• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अंकला बराम
२०७८ जेठ २२ शनिबार ०८:३७:००
रिपाेर्ट

अस्पतालबाटै ‘कुटिन्छन्’ नर्सहरू

२०७८ जेठ २२ शनिबार ०८:३७:००
अंकला बराम

 

अस्तव्यस्त स्वास्थ्यनीतिका कारण नर्सहरूले अनाहकमा कुटाइ खानुपरेको हो

 

मेरो घर गोरखाको पहाडी भेग सिरानचोकमा पर्छ । उमेरले सानै भए पनि मलाई जिम्मेवार ठानेर परिवारमा कोही बिरामी हुँदा कुरुवा बस्न पठाउनुहुन्थ्यो । यसै क्रममा माथिल्लो घरको काकी बिरामी हुँदा मलाई कुरुवा बस्न तनहुँको एउटा अस्पताल पठाउनुभयो । त्यहीँ नर्स र डाक्टरको व्यवहार नियाल्ने अवसर पाएँ । डाक्टर कहिलेकाहीँ बिरामीको छेउमा देखिन्थ्यो । नर्सचाहिँ दिनरात बिरामीसँगै हुन्थे । मीठो र नम्र बोलीवचन, चट्ट मिलेको जीउडालमा सेतो सफा एप्रोन लगाएकी । कति राम्रो केयर गरेकी । ओहो म पनि यस्तै नर्स बन्न पाए ! मेरो मनभित्र नर्स बन्ने सपना त्यही वेलादेखि सवार भयो । 

 

एसएलसीपछि नर्स बन्ने सपना बोकेर काठमाडाैँ आएँ । कलिलो दिमागमा नर्स बन्ने इच्छा उर्लेर आउथ्यो । तर, गरिब परिवारमा जन्मे–हुर्केकी हुनाले त्यो सपना त्यत्तिकै पूरा कहाँ हुन्थ्यो र । काठमाडौं त आएँ, तर नर्सिङको पढाइ कहाँ हुन्छ, केही पनि थाहा थिएन । एक्लै भौँतारिँदै क्याम्पसको ढोका चहार्न थालेँ । बाटो देखाइदिने आफन्त पनि कोही थिएन । विज्ञापनकै भरमा नर्सिङको प्रवेश परीक्षाको पढाइ हुने ठाउँ खोज्दै बागबजारको एउटा इन्स्टिच्युटमा पुगेँ । नचिनेको ठाउँ, नौला मान्छेहरू, कहिले नसुनेको, कहिले नपढेको अंग्रेजी अक्षरहरू, साइन्स र मेडिकल टर्महरू यी सबै पढेर नाम निकाल्नुपर्ने । 

 

जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै एकापट्टि मेडिकल टर्महरू राखेर, अर्कोपट्टि त्यसको नेपाली उच्चारण लेखेर पढ्न थालेँ । माग जम्मा २० जनाको । प्रतिस्पर्धा गर्नहरू चार सयभन्दा बढी । बल्लबल्ल २० जनामा नाम निस्कियो । अब भने नर्सिङ पढ्ने धोको पूरा हुन्छ कि भन्ने आशा लाग्न थाल्यो । तर, खाँटी संघर्ष त बल्ल पो सुरु भएको रहेछ । 

 

हामी सानो हुँदादेखि नै बाबा खाडी मुलुकमा काम गर्न जानुभएको थियो । बाबाको अलिअलि कमाइ देखेर पनि नर्स बन्ने सपना सजाएको थिएँ । फर्म भर्नुभन्दा अगाडि खर्च कति लाग्छ भनेर बुझेँ । ‘सिटिइभिटी’बाट सञ्चालित नर्सिङ क्याम्पस भएकाले तीन वर्षसम्मका लागि चार लाख ८० हजार लाग्ने थाहा पाइयो । यति त तिर्न सकिन्छ होला भन्ने लाग्यो । नाम निस्केपछि क्याम्पसको फोन आयो । जम्माजम्मी नाम मात्रै लिस्टमा निस्केको छ । क्याम्पसले एक हप्ताभित्र भर्ना गर्न दुई लाख साठी हजार लिएर आइहाल्नुभन्यो । तुरुन्तै यति पैसा लिएर नआए अर्को विद्यार्थी भर्ना गरिनेछ भनेर धम्कीको भाषा पनि क्याम्पसले बोल्यो । 

