• वि.सं २०७८ बैशाख २ बिहीबार
  • Thursday, 15 April, 2021
नवीन विभास
२०७७ चैत १४ शनिबार १०:२४:००
पर्यावरण

सिस्नो सौन्दर्य

२०७७ चैत १४ शनिबार १०:२४:००
नवीन विभास

उरिमको भुइँतला एक कुनामा टुक्रुक्क बसेको छ, ढुंगेओदान । त्यही ओदानमा फलामे खौना थचक्क बस्छ । त्यसपछि खौनाको आधा पेट पानीले भर्छ । आगो बलेको केही समयपछि पानी भकभकी उम्लन थाल्छ । चिरुंगाबाट हरियो अनुहारे झुसे साग टिम्टाको बाटो भएर भकभकी उम्लिरहेको पानीमा हाम्फाल्छ । खौनाभित्र पानीमा डाडु घरी सिङारु त घरी टप्पा नाच्न थाल्छ । हेर्दाहेर्दै झुसे साग फतक्क गल्न थाल्छ । त्यसपछि दुईचार मुठी मकै पीठो पनि मिसिन्छ । पन्युडान्स जारी रहन्छ । झुसेसाग र पीठोले पानीसँग पार्टी एकता गरेपछि गाढा हरियोमा हल्का सेतो अनुहारे सुप बन्छ ।

 

ढिँडो र सुप हातमालो गर्दै मुखभित्र पस्छन् । जुनवेला स्याल्याप्प–स्याल्याप्प संगीत सुनिन्छ । जस्तो सुनिन्छ, डल्लुगैरामा कोकलेले गाउँदा । खाइवरी भाँडाकुँडा माझ्छन् । घोप्टो पारी ओभाउँछन् । जस्तो परम्परागत विष्ट घरमा दलित समुदायले आफूले खाएको थाल माझेर थन्क्याउँछन् । घरभित्र पस्नुअघि तीतेपातीले हात र मुखमा दल्छन् ।

 

तपाईंलाई खसखस लागिसकेको होला, घरबाहिर खाएर हातमुखमा तीतेपाती दली चोख्याएर मात्र घरभित्र पस्नुपर्ने के बिटुलो खान्की हो त्यो ? 

 

रोप्दछ कसले ? हेर्दछ कसले ?
अछुत जातको नित अपयशले
निन्दित, वर्जित, त्यक्त कुनामा
फस्टिरहेछु विष नमुनामा
...भू नभएका जनका निम्ति
प्रकृतिसामुमा गरीकन बिन्ती
आफ्नो भरमा उम्रेँ पलाएँ,
कुडा कर्कट झटारो पाएँ
(सिस्नोको गुनासो, लक्ष्मीप्रसाद देवकोटा, लक्ष्मी कवितासंग्रह)

 

तपाईंको बारी ढिकढाक र कान्लामा आफैँ हलक्क हल्कने सिस्नो हो । जुन सिस्नो पकाउनुलाई उत्तर–पश्चिम रोल्पातिर ‘सिस्ना घोट्ने’ भन्छन् त खानुलाई ‘बित्लो खाने’ । सिस्नो पाक्ने त्यही ओदानमा कहिले राँगाको मासु पाक्छ भने कहिले सुँगुरको । तपाईंले सुनेको सिस्नो सिलुक उत्तरी रोल्पाको एउटा गाउँको मगर घरको । मगर बहुल रोल्पाको त्यस गाउँमा एक दर्जन मगर (पुन र बुढा) घर छन् । उत्तिकै संख्यामा क्षेत्री (खत्री, खड्का र ओली) घर र एक घर चन्द ठकुरी छन् । तपाईंलाई लागेको होला, ‘साह न कुसाह, पिँडालु टुसा’जस्तो दलित, गरिब र आदिवासी खान्की अर्थात् बितुलु सिस्नोको के कुरा गरेको !’ 

