• वि.सं २०८१ मङ्सिर ६ बिहीबार
  • Thursday, 21 November, 2024
राजु स्याङ्तान
२०७८ असार ५ शनिबार ०९:४२:००
रिपाेर्ट

डुंगा पर्खिरहेको माझीगाउँ

२०७८ असार ५ शनिबार ०९:४२:००
राजु स्याङ्तान

 

‘घाट खोस्यो । डुंगा खोस्यो । नदी र माछा खोस्यो । नदीमा क्रसर चलाएर पुर्खाको जमिन पनि खोस्यो ।’ 

 

९५ वर्षीय अस्मान माझीलाई बालकै छँदा लाग्थ्यो, ‘यो सर्खार भन्नेले पेरुंगो भरि असला माछा खाँदोरैछ ।’ उनलाई नलागोस् पनि कसरी ! त्यतिवेला उनी बाको पछिपछि पेरुंगोभरि माछा बोकेर ‘सर्खार’को अड्डा चौतारा पुग्थे । पिँढीमा टुक्रुक्क बसिरहेका अस्मानले ती दिन सम्झिँदै भने, ‘सर्खारलाई माछा बुझाएर फर्किथ्यौँ ।’ तर उनले सोचेकै थिएनन्, पेरुंगोभरि माछा खाने ‘सर्खार’ले कुनै दिन माझीहरूलाई नै ‘खान्छ’ भन्ने कुरा । समय बित्दै जाँदा त्यस्तै भयो । ‘सर्खार’ले माझीहरूलाई नै ‘खाँदै’ गरेको हेर्न धेरै टाढा जानुपर्दैन । करिब ५० किलोमिटर पर सिन्धुपाल्चोकको माझी बस्ती ‘बोडगाउँ’ पुगे हुन्छ । आउनुस् एकछिन् माझीगाउँको कथा सुनौँ ।

 

                                         ०००

 

गत वर्षकै मंसिरको अन्तिम साता बोडगाउँ पुग्दा घाम इन्द्रावती नदीपारि पुगिसकेको थियो । नवलपुर डाँडाबाट निकै तल आएर हेर्दा बोडगाउँ क्यानभासमा कोरेको कुनै सुन्दर पेन्टिङजस्तो देखिन्थ्यो । नदीको डिलमाथिको गाउँ, हिमाल चढ्न आधार शिविरमा पालो कुरेर बसेका आरोहीहरूले बनाएको टेन्टजस्तो देखिन्थ्यो । तर, बाहिरबाट हेरेजस्तो सुन्दर थिएन, माझीगाउँको भित्री कथा । गाउँमा इन्द्रावती सुसाएको सुनिन्नथ्यो । बरु सुनिन्थ्यो, क्रसरको कर्कस आवाज । नदी र गाउँको माथिमाथि चराहरू उडिरहेका थिएनन्, बरु उडिरहेको थियो क्रसरले निकालेकोे धुलो ।

 

गाउँको बीचमा पुग्दा अस्मान माझी मुखमा मास्क लगाएर पिँढीमा टुक्रुक्क बसिरहेका थिए । अस्मान वेलावेलामा स्यानिटाइजर हातमा लगाउँथे, अनि टाठो स्वरमा बोल्थे, ‘सय वर्ष पो पुग्न लागेछु गाँठे ।’ 

 

अस्मानलाई माझीगाउँको जिउँदो इतिहासभन्दा फरक पर्दैन । उनले एकबारको सिंगै जिन्दगी इन्द्रावती किनारमा बिताए । जीवनको उत्तरार्धमा पुगिसकेका उनलाई अब नदीमै बिसाउनु छ उब्रिएको बाँकी जीवन ।

 

विसं १९८३ मा इन्द्रावती किनारमै अस्मान जन्मिँदा देशमा राणा शासनको जगजगी थियो । डुंगा चलाएरै हुर्काए उनका बाआमाले । किशोरावस्थामा लाग्दानलाग्दै उनले पनि इन्द्रावतीमा डुंगा चलाउन थाले । अस्मानले आउनेलाई पनि नदी तारिदिए । जानेलाई पनि नदी तारिदिए । नदी तर्नेहरू कोही चौतारातिर उक्लिए, कोही ‘नेपाल’तिर पसे । नदीमा माछा मार्नु, डुंगा चलाउनु, जाँडका लागि मर्चा बनाउनु, नदी–किनारमै धान, आलु फलाउनु अनि वर्षको एकपटक कोसीलाई खुसी पार्न पूजा गर्नु, बस् यही नै थियो बोडगाउँको दिनचर्या । यसरी पनि भन्न सकिएला, इन्द्रावतीसँग माझीहरूले खुसीमा हाँसो साटे, दुःखमा आँसु साटे । अस्मान सम्झिन्छन्, ‘नदी तारेको एक सुका लिन्थ्यौँ । कसैकसैले अन्न पनि दिन्थे ।’ स्थानीय माझीहरू अझै सम्झिन्छन्, ‘कोसीको पूजा गर्दा डुंगाभरि जाँड छानेर त्यो जाँड नसकुन्जेलसम्म घर फर्किनु हुँदैन भन्ने चलन थियो ।’

 

इन्द्रावतीको किनारमा अस्मान हुर्किँदै जाँदा राणा शासन बूढो हुँदै गयो । अन्ततः देशबाट राणा शासन बिदा भयो । प्रजातन्त्र आयो । तर, देशमा जुनजुन तन्त्र आए पनि अस्मानहरूको काम त्यही थियो, डुंगा चलाउनु अनि माछा मार्नु । 

