• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
ज्योतिरिश्वरलाई कविशेखरको उपाधि दिइएको थियो
रोशन जनकपुरी
२०७८ जेठ ८ शनिबार ०८:१३:००
साहित्य

ज्योतिरिश्वर ठाकुर  र मैथिली साहित्य

साहित्य

२०७८ जेठ ८ शनिबार ०८:१३:००
रोशन जनकपुरी

 

समस्त नेपाल, उत्तरभारत र सम्भवतः दक्षिण एसियामा पहिलो नाटक  धूर्तसमागम मिथिला, मधेस, प्रदेश नम्बर दुई र समग्र नेपालका निम्ति गौरवग्रन्थ हो 

 

मैथिली साहित्यको बीज आठौँ शताब्दीको सिद्ध साहित्यमा पाइन्छ । तर, आदिकालीन रचनाकारको रूपमा ज्योतिरिश्वर ठाकुरले मैथिली साहित्यलाई जुन उचाइमा पुर्‍याए, तत्कालीन समयमा नेपाल र गंगाको उत्तरी मैदानमा प्रचलित भाषाहरूमा सर्वश्रेष्ठ त थियो नै, अहिले पनि कैयौँ भाषाका निम्ति ईष्र्याको विषय छ ।

 

ज्योतिरिश्वरको समय इसाको १४औँ शताब्दीको प्रथमार्द्ध हो । उनी कर्णाटवंशी अन्तिम शासक हरिसिंह देवका आश्रित राजकवि थिए । संस्कृत, प्राकृत, अवहट्ट र मैथिलीका निष्णात ज्योतिरिश्वरलाई कविशेखरको उपाधि दिइएको थियो । यो उपाधि उनले आफ्ना प्रसिद्ध ग्रन्थ वर्णरत्नाकर र धूर्तसमागममा पनि उल्लेख गरेका छन् । उनको मुख्यतः तीनवटा कृति उपलब्ध छ– धूर्तसमागम, वर्णरत्नाकर र पञ्चशायक । यस अतिरिक्त उनको रंगशेखर नामक काव्यको उल्लेख पनि पाइन्छ, तर यो हालसम्म अनुपलब्ध छ । पञ्चशासक र रंगशेखर शृंगाररसका संस्कृत भाषा र धूर्तसमागम र वर्णरत्नाकर मैथिली भाषामा लेखिएका कृतिहरू हुन् । प्रतीक र बिम्बहरूको अद्भुत कोष वर्णरत्नाकरले ज्योतिरिश्वरको विराट साहित्यिक सामथ्र्य प्रदर्शित गर्छ र यसबाट तत्कालीन सामाजिक संंरचना तथा मनोविज्ञान बुझ्न सकिन्छ । संस्कृतइतर भाषाहरूमा वर्णरत्नाकर मिथिला मात्र होइन, सम्पूर्ण दक्षिण एसियामा पहिलो गद्यग्रन्थ मानिन्छ । यसरी नै धूर्तसमागम नेपाल र समस्त उत्तर–भारतमा पहिलो नाटक मानिन्छ । कविशेखर ज्योतिरिश्वरले धूर्तसमागमलाई प्रहसन भनेका छन् ।

 

