• वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
राजकुमार दिक्पाल
२०७७ चैत २१ शनिबार ०९:५२:००
इतिहास

पारिजातको अधुरो प्रेम

२०७७ चैत २१ शनिबार ०९:५२:००
राजकुमार दिक्पाल

जसरी घामको परिचय दिनुपर्दैन, त्यस्तै हो पारिजातको परिचय दिइरहनु पनि । नेपाली साहित्यको आकाशमा चम्किरहेकी उज्ज्वल नक्षत्रको रूपमा बाँचिरहेकी उनले जीवनमा भोगेका अनेकौँ घटना छन् । ती घटनालाई विविध कोणको आयामले हेर्न सकिन्छ । विष्णुकुमारी वाइबा नामकी एक संवेदनशील महिला कालान्तरमा एक बेजोड साहित्यिक प्रतिभा भएर नेपाली साहित्यको आकाशमा उदाइन् । उनको चर्चाको विषयमध्ये उनको प्रेम प्रसंग पनि चाखलाग्दो छ । यसै विषयमा यहाँ केही सन्दर्भ उल्लेख गरिन्छ ।

 

दार्जिलिङको चलन । त्यो वेला प्रेमपत्र चल्नु, डेटिङ गर्नु, त्यसपछि भागेर बिहे गर्नुलाई नै प्रेमको परिभाषाभित्र राख्ने चलन भएको वेला हुरीमा बहकिँदै जाँदा परिजातलाई पनि उनको किशोरावस्थामा त्यो चलनले छोएरै छाड्यो । तर, उनीसँग थिएन, प्रेमको ठोस परिभाषा । 

 

ठीक त्यसै समयमा बाटोतिर भेट हुने एउटा सुन्दर विद्यार्थीमाथि कैयौँ दिनदेखि उनका अस्थिर आँखाहरू टक्क अडिएर केही क्षण स्थिर भइदिन्छन् । उनको मनमा एउटा छाप बस्छ । धेरै छटपटी पन्छाएर उनी यस स्थितिलाई प्रेमको सुरुवात भनी स्वीकार गर्छिन् । तर, यिनै सभ्य महान् लाग्ने मान्छेसँग यस अन्तरकथाको एउटा असफल भाग टुंगिन्छ । (पारिजात, ‘धूपी, सल्ला र लालीगुराँसको फेदमा’ २०५४, पृ. २८)

 

त्यो समय ती मानिसले उनलाई एउटा प्रेमपत्र प्रस्तुत गर्छन् । उनलाई प्रेमपत्रहरूको ओइरो लागिरहेकै हुन्छ । धेरैवटा प्रेमपत्रमध्ये उनको प्रेमपत्र उनका लागि विशेष हुन पुग्छ । उनी आवेशमा आउँछिन्, र त्यसलाई स्वीकृति दिन्छिन्, तर उनी लुकिदिन्छिन् । उनमा डर हुन्छ, ‘प्रेम सुरु भएपछि भेट गर्नुपर्छ, घुम्न जानुपर्छ, हात समाउनुपर्छ, होटलमा खानुपर्छ ।’ यस्तो सम्झिँदा उनको आङ खुम्चिन्छ । उनी एकान्तमा रुन्छिन् । केही थोरै प्रेमपत्रहरू आदानप्रदान हुन्छ । उनमा बोल्ने र भेट्ने साहस हुँदैन । अपरिपक्व अवस्थाको त्यो अधुरो प्रेम त्यतिमै टुंगिन्छ । प्रेमकथालाई यहीँ स्थगित गरिरहने सम्झौता गर्दै, एकले अर्कालाई मनभित्र सँगाल्दै यथार्थमा उनीहरूले त्यागिदिन्छन् सधैँका लागि । (पारिजात, उही) पारिजातको किशोरावस्थामा दार्जिलिङमा अंकुरण हुन पुगेको प्रेमकथा परिपक्व नभई त्यत्तिकै स्थगित हुन पुग्छ ।

 

