• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ चैत ७ शनिबार ०७:०७:००
फिल्म

झाओ र फेनेल : वजनदार अस्कर अवतरण

२०७७ चैत ७ शनिबार ०७:०७:००

अस्करकै इतिहासमा पहिलोपटक दुई महिला निर्देशकको दबदबा 

कोभिड–१९ले निसास्सिएको सन् २०२० लाई संसारभरका फिल्मकर्मीले सायदै सम्झन चाहनेछन् । तर, जब क्लोई झाओ (चीन) र एमराल्ड फेनेल (बेलायत)को नाम आउनेछ, इतिहासको फाइल पल्टिएर २०२० मै आइपुग्नेछ । यसै वर्ष प्रदर्शित ‘नोम्याडल्यान्ड’ र ‘प्रोमिसिङ योङ वुमन’का निर्देशक झाओ र फेनेल ९३औँ अस्कर अवार्डअन्तर्गत उत्कृष्ट निर्देशकको मनोनयनमा छन् । ‘नोम्याडल्यान्ड’– उत्कृष्ट निर्देशकसँगै फिल्म, अभिनेत्री, सिनेमाटोग्राफी, एडप्टेड स्क्रिन प्ले गरी ६ विधामा मनोनयनमा परेको छ । ‘प्रोमिसिङ योङ वुमन’– उत्कृष्ट निर्देशकसँगै फिल्म, अभिनेत्री, ओरिजिनल स्क्रिन प्ले, सम्पादन गरी पाँच विधामा मनोनयनमा परेको छ । 

झन्डै शताब्दीआसपास पुगेको अस्करको इतिहास पल्टाउने हो भने पाँच महिला निर्देशक मात्रै निर्देशकको मनोनयनमा परेका थिए– लिना वार्टमुलर (सेभेन ब्युटिज, १९७७), जेन क्याम्योन (द पियानो, १९९४), सोफिया कोपोला (लस्ट इन ट्रान्सलेसन, २००३), क्याथरिन बिगलो (हर्ट लकर, २०१०) र ग्रेटा गर्विङ (लेडी बर्ड, २०१८) । अवार्ड भने बिगलोले मात्रै जितेकी छिन् । 

यसपटक मनोनयनमा परेका ‘झाओ र फेनेलबारे ‘दुई महिला निर्देशक पहिलोपटक अस्करको मनोनयनमा’ शीर्षकका समाचार आइरहेका छन् । झाओ र फेनेललाई ‘महिला’ भनेर मात्रै हेर्ने हो भने उनीहरूको सिर्जना र प्रतिभामाथि अपमान जरुर हुनेछ । ‘नोम्याडल्यान्ड’ र ‘प्रोमिसिङ योङ वुमन’ हेर्ने दर्शकलाई लाग्न सक्छ, प्रसिद्ध फिल्मेकर डेभिड फिन्चरसँगै यी दुई निर्देशक सहजै अस्करको मनोनयनमा परेका होइनन् । दुई फिल्म फेरि हेरेपछि लाग्न सक्छ, उमेरले ३५–४० बीचका यी दुई फिल्ममेकर इतिहासमा नाम थप्न होइन, इतिहास दाबी गर्ने पथमा छन् । 

 

                                           ०००

गत जनवरीमा विश्व स्वास्थ्य संगठनले एक रिपोर्ट जारी गर्‍यो । रिपोर्टमा भनिएको छ– संसारभर दुई सय ६४ मिलियन मानिस डिप्रेसनमा छन् । वार्षिक आठ लाख मानिस जीवनसँग हारेर आत्महत्याको बाटो रोज्छन् । तर, संसारमा त्यस्ता मानिस पनि छन्, जो जीवनभर अक्करैअक्करको बाटो पनि हिँडिरहन सक्छन्, जो बगरैबगरको बाटो धैर्यतासहित हिँडिदिन सक्छन् । यसरी अथाह दुःख र पीडालाई झेल्न सक्ने तागत केही मानिसमा कसरी आउँछ ? यस्ता धेरै प्रश्नको उत्तर हो, ‘नोम्याडल्यान्ड’ ।

फिल्ममा साठी पार गरिसकेकी वृद्ध छिन्, फर्न (फ्रान्सेस म्याकडोम्र्यान्ड), जसले जागिर गरिरहेको निर्माण कम्पनी युएसजी कर्पोेरेसन सन् २०११ मा बन्द भयो, फर्न र उसकी श्रीमान्को जागिर गयो । यसपछि श्रीमान् बिते । श्रीमान्को निधनसँगै फर्नको वर्षौँको मिहिनेतले निर्माण भएको एउटा दुनियाँ समाप्त भयो । फर्न आफूसँग भएका सामान बेच्छिन् र भ्यान खरिद गरेर अर्को दुनियाँको यात्रामा निस्किन्छिन् । त्यो दुनियाँमा फर्नसँग जम्मा एउटा भ्यान छ, जो उसको ओत लाग्ने घर हो, बाँकी जीवनको यात्रा हो । त्यही भ्यानसँगको यात्रामा आइपर्ने आरोह–अवरोहको कथा हो, ‘नोम्याडल्याण्ड’ । दुःखलाई चिरेर अगाडि बढ्न सक्ने ऊर्जाको कहानी हो । ‘अमेरिकन ड्रिम’को अँध्यारो र जर्जर कथा हो, यो फिल्म । 

