• वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
सङ्गीत
२०७८ बैशाख २५ शनिबार १०:२२:००
साहित्य

गाउँ जाने साथीलाई सहरिया ज्यामीको डाक

पत्र–निबन्ध

२०७८ बैशाख २५ शनिबार १०:२२:००
सङ्गीत

 

यो सरकार आफ्ना लागि हजार डाक्टर बटुलेर बसेको छ, आफ्ना लागि अस्पतालका ओछ्यानहरू कब्जा गरेर बसेको छ । देश–विदेशका ओखती आफ्नै पोल्टामा हालेर बसेको छ । हामीलाई भने अस्पताल जानै नदिई मारिरहेको छ ।

 

प्रिय सुनकला !
जब तिमी आउँदैनौ भन्ने आभास हुन्छ, अनि कसो–कसो डर गहिरिन थाल्छ !

 

तिमीलाई थाहा छ, म डराउने मान्छे होइन । धेरै अप्ठेरा र अक्करे भिरहरूमा म नडराई–नडराई उक्लिएको छु । धेरै गाढा अँध्यारा रातहरूमा म नडराई–नडराई जंगल, खोंच र भञ्ज्याङहरू पार गरेको छु । बहुलाएका खोलाहरूको बीचमा होसहवासमा सर्लक्क पसेको छु, उन्मत्त फौजहरूका सामु मनभरिभरि नारा लगाएको छु । तिमीलाई थाहा छ, म काफर मान्छे किञ्चित होइन ! तर जब गुटुरमुटुर झोला चेपेर काखीमा, तिमी सहर छाडेर गाउँ फर्कियौ, अब म एक्लै पो पर्छु कि भन्ने आभास हुन्छ । र, गहिरो–गहिरो डर लाग्न थाल्छ !

 

यो आपत् यति आपतिलो होला भन्ने न तिमीलाई पत्तो थियो, न मैले मेसो पाएको थिएँ । यो बेथितिले यतिविधि अँचेट्नेछ भनेर हामीले सोच्न पनि खोजेनछौँ । कारखानाहरूले ज्याला होइन, अचानक कामै खोस्नेछन् भनेर सोचीविचारी गर्ने समय हामीले छुट्याएनछौँ । नयाँ थिति बसाउँछौँ भन्ने अगुवाहरू एक दिन चौबाटोमै बाटो भत्काएर भाग्नेछन् भनेर हामीले छ्यानविचार गर्न पाएनछौँ । वेलाबखत तिमी भन्थ्यौ– यो सहर निर्मोही छ ! वेलाबखत म भन्थेँ– यही सहर त मायालु छ ! आज अचानक सहरले निर्मोही रूप देखायो र तिमी गाउँ फर्किनेहरूको लर्कोमा मिसियौ । सहर उही हो, यसले मलाई पनि त्यही निर्मोही रूप देखाएको छ । तर, म मिसिनलाई अर्को कुनै लर्को छैन । यहाँबाट निस्कनका लागि मसँग एउटै दैलो पनि छैन । मेरा लागि कुनै सुखद गन्तव्यले पर्खिरहेको छैन । म पनि भाग्न चाहन्थेँ, यो निर्दयी नगरका गल्लीहरूबाट ! तर, मलाई सहरबाट बाहिर पठाउने कुनै बाइरोड छैन, फास्ट ट्रयाक छैन ।

 

हो सुनकला, तिमी र ममा यही फरक रहेछ । यो सहरभन्दा बाहिर सायद तिम्रो सुन्दर गाउँ छ, सानो घर छ, आत्मीय आफन्त छन् । मेरो भने यो सहरभन्दा पर न गाउँ छ, न घर छ, न आफन्त छन् । ज्यामी त तिमी पनि ज्यामी, ज्यामी त म पनि ज्यामी । मेरो सहरभित्र पनि घर छैन, सहरबाहिर पनि घर छैन । तिमीलाई सहरभित्र मात्रै अभर छ, सहरबाहिर स–स्यानु संसार छ । आपत् जब आइपुग्छ यो सहरमा, त्यो तिमीलाई पनि आइपुग्छ, मलाई पनि आइपुग्छ । हामीलाई बिछुडाउन आइपुग्ने यो कस्तो निठुरी आपत् ! यसले तिमीलाई एउटा झोला दिन्छ र एउटा ठेगाना दिन्छ । मलाई न झोला दिन्छ, न ठेगाना दिन्छ, बरु साँझबिहान तिम्रै सम्झना मात्रै दिन्छ !