 

सिस्नो संस्कृति

 

रैथाने खान्की, सिस्नो । उत्पादनको प्रभाव संस्कृतिमा र संस्कृतिको प्रभाव संस्कृतिमा पर्छ भन्छन् । सायद यसैले होला, आदिवासी संस्कृतिका कुनै न कुनै अंगमा सिस्नो सामेल हुन्छ । 

 

गुल्मी भार्सेका मगर समुदाय मृत्यु संस्कार समापनमा चेलीले सिस्नो खुवाउँछन् । लेखक हेमलाल पुन आफ्ना पिता मरेपछि ‘उत्रने’ दिन दिदीबहिनीले सिस्नो र कोदोको रोटी खुवाएको सम्झन्छन् । फिल्मकर्मी अनिल बुढा मगरका अनुसार मगर मूलथलो रुकुम (पूर्व) तकसेरा, रन्मा मैकोटतिर त घाट लग्दा बाटो(कात्रो) समाउनेको लाठीमा सिस्नो बाँध्ने चलन छ । मसान लखेट्दा बिरामी वा घाइते र परिवारलाई सिस्नोले हान्ने चलन छ । झाँक्री परम्परावाल मगर समुदायमा झाँक्री–धामीले झारफुक गर्दा सिस्नो प्रयोग गर्छन् । डराउने र झस्कने केटाकेटीका ओछ्यानमुनि सिस्नो राखिदिने चलन छ । खान्की तथा गतिला वस्तुमा ‘चोखे नलागोस्’ भनेर सिस्नोको पात राख्छन् । 

 

मनोरञ्जनमा पनि सिस्नो सामेलिन्छ । रोल्पा र रुकुमका विभिन्न भेगमा माघ महिनामा सिस्ना खेल्छन् । युवायुवती सिस्नोले एकअर्कालाई हान्छन् । रुकुम (पूर्व) सदरमुकाम रुकुमकोटमा गैरमगर समुदाय धुमधामले सिस्नो खेल्छन् । एकपटक पंक्तिकार पनि सहभागी भएको छ । रुकुमकोट छेवैको लुगुम (लुकुम)मा हरेक साउनमा लाग्ने झाँक्रीमेलामा सिस्नो खेल्छन् । रुकुम (पश्चिम) सदरमुकाम मुसिकोटनजिक साँकमा माघमा आगन्तुकका खुट्टामा सिस्नोले हान्ने चलन छ । सिस्नोले हाने रोग लाग्दैन भन्ने लोकधारणा छ । साँकका संस्कृतिकर्मी एवं लोकगायक पूर्णबहादुर बुढामगर भन्छन्, ‘यो मगर पुख्र्याैली रेवाजा हो ।’ यसैगरी, लेखक हेमन्त विवशका अनुसार सुदूरपश्चिममा वैशाख १ गते विसु पर्व मनाउँदै सालीभेना र देवरभाउजू सिस्नो खेल्छन् । 

 

१८ मगरातका मगर पुवा(सिस्नोकै प्रजाति, मानक खस नेपालीमा अल्लो) र भाङ्ङु(गाँजा)को रेसाले पूर्वेनी बजु पुज्छन् । २२ बहिनी बजुमध्ये एक पुर्वेनी बजुले नै बोल्ला(पुवा वा भाङ्ङुको रेसाबाट बनेको लुगा) बुन्न सिकाएकीले पूजा गर्दा पुवा चढाइएको हो(मगर संस्कृतिविद् बमकुमारी बुढामगर) । बोल्ला मगर समुदायको प्राचीन पोसाक हो । जंगलैजंगलको वास हुने रोल्पा, रुकुमतिरका भेडीगोठालाका अहिले पनि मुख्य तरकारी सिस्नो हो ।  

 

काठमाडौंका नेवार समुदायमा माघमा एक दिन भए पनि सिस्नो खाने चलन छ । वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ सम्झन्छन्, ‘सिस्नो खाँदा जीउ गर्मी हुन्छ भन्ने धारणा छ ।’

 

सिस्नो स्वास्थ्य

 

