• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
एलिजा ढकाल
२०७८ बैशाख २७ सोमबार ०९:४६:००
साहित्य

महिलाविनाको सृष्टि

२०७८ बैशाख २७ सोमबार ०९:४६:००
एलिजा ढकाल

म शरीरविहीन मान्छे । र, यसैमा गर्व गरिरहेछु । किनकि, शरीरसहितको हुँदा खुब सास्ती भोगेँ । शरीरकै कारण पटक–पटक मरेँ । अन्ततः बलात्कृत भएर मारिन पुगेँ । उखुघारीमा गाडिन पुगेँ ।


अहिले कुनै पुरुषले घुरेर मेरो छाती हेर्दैन । सार्वजनिक बस चढ्दा कसैले अनेक बहानामा मेरो नितम्ब छुँदैन । कसैले पनि ‘तँ त छोरी मान्छे, यसो गर्न हुन्छ, उसो गर्न हुँदैन’ भनेर सम्झाउँदैनन् । अहिले पुरुषैपुरुषको भिड या मध्यरातमा पनि एक्लै निस्फिक्री, निडर भएर हिँड्न सक्छु । त्यसैले त शरीरहीन हुनुमा सुरक्षित महसुस गरिरहेछु अझ भन्दा गर्व गरिरहेछु ।


म अदृश्य छु, तर सबकासब दृश्य देखिरहेछु । दुनियाँले मलाई देख्दैन, म दुनियाँ देखिरहेछु । कसैले मेरो मूल्यांकन गर्दैन, तर म हरपात्र र प्रवृत्तिको मूल्यांकन गरिरहेछु । शरीरसहितको हुनुभन्दा शरीरहीन भएपछि यो समाज झन् घिनलाग्दो र सोचेभन्दा फरक पाइरहेछु । जब म आत्मा मात्रै भएर मान्छेको मनभित्र छिर्न सक्ने भएँ, झन् धेरै बुझ्दै छु मान्छेका कलुषित मन–मस्तिष्क र ढोङ ।


तपाईंले चिनिसक्नुभयो मलाई अर्थात् मेरो आत्मालाई । हो म त्यही हुँ, जो बालवयमै बलात्कृत भएर मारिएकी थिएँ, अनि मेरो शरीरलाई उखुघारीमा गाडिएको थियो । म अर्थात् निर्मला पन्त अर्थात् निर्मला पन्तको आत्मा !शरीर मारिएको चार वर्षपछि मलाई पृथ्वीलोक घुम्न मन लाग्यो । पृथ्वीको पनि नेपाल, नेपालको पनि राजधानी काठमाडौं । त्यहाँका मान्छेको सोच, शैली र प्रवृत्ति अझै उस्तै (म बलात्कारपछि मारिएको वेला) होला कि परिवर्तन भयो होला ? बुझ्न मन लाग्यो । 


०००
भर्खर वर्षा थामिएको छ । वायुमा मडारिएका धुलो पखालिएको छ । आकाश खुलेको छ । पूर्णिमाको सन्ध्याकाल । चाँदनी धर्ती हेर्दै मुस्कुराइरहेकी छिन् । ताराहरू चम्किरहेका छन् । वातावरण प्रेमिल छ । शरीरसहित भएकी भए यतिवेला यहाँ हुन सम्भवै थिएन । कहाँ काठमाडांै, कहाँ कञ्चनपुर त्यसमाथि म बालिका । 


