• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शान्ति तामाङ
२०७८ बैशाख ११ शनिबार ०८:३४:००
रिपाेर्ट

कहाँ छिन् नानीमैया दाहाल ?

२०७८ बैशाख ११ शनिबार ०८:३४:००
शान्ति तामाङ

पञ्चायतकालका शक्तिशाली नेता जोगमेहर श्रेष्ठलाई निर्वाचनमा पराजित गरेकी नानीमैया हिजोआज कहाँ छिन् ?

 

नानीमैया दाहाल कुनै समय नेपाली राजनीतिको निकै चर्चित नाम हो । पञ्चायती व्यवस्थाको उत्तरार्धतिर निकै चर्चा बटुलेकी नानीमैया यतिवेलाको राजनीतिक परिदृश्यमा भने कतै देखिन्नन् । राष्ट्रिय पञ्चात सदस्यसमेत भएकी नानीमैया कहाँ छिन् यतिवेला ? उनको सपनाको लोकतन्त्र कस्तो थियो होला ?

 

कतिपयले उनलाई पञ्चायतलाई सबक सिकाउन चुनावमा उठाइएको ‘उटपट्याङ’ पात्रको रूपमा समेत चित्रण गरे । कतिपयले गैरराजनीतिक व्यक्तिलाई चुनावमा उठाइएको भनेर उनको अवमूल्यन गरे । तर, चार दशकअघि जतिवेला राजनीतिमा महिलाको उपस्थिति नगण्य थियो, त्यस्तो परिवेशमा नकारात्मक भोटकै परिणाम निर्वाचन जितेको सत्य हो ।

 

गतसाता पशुपति क्षेत्रमा भेट्दा नानीमैया उस्तै फुर्तिली देखिन्थिन् । अनुहारमा बुढ्यौलीका धर्सा देखिए पनि बोलीमा भने उस्तै जोस थियो । ७६ वर्षीया नानीमैया अझै राजनीतिदेखि समाजसेवासम्मका काममा व्यस्त थिइन् । उनको जोस हेर्दा लाग्थ्यो, उनी भर्खरै ३० पुगेकी छिन् र उनीसँग अझै लामो जिन्दगी बाँकी छ । 

 

०००

 

नानीमैया पहिला गाउँ उपप्रधानपञ्च थिइन् । पछि ०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्य बनिन् । लोकतन्त्र दिवस मनाउन थालेको डेढ दशक नाघे पनि उनलाई लोकतन्त्र आएको जस्तै लागेको छैन । लोकतन्त्र केबल नेता र उनका कार्यकर्तामा मात्र सीमित भएको उनलाई लाग्छ । ‘लोकतन्त्र भनेको लोकको लागि हो । देश र जनताका लागि हो । लोक र देशले सुख पाउनु हो,’ उनी भन्छिन्, ‘तर नेता र पार्टीका कार्यकर्ताका लागि मात्र लोकतन्त्र आएकोजस्तो भयो ।’

 

सबै जनताले लोकतन्त्र मनाउने अवस्था अझै नभएको उनी बताउँछिन् । ‘भुइँसम्मका मानिसले लोकतन्त्र मनाउनु प¥यो नि अनि पो लोकतन्त्र । लोकतन्त्र भन्ने अनि भ्रष्टतन्त्र चलाउने ? जनताले न्याय–निसाफ खोइ पाएको ? उनी भन्छिन् । 

 

निडर, हक्की र अन्याय नसहने उनले १० वर्षको उमेरदेखि नै राजनीति सुरु गरिन् । जतिवेला राजनीतिमा महिला भेट्न मुस्किल पथ्र्याे । राजनीति गर्ने महिलालाई अनेक लाञ्छना लगाइन्थ्यो । उनले त्यस्तो वेला राजनीति सुरु गरिन् । त्यतिवेला उनका बारेमा अनेकन् किस्सा बने । जुन सकारात्मकभन्दा नकारात्मक धेरै थिए । ‘कुरा काट्ने जमात कहाँ कम थियो र ? तर म कति पनि सहन्नथेँ । कतिलाई त हात नै हाल्नुपरेको थियो,’ उनी आफ्नो स्वभावबारे भन्छिन् । 

 

१० वर्षकै हुँदा २०११ सालमा त्रिभुवन ग्राम विकासको सभापति भएर राजनीतिमा लागेकी उनलाई त्यो वेला रोक्ने, छेक्नेको संख्यामा कमी थिएन । अनेक कुरा काटिन्थ्यो । तर, उनले कहिल्यै हार मानिनन् । आफ्नो काम, कर्तव्यमा अहोरात्र लागिरहिन् । त्यसकै फल उनी २९ सालमा जोरपाटी गाउँको गाउँ उपप्रधानपञ्च भइन् । त्यतिवेला मणिराम चालिसे प्रधानपञ्च थिए । उपप्रधानपञ्च भए पनि उनको भूमिका कुनै पुरुषको भन्दा कम थिएन । अर्थात् प्रधानपञ्चको भन्दा कम थिएन । उनले गाउँमा प्र्रभाव छाड्ने काम गर्न कुनै कसर राखिनन् । 