मानिस र पशुपक्षीको पौष्टिक आहार सिस्नो गर्भवती, सुत्केरी आमाको रोजीखाना हो । सुत्केरी आमाले सिस्नो खाए दूध बढी आउँछ नै, जीउ गरम बनाउँछ भन्ने मान्यता छ । दुहुना बस्तुभाउलाई सिस्नो खुवाए दूध धेरै दिनुका साथै घिउ पनि धेरै लाग्छ । अनुसन्धानले सिस्नो खाएका पशुले बढी दूध दिने र बढी घिउ पर्ने देखाएको छ । सिस्नो खाएका कुखुराले बढी अन्डा दिन्छ । मासु पनि गुणस्तरीय हुन्छ । त्यसैगरी सिस्नो खाएको बंगुरले बढी बच्चा पाउँछ भने मासु पनि गुणस्तरीय हुन्छ । वैज्ञानिक डा. दोजराज खनालका अनुसार वि.सं.२०६२ देखि धराने कालो बंगुर, विकासे कुखुरा (ब्रोइलर, गिरिराज, लेयर्स, आस्ट्रालोप, न्यु हेम्प्सायर र ब्रोइलर प्यारेन्ट) र दुधालु गाईमा १० वर्षसम्म सिस्नो खुवाएर गरिएको पाइलट अनुसन्धानले यस्तो नतिजा निकालेको हो । यसैले होला, लोक अभ्यासबाट गाउँघरमा सुत्केरी महिला र दुहुना बस्तुभाउलाई सिस्नो खुवाउने चलन चलाएको । सिस्नोमा पाइने आइरनले रगत बढाउँछ । डा.अरुणा उप्रेतीले भर्गवती, महिला र बालबालिकालाई सिस्नो खान सुझाउँछिन् । क्याल्सियम पाइनाले सिस्नो खाँदा दूध धेरै आउँछ । 

 

गोर्खा, ललितपुर र अस्टे«लियाको सिस्नोमा रोगविरुद्ध लड्न सहयोग गर्ने रसायन (पोलिथिलोन) क्रमशः ७८००, २१५४ र ६६५० युनिट छ (डा. दोजराज खनाल, अकाउन्ट अफ बायोएक्टिभिटी अफ स्टिगिङ नेटल, द युनिभर्सिटी अफ क्विन्सल्यान्ड, अस्टे«लिया, २०१६) । खनालका अनुसार अमेरिकाको मेरिल्यान्ड युनिभर्सिटीमा त अल्टरनेटिभ मेडिसि न डिपार्टमेन्टमा सिस्नोबारे अध्ययन हुन्छ । 

 

कृषिविज्ञ मदन राईअनुसार सिस्नोमा आइरन क्याल्सियम पाइनाले चिल्लोपना हुन्छ र यसले जोर्नी बलियो बनाउँछ । राई भन्छन्, ‘जंगलमा हुने भन्दै वास्ता नगर्ने, तर सबभन्दा स्वस्थ चिज हो सिस्नो ।’

 

सिस्नौषधि

 

लोक अभ्यासअनुसार गाउँघरमा सिस्नो औषधिका रूपमा प्रयोग गर्छन् । नेपालबाहिर भने औषधिको रूपमा बजारमै पाइन्छ । गाउँघरमा कुकुरले टोकेको र ढिकीले कुटेको घाउमा सिस्नो लेप लगाउँछन् । बस्तुभाउका खुट्टा मर्केको भागमा समेत सिस्नोको जरा कुटेर लगाउँछन् । मगर संस्कृतिविद् बुढामगरका अनुसार बस्तुभाउ बाली नगए सिस्नोले हान्ने चलन पनि छ । भालेसँग संसर्ग हुनेबित्तिकै सिस्नो लगाए गर्भ रहन्छ भन्ने मान्यता कति वैज्ञानिक छ ? कारण खोजी हुँदै जाला । 

 

लेखक विवश ‘सुदूरपश्चिममा वर्षको एक दिन शरीरको कुनै अंगमा सिस्नो छुवाउने चलन छ’ भन्छन् । यसरी छुवाए छालासम्बन्धी रोग निको हुन्छ भन्ने लोकधारणा छ । नयाँ वर्ष जसलाई विषु पर्व (विष पखाल्ने पर्व) भनेर मनाउँछन् । 

 

सिस्नोको पात र डाँठमा सिपाहीजसरी पंक्तिबद्ध उभिएका मसिना काँडाले च्वास्स चिल्छ जसलाई मानक खसनेपालीमा पोल्ने भन्छन् । त्यही पोलाइ औषधिका रूपमा पनि प्रयोग गर्छन् । रुकुम (पूर्व) सदरमुकाम रुकुमकोटका बयोवृद्ध विद्वान् तारकहादुर शाह सुनाउँछन्, ‘हाम्रोतिर घुँडा दुख्दा सिस्नोको काँडा बिझाउने चलन छ ।’ वैज्ञानिक खनालका अनुसार जर्मनी र अमेरिकामा बूढा भएपछि बढ्ने प्रोस्टेटमा सिस्नो औषधि प्रयोग गर्छन् । चिनी रोग, उच्च रक्तचाप बिरामीले सिस्नो खान्छन् । बाथरोग तथा छालारोग निको गराउन अकुपन्चरका रूपमा प्रयोग गर्छन् । सिस्नो काँडा र अकुपंचरबीच के साइनो छ ? खोजीकै विषय छ । 