 

किन हामीले यो सहरलाई ज्यामीजनको साझा सहर बनाउन सकेनौँ ?
यो सरकार आफैँ ज्यानमारा छ, तर जुनसुकै वेला यसले हामीलाई नै ज्यानमारा मुद्दामा फसाइदिन सक्छ ।
म उठ्नेछु र जुध्नेछु । यो कोरुना–भैरेसँग पनि जुध्नेछु, यो सरकार–जैरेसँग पनि जुध्नेछु !
तिमीले सहर छाडेपछि यहाँ भने सास फेर्न पनि नपाएर हजारौँ ज्यामीहरू बेठेगान छटपटाइरहेका छन् ।
जब तिमी आउँछ्यौ भन्ने विश्वास बढ्दै जान्छ मनमा, छातीभरि कसो–कसो फेरि आँट भरिएर आउँछ ।

 

जब तिमी जाँदै थियौ, तिम्रो अघिअघि हजारौँ झोलाहरू गाउँतिर सोझिएका थिए । अरू हजारौँ पैतालाहरू तिमीलाई पछ्याउँदै गाउँतिरै लम्किरहेका थिए । सहरले यता संकटमा हात पसारिरहेको वेलामा हजारौँ जोर ती हातहरूले सहरलाई बिदाइको हात हल्लाइरहेका थिए । 

 

तिमीलाई हात नहल्लाऊँ भने छाडेर तिमी निकै पर पुगिसकेकी थियौ, हात हल्लाऊँ भने म यता एक्लो पर्ने आभासले छातीभित्र हल्लिरहेको थिएँ । म हल्लिरहेको थिएँ, केही प्रश्नले पनि– किन यो संकटकै वेला हामीले सहरमा हातेमालो गर्न सकेनौँ ? आफ्नो बलबुता, रगत–पसिना, सीप–क्षमता सबै हामीले यही सहरमा रोपेका छौँ, तर संकटमा साथी बन्ने नयाँ सहर बनाउन हामीले किन सकेनौँ ? जब सहरमा आतंक आइपुग्छ, तिमी सहरबाहिर र म सहरभित्र किन हुन्छौँ ? जब सहरमा आँधीहुरी र असिनापानी आइपुग्छ, ओतबिनै म सहरभित्र र ओत खोज्दै तिमी सहरबाहिर किन हुन्छ्यौ ? तिमी हात हल्लाउँदै डाँडा काटिसक्यौ तर म छातीभित्र अझै हल्लिरहेको छु– किन हामीले यो सहरलाई ज्यामीजनको साझा सहर बनाउन सकेनौँ ? जब चाडपर्व आउँछ, लाखौँलाख झोलाहरू भञ्ज्याङ नाघेर जान्छन्, त्यसमा तिमी पनि मिसिन्छ्यौ । जब भुइँचालोले सहर भत्किन्छ, लाखौँलाख पैतालाहरू गाउँतिर लम्कन्छन्, त्यसमा तिमी पनि मिसिन्छ्यौ । जब चुनावको व्यापार–मेला सुरु हुन्छ, लाखौँलाख झोलाहरू झन्डा बोकेर सहर छाड्छन्, त्यसमा पनि तिमी मिसिन्छ्यौ । आफ्नो पौरख पोखेकी छ्यौ यही सहरमा, आफ्नो बर्कत रोपेकी छ्यौ यही सहरमा, आफ्ना पाखुरा बजारेकी छ्यौ यही सहरमा, आफ्ना पसिना सिँचेकी छ्यौ यही सहरमा । तर, संकटमा सँगाती खोज्न तिमी किन जान्छ्यौ सहरबाहिर ? यहाँ शोक परेका वेलामा समवेदना खोज्न तिमी किन जान्छ्यौ सहरबाहिर ? 

 

तिमी गइसकेपछि मलाई यो सरकार भन्ने जीवात्देखि झन्झन् झोक चल्न थालेको छ । को हो यो सरकार ? हामीलाई बिहान हुन्छ, बिहानै लखेटिरहेको छ । साँझ पर्छ, साँझै लखेटिरहेको छ । उहिले–उहिले यसले गोली हानेर हाम्रो रगत पिउँथ्यो, अक्कासबाट बम खसालेर हाम्रो ज्यान लिन्थ्यो । उहिले–उहिले यसले हामीलाई लाठी हानेर घाइते पार्थ्यो, बुटले कुल्चेर टाउको फुटाउँथ्यो । आजभोलि यसले रेडियो र टिभीहरूबाट टाउको निकालेर दाह्रा फिँजाइरहेको हुन्छ । इन्टरनेटका पर्दाहरूबाट नङ्ग्रा निकालेर हाहाकार मच्चाइरहेको हुन्छ । हाम्रो कर्मथलोमै दैलो थुनेर यसले हामीलाई अलपत्र धपाउन खोजिरहेको हुन्छ । हाम्रो बाटो छेकेर यसले हामीलाई बाटैमा ठिँगुर्‍याउन खोजिरहेको हुन्छ ।

