• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
कुन्साङ
२०७८ बैशाख ४ शनिबार १०:३०:००
यात्रा

बदलिँदै हिमाली बिहे

२०७८ बैशाख ४ शनिबार १०:३०:००
कुन्साङ

बदलिँदो समयसँगै जीविकोपार्जनमा पनि परिवर्तन आयो । बदलिँदो जीविकोपार्जनले जीवनशैली रीतिरिवाजसँगै विवाह संस्थामा पनि निकै ठूलो परिवर्तन ल्यायो । यो परिवर्तन कुनै ठाउँमा दु्रत गतिमा र कुनै ठाउँमा अलि ढिलो पुग्यो । अहिले हुम्ली भोटेहरूको विवाहको शैलीमा पनि ठूलै फेरबदल आएको छ ।

 

हुम्लाको जड्यान गाउँहरू अर्थात् भोटे गाउँहरू विभिन्न समूहमा छुट्टिएका छन् । टुक्छ्युलुङ्बा अर्थात् साठीखोला भन्नाले खोलावरपरका आठ गाउँको समूहलाई बुझाउँछ । त्यस्तै ह्युल्सोदुनबा (सात गाउँको समूह) निन्बा, चाङ्बा र लिम्याँ (लिमी) । भोटे लामाहरूको थर लेख्ने चलन नभए पनि विभिन्न वंशावलीहरू हुन्छन्– गेल्ग्युत, दारवा, टेवा ख्युङ्बो, गेवाँ आदि । आनो वंशावलीबाहेककासँग बिहे गर्नुपर्ने हुन्छ । विशेषगरी ०२५ वर्षयता टुक्छ्युलुङबाहरूको बिहेको शैलीमा ठूलो परिवर्तन आएको छ ।

 

पहिलेपहिले एक क्वा (चिन्डो) छ्याङमा एउटा खादा बाँधेर १२ जना टोङ्ब (एउटै घरबाट छुटेको मान्छे)हरू गएर केटी रेये (माग्ने) चलन थियो । सुरुमा केटी रेये गर्दा दियो भने त्यसको केही दिनपछि केटाको घरबाट एकजना ठूलो मान्छे र पहिले माग्न जाने टोङ्बहरू रातो क्होही (बक्खु), छिरिङ किगोर (टोपी) लगाएर, एक जाँ (छ्याङ राख्ने ठूलो भाँडा)छ्याङ र भोजपत्रमा बेरेर तीनवटा पोल (पुरी) कुर्म (कोसेली) लिएर फेरि माग्न जान्थे । जसलाई रेलेन भनिन्छ । रेलेन गर्ने वेला कस्तो बिहे गर्ने भनेर सबैजना बसेर च्योताङ् (सल्लाह) गर्ने चलन थियोे । च्योताङ् गरिसकेपछि अरू कसैले नमागोस् वा मागिसक्यो भनी चिनाउन केटा पक्षले यूँ, च्युरु (मुगा) लगाइदिन्थे । त्यसपछि ठूलो लामाले निकालेको साइतमा बिहे हुन्थ्यो । त्यतिवेला विशेषगरी चार थरीको मागी बिहे हुने गथ्र्यो । पाक्लेन÷पाह्लेन, यारसुम्बो, रुवाच्युलरूप र कुन्मीरूप (केटी चोर्ने) ।

 

पाक्लेन/पाह्लेन
यी चार थरीका बिहेहरूमध्ये सबैभन्दा ठूलो बिहे पाक्लेनलाई मानिन्थ्यो । रातो क्होही (बक्खु), छिरिङ किगोर (टोपी) लगाएर २१ जना ङ्यौंहरू त (घोडा)लाई राम्रो–राम्रो ताइक, लिङ्स्याङ र टिलुले (चमर, घाँडा) सिँगारेर पाह्क्होही (बेहुलीका लागि लुगा) जिक, यू, च्युरु र मुतिक (पुलिक, तुथो र मुगा, मोती)को ओल्दाक (माला) र गालोङ (कानमा लगाउने गहना), छ्याङ र टोङ्बहरूलाई कुर्म पोल लगेर बेहुली लिन जाने चलन थियो । घोडा हिँड्दा लिङ्स्याङ र टिलु हल्लिएर वातावरण गुञ्जायमान हुन्थ्यो । त्यही आवाजले ङ्यौंहरू आइरहेको खबर दिन्थ्यो र घरमा पनि त्यहीअनुसारको तयारी गर्थे । बेहुलीको घरमा पुगेपछि निकै दिन स्यापु्र नाच्ने, गीत गाउने, बिहेका विभिन्न विधि पूरा गरेर बेहुलीलाई घोडामा चढाएर लैजान्थे । गीतअनुसार बिहेका प्रक्रिया पूरा गर्नुपर्ने र यसका विधि पनि लामा–लामा हुने भएकाले पाक्लेन गर्न महिनौँ लाग्थ्यो ।

