• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
संगीत मगर
२०७८ बैशाख ४ शनिबार ०९:२८:००
समाज

जनजातिमा लैंगिक विभेद कम

२०७८ बैशाख ४ शनिबार ०९:२८:००
संगीत मगर

मगर समुदायका महिलाहरू चुलोचौकामा मात्रै सीमित हुनुपर्छ भन्ने मान्यताबाट अभिप्रेरित हुँदैनन् । उनीहरूलाई पनि पुरुषसरह सम्पत्ति र आर्थिक अधिकार दिइएको हुन्छ । मगर समुदायका महिलालाई अन्य समुदायजस्तो महिनावारीको समयमा समस्या पनि हुँदैन । महिनावारीको समयमा अलग्गै बस्नुपर्ने, बार्नुपर्ने आदि बाध्यता हुँदैन ।

 

मगर जातिमा वैवाहिक प्रचलन केही फरक हुन्छ । महिलालाई मुख्य निर्णायकको भूमिका दिइएकाले यसमा उनीहरू आफैँले आफ्नो जीवनसाथी रोज्न पाउने अधिकार रहन्छ । यो जातिमा बिहेका लागि पुरुषको उमेर बढी र महिलाको उमेर कम हुनुपर्छ भन्ने अनिवार्यता छैन । बरु महिलाको उमेर बढी भयो भने महिला गृहसञ्चालन र निर्णयका लागि परिपक्व हुन्छिन् भन्ने मान्यता पनि छ ।

 

मगर समुदायको वैवाहिक विशेषता भनेको मामाचेली र फुपूचेलाबीच वैवाहिक सम्बन्ध हो । जसअनुसार छोरीमा पहिलो अधिकार आफ्नो दिदी–बहिनीका छोरा अर्थात् भान्जाको रहन्छ । भान्जा नभएमा वा भान्जाले अन्त विवाह स्वीकृत गरेमा मात्रै अन्यत्र दिने गरिन्छ । (भान्जालाई नसोधी अन्यत्र छोरीको बिहे गराएमा सामाजिक प्रचलनविरुद्धको कार्यसमेत मानिन्छ ।)

 

एकै ठाउँमा गुजुमुजु परेर बस्न रुचाउने मगर समुदायले पहिले–पहिले बिहे गरेर आफ्ना दरसन्तानहरू टाढा जनाऊन्, दुःख नपाऊन् भन्ने उद्देश्यले यो चलन चलाएको देखिन्छ । छोरीको बिहे नजिकै भए दुःखजिलो, अर्मपर्ममा हेर्न सकिने मानसिकताबाट यो चलन सुरु भएको देखिन्छ । यद्यपि आजको युगमा आइपुग्दा यो चलन बिस्तारै हराउँदै गएको छ ।

 

मगरहरूको बिहे प्रचलनमा दाइजो भन्ने हुँदैन, दिइँदैन । दाइजो प्रचलन नभएकै कारण यसकै बहानामा कोही महिलाले हिंसा भोग्नुपर्ने स्थिति रहँदैन ।

 

मगर जातिमा ठाडो बिहे (तामझाम नगरी रक्सी र रोटीविना, पैसा नै तिरेर गरिने सरल विवाह), तेर्सो बिहे (भोज भतेर गरेर गरिने ठूलो विवाह) र छोपेर गर्ने बिहे (मेलापातमा मन परेको केटी छोपेर ल्याई गरिने विवाह) को चलन छ । 

 

 मगर जातिमा मागीभन्दा पनि प्रेमविवाह नै बढी हुन्छ । युवा–युवती प्रेममा परेपछि अभिभावकलाई जानकारी दिने र राम्रो साइत हेराएर केटी भगाइन्छ वा भगाएजस्तो गरिन्छ । त्यसपछि मात्रै बिहेका लागि केटा र केटी पक्षबीच सहमति भई बिहे प्रक्रिया अघि बढ्छ । केटीको अभिभावकसँग हात माग्न जानुभन्दा आफैँ फकाएर कुरा मिलेपछि मात्रै अभिभावकसँग कुरा अघि बढाइन्छ । त्यसैले मगर समुदायमा आफ्नो जीवनसाथी छान्ने अधिकार महिलालाई सुरुदेखि नै दिइएको हुन्छ ।