 

हामी रोगी होइनौँ, हजार रोगहरूसँग लडेर हामीले यो जीवनलाई जीवन दिएका हौँ । व्याधिहरूलाई झेलेर हामीले यो जिन्दगीलाई नयाँ जिन्दगी बनाएका हौँ । तर, यो सरकार हामीलाई चारै प्रहर भनिरहेको हुन्छ– तिमीहरू बल्ल रोगी भयौ, डरलाग्दो रोगको फेला परिसक्यौ । तिमीहरू अब थला परिसक्यौ ! तिमीहरूलाई आँठे लाइसक्यो, तिमीहरू मर्न थालिसक्यौ ! यो सरकार भन्ने जीवात् हामीतिर हेरेर चिच्याइरहेको छ– ‘तिमीहरूका लागि अस्पताल छैन, ओखती छैन, तिमीहरूका लागि वैद्य र डाक्टरहरू पनि छैनन् ! सुन, तिमीहरू त दिनदिनै मरिरहेका छौ, तिमीहरू अझ धेरै मर्दै छौ ! अब तिमीहरू कीर्तिपुरका फुटपाथहरूमा मर्नेछौ, बुटवलका सडकहरूमा मर्नेछौ । अस्पताल जानै नपाई बाटैमा मर्नेछौ, अस्पताल पुगे पनि त्यसको गेटबाहिरै मर्नेछौ !’ यो सरकार आफ्ना लागि हजार डाक्टर बटुलेर बसेको छ, यो सरकार आफ्ना लागि अस्पतालका ओछ्यानहरू कब्जा गरेर बसेको छ । देश–विदेशका ओखती आफ्नै पोल्टामा हालेर बसेको छ । हामीलाई भने अस्पताल जानै नदिई मारिरहेको छ । बाटोमा बाटैमा थुनेर मारिरहेको छ, रासनपानी रोकेर भोकभोकै मारिरहेको छ । 

 

सुनकला ! तिमीले काखीमा चेपेर लगेको झोलाले ठेगाना पाइसक्यो या पाएन, थाहा छैन । तिमीले सहर छाडेपछि यहाँ भने सास फेर्न पनि नपाएर हजारौँ ज्यामीहरू बेठेगान छटपटाइरहेका छन् तर साथ दिने हातहरू कतै गायब छन् । ओखतीमूलो नपाएर हजारौँ गरिबहरू थलिइसकेका छन् तर सरकार ओखतीमै नाफा र कमिसनको मोलमोलाइमा लिप्त छ । यो सरकार भन्ने को हो ? झोंक चल्छ, वेलावेला । यो के सारो ज्यानमारा हो ? मेसो पाउँदिन वेलावेला । हो, यो आफँै ज्यानमारा छ, तर जुनसुकै वेला यसले हामीलाई नै ज्यानमारा मुद्दामा फसाइदिन सक्छ । यसका मन्त्रीहरू नै गुन्डा, चोर र तस्करहरू छन्, तर जतिसुकै वेला चोर भनेर यसले हामीलाई नै थुनिदिन सक्छ । हजारौँ मान्छेको ज्यान खाने अपराध यसैले गरिरहेको छ, तर हामीलाई नै अपराधी बनाएर यसले ठाडै गोली हानिदिन सक्छ । यो क्रूर छ, हिंस्रक छ, तर हामीलाई नै यसले हिंसाको डरलाग्दो बाटोतिर धकेलिदिन सक्छ ।

 

सुनकला, तिमी छिटै फर्केर आऊ, यो सहरलाई हामी अर्कै सहर बनाउँला, सैंसाथे मिलेर रहरलाग्दो ज्यामी–घर बनाउँला ! हामीले हामीसरी दुखियाका लागि यो मुखियागिरी उखेलौँला ! हामीले हाम्रै बुतामा यो झेल–थिति फेरौँला ! 

