• वि.सं २०८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024
प्रकाश थाम्सुहाङ
२०७७ चैत २१ शनिबार ०८:२२:००
साहित्य

याम्बुनेर : पहिचानविहीनका कथा

२०७७ चैत २१ शनिबार ०८:२२:००
प्रकाश थाम्सुहाङ

विधा  : कथा
लेखक : बिना थिङ
पृष्ठ   : १७५
प्रकाशक   : फिनिक्स बुक्स
मूल्य  : रु. ३००

 

नोवल पुरस्कार विजेता चिनियाँ लेखक मो यान भन्छन्, ‘मेरो कथाको स्रोत मेरी आमा हुन् ।’ काठमाडाैँ उपत्यका पनि कथाले भरिएको छ । देशलाई प्रत्यक्ष प्रभाव पार्ने राजनीतिक कथा काठमाडाैँले निर्माण गर्छ । देशको केन्द्र उपत्यकालाई वरिपरि घेरेको भिरालो पाखामा एउटा समुदाय सदियौँ कथा निर्माणमा जद्दोजेहाद लागिरहेको छ । विशेषतः उनीहरूको कथा अस्तित्वसँग जोडिएको छ । कवि रावतको भाषामा यो राजधानी मास्तिरको राजधानीको कथा हो । सत्ताले सदैव चौकीदार र पिपा मात्र बनाइरहेको अथवा देखिरहेको दुर्दान्त कथा छातीमा बोकेर त्यो समुदाय सीमान्तकृत बाँचिरहेको छ । त्यो समुदायले आफ्नो मातृभाषामा काठमाडौंलाई याम्बु भन्दा रहेछन् । यही याम्बुनेरको झोँकको कथा, मानवीय मूल्य–मान्यताको कथा, संस्कृति–प्रकृति आदिको कथा एक लेखकको माध्यमबाट अभिव्यक्त भएर पुस्तकका रूपमा आएको छ । 

 

कविता लेखनमा स्थापित नाम विना थिङको पछिल्लो कथाकृति हो याम्बुनेर । जहाँ १३ थान स्थानीय स्वादका कथा संग्रहित छन् । देशको राजधानीनजिकै थातथलो भए पनि बत्तीमुनिको अँध्यारो भनेझैँ बाँच्न अभिशप्त समुदायको कथा हो याम्बुनेर । जहाँ सत्ताको उज्यालो नछिर्दा जीवन अँध्यारो छ । देशमा शिक्षा सीमित वर्ग र समुदायको पेवा भइदिँदा याम्बुनेरमा अज्ञानता छ । तसर्थ, रोष छ केन्द्रीकृत सत्ताप्रति । विद्रोह पनि छ । तर, महान् संस्कृति समुदायको सम्पत्ति भएमा मानिसले अवषादमा बाँच्नुनपर्ने रहेछ । संस्कृतिले संघर्ष गर्ने उत्प्रेरणा दिँदोरहेछ । जीवनलाई जीवन्त राख्दोरहेछ । याम्बुनेरका कथाका चरित्रले यस्तै मिहीन ढंगले गम्भीर कुरा बोलेका छन् । नगण्य लेखिएको समुदाय र भूगोलको कथा यति समीचिन र बलशाली रूपमा आउनु नेपाली साहित्यका लागि महत्वपूर्ण प्राप्ति हो । विगतमा नेपाली आख्यान लेखनमा एकल संस्कृति र समुदायको मिथक, मिमांसा मात्र लेखिँदै आइरहेको सन्दर्भमा समाजको विविधताअनुसार आख्यान लेखिनु घच्चीको विषय हो । यसो हुँदा सबै वर्ग समुदायका पाठकले अपनत्व महसुस गर्छन् ।

 

