• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
निर्मल अर्याल
२०७७ चैत १४ शनिबार ०७:५७:००
इतिहास

भैरव–रोचक दमदार दोस्ती

२०७७ चैत १४ शनिबार ०७:५७:००
निर्मल अर्याल

रोचक नै त्यस्ता पात्र भए, जसले भैरवको जीवनका
दुःखद र सुखद स्थितिको साक्षी हुने मौका पाए


नेपाली सांगीतिक जगत्मा उदाहरणीय मित्रद्वयको रूपमा कुनै समय स्वरसम्राट् नारायण गोपाल र उच्च कोटीका संगीत साधक गोपाल योञ्जनलाई लिने गरिन्थ्यो । नेपाली साहित्यिक क्षेत्रमा पनि धेरै परम मित्रहरूको कहानी सुन्न, पढ्न पाइन्छ । तर, जुन तह र तप्कामा नेपाली साहित्यका शिखर पुरुष भैरव अर्याल र साहित्यिक पत्रकार रोचक घिमिरेको अन्तरहृदयदेखिको सहकार्य थियो, त्यो बिरलै अन्यमा भेट्न सकिन्छ । रोचकले करिब १७ वर्ष (२०१६–२०३३) सम्म मात्र भैरवको संगत गरे । भैरवले गोकर्णस्थित बागमती नदीको छाँगोमा फाल हाल्दै आफ्नो इहलीला समाप्त गरेको ४४ वर्ष भइसकेको छ, तैपनि रोचक भैरवलाई भुल्न सकिरहेका छैनन् । जीवित रहँदा मात्र रोचक भैरवको नम्बरी साथी भएनन्, आत्मीय मित्रको दुःखद निधनपश्चात् समेत उनका छरिएर रहेका स्मृतिलाई किताबी रूप दिँदै अनुकरणीय कार्य गरेका छन् । भानुभक्तलाई मोतीरामले चिनाएझै भैरवलाई साहित्यिक वृत्तमा अझ विशिष्ट रूपमा चिनाउने अब्बल श्रेणीका ‘सारथि’का रूपमा रोचक सुपरिचित छन् । भैरव पुरस्कार गुठीको अध्यक्षको कार्यभार सम्हाल्दै भौतिक रूपमा असम्भव सही, भावनात्मक रूपमा भए पनि अझै आफ्ना प्रिय भैरवसँगै उत्तिकै समीपमा छन्, रोचक घिमिरे । 

 

कवि नीरविक्रम प्यासीको व्यङ्ग्य कविता ‘रोमान्टिक हिरो अफ काठमाण्डू’ त्यतिवेलाको चर्चित अखबार ‘हालखबर’मा छाप्न जाने सन्दर्भमा रोचकले पहिलोपटक भैरवलाई देखेका थिए । साहित्यकार श्यामप्रसादको सल्लाह शिरोपर गर्दै प्यासी र रोचक कमलपोखरीस्थित हालखबर कार्यालयमा कार्यरत पत्रकार भैरवलाई भेट्न पुगेका थिए । रोचक भैरवसँगको पहिलो भेटलाई यसरी स्मरण गर्छन्, ‘लबेदा सुरुवाल, सुती कोट, कालो भादगाउँले टोपी लगाएको, निधारमा कालो कोठी र गालामा केही डन्डीफोर बोेकेको, कलेटी परेको ओठमा चुरोटको सुर्ती टाँसिएको, लाटो–लाटो अनुहार परेको मान्छे टेबुलमा निहुरेर कलम धस्तै रहेछ । उसको छेउमा पुगेर प्यासीले अफ्नो नाम र काम बताएपछि अमिल्दा र चुरोटले पहेंलिएका दाँत देखाएर ङिच्च हाँस्तै उसले आफ्नो परिचय दियो, ‘म यहीँ काम गर्छु, मेरो नाम भैरवप्रसाद अर्याल हो ।’ 

 

