• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
श्याम साह
२०७८ जेठ १ शनिबार ०८:३०:००
इतिहास

अस्तायो  मधेसको  एउटा तारा

२०७८ जेठ १ शनिबार ०८:३०:००
श्याम साह

फेसबुकको भित्तामा गुरुशरणको तस्बिर वेलावेला देखिनैरहन्थ्यो । उनी संगीत क्षेत्रमा भएकाले पनि उनका तस्बिरहरू बाक्लै देखिनु स्वाभाविक थियो । लेखक तुलानारायण साहले त्यस दिन पनि फेसबुकमा गुरुशरणको तस्बिर सेयर गरे । उनको तस्बिर हेरेर त्यसपटक भने म नराम्रोसँग झस्किएँ । स्टाटसको अन्तिममा लेखिएको थियो, श्रद्धाञ्जली । 

 

जन्मेपछि मृत्यु स्वाभाविक हो भन्छन्, तर सबै मृत्यु स्वाभाविक हुँदैन । गुरुणशरणको मृत्यु पनि स्वाभाविक हुँदै होइन । पत्रकार रामबाबु यादव भन्दै थिए, ‘हृदयाघातले भएको थियो उनको मृत्यु ।’ मानिसको मृत्युमा प्रायः दुःख लाग्छ, सन्ताप हुन्छ । तर, मलाई उनको मृत्युदेखि रिस उठ्यो, आक्रोशित छु । ‘लालु र काल’को कथामा जस्तै मृत्युको छातीमा मुक्का हान्न मन छ । खासमा जुन परिवेश, समाज र समयबाट उठ्दै थिए उनी, अलि धेरै टाढाको बाटो तय गर्नुपर्ने थियो । आफ्ना लागि, समुदायका लागि र आफ्नो समाजका लागि । तर, मृत्युले सदाका लागि उसको बाटो छेक्यो ।

 

गुरुशरण सदा हो उनको पूरा नाम । उनी मुसहर समुदायका थिए । गीतसंगीतमा विशेष रुचि थियो । मैथिली र नेपाली भाषामा केही एल्बमहरूसमेत निकालेका थिए । पत्रकारिता पनि गर्थे, तर सबैभन्दा बढी उनी अभियन्ता थिए । समुदायको उत्थानका लागि उनी दत्तचित्त भएर लागेका थिए, जसको एउटा उदाहरण थियो, सिराहाको गोलबजारमा प्रत्येक वर्ष माघ १० गते मनाउने ‘माइट’ अर्थात् माटो दिवस ।

 

मुसहर समुदायमा निकै प्रचलित लोकगाथा हो, दिनाभद्री । दिना र भद्री दुवै दाजुभाइ थिए । लोकगाथाअनुसार उनीहरू चुरेछेउको समतल भूभागमा बस्थे । प्रकृतिको लयसँग बाँचिरहेका थिए, उनीहरू । आफ्नो क्षेत्रमा अतिक्रमण गर्न थालेपछि आर्यहरूविरुद्ध दाजुभाइले विद्रोह गरे । आर्यहरूले दाजुभाइको हत्या गर्‍यो । त्यसपछि पूरै समुदायलाई नै बन्धक बनाइयो । त्यहीँबाट मुसहरहरूको दासको जिन्दगी सुरु भएको लोककथामा वर्णीत छ । 

 

दिनाभद्री आदर्श थियो गुरुशरणको । दिनाभद्रीको हत्यापछि नै पूरै समुदायलाई दासजस्तो जिन्दगी बनाइएको विश्वास थियो उनको । दिनाभद्रीले जस्तै निरन्तर संघर्ष गरेर मात्रै आफ्नो समुदायको मुक्ति हुन्छ भन्नेमा उनलाई विश्वास थियो ।

 