काठमाडौंको पछिल्लो समाजस्थिति र मनस्थित बुझ्न एउटा घरभित्र छिरेकी छु । देख्छु, एउटी स्पूmर्त महिला । वसन्त ऋतुमा भर्खर पाउला पलाएको रूखजस्तै लाग्छ, उनको शरीर । लाग्छ, उनको अनुहारमा लालीगुराँस फक्रेको छ । मनमा डाँफे नाचिरहेछ । फुरुंग छिन्, खुसी छिन् । कौतुहलतामिश्रित उत्साहले भरिएको छ, उनको तनमन । 
कहिले बरन्डामा निस्कन्छिन्, कहिले भित्र पस्छिन् । कसैको व्यग्र प्रतीक्षामा भएजसरी छट्पटाउँछिन् । एकचोटि उनको नजर बरन्डाको गमलामा प¥यो । एकछिन गमला हेरेर टोलाइन् । भर्खर टुसाएको फूलको बेर्ना हेरेर दंग परिन् । टुसो तीनपाते हुँदै फूल फक्रेको कल्पना गरिन् । भित्रभित्रै गद्गद् भइन् । लज्जामिश्रित मुस्कान छाडिन् । त्यत्तिकैमा नेपथ्यबाट एउटा आवाज आयो– सपना ! ए, सपना !!


उक्त आवाजसँगै उनीमा खुसी झन् बढ्यो । सायद, प्रतीक्षा गरिरहेको उनका श्रीमान् आए । खुसीले हड्बढाउँदै ढोका खोल्न जाँदा उनको कुइनोले गमलालाई धक्का दियो । गमला फुट्यो । तर, उनको ध्यान गमलातिर गएन ।
ढोका खोलिन् । भित्र पस्नेबित्तिकै सपनाले श्रीमान्को छातीमा टाउको टँसाएर भन्न थालिन्, ‘कति ढिला गर्नुभएको आकाश ! म त हजुरलाई कुर्दाकुर्दै थकिसकेँ ।’


आलिंगनबाट उम्कँदै आकाशले सोधे, ‘छोरी खोइ ?’
‘सुतिसकी । बाबा नआई सुत्दिनँ भन्दैथी, टिभी हेर्दाहेर्दै निदाइछे ।’
‘आज बढी नै खुसी देखिन्छ्यौ नि ! यसको राज के हो ?’ आकाशले ठट्यौली पारामा सोधे ।
‘राम्रै राज छ हजुर !’
‘भन न !’
‘हजुर दोस्रो सन्तानको बा बन्दै हुनुहुन्छ ।’
आकाशको मुहार झन् खुल्यो । खुसी, जिज्ञासा र उत्साहमिश्रित आवाजमा सपनाको पेट सुम्सुम्याउँदै सोधे, ‘रियल्ली ?’
‘यस्तो कुरामा नि कसैले ठट्टा गर्ला त !’
‘के पो जन्मेला !’
‘जे जन्मे पनि हाम्रै रगत हो क्यारे !’
‘एउटी छोरी छे, अब छोरा भइदिए राम्रो हुन्थ्यो । छोरीलाई माइती हुन्थ्यो ।’
‘हामीले भनेर हुने हो र ?’
म दिउँसो कताकता चहार्छु । कहिले कीर्तिपुर जान्छु, कहिले भृकुटीमण्डप त कहिले ठमेल, दरबारमार्ग । तर, साँझ आकाश–सपनाकै घरमा जान्छु । उनीहरूको दैनिकी, जीवनशैली र सन्दर्भ झन्पछि झन् रोचक लाग्दै छ । 
तीन महिनापछिको एक साँझ । आकाश अफिसबाट फर्केपछि नियमितझैँ प्रेमिल वातावरणमा उनीहरूबीच संवाद चल्छ ।
‘तीन महिना भइसक्यो । एकचोटि चेकअप गर्न जाने कि !’ सपनाको प्रस्ताव ।
‘उम्, जानुपर्छ । भोलि नै जाऔँ । तर, कहाँ जाने ? कुन अस्पताल जाने ?’
‘जुनमा गए पनि भइहाल्यो नि !’
‘प्राइभेटमै जानुपर्छ । सरकारीले छोरा–छोरी के छ भन्दैन ।’
‘त्यो त हो । बागबजारमा एउटा राम्रो क्लिनिक छ रे ! मेरो साथीले भनेको । त्यहीँ जाऔँ ।’
‘ओके ।’ 


