• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
केशव सिलवाल काठमाडाैं
२०७५ चैत ३० शनिबार १०:३८:००
रिपाेर्ट

बाको डायरी

२०७५ चैत ३० शनिबार १०:३८:००
केशव सिलवाल काठमाडाैं

राति सुत्ने प्रहरमा घोसेमुन्टो लगाएर खाली कागजमा केरमेट गरिरहने त्यस्तो मिस्टर डायरीबाज होइनन् मेरा बा । डायरी लेखेर नाम कमाउनु उनको जीवन–कार्यसूचीमा लिपिबद्ध थिएन ।

उनी थिए साधारण मनुवा । जागिर खानु र परिवार पाल्नु उनको अधिकतम कार्यनीति र सुखी हुनु जीवनको रणनीति थियो । 

अहिले मिस्टर डायरीबाजको अदना चकचकीले पाठक आतंकित छन् । कोही आफूलाई महान् भनाउन खेतालाद्वारा हावादारी डायरी लेखाइरहेका छन् । केहीले त मदन पुरस्कारै टप्काइसके । 

त्यस्तो मदन पुरस्कार नै कुम्ल्याउने डायरी लेखेका होइनन् मेरा बाले । मेरा बा लक्ष्मीप्रसाद देवकोटा, भैरव अर्याल र शंकर लामिछाने थिएनन् । 

मलाई थाहा थिएन– मेरा बा डायरी लेख्छन् ! बाका कतिपय भित्री कुरा सन्तानलाई थाहा हुने कुरै भएन । उनी त सिपाही थिए, बन्दुकसँगै खेल्थे । बन्दुकले विश्राम पाएको समय उनी डायरी लेख्दा रहेछन् । 

म रोमाञ्चित भएँ, जब बाको डायरी मेरो हात लाग्यो । मानौँ, बाले छोडेको ठूलै खजाना मेरो हात प¥यो । तर, त्यस्तो खजानै छाड्ने हैसियतका थिएनन् मेरा बा । बरु संघर्षका अनेक आयाम छाडेर गएका थिए, मैले बिरासतमा पाएको थिएँ यिनै दुःख र प्रतडना । निम्न वर्गबाट मध्यम वर्गमा उत्थान हुन कति कठिन हुन्छ, त्यसको साक्षी थिए मेरा बा । बाले जति काम गर्न मलाई कैयौँ सकस झेल्न परिरहेको छ । बाको इज्जत जोगाउने जिम्मा परिवार र समाजले मेरै काँधमा थोपरेको छ । म बेमतलबी छु, अलग छु । 

भन्छन्– इतिहास अध्ययनका लागि डायरी महत्वपूर्ण सामग्री हुन् । नेपाली इतिहासका कतिपय तथ्य चिनियाँ यात्रीको डायरीबाट उतारिएका छन् । बाको डायरीमा मैले समय नै उदांगो पार्ने खालको त्यस्तो उदात्त इतिहास पाइनँ । काँठमा हुर्के–बढेको र हातमुख जोर्न मुस्किल मानिसलाई कहाँ ऐतिहासिक डायरी लेख्ने फुर्सद हुनु ! बाको डायरीमा त आफ्नो जीवनलाई व्यवस्थित बनाउन केही टिपोट टिपिएका थिए । उतिवेला ४५ वर्षअघिको टिपोटले मलाई रोमाञ्चित तुल्यायो, कुतूहल बनायोे । 

बा बितेको ६–७ वर्ष भइसक्यो । जब यसका अक्षर हेर्छु र सुमसुम्याउँछु, बालाई छोएजस्तो लाग्छ । साक्षात् बा उभिएका छन् मेरो सामुन्ने । अनि सम्झन्छु त्यतिवेला, ४५ वर्षअघिका बा । 

बा भनेपछि हामी डरले कुथुर हुन्थ्यौँ, आर्मी शासनजस्तो ! जहिल्यै रिसाहा अवतारमा देखिन्थे बा । हाँस्नै जान्दैनथे कि जस्तो ! दुःखले मानिसलाई अँध्यारोमुखे बनाउँछजस्तो । म कहिल्यै बासँग जिस्केर, लाडिएर बोलिनँ । 

