• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अन्जिता पराजुली
२०७८ बैशाख ४ शनिबार १०:३०:००
इतिहास

विवाह : असमानताको जगमा उभिएको संस्था

खस–आर्य समुदायमा ‘बुहारी’ यस्तो सामाजिक ‘भूमिका’ हो जसको स्थान र अधिकार पारिवारिक संरचनाको पिँधमा हुन्छ

२०७८ बैशाख ४ शनिबार १०:३०:००
अन्जिता पराजुली

 

 

विभिन्न धार्मिक ग्रन्थहरूले विवाहलाई स्त्री–पुरुषबीचको पवित्र सम्बन्धका रूपमा व्याख्या गरेका छन् । विवाहलाई दुई परिवारको मिलन पनि भन्ने गरिन्छ । ‘पवित्र’को अर्थ हो उच्च नैतिक धरातलमा उभिएको । यथार्थमा, विवाह न त पवित्र बन्धन हो न दुई परिवारको मिलन। हाम्रो समाजमा प्रचलनमा रहेका विवाहको प्रक्रिया र सो प्रक्रियाका माध्यमबाट निर्माण हुने पारिवारिक संरचनालाई अलिकति पनि ध्यान दिएर अध्ययन गर्ने हो भने विवाह मूलतः असमानताको जगमा उभिएको संस्था हो जसले पुरुषको तुलनामा महिलाको स्थान र भूमिका स्पष्ट रूपमा ‘सबअर्डिनेट’ अर्थात् दोस्रो दर्जामा स्थापित गर्दछ । 

 

पितृसत्तात्मक व्यवस्थामा पुरुष केन्द्रमा हुन्छ र ऊ नै परिवारदेखि समाजलगायत राज्यको पनि हर्ताकर्ता हुन्छ । महिलाको भुमिका भनेको पुरुषको ‘गृहस्थ धर्म’मा साथ दिएर असल सहयोगीको भूमिका, अथवा ‘पत्नी धर्म’ निभाउनु हो । विवाहमा गरिने कर्मकाण्डले समाजले तोकेको महिला र पुरुषको यही भूमिकालाई संस्थागत (इन्स्टिट्युसनलाइज) गर्ने काम गर्छ । विवाहपछि महिलाको कानुनी र आर्थिक अधिकार श्रीमान्मा निर्भर हुन्छ । यस्तो सामाजिक संरचनामा महिला वंशजको अधिकार र पैतृक सम्पत्तिबाट विमुख हुन्छन् भने विवाहपछि ‘बुहारी’को भूमिकामा परिवारमा उनको स्थान र अधिकार पीँधमा हुन्छ । विवाहको अवधारणा संकीर्ण र असमावेशी पनि छ । विवाहको प्रमुख उद्देश्य सन्तान उत्पादन हो भनेर यसको मापदण्ड बनाइएको छ, जसले गर्दा एक त्याचलैंगिक महिला र एक त्याचलैंगिक पुरूषबीचको सम्बन्धबाहेक जुनसुकै सम्बन्धलाई यसले निषेध गर्छ भने सन्तान जन्माउन नसक्ने अथवा नचाहने व्यक्तिहरूलाई पनि यसले बहिष्कार गर्दछ । 

 

विवाहको इतिहास
अर्थशास्त्री पल ककसटले कृषियुगमा विवाहको सुरुवात चोरी र मागी विवाहबाट भएको बताउँछन् । ससाना समुदायमा प्रजनन उमेरका किशोरीहरूको संख्या कम हुने हुनाले जनसंख्या घट्नबाट बचाउनका लागि छिमेकी समूहहरूबाट केटीहरू चोरेर अथवा परिवारकै सहमतिमा गाईबस्तुसँग साटेर ल्याउने चलन भएको उनी मान्छन् । यसरी ल्याइएका महिलाहरू पुरुषको सम्पत्ति मानिने र उनका सन्तान पुरुषको परिवारको सदस्य हुने चलनको सुरुवात हुन गई महिलाकेन्द्रित वासस्थान र मातृवंशज क्रमशः विस्थापित भएको ककसटको निष्कर्ष छ । हाल नेपालको हिमाली भेगसहित संसारमा केही संख्यामा रहेका मातृवंशज समुदायहरूबाहेक अधिकांशतः पितृसत्तात्मक विवाह प्रथा नै प्रचलनमा छ । 

 