 

कलेजले मनपरी पैसा लिन्थ्यो । सहपाठीहरू हेर्थे, उनीहरूका बाउ कोही नेता थिए, कोही व्यापारी थिए । आफ्नो त बाउ खाडीमा पसिना बेचेर हाम्रा लागि खुसी किनिरहेका थिए । समयमा पैसा नतिर्दा कलेजले गाली गर्थ्यो । दिनभरि साथीहरूसँग हाँसेरै बोल्थेँ, तर बेलुकी सिरानी नभिजाएको रातै हुँदैनथ्यो ।

 

तुरुन्तै घरमा फोन गरेँ । आमाले घरमा भएको सुन बेच्नुभयो । त्यतिले पनि पुगेन । त्यसपछि ब्याजमा एक लाख रुपैयाँ ऋण निकाले, त्यो पनि सात हजार पैला तिरेर । बाबा–आमालाई यति खर्च लाग्छ भन्नुको सट्टा जुनसुकै हालतमा मलाई नर्स बन्नु थियो, त्यसैले आफँै अघि सरेँ । घरमा पैसाको हिसाब–किताब हेर्ने जिम्मेवारी मेरै भएकाले पनि सजिलो भयो । कलेजमा भर्ना गरेँ । अब पढ्न पाइन्छ भनेर ढुक्क भएँ । तर, पढाइ सुरु भएको हप्ता दिन नबित्दै ड्रेस किन्न पैसाको बिल आयो । ड्रेस नकिनी सुख पनि थिएन । चार वर्षमा एउटा फ्रक र एउटा सर्टमै पढेँ । अन्तिममा त त्यही एकजोर लुगाको ११ हजारको बिल आयो । ड्रेसको बिल आएको हप्ता दिन नबित्दै होस्टेल भर्ना गर्ने बिल आयो । डेरानजिकै भए पनि होस्टेलमै बस्नुपर्छ भनियो अनि सात हजार पाँच सयको दरले पैसा उठाउन थालियो । होस्टेलमा बस्ने पैसा तिरिसकियो । अब किन डेरामा बस्ने ? होस्टेलमै बस्छु भनेर उतै गइयो । होस्टेलमा बस्न थालेको एक दुई दिन मात्रै भएको थियो, फेरि त्यहाँ बसेको महिनाको नौ हजार पाँच सय माग्यो । जसोतसो तिरेँ । अब त ढुक्कले पढ्छु । फी तिर्ने काम सकियो भन्ने सोचेको महिना दिन नबित्दै कलेजको मन्थली फीको बिल आयो । मैले सोचेको थिएँ, मन्थली फी भनेको त्यही एकमुष्ठ पैसा होला ।

 

तर, त्यस्तो कहाँ हुनु । मासिक तीन हजारको दरले एक वर्षको अगाडि नै तिर्नुपर्ने रहेछ । अब तिरुँ, पैसा कहाँबाट खोज्नु, नतिरी भागुँ नर्स बन्न गोर्खादेखि काठमाडौंसम्म आइएको छ । एकपछि अर्को बिलको वर्षाले किताबमा ध्यानै गएन । पढे पनि बुझिँदैन । अब यतिमा मात्रै बिलको वर्षा रोकिएन । प्राक्टिकल ड्युटीको अलग बिल । बजारमा १५ सयमा पाउने बिपी सेट क्याम्पसमा २५१० लिँदोरहेछ, त्यसको अलग बिल । पैसाको बिल आउने क्रम अब त रोकिएको होला भन्ने ठान्नुभयो होला । कहाँ रोकिनु । फेरि बिल आयो त्यो थियो, प्राक्टिकल ड्युटी जाँदा अस्पतालले लिने चार्जको बिल । लगातार बिल तिरिरहँँदा यस्तो लाग्न थालेको थियो, म नर्सिङ पढ्न आएको विद्यार्थी होइन, पैसा बुझाउन आएको कमारा हुँ । 