नेपालीहरू ७० लाख खर्चेर दक्षिण अमेरिकाको बाटो हुँदै अमेरिका छिर्ने गैरकानुनी प्रयास गर्छन् । संसारभरका मानिसलाई लालायित गर्छ अमेरिकाले । हेर्दा र सुन्दा भव्य लाग्छ अमेरिका । तर, त्यहाँ भोग्नेहरूले के–के भोग्छन् ? तागत हुँदासम्म कुनै अमुक कम्पनीमा पसिना बगाउँछन्, मालिकलाई धनी बनाउँछन् । तर, जब बुढेसकाल लाग्छ, काम गर्न नसक्ने अवस्थामा पुग्छन्, त्यसवेला ऊसँग केही हुँदैन, वृद्ध शरीरबाहेक । सबथोक गुमाइसकेका हुन्छन् । फर्न त्यही हुन्, जोसँग अब बाँकी कमजोर शरीरबाहेक केही छैन । उनले यात्रामा पनि त्यस्तै मान्छेहरू भेट्छिन्, जसको कथा फर्नको भन्दा फरक छैन । 

‘नोम्याडल्यान्ड’ फर्नजस्ता हजारौँको कथा हो, जहाँ एक्लोपन छ, निराशा छ । फर्नहरूको हाँसो र जीवनप्रतिको अगाध प्रेमले थिचेको दुःखको अँध्यारो कुना छ । जहाँ पुँजीवादको कुरूप चरित्र र चित्रको कथा छ । फ्रान्सेस म्याकडोम्र्यान्डको अभिनयको परख गर्न पनि ‘नोम्याडल्यान्ड’ले धेरै सघाउँछ । ‘फार्गो’ हुँदै पछिल्लो ‘थ्री बिलबोर्डस् आउटसाइड एबिङ मिसौरी’लगायत फिल्म हेरिसकेका दर्शकमाझ म्याकडोम्र्यान्ड नयाँ नाम होइन । अभिनयमा अनुहारको एक्सप्रेसनमार्फत धेरैथोक भन्न सक्छिन् उनी । र नै अस्करको उत्कृष्ट अभिनेत्रीको नोमिनेसनमा परिन् । 

सन् २०१७ मा प्रकाशित पत्रकार तथा लेखक जेसिका ब्रडरको ‘नोम्याडल्यान्ड : सर्भाइभिङ अमेरिका इन द ट्वान्टी–फस्ट सेन्चुरी’ पुस्तकमा आधारित फिल्म ‘नोम्याडल्यान्ड’ झाओले निर्देशन गरिन्, जो चीनमा हुर्किइन् । उनलाई १५ वर्षसम्म अंग्रेजी भाषा आउँदैनथ्यो । पछि लन्डन गएर पढिन् । त्यसपछि अमेरिका गइन् । फिल्म बनाउनतिर लागिन् । सन् २०१५ मै उनलाई प्रथम फिल्म ‘सङस् माइ ब्रदर्स टट मी’ले परिचित गराइसकेको थियो । २०१७ मा ‘द राइडर’ आएपछि स्थापित भइन् । ‘नोम्याडल्याण्ड’ले त अस्करसम्मै पुर्‍यायो उनलाई । 

अहिले अमेरिकामा एसियाली मूलका नागरिकमाथि हुने हिंसाको विरोध भइरहेको छ । ह्यासट्यागसहित ‘स्टप एसियन हेट’ अभियानमा नेपाली मूलका फेसन डिजाइनर प्रबल गुरुङसम्म छन् । गएको लकडाउनयता ३८ सय एसियन नागरिक एसियन भएकै कारण विभेद, हिंसा र भौतिक आक्रमणको सिकार भएको रिपोर्ट सार्वजनिक भएको छ । यहीबीचमा झाओ अस्करको नोमिनेसनमा पर्नु आफैँमा अर्थपूर्ण विषय हो । चीनमा हुर्केकी झाओले अमेरिकाको कथामाथि फिल्म बनाइन्, यसले हलिउडलाई केही प्रश्न त पक्कै गर्नेछ । अमेरिकन कथामाथि चिनियाँ झाओको ‘एक्सन कट’ले धेरै संकेत गरिसकेको छ । हुन त हलिउडलाई बाहिरबाट गएका निर्देशकले नै समृद्ध बनाइदिएको हो ।