घरायसी वातावरणका कारण लेखाइ–पढाइमा रोचक घिमिरेको सानैदेखि ठूलो लगाव थियो । रोचकका पितासँग महाकवि लक्ष्मीप्रसाद देवकोटा, योगी नरहरिनाथ, साम्बभक्त सुवेदी जस्ता हस्तीहरूको उठबस थियो, जसको प्रत्यक्ष प्रभाव उनमा पर्नु स्वाभाविक नै थियो । २००७ सालमा प्रजातन्त्रको अभ्युदयसँगै धेरै पत्रपत्रिका छापिन थाले । रोचक खोजी–खोजी त्यस्ता पुस्तक पढ्थे । उनको घरमा ‘गोरखापत्र’, ‘शारदा’, ‘उदय’, ‘सुधा’, ‘कल्याण’ जस्ता अखबार तथा पत्रिकाहरू नियमित आउँथे । साहित्यिक पत्रिकामा उनको अझ ठूलो मोह थियो । सम्भव भएसम्म सबै खाले अखबार तथा पत्रपत्रिकाका ग्राहक बनिहाल्थे । भैरवसँग हालखबरमा भेट भएकै दिन, हालखबरको पनि ग्राहक बनिहाले, पत्रिकाका पारखी रोचक । हालखबरमा त्यति वेला प्रकाशित हुने व्यङ्ग्य लेखका ठूला प्रशंसक थिए रोचक । आफ्ना मित्र पुरुषोत्तम रिसाल (पुरु) ले छद्मभेदी नाम ‘बकम्फुस शर्मा’ भैरवको भएको र उनलाई आफूले दाइ भनेर सम्बोधन गर्ने गरेको बताएपछि रोचक भैरवलाई भेट्न थप लालायित भए । पुरुकै पछि लागेर डिल्लीबजारस्थित कोसी प्रोजेक्ट अफिसनजिकै अँध्यारो छिँडीबाट भ¥याङ उक्लँदै एउटा कोठामा पुगेपछिको दृश्यलाई रोचक यसरी सम्झिन्छन्, ‘पराले चारपाटेमाथि ओछ्याइएको लम्पटमा घुँडा मार्दै निहुरेर कलम घोटिरहेको उही हालखबरे कारिन्दो ।’ सोही भेटमा रोचक र भैरवबीच पहिलोपटक दोहोरो कुराकानी भएको थियो । रोचकले आफूलाई ‘बकम्फुस शर्मा’ को नाममा छापिने व्यङ्ग्य लेख निकै मन पर्ने बताए । यसरी दुई मित्रको औपचारिक दोस्तीको श्रीणेश २०१७ साल वैशाख १९ गतेबाट भयो । 

 

रोचकको जीवनमा भैरवको प्रवेश यस अर्थमा पनि महत्वपूर्ण छ कि आजसम्म रोचक जुन पेसामा रमाइरहेका छन्, त्यस पेसामा उनलाई डोहो¥याउने काम भैरवले नै गरेका थिए । साहित्यिक पत्रपत्रिका किन्न तथा तिनका ग्राहक बन्न प्रशस्त रकम खर्च गरेको देखेपछि भैरवले रोचकलाई आफैँ प्रेस सञ्चालन गर्न तथा साहित्यिक पत्रिका प्रकाशन गर्न हौस्याएका थिए । भैरवकै जोडबलमा २०१८ साल असोज २० गते रोज ६ का दिन रोचक घिमिरे सम्पादक रहेको चार महिने साहित्यिक पत्रिका ‘रचना’को प्रकाशन सुरु भयो । कमलमणि दीक्षित, श्यामप्रसाद, केपी शैल, श्रीरामप्रसाद भट्टराईलगायतका दिग्गजले ‘नेपाली’, ‘साहित्य’, ‘इन्दु’, ‘रुपरेखा’ जस्ता सशक्त पत्रिकाहरू प्रकाशन गरेको त्यस समयमा रचनाको अस्तित्व रक्षा ठूलो चुनौती थियो । भैरव, रोचक, पुरु रिसाल, रमेश विकल, नवराज चालिसेलगायतको मित्रमण्डलीको घनीभूत प्रयासका कारण छोटो समयमा नै रचना उत्कृष्ट साहित्यिक पत्रिकाको रूपमा सूचीकृत भयो । रचनाको पहिलो अंकमा भैरवसहित महानन्द सापकोटा, केदारमान व्यथित, राजेश्वर देवकोटा, श्यामप्रसाद, धर्मराज थापा, भूतको भिनाजु (वासुदेव लुइँटेल), रमेश विकल, कञ्चन पुडासैनीलगायतको रचना छापियो । बधाईको भार थेग्नै नसक्ने गरी साहित्यप्रेमीहरूले पहिलो अङ्क नै औधी रुचाएको रोचकको रोचक स्मरण छ । भैरवलगायतको सल्लाहबमोजिम नै रचनाले ओझेलमा परिरहेका प्रतिभालाई विशेष प्राथमिकता दिए पनि कतिले यसो गर्दा स्तर खसालेको भनेर खिसिटिउरी गरेको तितो क्षण रोचकको दिमागमा ताजा नै छ । 