भोलिपल्ट उनीहरू क्लिनिक जानका लागि निस्किए । म पनि उनीहरूकै पछि लागेँ । कोटेश्वर चोकमा एकछिन कुरेपछि भक्तपुरबाट मिनिबस आयो । ढोकाको डन्डी समाएर, एउटा मात्रै खुट्टा टेकाएर, झुन्डिएर मान्छेहरू यात्रारत थिए । ढोकैमा पुरुषहरूबीच च्यापिएर एउटी महिला पनि यात्रा गर्दै रहिछन् । गाडीभित्रबाट कोही झर्दै थिए, ती महिला भित्र पस्ने प्रयास गर्दै थिइन् । त्यही मौकामा अधिकांश पुरुषले ती महिलाका विभिन्न अंग छुने यत्न गरे । कसैले कुमले स्तन छोए, कर्के परिपरि । कतिले झुक्किएको जस्तै गरी नितम्ब समाए । कोही झर्ने वेलामा महिलाको मुखछेवैमा अनुहार लैजान्थे । महिलालाई ती कुराहरूको केही मतलब थिएन । किनकि, उनलाई जसरी पनि भित्र छिरेर अलि सजिलोसँग उभिनु थियो ।


गाडीको सहचालक मान्छे बोलाउँदै थियो, ‘बानेश्वर, बबरमहल, माइतीघर, बागबजार ! जाने हो ? जाने हो ?’ 
आकाश र सपना बस चढे, जबर्जस्त । म पनि चढेँ ।मबाहेक सबलाई सास्ती थियो । सिटमा बस्नेहरूलाई पनि उभिनेका झोलाले ठेलिरहेको थियो । कलेज गर्लहरू सकेसम्म खुम्चिएर उभिएका थिए । केटाहरू ढसमस्स, बेपर्बाह उभिएका । ठुल्ठूलो आवाजमा कलेजका केटी र शिक्षकका कुरा काटिरहेका । उनीहरू सजिलै अश्लील शब्द मिसाएर गफिन्थे । गलल्ल हाँस्थे । चित्त नबुझे पनि अरू कसैले केही प्रतिक्रिया जनाउँदैनथे ।


बानेश्वरबाट एउटी अधबैँसे महिला चढिन् । उनी अलि बिसन्चोजस्तो देखिन्थिन् । उनका लागि एउटा केटाले सिट छाडिदियो । लाग्यो– सबै पुरुष कहाँ उस्तै हुन्छन् र ? यो समाजमा राम्रा पुरुष पनि छन् । मानवता अझै मरिसकेको छैन ।


ट्राफिक जाम छिचोल्दै बस माइतीघर आइपुग्यो । बसबाटै देखेँ, केही मान्छेहरू हातमा कालो टालो बाँधेर प्लेकार्ड देखाउँदै लस्करै उभिएका छन् । प्लेकार्डमा लेखिएको छ– निर्मलालाई न्याय दे ! बलात्कारीलाई फाँसी दे ! निर्मलाका निम्ति न्याय !


त्यो दृश्य अनि मान्छेहरूले मेरो न्यायका लागि आवाज उठाएको देखेर खुसी पनि लाग्यो । तर, मेरो खुसी, हाँसो धेरैबेर टिकेन । किनकि, त्यो देख्दा मेरो आँखाअगाडि आयो त्यही कहाली लाग्दो दिन, त्यो पीडा, त्यही दुखाइ, त्यही अत्यास, त्यही डर । म साथीको घरबाट आफ्नै घर जाँदै थिएँ । सडकको डिलमा साइकल अड्याएर पिसाब फेर्न ढिस्कोमुन्तिर झरेको मात्रै के थिएँ, एउटा भीमकाय शरीरको मान्छे मेरै अगाडि हामफाल्यो । उसको एउटा हातले मेरो हात समायो, अर्को हातले मुख थुन्यो । अनि भन्यो, ‘बोलिस् भने मार्दिन्छु ।’