फिल्ममा एक दृश्य छ : उदास र विचलित मनस्थितिसँग समुद्रको किनार पुगेकी हुन्छिन् फर्न । किनारमा ठुल्ठूला छालहरू उर्लिरहेका हुन्छन् । र क्यामेराले छालहरू खिच्दै हावाले छोटो कपाल उडाइरहेको फर्नलाई खिच्छ । झाओको क्षमता नै यही हो, दृश्यमार्फत पात्रको अन्तर्मनको कथा भन्न सक्छिन् । उनको मार्भल सिनेम्याटिक युनिभर्ससँगको सहकार्यमा सुपरहिरो फिल्म ‘इटर्नल्स’ पोस्ट प्रोडक्सनमा छँदै छ । 

 

                                             ०००

ह्वाइट रिबन नामक एक संगठनले पुरुष अभियान चलाउँछ । यसले पुरुषलाई महिला हिंसाविरुद्ध मौनता नसाध्ने र थाहा नपाएजस्तो नगर्ने कसम खुवाउँछ । तर, महिला हिंसाबारे स्वयं पुरुषहरू मौनता नै साधिदिन्छन् । फिल्म ‘प्रमिसिङ योङ वुमन’मा ३० वर्षीया क्यासी थोमस (केरी मुलिगन) पुरुषहरूको त्यही मौनता भत्काइदिन लागिपरेकी छन् । क्यासीले मेडिकल स्कुल छाडेकी छन् । त्यसको कारण छ– स्कुलकी मिल्ने साथी निना फिसरलाई स्कुलकै अर्का साथी अल मोनरोले पिएको वेला बलात्कार गरेको थियो । निनाले त्यसवेला उजुरी पनि हालेकी थिइन् । तर, स्कुलको प्रिन्सिपल, मोनरोइ, वकिल मिलेर त्यो घटनालाई ढिसमिस गरिदिएका थिए । 

यो घटनाले मनोवैज्ञानिक रूपमा क्यासीलाई यति असर ग¥यो कि उनले स्कुल छाडिन् । कफी सपमा काम थालिन् । र निनाको घटनालाई नजिकबाट अनुसन्धान गर्न थालिन् । वास्तविकतानजिक जान नाइट क्लब जाने, नशामा मस्त रहेको नाटक गर्नेदेखि अनेक क्रियाकलाप गर्न थालिन् । क्यासीले निनाको दोषीलाई कानुनी कठघरामा पुर्‍याउन सक्छिन् कि सक्दिनन् ? यही सवालको जवाफको खोजीमा घुमेको छ फिल्म । 

फिल्ममा एक दृश्य छ : निल नामक साथीसँग हुन्छिन् क्यासी । निल उपन्यास लेखिरहेको बताइरहेको हुन्छ । क्यासी नशामा रहेको नाटक गरिरहेकी हुन्छिन् । निलले ड्रग्स लिन्छ, क्यासीलाई पनि खुवाउँछ । तर, क्यासीले पानी पिउने बहानामा खाँदिनन् । क्यासी नशामा डुबी भन्ने भएपछि निल बलात्कारमा उत्रिन्छ । क्यासी नशामा रहेको नाटकबाट बाहिर निस्किन्छिन् । यसवेला निलको अनुहारको एक्सप्रेसन हेर्नलायक देखिन्छ । यस्ता केही दृश्य छन्, जसले पुरुषको खोक्रो आदर्शलाई नांगेझार बनाएको छ । पुरुषहरू जतिसुकै भद्र देखिए पनि सानो अवसर पाउनासाथ महिलाबाट फाइदा लिन खोजिहाल्छन्, फेनेल यही तर्क पेस गर्छिन् दर्शकसमक्ष । 

