• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
अनिता माझी
२०७८ असार ५ शनिबार ०७:२१:००
सम्झना

एउटा बूढो माझी

२०७८ असार ५ शनिबार ०७:२१:००
अनिता माझी

 

अविच्युअरी 

 

उनी नदी किनारको माझी बस्तीमा गई कहिले रुन्थे, कहिले हाँस्थे

 

‘अब त कत्ति पो बाँच्छु र ? जत्ति बाँच्छु माझी जातिकै बारेमा लेख्छु, बोल्छु । योबाहेक अरू इच्छा नै छैन ।’ माथिको अंश धनबहादुर माझी (२००६–०७७) ले ०६७ सालमा लेखेका हुन् । उनी चिन्नेजति सबैका धनबहादुर बाजे थिए । 

 

माझी समुदायको प्रथाजनित कानुन, स्वशासन र परम्परागत जातीय संस्था ‘मझेसाबा’को इतिहास अध्ययन र अनुसन्धान गरी श्रव्यदृष्यमार्फत नयाँ पुस्तामा समुदायको इतिहास हस्तान्तरण गर्ने अभियानमा उनको गहिरो लगाव थियो । यही अभियान लिएर ०७७ माघको अन्तिम साता सिन्धुपाल्चोकको बोडगाउँमा धनबहादुर बाजेसहित नेपाल माझी महिला उत्थान संघको टोली पुगेको थियो । आदिवासी फिल्म एसोसिएसनका महासचिव संजोग लाफा मगरले उक्त अध्ययनको छायांकन गरेका थिए । माझी समुदायकै हक र अधिकारका लागि बोडगाउँका बूढापाकाहरूसँग माझी समुदायको प्रथाजनित कानुनका बारेमा भलाकुसारी गर्न चाहन्थे उनी । बोडगाउँमा हुँदाहुँदै उनको स्वास्थ्य बिग्रियो । उपचारका लागि काठमाडौं आउन बोडगाउँबाट बिदा हुँदै गर्दा उनले भनेका थिए, ‘नानी हो लौ अब म छिट्टै तंग्रेर आउँछु, त्यतिन्जेल नानीहरूले सबै मेलोमेसो मिलाउनु ।’ निमोनियाले ग्रस्त भएका धनबहादुर बाजेले उपचारको क्रममा अस्पतालमै देहत्याग गरे । 

 

जुनसुकै बैठक वा भेलामा परिचयका क्रममा उनी भन्ने गर्थे, ‘सेवाढोग (माझी अभिवादन) ! म धनबहादुर माझी । धनबहादुर त मेरो नाउँ मात्रै हो, नाउँ भन्नै लाज लाग्छ, मजस्तो गरिबलाई खै कस्तो नाउँ राखिदिएका हुन् । म केको धनी ? हाम्रो खोलानाला, कोसीबगर सबैमा अर्काको मनोमानी छ, आफ्नै थातथलोबाट लखेटिनुपरेको छ । अनि म कसरी धनबहादुर ?’

 

उनी भन्थे, ‘म धनबहादुर माझी । धनबहादुर त मेरो नाउँ मात्रै हो, नाउँ भन्नै लाज लाग्छ, मजस्तो गरिबलाई खै कस्तो नाउँ राखिदिएका हुन् । म केको धनी ? हाम्रो खोलानाला, कोसीबगर सबैमा अर्काको मनोमानी छ, आफ्नै थातथलोबाट लखेटिनुपरेको छ । अनि म कसरी धनबहादुर ?’

 

उनकै छत्रछायाँमा माझी समुदाय र समग्र आदिवासीलाई बुझ्ने अवसर पाएकाले धेरैजसो उनका यस्ता कुराकानीहरू मैले सुन्दै आएँ । रगतको सम्बन्ध नभए पनि भावनात्मक सम्बन्धमा हामी असाध्यै निकट थियौँ । आपूmले जानेबुझेका सबै कला, सीप र ज्ञान सबैलाई बाँड्थे उनी । नयाँ पुस्तालाई बाँड्दा उनी अझै खुसी हुन्थे । माझी समुदायको समस्या र अधिकारका बखान गरेर कहिल्यै थाक्दैनन् । उनले माझी समुदायको विषयमा एउटा कार्यक्रममा लगभग पाँच घन्टा लगातार बोलेका थिए । 

 

