• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
बिएन जोशी
२०७८ जेठ १५ शनिबार १०:१७:००
यात्रा

रोकिएन मान्छेको व्यापार

२०७८ जेठ १५ शनिबार १०:१७:००
बिएन जोशी

आज पनि बर्सेनि चार करोडको हाराहारीमा दासत्वको व्यापार हुने गर्छ

 

अमेरिकाको पेन्सिलभानियास्थित जमिनदार परिवारमा सन् १७८९ मा जन्मेका थोमस गरेट यस्ता दासत्व उन्मूलनवादी अभियन्ता हुन्, जसले आफ्नो चालीस वर्षे सक्रिय कार्यकालमा पच्चीस सयभन्दा बढी काला वर्णका मानिसहरूको भूमिगत रेलमार्गमार्फत मार्गप्रशस्त गरिदिएर मुक्ति दिलाए । मानवसभ्यताको विकासक्रमसँगै सुरु भएको दासको व्यापारलाई गरेटले हरसम्भव रोक्ने प्रयास गरे । त्यतिवेला अफ्रिकन क्षेत्रका दासहरू एट्लान्टिक दास व्यापारमार्फत खासगरी अमेरिका र क्यानडा निर्यात गरिएका थिए । 

 

प्राचीनकालमा धेरै राज्य, संस्कृति र धर्महरूमा फैलिएको पाइन्छ दासत्व । दासत्वको अपेक्षाकृत मानवसभ्यताको स्तरीकरण र सामाजिक विकाससँगै सुरुवात भएको इतिहास छ । प्राचीन विश्वका धेरैजसो सभ्यता, जस्तै– रोमन साम्राज्य, मध्यकालको पूर्वार्द्धमा युरोपमा, क्रिस्चियन र मुस्लिम दुवै धार्मिक समुदायमा आदानप्रदान हुने गथ्र्याे । पश्चिम तथा मध्य एसिया, उत्तर र पूर्वी अफ्रिका, युरोप र भारतमा सातौँदेखि बीसौँ शताब्दीसम्म दासप्रथा चले । विशेषगरी सन् १६०० पछि १९०० सम्म डच, फ्रेन्च, स्पेनिस, पोर्चुगिज, ब्रिटिस र केही अफ्रिकन राजसंस्था भएका राज्यहरूले परिष्कृत भूमिका खेलेको देखिन्छ । 

 

यद्यपि दासत्वको व्यापार संसारमा लामो समयसम्म चल्न सकेन । मानिसको चेतनाको सुधारसँगै रोकावट भएको देखिन्छ । तर, मानव तस्करहरूले आधुनिककालमा यसको परिभाषा बदल्दै गए । यसको उद्देश्य पनि फरक हुँदै गयो । विभिन्न कालखण्डमा मानिसहरू श्रम, यौन र गृहयुद्धहरूमा प्रयोग भए । आजको अवस्थामा पनि बर्सेनि चार करोडको हाराहारीमा दासत्वको व्यापार हुने गर्छ । जसबाट १५० बिलियन अमेरिकन डलरको मुनाफा हुने गर्छ । यसमा २५ प्रतिशत बालबालिका छन् । यसमध्ये केही प्रतिशतलाई जबर्जस्ती विवाह, यौन र बाल सैनिकमा प्रयोग गरेको पाइन्छ । आधुनिक यातायातको सुविधाले मानव तस्करीलाई अझै सहज बनाइदिएको छ । 

 

रनोङ मानव तस्करी 

 

एक्काइसौँ शताब्दीको सुरुवातमै थाइल्यान्डको एउटा घटनाले सारा विश्वको ध्यान खिच्न पुग्यो । मानव तस्करहरूले सन् २००८ अप्रिल ९ गतेकोे मध्यराति सङ आइल्यान्ड म्यान्मारबाट थाइल्यान्डको फुकेट लैजाँदै गर्दा दक्षिणी रनोङमा ५४ जनाको बीच बाटैमा ज्यान गयो । उनीहरू अवैध रूपमा फिसिङ नाउमार्फत सङ आइल्यान्डबाट निस्केका थिए । त्यताका धेरै कामदारहरू कामको खोजीमा भौँतारिएर फुकेटतिर जाने गर्थे । जहाँबाट अनेकन् अवसरहरूको ढोका खुल्थ्यो । त्यतिखेर उनीहरूले प्रतिव्यक्ति ६ हजारदेखि १० हजार थाई भाटसम्म तिरेर त्यो दुस्साहसपूर्ण यात्राको सुरुवात गरेका थिए । 