त्यस्तै, इतिहासविद्हरू पितृसत्तात्मक विवाहको प्रमुख उद्देश्य महिलालाई कुनै एक पुरुषको नियन्त्रणमा राखेर, जन्मिएको सन्तान आफ्नै हो भन्ने सुनिश्चित गर्नु थियो भन्ने मान्छन् । स्थायी बसोवास र कृषियुगको सुरुवातसँगै उत्पादनको स्रोत अर्थात् भूमि र पुँजीमाथि पुरुषको अधिकार स्थापित भएको र सोही सम्पत्तिको हस्तान्तरणका लागि पुरुषले आफ्नो सन्तानको पहिचान खोजेको मानिन्छ । यसरी पुरुषको प्रभुत्व सबैभन्दा पहिले परिवारमा स्थापित भएर परिवार नै पितृसत्तालाई निरन्तरता दिने प्रमुख संस्था बन्यो । बाह्य सम्बन्ध विस्तार र आर्थिक लेनदेनका लागि पनि विवाह महत्वपूर्ण माध्यम रहेको र यसका लागि किशोरीहरूको प्रयोग भएको पाइन्छ । 

 

हिन्दू धर्मको सन्दर्भमा हेर्दा, विवाहको अर्को प्रमुख उद्देश्य जातीय शुद्धता कायम राख्नु पनि थियो, र यसका लागि महिलाको यौनिकतामाथिको नियन्त्रण प्रमुख साधन थियो । यौनिक शुद्धताका लागि गोत्र र विवाहका विस्तृत नीति–नियम निर्माण गरियो र (विशेषगरी ब्राह्मण) महिलाहरूको यौन क्रियाकलापमाथि कडा नियन्त्रण कायम गरियो । भारतीय इतिहासकार उमा चक्रवर्तीका अनुसार ‘पतिव्रता धर्म’ र ‘स्त्रीधर्म’जस्ता मूल्य–मान्यता धर्मशास्त्रका माध्यमले मानिसको दिमागमा यसरी बीजारोपण गराइयो कि महिलाको यौनिकता नियन्त्रण गर्नका लागि यो हिन्दू धर्मको ‘मास्टरस्ट्रोक’ साबित भयो, र स्त्रीधर्मको सोही मान्यता केही मात्रामा बुद्धधर्ममा पनि रह्यो ।

 

नेपाली समाजमा विवाहका प्रचलन
हिन्दू धर्मले सर्वोत्कृष्ट भनेर सिफारिस गरेको कन्यादानद्वारा गरिने विवाहको अवधारणा पनि माथि उल्लेख गरिएझैँ महिलाको यौनिक शुद्धता र महिलामाथि पुरुषको अधिकार कायम राख्ने उद्देश्यसँग सम्बन्धित छ । कन्यादानमा मुख्य गरी दुई पक्ष निहित छन्– एक, विवाहका लागि महिलाको कौमार्यको अनिवार्यता र दोस्रो महिलामाथिको स्वामीत्व पिताबाट पतिमा हस्तान्तरण । विशेषगरी खस–आर्य समुदायमा महिलाको ‘यौनिक शुद्धता’ कायम राख्नका लागि परिवार र समाजले उनीहरूमाथि चरम नैतिक दबाब सिर्जना गरेका हुन्छन् । महिलाका लागि विवाहअघिको यौनजन्य अभिव्यक्ति वा सम्बन्धलाई अक्षम्य कलंकका रूपमा हेरिन्छ भने पुनर्विवाह पनि उनीहरूका लागि वर्जित हुन्छ । कुनै पनि धर्मशास्त्रले पुरुषको यौनिक शुद्धतालाई यति जोड दिएको छैन जति महिलाका लागि दिएको छ । बरु महिलाका लागि कडा नियन्त्रणमुखी पतिव्रता धर्म र विधवाले पालना गर्नुपर्ने नियमहरूबारे लेखिरहँदा त्यसको विपरीत, पुरुषका लागि बहुपत्नी राख्ने बाटो खुला गरिएको छ । यद्यपि, बहुस्त्रीगमनलाई राम्रोचाहिँ मानिएको छैन । 

 

