• वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०७५ फाल्गुण ३० बिहीबार २१:१४:००
रिपाेर्ट

बाबुछोराको बदलिँदो सम्बन्ध

२०७५ फाल्गुण ३० बिहीबार २१:१४:००

रौतहटका २१ वर्षीय इब्रान खानलाई आफ्ना बुबा प्रतिभावान् लाग्दैनन् । उनी भन्छन्, ‘बुबासँग अनुभव छ, तर ज्ञान छैन । मसँग बुबाको भन्दा धेरै ज्ञान छ । त्यसैले बुबाभन्दा मै ट्यालेन्ट ।’ खोटाङका २९ वर्षीय बिसन राईलाई आफ्ना बुबा आइडल लाग्दैनन् । उनी भन्छन्, ‘बुबाले जन्म दिनुभयो । बाटो पनि देखाइदिनुभयो । तर, उड्ने पंखा लगाइदिनुभएन ।’ 

काठमाडौं चाबहिलका ५४ वर्षीय यामलाल पोखरेल भन्छन्, ‘गाउँमा शिक्षा नपुग्दा बाबुछोरा सँगै थियौं । गाउँमा शिक्षा पुग्यो, त्यसपछि बाबुछोरा छुट्टियौँ ।’ यामलाल दुःख व्यक्त गर्दै भन्छन्, ‘छोरा पढाइयो । सीप सिकाइयो । त्यसपछि सँगै राख्ने मन हुँदाहुँदै छोरालाई टाढा पठाउनै पर्दो रहेछ ।’ समाजशास्त्री डा. युवराज लुइँटेल भन्छन्, ‘समाज परिवर्तनको तीव्र छलाङ हेर्ने एउटा आँखीझ्याल हो बाबुछोराको सम्बन्ध ।’ 

समाजको आधारभूत संस्था हो– परिवार । परिवारभित्रै हुन्छन्– बाबुछोरा । परम्परागत समाजमा बाबुछोराको सम्बन्ध निकै महत्वपूर्ण  मानिन्छ । वंश र अंशको उत्तराधिकारीका रूपमा छोरालाई लिइन्छ । तर, बितेको अढाई दशकमा नेपाली समाजमा भएका सामाजिक–राजनीतिक आन्दोलन र संघर्षहरूका कारण समाजका मूल्य–मान्यतामा निकै ठूलो खैलाबैला आएको बताउँछन् समाजका अध्येताहरू । त्यो फेरबदलले बाबुछोराको सम्बन्धमा निकै ठूलो उतारचढाव आएको तर्क उनीहरूको छ ।

समाजशास्त्रीका अनुसार, परिवारको संरचनामा निकै ठूलो परिवर्तन आएको छ । समाज रूपान्तरणको प्रभाव सबैभन्दा धेरै परिवारमै परेको छ । पुरानो परिवार तीव्र विघटन हुँदै छ, नयाँ परिवार बन्ने क्रम जारी छ । परिवारभित्रको नाता–सम्बन्धमा निकै ठूलो बदलाव आएको मत उनीहरूको छ । समाजको आधारभूत तहमा आएको परिवर्तनको संकेत के हो ? बाबुछोराको सम्बन्धमा के–कस्ता परिवर्तन आए ? पछिल्लो अढाई दशकमा नेपाली समाजमा मसिना परिवर्तन के–के भए ? त्यो परिवर्तनले समाजलाई कता लैजाँदै छ ? यसबारे चर्चा गरिनुपर्ने समाज अध्येता बताउँछन् । 

बुबालाई आइडल मान्दैन छोरा 
नेपाली समाजमा कुनै समय बुबालाई एक मात्र आदर्श पात्र मानिन्थ्यो । छोरालाई सीप, वंश र अंश हस्तान्तरण गरिन्थ्यो । छोराले बुबाको जस्तै काम गर्न खोज्ने, बुबाले पनि छोरालाई आफ्नो सीप सिकाउने चलनै थियो । तर, पछिल्लो दशक छोराले बुबालाई आइडल मान्दैन । रौतहटका इब्रानलाई आफ्नो बुबा आइडल लाग्दैन । उनी भन्छन्, ‘बुबाले जे काम गर्नुभयो, म त्यो काम गर्न सक्दिनँ । समयअनुसार चल्नुपर्छ ।’ खोटाङका बिसनलाई पनि बुबा आइडल लाग्दैन । 