 

एक्काइसौँ शताब्दीसम्म आइपुग्दा दासत्वले पथ परिवर्तन गर्दै फरक परिभाषा पस्किएको छ । यो वा त्यो बहानामा मान्छेको व्यापार रोकिएको छैन । रोकिने छनक पनि देखिँदैन । जुन मानवसभ्यताकै दुर्भाग्यपूर्ण विषय हो । 

 

त्यस अवस्थाको दृश्य कहालीलाग्दो थियो । समुद्री खाना बोक्ने २० फुटे कन्टेनरमा १२१ जना बर्मिज कामदारलाई कोचिएको थियो । जबकि त्यति सीमित ठाउँ उभिनका लागि मात्र पनि पर्याप्त हुँदैन । कन्टेनर हिँडेको ३० मिनेटमैै डिब्बाभित्र बाफिन थाल्यो । मानिसहरू आत्तिन थाले । निस्सासिन थाले । चिच्याउन थाले । फलामको भित्तामा ठटाए । ड्राइभरले चाल पाएर उल्टै सतर्क गराउन खोज– अगाडि पुलिस चेकपोस्ट आउँदै छ, हल्ला नगरी बस । उनले एयर कन्डिसनर खोले तर त्यसको प्रभाव पनि मात्र केही मिनेटमा सीमित रह्यो । कन्टेनर आफ्नै रफ्तारमा विशाल रूपमा फैलिएको हरिया फाँटहरूलाई छिचोल्दै कुदिरह्यो ।

 

तस्करको सेटिङमा सोझिएको ढ्वाङलाई विनारोकतोक पुलिसले अगाडि बढ्ने अनुमति दियो । करिब डेढ घन्टामा ड्राइभरले गाडी रोकेर हेर्दा अधिकजसो युवतीहरू बेहोस भएर लडिसकेका थिए । तीमध्ये अधिकांश त मरिसकेका थिए । जब लासहरू देखे, ड्राइभर आत्तिए र गाडी छोडेर भागे । मृतक ५४ जनामध्ये ३६ जना किशोर अवस्थाका युवती थिए । जो यौन व्यवसायका लागि आपूर्ति गरिएको थियो । अरू १७ जना पुरुष थिए भने एकजना आठ वर्षीया बालिकासमेत थिइन् । त्यो एउटा भयानक डरलाग्दो घटना थियो । जसले एक्काइसौँ शताब्दीमा समेत सम्पूर्ण मानव जातिलाई चुनौती पेस गरेको थियो ।

 

थाइल्यान्डमा प्रतिबन्धित हुँदाहुँदै पनि वेश्यावृत्ति उद्योगकै रूपमा फस्टाएको देखिन्छ, जसले यौन पर्यटनको परिचय बनाएको छ । सरकारी नियामक निकाय निकम्मा अर्थात् भ्रष्ट हुँदाको उदांगो नाचको त्यो ज्वलन्त उदाहरण हो । त्यही सत्य घटनालाई आधार बनाएर धेरै लेखकहरूले लेखे । निर्देशकहरूले चलचित्र बनाए । तीमध्ये क्यानेडियन लेखक तथा नाटककार अन्द्रु कुम्यानको चर्चाले विश्वको ध्यानाकृष्ट गरेको पाइन्छ । उनी स्वयंले लामो समयसम्म थाइल्यान्डमा बसेर मानव तस्करीको विषयमा अनुसन्धान गरेका थिए । उनमा गैरमुनाफामूलक बाल संगठनहरूमा काम गरेको अनुभव पनि थियो । रनोङ घटनालाई अध्ययन अनुसन्धान गरेर उनले कथा लेखे र चलचित्र बनाए । त्यसमा उनी आफैँले अभिनय पनि गरे । जुन चलचित्र (सी ह्याज अ नेम– २०१६) चर्चित पनि भयो । 

 

मृत्युसँग साक्षात्कार 

 

