• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
किशाेर नेपाल
२०७७ चैत १४ शनिबार ०७:४२:००
समाज

माधवको सुन्दर संसार

२०७७ चैत १४ शनिबार ०७:४२:००
किशाेर नेपाल

कोरोना महामारी दोहोर्‍याएर फैलिन लागेको चर्चा सुरु भएको छ । चर्चाको सुरुवात सरकारले गरेको हो । त्यसैले चर्चामा दम छ । नेपाली जनता सरकारले झुटै बोले पनि पत्याउँछन् । तर, कोरोना त विश्वव्यापी हो । एक झुटले कोरोना महामारी कसरी छोपिएला ? कोरोनाको सम्झनाले दिमागमा आइहाल्यो माधव चापागाईंको तस्बिर । उनी सौराहा, चितवनको गैँडाचोकमा एउटा सानो रेस्टुराँ खोलेर बसेका छन् । कोरोना महामारीको प्रहारले उनको त्यो रेस्टुराँमा सुखा लाग्यो । उनको व्यापार ९५ प्रतिशतले घट्यो । अब फेरि बामे सर्दै छन् उनी । यही वेलामा फेरि महामारी चम्कियो भने माधव र उनीजस्ता गरिखाने वर्गका मानिसहरू सोत्तर हुुनेछन् । 

 

पहिलो नजरमा माधवको व्यक्तित्वले तानेको त होइन मलाई । तर, तीन दिनको संगतले माधवलाई चिन्न निकै मद्दत ग¥यो । उनी जवान छन् । जम्मा पैंतीस वर्षका त भए । भन्छन्, पैंतीस सय ‘भुक्तमान’ खपिसकेको मानिस भन्नुहोस् न । हिजोआज उनलाई लाग्न थालेको छ, थर–जातले बाहुन हुनु पनि नेपालमा मानिस बहुलाउने एउटा मुख्य कारण हो । माधव सीमान्तकृत हुन् । उनी थारू, दनुवार, खस, नेवार जे भएको भए पनि माधव नै हुन्थे । उनी आफ्नो अतीत सम्झिन्छन् । बारीका तीन–चारवटा पाटा गनेकै भरमा जीवन बित्ने थिएन । परिवार संख्याले पनि मानिसको जीवनलाई जटिल बनाइदिन्छ । 

 

माधवको जीवनको एउटा महत्वपूर्ण दिन थियो २०६० साल मंसिर ४ गते । यसै दिन उनले आफ्नो जीवनमा पहिलोपल्ट महत्वपूर्ण निर्णय लिएका थिए ः रोजगारीका लागि भारत जाने । उनी त्यसै दिन हिँडेका थिए भारत, पन्जाब राज्यको जालन्धर सहर । त्यो सहरमा सत्र महिना बस्दा उनले पाककला राम्रैसँग सिकेका थिए । भाग्यले भनौँ, उनले डाक्टरहरूको क्वार्टरमा काम पाएका थिए र त्यहीँ सिकेका थिए– कसरी बनाउने तन्दुरी रोटी र चिकन टिक्का मसला । कसरी बनाउने मटन रोगनजोस र नान । कडाही चिकन । पालक पनिर । मानिसहरू सबैभन्दा बढी मन पराउँथे उनले पकाएको ‘मक्की दा रोटी सरसोंका साग ।’ माधवले पकाएको नेपाली भर्सनको ‘मक्की दा रोटी सरसोंका साग’ जालन्धरमा लोकप्रिय भयो । सागको नाममा पात पिसेको लेदो खाँदाखाँदा उक्ताएका मानिसका लागि कराहीमा पाकेको ठाडो साग नयाँ स्वादको थियो । 

 