भूपी शेरचनको मरिहत्ते
पारिजातको चर्चित उपन्यास ‘शिरीषको फूल’लाई शङ्कर लामिछानेको भूमिका लेखनले पनि उचाइमा पुर्‍याउन सहयोग गर्‍यो । यही उपन्यासले उनी नेपाली साहित्यमा एउटा इतिहास रचना गर्न सक्षम भइन्, मदन पुरस्कार पाउने पहिलो नेपाली नारी प्रतिभाका रूपमा । नेपाली साहित्यको क्षेत्रमा पारिजात र शङ्कर लामिछानेबीच प्रेम भएको आशङ्का गर्ने र कुरा काट्नेहरू पनि प्रशस्तै थिए । कतिपय साहित्यकारसँग पारिजातको नाम जोडियो पनि ।

 

पारिजातको नाम लोकप्रिय कवि भूपी शेरचनसँग पनि जोडियो । पारिजातकै शब्दमा भूपीसँग उनको घनिष्टता चरमबिन्दुमा पुगेको थियो । काठमाडौंमा आयोजना हुने साहित्यिक गोष्ठीतिर भूपीको कविता सुनेर उनको प्रतिभाको परख पारिजातले गरिसकेकी थिइन् । 

 

उनका लागि दान खालिङ र पासाङ गोपर्मासँगको भेट र उनीहरूबाट लेखन क्षेत्रमा प्राप्त भएको प्रोत्साहन र व्याकरण अध्ययनको प्रेरणाले उनमा ऊर्जा प्राप्त भइरहेकै वेला वासु शशी, भूपी शेरचन, भीमदर्शन रोक्का तथा मदन विगोगीहरूको कविताले असाध्यै स्पर्श गर्न थाल्छ उनलाई । (पारिजात, ‘अध्ययन र संघर्ष’, २०५४, पृ.१३५)

 

समयक्रममा एउटा गोष्ठीमा कवि वासु शशीसँग पारिजातको भेट परिचयमा साटिन्छ । एक साँझ सडकमा हावा खान निस्केकी हुन्छिन् पारिजात, त्यसवेला उनको वासु शशी र भूपी शेरचनसँग भेट हुन्छ । अभिवादनपछि शशीले पारिजातसँग भूपीको परिचय गराइदिन खोज्छन्, ‘यहाँ आऊ न भूपी, पारिजातसँग परिचय गरौँ ।’
तर भूपी तर्किन्छन् । उनी परैबाट ‘भैगो शशी, मेरो परिचय भइसकेको छ’ भनेर तर्किंदा भूपीको व्यवहार पारिजातका लागि ननिको लाग्छ । त्यसपछि उनमा भूपीप्रति एउटा फणा फुकाएको अभिमानबाहेक केही पनि रहँदैन । भूपीको उपस्थितिको डरले पारिजात साहित्यिक गोष्ठीतिर पनि उपस्थित हुन हच्किन थाल्छिन् । (पारिजात, उही, पृ. १३६–१३७)

 

एक दिन पारिजातकी एक आत्मीय साथी सत्यभामा माथेमाले दाजु बनाएर पारिजातको कोठामा भूपीलाई ल्याउँछिन् । भूपीको अकस्मात् उपस्थितिमा पारिजात झस्किन्छिन् । त्यसैले उनले भूपीको त्यो उपस्थितिलाई ‘सत्यभामाको दाजु’ नाताका रूपमा लिइदिन्छिन् । यसरी भूपी र सत्यभामाको आत्मीयतामा बगाल लागेर भूपी र उनको पनि मित्रतामा विकास हुन थाल्छ । वासु शशीले पहिले परिचय गराउन खोज्दा भूपी तर्केका थिए । यसको कारण पारिजातले भूपीलाई सोध्छिन् । भूपी भन्छन्, ‘तिमी बजारु केटीजस्तो लाग्थ्यो, त्यसैले ।’ समयक्रममा भूपीले पारिजातलाई र पारिजातले भूपीलाई राम्ररी चिन्छन् । त्यसपछि यी लोकप्रिय कविसँग घनिष्टताको चरमबिन्दुमा बाँधिइन पुग्छिन् पारिजात । (पारिजात, उही, पृ.१३६–१३७)

 

