• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ चैत १४ शनिबार ०८:०७:००
साहित्य

स्थलमार्गबाट काठमाडौंदेखि पेरिससम्म

२०७७ चैत १४ शनिबार ०८:०७:००

श्रेष्ठको आत्मवृत्तान्त पढ्दा पाइने एउटा शिक्षा छ– साहसका साथ गर्ने हो भने जीवनमा कुनै पनि काम असम्भव छैन

 

विधा :    आत्मकथा
लेखक :    श्याम मोहन श्रेष्ठ
पृष्ठ :    ३३१+
प्रकाशक : लेखक स्वयं
मूल्य :      रु. ४००

 

नेपालको पर्यटन क्षेत्रमा श्याममोहन श्रेष्ठको नाम स्मरणयोग्य छ । धुलिखेलको मिराबल रिसोर्टको सञ्चालकदेखि एअर फ्रान्सका जनरल म्यानेजरसम्म काम गर्दा उनलाई नचिन्ने व्यावसायिक जगत्मा सायदै छन् । तर, युवावयमा उनले नेपालदेखि बस र रेलमा फ्रान्ससम्मको साहसिक यात्रा कसरी गरे, त्यो भने धेरैलाई जानकारी नहुन सक्छ । काठमाडौंदेखि पेरिससम्मको उनको त्यो साहसिक यात्रा कसरी नेपाल–फ्रान्स जनस्तरको सम्बन्धको सेतु बन्न पुग्यो भन्ने विषयको जानकारी दिने उनको पुस्तक ‘काठमाडौं–पेरिस–काठमाडौं बस र रेलयात्रा, साहस र आँटले डोर्‍याएको जिन्दगी’ शीर्षकको पुस्तक हालै प्रकाशित भएको छ । 

 

श्याममोहन श्रेष्ठको यो पुस्तक आत्मकथाको रूपमा प्रकाशित छ । आफ्नो जन्मभूमि काठमाडौं तथा मकवानपुरको भीमफेदीमा हुर्कंदा र पढ्दादेखिका अनुभवदेखि हालसम्मका घटनाक्रमलाई उनले सविस्तार वर्णन गरेका छन् । सात अध्यायमा समेटिएको पुस्तकको पहिलो अध्यायमा उनले बाल्यकाल र क्यासिनो नेपालमा जागिर गर्दाका प्रसंग उल्लेख गरेका छन् । क्यासिनो नेपालमा राम्रो

 

काम गर्दागर्दै पनि केही भुटानी सहकर्मीको असहयोगी व्यवहारपछि उनी जागिर छाडेर स्थलमार्गबाट फ्रान्ससम्मको यात्रा सुरु गर्छन् । यो प्रसंगलाई उनले दोस्रो अध्यायमा समेटेका छन् । काठमाडौंबाट भारतको पटना, दिल्ली, त्यहाँबाट अफगानिस्तानको काबुल, इरानको तेहरान, त्यहाँबाट टर्कीको इस्तानबुल, त्यहाँबाट रेलमा बेलग्रेड, त्यसपछि इटलीको मिलान र त्यहाँबाट फ्रान्ससम्मको यात्रा विवरण निकै रोचक छ । यात्राका क्रममा उनले सामना गर्नुपरेको यौन दुर्व्यवहारका घटनासमेत समेटेका छन् । ‘ल तिमीहरू तुरुन्त यहाँबाट निस्किहाल, तिमीहरू आज यहाँ बस्यौ भने केटाहरूले तिमीहरूलाई हमला गर्छन् । ... अनि हामी छिटोछिटो ती राक्षसी विद्यार्थीहरूबाट उम्की भर्‍याङबाट हामफालेजस्तै भुइँतलामा पुर्‍यौँ । त्यहाँसम्म पनि तिनीहरू आइरहेका थिए,’ यात्राका क्रममा लेखकले भोगेका कठिनाइबारे उल्लेख गरेका छन् । 

 

यात्राका क्रममा उनी जहाँ–जहाँ पुगेका छन्, त्यहाँको भूगोल, संस्कृतिलगायत विषयमा पनि प्रकाश पार्दै गएका छन् । त्यसो हुँदा एसियाली र युरोपेली मुलुकको विषयको जानकारीका लागि पनि यो पुस्तक असाध्यै उपयोगी छ । 

 