सत्र महिनापछि माधव जालन्धरबाट फर्किंदा देशमा लडाइँ झन्झन् चम्किइरहेको थियो । एकातिर, युद्धकलामा प्रशिक्षित नेपाली सेना, जसलाई त्यतिखेर शाही सेना भनिन्थ्यो, र अर्कोतिर, टाउकोमा कात्रो बेरेर हिँडेका जनयुद्धका जोसिला सिपाही थिए – जो आफ्नो विजयप्रति सुनिश्चित थिए । यी दुई नेपाली लडाकुमा कसले जित्ला ? त्यस्तो अनुमान गरिँदैनथ्यो । शाही सेनाको शैली निकै कडीकडाउ थियो । तुलनामा माओवादी अलिकति नरम थिए । चितवन जिल्लाको अनकण्टार मानिने बस्ती माडी जनयुद्धको अपवाद थिएन । यो सक्रिय युद्धभूमि थियो । यहाँका थुप्रै तन्नेरी जनयुद्धमा लागेका थिए । तीमध्ये कोही पनि माडी क्षेत्रमा कार्यरत थिएनन् । माधव सम्झिन्छन्– त्यतिवेलाको दबाब दोहोरो थियो । सर्वसाधारण जनता बोल्न पटक्कै नडराउने । तर, उनीहरू बोल्न लाग्दा दोहोरो बन्दुकको चेपमा आफ्नो कन्चट राखेर मात्रै बोल्न पाउने । त्यतिखेर अठार, बीस वर्षका तन्नेरीहरूको बेहाल थियो । एकातिर, सेनाका कमाण्डरहरू उनीहरूलाई माओवादीको चियो–चर्चो गर्न लगाउँथे, अर्कोतिर, माओवादीका कमाण्डरहरू ब्यारेकमा गएर सेनाको गतिविधि नियाल्न अराउँथे । कामको प्रकृति सुनेर शरीर रोमाञ्चित भएको केहीबेरमा नै शीताङ्ग हुने ।

 

माधव र उनका साथीहरूको उमेर अठार वर्षको आसपास मात्रै थियो । माओवादीहरू घरमा आउँथे । खाना खान दिनुहोस् भन्थे । मिटिङमा जाऊँ, जानुपर्छ भन्थे । माधव र उनका साथीहरूलाई थाहा थियो, माओवादीले उनीहरू जस्ता तन्नेरी केटाकेटी पाए भने ‘प्रशिक्षणका लागि’ जंगलतिर दौडाइहाल्थे । सेनाले भेटे भने पनि ‘सोधपुछका लागि’ ब्यारेकभित्र लैजान्थे । एकपटक ब्यारेक पसेपछि ती घर फर्किने ठेगान हुँदैनथ्यो । भाग्यले फर्किन पनि सक्दथे । धेरैजसो आफ्नै दुर्भाग्यले हराउने गर्थे । माधव चापागाईंलाई मंसिर नलाग्दै माओवादीका लडाकुले सेनाका एकजना मेजरको सुराकी गर्ने काम लगाएका थिए । त्यो दिनदेखि माधव बारीको कान्लो उक्लिएर वरपर कतै गएनन् । उनी आत्तिएका थिए । उनले आफूजस्ता केटाहरू अपहरणमा परेको थुप्रै कथा सुनेका थिए स्कुलमा ।

 

त्यतिवेलाका घटनाक्रमका अनुभूतिले माधवलाई अहिले पनि सताउने गर्छ । उनी आफ्नी श्रीमती तथा छोराछोरीको अनुहार हेर्छन् र पुलकित हुन्छन् । पुस महिनाको चिसोले छोरा र छोरी दुवैको मुख कठ्यांग्रिएको छ । चुलोमा सेक्न राखिएको सेकुवा चिसोले सुक्न थालिसकेको छ । कहिलेकाहीँ नाचगान गर्दै रमाइलो गर्न आउने स्थानीय दाजुभाइ पनि नियमित छैनन् । नियमित आम्दानीको बाटो नभएपछि केही पनि त नियमित नहुने । चितवनभरि कोरोना महामारी फैलिएको छ । सहर, बजार र गाउँमा लकडाउन चलेको छ । मुखमा लगाउने मास्क र ‘रक्सीजस्तै ह्वास्स गन्हाउने’ स्यानिटाइजर बजारको बाध्यता बनेको छ । सामान्य मानिसको आउजाउमा समेत कठिनाइ परेको वेला को पर्यटक आउँथ्यो र सौराहा घुम्न !