धूर्तसमागमको प्रस्तावनामा ज्योतिरिश्वरले आफ्नोबारेमा यस्तो लेखेका छन्, ‘....रामेश्वरस्य पौत्रोण तत्र भवतः पवित्र कीर्तेर्धिरेश्वरस्यात्मजेन महाशासन श्रेणी शिखर भ्रात्पल्ली (नेपालमा प्राप्त हस्तलिखित संकलनमा ‘श्रीमत्पल्ली’) जन्मभूमिना कवि शेखराचार्य ज्योतिरीश्वरेण निज कुतुहल विरचितं धूर्तसमागमंनाम प्रहसनं भिनेतुमादिष्टोऽस्मि ।’ यसबाट के बुझिन्छ भने उनको पितामह (बाजे)को नाम रामेश्वर र पिताको नाम धीरेश्वर थियो । ज्योतिरिश्वरका कृतिहरूमा धूर्तसमागम सबैभन्दा बढी लोकप्रिय रहेको बुझिन्छ । वर्णरत्नाकर त धेरैपछि प्रकाशमा आयो, तर उन्नाइसौँ शताब्दीको प्रारम्भदेखि नै धर्तसमागमका कैयौँ संस्करणहरू प्रकाशित भएको पाइन्छ । भारत र विदेशबाट प्रकाशित संस्करणहरूमा कविशेखर ज्योतिरिश्वरको आश्रयदाता नरेशको नाम नरसिंह देव लेखिएकाले उनको अवधि निर्धारणबारेमा विवाद पनि उत्पन्न भएको थियो । यसैले केही विद्वान्हरूले उनलाई पन्ध्रौँ–सोह्रौँ शताब्दीमा विजयनगरको राजा नरसिंहदेवको समकालीन मानेका थिए । तर, काठमाडौंको दरबार पुस्तकालयमा सुरक्षित प्रतिमा हरिसिंहदेव उल्लेख भएको आधारमा पण्डित हरप्रसाद शास्त्रीले यस विवादको निरूपण गरेर धूर्तसमागममा उल्लेखित राजा कर्णाटवंशी राजा हरिसिंहदेव नै हुन् भन्ने निष्कर्ष प्रस्तुत गरे ।

 

इतिहासकार सी. बेन्डाल हरिसिंहदेवको मृत्यु सन् १३२४मा भएको मान्छन् । नेपाली इतिहासकार ज्ञानमणि नेपाल भने हरिसिंहदेवको मृत्यु सन् १३२५ (विसं १३८२ माघ सुदी ३) मान्छन् । पण्डित शास्त्री महोदय भने बेन्डालसँग सहमति राख्छन् ।

 

चुरेभन्दा दक्षिण गंगाभन्दा उत्तर, कोसी पश्चिम र गण्डकी पूर्वमा विस्तृत कर्णाटवंशीहरूको तिरहुत (नेपाली इतिहासमा तेह्रौँत) राज्यको स्थापना इसाको १०९७ मा नान्यदेवले गरेका थिए । यद्यपि, ऐतिहासिक साक्ष्यहरूले कर्णाटकीहरूको प्रत्यक्ष प्रभाव बनेपासम्म रहेको संकेत पनि दिन्छन् । हरिसिंहदेव तिरहुत राज्यका अन्तिम शासक थिए । तिरहुत राज्यको केन्द्र हालको बारा जिल्लामा पर्ने सिम्रौनगढमा थियो । त्यतिवेलाका साक्ष्यहरू अहिले पनि सिम्रौनगढमा जीवित छन् । कर्णाटवंशी शासकहरूले मिथिला नरेशको उपाधि पनि धारण गरेका थिए । कर्णाटकी शासकहरूको उपत्यकाका मल्ल राजाहरूसँग नाता सम्बन्ध थियो । नेपालको इतिहासमा प्रसिद्ध ‘जवाँमर्द’ (ज्ञानमणि नेपाल, नेपालको माध्यमिककालको इतिहास) देवलदेवी हरिसिंहदेवकी रानी थिइन् । केही इतिहासकारहरूले उनलाई यक्ष मल्लकी छोरी भनेका छन् । कर्णाटकी शासकहरूले नेपाल मण्डल (उपत्यका)मा कैयौँपटक आक्रमण गरे र कम्तीमा साढे दुई वर्षसम्म कब्जा जमाएर बसेको इतिहासमा उल्लेख भएको पाइन्छ । नेपाली इतिहासकारहरूले कर्णाटकीहरूले आक्रमण गरेको स्विकारे पनि उनको विजय र शासन गरेको स्विकार्दैनन् । तर, उपत्यकामा हरिसिंहदेवका मन्त्री चण्डेश्वर ठाकुरका कृतिहरूले उनी वर्षौँ उपत्यकामा बसेको ऐतिहासिक साक्ष्यहरूबारे त्यहाँको लोक संस्कृति तथा नेपाली इतिहासमै उल्लेख पाइन्छ ।

 