सानो हुँदासम्म बाबुछोराबीचको सम्बन्ध सुमधुर हुन्छ । जब छोराको उमेर बढ्दै जान्छ, त्यो उमेरको उकालो यात्रा बाबुछोराबीचको सम्बन्धमा दरार ल्याउने कारक बन्छ । त्यसपछि सम्बन्धमा फेरबदल आउन थाल्छ । यसलाई स्वाभाविक र सामान्य परिवर्तन मात्रै मान्दैनन् विज्ञहरू । समाजशास्त्री डा. युवराज लुइँटेल शिक्षामा आएको परिवर्तन, नयाँ पुस्ताले सिकेका नयाँ सीप र आर्थिक उपार्जनका लागि विदेश जानुपर्ने परिस्थितिले अब बाबु पुस्ता आदर्श नभएको बताउँछन् । ‘बुबालाई आर्दश मान्ने हो भने खेती गरेर बस्नुपर्छ,’ ‘डा. लुइँटेल भन्छन्, ‘बाबुको बिँडो थाम्ने हो भने एकहल गोरु, दुईवटा भैँसी र गोठ बनाएर बस्नुपर्छ । तर, अहिलेको पुस्ता बाबुको पेसा अपनाउन तयार छैन ।’ बाबु र छोराको शिक्षामा धेरै ठूलो अन्तर भएका कारण बाबु आइडल नहुने उनको भनाइ छ । उनी भन्छन्, ‘शिक्षित छोराले अशिक्षित वा कम पढेका बाबुलाई आदर्श मान्दैनन् । शिक्षा र सीपमा छोरा पुस्ताले छलाङ मार्दै छ । त्यसैले अब बाबु आइडल होइन ।’ 

अहिलेको पुस्ताले किशोरावस्था नपुग्दै बाबुको सीमितता थाहा पाउने भएकाले बाबु आइडियल नहुने भनाइ अर्का समाजशास्त्री डा. दिनेश प्रसाईंको छ । ‘बाबुको सीमितता छिटै थाहा पाएपछि बाबु हिरो लाग्दैन,’ डा. लुइँटेल भन्छन््, ‘बाबुले छोरालाई अराजक र छोराले बाबुलाई पुरातनपन्थी ठान्ने परिवारभित्रको अन्तरद्वन्द्व कम्तीमा दुई दशक अझै 
चल्ने देखिन्छ ।’ 

टाढिँदै बाबु–छोरा
 कृषिप्रधान समाजमा बाबु–छोरा खेतीपाती गर्नेदेखि नुनको भारी बोक्ने कामसम्म सँगै हुन्थे । तर, अर्थतन्त्रमा आमूल परिवर्तन भएपछि बाबुछोराको दूरी बढेको समाजशास्त्री डा. प्रसाईं बताउँछन् । अर्थतन्त्रको परिवर्तनले बसाइँसराइसमेत निम्त्याउने उनको मत छ । नेपालमा बसाइँसराइको इतिहास लामो छ । नेपाली विदेशमा श्रम गर्न जाने इतिहास सन् १२६२ बाट सुरु भएको बताइन्छ ।

श्रम बेच्न विदेश जाने प्रक्रियासँगै बाबुछोरा टाढिँदै गए । इतिहासकारका अनुसार, विभिन्न कालखण्डमा युवाले देश छाडिरहे । पहिलो र दोस्रो विश्वयुद्धमा झन्डै दुई लाख युवाले देश छाडेको राजनीतिक विश्लेषक झलक सुवेदीले आफ्नो पुस्तक ब्रिटिस साम्राज्यको नेपाली मोहरामा उल्लेख गरेका छन् । भारत स्वतन्त्र भएपछि पनि भारतीय सेनामा गोर्खा आर्मीको भर्ती रोकिएन । भारतका विभिन्न सहरमा चौकिदारी गर्न गएका युवाको लस्कर अझै उस्तै छ । त्यसपछि २०४६÷४७ को परिवर्तनपछि खाडी मुलुकमा युवाहरू जान थाले । युवाहरू त्यता जान थालेपछि बाबु र छोराको सम्बन्ध झनै पातलिएको समाजशास्त्री लुइँटेल बताउँछन् । तर, बाबुछोराबीचको सम्बन्ध नजिक हुनु पनि राम्रो नहुने उनको मत छ । उनी भन्छन्, ‘बाबुछोराको सम्बन्ध नजिकै भएको पनि राम्रो होइन । नजिकपनाले समाजलाई रूपान्तरण हुन दिँदैन ।’

