• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
मनोज विश्वकर्मा 
२०७७ चैत ७ शनिबार ०९:२१:००
समाज

चिडियादह : देशले नदेखेको एउटा बस्ती

२०७७ चैत ७ शनिबार ०९:२१:००
मनोज विश्वकर्मा 

शरीरबाट निकालेर फ्याँक्न नमिल्ने छालाझैँ किन टाँसियो अभाव ?

 

कहिलेकाहीँ बाल्यकालीन यादहरू बटुलेर एक्लै हराउँछु । ती निर्मल, कञ्चन, निर्दोष यादहरूको बहिखाता जब पल्टाउँछु, एकतमासको एक्लोपनले घाँटी अँठ्याएझैँ हुन्छ । कति आइसोलेटेड पारिएका ती यादहरू ? उफ् ! जब आफूले बाँचेको जिन्दगी सम्झिन खोज्छु, बाँच्न छुटेको जिन्दगी मेरो पनि ‘एटेन्डेन्स’ गरी पाऊँ भन्दै आउँछन् । अब तिनलाई ‘हाजिर’ गराएर बाँचेको जिन्दगीलाई चाहिँ कसको जीवनमा हाजिर गर्न पठाउनू ? डियर ! अपरिचित जीवन प्लिज गेट आउट फ्रम हेअर । 

 

झाडी, खोरिया, जंगल फाँडेर जसले बस्ती बसाले, तिनकै पुस्ता दरपुुस्ता कालान्तरमा हरूवाचरुवा, भूमिहीन हुनुपर्ने कथाको म पनि एकजना साक्षी हुँ । मसँग पनि बाढी बौलाउँदाका स्मृति छन् । एकजना साथीसँगको समानान्तर बाढी किस्साले लगेर मलाई सम्झनाको त्यो जंगलमा पुर्‍यायो, जहाँ म जंगलका ससाना झाडीलाई नै जीवन भनिबस्थेँ । जहाँ म जंगलको एउटै बाटोसम्म नचिनेरै मस्तमौला होइबस्थेँ । मस्तमौला हुन अन्जान/अज्ञान दुवैले भरिनुपर्दो रहेछ ।

 

हाम्रा गुरु, आचार्य, सन्त, साधु, जो निष्काम कर्म गरी बस्छु भन्छन् । मस्तमौला छु भनी बस्छन् । ती पनि जात, धर्म, संस्कार, राष्ट्रियता जस्ताको अनेक पाखण्ड खडा गरी बस्छन् । तपाईंलाई यस्तो अज्ञानता देखेर उदेक लाग्दैन ? ज्ञानको आगो दिमागमा सल्केपछि अक्सर मान्छे सडकमा पुग्छ । मलाई भने कहिलेकाहीँ एक्लै सडकमा निक्लेर तिनको पाखण्डतालाई माझी औँलाले सलाम ठोकुँ जस्तो हुन्छ । यस्तो अक्सर हुन्छ । किनकि त्यस्ता सज्जनको दुष्टचित्र मेरो बाढी स्मृतिमा बग्छ ।

 

१०–१२ वर्ष खयरमारामा हाम्रो परिवारको दिन बित्नुअघि हामी काभ्रेको लामिडाँडामा थियौँ । हामी पनि कसरी भन्नु ? जबकि मेरो अस्तित्वको कुनै चरो–मुसो थिएन, कुनै नामोनिसान थिएन । आमालाई सोध्छु, ‘आमा ! कस्तो थियो खयरमारा ?’