 

दुहुना पशुका दूध नआए सिस्नो सुकाएर खुवाउने र सिस्नोको जरा पनि खुवाउँछन् । कब्जियत हुँदा र आँखाको दृष्टिमा समस्या आउँदा सिस्नो खाने चलन छ । सिस्नो रेसाले कब्जियत हटाउने र अत्यधिक ‘भिटामिन ए’ले आँखाको ज्योतिलाई ज्यान दिने हुँदा लोकजीवनमा यस्तो चलन चलेको होला । 

 

सिस्नो सुस्केरा

 

संसारका अधिकांश भागका बारी ढिकढाक वा कान्लामा आफैँ हलक्क हल्कने सिस्नो स्याहार गर्ने हो भने कति हल्कदो हो ? कहिलेकसो तपाईंको मन खसखसाउँछ होला । नेपालको हिमाल, पहाड र तराई गरी सबै भूभाग र हावापानीमा पाइने एक वर्षीय बिरुवा सिस्नोबोट एक मिटर आधासम्म अग्लो हुन्छ । सिस्नोको सिंगो शरीर (फूल, पात, जरा, रेसा र झुस या काँडा) मानिस र पशुपक्षीमैत्री छ । फूल, पात र कलिला मुन्टाको तरकारी खानुका साथै सुकाएर पाउडर बनाउने चलन छ । 

 

आदिवासीले सिस्नो खाएर र लाएर जीवन निर्वाह गरेको हो, जसको विस्तृत व्याख्या तल उल्लेख ‘मिथ’मा छ । सिस्नोको रेसाबाट जरीकोट, कोट, जुत्ता, झोलाजस्ता लुगा बन्छ । जो फूल, पात र मुन्टाको पाउडरसँगै देशविदेश जान्छ । ‘डांग्रा (गाई) खाने, भांग्रा (पुवा वा भाङ्ङुको रेसाबाट बनेको लुगा) लाने’ भनेर मगरजस्ता आदिवासी समुदायलाई अपमान गर्न भनिने पुवाको रेसाले सुकिला–मुकिला शरीर सजाएको छ । शरीर अनुकूल भन्दै सम्भ्रान्त शरीर ढाकेको छ । 

 

लुगा मात्र नभई सिस्नो रेसाबाट कागत पनि बन्छ । कागत बनाउने तामाङलाई कागते भन्छन् । लेखक सीताराम तामाङका अनुसार चाणक्यको अर्थशास्त्रमा भिमसी भनेर उल्लेख छ, जो धादिङस्थित गणेश हिमालमुन्तिर बस्ने तामाङले बनाएका हुन् । विश्वको प्रायः सबै भागमा पाइने सिस्नो बहुअनुहारका छन् । एक, पुवा । अल्लो वा भांग्रे सिस्नो पनि भन्छन् । मुन्टा तरकारी खान्छन् भने रेसाबाट लुगा । तर, तरकारीभन्दा बढी रेसाबाट लुगा बनाउन प्रयोग गर्छन् । दुई पातले सिस्नो । यसको बढीजसो साग र रेसा कम प्रयोग गर्छन् । तीन, चाल्ने सिस्नो । तरकारी बढी र रेसा कम प्रयोग गर्छन् ।

 

सिस्नोले मानिस र पशुपक्षीमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । सिस्नोमा प्रशस्त पाइने भिटामिन ‘इ’, ‘ए’लगायत अत्यावश्यक खनिजहरू (क्याल्सियम, आइरन, फोस्फोरस आदि)ले प्रत्यक्ष रूपमा कुपोषण हुनबाट बचाउँछ । वैज्ञानिक खनाल भन्छन्, ‘नेपालमा सिस्नोको विधिवत् वैज्ञानिक अध्ययन अनुसन्धान १० वर्षअघि धनकुटास्थित कृषि अनुसन्धान केन्द्र पाख्रीवासबाट थालेको हुँ । हाल अमेरिकालगायत युरोपेली मुलुकहरूमा पनि सिस्नोको उपादेयताबारे निकै रोचक अनुसन्धान भइरहेका छन् । अमेरिकाका अर्गानिक पसलमा १० देखि १०० डलरसम्ममा बेच्छन् । चिया र जुस निकाल्ने चलन छ ।’ 