पितृसत्तात्मक विवाहको अर्को मूल उद्देश्य महिलामाथिको ‘ओनरसिप’ अर्थात् स्वामीत्व अनि जिम्मेवारी बाबुबाट लोग्नेमा अर्थात् उनको आफ्नो परिवारबाट लोग्नेको परिवारमा हस्तान्तण गर्नु हो । दुईजना पुरुष (ज्वाइँ र ससुरा)बीच सम्पन्न गरिने कन्यादानको कर्मकाण्डको उद्देश्य यही हो । छोरीलाई हस्तान्तरण गर्ने प्रक्रियामा केही सांस्कृतिक विविधता पाइन्छ । उदाहरणका लागि, बाहुन, क्षेत्री समुदायमा छोरीको नयाँ घर बसाउनका लागि भनेर केटा पक्षलाई दाइजो दिने चलन छ भने राई–लिम्बू समुदायमा छोरी लगेबापत केटापक्षले केटीको परिवारलाई ‘रीत’ बुझाउने चलन छ । त्यसैगरि, खस–आर्य समुदायमा अत्यन्तै कठोर बनाइएको गोत्र सार्ने प्रक्रियाले छोरीको आफ्नो जन्मसिद्ध घरसँगको नाता लगभग शून्यमा झरेको संकेत गर्दछ । (मानवशास्त्री डम्बर चेमजोङका अनुसार) लिम्बू समुदायमा ‘छोरीको हाड हामीसँगै छ, मासु मात्र दिएको हो’ भनेर माइतीसँगको नाता कायम राखिने र ‘तिमीमाथि केही गरी धोका हुन गए लोग्नेको निधार फुटाएर भाग्नू’ भनेर विवाह सँगसँगै सम्बन्धविच्छेदको बाटो पनि खुलाएर पठाइने चलन छ । 

 

फेरि विवाहमण्डपतिरै फर्कौँः प्रचलित हिन्दू विवाह विधिअनुसार, कन्यादानपछि दुलहीलाई ‘दुलाहाको बनाउने’ प्रक्रिया सुरू हुन्छ । यसका लागि दुलहीलाई पतिको नामको सिन्दुरपोते लगाइदिइन्छ । सोहीसरह दुलाहाले भने पत्नीको नामको विवाहको कुनै संकेत लगाउनु पर्दैन । सिन्दुरलाई प्राचीन देवी ‘श्री’को प्रसादका रूपमा लगाइने भन्ने भनाइ पनि छ, तर (मानवशास्त्री लिन बेनेटका अनुसार) विवाहमा सिन्दुरले महिलाको कौमार्य तोडिएको र यसपश्चात् श्रीमतीमाथि पूर्ण रूपमा श्रीमान्को एकाधिकार स्थापित भएको मान्यता राखेको देखिन्छ । 

 

विवाहमा केटीका बाआमाले सिन्दुर हालेको हेर्न नहुने भनेर सिन्दुर छोप्ने चलन र विवाहित रहुन्जेल टुटाउनै नहुने भनिने सिन्दुर, श्रीमान्को मृत्युलगत्तै भने सर्लक्कै पखालेर त्याग्नुपर्नेजस्ता चलनले पनि सिन्दुरबारेको यस प्रचलित मान्यतालाई पुष्टि गर्दछ । पतिव्रताधर्मकै नाममा, सिन्दुर, टीका, चुरा, पोते आदि शृंगारका वस्तुहरूलाई ‘सौभाग्य’को प्रतीक बनाएर पुरुषको आयु र भाग्यको जिम्मेवारीको बोझ महिलामा ल्याएर थुपारिदिइएको छ भने महिलाको शृंगारमाथिको अधिकारलाई पुरुषमा निहित बनाइएको छ । सिन्दुर–पोतेको कर्मकाण्ड गरेलगत्तै, कन्याका रूपमा दाहिने बसिरहेकी दुलहीलाई उचालेर देव्रे स्थानमा राखिन्छ भने (ठाउँ र चलनअनुसार) केटीलाई लोग्नेको खुट्टा ढोग्ने, खुट्टाको पानी खाने, जुठो खाने आदि काम गर्न लगाइन्छ । दुलहीले दुलाहाबाट मागेजति रकम नदिएसम्म जुठो नखाने चलन पनि छ । यसले आर्थिक सुरक्षा पाएबापत श्रीमतीले श्रीमान्को दासत्व स्विकार्नु पर्ने भन्ने मान्यतालाई नै बल पुर्‍याउँछ, किनकि माया र सामीप्यताका लागि गरिएको भए दुवैले एक–अर्काको जुठो खाने चलन हुने थियो । विवाहमा वैदिक मन्त्रद्वारा पत्नीलाई ‘सखे’ अर्थात् साथीका रूपमा बोलाइने र गोत्र सार्दा ‘अब हामी मन वचन र कर्मले एक भयौँ’ भन्ने चलनले शास्त्रीय मान्यताअनुरूप विवाहमा महिलाको स्थान सम्मानजनक रहेको देखाउँछ । यद्यपि, यो पनि पुरूषप्रधान मान्यता नै हो, किनकि सो ‘एक’ व्यक्ति पुरूष हो र महिला उसको आधा अंग, अर्था्त ‘अर्धांगिनी’ हो । अग्निलाई पति–पत्नी मिलेर सातपटक फेरा लगाउने विवाहको अर्को महत्वपूर्ण कर्मकाण्ड हो जसमा वैदिक मन्त्रद्वारा एक–अर्काप्रति समर्पण र साथको संकल्प गरिन्छ । तर, मूल रूपमा यी संकल्पले पनि गृहस्थ जीवनमा पुरूषको संरक्षकको भूमिका र महिलाको सहयोगीको भूमिकालाई नै स्थापित गर्दछ । 