 

सरकारी मुखपत्र ‘गोरखापत्र’मा कार्यरत रहँदा विविध क्षेत्रमा कहलिएका अधिकांशसँग व्यापक जनसम्पर्क भए पनि भैरवका लागि आफ्नो मनको बह पोख्ने उत्तम पात्र रोचक नै थिए । ‘प्रिय रोचक, रोचक बाबु, रोचकजी’ भनेर सम्बोधन गर्दै भैरवले देश, विदेश जहाँ भए पनि वा उपत्यकाकै एक भेगबाट रोचकलाई जीवनका आरोह–अवरोहबारे वर्णन गर्दै धेरै चिठी लेख्थे । आकाशमा उडिरहेका वेलासमेत भैरवले आफ्ना प्रिय सखा रोचकलाई चिठी लेख्थे । लाहोरबाट ढाका आउँदै गर्दा सन् १९६४ जुन २७ दिनको सवा ४ बजे रोचकलाई भैरवले लेखेको रसिक चिठीको अंश यस्तो छ । 

 

प्रिय रोचक बाबु, 
३८ हजार ५ सय फिटमाथिको हावामा कावा खाँदै अहिले हामी लाहोरबाट ढाका आउँदै छौँ । बालमुकुन्द (पत्रकार बालमुकुन्ददेव पाण्डे) मसँगै छन् । हाम्रा ठीक पछाडि... छन् । घरीघरी बालमुकुन्द अन्तरबाट चिहाएर दृष्टि–मैथुन गर्दै छ । यसपटकका एयर होस्टेस उति राम्रा छैनन् । तैपनि उनीहरूका सुकोमल हातको जुस पिउँदा केही न केही अंशमा तिनीहरूलाई नै पिएजस्तो लाग्छ । .... लौ त ‘सलामालेकुम्’
उही भैरव अर्याल (शाश्वत व्यङ्ग्य शिल्पी) 

 

रोचकलाई लेखिएका चिठीमा भैरवलाई असाध्य पीडा दिइरहेको रोगसहित कार्यालयमा भोग्नुपरेको शोषण र खप्कीका लामै कहानीहरू पनि हुन्थे । प्रेमी–प्रेमिकाको भेटका लागि छटपटिएझँै हुन्थे, भैरव लामो समय रोचकको दर्शन नपाउँदा । २०२१ साल असार ३० गते भैरवले लेखेको चिठीमा उमेरमा आफूभन्दा पाँच वर्ष कान्छो रोचकलाई ‘तिमी चाँडै अन्मरिए यहाँ’ समेत भनिएको छ । सायद यो वाक्य भैरव–रोचकको मित्रतामा शब्दवाणका केही सीमारेखा पनि बाँकी रहँदैनथे भन्ने पुष्टि गर्न काफी थियो । भैरवले चिठीको अन्त्यमा नाम लेख्ने ठाउँमा कहिले खाली ठाउँ राख्थे त कहिले ‘तिम्रो उही भैरव, उही भैरव, तिम्रो भैरव, लौ त, कौन पुछे खेसरीका दाल यस्तै छ हाल !’ लेख्थे । केही एकाध चिठीको अन्त्यमा आफ्नै हँसाउने मौलिक शैली पछ्याउँदै प्रेमीले प्रेमिकालाई सम्बोधन गरे झैँ ‘उही लिँडे कालू’ समेत लेख्थे । यसर्थमा रोचक नै एक त्यस्तो महत्वपूर्ण पात्र भए, जसले भैरवको जीवनमा भएका कतिपय दुःखद र सुखद स्थितिको साक्षी हुने मौका पाए ।

 