दिल्लीको मुस्लिम बादशाह गयासुद्दीन तुगलकसँगको युद्धमा तिरहुते सेनाको पराजयपछि हरिसिंहदेव चुरेभन्दा उत्तरतिर महाभारतको जंगल र पहाडमा पलायन हुन बाध्य भए । काठमाडौं उपत्यका (तत्कालीन नेपाल मण्डल)तर्फ जाने क्रममा सिन्धुलीको तीनपाटनमा उनको मृत्यु भयो । यता हरिसिंहदेवको दुर्ग सिमरौनगढमा विध्वंस र लुटपाटपछि त्यहाँको रेखदेख गर्न आफ्ना एकजना कारिन्दा मल्लिक तब्लिघालाई नियुक्त गरेर बादशाह गयासुद्दीन दिल्ली फर्के । त्यसपछि लगभग पचास वर्षसम्म मिथिला वा तिरहुत राज्यमा शासकहीन अराजक स्थिति कायम रह्यो । तब्लिघा कर असुली गर्ने दिल्लीको प्रतिनिधि मात्र थिए । पछि मिथिलाको शासनाधिकार ओइनिबार वंशको हातमा गयो । कालान्तरमा हालको नेपाली भूभागमा पर्ने मिथिलाका भागहरू मकवानपुरे सेनवंशी शासनको अधीन गएको देखिन्छ । 

 

वर्णरत्नाकर र धूर्तसमागममा तत्कालीन मिथिलाको ह्रासोन्मुख नैतिकता र अराजक सामाजिक परिवेशको जीवन्त वर्णन पाइन्छ । धूर्तसमागमको रचनाकालबारे विद्वान्हरूबीच विवाद देखिन्छ । केही सन् १३२० र केही सन् १३२५ मान्छन् । यद्यपि, १३२० बढी तर्कसम्मत देखिन्छ । शिल्प र प्रस्तुतिको दृष्टिले वर्णरत्नाकर बढी प्रौढ गद्यग्रन्थ देखिन्छ । तर, यसमा शासकको नाम उल्लेख छैन । धूर्तसमागममा भने शासकको नाम उल्लेख गरेर प्रशंसासमेत गरिएको छ ।

 

धूर्तसमागमलाई कविशेखराचार्य ज्योतिरिश्वरले प्रहसन भनेका छन् । प्रहसन हास्यप्रधान नाट्य विधा हो । तर, हास्य जुन विपरीत विकृत परिस्थितिमा जन्मन्छ, त्यस परिस्थिति र पात्रमा आफूलाई प्रतिस्थापित गरियो भने त्यो स्थिति एउटा कारुणिक र त्रासदीयुक्त अनुभूत हुनथाल्छ । धूर्तसमागममा पनि प्रत्यक्षतः पर्याप्त हास्य छ । तर, यस्मा वर्णित समाजका अगुवा र प्रतिष्ठितवर्ग धनिक, साधु र शासनतन्त्र जसरी अनैतिक र पाखण्डमा डुबेको छ, र जनसामान्य भोग मात्रको वस्तुको रूपमा प्रस्तुत गरिएको छ, त्यसको विवेकशील विश्लेषण गर्दा क्षोभ, त्रासद र करुणायुक्त स्थिति उत्पन्न हुन्छ । र, यसले धूर्तसमागमलाई एउटा उत्कृष्ट व्यंग्यको पंक्तिमा खडा गर्छ । स्वार्थमय ईश्वरभक्ति, भोग र शासकप्रतिको भाटपनाले भरिएको समयको सामाजिक पाखण्डलाई अत्यन्त सशक्त रूपमा उजागर गरिएको धूर्तसमागममा ज्योतिरिश्वरको सामाजिक व्यंग्यदृष्टिले चमत्कृत गर्छ । यस अर्थमा तुलना गर्दा वर्तमान समकालीनतामा पनि यो उत्कृष्ट व्यंग्य ठहर्छ ।

 