 

आमा भन्नुहुन्छ, ‘के भन्नु, ठाउँ पनि अत्यासलाग्दो, घर पनि वल्लो गाउँ र पल्लो गाउँ जस्तोमा हुन्थ्यो । भालुहरू रातभरि कराउँथे । खेतको मकै पनि भालुले भस्म पार्थे । ती दुःखदायी दिन थियो...।’

 

ती दुःखदायी दिनहरू सुख खोज्दै समथर मधेस झर्नु र म धर्तीमा झर्नु लगभग एकैपटक भयो । हामी समथर मधेस झरेको ठाउँ थियो–चिडियादह, रौतहट । चिडिया अर्थात् जनावर । जनावरको दह । त्यो जनावर र जंगलको दहमा मान्छेको अतिक्रमण क्रमशः बढ्दो थियो । यसैले खयरमाराझैँ डरमर्दो ठाउँ थिएन यो । यहीँ खनिखोस्री बस्ती बनायौँ । बस्ती थियो, उही गोडा तीनएक घरको । मान्छे थपिँदै गएपछि बस्तीले नाम पायो–सुकुम्वासी बस्ती । त्यो बस्तीमा टाठाबाठाले साँढे छाडेर, मान्छे लगाएर अनेक यातना दिएको कथाव्यथा अझै यहाँका पुराना मान्छेलाई ताजै छ । 

 

मेरा बाल्यकालीन यादहरू यही बस्तीको डगरमा चाहरेर बित्यो । मेरो स्मृतिमा यहाँका माटाले लिपेको स्याना घरहरू (जो स्यानै हुरीले लथालिंग पारिदिन्छ, स्यानै वर्षाले उप्काइदिन्छ) कुँदिएको छ । मेरो स्मृतिमा यही बस्तीको भित्री बाटो छ, जो अहिले अलप भइसकेको छ । मेरो स्मृतिमा ती बूढा मानिसको खोकी छ, जसले यो देशको बस्ती बनाउन छाती फुट्ने गरी पसिना चुहायो । मसँग साँझ–बिहानको छाक टार्न भ्याई–नभ्याई गर्ने हातको कथा छ । ज्याला मजदुरी गर्न अहोरात्र खट्ने खुट्टाको कविता छ । 

सुकुम्वासी बस्ती सरकारले निर्माण गरेको बिम्बझैँ कुरूप छैन । यो देश बनाउन यस्ता बस्तीको पनि योगदान छ । यस्ता बस्तीको आफ्नै जीवन–दर्शन हुन्छ, आफ्नै सौन्दर्यशास्त्र हुन्छ । विपत्का बखत बरु यस्ता बस्तीमा देखिन्छन्, सरकारको लज्जास्पद अनुहार !

तपाईंहरूमध्ये कसैले पक्कै म हुर्किएको टोल÷बस्ती देख्नुभएको होला । राजधानीको खम्बा–खम्बामा ‘समृद्ध नेपाल सुखी नेपाली’ लेखेर मात्र कहाँ यस्तो बस्ती नामेट हुन सक्छ र ? सायद तपाईंमध्ये कति त यस्तै बस्तीमा बसेर यो पढ्दै हुनुहुन्छ होला । हुनुहुन्छ भने तपाईंको छातीमा अवश्य लेखिएको छ– यस्तो बस्तीले झेलेको क्रूरताको कविता । तपाईंको छातीमा अवश्य लेखिएको छ– मानिस हुन नसक्नुको ब्लुज । तपाईंको छातीमा अवश्य प्रश्न जाग्दो हो– शरीरबाट निकालेर फ्याँक्न नमिल्ने छालाझैँ किन टाँसियो अभाव ?

 

त्यस्ता बस्तीमा जब–जब पुग्छु, मस्तिष्कमा छातीको एउटा कविता ब्युझिन्छ– सम्झनाको जंगल । जुन कविता हालसालै ‘साताको साहित्य पुरस्कार’बाट समेत सम्मानित भएको थियो । कवितामा मैले भनेको रहेछु–
त्यता हेर यारहरू
त्यो सुकुम्वासी बस्तीमा
र्‍यालसिँगानको अमूर्त रङले
देशको वीरता आफ्नै अनुहारमा कोरिरहेको बच्चालाई हेर....