 

 

समय सधैँ एकनासको रहेन । देशमा ‘विकास र संमृद्धि’को लहर चलिरहँदा माझीगाउँमा भने कहालीलाग्दो गरिबीको हुन्डरी चल्न थाल्यो । जतिजति समय बित्दै गयो, माझीगाउँमा भोकै बस्नुपर्ने दिनहरू बढ्दै गयो । किन यस्तो भयो ? अस्मानको जीवनले भोगेका उतारचढावसँगै बोडगाउँको कथा सुन्नुअघि एकैछिन विगततिर जाऊँ ।

 

पृथ्वीनारायण शाह नचिन्ने माझीहरू 

 

राज्य विस्तार गर्न पूर्व–पश्चिम दौडिरहेका पृथ्वीनारायण शाहले सकेजति सबैलाई रैती बनाउँदै हिँडे । तर, उनको राज्य विस्तारबाट नेपालका केही जाति भने सुरुको चरणमा नचाहेरै छुटे । थोरै जनसंख्यासहित नदी–किनारमा आफ्नै परम्परागत शैलीमा जीवन बिताइरहेका माझीहरूबारे पृथ्वीनारायणले धेरै चासो दिएको देखिन्न । माझीहरूलाई पनि पृथ्वीनारायण को हो ? असली हिन्दुस्तान भनेको के हो ? मतलब नै भएन । तर, माझीहरूबाट सहयोग लिन भने पृथ्वीनारायणले छाडेनन् । 

 

माझी जातिको संस्कार र संस्कृतिबारे पहिलोपटक पुस्तक लेख्ने लेखक तथा समाजका अध्येता धनबहादुर माझी भन्छन्, ‘पृथ्वीनारायण शाहले नुवाकोट आक्रमण गर्दा शुभघाटको बाटो तरेर गरे । उनका सैनिकहरूलाई जलुवा माझीले घाट तारिदिएको इतिहासमा भेटिन्छ ।’

 

नदी–किनारको उर्वरभूमि छेउछाउ आफ्नै शैलीमा आनन्दले जीवन बिताइरहेका माझीहरू देखेपछि शासक खलकलाई इर्ष्या भयो । धनबहादुर भन्छन्, ‘माझीहरूले चैनसँग जीवन बिताइरहेको कुरा पृथ्वीनारायणको कानमा परेछ । अनि त सुरु भइहाल्यो नि, माझीहरूमाथि शासकीय कुदृष्टि ।’ पृथ्वीनारायण शाहले माझीहरूलाई पनि किपट प्रथाअन्तर्गत समेट्न थाले । धनबहादुर भन्छन्, ‘खासमा त्यो जमिन माझीहरूले नै आवादी गरेको थियो, शासकले आफ्नो उपस्थिति देखाउन नदी–किनारको जमिन किपट दिएजस्तो गर्‍यो ।’

 

समय बित्दै जाँदा शासकहरूले माझी बस्तीमा अनावश्यक हस्तक्षेप बढाउन थाल्यो । नदी तरेर जाने शासकहरू शक्तिशाली हुँदै गए, नदी तारिदिने माझीहरू कमजोर हुँदै गए । धनबहादुर भन्छन्, ‘नदी–किनारको उर्वर भूमि राज्यले पहिला माझीलाई किपट दिएजस्तो गर्‍यो, पछि त्यही भूमि भकाभक आफ्नो आसेपासेलाई बिर्ता बाँड्न थाल्यो ।’ 

 

यस्तो पनि हुन थाल्यो, जग्गाको प्रमाणपत्र माझीको हातमा, त्यो जग्गाको ढुंगा क्रसर मालिकको साथमा । माझीले बगर बनेको धानखेतको कर अड्डामा तिरिरह्यो । ठेकेदारले त्यही खेतबाट ढुंगा निकालेर नदीलाई बिचक्याइरह्यो । 

 

धनबहादुरले आफ्नो पुस्तक ‘माझी जातिको संस्कार र संस्कृति’मा लेखेका छन्, ‘कोसी–किनारको समथर जमिन माझी जातिले आवाद गरी उर्वर बनाएपछि अन्य टाठाबाठा मूलधारका जातजातिको कुदृष्टि त्यो जग्गामा पर्न सुरु भयो । माझी जातिले रगत–पसिना बगाएर खेतीयोग्य बनाएको उर्वर जमिन विसं १९६२ मा शासकहरूले आफन्त, चाकडीवाला, र टाठाबाठा वर्गहरूलाई बिर्ता, विभिन्न मठमन्दिर, देवीदेउताको नाममा गुठी दिए र थोरै मात्रै जमिन किपट कायम गरी अन्य सबै राम्रा जमिन रैकरमा परिणत गरिदिए ।’ उनका अनुसार माझीलाई दिएको किपट जग्गाको लालमोहर पनि टाठाबाठाले खोसे । पछि खोज्न जाँदा कसैले पुरातत्व विभागमा छ भनिदिए, कसैले अड्डामा छ भनिदिए । अन्ततः हरायो भन्दै रित्तो हात फर्काइदिए । 

 