बाले एउटा समर नै लडेर आफूलाई जीवनमा स्थापित तुल्याएका थिए, हामीलाई साक्षर बनाएका थिए । गाउँमा गुरुकुल किसिमको शिक्षालय रहेछ, अलि माथिल्लो कक्षा उक्लिएपछि एक काँधमा पिठो र अर्को काँधमा दाउरा बोकेर बा काँठबाट पाटन सहर छिरे, सुकुलमै सुते, दुःख काटे । कक्षा ८ सम्म पढे र सिपाही भए । 
यी कुरा छैनन् डायरीमा । यी त बाको मुखले बारम्बार दोहो¥याएर सुनेका कथा, व्यथा र उपदेश हुन् । 

मैले फेला पारेको डायरी अचम्मको छ । एकदम संक्षिप्त डायरी । भारी भरकम व्याख्या र विश्लेषणरहित । जीवनका सुखद र दुःखद अनुभूति पनि लेख्न भ्याएनछन् बाले । 

डायरीमा युद्ध र आदर्शका बडेबडे कुरा छैनन् । धेरै साना कुरा छन् डायरीमा । नितान्त झिनामसिना घरायसी कुरा । तर, मलाई ती महाकाव्यझैँ लागिरहेछन् । कहिले पानी प-यो, कहिले मकै छरियो, कहिले धान गोडियो, कहिले मकै भाँचियो, कहिले तलब आयो, कहिले ब्यारेकबाट घर गइयो आदि–इत्यादि । कहिले भान्जाको बिहे भयो, कहिले दाइको छोरीलाई के दाइजो दिइयो, आमालाई के कोसेली लगियो आदि । यी अरूका लागि मतलबका विषय होइनन् । मेरा लागि भने प्रिय छन् फूलजस्तै, मुटुजस्तै । आफू जन्मेभन्दा अगाडिकोे समय बालाई पढ्नु त्यसैपनि आनन्द र रोमाञ्चक हुन्छ । हर्ष र पीडाले शरीर जुरुंग हुन्छ । 
२०३१ जेठ १ गते तलब १२५/– प्राप्त ।
२०३१ जेठ १७ गते सोमबार घर जाँदाको खर्च–
चुरोट– रु. २/–
औषधि– रु. ६/–
मसला– रु. २/५०
बिस्कुट– रु. २/६०
जेरी– रु. १/३०
खुर्सानी– रु. /५०
भाँडा– रु. २/५०
दाल/प्याज– रु. ३/–
२०३१ असार २५ गते मंगलबार– दिसा लागी सख्त बिरामी ।

अब दाँज्नोस् त अहिलेको महँगीलाई । तपाईं टोकेर जिभ्रै छिनाल्न सक्नुहुन्छ । महँगीले आकाश छेडेर चन्द्रमा पार गर्दै मंगल ग्रहको यात्रा गर्नै लाग्दा पाँच रुपैयाँमुनिको नोट नै उत्पादन गर्न छाडिसक्यो राज्यले । एक किलो प्याज किन्न तीन रुपैयाँ होइन, तीन झोला हजारको नोट चाहिने हुन लागिसक्यो । मिठाई किनेर खाने किस्मत त साहु मालिकको मात्र हो । त्यतिवेलाको मूल्य देख्दा डायरी हेर्दाहेर्दै बेहोस हुन सक्छु ।

बाको उमेर ज्यादा थिएन, २००९ सालमा जन्मिएका मेरा बा मात्र ६२ वर्षमा बिते । दुःख, संघर्ष र चुरोटले लग्यो बालाई । हामी टुहुरा भयौँ कि के भयौँ ? जीवनको जोहो बटुल्ने कर्ममा घोटिइरहेका छौँ, जस्तो मेरा बा घोटिन्थे, हामी सबैका बा घोटिन्छन् । बाले निमेक गर्न सिकाए, हरेस खान सिकाएनन् । समय यसरी बग्यो कि हामी बाविना पनि टिक्न अभ्यस्त भयौँ । हामी टुहुरा भएनौँ, झन् मिहिनेतिला भयौँ जुन बाले सिकाए । यति हो कविता लेख् भनेर कहिल्यै भनेनन् जुन म गरिरहेको छु । 

मैले फेला पारेको बाको डायरी अचम्मको छ । डायरीमा युद्ध र आदर्शका बडेबडे कुरा छैनन् । छन्, नितान्त झिनामसिना घरायसी कुरा । तर, मलाई ती महाकाव्यझैँ लागिरहेछन् । कहिले पानी प-यो, कहिले मकै छरियो, कहिले धान गोडियो, कहिले मकै भाँचियो, कहिले तलब आयो, कहिले ब्यारेकबाट घर गइयो आदि–इत्यादि ।