भूपीको व्यक्तिगत र साहित्यिक व्यक्तित्वले पारिजातमा विशेष प्रभाव पार्दै गएको देखिन्छ । त्यतिखेरको साहित्यिक क्षेत्रमा भूपीका आलोचकहरू पनि निकै थिए । कुनै समय आफ्नो नाम ‘भूपेन्द्र सर्वहारा’ लेख्ने भूपीलाई ती आलोचकहरूले ‘भूपी शेरचन’ भइसकेपछिको उनको क्रान्तिकारिता र सर्वहाराबोधलाई एउटा रुमानी दुस्साहससम्म भन्न भ्याइरहेका थिए । पैसा प्रशस्त लुटाउन सक्ने भूपीको प्रतिभाभित्र पारिजातले भने पैसाको कुनै ठाउँ देखिनन् । रवाफ नछाड्ने भूपीलाई सम्भवतः यसको आवश्यकता पनि कहिल्यै परेन । यी सबै असम्झौताका घाउभित्र पिल्सिएको भूपीलाई पारिजात चिन्छिन् । यही बिन्दुमा पारिजातलाई उनको असंख्य माया लागेर आउँछ । (पारिजात, उही, पृ.१३७)

 

पहिले वामपन्थी पृष्ठभूमिका भूपी पछि पञ्चायतमा प्रवेश गर्छन् । लैनसिंह बाङ्देल कुलपति र माधवप्रसाद घिमिरे उपकुलपति भएका वेला भूपी तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्यका रूपमा पञ्चायतमा प्रवेश गरेका थिए । भवानी घिमिरेलगायत प्रगतिवादी लेखकले भूपीको प्रज्ञा प्रतिष्ठानको प्रवेशलाई निको मानेका थिएनन् । सम्भवतः पारिजात पनि भूपीप्रति असन्तुष्ट थिइन् कि !

 

पारिजातको डेरामा विभिन्न छिमलका कवि तथा लेखकहरू गइरहन्थे । पारिजातको पुतलीसडकको त्यो डेरा साहित्यिक तीर्थधामजस्तै थियो । तीमध्ये एक थिए, गजलकार ललिजन रावल । एक दिन ललिजनले पारिजातलाई भूपीसँगको सम्बन्धबारे सोध्दा पारिजातले स्पष्टीकरण दिइछन्, ‘भूपीलाई म एउटा साथीको रूपमा मात्र हेर्थेँ, जहाँसम्म प्रेमको कुरा छ, मैले भूपीलाई कहिल्यै प्रेम गरिनँ ।’ (रावल, ललिजन ‘पारिजात स्मृति ग्रन्थ’ २०५१, पृ.१०९–११०)

 

०४५ सालतिर एक बिहान पारिजातले ललिजन रावललाई फोन गरेर बोलाइन् । ललिजन पारिजातको डेरामा पुग्दा एकदमै तनावमा थिइन्, परिजात । कुरा के परेछ भने भूपी पारिजातको डेरामा आएछन् । उनले एउटा एल्बम पनि बोकेका रहेछन् । एल्बमको पहिलो पातामा पारिजातको ठूलो फोटो राखिएको रहेछ । त्यो देखाउँदै भूपीले पारिजातलाई भनेछन्, ‘तिमीले साथ नदिएर म बिग्रिएँ ।’ भूपीको यो व्यवहारले पारिजात आवेशमा आइछिन् र भनिछिन्, ‘तुरुन्तै यहाँबाट गइहाल । मलाई तिम्रो कुरा सुन्ने फुर्सद छैन ।’

 

पारिजात स्वयं तथा भूपी र उनको सम्बन्धबारे देखिजान्ने र सुनिजान्नेहरूको कुरा बुझ्दा यी दुईबीच घनिष्टताको चरमबिन्दुमा पुगेको मित्रता थियो । पछि पारिजातको भूपीप्रतिको आत्मीयता टुट्दै गइरहेको देखिन्छ । तर, भूपी भने पारिजातको डेरामा धाउन छाडेका थिएनन् । एक दिन भूपी पारिजातको डेरामा आएर बसिरहेका थिए । तर, पारिजात त्यहाँ थिइनन् । त्यतिखेरै मातृकाप्रसाद पोखरेलहरू पनि पारिजातलाई भेट्न पुगेका रहेछन् । लामै समय कुरेपछि सुकन्याले भूपीलाई भनिछन्, ‘दिदी त अन्त कतै गइन् होला, के गर्ने भूपी दाइ ?’ भूपीले भनेछन्, ‘कुर्छु, कुर्छु, घुर्छु ।’ कुरा २०४५ सालतिरको हो ।

 