तेस्रो अध्यायमा लेखकले एअर फ्रान्ससँगको आबद्धताको विषय उल्लेख गरेका छन् । एयर फ्रान्समा प्रवेश गरेदेखि अवकाश लिएर जिएसए चलाएकोसम्मको अनुभव उनले उल्लेख गरेका छन् । त्यस्तै, चौथो अध्यायमा उनले विवाह र विवाहपछिको प्रेम सम्बन्धमा विषयमा उल्लेख गरेका छन् । क्याथीसँग विवाह गरिसकेपछि र सम्बन्ध नराम्रो भएपछि लेखकले दिकी लामासँगको प्रेम सम्बन्ध र दोस्रो विवाहका बारेमा खुलेर उल्लेख गरेका छन् । त्यस क्रममा जेठी श्रीमतीले भौतिक आक्रमण गरेको विषयलाई पनि उनले इमानदारीपूर्वक लेखेका छन् । 

 

त्यस्तै, पाँचौँ अध्यायमा उनले आफ्नो व्यावसायिक जीवनबारे उल्लेख गरेका छन् । मिराबेल रिसोर्टको लगानी, नेपाल वायुसेवा निगमको सञ्चालक भएर गरेका कामका विषयमा उनले उल्लेख गरेका छन् । त्यस्तै, नेपाल फ्रान्स सम्बन्धका एक जनस्तरको आइकनका रूपमा उनले खेलेको भूमिकाबारे अर्को अध्यायमा चर्चा गरेका छन् । 

 

त्यस्तै, सातौँ अर्थात् अन्तिम अध्यायमा उनले जीवनका अन्य विभिन्न आयामका विषयमा उल्लेख गरेका छन् । आफ्नो सम्पर्कका मानिससँगको सम्बन्ध, उच्चपदस्थसँगको विदेश भ्रमणलगायत विषय यस अध्यायमा समेटिएको छ । 

 

श्रेष्ठले दुई वर्षअघि फ्रान्सकै प्रतिष्ठित ‘नाइट इन दि नेसनल अर्डर अफ लेजियन अफ अनर’ पाएका थिए । सो सम्मान कार्यक्रममा नेपालका लागि फ्रान्सका राजदूत फ्रान्सिस जेभियर लेजेले श्रेष्ठका सम्बन्धमा दिएको निकै उत्कृष्ट चिनारी पुस्ककको सुरुमै राखिएको छ । राजदूत लेजेले भनेका छन्, ‘श्रेष्ठ फ्रान्स र फ्रान्सेली जनताका महान् मित्र हुन्, उनले फ्रान्स र नेपालबीचको मित्रता तथा सहयोगमा बलियो पुलको काम गरेका छन् ।’ 

 

श्रेष्ठको आत्मवृत्तान्त पढ्दा पाइने एउटा शिक्षा छ– साहसका साथ गर्ने हो भने जीवनमा कुनै पनि काम असम्भव छैन । आफ्नै अनुभवबारे उनी लेख्छन्, ‘एउटा व्यक्तिले आफ्नो जुनसुकै लक्ष्य प्राप्तिका लागि सर्वप्रथम प्रण र साहस बटुल्नुपर्ने रहेछ । त्यसपछि निडर भई अघि बढ्नुपर्ने रहेछ । जाँदाजाँदै, हिँड्दाहिँड्दै अनुशासन, सभ्यता र धैर्यलाई निरन्तर साथमा राख्नुपर्ने रहेछ ।’ यस्तै लक्ष्यका साथ हिँडेका श्याममोहनले पुस्तकको ट्यागलाइन नै ‘एउटा नेपाली केटाको साहसिक यात्रा’ राखेका छन् । 

 

पुस्तकमा लेखकले आफ्नो जीवनका विभिन्न कालखण्डका तस्बिर पनि समावेश गरेका छन्, जसलाई उनले फोटो पुस्तक नामकरण गरेका छन् । तस्बिरहरूले उनका जीवनका विभिन्न घटना मात्रै अवगत गराउँदैनन्, विभिन्न ठाउँहरूको तत्कालीन र अहिलेको अवस्था पनि दर्साउँछन् । 

 

तर, पुस्तक कमजोरीरहित भने छैन । सम्पादन र लेआउटका हिसाबले पुस्तकमा धेरै नै कमजोरी छन् । अझै राम्रो सम्पादन हुन सकेको भए पुस्तक थप रोचक र सुसंगठित हुन सक्थ्यो । त्यस्तै, पुस्तकको लेआउट पनि अझै आकर्षक बनाउन सकिन्थ्यो । तर, पुस्तकको रोचकताले यी सामान्य कमजोरीलाई छोपिदिएको छ ।