 

यारसुम्बो
पाक्लेनपछि दोस्रो ठूलो बिहे यारसुम्बोलाई मानिन्थ्यो । पाह्क्होही, ग्येन्छा र कुर्म लिएर तेह्रजना ङ्यौं जान्थे । तीन दिनसम्म बेहुलीको घरमा बिहेको विधि पूरा गर्ने, स्याप्रु नाच्ने, गीत गाउने र तेस्रो दिनको बेलुका बेहुलीलाई पाह्क्होही र ग्येन्छाहरू लगाएर घोडा चढाएर लैजाने चलन थियो । बेहुली लिन आएका जन्तीहरूमध्ये सबैभन्दा बुढो मान्छेले क्याल्म गरेको छ्याङ अनामिका औंलाले तीनपटक छ्योसे (छ्याङ आकाशतिर छकिर्नेे) गर्दै अगाडि बढ्छ । बेहुली घर भिœयाउँदा बेहुलाको घरमा पनि बेहुला पक्षका महिला याङ्जेमा छ्याङ र खादा बोकेर सुइम (स्वागत) गर्छन् । 

 

रुवाच्युलरूप
रुवाच्युलरूपको विधि यारसुम्बोको जस्तै भए पनि यसमा सातजना ङ्यौंहरू बिहान जान्थे र बेलुका बेहुली लिएर फर्किन्थे ।

 

कुन्मीरूप (चोर्ने)
बेलुका तीनजना ङ्यौंहरू जाने र रातभरि रमाइलो गरेर बिहानै कुन्म (चोर) ले जसरी केटी चोरेर ल्याउने चलन थियोे । त्यसैले यो बिहे शैलीको नाम पनि कुन्मीरूप रहन गयो ।

 

केटी नमागेरै सुटुक्क तानेर लैजाने चलन पनि थियो । यदि टाढाको मान्छेले लग्यो भने एक क्व छ्याङ र तीनवटा पोल दिएर तिम्रो गाउँकी छोरी हामीले लग्यौँ भनी ग्वाला वा घट्ट पिस्नेलाई जानकारी दिएर जान्थे र ग्वाला, घट्ट पिस्नेहरूले केटीको घरमा यो खबर पुर्‍याइदिन्थे ।

 

फामाने (माइती मनाउने)
बिहेको शैलीहरू हराउँदै गए पनि फामानेचाहिँ पहिलेभन्दा अहिले एकदमै भव्य हुने गरेको छ । पहिले तीन वा बढीमा पाँचजना ङ्यौंहरू छ्याङ, पोल र खादा बोकेर बेलुका फामाने गर्न जान्थे । बेहुलीका आफन्तहरू बोलाएर रातभर नाचगान गरी बिहान उज्यालो नहुँदै फर्किन्थे । अहिले फामाने तीन दिन गर्ने चलन छ । 

 

किन हरायो बिहे शैली ?
सामाजिक अभियन्ता आङछिरिङ (अंगबहादुर लामा) भन्छन्, ‘बिहेको शैलीहरू हराउँदै जानुका पछाडि एउटा निकै दुःखलाग्दो कारण छ, त्यो हो– गीतहरू हराउँदै जानु र बिहेको प्रक्रिया नै थाहा नहुनु ।’ पहिले हिमाली क्षेत्रका मान्छेहरूको मुख्य पेसा भेडाबाख्रा पालन र कृषि नै थियो । भेडा पाल्नेहरूमध्ये ६ महिना एक भाइ लेकमा बस्थे र तिब्बतबाट नुन ओसार्थे । त्यसपछि हिउँदको ६ महिना अर्काे भाइ औलो अर्थात् अछाम, बझाङ, बाजुरा जान्थे । दाजुभाइहरू पालोपालो गरी भेडाबाख्रा लगेर जाने र कमाएको धनसम्पत्ति एक ठाउँमा जम्मा गर्थे । यसले परिवार आर्थिक रूपमा सम्पन्न हुन्थ्यो । यसका सकारात्मक पक्षसँगै नकारात्मक पक्षहरू पनि थिए ।

 

भेडाब्राखा पालन लोप भएपछि सबैजना दाजुभाइ एकैठाउँ बस्दा  झगडा पर्ने,  कुनै एक भाइले अर्काे बिहे गरेमा अंश नपाउने, घरमा आउनै नदिनेसम्म हुन्थ्यो । बहुपति प्रथाका कारणले समाजमा धेरै महिला अविवाहित बस्नुपथ्र्यो । र, समाजमा न्यलु (विवाह नगरी जन्मेको बच्चा) धेरै हुन्थे ।

 