 

उपप्रधानपञ्च भएपछि पनि उनले थुप्रै सुधारका काम गरिन् । साल्ट ट्रेडिङमा घन्टौँ बस्नुपर्ने लाइन उनले व्यवस्थित गरिन् । ‘मलाई जोरपाटी गाउँको उपप्रधानपञ्च भएपछि गाउँ पञ्चायतले साल्ट ट्रेडिङमा पठायो । एक माना तेल लिनका लागि पनि घन्टौँ लाइन बस्नुपर्ने । यस्तो पनि कहीँ हुन्छ भनेर हामी एक पैसा धेरै तिरौँ । दिनभर यो घाममा तातिनतिर नलागौँ । यसमा सबैले हो मा हो मिलाए । त्यसपछि एक माना तेल र नुनका लागि लाइन बस्नुपर्ने अवस्थाको अन्त्य भयो,’ उनले सम्झिइन् । उनको पहलपछि नै सबैतिर सामान सर्वसुलभ पाइन थालेको थियो । 

 

यो त एउटा उदाहरण भयो । तर, गाउँ र जनताका लागि उपप्रधानपञ्च भएपछि उनले यस्ता थुप्रै काम गरिन् । सुकम्बासीहरूलाई बस्ती बसाउने, भूमिसुधार लागू गरेर भूमिहीनहरूलाई जग्गा दिलाउने, कसैलाई दुःख पीडा भयो भने समाधान गर्ने, बिजुली, पानी निर्माणमा सहयोग गर्नेजस्ता सामाजिक काम गरेपछि उनको लोकप्रियता झनै बढेको थियो । 

 

उपप्रधानपञ्च हुँदाको एक घटना उनलाई अझै याद छ । गरिब किशोरीको न्यायका लागि उनले न्यायाधीशलाई हातै हालेको घटना सुनाइन् । ‘कपनको एउटी गरिबकी छोरीको बलात्कारपछि बच्चा जन्मियो । तर, गुपचुप राख्न खोजे । मिलाउन खोजे । मैले आफ्नै पहलमा उजुरी दिएँ । तर, बारम्बार न्यायाधीशले उल्टै गरिब देखेर केटीलाई हप्काए । त्यही दिन दिउँसो मैले न्यायाधीशलाई तीन छाता हानिदिएँ,’ उनले भनिन् । त्यसपछि त्यही दिन न्यायाधीशले न्वारान पनि गर्नू, मानाचामल पनि दिनू, अंश पनि दिनू भनेर मुद्दा जिताइदिएको उनलाई अझै सम्झना छ ।

 

त्यसकै फल २०३८ वैशाख २० गते पञ्चायती संसद्को निर्वाचनमा उनले राष्ट्रिय पञ्चायतमा दाबेदारी दिइन् । चुनावै लड्नका लागि उनीसँग पैसा थिएन । तैपनि उनलाई पैसाकै कारण चुनाव लड्न असहज भएन । उनको चुनावी प्रचारप्रसारका लागि विद्यार्थीहरूले पैसा संकलन गरे । उनले पनि कर्मचारी, सेना, प्रहरी, विश्वविद्यालयका प्राध्यपकहरूसँग भोट मागिन् । अन्ततः नानीमैयाको चुनाव चिह्न घडीमा अत्यधिक मत खस्यो । काठमाडौंबाट प्रत्यक्ष निर्वाचित हुने दुई सांसदमध्ये नानीमैयाले ६५ हजार ७ सय ७७ मत पाएकी थिइन् । पञ्चायतकालमा उपत्यकामा हालिमुहाली जमाएका जोगमेहर श्रेष्ठलाई उनले हराइन् । ‘पञ्चेहरूले धाँधली गरेर मेरो मत कम बनाए । घन्टाघर फुटाए, मलाई घडी पर्छ भनेर । अहो ! अपराधीहरू पहिला पनि कम्ता थिएनन्,’ उनले भनिन् । सेना, कर्मचारी, विद्यार्थीले उनलाई अत्यधिक भोट हालेको नानीमैयाको बुझाइ छ । 

 

गाउँ उपप्रधानपञ्चपछि उनी एकाएक कसरी राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भइन् ? उनको जवाफ सरल छ, ‘यही कारण भोट आयो मैले भन्ने होइन । म जहाँ गए पनि प्रस्ट बोल्ने । कसैलाई अन्याय नगर्ने । अदालत गए पनि सोझै बोलिदिने । जहाँ गए पनि न्याय गरेरै आउँथेँ । लप्पनछप्पन गर्न जानिनँ,’ उनले भनिन् । 

