ठिटा सुभाङे
वास्तविक समाजका दर्पण
त्यही समाजप्रति जीवन अर्पण
कलम–मसी त्यही समाजलाई सदा समर्पण ।
आफ्नै घरको मझेरीबाट
जातीय र वर्गीय विभेदविरुद्ध शंखनाद गर्ने
जात र धर्मविहीन मनुवा
इतिहासको मसानघाटबाट निस्कँदै
आफ्नै मसीरूपी रगतको अस्त्रले
सामन्ती सत्ताका अगुवा र हेपुवालाई
कलमी झटारोले तर्साउने मनुवा ।
कुनै रुमानी संगीतमा हैन
जूनकिरीको संगीतमा रमाउने
ढिँडो–पीठोले अघाउने
सीमान्तकृत जनका
करुण–क्रन्दनहरू सुनाउने ।
हाम्रा यी कुन्साङ काका
अब काका मात्र हैनन्
हाम्रा बा नै हुन् ।
हाम्रा बा पहिले नै बा थिएनन्
हाम्रा बा पनि ठिटा थिए
धेरै छिटा थिए
नेपाली सांस्कृतिक आन्दोलनका
कलम–मसीका बाछिटा थिए
त्यसैले त अरुण र तमोरदेखि
मस्र्याङ्दी र सेतीसम्म पुगे
नेपाली माटोको वास्तविक सुगन्ध सुँघे
र, हातमा कलम लिई उठे ।
हाम्रा बा कुँदिएका छन्
नेपाली अन्तर्मनका कुइनेटाहरूमा
हाम्रा निम्ति जहिले ठिटा यी बाका शरीरमा
बगिरहन्छ सधैँ ठिटौले रगत
कलमका तीखा टुप्पाले घोचीघोची
निकालिरहन्छन् यी आफ्नै रगत ।
हाम्रा बा र बाजस्ताले
बगाए पनि मसीरूपीजति रगत
नेपाली समाजका
नसुध्रिन हठ गर्ने शासकहरूका
खबरदारीका प्रतीक हुन् यी सुभाङे ठिटा ।
म्याडिसन, अमेरिका