हिमाली क्षेत्रमा जीविकोपार्जनमा आएको परिवर्तनका कारण पुराना खालका बिहेका तरिका परिवर्तन हुँदै छन् । यही वेला यता काठमाडौंले भने बहुपति प्रथा रहेको समाजमा महिला एकदमै निरीह, कमजोर र स्वतन्त्रता हरण भएको देख्न थाल्यो र देखिरहेको छ । तर, काठमाडौंले सिंगो घरपरिवार एकजना महिलाले चलाएको देख्दैन । ती महिलाको संघर्षलाई संघर्ष भन्न डराउँछ । न त ती महिलाको कथा नै लेख्छ । वास्तवमा हिमाली महिला कमजोर छैनन्, तर काठमाडौंले सधैँ लाचार, निरीह र कमजोर मात्र देखाउँछ । 

 

बहुपति प्रथा रहेको समाजमा घरको मुख्य व्यक्ति नै महिला हुन् । घरका साना–ठूला  निर्णयदेखि  कमाएको सम्पत्तिसम्म महिलाको हातमा हुन्थ्यो । काठमाडांैले सोच्छ, बहुपति भएको समाजमा महिलालाई जबर्जस्ती धेरै दाजुभाइको श्रीमती बनाइन्छ । तर, यथार्थमा धेरै दाजुभाइ भएको घरमा बिहे गर्दा सबैको श्रीमती हुनैपर्छ भनी कुनै जबर्जस्ती हुँदैन । कुनै एक श्रीमान्ले अर्की श्रीमती ल्याएमा उसलाई अंश नदिने घरमा पस्न नदिने चाहिँ हुन्थ्यो । बहुपति प्रथाका केही नकारात्मक पक्ष भए पनि यो प्रथा काठमाडौंले चित्रण गरेजस्तो कुरूप भने छैन । यो प्रथा स्त्रीप्रधान समाजको अस्तित्वको प्रमाण पनि हो ।

 

हिमाली क्षेत्रमा विवाह संस्थामा परिवर्तन आउनुका विभिन्न कारण छन् । जीविकोपार्जनका विभिन्न माध्यम खुले । पहिले दाजुभाइ मिलेर कमाउँथे । बिस्तारै मान्छेहरू जीविकोपार्जनका लागि अरू काम गर्न थाले । शैक्षिक संस्थाहरू खुले । गाउँ सहरतिर बसाइँ सर्न थाल्यो । समाज पुँजीवादतिर ढल्किँदै जाँदा सम्बन्धमा पनि ठूलो फेरबदल आयो । गाउँका मान्छेहरू बाहिर जाने र गाउँमा बाहिरका मान्छे पनि आउजाउ गर्न थालेपछि  खसआर्यहरूले भोटेहरूको भाषा र संस्कृतिलाई अपमानको दृष्टिले हेर्न थाले । र, भोटे समाजमा खसआर्यको संस्कृतिको दबदबा पनि बढ्न थाल्यो । यसको प्रभाव बहुपति प्रथामा पनि पर्‍यो । जीविकोपार्जनमा परिवर्तन, संस्कार–संस्कृतिमा खसआर्य प्रभाव परेपछि र अन्य  विभिन्न कारणले गीतहरू पनि पुस्तान्तरण हुन सकेन । गीत हराउँदै गएपछि बिहेको शैली पनि हराउँदै गयो । त्यसमाथि ०६२–०६३ को माओवादी जनयुद्धले पनि केही न केही प्रभाव पार्‍यो ।

 

बहुपति प्रथा प्रभावी हुँदा एक परिवार र पुस्तामा एकपटक मात्रै बिहे हुने भएकाले पनि बिहे भव्य हुने गरेको हुन सक्छ । जब निजी श्रीमान्–श्रीमती र घरको सम्पत्ति निजीकरण हुन थाल्यो, त्यसको सीधा प्रभाव बिहेमा पर्न गयो । सबैले आआफ्नै तरिकाले बिहे गर्न थालेपछि बिहेको शैली हराउँदै गयो । पहिले बहुपति प्रथा अँगाल्ने भोटे समाजमा अहिले यो प्रथा कम हुँदै गएको छ । कसै–कसैले अहिले पनि यो प्रथा अँगालेका छन् । कतिले सुरुमा यो प्रथा अँगाले पनि पछि आफ्नो खुसीले बिहे गर्ने अवस्था आएको छ । वास्तवमा भेडाबाख्रा पालन र कृषिले नै यो प्रथालाई लामो समयसम्म थेगिराखेको थियो ।

 

अहिले बहुपति प्रथा अँगालेर आएका अघिल्ला पुस्ताका मानिस आआफ्नै बिहे गरेर छुट्टाछुट्टै बसेको देख्दा दुःख व्यक्त गर्छन् । पारिवारिक सम्बन्ध खुकुलो भएको उनीहरूको गुनासो छ । तर, नयाँ पुस्ता भने बिहेको नयाँ शैली अपनाइरहेको छ । उनीहरू पुराना गीतको खोजीमा पनि लागेका छन् ।