ज्योतिरिश्वर यस्तो समयको रचनाकार हुन्, जुन समयमा बौद्धभिक्षु र त्यसका अनुयायीहरू बुद्धको दुःखमय दार्शनिकता तथा एकान्तिकताविपरीत बज्रयानको दैहिक ‘महासुखवाद’ र ‘सहजआनन्द’तर्फ उन्मुख हुन थालेका थिए । त्यसरी नै हिन्दू धर्मानुयायीहरूबीच शैव र वैष्णवीका विविध धाराहरू विकसित हुन थालेका थिए । बौद्धधर्मका भिक्षुहरू होऊन् वा वैदिक सन्न्यासपना, दुवैमा एकातिर उच्च धार्मिकता र अर्कोतिर निम्नकोटिका आचरणहरू थिए । अनैतिकता, पाखण्ड, लम्पटपना, मिथ्याचार, कपट, भ्रष्ट आचार, विलासिता र धूर्तता शासन र धर्माचार्यको मूल स्वभाव बनिसकेको थियो । यस्तै काल र देशको प्रतिबिम्बन हो– धूर्तसमागम ।

 

केही विद्वान्हरू धूर्तसमागमलाई संस्कृतको रचना मान्छन् । तर, डा.जयकान्त मिश्र र डा. देवशंकर ‘नवीन’ सदृश भारतीय समालोचकहरू यसलाई मैथिलीको रचना मान्छन् र यो तर्कसम्मत पनि देखिन्छ । धूर्तसमागममा मुख्यतः तीनवटा भाषाहरूको प्रयोग भएको छ । यसमा प्रयोग भएका सबै बीसवटा गीतहरू मैथिलीमा छन् । यसको सूत्रधार, विश्वनगर, मृत्तांगार ठाकुर र असज्जाति मिश्र, यी चारजना पात्रहरू संस्कृत बोल्छन् । बाँकी सबै पात्रहरू– स्नातक, मूलनाशक, विदुषक, नटी, सुरतप्रिया, अनंगसेना प्राकृतमा बोल्छन् । यसरी मात्रै चारजना पात्रहरूले बोलेको टाकनटुकन संवादको बलमा यसलाई संस्कृतको रचना भन्नु उचित देखिँदैन । डा. नवीनको विचारमा धूर्तसमागममा प्रस्तुत वातावरण, शिल्प, संवादको चरित्र, र अन्ततः समग्र गीतहरूको प्रभावकारी स्वरूपले यसलाई विशुद्ध रूपमा मैथिलीको रचना भन्नु अनुपयुक्त हुँदैन । डा. नवीन धूर्तसमागममा प्रयोग भएको मैथिली गीतहरूको उद्वेलनशीलता (भाइब्रेन्ट) र उद्यमशीलतालाई मूल साहित्यिक प्रवृत्तिका रूपमा प्रस्तुत गर्छन् ।

 