बाको डायरी पल्टाइरहेको छु, कैयौँ पाना खाली छन् । एउटा पानामा अडिन्छु– २०३१ साल वैशाख । घरको टायल छाउने काम चलिरहेको रहेछ । ज्याला यति न्यून कि अचम्म लाग्छ । त्यतिवेला सिपाहीको तलब १२५ रुपैयाँ । २५ सयवटा टायल किन्दा ६२५ रुपैयाँ । खर्चबारे बा लेख्छन्–
टायल छाउने– २ जना– ५/– का दरले– १०/–
बोक्ने २ जना– २/– का दरले– ४/–
चुरोट– ५/–
खाजा– ४०/– 
उमेरमा त बा ह्यान्डसम नै थिए । बैँसमा मानिस ह्यान्डसम हुनु कुन ठूलो कुरा हो र ? उमेरमा एकतर्फी भए पनि सबैले प्रेम गरेकै हुन्छन् । तर, बाको प्रेमको चर्चा गर्नुचाहिँ छोराछोरीलाई लोककथा सुनेजस्तै लाग्छ । मेरा बाको प्रेम चर्चित थियो त्यतिवेला । डायरीको एक पन्नामा यस्तो भेट्टाइयो ।

२०३० चैत १० गते शनिबार– माइलीसँग गफ र ठट्टा । बारी सफा । बाको प्रेम कस्तो थियो अहिले चर्चा हुन छाडिसक्यो । तर, त्यो सफल हुन सकेन । ती तामाङ युवती थिइन् जससँग बा ठट्टा गर्दै जिस्कन्थे । जातकै कारण बाको त्यो प्रेम अपाहिज बनेकोे हुन सक्छ । बाले यसबारे केही भनेनन् हामीलाई । छोराछोरीले धेरै सुन्ने, बुझ्ने र खोतल्ने कुरै भएन । बालाई प्रेम–विछोडले आघात परेको पनि कहिल्यै थाहा भएन । कहिलेकाहीँ बुढापाकाले बालाई जिस्क्याउन छाडेका थिएनन् । 

बाको गुण ममा स¥यो कि सरेन म भन्न सक्दिनँ । बा इमानदार थिए । नैतिकवान् थिए । हरेक छोराछोरीलाई यस्तो लाग्न सक्छ, आफ्नो बा–आमाप्रति । बासँग कतिपय कुरामा म बाझेँ । तर, सधैँ सम्मान गरेँ । उनी पनि केही लेख्दा रहेछन्, गुनगुनाउँदा रहेछन् । उनको रमाइलो गीत डायरीमा टिपिएको रहेछ ।

सिपाही– हे प्यारी ! तिम्ले आँखाको आँसु आँखैमा सम्हाल
पल्टनको जागिर खानलाई म त जाँदै छु ब्यारेक
हाँसेर बिदा देऊ न प्यारी ल्याइदिउँला रिबन
सबैले भन्छन् रमाइलो हुन्छ त्यो फौजी जीवन
हो झन्डै झुन्डले डुबायो हाम्लाई हरायो चेतना
यस्तै त हो नि तिम्रो र मेरो मनको वेदना ।
नारी– हे प्यारा ! मलाई एक्लै छोडी नजाऊ त्यसरी
यो दिलमा तिम्रो सम्झना आउँदछ बिदा दिऊँ कसरी
नजिकको माया झन् टाढा पुगे भेट होला कसरी
दिलमा धड्कन बढाउन खोज्छौ बिदा दिऊँ कसरी ?
सिपाही– सम्हाल्नु तिम्रो घर र बार सबको सुसार
म भएँ बिदा तिम्रै हो जिम्मा सम्हाल घरबार
हे प्यारी, तिम्रो आँखाको आँसु आँखैमा सम्हाल
पल्टनको जागिर खानलाई म जाँदै छु ब्यारेक ।
नारी–  तिमीझैँ चन्द्र तेज काटीकन यो दिलमा उदाउँछ
यो मेरो दिलमा रोएको हिक्का हावामा सुसाउँछ
भुल्छौ कि मलाई ब्यारेकमा बस्दा सपनी साँझमा
तिमीले छोडे ढुकढुकी बढ्छ यो दिलको माझमा
नजिकको माया झन् टाढा भेट होला कसरी ? 
सिपाही – पल्टनको जागिर देशको गहना यो पनि सोच्नु छ 
लडाइँमा परे यो प्यारो देशलाई रगतले पोत्नु छ
लडाइँमा मरे संसारमा मेरो छाया त बिलाउँछ
तैपनि लासको खरानीबीच वीरता पलाउँछ
हे प्यारी, तिम्ले आँखाको आँसु आँखैमा सम्हाल
पल्टनको जागिर खानलाई म त जाँदै छु ब्यारेक । 