लामो समय भैरवसँगै डेरामा बसेका उनका सहोदर काका बलराम अर्याल भन्थे, ‘गोरखापत्रमा कार्यरत भैरवले दिनहुँ सयौँ मान्छे भेट्थ्यो, तर कोठामा आएपछि ऊ केवल रोचकको कुरा गर्थ्यो र भन्थ्यो, ‘रोचकले आज यसो भन्यो, रोचकले यसो ग¥यो, बरु नवयौवनमा प्रवेश गरेको युवा–युवतीको जोडी छुट्याउन सकिएला, भैरव र रोचकको जोडीलाई भत्काउन कसैको बाहुबलले सक्ने भएन ।’ रोचक तथा भैरव एउटै डेरामा बस्दा दाइलाई वेलाबखत बन्दोबस्तीका सामानहरू पु¥याउन जाने गरेका भैरवका भाइ अच्युत भन्थे, ‘भैरव दाइका बारेमा जति कुरा रोचक दाइलाई थाहा छ, त्यति कुरा हाम्रो परिवारका कसैलाई पनि थाहा छैन ।’ प्रसिद्ध रेडियोकर्मी दाहाल यज्ञनिधि पनि भैरव र रोचकका शालीन मित्रताको अनेकौँ गाथाहरू सुनाउँथे । दाहाल भन्थे, ‘भैरव र रोचक दाइको दोस्तीको कहानी सुनेर मलाई त साहै्र ईष्र्या लाग्थ्यो, राम–लक्ष्मणको जस्तै जोडी ।’ 

 

अरूलाई हँसाउने लेख लेख्न माहिर अर्याललाई वास्तविक रूपमा त्यस्ता रचना जन्माउन भने निकै कष्ट हुन्थ्यो । ‘रचना’का लागि लेख कोर्न भैरव कहिले डेरा छाडेर पुख्र्यौली घर दक्षिणढोका गोकर्ण जान्थे त कहिले उनलाई डेरा कोठामा रोचकले नै थुनेर राख्थे । कोपरासहित घैँटामा पानी, चुरोट, सलाई, सुपारी, बिस्कुटलगायत सबै बन्दोबस्तीको सामानको जोहो रोचकले पहिले नै गरेका हुन्थे । भैरवजस्ता क्षमतावान् साहित्यकार मित्रका लागि रोचकले गरेका यस्ता कर्मका कहानीहरू आजका पुस्ताका लागि अनौठा किंवदन्ती नै हुन सक्छ । अथक प्रयासपछि लेखेको र रचनाले प्रकाशित गरेको ‘टी पार्टी’ शीर्षकको हास्यव्यङ्ग्यबाटै आफूले ‘हास्यव्यङ्ग्यकार’को पगरी गुथेको भैरवले स्वीकार गरेको रोचक बताउँछन् । रोचक भन्छन्, ‘भैरवको व्यङ्ग्यका पात्र र घटनाहरू कोरा काल्पनिक हुँदैनथे । सत्य घटनामा आधारित ती व्यङ्ग्यका पात्रहरू सक्कली नै हुन्थे । उसले सिर्जिएका कैयौँ पात्रहरूलाई म चिन्दछु र कति घटनामा त ऊसँगै म पनि सामेल छु,’ रोचक अगाडि भन्छन्, ‘भैरवलाई टाउको दुखेको पीडादायक स्थितिमा उसले लेखेको व्यङ्ग्यको शीर्षक नै ‘टाउको’ राखेको थियो’ । रोचकका अनुसार ‘मिस्टर एन मुनी नेपालमा, ‘अन्तर्राष्ट्रिय भ्यागुता सम्मेलन’, ‘वीरबलको लाहुर यात्रा’ जस्ता अर्यालका शक्तिशाली व्यङ्ग्यहरूको जन्म पनि त्यस्तै विषम परिस्थितिमाझ भएको थियो । 

भैरवले गोकर्णस्थित बागमती नदीको छाँगोमा फाल हाल्दै आफ्नो इहलीला समाप्त गरेको ४४ वर्ष भइसकेको छ, तैपनि रोचक भैरवलाई भुल्न सकिरहेका छैनन्