औलो लाग्ने ठाउँमा माझीहरू मात्रै बसे । औलो उन्मूलन भएपछि राजाका आसेपासेहरूलाई बिर्ता दिने चलन झन् बढ्यो । धनबहादुर रामेछापको मन्थलीआसपासको अनुभव सुनाउँछन्, ‘माझीबाट जोगिएको जमिन अब माझीइतरका जातिहरूको गुठीमा परिणत हुन थाल्यो । गुठीबाट पनि बचेका केही जमिनचाहिँ रैकरमा परिणत भयो ।’

 

यता माझीहरूको जमिन खोसियो, उता घाटहरूमा पनि ठेक्का लाग्न सुरु भयो । घाटमा ठेक्का लगाउने क्रम पञ्चायतकालबाट सुरु भयो । धनबहादुर भन्छन्, ‘२०२४ सालदेखि कोसीका घाटहरूमा ठेक्का लाग्न सुरु भयो । यता जमिन खोसियो, उता घाट पनि खोसिन थाल्यो ।’ अस्मान भन्छन्, ‘हाम्रो पुर्खाको जमिन कहिले राणाले खोस्यो, कहिले को आएर खोस्यो । हुँदाहुँदा घाट पनि खोस्यो । डुंगा पनि खोस्यो अनि हामीलाई एक्लो पार्दै लग्यो ।’

 

माझीलाई नदी–किनारमा लखेट्ने क्रम कहाँ यता मात्रै थियो र । उता चितवनतिर पनि त्यस्तै थियो । विसं २०२९ मा शाही चितवन राष्ट्रिय निकुञ्जको स्थापना गरी निकुन्जभित्र पर्ने आदिवासीका बस्तीहरूलाई हटाइयो । समाज अध्येता सोमत घिमिरे ‘नेपालमा गरिबीको बहस’ पुस्तकमा लेख्छन्, ‘...निकुञ्ज बनाएर मान्छे र प्रकृतिलाई छुट्याइयो । वरिपरि बस्ने आदिवासी, गरिब र कमजोर वर्गलाई स्रोत मास्ने राक्षसका रूपमा हेरियो । ...आदिबासी बोटे–माझी, दराईहरूको जीविकाको मुख्य स्रोत नै राप्ती र रिउमा मारिने माछा थियो । निकुञ्ज बनेको निकै समयपछि ०४९ सालमा उनीहरूलाई माछा मार्नसमेत प्रतिबन्ध लगाइयो ।’ 

 

बोडगाउँ

 

बोडगाउँलाई देशभरिकै सबैभन्दा ठूलो माझीबस्ती मानिन्छ । खासमा बोडगाउँ नभएर ‘बड्खगाउँ’ भएको गाउँलेहरूको भनाइ छ । बड्ख भनेको माझी भाषामा ठूलो हो । बड्ख भन्दाभन्दै बोडगाउँ हुन पुगेको स्थानीयको भनाइ छ । 

 

बोडगाउँमा माझीहरूले कति पुस्ता बिताए त्यसको लिखित अभिलेख कसैसँग छैन । इन्द्रावतीछेउको त्यो जमिन पृथ्वीनारायण शाहकै पालादेखि किपट पाएको अस्मानको भनाइ छ । उनी भन्छन्, ‘यो जमिन पृथ्वीनारायण शाहकै पालादेखि हाम्रो पुर्खाको हो रे । मैले सम्झिँदा यहाँ ६० घरधुरी थिए । अहिले तीन सय ५० पुगेको छ ।’ 

 

देशमा महेन्द्रको जगजगी सुरु भयो । देशलाई कायापलट गर्ने भन्दै पञ्चवर्षीय योजना सुरु गरियो । अब माझीहरूले डुंगा तारेबापत, माछा मारेबापत कर तिर्नुपर्ने भयो ।२०१६ सालमा बिर्ता उन्मूलन भयो । २०२२ सालमा भूमिसुधार लागू गरियो । यी सरकारी योजनाहरूले बोडगाउँका माझीहरूलाई धेरै असर गरेको थिएन । किनकि मनग्ये जमिन भएकाले जति लुटे पनि उनीहरूसँग आफूलाई पुगेकै थियो । उनीहरू खेतीपातीसँगै आफ्नो परम्परागत पेसा अपनाएर बाँचिरहे । तर, महेन्द्रीय विकासको हुन्डरीबाट बोडगाउँ कसरी अछुतो रहन सक्थ्यो र ? बोडगाउँनजिकै ढाँडखोलामा २०२८÷०३० सालतिर पक्की पुल बन्यो । त्यही पुल बनेदेखि माझीहरूको जीवन संकटमा गुज्रिन थाल्यो । अस्मान भन्छन्, ‘त्यहाँ पुल बनेपछि डुंगा बुझाऊ पो भन्न थाल्यो । डुंगा बुझाउन हामी बाध्य भयौँ ।’ अब माझीहरू डुंगाविहीन भए ।

 

जब नदी रिसायो

 

डुंगा खोसिएपछि बोडगाउँका माझीहरू खेतीपातीमा सक्रिय हुन थाले । त्यहीँबाट जसोतसो चल्न थाल्यो उनीहरूको गुजारा । पहिलाको जस्तो सहज थिएन, तर अप्ठ्याराकै बीचमा उनीहरू बाँचिरहेका थिए । 

 

देशैभरि राजमार्गहरू बन्न थाले । उता अरनिको राजमार्ग बन्यो, बिपी राजमार्ग बन्यो । राजधानीमा सिमेन्टीका घरहरू थुप्रिन थाले । ‘विकास’को रफ्तारसँगै २०४६ को आन्दोलनपछि एउटा क्रसर बोडगाउँनजिकै इन्द्रावतीमा बस्न पुग्यो । बनेपाका व्यापारी राजभक्त श्रेष्ठको क्रसर थियो त्यो । 

