• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सुशीला शर्मा
२०७७ चैत २८ शनिबार ०७:५२:००
इतिहास

मिथकबाट कतिन्जेल सञ्चालित हुने ?

२०७७ चैत २८ शनिबार ०७:५२:००
सुशीला शर्मा

सबै पुरुष लेखकले महिला पात्रलाई न्याय गरेर लेख्न सकेको देखिन्न 

 

भनिन्छ, मानिसले आफ्नो बुद्धि र विवेकको प्रयोग गरेर सम्पूर्ण विश्वलाई नै एकै ठाउँमा ल्याइदिएको छ । जब बौद्धिक सम्पत्तिको प्रयोग हुन थाल्छ, मानिसले आफ्नो सोचअनुकूलको व्याख्या पनि बनाउँछ । शक्तिशाली र सबैले मानिआएका मानिस प-यो भने त त्यो नियम नै बन्छ र कालान्तरसम्म यसको पदचाप रहि नै रहन्छ । 

 

प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्सटाइनले भनेका छन् कि कल्पना ज्ञानभन्दा धेरै महत्वपूर्ण हुन्छ । हुन पनि कल्पनामा काम भए त्यो विज्ञान र उत्पादन भयो । नभए कल्पना कल्पनामा मात्रै सीमित । तिनै आइन्सटाइनले भनेझैँ हाम्रा धार्मिक ग्रन्थका सर्जकहरूले यति कल्पनाशील भएर ग्रन्थ लेखेका छन् कि साँच्चै नै तिलस्मी लाग्छ । तर, सबैजसो कल्पनाकार ग्रन्थकार भने पुरुषहरू नै छन् र आफ्नो कल्पनामा भएका र बनाउन चाहेको आधारमा महिला पात्रलाई चित्रण गरेका छन् । 

 

धेरै पठित विद्वान्हरूले नै पनि कुनै पनि धर्मग्रन्थमा महिला, पुरुष या मानिस–मानिसबीच विभेद गरेकै छैन भनेर एकातिर ठोकुवा गरिरहेका छन् भने अर्कोतिर तिनै धार्मिक ग्रन्थमा महिला पात्रहरूलाई विभिन्न कोणबाट परिभाषित र प्रस्तुत गरिएको पाइन्छ । ती महिला पात्रका प्रस्तुतिले कमसेकम अहिलेको समयमा चाहिँ एकपटक महिलाको भूमिका किन यस्तो बनाइएको होला भन्ने सोच्न बाध्य बनाउँछ ।

 

भारत र नेपालको हिन्दू समाज र संस्कृतिलाई वेद, पुराण, रामायण, महाभारत, स्वस्थानी कथा, मनुस्मृतिजस्ता ग्रन्थले निर्देशित गरेका छन् । आजपर्यन्त कतिपय व्यवस्थापकीय कुराहरू पनि यिनै ग्रन्थबाट प्रभावित र परिचालित छन् । महिला हिंसालगायत केही समस्या विश्वव्यापी भए पनि दक्षिण एसियाली मुलुकमध्ये पनि नेपाल र भारतमा धार्मिक ग्रन्थले महिलाको रूप तय गरेको अवश्य हो भन्दा फरक पर्दैन । 

 

धार्मिक र राजनीतिक ग्रन्थ लेख्ने पुरुष लेखकहरूले महिलाको मनोदशा कति बुझेर लेखे ? किन महिलालाई निरीह मात्रै देखाउँछन् पुरुष लेखक ? यसबारे खोजी गरिनुपर्छ ।

 

हाम्रा धर्मले झुटो नबोल्नू, आमाबुबाले भनेको कुरा नकाट्नू, मान्नू भनेर सिकाएको छ । एक हदसम्म मानिस–मानिसबीचमा, अभिभावक र छोराछोरीबीचमा सम्मान भाव, माया, स्नेह बनाइरहन यो आवश्यक नै भयो । तर, महाभारत ग्रन्थमा पाँच पाण्डव वनवास गएको, जोगीको झैँ जीवन बिताएकोबारे त हामीले पढे–सुनेकै हो । तर जब अर्जुनले द्रौपदीलाई स्वयंवर गरेर कुटीमा ल्याए र आमा कुन्तीलाई छक्क पार्ने उद्देश्यले मैले केही ल्याएको छुु भन्दा आमाले हेर्दै नहेरी सबै दाजुभाइ बाँडेर खाओ भनिन् अरे ! अब आमाले अनजानमा बाँडेर खानेकुरा खाओ भनेको तर आमाको वचन नकाट्ने निहुँमा पाँचैजनाले एउटै महिलासँग विवाह गराउने र पाँचैजनाले भोग गर्ने भन्ने कथाले मात्र पनि महिला भोग्याको रूपमा बुझिँदैन र ?