पुरुषहरू महिलाको विषयमा कुन हदसम्म असंवेदनशील हुन्छन् ? यसको जवाफ खोज्छ फिल्मले । एउटा घटनाले कुनै महिला मनोवैज्ञानिक रूपमा कति ठूलो संकटबाट गुज्रिन्छे ? क्यासीको अभिनयले बताउँछ । निना फिसरले भोगेको उक्त घटनापछि स्कुल छाड्ने मात्रै होइन, क्यासीलाई पुरुषप्रति नै वितृष्णा जाग्छ । उनी ३० वर्षको उमेरमा पनि ‘सिंगल वुमन’ हुन् । उनको जीवनशैलीमाथि आमा बारबार चिन्ता प्रकट गरिरहन्छिन् । भलै निनालाई न्याय दिलाएरै छाडिन् रे क्यासीले । तर, न्यायको लामो लडाइँका क्रममा गुमाएको त्यति धेरै समय र ‘मनोवैज्ञानिक ट्रमा’को क्षतिपूर्ति कसले दिन्छ ? त्यो गुमेको खुसी र भत्किएको जिन्दगीको क्षतिपूर्ति कसले तिर्छ ? निर्देशक फेनेल फिल्ममार्फत् हरेक पुरुष प्रवृत्तिमाथि यसरी प्रश्न उठाउँछिन् । डेब्यु फिचर निर्देशनमै फेनेलले उठाएको प्रश्न हरेक पुरुषसत्वमाथि गएर बज्रिन्छ । जुन प्रश्न केरी मुलिगनको अभिनयमा सानदार तवरले उठेको  छ । जसका लागि नै उनी उत्कृष्ट अभिनेत्रीतर्फको विधाको मनोनयनमा परेकी छिन् । 

 

                                                         ०००

भनिन्छ, परिवर्तन स्थिर हुँदैन, गतिशील हुन्छ । प्रत्येक परिवर्तन एक समयमा पुगेपछि संकटबाट गुुज्रिन सुरु गर्छ । ०६२/०६३ सालको जनआन्दोलनले धेरैथोक परिवर्तन गरिदियो । नयाँ भाष्य जन्मिए, पुराना भत्किए । डेढ दशकपछि त्यही परिवर्तनले ल्याएको व्यवस्थामाथि प्रश्न उठ्न थालेको छ । सबैलाई एकखाले संकट महसुस भएको देखिन्छ । यो गर्भावस्थामा रहेको अर्को परिवर्तनको चाहनाले कहिले धक्का दिने हो, हेर्न बाँकी नै छ । तर, एक दिन जरुर दिनेछ, इतिहास यसै भन्छ । 

राजनीतिक परिवर्तनले सबै क्षेत्रलाई असर गर्छ नै । यसबाट सिनेमा पर रहने कुरै रहेन । पञ्चायतकालीन, पहिलो जनआन्दोलन र दोस्रो जनआन्दोलन गरी तीन भागमा नेपाली सिनेमालाई विभाजन गरेर हेर्दा स्पष्ट फरक महसुस हुन्छ । र, अहिले यस्तो अवस्थामा आइपुगेका छौँ कि अब सिनेमा क्षेत्रमा धेरै परिवर्तन गर्न आवश्यक छ ।  

विश्व सिनेमालाई हेर्ने हो भने, परिदृश्य यस्तै देखिन्छ जुन प्रमुख घटनाले विश्व राजनीतिलाई परिवर्तन गरेको छ, सिनेमा पनि सँगसँगै परिवर्तन हुँदै गइरहेको छ । अहिले सन् ८० र ९० को दशकमा स्थापित निर्देशकहरूको दबदबा छ । चाहे मार्टिन स्कोर्सिस, स्टेभन स्पिलबर्ग, क्वेन्टिन टोरेन्टिनो, जेम्स क्यामरुन, डेभिड फिन्चरलगायत हुन् वा यता झाङ यिमोऊ, वाङ कार वाई, मजिद मजिदीलगायत । उनीहरूलाई नै सबैभन्दा बढी हेरिन्छ । उनीहरूकै फिल्ममाथि छलफल, विमर्श भइरहेको हुन्छ । तर, पछिल्लो डेढ दशकदेखि यता आउने हो भने नयाँ अनुहार फाट्टफुट्ट आइरहेका छन् । यसपटकको अस्कर अवार्ड नोमिनेसनमा पनि ४० वरिपरिका निर्देशकको उपस्थिति धेरै देखिन्छ । ‘द फादर’का फ्लोरियन जेलर, ‘जुडास एन्ड ब्ल्याक मसाया’का साका किङ, ‘मिनारी’का ली आइज्याक चुङ, झाओ, फेनेल सबै ४० वरिपरिका हुन्, जो प्रसिद्ध मेकर डेभिड फिन्चरसँगै उभिएका छन् । 

सय वर्ष उमेर नाघिसकेको विश्व सिनेमामा धेरै परिवर्तन हुँदै आइरहेकै छ । चाहे सन् ३० को दशक वा सन् ६० को दशक वा यसपछिका दशकहरू । सिनेमाको कथ्य शैली, भाष्यमा बदलिँदै आएको छ । दर्शकको स्वाद, प्रविधि, कथा परिवर्तन हुँदै आएको छ । र, अब झाओ, फेनेलहरूको पुस्ता आउने क्रममा छन् । हलिउडलाई विकेन्द्रीकृत गर्ने क्रममा छन् । तर, झाओहरूको पुस्ताले विश्व सिनेमामा कति ठूलो धक्का दिनेछ, त्यो भने हेर्नै बाँकी छ ।