धूर्तसमागमको कथा एउटा वेश्या (गणिका)गामी धूर्त विश्वनगर नामक सन्न्यासी र उसको शिष्य स्नातकको भिक्षाटन प्रसंगबाट सुरु हुन्छ । उनीहरू एउटा अति कन्जुस धनाढ्य मृत्तांगार ठाकुरकहाँ पुग्छन् । मृत्तांगार ठाकुरको कन्जुसपना यति व्यापक छ, कि मानिसहरूले उसको नामसम्म उच्चारण गर्न चाहदैनन् । मृत्तांगारकहाँ भिक्षा माग्न गएको सन्न्यासी विश्वनगरलाई निराशा हात लाग्छ । तर, उसकै भनाइमा गुरु र शिष्य मासोपवासिनी सुरतप्रियाकहाँ पुग्छन् । त्यसपछि अतिसुन्दरी वेश्या अनंगसेनासँग उनीहरूको भेट हुन्छ । र, मुख्य खेल यहाँबाट सुरु हुन्छ । अनंगसेनाको रूप र यौवन देखेर कामासक्त गुरु र चेला दुवैमा प्रतिस्पर्धा हुन थाल्छ । अनंगसेनाकै सल्लाहमा पञ्चायत गराउन दुवैजना असज्जाति मिश्रकहाँ जान्छन् । असज्जाति मिश्र आफँै विलासी चरित्रका लम्पट व्यक्ति छ । ऊसँगै उसको मित्र विदुषक बन्धुवञ्चक पनि छ । बन्धुवञ्चक जुवारी (द्युतप्रेमी) र अरूको धन ठगेर खाने लम्पट प्रवृत्तिको छ । उनीहरूले शुल्कको रूपमा दुवैजना गुरु र शिष्यको गाँजाको पोको लिएर मात्रै पञ्चायती सुरु गर्छन् । अब त्यस गाँजाको पोकोमाथि कसले कब्जा गर्ने भनेर असज्जाति र बन्धुवञ्चक दुवैबीच दाउपेच सुरु हुन्छ । त्यतिवेलै कथामा मूलनाशक नामक हज्जाम (नाउ)को प्रवेश हुन्छ । मूलनाशकले अनंगसेनासंँग ‘मदनमन्दिर क्षौरकर्म’ गरेको (गोप्य अंगहरूको रौँ खौरेको) शुल्क माग्छ र नदिए सरकारसँग नालेस गर्ने धम्की पनि दिन्छ । असज्जाति मिश्रको कामुक दृष्टि अनंगसेनाले बुझेकी छिन् । उनले गाँजाको पोको मूलनाशकलाई दिन असज्जातिसँग अनुरोध गर्छिन् । गाँजाको पोको पाएपछि प्रसन्न भएर मूलनाशकले असज्जातिको हाथ खुट्टा छोपेर कपाल काट्न थाल्छ । त्यतिवेला नै गाँजा सुँघेर नशामा लट्ठ असज्जातिको छाती र जोर्नीहरू दुख्न थाल्छ । तर, यति भएर पनि अनंगसेनाप्रतिको आसक्ति घट्दैन । अब एकले अर्कालाई होच्याएर वा धपाएर अनंगसेनामाथि कब्जा गर्र्न असज्जाति मिश्र, सन्न्यासी विश्वनगर, शिष्य स्नातक र विदुषक बन्धुवञ्चकबीच तीव्र प्रतिस्पर्धा सुरु हुन्छ । यसैक्रममा विदुषक बन्धुवञ्चक अनंगसेनालाई मञ्चको एउटा कुनामा लगेर फकाउने प्रयत्न गर्दै भन्छ, ‘सन्न्यासी विश्वनगर निर्धन छ, उसको शिष्य स्नातक व्यभिचारी छ र असज्जाति मिश्र बूढो भइसकेको छ । त्यसैले उनीहरूलाई त्यागेर मसँग समागम गरे मात्र तिम्रो यौवन सफल हुनेछ ।’ प्रत्युत्तरमा अनंगसेना मुस्काउँछिन् र भन्छिन्– ‘यस धूर्तसमागमको कुरो अब प्रस्ट भयो ।’ (एतत धूर्तसमागम प्रहसनं समवृत्तम् !) र त्यतिवेलै सन्न्यासी विश्वनगर वैराग्यभावले गाउन थाल्छ । ‘अरे रे सनातक ! तोरिहि कुमान्ति । अनंगसेना हरिलेल असजाति । कतए विचार कराओल आनि । जन्हिक चरित्र मूलनाशक जानि ।। हेरितहि हरि धन लय गेल चोर । हाथक रतन हरायल मोर ।। कके होएबह (खिन) अनुरागे । जोँकक आँङ गोतल न लागे ।। (कविशेखर जोतिक एहु गाव) । राए हरसिंह बुझए रस भाव ।।
(स्रोत– गुगलबाट प्राप्त धूर्तसमागमको फोटोकपीप्रति । अफसोस, यस प्रतिमा प्रकाशक, सम्पादक उल्लेख भएको पृष्ठ छैन । पानाहरूमा पुस्तकको नाम ‘मैथिली–धूर्तसमागम’ र लेखकको नाम ज्योतिरिश्वर लेखिएको छ ।)

 

गज्जब छ नि ! एकातिर समाजका सम्भ्रान्त, अगुवा पञ्च, गृहस्थ, सन्न्यासी, स्नातक ! (शिष्य), सबै विवेकशून्य भएर लम्पटपना र व्यभिचारमा डुबेका छन् । एक–अर्कालाई आरोपित गर्दै, खुट्टा तानाताना गरिरहेका छन्, एकले अर्कालाई खसालेर आफ्नो अनैतिक स्वार्थसिद्ध गर्न खोज्दै छन् । तर, एउटी वेश्या, जसको वृत्ति देह व्यापार छ, उसले सत्य उद्घाटित गर्छिन्– ‘एतत् धूर्तसमागम प्रहसनं संसवृत्तम् ।’ ह्रासोन्मुख सामाजिक परिवेशप्रति उच्चतम् व्यंग्यको यो चरमोत्कर्ष हो । 