जात व्यवस्थाको सबैभन्दा पिँधमा रहेको जात हो मुसहर समुदाय, जसले मूलतः मालिकको खेत मात्र जोते । ‘जसको जोत उसको पोत’ नारा कसका लागि ल्याएको थियो सायद मुसहर समुदायलाई थाहै पाउन दिइएन । यदि यो नारा व्यवहारमा लागू भएको भए सबैभन्दा बढी भूमीहीन यो समुदाय हुँदैनथ्यो । अझै पनि यो समुदाय बसेको टोल कुनै न कुनै मालिकको नाममा हुन्छ । त्यस्ता टोलमा मुसहरहरूले पसिना मात्रै बगाउँदैनन्, भोट हाल्न पाउने स्वतन्त्रतासमेत गुमाउँछन् । त्यस्ता टोलहरूमा मुसहर समुदाय दिनको एक छाक मात्रै खानका लागि संघर्ष गरिरहन अभिशप्त हु्न्छन् । त्यस्तो समुदायबाट संघर्ष गरेर निस्किएको जोसिलो चेतनशील युवा थिए गुरुशरण । उनी आज जुन स्थानसम्म पुगेका थिए त्यहाँ पुग्न उनले गरेको संघर्ष कम्ती चुनौतीपूर्ण थिएन । 

 

म चार कक्षामा पढ्दा उनी पाँच कक्षामा पढ्थे, उसकै समुदायका शिवकुमार सदा । उनी कक्षासम्म सधैँ प्रथम भए । जिल्ला स्तरिय हाजिरी जवाफमा उनीसहितको समूह प्रथम भएको थियो । त्यही समय उसको विवाह भएको थियो । त्यसपछि जिउने संघर्षमा होमियो ऊ । कामको खोजीमा ऊ कहिले पन्जाब पुग्यो, कहिले हरियाणा । उसको पढ्ने सपना हराइसकेको थियो । मसँगै पढ्थ्यो, रामविलास मोची । ऊ चमार समुदायबाट थियो । ऊ पनि पाँच कक्षासम्म सधैँ प्रथम भयो । एक दिन मैले उसलाई गोलबजारमै बालुवा चाल्दै गरेको देखेँ । मसँगै पढ्थ्यो किशोरी पासवान । ऊ दुसाध समुदायबाट थियो । करातेमा विशेष रुचि थियो । लगनशील पनि थियो । ऊसँगै पढ्ने एकजना साथी साफ च्याम्पियनमा स्वर्ण पदक जितेर अहिले विदेशमा छ । ऊचाहिँ लहानमै एउटा टिकट काउन्टरमा टिकट काटेर जीविका चलाइरहेकी छिन् । 

 

संरचनाको पिँधमा छाडिएका समुदायहरू केवल एक छाकको जोहोका लागि कसरी सपना त्याग्न अभिशप्त छन् भन्ने बुझ्न माथिका उदाहरणहरू काफी छन् । त्यस्तो समुदायबाट गीतसंगीत क्षेत्रमा समर्पित हुनु, सामाजिक लडाइँको अभियन्ता बन्नु आफैँमा ठूलो संघर्षको परिणाम थियो । मेरा यस्ता थुप्रै साथीहरू थिए, जो मेधावी थिए, देशको माथिल्ला ओहदासम्म पुग्ने क्षमता राख्थे, तर उनीहरू भोकसँगको संघर्षमा आफ्ना सपनाहरू बलि चढाउन विवश भए । अर्जुन अपादुराईले गरिबलाई परिभाषित गर्ने क्रममा ‘क्यापासिटी टु एसपायर’ मा लेखेका छन्, ‘दे आर नाइदर ड्युप नोर रिभोलुसनरी बाट दे आर सेक्रेट सर्भाइबर ।’ अर्थात् उनीहरूको जिन्दगी ‘सेक्रेट सर्भाइबर’को जिन्दगी हो । यसभन्दा फरक अवस्था थिएन गुरुशरण सदाको । तर, उसलाई ‘सेक्रेट सर्भाइबर’को जिन्दगी बाँच्न मन्जुर थिएन । उसले संघर्षको जिन्दगी रोजेको थियो । 

 