 

सिस्नो सिलुक 

 

आदिवासी समुदायमै सिस्नो सिलुक सिलुकिएको छ । म्याग्दीका बुधे तिलिजा(६३)ले सुनाएको नागीका ‘पुन मगरलाई एरी देउताले दिएको सराप’ सिलुक भन्छ– नेपालको तराईमा बस्ने एरी देउता तिब्बत हिँडे । हिँड्दै जाँदा म्याग्दी पुगे । पुन मगरको गाउँमा नाचगान मग्न मानिस देखे । सोधे, ‘तिब्बत जाने बाटो कुन हो ?’ 
विकृत शरीर र अनुहारका एरी देउताले तिब्बत जाने बाटो सोधेपछि सब गलल्ल हाँसे । मजाक गरे । त्यसपछि भने, ‘उः त्यही हो तिब्बत जाने बाटो ।’ 
देउता देखाएको दिशातिर लागे । सिस्नोघारीमा पुग्नेबित्तिकै सिस्नोले यसरी चिल्यो कि, रुँदै फर्के । नाचगानमा मग्न पुन मगरहरू देउतालाई सहानुभूति देखाउनुको बदला झन् हाँसे । जिस्क्याए । देउता आगो भए । त्यसपछि ? सराप दिए, ‘आजदेखि तिमीहरू सिस्नो खाएर बाँच्नू ।’

 

८० वर्षअघिसम्म पनि पुन मगरका मुख्य खाना सिस्नो नै थियो । पुवाको लुगा लगाएर बाँचे । खेती गर्न थालेपछि बल्ल सिस्नो बिस्तारै छाडे (पुन मगर फोल्कटेल्स, पेज १७/१८, सम्पादक महावीर पुन, १९९८) ।

 

रोल्पा प्रचलित सिस्नो सिलुक पनि सुन्नुस्– रोल्पाको जंकोटमा ढपालढारा नामक अग्लो लेक छ । एक दिन त्यो लेकलाई के जङ चलेछ कुन्नि ? सगर(आकाश) छुन्छु भनेर मास्तिर लागेछ । यसरी उकालिएको देखेर भगवान्लाई डाहा लागेछ । भगवान्ले लात्ताले भ्वाक्क हानेपछि लेक ढलेर र अहिलेको अवस्थामा पुगेछ । 
त्यसपछि ठूलो अनिकाल भएछ । यति चर्को अनिकाल कि ! अनिकालमा जीउ जोगाउन कतिले सिस्नो खाएछन् त कतिले सिमलको जरा । सिस्नो खानेजति बाँचेछन् भने सिमल जरा खाने मरेछन् (मगरविद् बमकुमारी बुढामगर) ।

 

भोगिराज चाम्लिङ संकलित एवं सम्पादित मुन्दुम (पेज १२९)मा पनि सिस्नो सिलुक अनिकालको अंग बनेको छ । जसमा अकालमा मरेकाको नाममा धामीले ‘अब तिमीले खाने सिस्नो पो’ भनेर भन्छन् । चाम्लिङ सिलुक हाल्छन्–
...उँबु क्षेत्रमा १२ वर्षसम्म निरन्तर पानी परेन । डाँडापाखा, खोलानाला, जमिन, जंगल सुके । चराचुरुंगी, वन्यजन्तुहरू घोरल, मृग इत्यादि पलायन भए । सिकार गरी भोक टार्नेहरूको अवस्था दुःखदायी भयो । मान्छेहरूले सिस्नुको जरा, सिमलको जरा, बडहरको जरा, हात्तीबारको जरा खनेर खाए । 
किराँत सिस्नोलाई जेठो वनस्पति मान्छन् । जुन सिलुक भन्छ– 
पृथ्वीका झारपातमा सिस्नुचाहिँ पारोमियोम्फामीको आँसुबाट पहिले सृष्टि भएको हो भनेर त्यसलाई किराँतीहरू वनस्पतिमा जेठो मान्छन् । यही सिस्नुको पात र फूल किरा जातिको प्रथम तरकारीको आहार भएको हो । यसको बोक्राको धागो निकालेर पहिले मानिसहरूले आफ्नो पहिरन बनाएको हो । यसको जरा ओखतीको काममा ल्याउँछन् (इमानसिंह चेम्जोङ, किराँती दन्त्यकथा, पेज ७३) ।