 

 

त्यो क्रसरले अब इन्द्रावतीको ढुंगा चपाउन थाल्यो । जब इन्द्रावतीको छातीमा डोजरले अनवरत ठुँग्न थाल्यो, त्यसपछि नदी रिसायो । नदीले धार परिवर्तन गर्न थाल्यो । कहिले पूर्व ठोकिने, कहिले पश्चिम ठोकिने । नदी–किनारमा उभिएर हेर्दाहेर्दै धानखेत बगर बन्न थाल्यो । दुई–चार रोपनी होइन, २०–३० रोपनी पनि होइन, हेर्दाहेर्दै माझीगाउँको सिंगै आठ सय रोपनी धानखेत बगरमा परिणत भयो । 

 

उता राजमार्गको लम्बाइ बढ्दै गयो, सहर र राजधानीका घरहरू अग्लिँदै गए । यता माझीहरूको धानखेत घट्दै गयो । यता सन्तानले बस्ती ढाक्दै गयो, उता धानखेत बगर बन्दै गयो । धानखेत बगर बनेपछि माझीगाउँमा गरिबी सुरु भयो, क्रसर मालिकचाहिँ मालामाल हुने दिन सुरु भयो । अस्मान भन्छन्, ‘त्यही क्रसरले नदी खनेपछि बाढीले धानखेत बगायो । त्यसपछि हामीले चामल किनेर खान थाल्यौँ ।’ 

 

जग्गाको प्रमाणपत्र माझीको हातमा, खोला बनेको खेतको ढुंगा क्रसर मालिकको साथमा हुन थाल्यो । माझीहरूले बगर बनेको धानखेतको कर अड्डामा तिरिरह्यो । ठेकेदारले त्यही खेतबाट ढुंगा निकालेर नदीलाई बिचक्याइरह्यो । यस्तो पनि हुन थाल्यो, जति नदी रिसाउँछ, माझीहरूलाई उति काल । जति नदी रिसाउँछ, ठेकेदारलाई मालामाल । 

 

गणतन्त्र नामको शासन आएपछि नदीमा क्रसर घटेन, बरु बढ्यो । हेर्दाहेर्दै इन्द्रावती क्रसर नै क्रसरले भरिन थाल्यो । ढुंगा निल्ने किराजस्ता डोजरहरू नदीमा स्याउँस्याउँती दौडिन थाले । बोडगाउँ छेउछाउ मात्रै पाँचवटा क्रसरले दिनरात ढुंगा चपाउन थाल्यो । अब नदी झन् रिसायो ।

 

इन्द्रावती गाउँपालिका प्रशासनको तर्क छ, ‘प्रत्येक वर्ष नदीले ढुंगा बगाएर ल्याउँछ । त्यो ढुंगाको सदुपयोग गरेन भने नदीमा थुप्रिएर वरपर क्षति पुर्‍याउन थाल्छ । त्यसैले वरपरको क्षति जोगाउन ढुंगाको उत्खनन जरुरी छ ।’ वातावरण र भूगर्भविद्हरूलाई अध्ययन गराएरै उत्खनन गरिएको पालिका प्रशासनको भनाइ छ । यो कुरा सुनेर अस्मान हाँस्छन् । उनी भन्छन्, ‘ढुंगा झिकेपछि नदी गहिरिँदै जान्छ । नदी गहिरिएपछि वरपर कटान गर्न थाल्छ । आफ्नो बाटो नभेटेपछि नदी रिसाउँछ नि । अहिले भइरहेको त्यही छ ।’ तर अस्मानको अर्गानिक ज्ञान कसले सुन्ने, कसले बुझ्ने । नदीको भाषा बुझ्ने अस्मानहरूको ज्ञान न विश्वविद्यालयमा पढाइ हुन्छ, न कुनै पाँचतारे होटेलको सेमिनारमा सुनिन्छ । 

 

गाउँपालिकाको आर्थिक वर्ष २०७६/०७७ को नीति तथा बजेटमा नदीजन्य पदार्थबाट ६ करोड रुपैयाँ राजस्व प्राप्त भएको उल्लेख छ । गाउँपालिकाका अध्यक्ष वंशीलाल तामाङको भनाइ छ, ‘हामीले क्रसरबाट प्राप्त भएको राजस्वको पाँच प्रतिशत स्थानीयलाई दिएका छौँ ।’ अस्मान सुनाउँछन्, ‘कहाँबाट पाउनु पैसा । एक पैसा पाएका छैनौँ ।’ 

 

झन् बढ्यो गरिबी

 

देशमा गणतन्त्र आयो । माझीहरूले सोचे, अब त नदीबाट क्रसर उठ्नेछ । डोजरले नदीलाई घाउ बनाउन छाड्नेछ । अनि फेरि धानखेत कमाउन पाइनेछ । यही आशामा उनीहरूले नेताहरूलाई भोट हाले, जुलुसमा पनि गए । घरको धुरीमा चुनाव चिह्न पनि गाडे । तर, केही भएन । 

 