०६८ सालमा रेडियोमा बुढीगण्डकीमा १२ सय मेगावाटको पावरहाउस बनाउने समाचार सुनेपछि उनी रातभरि छटपटाइरहे । पावरहाउसले धादिङ(सल्यानटार, मैदी) र गोर्खा(बुङकोट)को तीन गाउँ अर्थात् बुढीगण्डकीआसपासको माझीको वास उठाउने भो भन्ने चिन्ताले उनी निदाउनै सकेनन् । बिहान सबेरै उठे अनि सरासर गोर्खा गए । डुबान क्षेत्रमा पर्ने माझी गाउँका महिला–पुरुषलाई बेनीमा भेला गरेर पावरहाउसले माझी समुदायलाई पुर्‍याउने तत्कालीन र दीर्घकालीन क्षतिबारे सचेत गराएर काठमाडौं फर्के । तैपनि बुढीगण्डकी हाइड्रोपावरको परियोजनाले उनलाई आनन्दले निदाउन दिएन । बारम्बार भनिरहन्थे, ‘गोर्खा गएर त्यति सुनाएर फर्केँ, तर धादिङको दुई माझी गाउँ (सल्यानटार र मैदी) पनि डुबानमा पर्दै छन् । म त्यहाँ पुग्न पाएको छैन । त्यहाँ पुगेर यो परियोजनाले निम्त्याउने असरबारे बताउनु छ ।’ 

 

लामो समयसम्म उब्जिएका विभिन्न किसिमका विवादले उक्त आयोजनाले गति लिन पाएन । संयोगवश ०७७ पुसको अन्तिम साता कोभिड–१९ सम्बन्धी कार्यक्रम लिएर धनबहादुर बाजेसहित नेपाल माझी महिला उत्थान संघको टोली धादिङको सबै(सातवटा) माझी गाउँमा पुग्यो । कोभिड–१९ को कार्यक्रम लिएर गए पनि धनबहादुर बाजेले बुढीगण्डकी हाइड्रोपावरको चर्चा गरेरै बाटो कटाए । 

 

सल्यानटार र मैदी पुगेपछि धनबहादुर बाजे एकछिन हाँसे, तर धेरैबेर रोए । हाँसे यस कारण, देशभरका सबै माझी बस्ती चहारेका उनले यसअघि यहीँ दुई गाउँ टेकेका थिएनन् । यस कारण रोए, उनले टेकेका माझीको यस भूमिमा अब हाइड्रोपावर बन्नेछ । हाम्रो आतिथ्यतालाई स्वागतसाथ मैदीवासी माझीहरूले बुढीगण्डकीको स्वादिलो माछा र रसिलो मोत÷मुन(जाँड) खाजा दिए । माछा र जाँडको स्वाद चाख्नासाथ धनबहादुर बाजे फेरि एकछिन हाँसे अनि धेरैबेर रोइरहे । हाँसे यस कारण, वर्षौँपछि उनले चाख्न पाएका लदी (कोसी÷खोला)को माछाले माझीको विशिष्ट पेसा र जीवनशैली झल्काइरहेको थियो । यस कारण रोए, मौलिकता सम्झाउने ती माछाहरू अब कुलपितृलाईसमेत चढाउन नपाइने भयो । (माझी समुदायमा कुलपितृलाई ताजा, आलो, जिउँदो माछा चढाउने चलन छ ।)

 

धनबहादुर बाजेले मैदी र सल्यान्टारमा पनि बुढीगण्डकी हाइड्रोपावर परियोजनाले माझी समुदायमा पुर्‍याउने सामाजिक, सांस्कृतिक र आर्थिक क्षतिबारे जानकारी गराए । पानी र माझीको सम्बन्ध सम्झाउँदै उनले भनेका थिए, ‘हामी विकासविरोधी होइनौ, हाम्रो कारणले कसैलाई अप्ठ्यारो हुनुहुँदैन । त्यस अर्थमा माझीलाई पनि अन्याय हुनुहुँदैन । हामीलाई कसैले विस्थापित गर्छ भने लदी (कोसी÷खोला) भएको ठाउँमा बसोवास गराइयोस् । लदीबाट माझीलाई नअलग्याइयोस् ।’

 