 

प्रिय सुनकला ! सम्चारहरूमा त मलाई विश्वास लाग्दैन । तर, सम्चारहरू भन्छन्– यो देशका मुखियाले मिर्गौला नै चारोटा भिरेका छन् । उनको नयाँ औतारका लागि कसैले आफ्ना मिर्गौला काटेर उपहार दिएको थियो रे ! मलाई यी चारमिर्गौले मुखियासँग पनि झोंक चल्छ, वेलावेला– यी मुखियाबा मनुख्खे नै हुन् कि भूत भइसके ? उहिले–उहिले बाजे–बज्यै भन्थे, ‘अर्काको मुटुकलेजा खाने छ्याउनी–भ्याउनीले रातभरि तर्साउँछन्, बाबुनानी हो जोगिनू !’ तर यी मुखिया राति होइन, दिउँसै मान्छे तर्साउँदै हिँडिरहेका छन् । यिनीसँग जोगिने हो कसरी ? यिनलाई धपाउने हो कसरी ? कचहरी बसेको मन परेन भने यिनी चौतारै भत्काइदिन्छन्, मुखियागिरी आफूले नपाए मेचै भाँचिदिन्छन् । कानेखुसी गर्दागर्दै कान टोकिदिन्छन् । अँगालो मारेर पिठ्युँमा छुरा धसिदिन्छन् । कविता गाउने ठाउँमा पुलिसहरू पठाउँछन् । मध्यरातमा यिनले मान्छे अपहरण गराउँछन् । धन देखे धनै लट्टीपट्टी पार्छन्, वन देखे वनै बेचेर खान्छन् । चहुर–चौतारा बन्दुकले छेक्छन्, गीत गाउने मान्छेलाई वैरी मात्रै देख्छन् । ओखती मागिरहेको मान्छेलाई उपदेश बाँड्छन्, नभएको भगुमानलाई सुन किनेर चढाउँछन् । 

 

यस्तो सरकारलाई सहने हो कतिन्जेल ? यस्ता मुखियालाई झेल्ने हो कतिन्जेल ? सुनकला, तिमीले नेटो काटेपछि यिनलाई झन् हाइसुख्खै पो भयो । दुख्ख सहनुपर्ने जे छ, त्यो त हाम्रै थाप्लामाथि छ । तिमीसँगै गाउँतिर छिरेका झोलाहरू फेरि सहर नपसेसम्म यो परलोकी सरकारले हाहाकार मच्चाइरहनेछ, यो दुष्ट मुखियाले दुखियाका मुटुकलेजा लुछिरहनेछ ।

 

सुनकला, हाम्रै पसिनाको जगमा यो सहरले ज्यान हालेको हो, अब हाम्रै प्रेम र स्याहारले यसलाई नयाँ जीवन दिनु छ ! तिमी फर्केर आऊ, फेरि यो सहरमा । तिम्रो भोकमा भोजन खोज्न म पनि सँगै हिँड्नेछु, मेरो प्यासमा पानी खोज्न तिमी पनि सँगै साथ देऊ ! आपत् आउनासाथ तिमीले झोला बोकेर भाग्नु नपरोस्, संकट आउनासाथ म सडकपेटीमा लास पल्टनु नपरोस् ! अब त गीत गाउने साहस सँगालिएर आएको छ– ‘घर पनि छैन सैं मेरो, डर पनि लाग्दैन कसैको !’ सुनकला, तिमी छिटै फर्केर आऊ, यो सहरलाई हामी अर्कै सहर बनाउँला, सैंसाथे मिलेर रहरलाग्दो ज्यामी–घर बनाउँला ! हामीले हामीसरी दुखियाका लागि यो मुखियागिरी उखेलौँला ! हामीले हाम्रै बुतामा यो झेल–थिति फेरौँला ! तिमी स्वाँराहरूमा मादल रोप्दै आऊ, पाखाहरूमा रुमाल रोप्दै आऊ ! बाटोभरि पैतालाहरू रोप्दै आऊ ! 

 

प्रिय सुनकला, जब तिमी आउँछ्यौ भन्ने विश्वास बढ्दै जान्छ मनमा, छातीभरि कसो–कसो फेरि आँट भरिएर आउँछ । तिमीलाई थाहै छ, म कसैसँग डराउँदिन ! म पटक्कै डराउँदिन । म उठ्नेछु र जुध्नेछु । यो कोरुना–भैरेसँग पनि जुध्नेछु, यो सरकार–जैरेसँग पनि जुध्नेछु ! यी मुखिया–खलकसँग म डराउँदिनँ, मुखियाका ठेक्दार–मुर्दारहरूसँग किन डराउनू ? जब तिमी छ्यौ र म छु, अनि हामी हजार छौँ, हामी लाख छौँ, यो एक्लो बजारसँग हामी किन डराउनू ? नयाँ सहर सम्झेर तिमी छिटै आऊ ! जब तिमी फेरि आउँछ्यौ भन्ने विश्वास बढ्छ, अनि कसो–कसो आँट उकालिन थाल्छ !

––––––––––––
मिलनको प्रतीक्षामा 
उही तिम्रो
सुकलाल, काठमाडौं
२०७८ वैशाख २५, शनिबार