उसका बलिष्ठ हातसामु मेरो केही सीप लागेन आखिर थिएँ पनि त सानी केटी । उसले एउटा हातले मुख थुनेरै अर्को हातले मेरा नपुष्टिएका छाती दुख्ने गरी निचोर्न थाल्यो । सुरुवाल तानेर मेरो कलिलो यौनांगमा तीखो चिजले घोच्न थाल्यो । म रक्तपच्छेल भएँ । अर्धबेहोस भएँ ।


निकैबेरपछि उसले मलाई काँधमा बोकेर हिँड्यो । म बोल्न वा चलमलाउन सक्ने स्थितिमा थिइनँ । एउटा सानो खोल्सो पार गरेर मलाई उखुघारीभित्र फाल्यो । अनि पानीले भिजेको उखुघारीभित्र हातले खाडल बनायो । मलाई त्यहीँ खाडलमा फालेर माटोले पुरिदियो । मेरो ढुकढुकी चल्दै गर्दा त्यो मान्छे हिँड्यो । म निसास्सिएँ, रोएँ, कराएँ, छट्पटाहटकै बीचमा थाहा छैन, मेरो प्राण कतिवेला गयो ? तर, अहिले त्यहीँ उखुघारीबाट उडेको प्राण माइतीघरमा छ । र, मेरै न्यायका निम्ति भइरहेको आन्दोलनको दृश्य हेरिरहेको छु । अहिले यतिधेरै मान्छे मेरो न्यायका निम्ति आवाज उठाइरहेका छन् । तर, त्यतिवेला न मेरो चित्कार सुन्ने कोही थियो, न मनको अवाज । 


ओहो, म त फ्ल्यासब्याकमा पुगेछु । त्यो सम्झनाले मेरो आँखा कतिवेला रसाएछ, पत्तै भएन । मलाई यतिखेर यी मान्छेहरूले बोकेका प्ले कार्डहरू हातमा बोकेर चिच्याएर भन्न मन छ मलाई न्याय चाहियो ! मलाई न्याय चाहियो !! एउटी सानी केटीलाई एक्लो पाएर मानवता बिर्सिने राक्षसले भोलि मजस्ता अरू कसैलाई यस्तो नगरोस् ! मेरो पीडाले छट्पटाएको मनलाई शान्ति चाहियो ! न्याय चाहियो ! मलाई चिच्याएर भन्न मन छ । 


मैले आपूmलाई सम्हालेर हेरेँ मेरो न्यायका निम्ति गरिएको प्रदर्शनका कारण निकैबेर ट्राफिक जाम भो । बसलाई जाम छिचोल्न मुस्किल भइरहेको छ । सडकको भिडमा प्लेकार्ड बोकेर चर्को नारा लगाउने एउटा मान्छे चिनेचिनेजस्तो लाग्यो । अलि घोरिएर हेरेँ । यो त्यही मान्छे रहेछ, जो अघि यही बस चढ्दा झुक्किएको जस्तो गरी ढोकामा उभिएकी महिलाको नितम्ब समाउँदै थियो । त्यसपछि मलाई मेरै न्यायका लागि भएको भनिएको प्रदर्शनप्रति पनि घृणा जाग्यो ।


माइतीघरकै अर्को कुनाका सेता कपडामा रगत लत्पत्याएर बलात्कारको विरोध भइरहको रहेछ ।बसभित्रका मान्छे भन्दैथे, ‘यहाँ मान्छेलाई कति हतार भइसक्यो, सडकमा रमिता देखाएर निर्मलाले न्याय पाउने हो र ?’‘दबाब नदिएसम्म यो सरकारले सुन्दैन । आन्दोलन गर्नैपर्छ । म पनि वसन्तपुरमा आयोजना गरिएको बलात्कारविरुद्ध ‘निर्मलाका लागि न्यायका निम्ति हिँडेकी हुँ ।’

