• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
डा. बालगोपाल श्रेष्ठ
२०७७ चैत १४ शनिबार ०८:४७:००
सम्झना

सम्झनामा दर्शनका ज्ञाता

२०७७ चैत १४ शनिबार ०८:४७:००
डा. बालगोपाल श्रेष्ठ

प्रोफेसर श्रेष्ठ नेपालभाषा साहित्यका एक बेजोड समालोचक हुनुहुन्थ्यो

 

मार्क्सवादी दर्शनका एक प्रखर व्याख्याता विद्वान्का रूपमा नेपालको राजनीतिक वृत्त एवं बौद्धिक जगत्माझ चिनिएका प्रोफेसर माणिकलाल श्रेष्ठको देहान्त २०७७ चैत्र ३ गते उपचारको क्रममा ८९ वर्षको उमेरमा काठमान्डौंस्थित गंगालाल हृदय रोग केन्द्रमा भयो । नेपालको कम्युनिस्ट आन्दोलनको प्रारम्भिककालदेखि लागेर जीवनको अन्तिम समयसम्म पनि आफूलाई एक माक्र्सवादी र कम्युनिस्ट भनेर चिनाउने उहाँले नेपालका विद्यमान कुनै पनि कम्युनिस्ट पार्टीको सदस्यता भने कहिल्यै लिनुभएन । संशोधनवाद र सबैखाले अवसरवादको विरोधी उहाँले आफ्नो जीवनभर कुनै लाभको पद पनि कहिल्यै ग्रहण गर्नुभएन । उहाँको अवसानसँगै नेपालले एक सच्चा माक्र्सवादी दर्शनका ज्ञाता र विश्लेषकलाई सदाका लागि गुमाएको छ ।

 

प्रोफेसर श्रेष्ठ नेपालभाषा साहित्यका एक बेजोड समालोचक हुनुहुन्थ्यो । नेपालभाषा साहित्यमा विशिष्ट समालोचकहरू कमलप्रकाश मल्ल तथा कृष्णचन्द्रसिंह प्रधानको नामसँगै उहाँको नाम लिने गरिन्छ । अंग्रेजी साहित्य तथा नेपालभाषा साहित्यका प्राध्यापक श्रेष्ठलाई नेपालभाषा साहित्य लेखनमा पाश्चात्य समालोचना पद्धति भित्र्याउने पहिलो समालोचकका रूपमा पनि मान्ने गरिन्छ । पाश्चात्य समालोचकीय सिद्धान्तको बृहत् विश्लेषण गरिएको उहाँका पहिलो कृति ‘समालोचनाया सिद्धान्त’ (सन् १९६६) नेपालभाषाका साहित्यमा एक उत्कृष्ट पुस्तक ठानिन्छ । लामो समयको अन्तरालमा उहाँको समालोचनाया सिद्धान्त–२ (सन् २०१९) पनि प्रकाशित भएको छ । 

 

नेपालभाषामा प्रकाशित अनेकन कृतिबारे सयौँ समालोचना लेख्नुभएका उहाँले नेपालभाषाका सयौँ लेखकका पुस्तकमा समालोचकीय भूमिका पनि लेख्नुभएको छ । मेरा दुई पुस्तक– ‘हलिमलि’ (निबन्धसंग्रह सन् १९८५) र ‘कुलामय थ्वयाच्वंगु सः’ (कवितासंग्रह सन् १९९५) मा उहाँको समालोचकीय भूमिका सजाउने सौभाग्य पाएको थिएँ । कमलप्रकाश मल्लले आफ्नो पुस्तक ‘नःलि स्वना’ (१९६७)मा उहाँको समालोचनामा ‘पाश्चात्य, माक्सीय साथै फ्रायडीय पद्धतिको विवादास्पद मिश्रण रहने गरेको’ उल्लेख गर्नुभएको छ । उहाँ आफैँले भने आफ्नो समालोचना लेखनमा माक्र्सवादी पद्धतिलाई नै मूल आधार मान्ने गरेको बताउनुहुन्थ्यो ।