 

फेरि यस्तो हुनुमा भगवान् शिबको पहिल्यैको जुनीमा पाएको आशीर्वाद या श्राप भनेर पनि मिलाउन खोजिएको छ । हाम्रा ग्रन्थका कथाहरूमा कतै न कतै श्राप, आशीर्वाद, भाग्यजस्ता कुराहरू उल्लेख भई नै रहेका छन् र बढी जसो महिला पात्रहरू अनेक रूपमा प्रस्तुत पनि गरिएका छन् । एकातिर त्यो समयमा विवाहको एकल रूप नआइसकेको र बहुपति या बहुपत्नी व्यवस्था थियो कि भनेर पनि एकथरी विद्वान्ले भन्ने रहेछन् । तर, फेरि कुरा मिलाएर हिन्दू आर्य समाजलाई पृथक् देखाउने क्रममा ग्रन्थका रचयिताले नै द्रौपदीको पाँचजना पुरुषसँगको बिहेलाई पूर्वजन्ममै महादेवको वरदान भनेर भनाइएको पनि पाइन्छ । 

 

धर्म साहित्यमा जति महिलाको विशेष भूमिका अरू सामाजिक जीवनमा कतै पनि देखिँदैन । देखाइएको छ त केवल देवी, दैवीय गुण भएका, महाराजका महारानीहरू । अनि ती महारानी, रानीहरूले पनि कुनै पुरुषसरह वीरता भरिएको काम गरेको देखाइएको छैन् । उनीहरू केवल एक सुन्दर, गुणी, सुशील, मर्यादाका पालक, यौनमा आफ्ना राजाप्रति समर्पित आदि आदि देखाइन्छ । यी कुरा बिग्रिएको खण्डमा ती महिलाले श्रापित हुनुपर्ने कथाहरू व्याप्त छन् । 

 

महाभारत तथा रामायणजस्ता ग्रन्थमा उल्लेख गरिएका नारी पात्रमा सीतामा सहनशीलताको पराकाष्ठा देखाइएको छ र अझ पवित्रता र अपवित्रता दाँज्ने कसी पनि बनाइएको छ । त्यस्तै महाभारत युगकी द्रौपदीलाई केही विद्रोही देखाए पनि उनका अनिच्छाहरूलाई पनि मर्यादाको कसीमा राखेर जोखिएको छ । र यी महिला पात्रलाई पुरुष लडाइँको कारक पनि मानिएको छ, यी र यस्ता धार्मिक, राजनीतिक ग्रन्थ लेख्ने पुरुष पात्र नै हुन् र उनीहरूले कतिको महिलाको मनोदशा बुझेर लेखे या आफ्ना मनमा महिलाप्रति आउने संवेगलाई यसैगरी मिलाउन खोजे ! यो खोजको विषय हुन सक्छ । 

 

हिन्दू सभ्यता निकै विशाल छ भनेर हामी एकातिर रमाइरहेका पनि छौँ, तर यस सभ्यताभित्र मानवीय मूल्य–मान्यता साँच्चै समानतामा आधारित थियो त ? यसबारे चाहिँ हाम्रा विद्वान् मौन नै बस्न रुचाउँछन् । 

 

छाउपडी, देउकी, बोक्सी, झुमा, महिनावारीमा बार्नेजस्ता चलनलगायत प्रथाहरू साँच्चै नै हानिकारक परम्परागत अभ्यास हुन् भनेर कानुन बनिसके । ती कानुन कागजमा लेखिई नै सके तैपनि हाम्रो मस्तिष्कले भने तिनै पुराण र महाभारत, रामायण, स्वस्थानीजस्ता धार्मिक साहित्यलाई नै बढी पछ्याइरहेका छन् । ती ग्रन्थहरूले ती समयका परिवेश देखाउलान् र कतिपय ज्ञान र सभ्यता अघि बढाउने दस्ताबेज पनि बन्लान्, तर महिलालाई विभेद गर्ने या मान्छे–मान्छेबीच विभेद गर्ने परम्परालाई भने अब संग्रहालयमै राख्नुपर्नेछ । यस्ता विभेदजन्य आनिबानी र परम्परामा हस्तक्षेप गर्ने, परिमार्जित गर्ने कुरामा विशेष उपस्थितिचाहिँ पुरुषले देखाउनुपर्ने पनि आजको आवश्यकता हो । अझ महत्वपूर्ण कुरा त पुरुषहरू नै महिला हिंसाका कारक तथा पीडक छन् । त्यसैले पनि महिलाका मुद्दा अब महिलाका मुद्दा मात्र होइनन् । पुरुषहरूले मनन गरेर सामाजिक कुरीतिमा अंकुश लाउन महिलालाई सहयोग नगरेसम्म हामीभित्र गढेर बसेका अवैज्ञानिक संस्कृतिले हामीलाई बोकि नै रहनेछन् ।