‘भोलि हाम्रा छोरीचेलीको सुरक्षाका लागि भए पनि बलात्कारविरुद्ध बोल्नैपर्छ ।’ एउटी महिलाले भनिन् ।
बाहिरभित्रको कोलाहलबीच ट्राफिकले हामी चढेको बसलाई सिंहदरबारतिर जान नदिई भद्रकालीतिर मोडाइदियो । 
भद्रकालीमा पनि बलात्कारविरुद्धकै प्रदर्शन रहेछ । फेरि जाम प¥यो । 


भद्रकाली मन्दिरको सिँढीमा उभिएर महिलाहरू चर्को स्वरमा भाषण गरिरहेका रहेछन् । भाषण गर्नेमध्येकी एक भन्दैथिन्, ‘बलात्कारीलाई फाँसी दिने होइन, बलात्कारै नहुने समाज बनाउनुपर्छ । बलात्कारै नहुने सोचको विकास गर्नुपर्छ ।’ अर्कीले भनिन्, ‘बलात्कारीलाई फाँसी नै दिनुपर्छ । बलात्कारीको लिंग काट्नुपर्छ ।’ 


भाषणका वाक्यैपिच्छे परर्र ताली बजिरहेको थियो । भाषण सुनेपछि बसभित्र सिटमा बसिरहेका एकजना दाइ बोले । भने, ‘यो डलरे महिलावादीले समाज नै बिगारे । डलरेले आइमाईलाई धेरै उचालेर समाजमा झन् विकृति बढाए । यिनीहरू घरझगडा गराएर डलर कमाउन पल्केकाहरू हुन् ।’


यो सुनेर मेरो कन्पारा तात्यो । चिच्याएर भन्न मन लाग्यो, ‘तपाईं बलात्कृत हुनुभएको छैन । हिंसामा पर्नुभएको छैन । तपाईंका दिदीबहिनी, आमा–भाउजूलाई सोध्नुस्, उहाँहरूले जीवनमा कस्ता विभेद र हिंसा भोग्नुभएको छ ! म हिंसा सहन्नँ भन्नु नारीवादी वा डलरे हुनु हो ? आफूमाथि भएको हिंसाको प्रतिरोध गर्नु नारीवाद हो ?’


तर, कोही मेरो आवाज सुन्नेवाला छैन । म दुनियाँको आवाज, कुन्ठा र प्रतिशोध सुनिरहेकी छु । मसँग विचार छ, धारणा छ, दृष्टिकोण छ, आक्रोश छ, तर आवाज छैन ।जाम खुल्यो । रत्नपार्क, जमल हुँदै बस बागबजारमा पुगेर रोकियो । आकाश र सपनासँगै म पनि झरेँ । 


उनीहरू सरासर अघि बढे । सपना अघिअघि हिँडेकी छिन्, उसलाई पच्छ्याइरहेछन् आकाश । उनीहरू पद्मकन्या क्याम्पसभन्दा अलि वरको एउटा प्राइभेट हेल्थ क्लिनिकभित्र छिरे । क्लिनिकभित्रको प्रतीक्षालयमा लस्करै बसेका छन्, थुप्रै महिला । कसैको पेट बेलुनझैँ फुलेर ठूलो भएको छ । उनीहरूलाई हिँड्न मात्रै होइन, बस्नसमेत गाह्रो भइरहेको प्रस्ट बुझिन्थ्यो । कोही ‘ऐया, आत्था’ गरिरहेका । ‘सृष्टिकर्ताको दर्द’ देखेर एकछिन स्तब्ध भएँ । जीवनभित्र अनेक जीवनहरू बोकेर हिँड्नुपर्ने, आफैँ च्यातिएर, चिरिएर अर्कोलाई जीवन दिनुपर्ने । कसैलाई जीवन दिन नसकेकै कारण मर्नुपर्ने, मारिनुपर्ने ! कस्तो अन्याय, कस्तो विभेद ! 

