वर्षौं भएछ,
आफ्नै आँखाको आधा आकाशमा
घामको एउटा न्यानो फूल पर्खिएको
जूनको एउटा उज्यालो फल पर्खिएको
तर अचम्म यो लाग्छ कि,
आमाको त्यो एउटै पवित्र कोखमा पनि
किन उदाउँछ, एकातिर मात्र बिहान ?
र अर्कोतिर सधैँ किन अस्ताउँन मात्र आउँछ साँझ ?
यो कुन पर्दा हो ?
जसले दुई चिरा पारेर छुट्याएको छ एउटा पृथ्वीलाई
र एकातिर अँध्यारो मात्रै पारेर
निरन्तर सल्काइरहेछ अर्कोतिर मात्रै दियो
एकातिरको आधा आकाश
सधैँ खेल्छ बगैँचामा ताराहरूको गुच्चा
सधैँ नुहाउँछ, दुधै दूधको पानीले
सधैँ गुड्छ, स्कुल जाने बाटाहरूमा
र सधैँ उडाउँछ रहरको रकेट
त्यहीँ अर्कोतिरको आधा आकाश
हुत्याइन्छ सधैँ जुठेल्नामा
रुझाइन्छ, सधैँ तिरस्कारको हिलोले
घोकाइन्छ सधैँ इज्जत र बेइज्जतको दाग
सधैँ कुदाइन्छ, मेलापात र घाँस दाउरा
र भत्काइन्छ नउठ्दैको एउटा हिमाल
धन्न
ताराहरू चम्किएका छन् भृकुटी बनेर
कमलहरू फुलेका छन् योगमाया बनेर
धन्न,
आदिम कालदेखि जिउँदै छ
यो अर्धाकाशको ओठमा हरियो मुस्कान
सोचौँ त
कुनै दिन त्यो आधा आकाश हरायो भने ?
वा आधा छानो खस्यो भने घरको ?
मन्थली–४ रामेछाप
हाल : क्यान्सस सिटी, मिजौरी अमेरिका