भनिन्छ ‘असल मित्रको पहिचान सुखको समयमा होइन, संकटको बखत हुन्छ ।’ रोचकले पनि भैरवलाई जस्तोसुकै संकटको समयमा पनि तन, मन र धनसहित अग्रिम मोर्चामा रहेर सहयोग गरे । भैरवलाई असाध्य पीडा दिँदै आएको घाँटी दुख्ने पुरानो रोगको उपचारका लागि रोचक पनि सँगै दिल्ली गए । भैरवको उपचारका क्रममा दिल्लीमा रहेका आफ्ना मित्र बाबुराम पौडेलको साथ सहयोग निकै महत्वपूर्ण रहेको रोचक सम्झन्छन् । जरुरी काम परेर आफू जनकपुर फर्केका बखत भैरवले जीवनप्रति चरम वितृष्णा जनाउँदै पठाएको चिठीबाट आफू स्तब्ध भएको र तत्कालै उनलाई सम्झाएर प्रत्युत्तर चिठी लेखेको रोचक बताउँछन् । पछि काठमाडौं फर्केपछि आफूसँग भैरवले रुँदै मनको बह यसरी पोखेको कुरा रोचक बताउँछन्, ‘दिल्लीकै जमुनामा डुबुल्की लाउने सुर थियो, बाबुरामले छेके । वनारस पनि गङ्गामा हाम फाल्ने नै विचारले गएको थिएँ, तर पुगेदेखि फर्कुन्जेल नै शिव भट्टराईले छाड्दै छाडेनन् र मौकै मिलेन । रक्सोलसम्म आउँदा पनि रेल दुर्र्घटना भइदेओस् भनेर कति चिताएँ, अहँ भएन । वीरगन्जदेखि काठमाडौंसम्म आउँदा पनि बसमा नचढेर थोत्रो ट्रक खोजेर त्यसमा चढेर आएँ, त्यो पनि साबुतै आइपुग्यो । अझै कति सास्ती खानुपर्ने हो किन मर्थें चाँडै !’ भैरवले रोचकलाई अति विशिष्ट कोटीको साथीको सूचीमा राखेका थिए भन्ने यस वार्तालापबाट पनि पुष्टि हुन्छ, किनकि जो–कोहीले आफ्नो सामान्य मित्रसँग यस्तो कारुणिक सत्य कथा किमार्थ भन्न सक्दैन । 

 

रोचकका अनुसार भैरवको असावधानीका कारण उनीहरूबीच कहिलेकाहीँ खटपट पनि पथ्र्यो । भैरव कहिले पढ्न लगेका दुर्लभ पुस्तकहरू दुर्गति पारेर फर्काउँथे त कहिले रोचकलाई विदेशबाट उपहार आएको पार्कर पेनको निब नै बिगारिदन्थे । यी र यस्ता भैरवका थुप्रै असावधानीले दुई मित्रबीच जङ्ग नै चल्थ्यो । सम्झाउन खोज्दा ‘भैरव’ मुद्रामा भैरव भन्थे, ‘पढ्दा किताब च्यातिन्छन्, हराउँछन्, लेख्ता कलम भाँचिन्छन् । सोकेसमा सजाएर ताल्चा मारेर राखे रहन्छन्,’ आफ्नै माल बिग्रिँदासमेत मित्र महोदयबाट यस्तो उत्तर पाउँदा रोचक अवाक् नै हुन्थे । तर, भैरवमा गल्ती महसुस गर्ने र माफी माग्ने उच्च संस्कार पनि थियोे भन्छन्, रोचक । ‘भैरव’ रूप देखाएको भोलिपल्टै रोचकसामु भैरव यसरी शान्त तथा सौम्य मुद्रामा प्रकट हुन्थे, ‘छोडिदेऊ हिजोका कुरा, गल्ती मेरै थियो । जोसँग साधिकार सम्बन्ध हुन्छ, फन्कने र रिसाउने पनि उसैसँग त गरिन्छ नि !’ अनि फेरि दुईजनाको दोस्ती उही पुरानो लयमा फर्किन्थ्यो । 

 

बिरामी भएर ओछ्यान पर्दा भैरवले रोचकलाई पटक–पटक सम्झिन्थे । २०३३ को सुरुवाती महिनामा बिरामी भैरवलाई भेट्न जोरपाटीस्थित चामुण्डा मार्ग पुगेका रोचकले भैरवलाई भेटेनन् । भैरवले तत्काल तलको व्योहराको चिठी कोरिहाले । 