 

मगर समुदायमा कुनै युवती मन पर्‍यो भने कुरा पक्का गर्न उसलाई केही नगद दिएर फकाउने चलन छ । त्यसलाई शाही पैसा भनिन्छ । युवतीले उक्त नगद स्वीकार गरे बिहेका लागि पनि स्वीकार गरेको बुझिन्छ । तर, शाही पैसा थापिसकेपछि अन्तै बिहे गर्‍यो वा इन्कार गर्‍यो भने आफूले लिएको शाही पैसाको दोब्बर युवकलाई फिर्ता गर्नुपर्ने हुन्छ । यसलाई दोचन्दा भनिन्छ । 

 

आर्य समुदायको पुरोहित भएझैँ मगर समुदायको जैसी हुन्छ । जैसीले शुभ–अशुभ सबै हेरेपछि दिन तोक्छन् । र, सोहीअनुसार वैवाहिक कार्य अघि बढ्छ । मगर समुदायमा विवाहका पनि फरक–फरक तरिका हुन्छन् । 

 

भागी विवाहमा विवाहको अघिल्लो दिन बेहुलीलाई माइत पठाएर बिहेको दिन एक–अर्कालाई टीका साटासाट गर्न लगाइन्छ । र, माइती पक्षले टिकोटालो गरिसकेपछि घर भित्रिने वेला मूलढोकामा दुवैलाई दाम्लाले बाँधेर सँगै भिœयाइन्छ । यो क्रममा ढोकामा कतै पनि ठेस लाग्यो भने दाम्पत्य जीवनमा बाधा उत्पन्न हुने विश्वास गरिन्छ ।

 

ढोकाबाट भित्र्याइएपछि घुर र चुलोमाथिको बार (मगरहरू आफ्नो पुर्खालाई पुज्ने हुनाले देउता कोठा हुँदैन । चुलोमाथि काठको ताँडी बनाइएको हुन्छ, जसलाई बार भनिन्छ । त्यसमा चोखो चढाउने र चाडबाडका वेला पित्तर सक चडाउने गरिन्छ) मा पितृलाई सम्बोधन गरेर ‘म फलाना...लाई आजदेखि म यो घरको भएँ । मलाई स्वीकार गर्नुहोस्’ भन्दै ध्वजा र अक्षता चढाउन लगाइन्छ ।

 

मागी विवाहमा माइतीले टिकाटालो गरेर छोरीलाई भान्जाको (मगरहरूले ज्वाइँ होइन, भान्जा भन्ने गर्छन्) हातमा दिइन्छ । मगर जातिमा विवाहमा दुवै पक्षबाट उपहार आदान–प्रदानको चलन हुँदैन । बेहुली अर्थात् माइती पक्ष बलियो हुने हुनाले माइतीले जे–जसरी माग गर्छन्, सोहीअनुरुप बिहे गर्नुपर्ने हुन्छ । विवाहमा उपहारको साटो रक्सी र रोटी दिने गरिन्छ । किनभने मगर जातिका सबै कर्ममा र कुलपित्रलाई पनि रक्सी र रोटी चढाउनुपर्ने हुन्छ ।

 