 

समालोचनाबाहेक उहाँको नाममा घोषित रूपमा अनुवादकका रूपमा नेपालभाषामा ‘प्रसिद्ध जापानी न्हु बाखँ’ नामको दुई खण्डमा प्रकाशित छन् । नेपाल–कोरियामैत्री संघका संस्थापक सदस्य र पछिसम्म पनि विभिन्न पद सम्हाल्नुभएका उहाँले किम–उल सुंगका सयौँ पुस्तक अंग्रेजीबाट खस–नेपाली भाषामा अनुवाद गर्नुभएको थियो । तर, ती पुस्तकमा घोषित अनुवादकका रूपमा उहाँको नाम भने उल्लेख छैन । पुस्तकाकारमा उहाँका प्रकाशित अन्य कृतिहरूमा– तिब्बत चीनको अभिन्न अंग हो (१९५०), ‘नेपालया भाषानीति गर्थे जुइमा ?’ (नेपालमा कस्तो भाषानीति हुनुपर्छ ? १९८६) आदि हुन् । 

 

‘नेपालमा कस्तो भाषानीति हुनुपर्छ’ पुस्तिकामा राज्यले सबै भाषाभाषी, जातिका जनताबीच समानताको नीति लागू गर्नुपर्छ र कुनै पनि रूपले भेदभाव गर्नुहुन्न र नेपालका सबै जाति जनजातिका पहिचानलाई जगेर्ना गर्न जातीय स्वशासनसहितको संघीय व्यवस्था नै सबभन्दा उपयुक्त व्यवस्था हो भन्ने उहाँको दह्रो अडान रहेको छ । त्यहीकारण उहाँलाई एकल जाति र एकल भाषाका हिमायतीहरूले आलोचना गर्ने गरेको देखिन्छ जबकि आदिवासी जनजातिहरूमाझ भने उहाँ अत्यन्त आदरणीय व्यक्तित्वका रूपमा स्थापित हुनुहुन्छ । 

 

नेपालभाषाको पत्रकारिता जगत्मा २०१३ देखि २०१५ सम्म दुई वर्षसम्म दैनिक नेपालभाषा पत्रिकाको सहसम्पादक भई काम गर्नुभएका श्रेष्ठ २०१३ सालदेखि २०१६ सालसम्म नेपाल पत्रकार संघको महासचिवका रूपमा क्रियाशील हुनुहुन्थ्यो । २०१४ सालमा ऐतिहासिक प्रेस कमिसनमा पत्रकारहरूको प्रतिनिधित्व गर्ने निर्वाचित सदस्य भई प्रेस कानुन र पत्रकारहरूको आचारसंहिताबारे तयार गरिएको मस्यौदामा उहाँको महङ्खवपूर्ण योगदान रह्यो । 

 

सन् १९३२ अक्टोबर १४ का दिन पिता हीरालाल श्रेष्ठ माता लक्ष्मीकुमारीको कोखबाट काठमाडौंको थंहिति टोलमा जन्मनुभएका माणिकलाललाई पाँच वर्ष टेक्दै गर्दा सहिद चिनियालाल सिंह र उनका दाजु फत्तेबहादुर सिंहले स्थापना गर्नुभएको महावीर इन्स्टिच्युटमा भर्ना गरिएको थियो । त्यहाँ उहाँले गंगालाल श्रेष्ठ, चिनियालाल सिंह, कवि सिद्धिचरण श्रेष्ठ, पूर्णबहादुर मानव, टंकविलास बज्राचार्यजस्ता क्रान्तिकारीबाट शिक्षा आर्जन गर्नुभएको थियो जसको प्रभाव उहाँमा जीवनभर रह्यो । 