 

राप्ती, लोथर र रिउ खोलाको नाम सुनिरहेका नेपालीका लागि माडी कुनै नयाँ शब्द होइन । माडी शब्द वास्तवमा असाधारण हिसाबले साधारण हो । जहाँ पहाड टुंगिन्छ र मधेस सुरु हुन्छ, त्यहाँका फराकिला फाँटहरू माडी भनिन्छन् । अयोध्यापुरी र बानरझुलाजस्ता स्थान छन् माडी क्षेत्रमा । अयोध्यापुरीलाई केही समयअघि प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले अन्तर्राष्ट्रियकरण गर्न खोजेका थिए । त्यसपछि त्यहाँ राममन्दिरको निर्माणको योजना बन्यो । प्रधानमन्त्री ओलीबाट प्राप्त सूचनाअनुसार मन्दिरमा राख्न राम, सीता, लक्ष्मण, हनुमानका भव्य मूर्ति बनिसकेका छन् । अब छिटै ती मूर्तिको प्राण प्रतिष्ठा हुनेछ । ढोल, नगरा र सहनाई बज्नेछन् । त्यसपछि दैनिक आरती । तुलसीकृत रामायणको अर्थसहितको प्रवचन । अयोध्यापुरी दूरस्थ छ । भरतपुर महानगरबाट अयोध्यापुरीको दूरी नै ९१ किलोमिटर छ, भनेपछि अरू त सोच्नै परेन । 

 

लोकले हेर्दा माधव चापागाईंलाई माडीमा कुनै कुराको दुःख थिएन । जमिनअनुसार उब्जनी राम्रै हुन्थ्यो । तीनतिरबाट राष्ट्रिय निकुञ्जले घेरिएको माडीको एकातिर ठोरीको जंगल छ । ठोरीको नाम नेपालको राजनीतिमा पनि प्रशस्त लेखिएको छ । राजा ज्ञानेन्द्रको शासनकालमा ठोरीको यही जंगल पार गरेर भूमिगत हुँदै भारत पुगेकी थिइन् सुजाता कोइराला । त्यतिवेला गिरिजाप्रसाद कोइराला सरकारी निगरानीमा थिए सायद । यति हुँदाहुँदै पनि, सोझो मनका माधवले खेतीपातीले मात्रै परिवारको गुजारा हुन नसक्ने देखे । उनको तन्नेरी मन जोसिएको थियो विदेश जान । उनका केही थारू साथीहरू कतार, दुबई र कुवेत उडिसकेका थिए । केही बहराइन र साउदी जान चाहन्थे । माधवले राहदानीका लागि निवेदन दिए । उनको हातमा पासपोर्ट प¥यो सातैदिनमा । सरकार जतिसक्यो बढी तन्नेरी केटालाई विदेश पठाउन चाहन्थ्यो । उनीहरूले कमाएर नल्याए देश चलाउने अवस्था अहिले पनि छैन । माधव आपूmलाई भाग्यमानी ठान्दछन् कि पासपोर्ट हात परेको २७ दिनमा दुबई जाने एघारजनाको समूहमा उनको नाम प¥यो । भिसा आयो । उनी दंग परे । पहिलोपल्ट हवाईजहाज चढेर नयाँ देश दुबई पुगे । अहिले सम्झिन्छन्– दुबईको संसारै अर्को !

 

माधव दुबईको जुन कम्पनीमा काम गर्न पुगे, त्यहाँ उनी सबैभन्दा सानो मान्छे थिए दाह्री पनि नआएका । वेल्डिंगको काम गर्थे । उनी धेरै बस्न पाएनन् दुबई । २००८–२००९ को आर्थिक मन्दीले उनलाई दुबईको संसारबाट विस्थापित ग¥यो । पछि उनी कतार गए । त्यसपछि सौदी पनि गए । दुबई कतार र सौदी– तीन मुलुकमा १३ वर्ष बिताए ।

 

माधवको बिहे भयो । मागी बिहे । माधवले लक्ष्मी मागे । न लक्ष्मीले माधवलाई देखेकी थिइन्, न माधवले लक्ष्मीलाई । उनीहरू गाउँबाट सौराहा बसाइँ सरे । भाडाको कटेरो नै भनौँ न । कटेरोको दुई भागमा रेस्टुराँ छ, काउन्टर छ, दुईवटा फ्रिज छन् । भित्री भागको एकछेउमा बेडरुम छ । अर्को छेउमा किचन । लक्ष्मी र माधवको झगडा परेको छैन । ‘कहिलेकाहीँ त पर्छ’, लक्ष्मी भन्छिन् । छोरी कञ्चन र छोरा क्रिस दुवै ज्ञानी छन् । उनीहरूले नबुझे पनि बुझेका छन्, कति छन् बाबुआमाका दुःख । आखिर यो हाम्रै संसार न हो ।