बल्ल भूपी त्यहाँबाट हिँडे । उनी बाटो लागेपछि पारिजातको कोठामा प्रवेश भयो । उनले मातृकाप्रसाद पोखरेलहरूलाई भनिछन्, ‘भूपी आउने थाहा पाएरै म अर्को कोठामा लुक्न गएकी थिएँ ।’ (प्राज्ञ मातृकाप्रसाद पोखरेलसँगको कुराकानी) यसरी पारिजातले भूपीसँग क्रमशः दूरी बढाउँदै गएकी थिइन् ।

 

यौनसम्बन्धदेखि भय
स्वाभिमानी र निर्भीक सर्जक हुन्, पारिजात । आफ्नो कुरा खुलस्त व्यक्त गर्न सक्ने क्षमता थियो, उनमा । उनी यौनका बारे र त्यसमा आफ्नो अनुभव पनि खुलस्त राख्थिन् । उनको यस्तो अन्तरंग पत्रहरू प्रकाशमा आएका छन् ।

 

डा. महेश मास्के (चिकित्सक, कवि तथा कूटनीतिज्ञ) पारिजातका ठूलो हितचिन्तक हुन् । राजनीतिक विचारबाट पनि यी दुई निकट । पारिजातले आफ्ना अन्तरंग कुराहरू डा. मास्केसँग पत्रमार्फत् खुलस्त बताएकी थिइन् ।

 

६ वैशाख ०४० मा लेखिएको पत्रमा उनी भन्छिन्, ‘... मैले आफूलाई विवश भएर एउटा पुरुषसँगको शारीरिक सम्पर्कमा हुत्याइदिनुपर्दा ममा अमानवीय किसिमको धारणा विद्यमान थियो । यदि त्यो पुरुष सभ्य भइदिएको भए मेरो गलत धारणामा सुधार हुन सक्थ्यो होला, तर त्यो हुन सकेन । एकातिर म अति संकोचशील र विवश अर्कातिर ऊ अति कामुक असभ्य र परपीडक, अनि जटिलता त आउने भइगयो । ...जुन वेला यो सम्बन्ध कायम भएको थियो, त्यो वेला म चर्को रूपले बिरामी पनि थिइनँ । शारीरिक रूपले सुन्दर साथै सक्षम पनि थिएँ । तर, मैले त्यो व्यक्तिसँग शारीरिक सम्बन्ध चाहेकी थिइनँ । त्यो पीडादायक सम्बन्ध सम्झिँदा अझ पनि सेक्सुअल रिलेसनदेखि मलाई डर लाग्छ । (‘वेदना’, पूर्णाङ्क ५४–२०५२ वैशाख–असार, पृ. १८–२४)

 

पारिजातले डा. महेश मास्केलाई लेखेको पत्रहरूमा एकजना नारी सर्जकले समाजमा भोग्नुपर्ने अनेकौँ चुनौतीबारे पनि खुलस्त पारेकी छन् । उनीसँग एकान्त खोज्ने, प्रेम (यौन) आग्रह गर्नेहरू पनि देखिए । उनलाई ‘शिरीषको फूल’को सकम्बरी देख्नेहरू पनि निस्के । उनको चर्चा भट्टीतिर पनि भयो । फोटो प्रदर्शन गरेर एकापसमा झगडा गर्ने मर्द लेखकहरू उनीकहाँ आएर एकअर्काको निन्दा गर्थे । उनीसँग नजिक हुन खोज्ने, पैसा लुटाउनेसम्म देखिए । यति मात्रै नभएर उनको कोठामा मातेर आइदिने, आधारातमा मातेर आएर ढोका घचघच्याउने, सडकबाट बोलाइदिने व्यवहार भोग्नुपर्‍यो पारिजातले । (वेदना, उही) यस्ता व्यवहारले पनि पारिजातलाई सङ्घर्षशील बनाउँदै लग्यो । सङ्घर्षशील सर्जक पारिजातलाई शारीरिक अस्वस्थता, आर्थिक अभाव र अनागरिक हुनुको पीडाहरू नगण्य हुन थाले ।

 

बिर्सिनसक्नु त्यो पहिलो प्रेम
कतिपयको नामसँग पारिजातको नाम जोडेर चर्चा गर्नेहरूको सामना गर्नुप¥यो, पारिजातले । तर आफू किशोरावस्थामै जोसँग प्रेममा परिन्, त्यो प्रेमलाई उनले जीवनभर भुल्न सकिनन् । २०१० सालमा जब पारिजात नेपाल आइन्, त्यसपछि उनीहरूबीचको प्रेम अधुरै अवस्थामा टुट्यो ।