०६३ सालको परिवर्तनपश्चात् स्थापित गणतन्त्रप्रति उहाँ सन्तुष्ट हुनुभए पनि आदिवासी जनजातिको पहिचानको सवाललाई बेवास्ता गरी लादेको अपूरो संघीयता र अंकुशपूर्ण धर्मनिरपेक्षताको भने उहाँ आलोचक रहनुभयो

उहाँले २००३ सालमा एसएलसी परीक्षा उत्तीर्ण गर्नु भई त्रिचन्द्र कलेजमा विज्ञान विषय अध्ययन गर्नुभयो र सन् १९५१ मा बिएस्सी अध्ययन पूरा गरेर उहाँ मानविकी संकायतिर जानुभयो । सन् १९५३ मा बिए उत्तीर्ण गर्नु भई उहाँले पटना विश्वविद्यालयबाट बिएस्सी र बिए उत्तीर्ण गर्दै सन् १९५६ मा कलकत्ता विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर र त्यहीँ कानुनमा एलएलबी पनि गर्नुभयो । उच्च शिक्षाका लागि कलकत्ता जानुअघि र नेपाल फर्केर पनि उहाँले विभिन्न विद्यालयमा प्राध्यापन गर्नुभयो । उहाँले शिक्षण जीवन पेसागत रूपमा मात्र नभई शैक्षिक आन्दोलनको हिस्साका रूपमा अपनाउनुभयो । उहाँसँगको मेरो परिचय नेपालभाषाका साहित्यिक पत्रिकाहरू निकाल्ने क्रममा भएको थियो । 

 

२०१७ सालमा जेल परेपछि उहाँलाई प्रोफेसर पदबाट बर्खास्त गरिएको थियो । तर, २०३७ सालबाट आमन्त्रित प्राध्यापकका रूपमा उहाँले धेरै वर्ष त्रिवि नेपालभाषा केन्द्रीय विभागअन्तर्गत एमए कक्षामा अध्यापन गर्नुभयो । त्यस क्रममा स्नातकोत्तर, विद्यावारिधिका धेरै स्वदेशी, विदेशी विद्यार्थी र विद्वान्को अनुसन्धान कार्यमा उहाँले पथप्रदर्शक र सहयोगीको भूमिका निर्वाह गर्नुभयो ।

 

नेपालभाषामा बाहेक अंग्रेजी र नेपाली भाषामा पनि उहाँका धेरै लेख प्रकाशित छन् । विशेषतः सैद्धान्तिक, समसामयिक, राजनीतिक अनि इतिहासका विषयमा उहाँका अनगिन्ती लेख प्रकाशित छन् । त्यसबाहेक उहाँले विभिन्न विषयमा राष्ट्रिय गोष्ठी, सेमिनार र क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्नुभएका कार्यपत्र र टिप्पणीपत्र पनि अनगिन्ती छन् । तीमध्ये सन २००५ नोभेम्बर ३ का दिन नेदरल्यान्डको लाइदेन विश्वविद्यालयको राजनीतिशास्त्र विभागका सहकर्मीहरूसँग मिलेर आयोजना गरेको विद्वत् गोष्ठीमा उहाँले प्रमूख वक्ताका रूपमा ‘नेपालमा लोकतन्त्रका लागि भएको संघर्ष’ विषयक कार्यपत्र पेस गर्नुभएको घटना मेरा लागि अविस्मरणीय छ ।

 