मनमा यस्तै कुरा खेल्दै थियो, डाक्टरको सहयोगीले सपनालाई बोलाइन् ।
‘कति भयो महिनावारी रोकिएको ?’ 
‘दुई महिना ।’
‘केही गाह्रो महसुस भा’छ ?’
‘छैन ।’
‘एउटा भिडियो एक्स–रे गर्नुस्, बच्चाको स्थितिबारे थाहा हुन्छ ।’
‘हुन्छ डाक्टर सा’ब । हामी छोराछोरी के हुन्छ पनि थाहा पाउन चाहन्छौँ ।’
‘हुन्छ ।’
डाक्टरले ‘भिडियो एक्स–रे’ लेखिदिए । सपनाको ‘भिडियो एक्स–रे’ भयो । आधा घन्टामै रिपोर्ट आयो । अनि उनीहरू फेरि डाक्टरकहाँ गए ।
उनीहरूमा व्यग्र कौतुहलता छ, छोरा छ कि छोरी ?
सपनाले सुरुमै हतारिँदै सोधिन्, ‘छोरा रै’छ कि छोरी डाक्टर सा’ब ?’
डाक्टरले चम्किलो लाइटमा ‘एक्स–र’े रिपोर्ट राखेर हेरे । अनि गम खाँदै भने, ‘बधाई छ तपाईंहरूलाई, तपाईंहरूको घरमा छोरी भित्रिँदै छिन् ।’
एक्कासी उनीहरूको अनुहार सोहोरियो । सपना र आकाशले मुखामुख गरे । दुवैले आपसमा निराशा बाँडे । उनीहरूको कान्तिहीन अनुहार देखेपछि डाक्टरले सोधे, ‘तपाईंहरू किन खुसी हुनुहुन्न ?’
‘त्यस्तो केही होइन डाक्टर सा’ब, भन्दै उनीहरू निराशामिश्रित हाँसो लिएर निस्किए ।
क्लिनिक जाँदा उनीहरूको अनुहारमा जुन उत्साह, कौतुहलता र कान्ति थियो, फर्कँदा थिएन ।
उनीहरूले बाटोमा खासै कुराकानी पनि गरेनन् । 
मेरो न्यायका लागि आन्दोलन गर्नेहरू पनि फर्किसकेछन् । ट्राफिक जाम कम थियो । सपना र आकाशसँगै म पनि उनीहरूको कोठामा पुगेँ । 


उनीहरू पहिलाजस्तो जिस्किएनन् । आपसमा प्रेमभाव साटासाट गरेनन् । दुवैजना चुपचाप छन् । 
छोरी ल्यापटपमा मोटुपत्लु हेरिरहेकी छिन् । सपना भान्छाको काममा लागिन् । आकाश ओच्छ्यानमा ढल्किएर टिभी हेरिरहेछन् । तर, उनको ध्यान टिभीमा प्रसारण भएको सामग्रीमा थिएन । रिमोर्टले आफ्नै च्यापु घोचेर सोचिरहेका छन् । 
खाना पाक्यो । खासै नबोली खाना खाए । 

सुत्ने वेलामा सपनाले भनिन्, ‘अब के गर्ने त आकाश ?’
‘तिमी के भन्छ्यौ ?’
‘चाहिएको त छोरै हो ।’
‘त्यसो भए यो गर्भ फालिदिऊँ । तिमी सहमत छौ ?’
‘असहमत भएर पनि के गर्नु ?’
दुवैजना विपरीत दिशातर्फ फर्किएर सुते । छोरी ल्यापटप हेर्दाहेर्दै कतिवेला निदाई, उनीहरूलाई पत्तै भएन । 
भोलिपल्ट बागबजार त्यही क्लिनिकमा गएर सपनाले डाक्टरसित भनिन्, ‘डाक्टर सा’ब, हाम्रो यसअघि पनि छोरी छ । हामीलाई छोरा चाहिएको छ । हामी यो बच्चा जन्माउन चाहँदैनौँ ।’
‘यो कुरामा बच्चाका बा पनि सहमत हुनुहुन्छ ?’
आकाशले सहमतिको टाउको हल्लाए । 

