• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
कृष्णप्रसाद पौडेल
२०७८ जेठ १५ शनिबार ०९:५७:००
सम्झना

विज्ञान बिगार्न भाडामा बौद्धिक दस्ता

२०७८ जेठ १५ शनिबार ०९:५७:००
कृष्णप्रसाद पौडेल

राजनीतिका ती सकुनीहरूले विज्ञानका तथ्यहरूलाई आफूअनुकूल व्याख्या गरिदिन्छन् 

 

केही महिनाअघि एकजना मन्त्रीले ‘पिएचडी गरेका वैज्ञानिकभन्दा हाम्रा प्रधानमन्त्री धेरै जान्ने’ भनेको कुरा पत्रपत्रिकामा पढ्न पाइयो । यति धेरै जान्ने प्रधानमन्त्री तिनै हुन् जसले तीनवटा मानार्थ पिएचडी हात पारेको खबर केही समय पहिले छापाहरूमा पढ्ने सौभाग्य मिलेको थियो । उनको पहिलो मानार्थ पिएचडी त नक्कली भएको हल्ला पनि चल्यो र प्राप्त गरेका अरू मानार्थीले फिर्ता गरे भन्नेसमेत सुनियो । 

 

कुनै वेला बुद्धले कति पढेका थिए र ? भनेर पढेलेखेका मानिसको खिसिट्युरी गर्ने प्रधानमन्त्रीको यो पिएचडीप्रतिको आसक्ति किन रहेछ ? यो त थाहा भएन र सँगै, माथिको कुरा भन्ने ती मन्त्रीको कुण्ठा या रैतीभाव के बोलेको थियो पनि थाहा भएन । तर, यसले विज्ञान र राजनीतिको अन्तर्संघर्ष फर्केर हेर्न भने उक्सायो । उनीहरूको रैतीभाव, कुण्ठा र आसक्ति के हो समयसँगै उद्घाटित हुँदै जाला । अहिले भने कुरा गरौँ राजनीति र विज्ञानको आँखा मिचौली ।

 

अन्यत्रजस्तै नेपाली समाजमा पनि विज्ञानलाई सामथ्र्यको मुख्य प्रतीकका रूपमा लिइन्छ । त्यसैले समाजमा प्रतिष्ठित भइरहन आफ्नो वा आफन्तको पढाइ नै मुख्य धाकको विषय बन्ने गरेको छ । यसो हुनुमा पढेलेखेका बाहिरी मानिसको ज्ञानसंज्ञाकोे दायरा केही फराकिलो हुने भएकाले ती मानिस हामीभन्दा धेरै नै जान्ने ठानिनु हो । सँगै पढेलेखेका मानिस तुलनात्मक रूपले विवेकी र इमान्दार हुने गर्छन् भन्ने आममानिसको विश्वाससमेत छ । तर, यस्तो ज्ञानगुन र पढाइलाई अहिलेको शिक्षाको परिभाषाको साँघुरो घेरामा निरपेक्ष रूपमा भने हेरिनु हुँदैन । 

सत्ताका ‘नायक’हरू विज्ञानका तथ्यगत आधारमा प्रस्तुत प्रक्षेपणलाई आफ्नो राजनीतिक स्वार्थको तुष्टीकरणको प्रपञ्च मिलाउन भाडाका बौद्धिकको दस्ता बनाउने गर्छन् ।

 

विज्ञान र वैज्ञानिकलाई जस्तै राजनीति र यसका कर्तालाई समाजले पहिचानका आधारमा अगुवाको सम्मान गर्छ । त्यसैले सामाजिक अगुवा नै नेता स्वीकार गर्ने आमचिन्तन छ । यी अगुवाले हामीलाई त खासै केही गर्दैनन्, यी नितान्त स्वार्थी छन् । आफ्नाका लागि र आफ्नो दुनो सोझ्याउनुबाहेक यिनले अरू केही गर्दैनन् भनिरहँदा पनि आममानिसहरू उनीहरूप्रति आस गर्न भने छोड्दैनन् र भन्छन् राजनीति त यिनैले सम्हाल्ने हो । अहिले पनि नेपाली समाजमा यही मान्यताको छाप गहिरो छ ।  माथिका दुई प्रसंगलाई यो अन्तर्संघर्षको एउटा उदाहरणका रूपमा लिन सकिन्छ ।

 