 

कलेजले मनपरी पैसा लिन्थ्यो । सहपाठीहरू हेर्थे, उनीहरूका बाउ कोही नेता थिए, कोही व्यापारी थिए । आफ्नो त बाउ खाडीमा पसिना बेचेर हाम्रा लागि खुसी किनिरहेका थिए । समयमा पैसा नतिर्दा कलेजले गाली गथ्र्यो । दिनभरि साथीहरूसँग हाँसेरै बोल्थेँ, तर बेलुकी सिरानी नभिजाएको रातै हुँदैनथ्यो । त्यो दिन सम्झिँदा अहिले पनि मन भारी हुन्छ । आँखा त्यसै–त्यसै रसाउँछ । जसोतसो पहिलो वर्षको नर्सिङको पढाइ सकाएँ ।

 

दोस्रो वर्षको पढाइ र फी पनि पहिलो वर्षको भन्दा कम्ती थिएन । भर्ना फी, मन्थली फी, फर्म फी, क्लिनिकल फी, होस्टेल फी, ट्युसन फी, लाइब्रेरी फी, जताजतै फी नै फी तिर्दातिर्दा हैरान भएकै थिएँ । दोस्रो वर्षमा पनि त्यही क्रम दोहोरियो । यसैबीच मेरो जीवनमा अर्को बज्रपात आइपर्‍यो ।

 

दोस्रो वर्षको कक्षा भर्खरै सुरु भएको थियो । विदेशमा बाबालाई ‘हार्ट अट्याक’ भएको खबर आयो । उताबाट भनियो, ‘तपाईंको बाबालाई हामीले अहिलेलाई बचाइदिएका छौँ । बाँकी उपचार नेपालमै गराउनू ।’ उताबाट गंगालाल अस्पतालमा तुरुन्तै भर्ना गर्नु भन्ने खबर पनि सँगै आयो । मेरो बाबा बिरामी नहोस् पनि कसरी । हाम्रा लागि तातो घाममा दिनरात खट्नुपरेको थियो । 

 

अब मेरो ध्यान बाबाको उपचारतर्फ केन्द्रित भयो । सबै उपचार गंगालालमै गराएँ । उपचार राम्रो भयो । बाबाको उपचार गर्दागर्दै दोस्रो वर्षका लागि भनेर राखेको पैसा सबै सकियो । 

 

पैसा सबै उपचारमा सकिहाल्यो । अब पैसाले भन्दै कलेजले बोलाउन थाल्यो । कक्षाकोठामा पैसा नतिरेको भन्दै मेरो नाम सुरुमै भन्न थाल्यो । गीत गाउन, कार्यक्रम सञ्चालन गर्न, कविता भन्न मेरो नाम सुरुमा आउँथ्यो । तर, अब पैसा नतिर्नेको भन्दै मेरो नाम सुरुमा आउन थाल्यो । नमज्जा लाग्थ्यो । पैसा नतिर्ने मान्छे भनेर साथीहरूको बीचमा खिसिटिउरी हुन थाल्यो । कलेज प्रशासनका गाली र धम्की रोकिएन । भर्ना नगरे, फी नतिरे, प्राक्टिकल नम्बर घटाइदिने, परीक्षामा सामेल हुन नदिने, रजिस्ट्रेसन फर्म नदिने, प्राक्टिकल ड्युटीमा नलानेजस्ता धम्की दैनिक आउँथ्यो । यो सुन्दा छाती पोल्थ्यो । आँसु आउँथ्यो । तर, एकमनले हिम्मत बटुल्थेँ । म भाग्नुहुन्न, कमजोर हुनुहुन्न भन्ने मनमा लाग्थ्यो । उनीहरूको गाली मेरो लागि ऊर्जा बन्दै थियो । 