 

प्रिय रोचकबाबु, 
सम्झिरहेथेँ, आएछौ तर एकै छिनले भेट भएन । दुर्भाग्य मेरै हो । ओछ्यानमै छु । तिमीलाई फुर्सद हुन्छ भने कुनै पनि वेला पुनः कष्ट गर्ने आशा छ । 
तिम्रो भैरव, चामुण्डा मार्ग, जोरपाटी–२ 

 

निको नभई बल्झिरहेको घाँटीको व्यथा, भैरवकै शब्दमा कार्यालयमा उनीमाथि भइरहेको भयानक षड्यन्त्र, साथीभाइहरू तथा प्रकाशन गृहहरूबाटै भइरहेको शोषण तथा दमनबाट भैरव आजित भइसकेका थिए । त्यसमाथि परिवारलाई गर्नुपर्ने कर्तव्यबाट आफू च्युत भएको महसुस गरिरहँदा उनमा जीवनप्रतिको चरम निराशा बढ्दै गएको रोचक बताउँछन् । 

 

७ असोज २०३३ मा नयाँ सडकस्थित पारस होटलनजिक भेट हुँदा रोचकले भैरवलाई मानसिक तथा शारीरिक रूपमा नै गलेको अवस्थामा पाएका थिए । दुवैजनाको सल्लाहबमोजिम दसैँ सकिएपछि असोज १९ गते पोखरा जाने योजना बन्यो । भैरवको मन बहलाउनका लागि यस्तै स्वर्णिम मौकाको पर्खाइमा रोचक थिए, किनकि आफ्नो पहिलो जागिरे जीवन पोखरास्थित कन्धनीडाँडाको प्राथमिक विद्यालयबाटै सुरु गरेकाले समग्र कास्की जिल्लासँग भैरवको भावनात्मक सम्बन्ध थियो । रोचकले तत्कालै स्विस बस सर्भिसको दुइटा टिकट पनि बुक गरे । पूर्वनिर्धारित कार्यक्रमअनुसार नै रोचक असोज १९ मा पोखरा जानका लागि स्विस बस अफिसको खिचापोखरीस्थित कार्यालय पुगे । तर, निकै बेर कुरिसक्दा पनि भैरव नआएपछि उनी एक्लै पोखरा हानिए । दैवको नियति नै भनौँ या विधिको विधान, असोज १९ गतेको रात नै भैरवले गोकर्णस्थित पुलबाट हाम फालेर कागजमा नलेखिएको जीवनप्रतिको अन्तिम व्यङ्ग्य वाण स्वरूप आफूलाई सधैँका लागि इतिश्री गरिदिए । सूचना प्रविधिको अहिलेको जस्तो सुविधा नरहेको त्यो समय, जीवनका हरेक आरोह–अवरोहमा आफूलाई साथ दिँदै आएका अन्तरङ्ग मित्र र सहकर्मीको निधनको अप्रिय खबर रोचकले काठमाडौं फर्केपछि असोज २४ मा मात्र थाहा पाए, त्यो पनि अपुष्ट तरिकाले किस्ता किस्तामा । १७ वर्ष लामो सङ्गतमा केही विषयमा भैरव र रोचकबीच मनमुटाव पक्कै भयो, तर उनीहरूको सम्बन्धमा फट्याइँको कुनै अवशेष थिएन । त्यसैले त रोचक अहिले पनि भक्कानिँदै भन्छन्, ‘भैरवले उसको जीवनमा मसँग गरेको पहिलो र आखिरी यही एउटा फट्याइँको सम्झनाले अहिले पनि म मर्माहत भइरहेछु र मेरो अन्तरमनमा उसैका सम्झनाका डोबहरू भmन्–झन् मार्मिक भएर गहिरिँदै जान्छन् ।’ पूर्वनिर्धारित योजनाअनुसार नै सायद रोचकसँगै पोखरा गएको भए भैरवको आत्मविसर्जन रोकिन्थ्यो कि ? यो प्रश्न भैरवका प्रशंसकहरूले बारम्बार गरिरहेका छन्, जुन केही हदसम्म स्वाभाविक नै हो । 

 