 

अग्निलाई पति–पत्नी मिलेर सातपटक फेरा लगाउने विवाहको अर्को महत्वपूर्ण कर्मकाण्ड हो, जसमा वैदिक मन्त्रद्वारा एक–अर्काप्रति समर्पण र साथको संकल्प गरिन्छ । तर, मूल रूपमा यी संकल्पले पनि गृहस्थ जीवनमा पुरुषको संरक्षकको भूमिका र महिलाको सहयोगीको भूमिकालाई नै स्थापित गर्दछ । 

 

हाल २१औँ शताब्दीमा विवाहका प्राविधिक पक्षमा केही परिवर्तन आए पनि विवाहको मूल अवधारणा र संरचना उस्तै छ । बिहेअघि अर्काको घर जाने जात, र बिहेपछि अर्काकी छोरीका रूपमा घरको न घाटको अवस्थामा महिलाले परिवारको पूर्ण सदस्य हुन हरेक क्षण आफूलाई प्रमाणित गरिरहनुपर्छ, जबकि पुरूषलाई यो सुविधा र यो सुविधाले दिने आत्मविश्वास अनि मनोवल आजन्म मिलिरहेको हुन्छ । बिहे परिवार र समुदायको अधिकारको विषय रहिआएको छ; केटाकेटीले आफूखुसी गरेको विवाह अथवा जात नमिलेको विवाह परिवार र समाजले बहिष्कार गरिदिन्छ । सर्वप्रथम त बिहेको भाषाले नै देखाउँछ कि बिहेको मुख्य ‘कर्ता’ पुरुष हो । केटी माग्ने, केटी भगाउने आदि काम पुरुषले गर्दछ, अर्थात् विवाहमा महिलाको आफ्नो सक्रिय भूमिका हुँदैन भन्ने मान्यता छ । एकातिर केटापक्ष बाजागाजासहित विजय जुलुस गरेझैँ केटी लिएर फर्कन्छन्, नाचगान हुन्छ, रमझम हुन्छ, उता ‘छोरी अन्माएको घर’ शून्य हुन्छ, रुवाबासी चल्छ । दाइजो ओसार्ने काम जन्तीको जिम्मामा हुन्छ । पहिले–पहिले पहाडतिर तामाका ताउला घ्याम्पा आदि दाइजो जन्तीले डोकोमा बोकेर ल्याउँथे रे, अहिले आधुनिक जमानामा फ्रिज, वासिङ मेसिन गाडीमा हालेर ल्याउँछन् । बिहेको लगनका वेलामा बाटोभरि सुनिने बाजागाजा र सिँगारिएको गाडीभित्र बसेकी दुलही जब देख्छु, भोलिपल्ट बिहान सबेरै उनी नौलो घरमा ‘बुहारी’ भएर उठ्नु पर्नेछ भन्ने सम्झेरै नरमाइलो लाग्छ । किनकि, (विशेषगरी खसआर्य समुदायमा) ‘बुहारी’ यस्तो सामाजिक ‘भूमिका’ हो जसको स्थान र अधिकार पारिवारिक संरचनाको पीँधमा हुन्छ । घरका ‘गृहलक्ष्मी’हरू सबैको सेवा, स्याहार, सत्कार आदिको जिम्मेवारीको बोझले मानसिक र शारीरिक रूपले चौबिसै घन्टा थिचिएका हुन्छन्, तर उनीहरू आफैँले भने कसैको सेवा–सत्कार पाउँदैनन् ।