एकजना साथीले उसको शवको छेऊमा रुँदै गरेकी शान्ति सदाको फोटो पोस्ट गरेको थियो । यिनी तिनै शान्ति सदा हुन्, जो भ्वाइस अफ नेपाल सिजन दुईमा अडिसन दिन आइपुगेकी थिइन् । युट्युबमा शान्ति सदाको संघर्षको कथा अझै देख्न सकिन्छ । शान्तिले स्कुल तहको शिक्षा पनि नसक्दै गुरुशरणसँग विवाह गरेकी थिइन् । गीत गाउने सपनालाई उनीहरूले साझा सपना बनाए । छुटेको स्कुलको शिक्षा पूरा गरिन् । सन्तानलाई राम्रै शिक्षा दिँदै थिए उनीहरूले । त्यो अडिसनको भिडियोमा स्टेजपछाडि गुरुशरण र उसकी आमाको आत्मविश्वास अझै देखिन्छ । गुरुशरणकी आमा बितेको एक वर्ष भएको थियो । गुरुशरणको फेसबुकको अन्तिम पोष्ट त्यही आमाको बर्खीको थियो । शान्ति सदाले आफ्ना यात्राका दुई साथीहरू एक वर्षभित्रै गुमाइन् । शान्तिलाई स्टेजसम्म पु¥याएर पृष्ठभूमिमा बसेका दुईजना सधैँका लागि पृष्ठभूमिमै ओझेल परे । 

 

अल्वर्ट ओ. हिर्सम्यानको सिद्धान्त छ, ‘लोयल्टी, भ्वाइस र इग्जिट,’ जसलाई अर्जुन अपादुराईले माथि उल्लेखित लेखमा गरिबसँग भएका विकल्प र उसले गर्न सक्ने कार्य तथा अवस्थाको चित्रण गर्न प्रयोग गरेका छन् । ‘लोयल्टी’ मूलतः गरिबमा हुने यथास्थितिको प्रवृत्ति, त्यससँग सम्झौता गर्नुपर्ने बाध्यताको मनोविज्ञान र अझ भन्नुपर्दा दासताको मनोविज्ञान हो । ‘इग्जिट’ पलायन अथवा पतनको मनोविज्ञान हो । त्यसैले उसले गरिब तथा त्यस प्रकारका समुदायका निम्ति सबैभन्दा उत्तम विकल्प भनेको ‘भ्वाइस’ हो भनेका छन् । उनले मूलतः संघर्ष, वार्ता र सम्झौताबाट उपलब्धिको रक्षा, फेरि संघर्ष, फेरि वार्ता, फेरि सम्झौतालाई जोड दिएका छन् । अर्थात् आफ्ना साना–साना मुद्दा तथा समस्यामा निरन्तरको संघर्ष तथा उपलब्धिको रक्षा नै गरिबहरूका निम्ति उत्तम विकल्प हो भनेका छन् । 

 

वि.सं. २०७३ माघ १० गते मनाएको माटो दिवसमा म पनि सहभागी भएको थिएँ । प्रमुख अतिथि थिए, पत्रकार चन्द्रकिशोर । ‘नेपाल राष्ट्रिय मुसहर संघ’ र ‘सवरी संकल्प समाज’ यसका आयोजक थिए । त्यसभन्दा अगाडि म त्यही ठाउँको भएर पनि उनीहरूको अभियानबारे अनभिज्ञ थिएँ । कार्यक्रम एउटा सानो हलमा भए पनि बहसको आयतन निकै ठूलो थियो । त्यहाँ महिला तथा पुरुषहरू उत्तिकै संख्यामा उपस्थित थिए । सबैभन्दा महत्वपूर्ण कुरा, त्यहाँ भएका छलफलको मुख्य विषय नै भूमिमाथिको दाबी तथा त्यसमाथिको स्वामित्व थियो । थातथलोबाट बेदखल गर्ने कोसिस गरिरहेका भूमाफियाविरुद्ध संघर्ष गर्नेबारे उनीहरू बहस गरिरहेका थिए । त्यस कार्यक्रमको सञ्चालक थिए उनै गुरुशरण । अर्को वर्ष उनीहरूले माटो दिवस धमिनीथानको खुलाचौरमा गरेका थिए । जहाँ हजारौँ मानिसहरू सहभागी थिए । मुसहर बस्ती बनाएका सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस र सुन्तली)लाई पनि उनीहरूले सम्मान गरेका थिए ।