सपनाको गर्भपतन गराइयो । एउटा भ्रूणको हत्या भयो । भ्रूण मात्रै भएन, एउटी छोरीको हत्या भयो । बाआमा मिलेर नजन्मेकी छोरी मारे । जुन कुराले मेरो मथिंगल हल्लियो । यसरी नजन्मिएका थुप्रै छोरीहरू अस्पतालको डस्टबिनमा रक्ताम्य भएर पोखिएका छन् । फालिएका छन्, फोहोरको कन्टेनरमा । सयौँ, हजारौँ छोरीहरू डम्पिङसाइटमा मिल्काइएका छन् ।


यसरी मारिएका सबै छोरीहरूको आत्मा एकसाथ मैमाथि ओइरिएजस्तो लाग्यो । नजन्मँदै मारिएका, जन्मेपछि मारिएका, बालात्कारपछि मारिएका, विभेदका कारण पल–पल मरेर सिंगो मृत्यु कुरिरहेका हजारौँ, लाखौँ आत्मा मैमाथि थुप्रिएको जस्तो भएको छ । म आफूलाई मारिएका छोरीहरूको एकमुष्ठ रूपमा पाउँछु । 


एक्कासी भीमकाय शरीरमा पाउँछु आफूलाई । हजारौँ–लाखौँ टाउकाहरू जोडिएको एउटा टाउको भएको छ मेरो । लाखौँलाख हातखुट्टा, लाखौँलाख शरीर जोडिएर बनेको एउटै शरीर । हज्जारौँ–लाखौँ चेलीको भावना, चित्कार, आक्रोश मिसिएको एक विशिष्ट शक्तिकी भएकी छु म । 


पृथ्वी निचोर्न सक्ने शक्तिले भरिएकी छु । ममा एउटा अलौकिक, दैवीशक्ति भरिएको आभास हुन्छ । यस्तो लाग्छ, अब म जे कामना गर्छु, त्यही पुग्छ । र, यस्तो कामना गर्छु– यो संसारमा कोही नारी नहोऊन् । छोरीहीन होस् संसार । अनि गरून्, पुरुषले एकछत्र राज !


भयो पनि त्यस्तै । अब संसारमा कोही केटी मान्छे छैनन् । जताततै पुरुषैपुरुष । कसैका आमा छैनन्, छोरी छैनन् । दाजुभाइ–काका ठूलाबाबाहेक नाता छैन ।एकसाथ आमा, श्रीमती, छोरी, दिदीबहिनी, भान्जीलगायत सम्पूर्ण नारीनाता गुमाउनु पर्दा पुरुषहरू पीडामा देखिन्छन् । केही क्षणअघिसम्मको उनीहरूको पुरुषत्व, घमन्ड एकसाथ तहसनहस हुन्छ । सब पुरुषको अनुहार मलिन छ ।


चुल्होचौकामा पुरुष, धारा–पँधेरामा पुरुष । सानाबाबुहरू आमाको अभावमा चिच्चाइरहेछन् । पुरुषहरू बाबुलाई थुम्थुम्याउन खोज्छन्, सक्दैनन् । बाबु बोकेर कार्यालय जान्छन् । बाबुहरूले कार्यालयमै दिसापिसाब गर्छन् । दिसा पुछ्दै कार्यालयको काम गर्छन् । घरमा आउँदा खानाको तयारी हुँदैन । पिठ्यूँमै बाबु बोकेर भान्छा बनाउँछन्, भाडा माझ्छन् । बाबुहरू रोएर रातभर सुत्न दिँदैनन् । 


