• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
मञ्जु टेलर
२०७८ जेठ १ शनिबार ०९:०९:००
समाज

कोभिड वार्डमा नर्स : ‘संक्रमणको डर भए पनि सेवा गर्न छाडेका छैनौँ’

२०७८ जेठ १ शनिबार ०९:०९:००
मञ्जु टेलर

नर्सहरूको कामको सराहना गर्न हरेक वर्ष मे १२ मा अन्तर्राष्ट्रिय नर्स र मिडवाइज दिवस विश्वव्यापी रूपमा मनाइन्छ । यो दिनलाई नर्सिङ संस्थापक फ्लोरेन्स नाइटिंगेलको वार्षिकोत्सवको रूपमा पनि लिने गरिन्छ । 

 

कोभिड–१९को महामारीका कारण अस्पतालमा बिरामीको चाप थेग्न नसक्ने अवस्थामा पुगेको छ । स्वास्थ्यकर्मीहरू दिनरात नभनी बिरामीको सेवामा जुटिरहेका छन् । संक्रमितको उपचार गर्दागर्दै कतिपय स्वास्थ्यकर्मी स्वयं आइसोलेसनमा छन्, भने कतिले आइसोलेसनमा बसेरसमेत बिरामीको उपचार गरिरहेका छन् । पछिल्लो समय कोभिड वार्डमा कार्यरत स्वास्थ्यकर्मी पिपिई लगाएरै वार्डमै आराम गरिरहेका फोटोहरू सामाजिक सञ्जालतिर भेटिन्छन् । संक्रमितको उपचार गर्दागर्दै संक्रमित भएर मृत्यु भएका उदाहरण पनि छन् । दोस्रो लहर फैलिएसँगै अस्पतालमा बढेको भिडले स्वास्थ्यकर्मी संक्रमित हुने दर पनि बढिरहेको छ । जसमा नियमित संक्रमितको सम्पर्कमा रहने नर्सहरू बढी छन् । 

 

‘दिनभरि पिपिई लगाएर आइसोलेसनमा बस्दा पसिनाले कपालदेखि बुटसम्म भिज्छ । पसिनाले भिजेको बुट गह्रुँगो हुँदै जान्छ । पिपिईबाहिर चस्मा, मास्क र त्यसमाथि फेस सिल्ड लगाएर बस्दा बिरामीको हातमा नसा ठम्याउन पनि गाह्रो हुन्छ । यति दुःख गरेर काम गरे पनि अन्तिममा बिरामीलाई बचाउन नसक्दा निकै नमज्जा लाग्छ,’ कोहलपुर नर्सिङ अस्पतालमा कोभिड वार्डमा कार्यरत नर्स कमला बस्नेतको अनुभूति हो यो । उनी १७ वर्षदेखि अस्पतालमा नर्सको रूपमा सेवा दिइरहेकी छिन् । वर्षौंसम्म त्यही अस्पतालमा काम गर्दा उनलाई कहिल्यै कामको बोझ महसुस भएन, अस्पतालमा बिरामीको मृत्यु हुँदा पनि त्यति ख्याल राखिनन् । तर, महामारीको दोस्रो लहरसँगै इमर्जेन्सीमै बेड नपाएर मरिरहेका संक्रमितहरू देख्दा कमलाको आत्मविश्वास घट्दै गइरहेको छ । अस्पतालमा अक्सिजनको लेभल मेन्टेन गर्दागर्दै बिरामीको ज्यान गएको अनुभव छ, कमलासँग । भन्छिन्, ‘इमर्जेन्सी पुग्दानपुग्दै अक्सिजन नपुगेर मरिरहेका छन्, वार्डमा राखिएका बिरामीलाई बचाउन हरकोसिस गरिरहेका हुन्छौँ । बिरामीको स्याहार गर्दागर्दै मृत्यु भइसकेको हुन्छ । अस्पतालको दैनिकीले स्वास्थ्यकर्मीलाई निकै सकस भइरहेको छ । कति बिरामीलाई ‘हाई फ्लो अक्सिजन’ आवश्यक परिरहेको हुन्छ, ‘एचटुओ मेन्टेन’ गर्न जति कोसिस गरे पनि हुँदैन, आफैँले स्यहारिरहेको बिरामीको मृत्यु हुँदा नमज्जा लाग्छ, के गर्नु, अर्को बिरामीको उपचारमा खटिनैप¥यो ।’

 

नेपालगन्जको गर्मी, त्यसमाथि दिनभरि पिपिई लगाएर वार्डमा काम गरिरहेका छन् नर्सहरू । सँगै भुइँमा छटपटिरहेका बिरामीलाई सम्हाल्न नसक्दाको क्षण बयान गर्न नसकिने बताउँछिन्, कल्पना । भन्छिन्, ‘फेस मास्कले त्यसै केही देखिरहेको हुँदैन । हातमा नशा छामेर सुई दिनुपर्छ । कुनै वेला नसा खोज्नै हम्मेहम्मे पर्छ । मास्क निकालूँ भने संक्रमण हुने डर हुन्छ, मास्क, चस्मा र त्यसमाथि फेससिल्ड लगाएर गर्मीमा वार्डमा काम गर्दा गाह्रो हुन्छ ।’

 