सिपाही बाको भित्र कतै यो सम्वेदना लुकेको हुँदो हो । सानो डायरीको पानामा यी भेटिए । अरूलाई यसको महत्व हुने भएन । तर, छोराछोरीका लागि यी प्रिय शब्द भए जो बाले आमाका लागि कोरेका थिए । कल्पन्थे होला ब्यारेकमा बसेर । 

२०३६ साल वैशाख १८ गते मंगलबार बा संयुक्त राष्ट्रसंघ शान्ति सेनाअन्तर्गत लेबनान गएका रहेछन् । त्यहाँ पुगेपछि बाको आँखा युवतीतिर गएको रहेछ । बाले लामै लेखेका छन् यस खण्डमा । बा लेख्छन्–

आफन्तसँग आशीर्वाद प्रसाद ग्रहण गरी बिदाइ भई १२ः४५ बजे अफगान एयरलाइन्सको जहाजद्वारा हाम्रो टेक अफ भयो । दक्षिणकाली हुँदै सुदूर पश्चिमाञ्चलबाट हामी १४ः१० बजे भारतको पालम एयरपोर्टमा उत्रियौँ । जसअनुसार १.२५ घन्टा समय लाग्यो । २.२५ मिनेट रोकी हामी त्यहाँबाट सीधा बेरुतका लागि १५ः४० बजे टेक अफ गरी पाकिस्तान, इरान, जोर्डन, कुवेत, इजिप्ट हुँदै नेपाली समयअनुसार २१ः३० बजे (९।३० बजे) लेबनानको राजधानी बेरुत एयरपोर्ट उत्रियौँ । यहाँको समयअनुसार ६.४० बजेको थियो । जसअनुसार प्लेनको यात्रा ७ घन्टा भयो ।

एयरपोर्टमा नै हामीलाई युएनको ब्याच, स्कार्फ वितरण भयो र सामान रुजु गरी हामी बेलुका ११ बजे हाम्रो तोकिएको लोकेसन बलात भन्ने स्थानका लागि ट्रकबाट प्रस्थान ग¥यौँ । एयरपोर्टमा छँदा फायरको आवाज सुनियो । तर, त्यसमा वास्ता नगरी हाम्रो मन बेरुत बजारको आकर्षण र त्यहाँको वातावरणमा गयो । यहाँको तरुनीको त के , बयान नगरौँ मनै हर्ने । समुद्री सतहमा रहेको बेरुत हाम्रो जस्तै सतह मिलेको होचा डाँडाले घेरिएको रहेछ । ट्रकबाट प्रस्थान गरी हामी बिहान ४ बजे बलात पुग्यौँ । हाम्रा लागि खाना तयार रहेछ । सामान रुजु गरी खाना खाई आराममा लाग्यौँ । 
०००
बाले डायरीमा लेबनान गएको आरम्भिक कुरा मात्र टिपेका रहेछन् । अरू टिपेका रहेनछन् । ६ महिनापछि शान्ति सेनाबाट फर्किंदा बाले घडी, क्यासेट, क्यामेरा, लुगा सुटकेसमा हालेर ल्याए । म सम्झन्छु– साहिँली आमालाई खांग्रे डोकामा सामान बोकाएर लाहुरेझैँ बा घर फर्किएका थिए । हाम्रो घरमा समृद्धिको रेल नै आएझैँ खुसियाली छाएको थियोे, बाले एक–एक गरी सामान देखाए । हामीले एक–एक जोर जिन्सका पाइन्ट र ज्याकेट पायौँ, त्यसै–त्यसै फुरुंग पर्यौँ। 

बा बित्नुअगाडि नै यी डायरी अरसल्ल परिसकेका थिए । बा बितेपछि मैले यिनलाई सँगाले र विशेष अनुरागले पल्टाएँ । संक्षिप्त भए पनि मलाई यी अमूल्य लागे, आइन्स्टाइन र पाब्लो नेरुदाको डायरीभन्दा आत्मीय । एउटा छोरालाई आफ्नो बा नै आइन्स्टाइन लाग्छ, महात्मा गान्धी लाग्छ । अरूका लागि मतलबहीन र महत्वहीन बाको डायरी पल्टाउँदा मलाई बा नै अगाडि उभिएर केही बोलिरहेझैँ लाग्छ ।