• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
भानु दाहाल
२०७८ बैशाख १८ शनिबार ०९:३८:००
साहित्य

बाबा ! त्यसलाई जेल नपठाउनू

२०७८ बैशाख १८ शनिबार ०९:३८:००
भानु दाहाल

निष्पट्ट रातमा एक हुल छोरीहरू आउँछन्
पिठ्यूँमा बोकेर ल्याएको लास बिसाउँछन्
गहभरि बोकी राखेको आँसु पनि बिसाउँछन्
थर्थराएका ओठले केही भन्न खोज्छन्
बाक्य फुट्दैन ।
अहँ, म केही बुझ्दिनँ । 

 

जसरी आए, त्यसरी नै फर्किए कतै
म निदाउन सक्दिनँ
उनीहरूले छोडेको अँध्यारोले थिचिरहन्छ
उनीहरूले पोखाएको आँसुले डुबाइरहन्छ
रातभर कोल्टे फेर्दै तिनै आँसुमा तैरिरहन्छु
सोच्छु, थर्थराएका ती ओठले के भन्न चाहन्थे ?
अहँ, म केही पहिल्याउन सक्दिनँ । 
एक रात श्रीमती बोलाउने निर्णय गरेँ
मैले बिहे नगरेकी मेरी श्रीमतीले बुझ्ली 
मैले नजन्माएका छोरीहरूको इसारा !
जसरी,
मेरी आमाले म नबोल्दा पनि बुझ्थिन् 
म दुखेको पीडा
मेरो भोकाएको पेट
मेरा लोलाएका आँखा 
बाक्य नफुटी थर्थराएका मेरो ओठको आवाज । 

 

आज पनि सपनामा छोरीहरू आए
उनीहरूले बोकेर ल्याएका कुम्लोमा लास थिएन
रगत थियो
नंग्र्याएका घाउका डोबहरू थिए
गला दबाएको नीलडाम थियो
पीडाले निस्किएका चित्कारहरूको याचना थियो
सपनाको ठूलो फ्रेममा 
मायालु पुरुषले चुमिरहेको एक स्त्री अनुहार थियो 
नाङ्लोभरि जीवनबाट अस्ताएका घाम, जुन र ताराहरू थिए । 

 

म श्रीमतीसँग थिएँ,
अनि मेरो भरोसा उनी थिइन्
श्रीमतीले एकएकलाई नियालेर निकैबेर हेरिन्
सुस्तरी मतिर फर्किएर भनिन्–
बाबा ! यिनीहरू
सुन्न चाहन्छन्, बलात्कारीको पनि आर्तनाद
हेर्न चाहन्छन्, जीवनको भिख माग्दै मरेको एक पुरुष
देख्न चाहन्छन्,
स्त्रीलाई देख्नेबित्तिक्कै
कहालिएर भाग्दै गरेका बालकहरू
त्यसैले,
यिनीहरू बलात्कारीलाई बलात्कार गर्न चाहन्छन्
र, भनिरहेछन्, बाबा त्यसलाई जेल नपठाउनू
हामीले अब कसम खाइसकेका छौँ,
त्यस्तालाई कठोर यातना दिएर बदला लिन चाहन्छौँ ।

 

‘हँ ?’ म झस्केर ओछ्यानबाट जुरुक्क उठ्छु
बत्ती बाल्छु, वरिपरि कोही हुँदैनन्, फगत म एक्लो छु
निधारबाट बग्दै गरेका पसिनाको ढिक्काले हात चिसो हुन्छ
ती नानीहरूको निर्णय सम्झेर एकाएक मन चिसो हुन्छ । 

 

फूलजस्ता छोरीहरूले रक्तपातको बाटो बदले भने 
अब, शान्तिको महसुस केलाइ छोएर गर्ने होला ?
उनीहरूमा पुरुषप्रतिको वितृष्णा यसै गरी बढ्दै गयो भने
भोलिको संसारले मातृत्व कसरी पाउने होला ?
शान्ति भड्केर संसार कति कुरूप हुने होला ?