उनी अहिले महामारीअघिका दिन निकै सम्झिरहेकी छिन् । अस्पताल वार्डभित्र बिरामीको अवस्था र आफ्नो ख्याल नराखी दिनभरि पिपिईमा बाफिएर जुटिरहेका हरेक नर्सहरू अहिले पिपिईविना काम गर्न पाउने कामना गरिरहेका छन् । कमला भन्छिन्, ‘स्वास्थ्यकर्मी भइसकेपछि यस्तो महामारीमा काम गर्न सक्दिनँ भन्न सकिँदैन । आफ्नै अगाडि संक्रमितको मृत्यु हुँदा घर–परिवारको याद खुब आउँछ । घरमा पाँच वर्षको नानी र वृद्ध आमा हुनुहुन्छ । अस्पतालमा बिरामी बचाउन नसक्दाको पीडा, संक्रमण हुने डर र घर जाँदा परिवारमा संक्रमण फैलिने डरमै दिन बितिरहेका छन् ।’ 

 

ड्युटीमा रहँदा खाने, आराम गर्नेसमेत फुर्सद नहुँदा कमजोरीपन देखिने, रुघाखोकी लाग्ने र ज्वरो आउनेजस्ता लक्षण नर्सहरूले बारम्बार फेस गरिरहेका हुन्छन् । दैनिक लगातार आठ घन्टासम्म ड्युटी गर्नुपर्ने भएकाले अस्पतालमै आराम गर्नु परिरहेको छ । घरमा आइसोलेट हुने वातावरण भएका स्वास्थ्यकर्मीहरू ड्यटी सकेर घर जाने गरेका भए पनि कतिपय नर्स अस्पतालको वार्डमा बसेर सेवा दिइरहेका छन् । 

 

हरेक अस्पतालमा स्वास्थ्यकर्मी र नर्सहरू जोखिम लिएरै बिरामीको सेवामा जुटेका छन् । वार्डमा खटिएका नर्सले बिरामीसँग अन्य स्वास्थ्यकर्मीको तुलनामा बढी समय बिताउनुपर्ने हुन्छ । कोभिड संक्रमण सुरु भएदेखि कोभिड वार्डमा काम गरिरहेकी नर्स मिरा निरौलालाई पनि आँखैअघि संक्रमितको ज्यान गइरहेको देख्दा आफू संक्रमित हुने डर पनि लाग्न छाडिसक्यो । निरौला शुक्रराज ट्रपिकल अस्पतालमा कार्यरत नर्स हुन्, उनी नेपालमा कोभिडको संक्रमण सुरु भएदेखि हालसम्म लगातार कोभिड वार्डमा काम गरिरहेकी छिन् । भन्छिन्, ‘सुरुवातमा कोभिडका बिरामीको नजिक पर्नसमेत डर लाग्थ्यो । बिरामीको संख्या कम भएकाले वार्डमा फोनबाटै बिरामीलाई सल्लाह दिन्थ्यौँ । गम्भीर समस्या भएका बिरामी पनि कम भएकाले उपचारमा सहज थियो । तर, अहिले वार्डको अवस्था फेरिइसक्यो । वार्डमा रहेका बिरामी सबैलाई हाई केयर आवश्यक छ, औषधिसमेत आफैँ खान सक्ने अवस्था छैन ।’

 

वार्डमा रहेका प्रत्येक बिरामीलाई अक्सिजन आवश्यक भएको छ । यससँगै प्रयोगमा ल्याइएका हरेक औषधि दिन, अक्सिजन लगाउन, फेर्न, बिरामीलाई खुवाउन, पानी दिनसमेत वार्डमा नर्सहरू खटिनुपर्ने हुन्छ । चापका कारण सिकिस्त बिरामी मात्रै वार्डमा हुने र अवस्था निकै जटिल हुने हुँदा सधैँ उनीहरूसँगै बस्नुपर्ने अवस्था रहेको बताउछिन्, मिरा । भन्छिन्, ‘अस्पतालमा बिरामीको भिडका कारण यताउता गर्ने ठाउँसमेत छैन । हरेक बिरामी छट्पटाइरहेका हुन्छन्, उनीहरूको अवस्था हेर्दा रुन मन लाग्छ । एक्सपोज भइरहने हुँदा संक्रमणको डर लागे पनि बिरामीको हालत हेर्दा आफ्नो मतलब हुँदैन । आफूले स्यहार गरिरहेको बिरामी आखैँअगाडि मर्दा आफूलाई संक्रमण हुने डर पनि बाँकी नहुँदो रहेछ । तैपनि सुरक्षा अपनाइरहेका छौँ । आठ घन्टा पिपिईमा बस्नुभन्दा पनि दिनभरि बिरामीको दर्दनाक अवस्थाले बढी थाकिरहेको हुन्छु ।’

 

अस्पतालमा बिरामीको उपचार मात्र नभई उनीहरूको आत्मविश्वास बढाउन पनि स्वास्थ्यकर्मीको व्यवहार निकै महत्वपूर्ण मानिन्छ । मृत्यु शय्यामा रहेका बिरामीसँग रहेर दिनहुँ काम गर्दा स्वास्थ्यकर्मीको मनोविज्ञानले समेत उनीहरूको स्वास्थ्यमा असर गरिरहेको छ ।