 

कलेजले पैसा जानीजानी बढी तिराएको छ भन्ने थाहा थियो । निगरानी कसैले गरेको छैन भन्ने थाहा थियो । त्यसैले मेरो गल्ती थिएन । पहिलो वर्ष मै तीन वर्ष पढ्न पुग्ने पैसा एकमुष्ठ तिरिसकेको थिएँ । 

 

अन्तिम परीक्षाको दिन आयो । मैले अझै फी तिरेको थिइनँ । किनकि मसँग पैसा नै थिएन । मलाई प्रवेश परीक्षा कार्ड दिएन । अब परीक्षा नदिने मनस्थितिमा म पुगिसकेकी थिएँ । ठिक छ, नदिए नदेओस् भनेर कलेजको नाममा एउटा फेसबुक लेखेर बसेँ । तर, पोस्टचाहिँ गरिनँ । पोस्ट नगरिएको त्यो स्टाटस अझै होला । परीक्षा हुने अघिल्लो दिन बेलुकी होस्टेलमा बस्ने साथीलाई कलेजले प्रवेशपत्र पठाएछ । त्यसरी मैले पैसा नभएको कारण अन्तिम परीक्षा नै त्याग्न लागेको खबर आजसम्म आमा–बाबालाई थाहा छैन । सौभाग्यवश आज बाबा ठिक हुनुहुन्छ । त्यो वर्षको परीक्षा दिएँ । राम्रो नतिजासहित म पास भएँ । 

 

०००

 

नर्सिङ शिक्षा पूरा गरेको आज धेरै भएको छैन । यो सबै मैले पहिला लेखेको भए, कलेजले मलाई सर्टिफिकेट नदिन सक्थ्यो, प्राक्टिकल नम्बर नदिन सक्थ्यो । अघिल्लो ब्याचलाई पनि त्यस्तै गरेको रहेछ । त्यसैले म चुप लाग्न बाध्य भएँ । 

 

बिरामीका आफन्तबाट नर्स कुटिनु त प्रत्यक्ष देखिएको एउटा घटना मात्रै हो, अस्पताल सञ्चालकबाटै हामी नर्सहरू दिनहुँ ‘कुटाइ खाँदै’ आएका छौँ । यति भन्न अब हाम्रो हात काँप्नु हुँदैन । किनकि अत्याचारले सीमा नाघिसक्यो ।

 

आज पनि लाखौँ बाबाहरू आफ्नो सन्तानलाई नर्सिङ शिक्षासहित राम्रो शिक्षा पढाउन खाडीमा पसिना बगाइरहेका छन् । मेरा बाबाजसरी नै कतिजनालाई ‘हार्ट अट्याक’ भए होला । कतिको हुनेवाला छ । कतिजना बाकसमा बन्द भएर आएका छन् । ती सबैले पैसा पठाएर छोराछोरी पढाइरहेका छन् । तर, क्याम्पसहरूको मनपरी यस्तो छ । ‘सिटिइभिटी’को जिम्मा लिएर बसेका ठालुहरूले आफ्नो अनुमतिमा पढाइरहेको क्याम्पसहरूको अनुगमन निगरानी गर्नुपर्दैन ? पढाउने नाममा व्यापार गरिरहेका त्यस्ता क्याम्पसहरूलाई कारबाही गर्नुपर्दैन ? विभिन्न पार्टीको आडमा सञ्चालन गरिरहेका त्यस्ता ठग मेडिकल कलेजहरूलाई खारेज गर्नुपर्दैन ?

 

नेपाल सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा मनपरी लुटिरहेको दलालहरूको अड्डालाई बन्द गर्नुपर्दैन ? यसरी दिनदहाडै गरिबका छोराछोरी लुटिरहँदा के हेरिरहेको छ सरकार ? मेडिकल माफिया, अस्पताल सञ्चालकहरू गरिब लुटेर नेताको पक्षपोषण गरिरहेका छन् । लाखौँ मेरा बाबाजस्तै मजदुरहरू खाडीमा पसिना बगाएर पैसा पठाइरहेका छन् । यता त्यो पैसा माफियाहरूले लुटिरहेका छन् । अरबबाट पठाएको जुन पैसाले म नर्स भएँ, त्यो पैसा पठाउने बाबा फेरि बिरामी हुनुभयो भने के मैले बाबाको उपचार गर्न सक्छु ? यसको जवाफ चाहियो सरकार ?