विज्ञान (ज्ञान) र सत्ता (राजनीति) मानिसको चेतनासँग जोडिएका महत्वपूर्ण आयाम हुन् । यी दुई आयामका बारेमा मानव सभ्यताको सुरुदेखि नै दार्शनिक वृत्तमा गहिरो बहस हुँदै आएको छ । यी दुईको सन्तुलित अन्तर्सम्बन्धले गतिशील मानव सभ्यता निरन्तर उन्नत हुने हो भन्ने कुरा आधारभूत सत्यको रूपमा जुनसुकै जाति, धर्म, सम्प्रदाय र समाजमा स्थापितसमेत छ । यिनका बारेमा पर्याप्त खोज, अध्ययन र संवाद नहुँदा, यी सबै संस्कृतिको धेरै मेसो नपाउनु अर्को सन्दर्भ हो । 

 

समाजलाई उन्नत विज्ञान र नैतिक राजनीतिको सन्तुलित सहयात्रा अपरिहार्य छ । सँगै, जतिजति वेला यी दुईको बहुआयामिक सन्तुलन गुम्छ त्यतित्यति वेला मानव समाजमा संकट देखिने गरेका छन् । इतिहासका यी घटना फर्केर हेर्ने र यसबाट सिक्दै अघि बढ्न यसको निरन्तर खोजी गर्ने जिम्मासमेत यिनै अगुवाले नै लिने गरेका छन् । 

 

मानव समाज उन्नत हुँदै जाने यो प्रक्रियालाई सजिलै बुझ्न सबैभन्दा पछिल्लो र बलियो उदाहरण ४०० वर्षअघि युरोपसम्म मैदानमा विज्ञानको खोजले मात्र सम्भव भएको औद्योगिक क्रान्तिलाई लिन सकिन्छ । बाफ इन्जिनबाट ऊर्जाको उपयोगले गतिको बन्दोबस्त गर्न सक्नु नै प्रविधिको चामत्कारिक उन्नति हुनुको मुख्य कारण हो । 

 

विडम्बना, उपनिवेशी शासकले यो वैज्ञानिक खोजको दुरुपयोग प्रकृति दोहन गरी सत्ता टिकाउन गरे । कतिसम्म भने, बेलायती साम्राज्यले आफूलाई कहिल्यै घाम नअस्ताउने देशसमेत भन्न पुग्यो । योसँगै भएका सत्ता संघर्षका डरलाग्दा त्रासदी र विश्वयुद्ध हुँदै आज हामी यहाँ आइपुगेका छौँ । 

 

केही अपवादबाहेक सत्ताको केन्द्रमा हुने राजनीतिज्ञले विज्ञानको क्षमतालाई आफूखुसी व्याख्या तथा दुरुपयोग गर्ने गरेका छन् । वैज्ञानिक खोजको दुरुपयोग बुझ्न धेरै टाढा पुग्नुपर्दैन विश्वयुद्धका वेला हिरोसिमामा खसालिएको बम र बम बनाउन तयारी अवस्थामा राखेका एमोनिया र अन्य विष खेतीपातीमा भित्र्याएपछि भएका वातावरणीय विनाश र यससँग जोडिएका समुदायका अनन्त पीडाका कथा फर्केर हेरे हुन्छ । हाम्रो समाजको सामाजिक चेतनाको जग यही औपनिवेशिक दृष्टिकोणमा आधारित छ । हुन त यो रोगको जड हामीभित्र मात्र सीमित छैन । 

 

आधुनिक इतिहासमा विज्ञानले तथ्यका आधारमा राजनीतिलाई सम्भावित संकट सम्बोधन गर्न सहमत बनाउन सकेका बिरलै घटना छन् । सन् १९७० को दशकदेखि वैज्ञानिकले उठाउँदै आएको जलवायु परिवर्तनको सवालमा ४५ वर्षपछि मात्र विश्वव्यापी राजनीतिक सहमति हुन सक्यो । अझै पनि आपसी समझदारी गर्न भन्दै कार्यान्वयनमा आनाकानी गरिरहेका छन् । कोभिड–१९ का बारेमा समेत यस्तै व्यवहारले ठूलो जोखिम बढेकोबढ्यै छ । यो कुराको अपवादमा नेपालको राजनीतिक नेतृत्व पनि छैन ।

 

बरु सत्ताका ‘नायक’हरू विज्ञानका तथ्यगत आधारमा प्रस्तुत प्रक्षेपणलाई आफ्नो राजनीतिक स्वार्थको तुष्टीकरणको प्रपञ्च मिलाउन भाडाका बौद्धिकको दस्ता बनाउने गर्छन् । राजनीतिका सकुनी चालजस्तै चल्न सिपालु यी वौद्धिक दलालले विज्ञानका तथ्यहरूलाई आफूअनुकूल व्याख्या गरी टार्ने गरेका अनगिन्ती उदाहरण छन् । संकटले दैलो ढकढकाएपछि मात्र यिनको होस खुल्ने गरेको छ ।

 