 

राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित हुनुभन्दा अघिदेखिको उनलाई नजिकबाट चिनेकी साहित्यकार भद्रकुमारी घले पनि जनताको काममा लागि नानीमैयाले कहिल्यै नाइँनास्ती नगरेको बताउँछिन् । ‘उनी माननीय भए पनि नभए पनि जनताको कामका लागि भनेर जहिले पनि हाजिर भइन्,’ उनले भनिन्, ‘जनताको भलो गर्नका लागि कहिल्यै पछाडि हटिनन् ।’ 

 

लेखक मल्ल के. सुन्दर नानीमैयाबारे भन्छन्, ‘कसैलाई दुःख प¥यो भने जुनसुकै अड्डामा गएर पनि उनी काम गर्थिन् । हाकिमसँग मुखमुखै लाग्न पनि पछि पर्दिनथिन् । उनी मजदुर किसानका साथी जस्तै थिइन् ।’ सहरका निम्न वर्गका मानिसमा नानीमैयाको प्रभाव निकै भएको सुन्दरको भनाइ छ । उनी भन्छन्, ‘जोगमेहर श्रेष्ठको दबदबाबाट उपत्यकावासी दिक्क र हैरान भइसकेका थिए । उनलाई हराउन नानीमैयालाई उठाइयो । उपत्यकाका सचेत वर्गले पनि उनलाई सहयोग गरे ।’ 

 

राष्ट्रिय पञ्चायतमा पाँच वर्ष बिताएकी नानीमैयाले आफ्नो कार्यकाललाई खेर जान दिइनन् । पाँच वर्ष व्यक्तिगत जीवनबाट टाढा बसेर जनताका लागि काम गरिन् । काठमाडौंबाट जितेकी सांसद भए पनि उनीकहाँ सहयोग माग्न आउने देशको जुनसुकै ठाउँका मानिसलाई सहयोग गरिन् । विद्यार्थी, गरिब, दुःख पाएका, औषधि गर्न नसक्ने अवस्थाका मानिसलाई जुनसुकै वेला सहयोग गरिन् । त्यसका लागि मन्त्री, सांसद, कर्मचारी जोसुकैसँग झगडा गर्न, भनाभन गर्न वा हात हालाहाल गर्न पनि तयार हुन्थिन् उनी । ‘मलाई खानबस्नका लागि पुगेकै थियो । अहिलेजस्तो मोटर थिएन । जहाँ गए पनि हिँड्ने नै हो,’ उनले भनिन्, ‘मैले मेरा लागि कहिले पनि मागिनँ । मसँग सहायता माग्न आउनेका लागि मात्र मागिदिन्थेँ । नदिए म मन्त्रीमाथि नै जाइलाग्थेँ । प्रधानमन्त्रीलाई पनि छोड्दिनथेँ ।’

 

स्वतन्त्र रूपमा चुनाव लडेर जितेकी नानीमैयाको पटक–पटक भेट त्यसवेलाका गृहमन्त्री जोगमेहर श्रेष्ठसँग भइरहन्थ्यो । ३८ देखि ४२ सालसम्म राष्ट्रिय पञ्चायत सदस्य भएकी नानीमैयालाई जोगमेहरको साथ भने रहिरह्यो । राष्ट्रिय पञ्चायत सदस्य भएपछि नानीमैयालाई आर्थिक समितिमा राखियो । रुद्रप्रसाद गिरी समिति सभापति थिए । पढेलेखेको नभए पनि आफ्नो कर्तव्यबाट भने उनी कहिल्यै पछि हटिनन् । गलत कामको साक्षी कहिले पनि बसिनन् । भत्ताका लागि हस्ताक्षर गरेर भाग्ने काम गरिनन् । ‘सही गएर गइहाल्नुस् । भत्ता आइहाल्छ भन्थे । भत्ता खान आको हो र ? हिसाब हेर्न आएको हो । कहाँ जान्छु भन्थेँ,’ आफूले अड्डी कसेका दिनलाई स्मरण गर्दै उनले भनिन्, ‘बेरुजु त खुब समात्थेँ ।’

 

राष्ट्रिय पञ्चायतको सदस्य भएपछि उनका दिनहरू देश, जनता र जनताको कामप्रति मात्र केन्द्रित रह्यो । जनताका समस्या राख्न कुनै कसर बाँकी राखिनन् । भूमि सुधार व्यवस्था लागू हुनुभन्दा अगाडि उनले लयबद्ध गरेर सुनाएको कविता अझै उनको सम्झनामा छ । अझै धाराप्रवाह भन्न सक्छिन् :

 

झल्लरे भोटो, त्यही पनि छोटो, मैलो अघोर
चार हाते खाडी, पटुकी बाँधी लौरी टेकेर 
घाममा जान्छौँ, घाममा सुत्छौँ, डढाई शरीर । 
यो विश्व ब्रह्माण्ड तिमी नै रछौ, बिचरा गरिब 
घर छैन छाप्रो रुखमुनि बस्छौ, के खान्छौ ए भाइ ?
कसले गर्छ माया र दया गरिबलाई ?