विश्वविद्यालयको कक्षाकोठा होस् कि भिडले भरिएको आमसभा या सानातिना कोठेसभा या ठुल्ठूला साहित्य सम्मेलन जहाँ जुनसुकै किसिमको भेलामा किन नहोस् एकै ताल र एकै सुरमा आफ्ना भनाइ राख्ने उहाँको जस्तो खुबी विरलै मान्छेमा मात्र पाइन्छ । उहाँको अर्को विषेशता भनेको जतिसुकै गहन र जटिल विषयलाई पनि सरल र सुस्पष्ट ढंगले व्याख्या गर्ने क्षमता हो । मैले २०३५ साल अर्थात् एकदलीय पञ्चायत व्यवस्थाको उत्कर्षकालमा भोताहिति दगुबहालमा नेपालभाषाका महाकवि सिद्धिदास अमात्यको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा पहिलोचोटि उहाँको भाषणको स्रोता बन्ने मौका पाएँ । निर्दलीय पञ्चायती व्यवस्थाको विरोधमा चुइँक्क बोल्नसमेत प्रतिबन्ध रहेका वेला उहाँले पञ्चायती व्यवस्थाको वर्ग समन्वय बेतुकको दर्शनको भन्डाफोर मात्रै गर्नुभएन माक्र्सवादी दर्शनले वर्गीय समाजमा विभिन्न वर्गबीचको असमानता र संघर्षको अनिवार्यताको सिद्धान्तबारे पनि विस्तृत व्याख्या गर्नुभयो । हामीजस्ता कलिला विद्यार्थी उहाँजस्ता सरल र स्पष्ट वक्ताले सुनाउने माक्र्सवादी दर्शनको व्याख्या विश्लेषणबाट प्रभावित नहुने त कुरै भएन ।

 

२००६ सालमा गंगालाल श्रेष्ठको नेतृत्वमा स्थापना भएको लाल कम्युनिस्ट पार्टीको सम्पर्कमा आएपछि पार्टीले प्रकाशन गर्न थालेको भूमिगत पत्रिकामा उहाँ आबद्ध हुनुभयो । उहाँ २००७ सालमा राणाशासनको अन्तिम समयमा राणाविरोधी विद्यार्थी आन्दोलन गरेको ‘नेपाल छात्र संघ’को एक संस्थापक सदस्य र प्रथम कार्यसमिति सदस्य हुनुहुन्थ्यो भने २००७ सालको परिवर्तनपछि संघमाथि नेपाली कांग्रेसको नियन्त्रण हुन थालेपछि उहाँ त्यसबाट बाहिरिनुभयो । विद्यार्थी संगठन र जनवर्गीय संगठनलाई प्रत्यक्ष कुनै राजनीतिक पार्टीको आंगिक संगठन बनाउन नहुने मान्यता राख्ने उहाँ नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेसनले एउटा राजनीतिक पार्टीको प्रत्यक्षमातहतमा काम गर्न थालेकाले त्यहाँ पनि रहनुभएन । २००७ सालको परिवर्तनपछि उहाँले प्रेमबहादुर कंसाकारको नेतृत्वमा स्थापित ‘नेपाल जनवादी प्रजातन्त्र संघ’को मुखपत्र ‘राँको’ प्रकाशनको जिम्मेवारी लिँदै हरेक अंकमा लेख लेख्नुभयो ।

 

२०१३ सालमा भएको नेपाल कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशनमा लाल कम्युनिस्ट पार्टीका प्रतिनिधिका रूपमा सहभागी भई उहाँले लाल कम्युनिस्ट पार्टीलाई नेपाल कम्युनिस्ट पार्टीमा बिलय गर्नुपर्ने प्रस्ताव गर्नुभयो । तर, सो प्रस्ताव अस्वीकृत भएपछि उहाँले लाल कम्युनिस्ट पार्टीमा काम गर्न छोड्नुभयो । 

 