 

यो हरफको ‘बच्चो’ मेरै बालापन र सेफ्टी ट्यांकी सफा गर्न नगरपालिकामा नियुक्त एक स्टाफको छोरोको फ्युजन थियो । त्यो डोम बच्चो वडा कार्यालयको भुइँमा देशको नक्साजस्तो किरिङमिरिङ केही कोरी बस्थ्यो । मेरो बालापनलाई चाहिँ तपाईंले विक्रम संवत् २०६० सालतिर एउटा चुहिने छानामुनि रुझ्दै रात काटेको फेला पार्न सक्नुहुन्थ्यो । वर्षा अविरल बौलाइरह्यो । त्यो बच्चोले देख्यो, घर त ‘स्विमिङ पुल’ बनिसकेको छ । ब्यानै देख्यो गाउँ त झन् ठूलो ‘स्विमिङ पुल’ बनेको छ । पानी दिनानुदिन दर्किंदै थियो । माटाका घरका भित्ताभरि झ्यालैझ्याल ढोकैढोका बनिसकेका थिए । घरभित्र बस्ने मानिसहरू ती भ्वाङबाट नेता आउने, गाविस आउने, ‘सिडिओ आउने’ बाटो हेर्दै थिए । त्यो बच्चोचाहिँ आफ्नो भिजेको किताब र्‍यालसिँगान हुँदै एक कुनाबाट अर्को कुना सार्दै थियो । 

 

स्यालहरू रातभरि भरि कराइरहे । त्यो उजाड चिच्याइ र वर्षाले निथु्रक्क भिजेको थियो रात । वर्षा बिस्तारै असिनासहित बर्सिन थालेको थियो । बाढीको आयतन झन्–झन् बढ्दै थियो । त्यो अआमन्त्रित पाहुनाको राक्षसी गर्जन बज्रिरह्यो हाम्रो सन्नाटामा । वर्षा, असिना, आँधीसँगैको हुरी र बाढीको एकीकृत भयले घर–घरका मानिसहरू भत्किसकेका थिए । बाढीग्रस्त दिन थपिँदै जाँदा एउटा लम्बेतान बस्तीबाट घर घट्दै गए । बाढी हेर्नेको घुइँचो लाग्यो । तर न कतैबाट सहयोग आयो, न सरकारी संयन्त्र ! बाढीले बगाइछाड्ने प्रण गरेझैँ दिल–ओ–ज्यानले लागिपरेको थियो । बाढीमै बग्नुभन्दा बस्तुभाउ, भाँडा बोकेर सुरक्षित ठाँउतिर लाग्नु कता हो कता राम्रो ! कि होइन भन्नुुस् त...त्यसैले त्यो बच्चो पनि आमाबासँगै भैँसी धपाउँदै सुरक्षित ठाउँ उक्लियो । सुरक्षितहरूको ठेगानामा बाढीको भय त्यसपछि पुगेको हुनुपर्छ । त्यही टोलतिरका भला मानिसले हाम्रो त्यो तितरबितर झुण्डलाई लगेर स्कुलमा व्यवस्थापन गरिदिए । त्यो त्यही स्कुल थियो, जहाँ त्यो बच्चो पढ्न जाने गर्थ्यो ।


हजारौँ हातको हस्ताक्षर

 

बाढीग्रस्त बस्तीको अवस्था कस्तो हुन्छ ? तपाईं अवश्य आंशिकसम्म त जानकार हुनुहुन्छ होला । थाहै छैन पो ! लौ त सुन्नस् ! खोलाछेउ बस्ती हुँदा र त्यो बस्ती पनि आधा नै बाढीले बगाइदिँँदा रातभरि स्याल कराउँछ । स्यालजस्ता मान्छेहरू घर, खेत खोतल्न पस्छन् । सबभन्दा लाजमर्दो त राहतको नाममा सरकार पाँच किलो चिउरा, एक बोरा चामल र एक थान त्रिपाल बोकेर आउँछ । सुकुम्वासी बस्ती सरकारले निर्माण गरेको बिम्बझैँ कुरूप छैन । यो देश बनाउन यस्ता बस्तीको पनि योगदान छ । यस्ता बस्तीको आफ्नै जीवन–दर्शन हुन्छ, आफ्नै सौन्दर्यशास्त्र हुन्छ । विपत्को बखत बरु यस्ता बस्तीमा देखिन्छन्, सरकारको लज्जास्पद अनुहार !