 

केही समयअघि भेरी अस्पतालमा मेरा नर्स साथीहरू यतिकै कुटिएका हैनन् । बिरामीलाई समयमै औषधि दिन नपाएर हो, समयमा केयर गर्न नपाएर हो । समयमा काउन्सिलिङ गर्न नपाएर हो । किन नपाएको ? अस्पतालमा बिरामीको चापअनुसार नर्स नियुक्त गरिएको छ ? एउटा नर्सले कतिजनासम्म बिरामी हेर्नुपर्ने हो ? त्योअनुसार नर्स राखिएको छ ? केही पनि छैन । मेडिकल माफियाहरूले हिजो पढाउने नाममा नर्ससँग पैसा लुट्यो, आज बिरामीसँग लुट्दै छ । अस्तव्यस्त स्वास्थ्यनीति र अस्पतालहरू भएपछि नर्सहरूले अनाहकमा कुटाइ खानुपरेको हो । नर्सहरूले कुटाइ खाँदा मेडिकल सञ्चालकहरू टुलुटुलु हेरिरहेका छन् । नर्सिङ काउन्सिलमा कतिजना नर्सहरू उत्पादन भए भनेर गनेर मात्रै बस्ने कि उनीहरूले कहाँ कस्तो कति सुविधा पाइरहेका छन् भनेर पनि ध्यान दिने ? अस्पतालमा नर्स कुटिँदा र पारिश्रमिक नपाई लुटिँदा खुलेर किन कसैले बोल्दैन ? यस्तो जोखिमबीच १३ हजार पाँच सयमा कसरी कति दिन काम गर्ने ? 

 

यस्तो महामारीमा मृत्युको जोखिम मोलेर कम पारिश्रमिकमा काम गर्नु छ, त्यही पनि कुटाइ खानु छ । अब अति भयो, यस्तो अन्याय सहेर नर्सहरू धेरै दिन बस्न सक्दैनन् । आज भेरी अस्पतालका नर्सले जे नियति भोग्यो यस्तो दुःखद अवस्था त्यहाँ मात्रै होइन, प्रत्येक अस्पतालमा सुरुवाती दिनदेखि नै नर्सहरूले प्रत्यक्ष अपत्यक्ष भोग्नुपरेको छ । बिरामीका आफन्तबाट नर्स कुटिनु त प्रत्यक्ष देखिएको एउटा घटना मात्रै हो, अस्पताल सञ्चालकबाटै हामी नर्सहरू दिनहुँ कुटाइ खाँदै आएका छौँ । यति भन्न अब हाम्रो हात काँप्नु हुँदैन । किनकि अत्याचारले सीमा नाघिसक्यो । 

 

अन्त्यमा, मलाई पढाउन १० नंग्रा घोट्दाघोेट्दै पराया भूमिमा बाबा बिरामी हुनुभयो । आज म नर्स भएँ । तर, आज बाबासँग माफी माग्न चाहन्छु । किनकि तपाईंले नै मलाई नर्स बनाउनुभयो, तर मैले काम गरेको अस्पतालमा तपाईंलाई नै उपचार गराउन सकिनँ । किनकि यो अस्पताल हामी गरिबहरूका लागि होइन रहेछ । तपाईंको उपचार गर्न नसके पनि स्वास्थ्यक्षेत्रको खराबीविरुद्ध निरन्तर बोलिरहन्छु । बिरामीको उपचारमा अहोरात्र खटिरहन्छु । मेरो यो विद्रोहको आवाज कहिल्यै रोकिने छैन ।

 

(लेखक रजिस्टर नर्स हुन् ।)