गणतन्त्र नामको शासन आएपछि नदीमा क्रसर घटेन, बरु बढ्यो । हेर्दाहेर्दै इन्द्रावती क्रसर नै क्रसरले भरिन थाल्यो । ढुंगा निल्ने किराजस्ता डोजरहरू नदीमा स्याउँस्याउँती दौडिन थाल्यो । बोडगाउँछेउछाउ मात्रै पाँचवटा क्रसरले दिनरात ढुंगा चपाउन थाले । अब नदी झन् रिसायो । ‘धानखेत त बगायो बगायो, अब गाउँ नै बगाउने हो कि भन्ने चिन्ता लाग्न थालेको छ’, सोही गाउँपालिका वडा नम्बर ११ का अध्यक्ष मने माझी निराश हुँदै भन्छन् । 

 

हाँसीखुसी बिताएका दिनहरू अब माझीगाउँका लागि सपनाजस्तै बन्न थाल्यो । गाउँमा गरिबी झन्झन् छिप्पिँदै गयो । नेतालाई भेटेर आफ्नो पीडा सुनाए । मनकारी भई टोपलेका केही नेताले खोला छेक्ने जाली दिए । तर, क्रसर हटाउने वचन दिएनन् । माझीहरूले नदीमा ढुंगाले जाली भरे । डोजरको गहिरो घाउ त्यो फुच्चे जालीले के पुर्न सक्थ्यो । वर्षाको बाढीले जाली बगाएर पुर्‍यायो कताकता । एकजना स्थानीय सुनाउँछन्, ‘जाली ढंगले हाल्न जाने पो । सबै लग्यो नि बगाएर ।’

इन्द्रावती नदी । तस्बिर सौजन्य : सञ्जोग लाफा मगर

 

माझीहरूले आफ्नो भूमि फिर्ता गर्न वेलावेलामा सरकारको अड्डाहरूमा पुगेर धर्ना पनि दिए, ज्ञापनपत्र पनि बुझाए । क्रसर हटाउन भन्दै दबाब पनि दिए । तर, क्रसर हटेन । माझीहरू हुल बाँधेर क्रसर चलिरहेको ठाउँमा गए । आफ्नो खेतबाट ढुंगा निकाल्न नदिने र क्रसर बन्द गर भन्दै दबाब दिए । तर, उनीहरूको कुरा कसैले सुनेनन् । अस्मान भन्छन्, ‘हाम्रो कुरा कसले सुन्छ र ? हाम्रो कुरा त बतासले उठाएर लैजान्छ ।’ उल्टै क्रसर मालिकले ओठेजवाफ दिए, ‘हामीले सरकारलाई बकाइदा कर तिरेका छौँ । उतै गएर हल्लाखल्ला गर्नू ।’ गाउँलेहरू चुपचाप फर्किए । अनि डिलमा बसेर क्रसरले उडाएको धुलो हेरिरहे । अस्मान नदीको डिलमा बसेर कराइरहे, ‘नदीको ढुंगा नचलाओ न । ढुंगालाई जस्ताको तस्तै बस्न देऊ न । अनि पो खोला आफ्नै सुरमा बग्छ । अनि हाम्रो धानखेत फेरि कमाउन पाइन्छ ।’ तर, अस्मानको चित्कार कसले सुन्ने । दुनियाँलाई चाहिएको छ, ढुंगा । भर्नु छ टिपर । अनि धुलो उठाउँदै लैजानु छ सहर । 

 

जहाँ क्रसर राखियो, त्यहाँका जग्गाधनीले केही पैसा पनि पाए । तर, जसको खेतबाट ढुंगा ओसारेर क्रसर सञ्चालन भइरहेको छ, उनीहरूले केही पनि पाएनन् । अब माझीले खोलामा माछा मार्नसमेत पाएनन् । अस्मान भन्छन्, ‘माछा मार्न जाँदा नाति–नातिनीहरूलाई पुलिसले लखेटेछन् ।’

 

उता इन्द्रावती नदी बस्तीको डिल भत्काउदै गाउँतिर बढ्दै छ । यता बस्तीभित्र पनि गरिबी झन्झन् चर्किँदै छ । अब क्रसर मालिकहरू माझीको खेतछेउछाउबाट ढुंगा ओसार्ने मात्रै होइन, त्यो खेत नै कब्जा गर्ने ध्याउन्नमा लागे । अचेल क्रसर मालिकहरू खटिएका छन्, माझीलाई फकाउन । उनीहरू भन्दै छन्, ‘यति लाख पैसा दिन्छौँ । सहरमा गएर घर बनाएर बस ।’ नदीछेउछाउका गैरमाझीहरूले त क्रसर मालिकलाई जग्गा बेची पनि सके । माझीले बेच्न चाह्यो भने क्रसर मालिकहरू हारालुछ गरेर तुरुन्तै किन्न तयार हुन्छन् । वडाध्यक्ष मने माझी भन्छन्, ‘जति फकाउन आए पनि माझीले बेचिहालेका चाहिँ छैनन् । बाँच्नै धौधौ भएपछि कसै–कसैले चाहिँ खेत भाडामा दिएका छन् ।’

 

बोडगाउँको इतिहासले भन्छ, नदीमा क्रसर आउनुअघिसम्म त्यहाँ अनिकाल हुन्थेन । अस्मानका अनुसार पहिला–पहिला खेतमा मास, तिल, आलु, धान मनग्ये फल्थ्यो । त्यही बेच्थे उनीहरू । अहिले सबै शून्यमा झरेको छ । उनी भन्छन्, ‘मरेको मान्छेलाई चढाउन चाहिने एक मुठी धान पनि अहिले माझीसँग छैन ।’

 