खुबै दुःखमा देख्छु, पुरुषहरूलाई । तर, पनि मलाई माया–दया लाग्दैन, हाँसो उठ्छ । भन्न मन लाग्छ, ‘थाहा पायौ, कस्तो हुँदो रै’छ नारीविनाको पुरुष, नारीविनाको घर, नारीविनाको समाज ?’काखी पड्काउँदै ‘खुच्चिङ’ भन्न मन लाग्छ, तर भन्दिनँ । केही समय त पुरुषहरूले घर, समाज चलाए । तर, जब सृष्टि रोकियो, तब पुरुषहरू बढी पीडामा परे । अब एकपछि अर्को पुरुषको मृत्यु हुँदै छ । एकपल्ट सबै मरिसक्छन् । अनि यो संसार नै मान्छेविहीन हुने निश्चित छ ।
हिजो वंश धान्न छोरै चाहिन्छ भन्ने पुरुषहरू संसार नै मान्छेविहीन हुने कल्पनाले त्रस्त छन् । अधिकाधिक पुरुषको मानसिक सन्तुलन गुम्दो छ ।


सबका सब पुरुषलाई नारी अनिवार्य र अपरिहार्य अनुभूति भइसकेको छ । यस्तैमा एउटा अभियान चल्छ– जसरी पनि नारी चाहियो ।उनीहरूको निष्कर्ष छ– एकसाथ संसारका सब नारी अलप हुनु स्वाभाविक थिएन । त्यहाँ कुनै न कुनै दैवीशक्तिले काम गरेको थियो । जुन शक्तिले संसार नारीहीन बनायो, त्यही शक्तिले फेरि नारी फर्काउन सक्छ ।
यो निष्कर्षमा संसारका सब पुरुष एकमत भए । र, नारी पुनस्र्थापनाका लागि सबैले एकैचोटि कामना गर्ने निचोड निकाले ।

एक साँझ । संसारका सब पुरुष जहाँ छन्, त्यहीँबाट प्रार्थना गर्न थाले । आँखा चिम्लिएर, हात जोडेर उनीहरू मनमनै कामना गर्दै छन्– अब हामीलाई पुरुष हुनुमा कुनै गर्व छैन । हामी नारीलाई कहिल्यै विभेद गर्नेछैनौँ । हामी कोहीको बलात्कार र हत्या हुन दिनेछैनौँ । छोरी भएकै कारण कुनै भ्रूणको हत्या हुन दिनेछैनौँ । विगतमा भए–गरेका सबका सब गल्तीका लागि क्षमा चाहन्छौँ । हामीहरू जस्तो पनि यातना भोग्न तयार छौँ । तर, हामीलाई नारी चाहियो । आमा, छोरी, दिदीबहिनी, श्रीमती चाहियो । 


मनमनै प्रार्थना गरिरहेका पुरुषहरू एकैचोटि चिच्याएर कराउन थाले । भन्न थाले– विधाता, हामीलाई नारी देऊ, हामी उनीहरूलाई सम्मान गर्छौँ । हामीलाई नारी देऊ, हामी उनीहरूलाई सम्मान गर्छौँ । हामीलाई नारी देऊ, हामी उनीहरूलाई सम्मान गर्छौँ ।


पुरुषहरूको यो चित्कार, पश्चात्ताप र प्रतिबद्धताले मेरो पनि मन पग्लियो । मलाई बलात्कार गरेर हत्या गर्ने पुरुष मात्रै होइन, मेरा बा, भाइ सबैलाई सम्झेँ । अनि गरिदिएँ, संसारमा नारीको पुनस्र्थापना । प्रार्थना गरिरहेका पुरुषहरू ज¥याकजुरुक उठे । सब खुसी छन् । सबले नारीको पाउ पर्दै पश्चात्ताप गरिरहेछन् । 
आकाशले सपनाको पाउ छुँदै, छोरीलाई च्यापेर भन्दै छ– अब हामीलाई छोरा होइन, छोराछोरी जे भए पनि हुन्छ ।