 

त्यस्ता कार्यक्रमहरूले मुसहर समुदायलाई चिनाउँदै पनि थियो । अर्जुन अपादुराईको माथि उल्लेखित लेखमा निकै चर्चा गरेको विषय हो ‘नेभिगेसनल क्यापासिटी’ र ‘रिकग्निसन’ । ‘नेभिगेसनल क्यापासिटी’ मूलतः जस्तोसुकै परिस्थितिमा बाटो पहिल्याउन सक्ने क्षमता हो । प्रत्येक समुदायमा आफ्नो जीवनप्रतिको आफ्नै दृष्टिकोण हुन्छ । जुन बाँच्नका लागि उनीहरूले गर्ने संघर्षको क्रममा स्थापित भएको हुन्छ । र त्यसैले उनीहरूलाई अगाडि बढ्न मद्दत गर्छ । त्यो नै उनीहरूको ‘नेभिगेसनल क्यापासिटी’ हो । उनीहरूले स्थापना गरेको ‘सवरी संकल्प समाज’, दिनाभद्रीको गाथा, माटोसँगको उनीहरूको लगाव, कृषिकर्मको सम्पूर्ण जानकारी नै उनीहरूको समस्या समाधानको बाटो थियो । ‘रिकग्निसन’ आफैँमा उनीहरूको समुदायगत प्रयास र लडाइँलाई समाजमा स्थापित गराउने महत्वपूर्ण औजार थियो । उनीहरूले गरेको भूमिहीनहरूको संगठन विस्तार, आफू बसेको जमिनका लागि गरेको लडाइँले बिस्तारै धेरैको ध्यान आकर्षित गरिरहेको थियो । उनीहरूले मनाउने माटो दिवसले एकप्रकारको ‘रिकग्निसन’ प्राप्त गर्दै थियो । 

 

एमफिल समाजशास्त्रमा अर्जुन अपादुराईको यो लेख पढिरहँदा गुरुशरण सदा र उनीहरूले मनाउने माटो दिवस झलझली सम्झेको थिएँ । भलै उनीहरूले मुम्बईका झुपडपट्टीका बस्तीहरूले जसरी सहकारी सञ्चालन गरेर आर्थिक क्रियाकलापमा आफूलाई सहभागी गराएका थिएनन् । तर, पनि उनीहरूलाई आफ्नो समस्या थाहा थियो र त्यसका लागि संघर्षरत थिए । 

 

सबै संघर्षहरूलाई बाटोमै छोडेर गुरुशरण अस्तायो । उसको आफ्नै भाइ शिवशरण सदा अझै पनि सिकिस्त बिरामी छन् र धरानको बिपी मेमोरियल अस्पतालमा उपचाररत छन् । त्यहाँका मानिसहरू भन्छन्– गुरुशरणलाई पनि कोरोना थियो । तर, कोही भन्छन्– अस्पतालले टेस्ट गरेर रिपोर्ट नेगेटिभ आएपछि परिवारलाई लास जिम्मा लगाएको थियो । त्यसै पनि नेपालमा दलितहरूको औसत आयु अरूको भन्दा कम छ । त्यो उमेर पनि उनले पूरा बाँच्न पाएनन् । एकजना मानिस आफ्नो देशको अरू नागरिकसरह उपचार नपाएर मर्नुमा राज्य कति जिम्मेवार छ ? यो आफैँमा बहसको विषय हो । तर, सत्य के हो भने ऊ उपचार नपाएरै मरेको हो । उपचारको पहुँच नपाएर मरेको हो । उसको पनि उपचार पाउने त्यति नै हक थियो, जति यो देशको प्रधानमन्त्रीलाई छ ।