 

हामी महिला हिंसा न्यूनीकरणको कुरा गरिरहेछौँ । महिला मुद्दामा पुरुषहरूको सकारात्मक सहयोग नै महिला मुक्तिको एक खुड्किलो हो भनिरहेका छौँ । त्यस समयका आदर्शवादी कुरा अनि नियम–कानुनहरू वर्तमानमा कत्तिको वैज्ञानिक र उपयुक्त छन् भन्ने कुरा कम्तीमा नयाँ पुस्ताले छुट्याउनु नै पर्ने हुन्छ । 

 

मदनमणि दीक्षितजस्ता प्रसिद्ध साहित्यकारले पौराणिक ग्रन्थका पात्रहरूलाई सकारात्मक र नकारात्मक दुवै पक्षबाट केलाउने प्रयास गरेको देखिन्छ । यो कुरा उहाँको ‘द्रौपदी र सीता’ भन्ने पुस्तकमा पनि पाउन सकिन्छ । महिलालाई नजिकबाट नियालेर साहित्य सिर्जना गर्ने साहित्यकारमा हरिभक्त कटुवाल पनि पर्दा रहेछन् । उनको ‘स्पष्टीकरण’ कथासंग्रहमा पनि नारी पात्रलाई गहिरोसँग समावेश गराइएको छ । ‘स्पष्टीकरण’ कथासंग्रहभित्रकै ‘नरमाया’ कथामा नरमाया नारी पात्रको आफ्नो कर्तव्य, प्रेम, वियोग र त्यही पे्रममा धोकापछिका हन्डर, ठक्करले पागल भएका कुराहरू एकदमै सिनेमा झैँ लाग्छन् । कथामा नारी पात्रलाई यसरी तड्पाइएको छ कि प्रेममा धोका र वियोगले सबैलाई यस्तै नै बनाउने रहेछ भन्ने भान हुन्छ । अर्को कथा छ ‘हत्या’ । यो कथामा पनि दुरुस्तै महिलाका मनोदशा कसरी टिपे होलान् कथाकारले भन्ने लाग्छ । कथामा लोग्ने या पुरुष पात्रले महिलालाई यौनसम्बन्ध राखी धोका दिएर छोडेको र प्रसव वेदनाले थलिइसकेपछि र मृत्युको मुखमा पुगेर बच्चाको जन्म दिइसकेपछि बीभत्स रूपमा बच्चाको हत्या गरेकी नारी पात्रका बारेमा सिरिंग भइने कथा तयार पारिएको छ । जुन वास्तविक घटना भएर पनि समाचारमा आउने गर्छन् कहिलेकाहीँ । तर, बच्चा जन्माएर हत्या गर्नुको पछाडि गर्भाधानपछि महिलामा हुने डिप्रेसन पनि हो भन्ने पक्ष एकातिर छ । तर, यस कथामा महिलाहरू यसरी हिंसा सहेर र पीडा सहेर हिंसा नै गर्न पनि विवश छन् भन्ने पनि देखाइएको छ । 

 

यी केही उदाहरण मात्र हुन् । एक पुरुष लेखकले नारी पात्रलाई एकदम गहिराइमा पुगेर महिलाका समस्या र जीवन भोगाइलाई साहित्यमा उतार्नु एक उपयुक्त कार्य त हो नै । तर, अझै पनि महिला पात्रलाई निरीह रूपमा, त्याग र तपस्याको प्रतिमूर्तिको रूपमा सम्झौताकारीको रूपमा मात्रै देखाउने हो ? या परिवर्तनकारी, निडर, सहयोगी, बराबरीको प्रेमी, सहयात्री, सहनिर्णय र सहकर्मीकोे रूपमा देखाउने भन्ने प्रश्न पनि अहिलेको समयको ज्वलन्त प्रश्न हो । साहित्यमा महिला पात्रलाई पुरुष लेखकले कसरी प्रस्तुत गरेका छन् भन्ने अध्ययन गर्नु पनि आजको आवश्यकता हो ।