 

उनमा यो अधुरो प्रेमप्रति निकै ठूलो पछुतो देखिन्छ । यसप्रति उनी आफूले आफैँलाई ठगेको, छलेकोजस्तो लाग्छ । प्रेममा विश्वासघात गरेर आर्जन गरेको अपराधबोध हुन्छ । उनमा आफ्ना प्रेमीलाई सपनामा देख्नु र रुनु छुटेको हुँदैन । 

 

उनी यसो आफूलाई छामेर हेर्छिन्, फेरि पनि प्राप्तिको लोभ छैन, उनीसँग । न कुनै शारीरिक मोह छ । सम्भव छ, उनको अवचेतनामा ठूलै दखल दिएर बाँचेको होस्, यो अधुरो कथालाई नकार्न सक्ने प्रमाण हुँदैन उनीसँग । उनी झन् बढी आकुलव्याकुल हुन थाल्छिन् । चिठी लेख्न मन लाग्छ, तर उनी के सोच्दा हुन् ? डर पनि लाग्छ । लेकाली खोला र डुङ्गाको कापबाट फुलेको फूलदेखि कति टाढा आइसकेको छ समय । उनलाई उनको याद आउँछ, कति प्रगति गरेर कति सुखी भएर बाँचेका होलान् उनी ? सोच्छिन्, विस्मृतिको चिहानमुनि पुगिसके होलान्, ती दिनका सम्झनाहरू उनका निम्ति । (पारिजात, ‘अध्ययन र संघर्ष’, उही, पृ.१४१–१४२) 

 

पारिजातलाई संवाद गर्न मन लाग्छ, आफ्ना पूर्वप्रेमीसँग । दार्जिलिङकी एक साथीमार्फत उनको ठेगाना मगाउँछिन् । स्नातक भएर पनि प्रशासनतर्फ अधिकृत भइसकेका रहेछन्, उनी । हत्केलाभरि पसिना झिकेर एउटा पत्र पठाउँछिन् । प्रत्युत्तर पनि तुरुन्तै आउँछ । पत्रमा सानो क्षमायाचना छ, मानवताको नाममा । उनको विवाहको सूचना पत्रलाई पछ्याउँदै एउटा निम्तो पत्र पनि आइपुग्छ । निम्तो पत्र उनकै विवाहको हुन्छ । यस पत्रले एउटा पहाड खस्कन्छ, पारिजातको छातीदेखि । उनी शिर उठाउँछिन्, अनाशय र सोध्छिन् आफैँलाई, छ केही गुनासो यस आकस्मिकतासँग ?(पारिजात, उही)

 

अब उनको त्यो अधुरो प्रेम क्रमशः ‘ट्रजेडी’मा बदलिन्छ । उनले २०३९ साल पुस ४ गते डा. महेश मास्केलाई लेखेको पत्रमा ‘आज पनि मलाई एक्लै घुम्न मन लाग्छ । तर...घर परिवार, लोग्ने र आत्मसमर्पणबाट आतङ्कित भएर मैले त्यस्तो विधि मन पराएको मान्छेलाई प्रेम गर्न सकिनँ । बाटो बिराएँ र आफ्नै पाइतालाभरि काँडा रोपेँ । मैले घर पाइनँ । घर नपाएर मैले खुला आकाश पनि पाइनँ । त्यसैले मेरो प्रथम प्रेम ट्रेजेडी हो, बाँकी मात्र दुःख हुन् । दुःख भन्ने कुरा बिर्सिंदै जाने हो । तर, ट्रेजेडी बल्झी–बल्झी मान्छेलाई आक्रान्त पार्ने तर्साउने क्षण हो । यो भोग्नेलाई मात्र थाहा हुन्छ ।’ (मास्के, डा. महेश, ‘पारिजात स्मृति ग्रन्थ’ २०५१, पृ.११–१२)

 

पारिजातले आफ्नो पहिलो प्रेमीका बारेमा बारम्बार जसको सम्झना गर्ने गर्थिन्, उनको नाम हो धनुवर मुखिया । हुन त पारिजातले आफ्ना प्रेमीसँग उनको भावनात्मक प्रेम सम्बन्ध मात्र भएको संकेत गरेकी छिन्, आफ्ना लेखनहरूबाट । तर, उनी दार्जिलिङमा हुँदा भाडाको कोठामा धनुवरसँग सँगै बस्थिन् भनेर लालकोठीका घरधनी चन्द्र राईले भनेको चर्चा पनि हुने गरेको छ । (सेर्मा, मुनाराज, अनलाइनखबर डट कम–२०७७ साउन १६)