 

इतिहासको आरोही र अवरोही प्रवाहमा ज्योतिरिश्वर र उनको धूर्तसमागममाथि परेको धुलो टकटक्याइदिने हो भने यो अहिले पनि समकालीन स्वरमा सम्बोधित गरिरहेको सहजै अनुभूत गर्न सकिन्छ । एउटा यस्तै छद्मपूर्ण संसारमा त हामीसबै बाँचिरहेका छौँ ! राजनीति, न्याय, धर्म, दर्शन, बौद्धिकता जहाँ सबैको एक मात्र उद्देश्य वैयक्तिक आर्थिक समृद्धि र भोगको लालसामा समेटिएको छ; र यसका निम्ति सबै पुँजीपतिको चाकरीमा व्यस्त छन्, त्यहाँ छद्मताबाहेक अरू के बाँकी रहन्छ ? यहाँको पनि सबै तानाबानाहरू धूर्तसमागम नै त हो ! र यसमा सबै धूर्तहरू सामेल छन् । भलै त्यो राजनीतिक भाषण दिइरहेको नेता होस्, त्रिपुण्ड, दाह्री र गेरुवा त्यागी चोला धारण गरेका तथा नैतिकता र धार्मिकताको प्रवचन दिने साधु महाराजहरू होऊन्, अथवा समाजको अगुवा भनाउँदा अग्ला आसन र पुरस्कारको लालसामा चाकर बनेका बौद्धिकगणहरू होऊन, सबै एउटै ‘अनंगसेना’ लक्ष्मीदेवीलाई फकाउन फुल्याउनमा आफ्नो समस्त बल र चातुर्य लगाउँदै छन् ।

 

केही शिष्ट प्रेक्षक र समालोचकका निम्ति धूर्तसमागमको भाषा अश्लील हुन सक्छ । तर, जुन किसिमको वैचारिक र नैतिक अश्लीलतामा वर्तमान समाज डुबेको छ, त्यसको तुलनामा यो मौखिक अश्लीलता न्यून नै देखिन्छ । अर्को यो तात्कालिक समयको सहज वाचिक भाषा हो । ग्रामीण परिवेशमा यस्तो यौनजन्य भाषा अहिले पनि सुनिन्छ । नागर जीवनमा संस्कृत र शासकीय श्रेणी शिष्टता बढी छ, तर ग्रामीण क्षेत्रमा लोकनाट्य अहिले पनि जीवित छ, जस्मा छद्म सामाजिकतालाई नंग्याइरहेका संवाद र पात्रहरू जीवित छन् । यद्यपि शहरीपना, बलिउड सिनेमा र टेलिभिजनको बढ्दो प्रभावसँगै यस्ता नाट्यमञ्च, पात्र र संवाद क्रमशः लोप हुँदै गएको छ ।   मध्यकालदेखि हालसम्ममा विकसित ग्राम्य लोकनाट्य मञ्चमा धूर्तसमागमका कन्जुस धन्नासेठहरू, पाखण्डी र विलासी साधुहरू र व्यभिचारी धूर्त शासकहरू तपाईंले अहिले पनि दोहोरिँदै गरेको हेर्नु हुनेछ । यद्यपि, शिष्ट साहित्यसँग कटेको धूर्तसमागमको लोकप्रियता नागर संस्कृतिमा समयको धुलोले छोपिएको थियो । जे भए पनि धूर्तसमागम अहिले पनि समकालीन लाग्ने, चस्स घोच्ने र दुख्ने एउटा उत्कृष्ट व्यंग्य हो ।

 

समस्त नेपाल, उत्तरभारत र सम्भवतः दक्षिण एसियामा पहिलो नाटक धूर्तसमागम मिथिला, मधेस, प्रदेश नम्बर दुई र समग्र नेपालका निम्ति गौरवग्रन्थ हो ।