लाइटको तिखो किरण देखापरेपछि अगाडिको नाउ टक्क रोकियो । हामी चढेको नाउ अलिक पछि परेकाले फर्केर अर्कै बाटोतर्फ दौडाउन थाल्यो । मेरो मनले मानेन । म अघिदेखि घरिघरि टाउको ठड्याउँदै नियालिरहेको थिएँ, टाउको उठाउन वर्जित हुँदाहुँदै पनि । अब त्यो पछि परेको नाउलाई दुईतिरबाट घेरिएको भान भयो, जुन सत्य रहेछ । र, त्यससँगै गएको नाउबाट मानिसहरू फुत्तफुत्त हामफालेको जस्तो दृश्य देखियो । वास्तवमा ती आफूखुसीले समुद्रमा समाहित भएका नभई दलालहरूले आफू पुलिसबाट जोगिनका लागि उनीहरूलाई जबर्जस्ती फालेका थिए । यसरी बेठेगानका अपरिचित मानिसहरूको इहलीला क्षणभरमै समाप्त भयो । गुमनाम श्रमिकहरूका श्रमाटनको यात्रा मध्यसागरमा अचानक टुंगिन्थ्यो । 

 

मेरो मनमा थप कुतूहल जाग्यो र नाउभित्र पसारिएका साथीहरूसँग कानेखुसी गर्दै छड्के रूपले नियालिरहेँ । हेर्दाहेर्दै त्यस नाउलाई गस्तीमा रहेको अर्को दुइटा नाउले घेरामा पारे । अब भने हामी चढेको नाउले फरक दिशा लिइसकेको थियो । अर्थात् उम्किसकेको थियो । थप क्रियाकलापलाई मेरो उत्सुकतापूर्ण नजरले कैद गर्न असमर्थ रह्यो । यसरी उम्किँदै गर्दा हाम्रा नाउचालक र बाटो देखाउने दुई व्यक्ति निकै तनावमा देखिन्थे । निधारमा परिष्कृत तवरले तैरिरहेको पसिनाले स्पष्ट संकेत मिल्थ्यो । ती धुमिल आकृतिहरूले मनमा त्रास र थुप्रै प्रश्नहरू उब्जाए पनि आफैँभित्र गुम्साएर राख्नुसिवाय त्यस घडीमा कुनै विकल्प थिएन । अहिलेका लागि मृत्युले प्रत्यक्ष चुमेर मात्र गयो । 

 

हामीले भोगेको भूगोल उही थियो । श्रमाटनको स्वरूप उस्तै थियो । मैले नापेको पाइला भने रनोङ घटनाभन्दा ठीक एक दशकअघिको थियो । उनीहरूको निर्यात सिपिङ कन्टेरमार्फत भएको रहेछ भने हाम्रो ढुवानी तरकारी ओसार्न प्रयोग हुने ट्रकबाट गरिएको थियो । 

 

संसारमा यस्ता अपत्यारिला र अकल्पनीय घटना दैनिकजसो दोहोरिइरहन्छन् । खासगरी गरिब भनिने अल्पविकसित मुलुकका जनता यसका प्रमुख पात्रका रूपमा चित्रित भएका छन् । त्यसमध्ये मुगलानी परिवेशमा नेपालको उपस्थिति बेजोड देखिन्छ, इतिहासदेखि वर्तमानसम्म । यस्तो पीडादायी परिस्थितिलाई न कुनै सरकारले तोड्न सकेको छ, न त समाजले नै । 

 

नेपाल सरकार स्वदेशमै रोजगारी सिर्जना गर्नुको साटो नयाँ–नयाँ सस्ता श्रमबजार खोज्दै युवाशक्ति निर्यातकै बाटोमा लम्केको देखिन्छ । विकासशील राष्ट्रहरू विकासको मामलामा निकै अगाडि बढिसके । हामी भने विप्रेषणको आडमा सामाजिक वितृष्णा बढाइरहेका छौँ । एक्काइसौँ शताब्दीसम्म आइपुग्दा दासत्वले पथ परिवर्तन गर्दै फरक परिभाषा पस्किएको छ । यो वा त्यो बहानामा मान्छेको व्यापार रोकिएको छैन । रोकिने छनक पनि देखिँदैन । जुन मानव सभ्यताकै दुर्भाग्यपूर्ण विषय हो ।