निर्माण ? कसरी जीवित रहन्छन्, तिनीहरूले सुरु गरेका आन्दोलन, अभियान र संस्थाहरू ।

 

अनामनगरको युनियन हाउसमा भएको बृहत् नागरिक आन्दोलनको बैठकमा आन्दोलनका अगुवाप्रति यही प्रश्न तेस्र्याएकी थिइन्, कवि विमला तुम्खेवाले । त्यहाँ यस्तो प्रश्न उठ्नु स्वाभाविकै थियो । ०६२/०६३ सालको आन्दोलनमा सक्रिय भूमिका निभाएको ‘लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च’ किन आन्दोलन सफल हुँदाबित्तिकै सेलायो ? किन त्यो मञ्चमा क्रियाशील बैरागी काइँला, निनु चापागाईं, तुल्सी भट्टराई र आनन्ददेवहरूले सत्तालाई निरन्तर खबरदारी गर्न सकेनन् ? किन उनीहरू पुरानै ढर्राको प्रज्ञामा कुलपति, आजीवन सदस्य र सदस्य भएर गए ? यी प्रश्नहरूले अगुवाहरूलाई साँच्चै अप्ठ्यारोमा पारेको देखिन्थ्यो । 

 

यसपल्टको ‘प्रतिगमनविरुद्ध अग्रगमनका पक्षमा’ क्रियाशील बृहत् नागरिक आन्दोलन, माक्र्सवादी सांस्कृतिक मोर्चा र स्रष्टा आन्दोलन २०७७ मा हामीले गरेको एउटै प्रतिज्ञा हो, सबैखाले प्रतिगमनविरुद्ध निरन्तर खबरदारी गर्ने ।

 

‘चैत्र तीन’जस्तै ‘लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च’ र ‘स्रष्टा आन्दोलन २०७७’ राजनीति थियो । राजनीतिक परिवर्तन र अग्रगमनका कवि कलाकारले गरेको राजनीतिक आन्दोलन थियो । त्यत्ति हो, यो कलात्मक थियो, साहित्यिक थियो । यहाँ बोलिएको भाषा साहित्यको भाषा थियो । ब्यानरमा नारा थिएनन्, कविता थिए । तर, ती कविताभित्र राजनीति थियो ।

 

‘चैत्र तीन’मा मुखमा कालोपट्टी बाँधेर पनि लेखक कलाकारको आवाज दरबारसम्म पुगेको थियो । स्रष्टा आन्दोलनमा पनि भएको त्यही हो । शरीरमा सिक्री लगाउनु र प्लेकार्डमा कविता लेख्नु कला मात्र थिएन, राजनीति थियो । प्रतिगमन र पश्चगमनविरुद्धको सामूहिक आवाज थियो ।