बुढीगण्डकीबाट फर्किएपछि हाम्रो गन्तव्य बन्यो, रामेछाप । जहाँ सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनाले डुबान क्षेत्रका ९० प्रतिशत माझीहरू प्रभावित हुनेछन् । आदिवासी अभियन्ता प्रवीन्द्र शाक्यको नेतृत्वमा धनबहादुर बाजेसहित आठजनाको टोली रामेछाप पुगेका थियौँ । सुनकोसी खोलाको पानी मरिन खोलामा झारी बागमती नदीको सिँचाइमार्फत प्रदेश नम्बर २ को बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाही गरी पाँच जिल्लाहरूको १,२२,००० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने र सिँचाइबाहेक सुनकोसी गाउँपालिका वडा नम्बर ६ को सुनकोसी नदीमा १२ मिटर उचाइको बाँध बाँधेर १३.१ किमि लामो सुरुङको माध्यमबाट कमलामाई नगरपालिका वडा नम्बर २ मा पर्ने कुसुमटारस्थित मरिनखोलामा पानी खसाली २८.६२ मेगाबाट जलविद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ । यसरी थालिएको योजनाले माझी समुदायलाई पाखा लगाउन नहुने, समुदायले पाउनुपर्ने अग्राधिकार पाउनुपर्ने र यस परियोजनामा समुदायको अग्रिम जानकारीसहितको मन्जुरी(एफपिक) हुनुपर्नेमा धनबहादुर बाजेको अडान थियो । उनी परियोजनाले माझीहरूलाई गम्भीरतापूर्वक नलिएकोमा बारम्बार चिन्ता गरिरहन्थे । 

 

नदी थुनेर बिजुली निकाल्ने सरकारको योजना रेडियोमा सुनेपछि धनबहादुर माझी रातभरि छटपटाइरहन्थे । बिहानै उठेर उनी माझी बस्तीमा जान्थे र नदीआसपासका माझीहरूलाई जम्मा गरेर त्यो विकासे परियोजनाले पुर्‍याउने तत्कालीन र दीर्घकालीन क्षतिबारे सचेत गराउँथे ।

 

रामेछापको हात्तिटारमा डुबान प्रभावित समुदायसँग अन्तत्र्रिmया गरी माझीहरूको अधिकारका लागि प्रभावितहरूले पाउनुपर्ने मागहरू समेट्दै जिल्ला प्रशासन, परियोजना कार्यालय र उपप्रधानमन्त्री ईश्वर पोखरेलसमक्ष १३ बुँदे ज्ञापनपत्र बुझाएको थियो ।

 

रामेछापबाट फर्कँदा धनबहादुर बाजे आफ्नो घर (मन्थली नगरपालिका–७, भटौली) पनि पसेनन् । मन्थली जाँदा धेरैचोटि घरै नपसी फर्केका छन् । धेरैपटक उनका परिवारले गुनासो पनि गरेका थिए । घर छाडेर हिँडेको वर्षौंपछि घर फर्कँदा नातिनातिनी नचिनेर रोएको पल सम्झिरहन्थे उनी । उर्बर उमेरमै घरपरिवार सबै छाडेर माझी जातिलाई दुःखको भंगालोबाट किनारा लगाउनु भनेर हिँडेका धनबहादुर बाजेको आफ्नै दुःखका चाङहरू भने अलपत्रै थिए । माझी समुदायको हितका लागि उठाएका आवाजहरू समुदायले बेवास्ता गर्दा निकै भावुक हुन्थे उनी । बिरक्तिएर आफैसँग अनेक प्रश्न गर्थे । फेरि सम्हालिन्थे र आफ्नै रफ्तारमा अघि बढ्थे ।

 

बुढीगण्डकीसँगै थपिएको सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनाले धनबहादुर बाजेलाई थप चिन्ता बढाएको थियो । यससँगै थपिएको अर्को पीडा थियो, ६३५ मेगावाट क्षमताको दूधकोसी जलविद्युत् आयोजना । घरपरिवारसँगै सहकारीको अधिकृत(०५० साल अघि) को पद, नेपाल प्रहरीको स्थायी जागिर सबै छाडेर माझी समुदायको उत्थानमा खटेका उनले संघर्षका थुपै्र पहाडहरू चढे । जुनसुकै कामका लागि जहाँसुकै पुगे पनि माझीको अधिकारको कुरा गर्न कहिल्यै छुटाएनन् । अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि (आइएलओ) नम्बर १६९ र संयुक्त राष्ट्र संघीय घोषणापत्र (युएनड्रिप) का कुराहरू व्यापक गर्थे । 

 