समाजलाई उन्नत विज्ञान र नैतिक राजनीतिको सन्तुलित सहयात्रा अपरिहार्य छ । सँगै, जतिजति वेला यी दुईको बहुआयामिक सन्तुलन गुम्छ त्यतित्यति वेला मानव समाजमा संकटहरू देखिने गरेका छन्

 

यस अर्थमा अहिले हामीले लगाइरहेको समाज विकास र अविकासकोे अन्त्यहीन कुतर्क र गोलचक्कर प्रकृति र प्रविधिलाई हेर्ने यही उपनिवेशी चिन्तनका वरिपरि सीमित छ । जबसम्म यो दृष्टिकोणभन्दा माथि उठेर प्रकृति सच्याउन विज्ञान र राजनीतिलाई सँगसँगै लैजाने विवेक फर्काउने दीर्घकालीन अठोट र निरन्तरको अभ्यास हुँदैन हामी समृद्धिका भाषण सुनेर र यसको आपसी बाँडचुँड हेरेर अल्झिने हो । 

 

यी सबै कुराको अकाट्य मर्म के हो भने समाज सञ्चालनको मूल नीति नसच्याएसम्म समाज उन्नत हुँदैन । यो काम भने चानचुने दृढताले सम्भव छैन । यस्तो दृढताले निरन्तर गरिने अभ्यासले मात्र राजनीतिका मूल आयाम खासगरी दृष्टिकोण, संगठन र आन्दोलन परिमार्जित र सशक्त हुँदै जान्छन् यसले नै समाज उन्नत हुँदै जाने हो । समाज उन्नत बनाउन गरिने विचार मन्थन होस् या राज्यले लिनुपर्ने नीतिगत निर्णय, विज्ञान र राजनीतिले सँगसँगै काम गरेर मात्र सार्थक बनाउन सकिन्छ । 

 

यो कुरालाई कोलम्बिया विश्वविद्यालयका प्राध्यापक केएन लीले आफ्नो पुस्तक ‘कम्पास एन्ड गाइरोस्कोप इन्टिगे्रटिङ साइन्स एन्ड पोलिटिक्स फर इन्भाइरन्मेन्ट’मा आलोचनात्मक ढंगले सटिक विश्लेषण गरेका छन् । उक्त पुस्तकमा बिग्रँदो प्रकृति र वातावरण पुनर्जीवित गर्नका लागि विज्ञान र राजनीतिले किन सँगसँगै काम गर्नुपर्छ भन्ने कुराको सन्दर्भ उठाउँदै यसको ढाँचा र रणनीति प्रस्तुत गरेका छन् । सन् १९९२ को वातावरण र विकाससम्बन्धी पृथ्वी सम्मेलनले पारित गरेका सुझाबको कार्यान्वयनतर्फ कुनै सार्थक पाइला चाल्न नसकेको सन्दर्भमा लेखिएको यो प्रकृति र वातावरण पुनर्जीवित गर्ने रणनीतिक मार्गचित्र निकै सान्दर्भिक छ । 

 

विज्ञानलाई समाज र प्रकृति बुझ्ने अर्थात् दिशा देखाउने कम्पास र कोणीय सन्तुलन बनाएर निर्दिष्ट दिशामा अघि बढ्न बाटो देखाउने गाइरोस्कोप जसले विशाल समुद्रयात्रामा निस्केको पानीजहाजलाई गन्तव्यमा पुग्न सफल बनाउँछ, त्यसैको बिम्ब प्रयोग गरेर प्रस्तुत गरिएको मार्गचित्रमा वातावरणीय सवाल सम्बोधन गर्न विज्ञान र राजनीतिक नेतृत्वले अपनाउन सक्ने उपायहरू सुझाएका छन् । 

 

यदि हाम्रो असली ध्येय यो समाज उन्नत बनाउने हो भने संविधानले स्वीकार गरेको सामथ्र्य (विज्ञान) र पहिचान (राजनीति) साथसाथै जानुको विकल्प छैन भन्ने कुरा स्वीकार गर्न र सच्याउन नसके समाज उन्नत बनाउने हाम्रा सपना भने अपूरै हुनेछन् । 

 

हुन त राजनीतिको रंगमञ्चमा आँधीबेरी आएको यो वेला यस्तो विवेकपूर्ण सुझबुझमा घोत्लिने फुर्सद नै कसलाई होला र ? तर, सत्ताको नालायकीमाथि प्रश्न गरिरहँदा, अहिले बाटो बिराएकै स्वीकार गर्न नसकेर कुइराको काग बनेको वौद्धिक जमातले फर्केर हेर्ने र सच्याउने आँट कहिले गर्ला यसै भन्न कठिन छ । तर, यो महसुस नगरेसम्म यसतर्फको यात्राका पाइला अगाडि भने बढ्दैनन् ।