अहिले स्थानीय स्वादको लेखन चर्चाको विषय भएको छ । विगतमा लेखकको ज्ञानचक्षुले छाम्न नसकेका वा नजरअन्दाज गरेका गम्भीर स्थानीय विषय लेखनीमा आइरहेका छन् । त्यसो त गायत्री स्पिभाकले भनेकी छिन्,‘बोल्न नसक्नेका लागि बोलिदिनुपर्छ ।’ तर, आजको विश्वमा बोल्न नसक्नेको बोली फुट्दै छ । आफ्नो चासो र अस्तित्वको लडाइँ आफैँले लड्ने हिम्मत जुटाउँदै छ । राज्यसत्ताले मासिने जातिमा राखेको, बोल्न सक्दैन भनेको समुदायको सिर्जनात्मक विद्रोह हो– याम्बुनेर । महत्वपूर्ण पक्षचाहिँ आफ्नो समुदायको विषयमाथि त्यही समुदायको लेखकले लेखेको कथा हो । यसो हुँदा प्रामाणिकता थप बलियो भएको छ । भारतीय दलित लेखनमा एक समय कुरा उठेको थियो, ‘अरूले दलित विषयमाथि लेख्दा प्रामाणिकता पुगेन । भाव गम्भीरता पनि पुगेन ।’ यी आरोपबाट कथा जोगिएको छ । के त्यसोभए कुनै समुदायको पहिचानका लागि लेखिएको मिसन साहित्य मात्र हो त ? कथाको दृष्टिकोणमा नारा हाबी भएको छ त ? मात्र बिलकुलै होइन । एउटा निश्चित समुदायको पात्रसँग भइपरि आउने समाज र राज्यसत्ताको द्वन्द्व पनि हो याम्बुनेर । जहाँ कथालाई चाहिने टुल कलात्मक प्रयोग भएका छन् । शील्प पक्षले पाठकलाई बाँधिराख्ने क्षमता राख्छ । कथाको विषयवस्तुमा पनि विविधता छ । त्यो समाज, समुदायको कथा किन अँध्यारो भयो ? किन सेपिलो भयो ? कारण खोज्ने जिम्मा पाठकमा पनि आइपर्छ । 

 

प्रायः प्रत्येक लेखकसँग आ–आफ्नै निजत्व हुन्छ । त्यो निजत्व शील्पमा झल्किन्छ । अर्को, लेखकलाई सहज लाग्ने वा प्रिय लाग्ने आ–आफ्नै क्यानभास हुँदोरहेछ । त्यो क्यानभास भूगोलको हो । लेखकले अनुभूत गरेको समाजको हो । जस्तो कि विना थिङका अधिकांश कथामा तामाङ समुदायका पात्र आएका छन् । भूगोल आएको छ । आरके नारायणले तमिलनाडु, नयनराज पाण्डेले पश्चिम तराई र राजन मुकारुङले माँझकिरातको भूगोल र पात्र लेखेझैँ । संग्रहमा पहिलो कथा छ– आनी पेमा । यो कथा बौद्ध धर्मावलम्बीहरूको गुम्बामा आनी बस्न जाने चलनमाथि लेखिएको कथा हो । प्रायः छोटा वाक्य, सुललित भाषामा लेखिएको उक्त कथाले गुम्बाको दैनिकी, बौद्धदर्शन, प्रेम र कर्तव्यबीचको मनोवैज्ञानिक द्वन्द्वलाई उजागर गरेको छ । गृहस्थी जीवन त्यागेर बुद्घमै समर्पित आनीको जीवनमा जब बौद्घधर्म अध्ययनका लागि आएको युवकको प्रवेश हुन्छ तब धर्ममाथि प्रेम हाबी हुन्छ । धर्मसंस्कृति आफ्नो ठाउँमा छ, तर प्रेम पनि मानिसको नैसर्गिक अधिकार हो कथा बोल्छ । तर, रिम्पोछे पात्रमार्फत जब तृष्णामाथि व्याख्या आउँछ, लाग्छ आनीले दिग्भ्रमित हुनुहुँदैन । उनी बुद्घमै समर्पित हुनुपर्छ । यस्तो द्विविधा पाठकमा उत्पन्न हुनु लेखकीय सफलता हो ।

 

संग्रहमा अर्को कथा छ ‘सिफनको फेरो’ । यो कथाले देशकै विकराल समस्या चेलीबेटी बेचबिखनलाई विषय बनाएको छ । यति भारी र अँध्यारो विषयमाथि कथा लेखिए पनि बोझिलो भएको छैन । कथामा कल्पनाशीलताको प्रयोग उचित ठाउँमा भएको छ । केवल झोक चल्छ पाठकलाई, यी मानिस यति सोझा किन भए ? यिनीहरूसम्म शिक्षा, चेतना किन पुगेन ? अवसर किन पुगेन ? बारम्बार बेचिनु नियति किन बनिरहेको छ ?