कसरी नजिकिन्छन् बाबुछोरा ? 
काठमाडौंका यामलालको मन छ– छोरालाई आफूसँगै राख्ने । तर, छोराले आफ्नो भविष्य निर्माण गर्नुपर्ने भएकाले आफूसँगै राख्न नहुने निचोडमा यामलाल पुगेका छन् । समाज अध्येताहरू बाबुछोराको भेट हुन सक्ने उपाय सुझाउँछन् । बाबुछोराको नियमित भेट हुन नेपालमा कृषिकर्मले फड्को मार्नुपर्ने डा. लुइँटेलको भनाइ छ । उनी भन्छन्, ‘सामूहिक कृषि, व्यावसायिक कृषि र आधुनिक कृषितिर नेपाल अघि बढ्यो भने बाबुछोराबीचको दूरी घट्न सक्छ ।’ कृषिलाई कमजोर ठान्ने मनोविज्ञानले बाबुछोराबीचको दूरी घटाउँदैन, बरु अझै बढाउने उनको भनाइ छ । 

कृषिमा आधारित अर्थतन्त्रले परिवार नधानिने भएपछि बाबुछोराको बसाइ अब सँगै नहुने अर्का समाजशास्त्री डा. प्रसाईं बताउँछन् । कमजोर अर्थतन्त्रका कारण परिवार छुट्टिएको उनको मत छ । उनी भन्छन्, ‘अधिकांश गाउँमा परिवार धान्न सकिने कृषिमा आधारित अर्थतन्त्र छैन । त्यसैले एक्कै ठाउँमा बसेर अब परिवार चल्दैन ।’
बाबुछोराबीचको दूरी कम गर्न छोरा गाउँ फर्किनुपर्ने डा. लुइँटेलको धारणा छ । तर, छोरा गाउँ फर्कियो भने समाजले छलाङ नमार्ने उनको भनाइ छ । उनी भन्छन्, ‘छोरा गाउँ फर्कियो भने समाजले छलाङ मार्दैन । समाजले छलाङ मार्न दूरी बढ्नु पनि पर्छ ।’

फेरियो वंश र अंशको अवधारणा
छोरालाई वंश र अंशको उत्तराधिकारी मानिन्छ । तर, पछिल्लो समय छोराले नै वंश धान्ने र अंश उपभोग गर्ने प्रचलन कम हुँदै गएको बताइन्छ । छोरा नभई स्वर्गमा वास हुन्न, परिवारमा छोरा नै चाहिन्छ भन्ने मान्यतामा आमूल परिवर्तन आएको विज्ञहरूको भनाइ छ । ‘वंश हस्तान्तरण र पुँजी हस्तान्तरणको पुरानो मान्यतामा आमूल परिवर्तन आयो,’ डा. लुइँटेल भन्छन्, ‘वंश र पुँजी हस्तान्तरण गर्न छोरा नै चाहिने धारणा लोप भयो भन्दिनँ, तर यो धारणामा आमूल परिवर्तन भने आएको छ ।’