 

तर लेखकले पारिजात कुन समयमा आफ्ना प्रेमीसँग सँगै बसेकी हुन्, त्यो भने खुलाएका छैनन् । उनका संस्मरणहरूमा पनि यो प्रसंग पढ्न पाइँदैन । तर पनि पारिजातको जीवनका यी अविस्मरणीय पात्रका बारेमा उनी डा. महेश मास्केलाई लेख्छिन्, ‘...सेक्सलाई लिएर आक्रमण र समर्पण दुवै छैन मसँग र पनि भन्छन् मान्छेहरू म के गरूँ ? मेरो फस्ट लभरसँगको शारीरिक चाहना अझ पनि छ मसँग तर म अमर्यादित हुन चाहन्न । उहाँले मेरो हात मात्र समाइदिँदा पनि मलाई सुखद अनुभूति हुन्छ, पहिले होइन आजभोलि । तर, त्यसअघिको चाहनालाई म उहाँको अघि रोएर पचाइदिन्छु । यो दुःख एकतर्फी छैन, उहाँ पनि मजत्तिकै दुःखी र विचलित भएर बाँच्नुभएको छ । उहाँ सभ्य हुनुहुन्छ, त्यसैले मेरो मर्यादाको रेखा नाघ्न सक्नुहुन्न...।’

 

दार्जिलिङवासी लेखक शरद प्रधानसँग भेट हुँदा पनि पारिजात धनुवर मुखियाको हालखबर सोधिरहन्थिन् । अहिले दुवैजना यो संसारमा छैनन् । (प्रधान, शरद, ‘इकागज डट कम’ २०७७ पुस ११) उनले भोगेको आफ्नो ट्रेजेडी सम्झेर उनी वेला–वेलामा रुन्थिन् । उनले यो ट्रेजेडी गीतका लयहरूमा पनि उनेकी छिन् । 

 

उनी रामेश, रायनहरूको प्रतिभादेखि प्रभावित थिइन्, उनीहरूलाई भाइका रूपमा माया गर्थिन् । उनीहरू पारिजातको डेरामा पुगिरहन्थे । एक दिन उनले एउटा कागज थमाउँदै रामेशलाई भनिन्, ‘तिमीलाई एउटा कोसेली...।’ केही दिनपछि एक साँझ पारिजातसमक्ष उनले उनको गीति भावनालाई स्वर शृंखलामा राखेर सुनाए । गीत गाउँदा–गाउँदै पारिजातले आँसु झार्न थालिन् । घोप्टो परेर रुन थालिन् । आफ्नो अभिव्यक्तिले आफैँ मर्मान्त बनिन्, उनी । (रामेश, ‘पारिजात स्मृति ग्रन्थ’ २०५१, पृ.३९)
गीतका शब्दहरू यस्ता छन् :

 

मर्न मन लाग्छ मायालु रातसँगै मध्याह्नसँगै
डुब्न मन लाग्छ मायालु साँझसँगै आकाशसँगै ।

 

धेरै चिसो इनारभित्र हिउँद वसन्त साँचिरहेछु
एकान्तजस्तै सधैँ एक्लै वारिसविना बाँचिरहेछु
डढ्न मन लाग्छ मायालु घामसँगै बालुवासँगै
जल्न मन लाग्छ मायालु रापसँगै खरानीसँगै ।

 

हुरी चल्ने गोरेटोभरि उड्न त्यसै मन गरेछु
मरिसकेको बगरमाथि बग्न त्यसै चाह गरेछु
झर्न मन लाग्छ मायालु शीतसँगै असिनासँगै
जम्न मन लाग्छ मायालु हिउँसँगै तुसारोसँगै ।

 

प्रेम कुनै त्यो बिस्कुन होइन, जो अञ्जुलीबाट पोखाएर फेरि उठाउन सकियोस् । प्रेम त अञ्जुलीभरिको त्यो पानी हो, जो फेरि पोखिएपछि उठाउन सकिन्न । पारिजातको प्रेममा पनि यस्तै भयो । अधुरो रह्यो उनको प्रेम ।