 

पुरूषहरूका लागि सबै महिला अशुद्ध हुन्छन्, तर बुहारी त घरका अन्य महिलाहरूकै लागि पनि अशुद्ध मानिन्छन् । अधिकांश परिवारमा अझै पनि सारा परिवारको जुठो भाँडो गर्ने जिम्मेवारी पाएकी बुहारीले खाएको चियाको गिलाससमेत कसैले छुँदैन। त्यसैगरी, तैँले सम्पत्ति खाने लोग्नेको घरमा हो भनी पठाइन्छन्, तर लोग्नेको घरको सम्पत्तिमा उसको कुनै स्वतन्त्र अधिकार भने हुँदैन; सम्पत्तिमाथिको उसको अधिकार लोग्नेमा निर्भर हुन्छ । यसैले महिलाहरूलाई सधैँ आर्थिक अभाव खट्किरहेको हुन्छ, जबकि, आर्थिक रूपमा महिलाको योगदान पुरूषको भन्दा बढी भएको अध्ययनहरूले देखाइरहेका छन् । उदाहरणका लागि चार दशकअघि मीना आचार्य र लिन बेनेटले गरेको एक अध्ययनले नेपालमा घरायसी आम्दानीमा महिलाको ५४ प्रतिशत र पुरुषको ४६ प्रतिशत योगदान देखाएको थियो भने महिलाको दैनिक बोझ पुरुषको भन्दा ४४ प्रतिशतले बढी रहेको देखाएको थियो । महिलाको १०.८१ घन्टा, पुरूषको ७.५१ घन्टा (देवेन्द्र उप्रेती, समाज अध्ययन १३) । यो सँगसँगै, विवाहपश्चात् आफ्नो थातथलोबाट पूर्णतः विस्थापित हुनुपर्दा महिलाहरू पारिवारिक र सामाजिक संरचनागत लाभबाट विमुख हुने अवस्था हुन्छ । यसरी पितृसत्तात्मक विवाह प्रथाले आर्थिक, सामाजिक, र मानसिक रूपमा परनिर्भर र कमजोर महिलाहरूको उत्पादन र पुनरुत्पादन गरिनैरहन्छ। 

 

सामाजिक सम्बन्धहरूलाई पारस्परिकताका आधारमा पनि हेरिन्छ र विवाह दुई परिवारलाई जोड्ने माध्यम हो भनिन्छ । विशेषगरी बाहुन–क्षेत्री जातिमा प्रचलित विवाह नकारात्मक पारस्परिकतामा आधारित छ जसले केटीलाई मात्र होइन, केटीका बाबुआमा र केटी पक्षका सम्पूर्ण परिवारलाई पनि दोस्रो दर्जाको बनाउने काम गर्छ । जीवनभर केटीका बाबु–आमाको शिर केटा पक्षको अगाडि सधैँ झुकेको हुन्छ, मानौँ उनीहरू छोरीका बाबु–आमा हुनु परेकोमा मूल्यहीन र तुच्छ मानिरहेका हुन्छन् आफैँलाई । आदर सम्मानमा ज्वाइँ सबैभन्दा उच्च स्थानमा हुन्छन्, तर बुहारी भने निच स्थानमा । छोरीको विवाहको सम्पूर्ण खर्चलगायत दाइजो, ढोग–भेटदेखि वर्षौँसम्म केटा पक्षलाई कोसेली बुझाइरहनुपर्ने, तर छोरीको घरको भने पानीसम्म खान नहुनेजस्ता चलन खस–आर्य समुदायको विवाहमा निहित चरम नकारात्मक पारस्परिकताका प्रमाण हुन् । छोरीलाई विवाह गरेर लगिदिएकै कारण छोरीका बाबुआमा सधैँ अनुग्रहित भइरहनुपर्ने, र बुहारीलाई ल्याएको कारण उसको भरण–पोषणका लागि केटा पक्षले दाइजो र अन्य कोसेली दाबी गर्ने यस किसिमको चलनले महिलाहरू परिवारका लागि केवल बाध्यकारी ‘दायित्व’ हुन् भनेर महिलाहरूको अवमूल्यन गरिरहेको छ । यसभन्दा फरक, धेरै आदिवासी जनजाति समुदायमा बुहारीले जस्तै ज्वाइँले पनि ससुराली पक्षकालाई आदर गर्ने, कोसेली ल्याउने र ससुरालीमा आएर काम गर्ने, डोको–नाम्लो बुनेर आफ्नो सीप देखाउने चलन छ । विवाहमा केटी पक्षलाई रीत बुझाउने चलन पनि पारस्परिकताको उदाहरण हो । यद्यपि, रीत र दाइजो प्रथा पारिवारिक लेनदेनका विषय हुन्, र यसमा महिलाको स्वतन्त्र अधिकार खासै हुँदैन । 