उहाँ कम्युनिस्ट विचारधाराका समर्थक भए पनि २०१४ सालमा भएको काठमाडौं नगरपालिकाको निर्वाचनमा मेयर बनाउन वडा नम्बर ९ बाट उठाएका कम्युनिस्ट पार्टीका उम्मेदवार शम्भुराम श्रेष्ठको विरोधमा उम्मेदवार बन्नुभयो । माणिकलाल श्रेष्ठले जुन–जुन नगरपालिकामा जुन भाषा बोल्ने जनताको बहुमत छ, त्यही भाषालाई नगरपालिकाको आधिकारिक भाषाको स्थान दिइनुपर्छ भनी कम्युनिस्ट पार्टीका उम्मेदवारहरूलाई नारा दिनुभयो । आफ्नो आग्रहलाई कम्युनिस्ट पार्टीले नकारेकै कारण आफैँ उम्मेदवार हुनुभएको कुरा उहाँले बताउनुभएको थियो । शम्भुराम श्रेष्ठलाई पराजित गरी उहाँ काठमाडौं नगरपालिकाको बोर्ड सदस्य बन्नुभयो । अन्ततः २०१५ सालको वैशाखमा काठमाडौं नगरपालिकाको बैठकले उहाँको भाषासम्बन्धी प्रस्ताव पारित गर्‍यो ।

 

२०१७ पुस १ गते राजा महेन्द्रले निर्वाचित संसद् भंग गरी राजनीतिक पार्टीहरूमाथि प्रतिबन्ध लगाएपछि अलोकतान्त्रिक कदमको समर्थनमा नआउने व्यक्तिहरूलाई पक्राउ गर्ने क्रममा माणिकलाल श्रेष्ठ पनि गिरफ्तार हुनुभयो । जेल परेपछि उहाँको शैक्षिक गतिविधि औपचारिक रूपमा रोकियो, तर जेलमा पनि उहाँले राजबन्दी र कैदीलाई पढाउनुभयो । तीन वर्षको बन्दी जीवन बिताएर जेलबाट छुटेपछि उहाँले आठ–नौ वर्ष घरमै अंग्रेजी र कानुन विषय पढाउनुभयो । 

 

जेलबाट रिहा भएपछि विभिन्न समूहमा विभाजित कम्युनिस्ट समूहमध्ये कुनैमा पनि सामेल नभई मनमोहन अधिकारी र शम्भुराम श्रेष्ठ र माणिकलाल श्रेष्ठबीच कम्युनिस्ट एकताका निम्ति प्रयास गर्ने सहमति भएको थियो । तर, पछि मनमोहन अधिकारीले आफ्नै पार्टी खोल्नुभयो । २०३६–३७ सालमा शम्भुराम श्रेष्ठसँग मिलेर माणिकलाल जनमतसंग्रहमा पञ्चायतको विरोधमा अनि बहुदलीय व्यवस्थाको पक्षमा प्रचार अभियानमा लाग्नुभयो । त्यसवेला उहाँहरूले राजनीतिक पार्टीमाथिको प्रतिबन्ध फुकाउनुपर्ने, तर जनतालाई पुँजीवादी संसदीय व्यवस्था नभई जनताको जनवादी व्यवस्था चाहिने कुराको प्रचारलाई जोड दिनुभएको थियो  ।

 

२०४६ सालमा गणेशमान सिंहले पञ्चायती व्यवस्था ढाल्न गर्नुभएको आह्वानलाई समर्थन गर्नुभयो, तर संसदीय व्यवस्था स्थापनाको मागप्रति असहमति राख्दै उहाँ शम्भुराम श्रेष्ठको नेतृत्वमा गठित ‘संयुक्त राष्ट्रिय जनआन्दोलन’मा सहभागी हुनुभयो । त्यसमा मोहनविक्रम सिंह, कृष्णदास श्रेष्ठ, मोहन वैद्य, रूपलाल विश्र्वकर्मालगायतको नेतृत्वमा रहेका कम्युनिस्ट समूह सम्मिलित थिए । माणिकलाल श्रेष्ठ ‘संयुक्त राष्ट्रिय जनआन्दोलन’मार्फत जनआन्दोलनमा लाग्नुभयो । २०४७ सालपछि शम्भुराम श्रेष्ठले नेपाली कम्युनिस्ट लिग गठन गर्नुभयो । शम्भुरामसँग सामीप्यतामा रहेर काम गर्नु भए तापनि उहाँ स्वतन्त्र वामपन्थीका रूपमा जीवनपर्यन्त अडिग रहनुभयो । तर, लिगका कार्यकर्तालाई मार्क्सवादी कक्षा लिने काममा भने उहाँ खटिनैरहनु भयो । 