१८ सय जनसंख्या रहेको बोडगाउँमा गरिबीको दुष्चक्र झन्झन् कसिँदै गएको छ । उनीहरूको पुर्ख्यौली पेसा खोसियो । कृषिमा निर्भरता खोसियो । नदीमा पस्नसमेत सरकारको अनुमति चाहिने भयो । नजिकै नदी बगिरहेको छ । तर, गाउँमा पानीको हाहाकार छ । 

 

बोडगाउँका युवाहरू खाडी मुलुक जान्छन् । काठमाडौं गएर मजदुरी गर्छन् । तर, पढ्न मनै गर्दैनन् । चाहेर पनि पढ्न नपाएका कति होलान् कति । वडाध्यक्षका अनुसार गाउँमा स्नातक तहसम्म पढ्ने बढीमा पाँचजना मात्रै छन् । प्लस टु पढ्ने केही छन् । प्राथमिक विद्यालय पढ्नेको संख्यासमेत कम छ । आठ कक्षा पास गरेपछि पुग्यो भन्ने मान्यता गाउँमा व्याप्त छ । गाउँमा स्कुल पढ्दापढ्दै छाड्नेको संख्या मनग्ये छ । बोडगाउँबाट अहिलेसम्म सरकारी जागिरमा कोही पनि छैनन् । वडाध्यक्ष भन्छन्, ‘प्रहरीमा भर्ना खुल्दा युवाहरूलाई जाओ न जाओ भन्छु, कोही जाँदैनन् । सुब्बा, खरदार, अधिकृत त झन् कहाँबाट जानू । जिरो छ जिरो ।’

 

तर जति नै गरिबीले निचोरे पनि माझीहरू त्यहाँबाट बसाइँ सरेका छैनन् । माझीहरू बसाइँ सर्दै हिँड्ने जाति नै नभएको अध्येता धनबहादुर माझीको भनाइ छ । उनी भन्छन्, ‘माझी एक्लै र नदी–किनारभन्दा बाहिर बस्ने जातै होइन । नदी र माछाबिना माझी बाँच्नै सक्दैन । किनकि माझीलाई जन्मेदेखि मृत्युसम्मका हरेक संस्कारमा नदी र माछा चाहिन्छ ।’ तर, मने माझी भन्छन्, ‘अब खानै नपाएपछि माझीहरू यहाँबाट विस्थापित हुने खतरा बढ्दै छ ।’

 

उता पालिका अध्यक्षको दाबी छ, नदीमा क्रसर उद्योग सञ्चालन भएपछि गाउँमा रोजगारी बढ्यो । गाउँको युवा जनशक्ति गाउँमै खपत भयो । तर, मने माझी भन्छन्, ‘माझी युवाहरू पढेलेखेका छैनन् । मेसिन चलाउन जान्दैनन् । अनि सक्ने काम उही लेबर त हो । त्यही पनि भनसुन गरेर बल्लबल्ल पाँच–सातजनाजतिलाई काम दिलाएका छौँ ।’ अहिले बोडगाउँको बाँच्ने आधार बनेको छ, बाख्रापालन । एउटा घरमा पाँचदेखि २५ वटासम्म बाख्रा पाल्छन् । कतिले भैँसी र बंगुर बढी पाल्न थालेका छन् । केही युवाहरूले बंगुर फर्म पनि दर्ता गरेका छन् ।

 

०००

 

आइएलओ महासन्धि–१६९ मा ‘आदिबासीहरूको भूमिसँग सम्बन्धित प्राकृतिक स्रोतमाथि अधिकार रहन्छ’ भनिएको छ । महासन्धिले आदिवासीहरूको भूमिमा रहेको कुनै पनि स्रोतको प्रयोग गर्नुअघि उनीहरूलाई के–कस्तो असर पर्छ भन्ने पहिला पत्ता लगाउनुपर्नेमा जोड दिएको छ । सो महासन्धिमा नेपाल सरकारले २०६४ भदौ ४ गते हस्ताक्षर गरेको थियो । तर, बोडगाउँमा यो महासन्धि पालना भएको देखिन्न ।

 

मन्त्रिपरिषद्ले जारी गरेको ‘ढुंगा, गिटी–बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७’ को बुँदा नम्बर १० मा भनिएको छ, ‘घनाबस्तीको पाँच सय मिटर दूरीभित्रको नदी, सडक पुल तथा झोलुंगे पुलको एक किलोमिटर तल र पाँचसय मिटरमाथिको नदीजन्य पदार्थ उत्खनन र संकलन गर्न पाइनेछैन ।’ तर, करिब दुई हजार जनसंख्या भएको बोडगाउँकोनजिकै क्रसरहरू चलिरहेकै छ ।

 

इन्द्रवती गाउँपालिकाको वार्षिक कार्ययोजनामा पनि बोडगाउँका माझीबारे केही पनि योजना छैन । गाउँपालिका अध्यक्ष तामाङको भनाइ छ, ‘स्थानीयको सहमतिमै क्रसरहरू सञ्चालन गर्न दिइएको हो ।’ तर, अस्मान भन्छन्, ‘यहाँ क्रसर राख्यो भने हाम्रो खेत रहँदैन भनेर कति भन्यौँ । कसैले मान्दै मानेन् ।’

 

‘विकास’ विरोधी माझी !