 

त्यस्तै, जनजाति समुदायमा अन्य केही उदार र महिलामैत्री व्यवस्था पनि पाइन्छन् । महिलाको यौनिकतालाई कलंकका रूपमा लिइँदैन । ‘पतिव्रता धर्म’को कठोर नियम महिलाका लागि बाध्यकारी छैनन् । विवाहको प्रक्रिया केही वर्षको अन्तरालमा दुईपटक गरेर सम्पन्न गरिने र विवाहको सम्बन्ध चित्त नबुझे त्यस सम्बन्धबाट बाहिरिन सक्ने ‘लिभ इन’को प्रचलन केही जनजाति सुमुदायको मौलिक परम्परा हो जसले महिलालाई स्वनिर्णयको अधिकार केही हदसम्म सुनिश्चत गर्दछ । यद्यपि, अन्य पितृसत्तात्मक विवाहमा जस्तै जनजातिमा पनि अंश, वंश र बसोवास पुरुषकेन्द्रित नै छ । किशोरीहरू परिवार र समाजको निगरानीमा हुन्छन् । परिवार र समुदायको रोहवरमा गरिएको विवाहले मात्र पूर्ण मान्यता पाउँछ तथा केटीका बाबुआमालाई रीत बुझाएर विवाहको सबै प्रक्रिया पूरा गरेपछि श्रीमतीमाथिको वैधानिक अधिकार श्रीमान्मा गएको देखिन्छ । पुनर्विवाह र विधवा विवाह स्वीकार्य भए पनि महिलाका लागि सहज हुँदैनन् र पहिलो विवाहजत्तिकै मान्यता पनि पाएका हुँदैनन् । पहिले–पहिले प्रचलित ‘चोरी बिहे’ कतिपय अवस्थामा महिलाको इच्छाविपरीत गरिने हुँदा अत्यन्तै हिंसात्मक भएका घटना प्रशस्तै पाइन्छन् । त्यस्तै, केही समुदायमा मामा–चेली–फुपू–चेलाबीच बिहेको हक लाग्ने चलनले गर्दा कतिपय किशोर–किशोरीहरू जबर्जस्ती बाध्यात्मक विवाह बन्धनमा बस्नुपर्ने अवस्था अझै पनि छ । 

 

राज्यसत्ता र विवाह
पितृसत्तात्मक विवाहलाई हाम्रो पारिवारिक संरचना र समाजले मात्र होइन, राज्यले समेत मलजल गरिरहेको छ । जसरी समाजमा बाबुको मात्र थर चल्छ, कानुनमा सन्तान र श्रीमतीलाई नागरिकता दिलाउने अधिकार पुरूषलाई मात्र सुनिश्चित छ । महिलाको एकल निर्णयले कृत्रिम गर्भाधान गर्न नपाउने कानुन छ । यसका लागि महिला विवाहित हुनुपर्छ र श्रीमान्को स्वीकृति आवश्यक छ । एकजना वकिलको शब्दमा नेपालको कानुनले ‘बिनाबाउको सन्तान’ चिन्दैन । तर, सन्तानप्रति बाबुको दायित्व सुनिश्चत गर्नु एउटा विषय हो भने बाबुविना सन्तानको पहिचान नै नगर्नु अथवा महिलाको वंशज र अभिभावकत्वलाई नकार्नु बिल्कुलै फरक विषय हो; बाबुको दायित्व सुनिश्चत गर्नका लागि आमा र सन्तानको अधिकारमा अंकुश लगाउन मिल्दैन । त्यस्तै, ‘पति र पत्नीले आपसी समझदारीमा छुट्टै वासस्थान निर्धारण गरेकोमा बाहेक पत्नीको वासस्थान पतिको घरमा कायम भएको मानिनेछ’ भन्ने देवानीसंहिताको व्यवस्थाले विवाहित जोडीलाई तेस्रो वासस्थानको अधिकार त सुनिश्चित गरेको छ, तर छोरीहरूले चाहेको खण्डमा विवाहपश्चात् आफ्नो आमाबाबुसँग बस्न पाउने अधिकार बन्द गेरको देखिन्छ ।