तर, अर्का समाजशास्त्री प्रसाईं सहरमा यो धारणामा परिवर्तन आए पनि ग्रामीण इलाकामा कायम रहेको धारणा राख्छन् । उनी भन्छन्, ‘सहरी क्षेत्रमा परिर्वतन आएको छ । तर, ग्रामीण क्षेत्रमा वंशको बिरासत धान्ने छोरा नै हो भन्ने मान्यतामा धेरै परिवर्तन आइसकेको छैन ।’  कृषिप्रधान समाजमा बाबुको अंश कुरेर बस्ने छोराहरूको संख्या धेरै हुने विज्ञहरूको भनाइ छ । गाउँको कृषि अर्थतन्त्रले जीविका धान्न छाडेपछि पुरानो वंश परम्परा पनि रूपान्तरण हुँदै गएको समाजशास्त्रीहरू बताउँछन् । समाजशास्त्री डा. लुइँटेल भन्छन्, ‘कृषिले जीविका नधानिएपछि छोरा श्रमका लागि देशविदेश जान थाले । त्यसपछि छोरा आर्थिक रूपमा बाबुप्रति निर्भर होइन, बाबुचाहिँ छोराप्रति निर्भर हुन थाल्यो ।’ 

को शक्तिशाली ?
चाबहिलका यामलाल बताउँछन्, ‘हाम्रो जमानामा प्राण भइन्जेल बाबुले जे भन्यो त्यही मानिन्थ्यो । तर, अहिले त्यस्तो छैन । पहिलाका छोराले बाबुको आदेश मान्थे । अहिलेका छोरा आदेश मान्दैनन्, उल्टै सम्झाएर हिँड्छन् ।’ झापाका ४९ वर्षीय जीवन खवासको अनुभव पनि यामलालसँग मिल्छ, ‘हाम्रो पालामा बुबासँग एकदमै डर लाग्थ्यो । अहिलेको छोराछोरी बुबालाई टेर्दै टेर्दैनन् ।’ २९ वर्षीय बिसन राई बाबु पनि फ्रेन्ड्ली हुनुपर्ने माग राख्छन् । बाबुको सबै आदेश मान्न आफू बाध्य नहुने उनको मत छ । उनी भन्छन्, ‘बुबाले भनेको १० काममध्ये पाँच काम मात्रै मानिन्छ ।’ 

कृषिमा भविष्य देख्ने पुस्ता समाजमा भइन्जेल बाबुछोराको शक्तिसम्बन्धमा खासै असर नपरेको समाजशास्त्री बताउँछन् । जब कृषि क्षेत्र धराशायी हुँदै गयो, त्यसपछि बाबुको शक्ति कमजोर हुँदै गयो । समाजशास्त्री प्रसाईंका अनुसार पहिलेको बाबुले सम्पूर्ण परिवारको जिम्मेवारी लिन्थे । अहिले बाबुको जिम्मेवारी परिवारले बाँडेर लिन्छ । छोरी, श्रीमती सबै जागिरमा जान्छन् । उनी भन्छन्, ‘यसबाट बाबुको अधिकार क्षयीकरण भयो । आदेश दिने बाबु अब सल्लाह लिने बाबुमा रूपान्तरण हुँदै छ ।’ उनी थप्छन्, ‘त्यो परिवर्तन बाबुको चाहनाले भएको होइन, समाजको संरचनागत परिवर्तनको प्रभावले भएको हो ।’ 

समाज कता जाँदै छ ?
समाजमा देखिएको रूपान्तरणको प्रभाव परिवारमा देखिन्छ । परिवारभित्रको बाबुछोराबीचको सम्बन्धमा आएको परिवर्तनले निकै ठूलो अर्थ राख्ने विज्ञहरू बताउँछन् । बाबुछोराबीचको सम्बन्धमा परिवर्तन आउनुको मुख्य कारण अर्थतन्त्रको बदलाव मान्छन् समाजशास्त्री प्रसाईं । उनका अनुसार अर्थतन्त्रको परिवर्तनले पविारलाई एकै ठाउँमा बस्न दिएको छैन । अर्थतन्त्रकै प्रभाव स्वरूप बसाइँसराइ, कृषिको असफलता पनि जोडिने उनको भनाइ छ । उनी भन्छन्, ‘यस्तो अर्थतन्त्र भएको समाजमा परिवारलाई एकै ठाउँमा बस्न दिँदैन । यो अर्थतन्त्रले पुरानो मूल्य–मान्यता धेरै भत्काउँदै छ ।’ 