 

विकासको नाममा आदिवासीहरूलाई विस्थापित गर्ने परम्परा नयाँ होइन । विकासको उल्टो यात्रा नेपालमा भित्रिनुअघि नै ल्याटिन अमेरिकी देशहरू यो प्रक्रियाबाट निकै प्रताडित भइसकेका थिए । पुँजीवादले बोलिभियामा प्राकृतिक स्रोत उत्खनन गरी त्यहाँका आदिवासीहरूलाई उल्टै दास बनाएको इतिहास भेटिन्छ । ठूला अमेरिकी कम्पनीहरूले ग्वाटेमाला, होन्डुरसजस्ता मध्यअमेरिकी देशहरूमा फलफूल उद्योग चलाउने भन्दै जग्गा कब्जा गर्‍यो । त्यहाँका मानिसलाई सुकुम्बासी बनाई ज्यामी बनायो । २०औँ शताव्दीको सुरुवातमा दक्षिण अमेरिकामा रूखबाट रबर निकाल्ने भन्दै अमेजन जंगलमा बस्ने आदिवासीहरूमाथि हमला गरियो । अहिले पनि पुँजीवादी औद्योगिक कम्पनीहरू अमेजनबाट विभिन्न बहानामा आदिवासीहरूलाई विस्थापित गर्न लागिरहेकै छन् । केही महिनाअघि मात्रै ब्राजिलको अमेजन जंगल संरक्षणमा खटिएका एक आदिवासी युवाको गोली हानी हत्या गरिएको थियो । 

 

माझीहरू पनि चाहन्छन्, देशमा कलकारखाना खुलोस्, डाँडाडाँडामा रेल कुदोस् । स्कुल–क्याम्पस खुलोस् । सहज उपचार हुने अस्पतालहरू खुलोस् । तर, उनीहरूको सरकारसँग एउटै माग छ, विकासको नाममा हामीलाई नदी–किनारबाट नलखेटिओस् । अस्मान भन्छन्, ‘हामी त नदी–किनारभन्दा अन्त बाँच्नै सक्दैनौँ ।’

 

१९१० को मुलुकी ऐनमा जंगबहादुर राणाले मासिन्या मतवालीमा राखेको माझी जातिको जनसंख्या २०६८ को जनगणनाअनुसार ८३ हजार सात सय छ । अतिसीमान्तकृत जातिमा सूचीकृत माझीहरू नदी–किनारभन्दा बाहिर बाँच्दै नसक्ने धनबहादुरको पनि भनाइ छ । उनी सुनाउँछन्, ‘जबजब सरकारले नदीहरू थुनेर विकास गर्नका लागि ठुल्ठूला परियोजनाहरू पास गर्छ । म रातभरि निधाउन सक्दिनँ । त्यो नदी–किनारमा बस्ने माझीहरू सम्झिन्छु । अनि भोलिपल्ट बिहानै उठेर त्यो बस्तीमा पुग्छु । माझीहरूलाई जम्मा गरेर राज्यले हामीलाई लखेट्न खोज्दै छ भनेर सम्झाउँछु ।’ उनी नपुगेको माझी बस्ती नेपालभरि कतै छैन । राज्यको नजरमा ‘विकासविरोधी’ धनबहादुर अब बिहानै उठेर माझी बस्ती डुल्दै हिँड्नेछैनन् । सचेत पुस्तालाई जिम्मेवारी सुम्पेर उनी संसारबाट केही महिनाअघि मात्रै बिदा भए ।

 

मानवशास्त्री डोरबहादुर विष्टले ‘सबै जातको फूलबारी’मा लेखेका छन्, ‘हजारौँ वर्षदेखि जंगली जनावर, बाघ, भालु, हात्ती, गैँडा, गोमन, औँलो, आदीसँग संघर्ष गरीगरी यो जंगलको खोँच र खोलाको बगरलाई आफ्नो सुरक्षित बासस्थान मानिआएका हामी सबैलाई आजको विकास तथा प्रगतिकार्यले आश्यर्च र विस्मित पारेको मात्र छैन, हाम्रो अस्तित्वमा समेत खतरा पैदा हुन थालेको छ ।’ 

 

                                           ०००

 

गरिबीको दुष्चक्रबाट मुक्त हुने केही योजनाहरू अघि सार्नुपर्ने स्थानीयहरूको भनाइ छ । नदीबाट क्रसर हटाउनुपर्ने, बगर बनेको खेत फिर्ता गरिनुपर्ने उनीहरूको पहिलो माग छ । त्यो सँगै आफ्नै जातिको प्रथाजन्य परम्पराबाट समाज चल्नुपर्ने पनि उनीहरूको माग छ । मने माझी भन्छन्, ‘थोरै जमिनमा पनि उद्योगहरू सञ्चालन गर्न सकिने कार्यक्रम चाहियो, जसले माझीलाई विस्थापित नगरोस् ।’ माझीहरूको स्थानीय उत्पादनजस्तै माझीले बनाएको रक्सीलाई ब्राण्ड बनाएर बजारमा लैजान सकिने उनको भनाइ छ । गरिबीबाट मुक्त हुने उनी अर्को तरिका सुनाउँछन्, ‘नदीछेउमा पोखरी बनाएर माछापालन गर्न सके हाम्रो जीवनस्तर सुध्रिने थियो ।’ 

 

पालिकाले बर्सेनि केही जाली दिन्छ । क्रसरलाई नदी चपाउने अनुमति पनि दिइरहन्छ । वडाध्यक्ष भन्छन्, ‘नदी नियन्त्रणका लागि गाउँपालिकाले २५ लाख र प्रदेश सरकारले ५० लाख दिएको छ । अबचाहिँ नदी कटान रोकिन्छ कि !’ तर एकजना स्थानीय रिसाउँदै भन्छन्, ‘हामीले जाली भरेको भ¥यै, उता डोजरले नदी खनेको खन्यै । अनि कहाँबाट हुन्छ ?’