 

उनले यति भनेपछि भुमिसुधार व्यवस्था लागू भएको उनको दाबी छ । बाटोमा हिँड्ने क्रममा मैलो लुगा, मैलो टोपी लगाएको गरिब जनता देखेपछि उत्पन्न भएको भावलाई यसरी कवितामा उनेको उनको भनाइ छ । 

 

राष्ट्रिय पञ्चायतमा उनलाई काम गर्न भने सकस नै थियो । कांग्रेसले भोट दिएर पठाएको भनेर उनलाई कसैले सल्लाह, सुझाब दिँदैनथे । तर पनि आफूले गर्नैपर्ने कामबाट उनी कहिल्यै पनि भागिनन् । डटेरै आफ्ना कुरा राखिन् । पूरा कार्यकाल भत्ता खाने मात्र होइन, कामै गरेर देखाइन् । पञ्चायतको सदस्य हुँदा अरू आफ्नो जिल्लामा मात्र काम गर्थे, उनी भने सबै जिल्लाका काममा खटिन्थिन् । यही कारण पूर्व मेचीसम्मका मानिस मन्त्रालयमा केही काम भए उनलाई अघि लगाउँथे । ‘आफ्नो गाउँठाउँमा विकासका काम आएन भने मन्त्रालयमा डेलिगेसन आउँथे । तर, मन्त्री काम गर्न मान्दैनथे,’ उनले भनिन्, ‘तँ भोलि भोट माग्न त्यहाँ जान पर्दैन, काम गर्ने कि नगर्ने भनेर म झपारिदिन्थेँ । अनि काम हुन्थ्यो । त्यही भएर मलाई अघि लगाएर लान्थे । सबैले मान्थे ।’ 

 

जीवनको महत्वपूर्ण समय राजनीतिमा सुम्पिएकी नानीमैयाले राजनीतिमा लागेर केही नपाएको र केही नगुमाएको बताउँछिन् । भन्छिन्, ‘बरु बाबुबाजेको भएको अलि–अलि सम्पत्ति सकाएँ । तर, मलाई कुनै गुनासो छैन ।’ 

 

राष्ट्रिय पञ्चायतकै सदस्य हुँदा उनको नाममा आउने विदेश भ्रमणमा मन्त्री सचिवका आफन्त गएको उनको भनाइ छ । यस्ता खालको अवसरबाट भने उनी किनारामै परिरहिन् । गाउँ उपप्रधानपञ्च र राष्ट्रिय पञ्चायतको सदस्य उनी काठमाडौं जिल्लाको सबै जसको घर–घर पुगिन् । ‘गरिबलाई दुःख दिनेलाई सीधै पापी भनिदिन्थेँ । चाहे जोसुकै होस् । रिसाओस् कि खुसाओस् । मैले मतलब नै गरिनँ,’ उनले भनिन् ।

 

सानैदेखि गरिब, दुःखीको हकहितमा काम गरेकी उनलाई सबैले सुख पाउनुपर्छ भन्ने लाग्छ । सबै समान हुनुपर्छ भन्ने विचारमा उनी आज पनि अडिग छिन् । पारिवारिक जीवनबाट टाढा रहेर काम गरिरहेकी छिन् । अविवाहित उनले पितृसत्तात्मक सामाजिक व्यवस्थालाई चुनौती दिँदै बुबाआमाको सम्पत्ति सम्हालेर बसेकी छिन् । बिहेजस्तो नेपाली समाजमा जकडिएको सामाजिक संस्थालाई धक्का लगाउन सफल भएकी छिन् । ‘मेरो बाआमाको छोरो थिएन । बाआमालाई पनि पाल्न प¥यो नि ! त्यही भएर माग्न आउने, कर गर्ने धेरै भयो । तर, केटा मानिसले मलाई हेर्ने आँट नै गर्दैनथे । म झपारिहाल्थेँ । पिट्न गइहाल्थेँ,’ उनले भनिन्, ‘अर्कोको घर गएपछि अर्कोको अधीनमा बस्नुपथ्र्याे । त्यसैले पनि मैले बिहे गरिनँ ।’

 

देशमा महिला प्रधानमन्त्री भएमा आजको जस्तो बिकराल समस्या अलि कम हुने थियो भन्ने उनलाई लागिरहन्छ । उनले भनिन्, ‘यो देशमा महिलालाई प्रधानमन्त्री हुनै दिँदैनन् । महिला प्रधानमन्त्री भएपछि मात्रै देश बन्ला कि ?’