 

मानिस, पशुपक्षीको सिस्नो आहारा हो । सहारा हो । जो घर–घरमा पस्नुपर्ने । मनमनमा बस्नुपर्ने । बिटुलो सिस्नो ‘सिम्फोनी’ सुनेपछि तपार्इंलाई लागेको होला, सिस्नो कसरी बितुलिएछ ? जस्तो कि, सीप सम्पन्न दलित समुदाय घरबाहिर राखेर बिटुलो भन्छन् । 
उत्तर आँखासामु छ– दलित, आदिवासी, गरिब खान्की भएर । शासक खलकीय खाद्य संस्कृतिमा नपरेर । 
कसरी ? 
जातमा आधारित नेपालको शासनसत्ता, शासक समाज र राजनीतिक व्यवस्था जो डोरबहादुर विष्टको ‘भाग्यवाद’ग्रस्त छ । शासक खलक नेपाल पस्दा आफ्नो खाद्य संस्कृति पनि लिएर पस्छ । जो स्वाभाविक हो । सत्ताको डाँडुपन्यु हातमा लिएर आफ्नो अनुहारसँग नमिल्ने रैथाने र तिनका खाद्य संस्कृतिलाई ‘अलग’ गर्छ । ‘अदर’ गर्छ । आफ्नो खान्की ‘शुद्ध’ र आदिवासी खान्की ‘अशुद्ध’ ! आफूले खाने चिज ‘चोखो’, बाँकीले खाने ‘जुठो’ ! सत्तावाल समुदायको खान्की चोखो, सत्ताइतर समुदायका खान्की बिटुलो ! नामाकरण गर्छ, रैथाने खान्की ‘कुअन्न’ । 

 

सिस्नो खाने समुदाय र सिस्नोलाई घृणा गर्ने संस्कृति हलक्क हल्कन्छ । आफूले खाने चिज बिटुलो, अशुद्ध, जुठो दर्ज गरिदिएपछि रैथानेहरू खान र घरभित्र पकाउन धकाउन थाल्छन् । कतिले खानै छाड्छन् त कतिले घरभित्र पकाएर खाँँदैनन् । शासक खलकीय खसी संस्कृति भित्रिएपछि त खसी चोखो मासु भन्दै घरभित्र पाक्न थाल्छ भने राँगा, सुँगुरको मासु बिटुलो भन्दै घरबाहिर । शासक खलकीय खाद्य संस्कृतिको प्रभाव र तत्कालीन सत्ताले घरभित्र पकाउँदा ‘तलमाथि’ गरेकाले घरबाहिर पकाउने चलन चलेको हो ? खोज हुन बाँकी छ । एकल खसी खाद्य संस्कृति साम्राज्य फैलिएपछि शासक खाद्य संस्कृति मनोविज्ञानले आदिवासी दिलदिमाग जबर्जस्त कब्जा गर्छ । वयोवृद्ध विद्वान् शाहले सिस्नोलाई जनैधारीले ‘अशुद्ध’ भनेर बिटुलो ठान्दै नखाएको सुनाउँछन् । 

 

मगर संस्कृतिविद् बुढामगरका अनुसार जुम्ली शासक बाइसे राज्य बन्नेक्रममा मगरथलो रोल्पा, रुकुममा पुग्छन् । तिनले आदिवासी मगरलाई मात्र होइन, तिनका खान्कीलाई समेत ‘अपमान’ गर्न नखाने र खाए पनि बिटुलो भनेर घरबाहिर पकाउने चलन चलाउँछन् । ‘सिस्नो, सुँगुर र भैँसी खानेलाई हेला गरेको हो । बिटुलो भनेर बाहिर पकाउने गरेको हो,’ मगरविद् वुढामगरको तर्क छ । 

सिस्नो सम्मान

 

लक्ष्मीप्रसाद देवकोटाले ‘सिस्नोको गुनासो’मा मात्र होइन, ‘मुनामदन’मा पनि गरिबको बिम्ब सिस्नो सिँचेका छन्– 

 

हातका मैला सुनका थैला, के गर्नु धनले । 
साग र सिस्नो खाएको बेस आनन्दी मनले ।।

 