 

नेपालमा संस्कृति र कानुनबीच सदैव द्वन्द्व चल्छ । नीति–कानुन निर्माताहरूले नेपालको विविधतालाई अस्वीकार गर्दाको परिणामले यस्तो भएको हो । संग्रहको शीर्ष कथा याम्बुनेरले सत्ता र संस्कृतिको द्वन्द्वलाई उजागर गरेको छ । सत्तालाई विविधता मन पर्दैन । सत्तास्वार्थले सीमान्त समुदायको संस्कृतिलाई सदैव निषेध गरिरहेको छ, यही चित्र देखाउनु यो कथाको अभीष्ट हो । कथाकी पात्र छिन् सोममाया । उनी याम्बुनेर बस्छिन् । उनले पिँढीदर पिँढी सिकिन् जाँड पार्न, रक्सी पार्न । उनले आमाबाट सिकेको सीप नै त्यही हो । विविध कारणले पढ्न पाइनन् । दोष राज्यको पनि हो । जानेकै त्यही एउटा सीपबाट उनी अलिअलि कमाइ गर्छिन्, तर राज्यलाई त्यो गैरकानुनी लाग्छ । जाँड घोप्टाइदिन्छ । थुन्ने धम्की दिन्छ । तर, सोममाया पनि अटेरी छिन् । विदेशी रक्सी बेच्न हुने मैले नहुने भन्छिन् । सोममायाको अटेरीपन सांस्कृतिक अतिक्रमणविरुद्घ बलियो प्रतिकार लाग्छ ।

 

संग्रहका प्रायः कथाको भाषा काव्यिक छ । कथाकार कवि पनि भएका कारण यस्तो हुन सक्छ । भाषा काव्यिक भएपछि शब्द गहकिला हुँदा रहेछन् । एउटा कथा छ– गंगारामको साइकल । यो कथा मकवानपुर हेटौँडाको पृष्ठभूमिमा छ । यो कथामा बाल चञ्चलता छ । यो कथाको सबैभन्दा बलियो पक्ष दृष्टिकोण हो । जो रंगभेदविरुद्घ बोल्छ । हाम्रो समाजमा रंगकै कारण कसरी मधेसी मूलका मानिस भुइँमा परिरहे, कथा बिम्बमा बोल्छ । मानिसको स्वभाव रंगले निर्धारण गर्दैन, गंगारामको साइकल यही बोल्छ । कथामा क्रान्तिकारिता छैन, राजनीतिको ओभरडोज छैन । तर, भनिनुपर्ने, सुनाउनुपर्ने कुरा कलात्मक ढंगले भनेको छ । सम्भवतः सिर्जनाको शक्ति भनेको यही होला । समग्रमा याम्बुनेर पहिचानविहीनको कथा हो । राज्यसंयन्त्रले पिँधमा पारेको समुदायको कथा हो ।

 

अन्त्यमा, एकाध कथाहरूमा देखिएको अति नाटकीयता, सिनेमा प्रभावझैँ लाग्ने कथानकतालाई नजरअन्दाज गर्नु हो भने याम्बुनेर नेपाली कथा साहित्यमा पछिल्लो समय आएको गहकिलो कृति हो । जहाँ डम्फुको तालझैँ लाग्ने शालीन विद्रोह छ । जहाँ विचारको ‘भ्यापर’मा शिल्पको पानी मिश्रण भएर कथाको स्वादिलो जाँड निर्माण भएको छ ।