 

बाढीमा घर बगेकाहरूले न बस्न घर पाए, न जमिन नै । घरबारविहीन भएकाहरू शून्य जीवनलाई फेरि संघर्षले फुलाउन लाखापाखा लागे । घर बचेकाहरू बस्तीमै फर्किए । यही बस्तीमा अलिक पछि एउटा बुढो देखिन थाल्यो । बुढो रक्सीले मातिएपछि एउटै वाक्य भटभटाई बस्थ्यो । रक्सीले छाडेपछि कतै दाउरा चिरिरहेको, गोबर फाल्दै गरेको या जंगल पुगेर दाउरा ल्याउँदै गरेको देखिन्थ्यो । पछि थाहा भयो, यो मान्छे त्यही मान्छेको छोरा हो, जसले यो चिडियादह बसाल्यो । जसको हजार हातको हस्ताक्षर छ, यहाँको माटोमा उसकै सन्तान त्यही ठाउँको एउटा सानो बस्तीमा अर्काको काम गरेर बसिरहेको छ । ह्वाट अ जोक यार ! तर यो यथार्थ हो । यी मनुवा कहिलेकाहीँ मसामु आइपुग्छन् र भन्छन्, ‘ल न कान्छा, मेरो भत्ता पाउने व्यवस्था गरिदिनुपर्‍यो । ८० वर्ष पुग्न थालिसकेँ । अझै ७० वर्षै पुग्या छैन भन्छ । तँले तेति गर्दे त ।’ अरू वेला बुढो ज्यान, त्यहीँ धान्न नि बिहान–बेलुकै हाड खियाउनुपर्ने । न बस्न आफ्नै घर । न साथ दिने कोही । उनलाई पनि नेपालमा भित्रिएको विकासको भाष्यले भूमिहीन बनायो । जसले जंगल फाँडेर गाउँ बनायो । कसरी अहिले उसकै सन्तानको भागमा ओत लाग्ने आफ्नै छानो छैन ? उनी उदास हुँदै दुखेसो पोख्छन्, ‘उ वेला पढ्न मन गरेन । जान्नेसुन्नेले के–के गर्‍यो गर्‍यो । त्यसले नै दुःख पाइयो । छन त अहिले नि मेरो नाममा जग्गा छ । तर, त्यो जग्गामा को बस्छ, थाहा छैन ।’ 

 

जसले सिंगो चिडियादह बसाल्यो, उसकै सन्तान सुकुम्वासी बस्तीमा छ । यो बस्तीले पनि समयको यति लामो कालखण्ड छिचोलेर पनि ‘सुकुम्वासी टोल’बाट ‘सुन्दरबस्ती’ नामले चिनिनेबाहेक खास उपलब्धि हासिल गर्न सकेको छैन । यो बस्तीमै मेरो २५ वर्षभन्दा बढी उमेर बित्यो । यसरी हिसाब गरी ल्याउँदा पनि यो बस्तीको उमेर ३० वर्षमाथि हो । ३० वर्ष अर्थात् एकतिहाइ शताब्दी ! तर कसैको नाममा घरधुरी कागत छैन । अर्थात् यो बस्तीको घरको अझै जन्मदर्ता नै छैन । नागरिकता त परकै कुरा, देशभित्रै मानिसहरू अनागरिक भइरहँदा कोही राष्ट्रवादी हुने नाममा रामलाई वंशजको नागरिकता दिने कुरा गर्छ । टिष्टा, सतलजसम्मको राष्ट्रियताको कुरा गर्छ । यस्तो कुरा सुन्दा चिडियादह आफूमाथि भद्दा मजाक भइरहेको सम्झन्छ ।