पछिल्लो पंक्तिले सिस्नोलाई गरिबको खान्की भन्छ । गरिब हुनु शासित हुनु हो । शासित (अपवादबाहेक) शासक वर्ग र शासक संस्कृतिइतरका हुनु हो । यसैगरी, सिस्नो अभाव पूर्ति खान्की । रोल्पा, रुकुमतिरका वनपाखामा लोक गलाबाट यसरी सिस्नो सुसेलिन्छ–

 

लेकै जाम्ला घाम तापम्ला, सिस्नो ढिरो खाम्ला
साईं र म पानैका फुल, सँगै दिन काटम्ला ।
बयाल्यामा डालेघाँस, सिस्नेरीमा सिस्नो 
को बनाउन सक्ला बरै, स्वर्ग जान्या लिस्नो ।
(संकलन शशिराम ओली)
पानाखोला घारीघारी, सिस्नाको छ, बारी । 
त्यै सिस्ना टिप्न जाउँला, ज्यानको माया मारी ।
(संकलन मनलाल ओली)

गरिबको बिम्ब अर्थात् बिटुलो सिस्नो सहभागी भएको छ, न्याय प्रणालीमा । बदमासविरुद्ध जाइलाग्ने सिस्नोबारे कहावत् नै छ, ‘चोरलाई सिस्नोपानी लगाएपछि बल्ल बक्छ ।’ 

 

                                    ०००

 

हिजोआज त्यही बिटुलो सिस्नो ‘चोखा’ र ‘सम्पन्न’ शरीरमा बस्न र भुँडीभित्र पस्न थालेको छ । पाँचतारे होटेलमा पाक्न थालेको छ । डिमार्टमेन्टल स्टोरमा सजिँदै सिस्नो सुकुटी युरोप, अमेरिका, कोरिया सयर गर्न थालेको छ । तपाईंलाई लाग्ला, यो त उल्कै क्रान्तिकारी छलाङ हो । तपाईंलाई यस्तो पनि लाग्ला, सिस्नो शत्रु शासक खलकीय सोच सुल्टिएछ क्यार ! तर होइन । जस्ताको तस्तै छ । त्यही बीसमा उन्नाइस भएको होला । बारीमा प्रवेश नपाई ढिककान्लामा आफैँ हल्कने सिस्नोको सम्मान भएको छैन । सिस्नो सम्मानको अर्थ रैथाने खान्कीप्रतिको सम्मान हो । शासक खाद्य संस्कृतिले स्थापित गरेको बिटुलो मान्यता भत्काउनु हो । कुनै पनि खान्की बिटुलो हुन्न भन्ने नजिर बसाल्नु हो । आदिवासी र तिनका खाद्य संस्कृति स्विकार्नु हो । एकरंगे शासक मानसिकतामा आगो झोस्नु हो । बहुरंगी नेपाल स्विकार्नु हो । स्विकार्नुको मतलब सबै समान छन् भन्नु हो । भरिया, गरिब, भुइँमान्छे, आदिवासी, दलित, महिला, कर्णाली र मधेसी आँङमा पनि लोकतन्त्र–गणतन्त्र घाम लाग्नु हो । 

 

विडम्बना ! शासक खलकीय समाज अझै सिस्नो सहृदयी छैन । जसले सिस्नोलाई बिटुलो नै ठान्छ । तपाईं नै भन्नुस् त– सिस्नो खाना, सिस्नो औषधि, सिस्नो संस्कृति र सिस्नो बस्त्रको ‘समाजशास्त्र’ र ‘अर्थशास्त्र’ मन्थनविनै कसरी हुन्छ नेपाल समृद्ध ? सिस्नो सौन्दर्य नसम्झी कसरी देश सुन्दर हुन्छ ? सिस्नो नसोची कसरी देश सक्षम हुन्छ ? लेखक श्रेष्ठ त ‘अन्तर्राष्ट्रिय बजार भएका नेपालका तीन चिजमा सिस्नो एक हो’ भन्छन्(बाँकी दुई गाँजा र तीतेपाती) । सिस्नो सौन्दर्य नसमेटी, सिस्नो सबाइ नसुनी, सिस्नो सिलुक नसुनी देश समृद्ध त के, आत्मनिर्भर पनि हुन्न । सिस्नो बिटुलो बनाएर त मुलुक हरिकंगाल भएको हो । जो घामजत्तिकै छर्लंग छ, अनि सिस्नो सिलुक नसुनी सुख !