 

जबकि, ( उदाहरणका लागि) गुरुङ समुदायमा विवाहित छोरीहरू ‘माइत’ आएर बस्ने चलन नौलो होइन । मेरै एकजना साथी ‘माइत’मा बसेर आफ्नो परिवारको बिजनेस कम्पनी चलाइरहनुभएको छ । उहाँहरूको परिवारका लागि यसमा कुनै समस्या छैन, तर अन्य जातिका छरछिमेकले चाहिँ यसलाई कुरा काट्ने विषय बनाएको मेरो साथीको अनुभव छ । यसले राज्यको कानुनलाई कसरी हिन्दू संस्कृति अथवा खसआर्य समुदायको ‘कस्टमरी ल’ले प्रभाव पारेको छ भन्ने पनि देखाउँछ, किनकि कानुन निर्माण गर्ने र राज्यसञ्चालन गर्ने ठाउँमा उनै तथाकथित उच्च जातीयहरूको एकाधिकार रहिआएको छ । यही कुरा ‘आमाको नाममा नागरिकता’ को विषयमा पनि लागू हुन्छ, किनकि जनजाति समुदायमा (कमसेकम) विवाहका सबै रीत पूरा हुनुभन्दा अघि सन्तान जन्मिएको छ भने सो सन्तानमाथि आमाको प्रथम अधिकार रहने चलन देखिन्छ । तर, सांस्कृतिक रूपमा केही महिलाले पाइआएको यस्तो अधिकारमाथि राज्यको कानुनले अंकुश लगाइदिएको कारणले आज उनीहरू पनि ‘आमाको नाममा नागरिकता देऊ सरकार’ भन्दै सडकमा उत्रिनुपरेको अवस्था छ । 

 

नयाँ सांस्कृतिक परिवेशमा विवाह 
पितृसत्तात्मक समाज महिलामाथिको नियन्त्रण, हिंसा र दमनको जगमा उभिएको छ र हाम्रो समाजमा सामाजिक मान्यता पाएका विवाह प्रथा सोही अवस्थालाई ‘लालमोहर’ लगाउने प्रक्रिया हुन् । समाजमा विद्यमान विवाह संस्थाको प्रक्रिया र संरचनाभित्र महिलाको स्थितिलाई मूल्यांकन गर्ने हो भने सबल र सुन्दर समाज निर्माणका लागि विवाह संस्था अपरिहार्य र उत्कृष्ट माध्यम हो भन्ने दाबी कुनै पनि कोणबाट पुष्टि हुन सक्दैन । पहिला सबै अधिकारबाट वञ्चित गराएर महिलालाई पखेँटा काटेर फालेको चराजस्तो अशक्त तुल्याउने र त्यही अशक्तताका कारण देखाएर पुरुषहरूको ‘संरक्षकत्व’ अर्थात् नियन्त्रणलाई अनुमोदन गर्ने दुष्चक्रको निर्माण पितृसत्तात्मक विवाह प्रथाले गरेको छ (अन्जिता पराजुली, समाज अध्यन १५)।

 

बरु बलात्कारीसँग बिहे गराइदिन तयार छन् बाबु–आमा र समाज, तर पुरूषविनाको छोरीको जीवन सम्भवै देख्दैनन् । विवाहविच्छेद गर्छु भन्ने छोरीहरूलाई होस् वा ‘जात नमिल्ने’सँग प्रेम गर्नेहरूलाई ‘यस्तो काम गर्‍यौ भने मेरो लास पनि भेट्टाउनेछैनौ तिमीहरूले’ भनेर त्रसित बनाइरहेका छन् । जातीय शुद्धता कायम गर्नका लागि परिवार र समाजले स्वजातीय विवाहलाई मात्र मान्यता दिनु भनेको गैरकानुनी ठहर भइसकेको जात प्रथालाई व्यवहारमा जीवित बनाइराख्नु हो । धेरै महिलाका लागि विवाह र परिवारको साथ, सहयोग र आड–भरोसाको माध्यम हुनुपर्नेमा उल्टो मानसिक तनाव, शारीरिक तनाव र हिंसायुक्त संरचना बन्न पुगेको छ । घरेलु हिंसाको तथ्यांक डरलाग्दो छ । त्यसमाथि, बिहेअधि छोरीको भूमिकामा र बिहेपछि बुहारीको भूमिकामा, महिलाहरूको हरेक चालचलन, लवाइ, खवाइ, बसाइ, हिँडाइ, बोलाइ आदिमाथि गरिने २४ घन्टे निगरानी, नियन्त्रण, प्रश्न र क्षुद्र टिप्पणीहरूले कैयौँ महिलाका लागि पाइला–पाइलामा दैनिक जीवन अत्यासलाग्दो बनाइदिएको छ । उदारीकरणतर्फ गइरहेको समाज र वर्तमान पुस्तामा विकास भइरहेको वैयक्तिक अधिकार र समानता प्रतिको सचेतना र आत्मविश्वासलाई अब यस विभेदपूर्ण पितृसत्तात्मक विवाहको संरचनाले थेग्न सक्ने वाला छैन । 