मगरहरूको बिहे प्रचलनमा दाइजो भन्ने हुँदैन, दिइँदैन । दाइजो प्रचलन नभएकै कारण यसकै बहानामा कोही महिलाले हिंसा भोग्नुपर्ने स्थिति रहँदैन । तर, सन्तान जन्मिसकेपछि माइती पक्षले आफ्नो क्षमताअनुसार जग्गा, गहना, वस्तुभाउ आदि दिने गर्छन् । यसो गर्नुको कारण कसैले सम्पत्तिका लागि मात्रै विवाह नगरोस् र अथवा घर गरी खान सक्छ कि सक्दैन भन्ने हो । सन्तान जन्मिसकेपछि भने त्यो विवाह अब स्थायी भएको मानिन्छ ।

 

अन्य समुदायजस्तो मगर समुदायका नारीलाई रङको कुनै बन्देज वा नीति–नियम रहँदैन । अर्थात् उनीहरू बिहेअघिको पहिरन र रङ वा त्यसपछिको परिहन र रङ भन्ने हुँदैन । सिन्दुर लगाउने चलन पनि हुँदैन । रङ र पहिरनमा विभेद नभएकै कारण श्रीमान्को मृत्युपछि पनि एकल महिलाले अन्य समुदायजस्तो विभेद भोग्नुपर्दैन ।

 

मगर महिलाले लोग्ने मन परेन भने वा लोग्नेको मृत्यु भएमा सहजै अर्को बिहे गर्न पाउने छुट छ । लोग्ने हुँदाहुँदै अर्कोसँग गएमा भने पहिलो श्रीमान्ले बनाइदिएको गरगहनाको दोब्बर जारी तिर्नुपर्ने हुन्छ । बिहेपछि पनि मगर समुदायको महिलाले माइतीकै गोत्र धारण गर्न पाउँछन् । यसले गर्दा आफ्नो लोग्नेबाहेक अन्य आफन्तको क्रियाकर्म मान्नुपर्ने बाध्यकारी नियम हुँदैन । मान्ने–नमान्ने उनीहरूको स्वतन्त्रता हुन्छ ।

 

लैंगिक विभेद जनजाति समुदायमा कम छ । हाम्रो मगर समुदायमा पनि लैंगिक समानता मात्रै होइन, महिलाको स्तर माथिल्लो हुन्छ । महिला नै घरको मुली हुने चलन छ । समानताको मुख्य कडी भनेको महिलालाई निर्णायक र आर्थिक रूपमा सबल बनाए मात्रै पनि हुँदो रहेछ । मगर महिलाहरूले आदिम कालदेखि नै, जब लुगाको चलन थिएन, जब औद्योगिक लत्ताकपडामा आममानवको पहुँच थिएन, त्यति वेला पनि अल्लो धागो बुनेर लत्ताकपडाको प्रयोग गर्दै आएका छन् । त्यसैबाट महिलाहरूले पेवा (कुनै महिलाले आफैँ कमाएर जोडेको निजी सम्पत्ति जसमा अभिभावकले थप गरिदिने गर्छन् ।) पनि बनाउँछन् । यसले उनीहरूलाई आर्थिक रूपमा सबल बनाउने गर्छ । मगर समुदायमा महिलालाई माथिल्लो स्तर र अधिकार दिँदा सामाजिक रूपमा परिपक्व बनाउन सहयोग गर्नुका साथै कला र शिल्पमा पनि अब्बल बनाउँदै आएको मान्न सकिन्छ । 

 

अर्कातिर विवाहमा स्वनिर्णयको अधिकारले गर्दा सानै उमेरमा वैवाहिक सम्बन्धमा बाँधिने समस्या छ । अपरिपक्व उमेरमै बिहे गर्ने, सन्तान जन्माउने र सानै उमेरदेखि घरव्यवहारमा मात्रै सीमित हुनुपर्दा महिलाहरू उच्च शिक्षा हासिल गर्न, बाहिर संसार बुझ्न अक्षम छन् । फलस्वरूप अन्य जातिभन्दा आर्थिक रूपले अब्बल र अधिकार सम्पन्न भए पनि पुरुषसरह निर्णायक तहमा पुग्न भने मगर महिला वञ्चित छन् ।