 

हिजोआज इन्द्रावती उर्लिएर आउँदा अधिकांश माझीहरू नदी–किनारमा उभिएर एकोहोरो हेरिरन्छन् । उनीहरू दुई कारणले हेर्छन् । पहिलो, बस्तीतिर बढ्दै गरेको इन्द्रावतीको छाल हेर्छन् । दोस्रो, नदीमा भुँमरी कहाँनिर पर्छ भनेर हेर्छन् । किनकि माझीहरूलाई थाहा छ, नदीको लय, भुमरी परेको ठाउँमा बालुवा हुन्छ । त्यसपछि युवाहरू उर्लिरहेको बाढीको पर्वाह नगरी भुमरी परेको ठाउँमा गई बाँस गाड्छन् । त्यो बाँस उनीहरूको जीविकाको झन्डा हो । नदी घटेपछि त्यहीँबाट बालुवा निकाल्छन्, र त्यही बालुवाबाट जीविका चलाउँछन् । तर, यो मौलिक तरिका क्रसर मालिकहरूलाई सिकाउन चाहँदैनन् । माझीहरू केवल जीविकाका लागि ढुंगा त्यहीँ छाडेर बालुवा मात्रै चालेर बेच्छन् । क्रसर मालिकहरू बालुवा ढुंगा सबै खुर्किएर नदीलाई रित्तो बनाएर बेच्छन् । माझीलाई माया छ, नदीको । उनीहरूको रिस नदीसँग छैन, क्रसर मालिकसँग छ, विकासको नाममा डोजर चलाउन अनुमति दिने राज्यसँग छ ।

 

                                     ०००

 

मंसिरको चिसो साँझ माझी बस्ती डुलिरहँदा महसुस भयो, माझी बस्तीमा महामारी उहिले नै पसिसकेको रहेछ । माझीहरू यतिवेला विपद्मा रहेछन् । खोलामा दुवाली थुनेर माछा मार्न सिपालु माझीहरूलाई यतिवेला दुवाली थुन्न सघाउने साथीहरूको खाँचो रहेछ । पुस्तौँपुस्ता अरूलाई डुंगामा चढाएर नदी तारिदिने माझीहरूलाई आज तरिजानेहरूले सम्झिने वेला आएको रहेछ । तरिजानेहरू माझीलाई सम्झेर हात र साथ दिन जान्छन् कि जाँदैनन् ? आज समयले यसको परीक्षा गैरमाझीहरूसँग लिइरहेको रहेछ ।

 

माझीगाउँबाट बिदा हुन लाग्दा अस्मान माझीले एकोहोरो हेरिरहेका थिए । उनी केही बोल्न खोजेजस्ता देखिन्थे । तर, बोलिरहेका थिएनन् । उनको आँखाले सायद भनिरहेको हुनुपर्छ, ‘डुंगामा चढाएर जीवनभर तपाईंहरूलाई पारी पुर्‍याइदियौँ । आज हामी आफैँ डुब्न लाग्यौँ । कहाँ छ हाम्रो डुंगा ? हामीलाई हाम्रो डुंगा फिर्ता चाहियो । हामी डुंगा पर्खिरहेका छौँ । के तपाईंहरू हाम्रो खोसिएको डुंगा फिर्ता गर्ने लडाइँमा सहभागी हुन आउनुहुन्छ ?’

 

 

...                                ...                                     

 

माझी र माछाको सम्बन्ध 

 

कोसीलाई माझीको मित भनिन्छ । जस्तै– विपदमा पनि माझीलाई कोसीले डुबाउँदैन भन्ने भनाइ समाजमा छ । कोसीमा माझीको देवता बस्छ र त्यो देवताले माझीलाई अप्ठ्यारोमा सघाउँछ पनि भनिन्छ । डुंगा पल्टियो भने माछाले किनार लगाइदिन्छ भन्ने भनाइ पनि छ । यो भनाइको पछाडि केही सत्यता देखिन्छ । 

 

माझीले डल्फिनलाई कहिल्यै मार्दैन । पहिला–पहिला माझीहरू कोसीको छेउमा जाल लिएर गई सुइया पार्थे रे । अनि डल्फिनले गहिराइमा गएर पानी चलाइदिन्थ्यो रे । डल्फिनले पानी चलाइदिएपछि माछाहरू डराएर किनारामा आउँथ्यो रे ।

 

त्यसपछि माझीले जालमा पार्थे । माछा मारिसकेपछि डल्फिनछेउमा आएर मुख आँ गरेर बस्थ्यो रे । डल्फिनको भाग माछा माझीले दिएपछि खाएर खुसी हुँदै डल्फिन नदीतिर फर्किन्थ्यो रे । सायद, त्यही डल्फिन नै माझीले मानेको देवता हुनुपर्छ । डल्फिनलाई प्राणीहरूमध्ये मान्छेपछिको सबैभन्दा बुद्धिमान प्राणी पनि मानिन्छ । यस्तै, सम्बन्धका कारण पनि माझीले हरेक वर्षको फागुन महिनामा कोसी पूजा गर्छन् । यसलाई हामी लदी पूजा भन्छौँ । 

 

(धनबहादुर माझीसँग गरिएको कुराकानीमा आधारित)