 

२०६३ सालको परिवर्तनपश्चात् स्थापित गणतन्त्रप्रति उहाँ सन्तुष्ट हुनुभए पनि आदिवासी जनजातिको पहिचानका सवाललाई बेवास्ता गरी लादेको अपूरो संघीयता र अंकुशपूर्ण धर्मनिरपेक्षताको भने उहाँ आलोचक रहनुभयो । २०२० जुन २६ मा एपी–१ टेलिभिजनलाई दिनुभएको अन्तर्वार्तामा उहाँले तत्कालीन नेकपाको सरकारप्रति सदासयता त देखाउनुभयो, तर त्यो सरकारलाई कम्युनिस्ट सरकार भन्न सकिन्न भनेर अभिव्यक्ति दिनुभयो । यसले संशोधनवाद र अवसरवादप्रति उहाँ कहिल्यै भ्रममा नरहनुभएको र जीवनको अन्तिम समयसम्म पनि अडिग रहनुभएको प्रस्टिन्छ । अन्तर्वार्तामा उहाँले आदिवासीहरूको हितको पक्षमा बोल्दै पृथ्वीनारायण शाहले नेपाल राज्य जितेपश्चात् शासनसत्ताको मूलधारमा रहेर लाभ लिइरहेका जातिले आदिवासीमाथि गरिरहेको थिचोमिचोको विरोध र एक समूहले अर्को समूहमाथि गर्ने सबै किसिमको दमन र अत्याचारको विरोधमा बोल्नु पनि कम्युनिस्टहरूको दायित्व हो भनेर प्रस्ट्याउनुभयो । 

 

नेपालका प्रथम महिला अधिवक्ता, प्रथम महिला वरिष्ठ अधिवक्ता र सर्वोच्च अदालतका प्रथम महिला न्यायाधीश हुनुभएकी उहाँको श्रीमती सिलु (सुशीला) सिंह २०२० मे २२ का दिन ८१ वर्षको उमेरमा दिवंगत हुनुभएको थियो । उहाँका दुई छोरामध्ये जेठो प्रा.डा. मलखलाल श्रेष्ठ मुटुको शल्यचिकित्सक हुनुहुन्छ भने कान्छो डा. सितुलाल श्रेष्ठ फेसियल म्याक्सिलरी सर्जरीमा विद्यावारिधि हुनुहुन्छ । एक मूर्धन्य लेखक समालोचक एवं विचारकका रूपमा आदिवासी जनजाति एवं नेवाः जातिको हकहितको पक्षमा सदा समर्पित प्रोफेसर श्रेष्ठको अवसान

 

आदिवासी जनजाति तथा नेवाः एवं न्यायका हिमायती सम्पूर्ण नेपाली समाजका निम्ति नै ठूलो क्षति हो । उहाँले छोडेर जानुभएको बौद्धिक बिरासत बहुजातीय बहुभाषीय बहुधार्मिक देश नेपालको उज्वल भविष्यका निम्ति मार्गदर्शकका रूपमा रहिरहनेछ ।

 

(नेदरल्यान्ड को लाइदन विश्वविद्यालयबाट मानवशास्त्रमा विद्यावारिधि गरेका लेखक श्रेष्ठ बेलायतको अक्सफोर्ड विश्वविद्यालयसँग आबद्ध अनुसन्धानकर्ता हुन् । उनी हाल लाइदन विश्वविद्यालयमा ‘दक्षिण तथा दक्षिण–पूर्व एसियाका सरकार र राजनीति’बारे अध्यापनरत छन् ।)