 

मानवशास्त्रीय अध्ययनहरूले देखाएका छन्, विवाहको कुनै एक सर्वमान्य परिभाषा छैन; विवाहको संरचना, स्थायित्व र उद्देश्य संस्कृतिअनुसार फरक हुन्छन् र समयअनुसार यसको अवधारणामा पनि परिवर्तन आउँछ । अबको समय समानता र स्वतन्त्रताको हो, र पुरूषको छत्रछायाँभन्दा बाहिर महिलाको स्वतन्त्र अस्तित्व नस्विकार्ने र महिलालाई सबै आयामबाट कमजोर र दोस्रो दर्जाको बनाइराख्ने विवाहका विभेदयुक्त कर्मकाण्ड र संरचना अब हाम्रो संस्कृतिको अंश हुनु हुँदैन । पैतृक सम्पत्तिमा छोरीको समान अधिकारको नयाँ कानुनले महिलाको आर्थिक स्वायत्तता पहिचान गरेको छ; त्यस्तै नागरिकताको कानुन सबैका लागि समान बनाएर महिलाको कानुनी स्वायत्तता पनि सुनिश्चत गर्न जरुरी छ भने विवाहलाई एक त्याचलैंगिक महिला र एक त्याचलैंगिक पुरुषबीचको सम्बन्ध भन्ने मान्यताभन्दा बाहिर निकालेर जुनसुकै लैंगिक पहिचानका व्यक्तिहरूबीचको सम्बन्धले सामाजिक र कानुनी मान्यता पाउन जरुरी छ (यद्यपि, विवाह गर्ने, नगर्ने व्यक्तिगत निर्णयको विषय हो) । राज्यस्तरमा गरिनुपर्ने यी व्यवस्थाबाहेक, समाज र परिवारले विवाह र यौनसम्बन्धी उदार संस्कृति अवलम्बन गर्न जरुरी भएको छ । महिलाको यौनिक शुद्धता र जातीय शुद्धता खोजिने जीर्ण अवधारणाबाट समाज अब मुक्त हुनु पर्दछ । त्यसैगरी, विवाहपश्चात् पुरूषको घर भित्रिनुपर्नेजस्ता बाध्यतालाई हटाएर तेस्रो वासस्थानको संस्कृति ब्यापक रूपमा विकास भए विवाह गर्न चाहनेहरू समानता र वैयक्तिक स्वतन्त्रतासहितको जीवन जिउन पाउँथे भने आवश्यक परे छोराजस्तै छोरीहरू पनि आफ्ना बाबुआमासँग बसोवास गर्न पाउँथे । 

 

महिलाका लागि अत्यन्तै असम्मानजनक बनाइएका विवाहका अन्य कर्मकाण्ड पनि अहिलेको समाजले किन र कसरी पचाइरहेको छ र विनाप्रश्न परम्पराको नाममा किन पच्छ्याइरहेको छ भन्ने विषय त हामी सबैको सामाजिक चेतमाथि नै ठूलो प्रश्न चिह्न हो। समग्रमा भन्नुपर्दा, अबको समाजमा विवाह भनेको परिवार र समाजको अधिकारको विषय होइन, व्यक्तिगत रोजाइको विषय हुनुपर्दछ र यसका मान्यता उदार र समान बनाइनुपर्छ । यसका अतिरिक्त, संसारका हरेक मानिसले विवाह गर्नैपर्छ, सन्तान जन्माउनैपर्छ भन्ने विवाहप्रतिको अति आशक्तताबाट पनि समाज मुक्त हुन जरुरी छ ।