रोचककै सक्रियतामा भैरवको स्मृतिलाई चिरस्थायी पार्न २०३७ सालमा ‘भैरव कृति खण्ड’ र ‘भैरव स्मृति खण्ड’ का रूपमा ‘रचना’ का दुई अङ्क प्रकाशनमा ल्याइयो । भैरवका जीवनका विविध पाटो जान्न चाहनेका लागि ‘रचना’का ती दुई अङ्क सबैभन्दा महत्वपूर्ण दस्ताबेज पुष्टि भए । ती दुई अङ्कसहित भैरवकै अन्य रचना र उनको जीवनका विभिन्न चरणलाई प्रतिबिम्बित गर्ने कालजयी तस्बिरहरूसहित रोचकले नै सम्पादन गरी भैरव पुरस्कार गुठीले प्रकाशन गरेको पुस्तक ‘शाश्वत व्यंग्य शिल्पी’ पनि भैरवलाई भुल्न नदिने महत्वपूर्ण ग्रन्थ हो । उमेरले आठ दशक टेकिसक्दा पनि आफ्ना सुयोग्य पुत्ररत्नद्वयको साथ सहयोगमा रोचकले अभिन्न मित्र भैरवले ‘न्वारन’ गरिदिएको ‘रचना’ अझै प्रकाशित गरिरहेकै छन् । रचनामा लेख प्रकाशित भएपछि मात्र ‘सच्चा साहित्यकार’को उपाधि पाइने बीसको दशकको परम्परालाई निरन्तरता दिन सफल भइरहेको छ रोचक परिवार । ‘रोचक’ र ‘रचना’ एकअर्काका पर्याय नै भएका छन् । त्यसैले सार्वजनिक कार्यक्रममा रोचक सगर्व भन्छन्, ‘रोचक घिमिरेलाई आजको स्थानसम्म ल्याइपुर्‍याउने काम ‘रचना’ र त्यसको न्वारन गरिदिने मेरो परम मित्र भैरव अर्यालले नै गरेको हो ।’ रोचक अगाडि भन्छन्, ‘मलाई नानाथरी कुरा सुनाएर जसले जेसुकै भने पनि भैरवसहितको मित्रमण्डलीलाई साक्षी राखी पवित्र उद्देश्यसहित जन्माइएको ‘रचना’लाई भर्‍याङ बनाएर भौतिक लाभतिर लहसिने कुनियत मेरो मनमा कहिल्यै पलाएन । ‘रचना’का निम्ति जेजति गरेँ, इमानदारीपूर्वक गरेँ र यही नै आफ्नो निम्ति परम सन्तोषको विषय भएको छ ।’ 

 

अन्त्यमा, भैरवको अविस्मरणीय व्यक्तित्वलाई आफ्नै कृति ‘सम्झनामा फक्रिएका थुँगाहरू’मार्फत यसरी सम्झँदै पुनः भावुक हुन्छन् रोचक घिमिरे, ‘भैरव अतिमानव, महामानव, महापुरुष वा अरू यस्ता कुनै विशेषण लगाइनुपर्ने पात्र थिएन । गरिब नेपालका लाखौँ निमुखा सन्तानझैँ सोझो, सरल र सामान्य गौप्राणी नागरिक थियो ऊ । आफूले बुई चढाएर टुप्पोमा पुर्‍याएका कैयौँ लाटाबुङ्गाहरूले आफूलाई लात हान्दा पनि प्रतिकार नगरेर बरु चोट खप्तै सहिदिनु निको मान्थ्यो ऊ । आजका दिनमा हास्यव्यङ्ग्य विधा पनि सम्मानित, शिष्ट, परिष्कृत र उल्लेख्य बन्न सक्छ भन्ने कुराको प्रमाण भैरवका हास्यव्यङ्ग्यले दिएका छन् । आज हास्यव्यङ्ग्य विधाको प्रगतिका निम्ति जस्तो सकारात्मक वातावरण बनिरहेको छ, त्यसको जग बलियो पार्न भैरवको पसिना र रगत प्रशस्त बगेको छ भन्ने तथ्य हामीले बिर्सिनुहुँदैन । त्यस्तो शाश्वत हास्यव्यङ्ग्य शिल्पीसँगको सान्निध्य र साथित्वलाई म आफ्नो सौभाग्य सम्झन्छु ।’