नेपाली समाजमा देखिएको परिवर्तनलाई सदुपयोग गर्नुपर्ने डा. प्रसाईंको भनाइ छ । घरभित्रै प्रश्न गर्ने पुस्ता जन्मिनु राम्रो भएको उनी बताउँछन् । परिवारभित्रको यो परिवर्तनलाई राम्रोसँग लैजान सकियो भने लोकतन्त्रलाई राम्रो हुने उनको मत छ । ‘पुरानो संरचना भत्किँदै छ । भत्किएको संरचनाका व्यक्तिहरूलाई रोजगारी, सपना, आशा अर्थतन्त्र समाजले पूरा गर्न सक्नुपर्छ,’ उनी भन्छन्, ‘यसले असमानता पनि निम्त्याएको छ । यो परिवर्तनलाई सदुपयोग गर्न सकिएन भने समाज अतिवादतिर जाने खतरा पनि उत्तिकै छ ।’ 

फेरिएको शक्ति–सम्बन्ध : डा. युवराज लुइँटेल 
बाबुछोराको सम्बन्ध पहिले तहगत थियो । विभेदमा आधारित थियो । बाबुसँग अधिकार हुन्थ्यो । उनैको आदेश चल्थ्यो घरमा । तर, अहिले छोराले बाबुलाई प्रश्न गर्न थालेका छन् । बाबुछोराबीचको परम्परागत सम्बन्ध अब रहेन । पहिले ‘अटोक्रेटिक मेलहेड’ हुन्थ्यो । अहिले ‘डेमोक्रेटिक मेलहेड’ छ । बाबुछोराको सम्बन्ध पहिलाको जस्तो नहुनुमा केही कारण छन् । पहिलो कारण हो, छोराहरू सहर र विदेश जान थाले । विदेश गएपछि बाबुको अधिकार स्वतः कम भयो । पहिलेका बुबाले छोरालगायत सम्पूर्ण परिवारको जिम्मेवारी लिन्थे । अहिले बाबुको भूमिका सम्पूर्ण परिवारले बाँड्छन् । 

अघिल्लो पुस्ताको भन्दा परिवारको शक्तिसम्बन्धमा फेरबदल हुँदै आएको छ । पहिलेको बाबुबाजे निकै शक्तिशाली हुन्थे । पहिले जति धेरै श्रीमती बिहे ग¥यो, त्यति शक्तिशाली मानिन्थ्यो । अहिले बढी बिहे गर्नेको सामाजिक इज्जत खस्किएको छ । वंश र पुँजी हस्तान्तरण गर्न छोरा नै चाहिने धारणा लोप भयो भन्न सकिन्न, तर यो धारणामा आमूल परिवर्तन आएको छ । छोरा नभएर मेरो वंश लोप हुने भयो भनेर ननिदाउने बाबु समाजमा छ जस्तो लाग्दैन । 

नयाँ पुस्तासँग प्रविधि जोडिएको छ । बच्चैदेखि प्रविधिसँग अभ्यस्त भइसक्छ आजको पुस्ता । बाबुपुस्ताको जीवनमा प्रविधिको प्रयोग थिएन । बाबु पुस्ताका लागि प्रविधि भनेको रेडियो र साइकल मात्रै हो । अहिलेको जिन्दगी रेडियो र साइकलले धान्दैन । अहिलेको बाबु पुस्ता अझै हलो जोत्छ । कर्णालीमा मोटर नपुग्दासम्म काठको फालीले नै जीविका चलाउँथे । त्यो काठको फाली बनाउँदा बनाउँदै दिन बित्थ्यो । कहिले उत्पादन गर्ने ? कहिले खाने ? 

बाबु र छोराबीचको सम्बन्धमा दूरी बढेको छ । समाजले छलाङ मार्न दूरी बढ्नु पनि पर्छ । अहिले समाजमा देखिएको छलाङ आन्तरिक समाजको गतिशीलताले आएको होइन, बाह्य समाजको प्रभावले आएको हो । बाहिरी समाजको प्रभाव भएकाले यसले केही अन्तरविरोध र विशृंखलता पनि सँगै ल्याएको छ ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक लुइँटेलसँगको कुराकानीमा आधारित