जल, जमिन र जंगलको विषयमा आदिवासी जनजातिहरूले अधिकारका कुराहरू उठाइरहन्छन् । अझ जमिन र जंगलको विषय प्रायः धेरैले कुरा उठाउँदै आएका छन् । जलको विषयमा कमै मात्र कुराहरू उठेका छन् । जलसँग माझी समुदाय जन्मदेखि मृत्युपर्यन्त विशिष्ट सम्बन्ध गाँसिएको हुन्छ । त्यसैले धनबहादुर बाजेले हरबखत माझीले पानीको कुरा उठाउनुपर्छ भनिरहन्थे । मेलम्ची खानेपानी परियोजनाले प्रभावित माझी समुदायलाई पर्याप्त क्षतिपूर्ति र मुआब्जा दिनुपर्छ, समुदायको मञ्जुरीविना माझीको पानी चलाएर माझीलाई पाखा नलगाइयोस् भनेर उनी बारम्बार चेतावनी दिइरहन्थे । ०४८ सालदेखि मेलम्ची खानेपानी आयोजनाले प्रभाव पार्ने प्रत्येक माझी बस्तीमा पुगे उनी । माझीको पानी खपत गरेर माझीको उठिबास नगराइयोस् भन्ने कुरालाई संविधानसभामा समेट्नका लागि दिनरात माझी बस्तीमा पुगेर सचेतना फैलाए । तर, गएको दुईवटै संविधानसभामा ती कुराहरू आएनन् । उनलाई बारम्बार यही कुराले असाध्यै पिरोलिरहन्थ्यो । 

 

८३ हजार मेगावाट बिजुली उत्पादन हुँदा खोलाकिनारका ५८ जिल्लामा छरिएर रहेका ८३ हजार सात सय २७ माझीको सबै घरमा बत्ती बल्छ होला त ? यो प्रश्न धनबहादुर बाजेको मन मष्तिष्कमा सधैँ घुमिरहन्थ्यो । 

 

पुल निर्माण, हाइड्रोपावर, जलाशयलगायतका राष्ट्रिय गौरवका विकास निर्माणका आयोजनाहरूले माझी जातिको परम्परागत पेसा र जीवनशैलीमा नकारात्मक प्रभाव पारेको छ । क्षमताअनुसार नेपालले जलविद्युत् उत्पादन गर्ने हो भने माझीको अस्तित्व नै नामेट हुने खतरा बढ्दो छ । यो किसिमको खतरा निम्तिनु भनेको राज्यको नोक्सानी होइन र ? माझी जाति हराउनु भनेको समग्र बहु(जातीय, भाषिक, धार्मिक, सांस्कृतिक)विविधता संकटमा पर्नु होइन र ? माझी समुदायको पहिचान मासिनु भनेको राज्यको पहिचान नै मासिनु होइन ? 

 

धनबहादुर बाजेले लदी पूजा (माझी समुदायको मुख्य पर्व)लाई राष्ट्रिय पर्वमा सूचीकृत गराउन पनि धेरै संघर्ष गरे । शिक्षा ऐन–२०७६ संशोधनपश्चात् मातृभाषामा पनि शिक्षा पाउने भएपछि ‘मेरा नातिनातिनाले पनि अब माझी भाषामा पढ्न पाउँछन्’ भन्दै उनी मार्टिन चौतारीको हलमा भक्कानिएर रोएका थिए । धनबहादुर बाजेको माझी समुदायप्रतिको यस किसिमको लगावले सबैलाई चकित बनाउँथ्यो । समुदायको हित र भाषाप्रतिको यही मायाले माझी भाषामा कक्षा एकदेखि तीनसम्मको पाठ्यक्रम तयार पारे । २० वर्ष खर्चेर ‘माझी नेपाली शव्दकोश’ तयार पारे । 

 

भाषा संरक्षणका क्रममा भाषविद् अमृत योञ्जनको सहयोग लिएर थप कामहरू गर्ने योजना पनि बनाएका थिए । माझी जातिको संस्कार संस्कृति(२०६३) र माझी जातिको चिनारी(२०६८) पुस्तकहरू पनि लेखे । पुस्तक लेख्ने क्रममा उनले सबै जिल्लाका माझी बस्तीहरूमा धेरै खोजीनीति गरे । कतिपय ठाउँमा त उनी पटक–पटक पुगे । 

 

धनबहादुर बाजेलाई कसैलाई उछिन्नु थिएन, अर्काको खोस्नु थिएन, कसैसामु झुक्नु थिएन । न त विकासविरोधी नै थिए उनी । मात्र आफ्नो समुदायले पाउनुपर्ने अधिकार पूर्ण रूपमा पाउनुपर्छ भन्ने चाहन्थे । देशको कानुन फेरियो । नेतृत्व फेरियो । तर, माझी समुदायप्रतिको बुझाइ फेरिएन । राज्यले माझीको लालमोहरलाई बेवास्ता गरिदिन्छ ।

 

आज माझीहरू विस्थापित हुने खतरा झन्झन् बढेको छ । धनबहादुर बाजेकै पुख्र्यौली जमिन पनि सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनाले डुबाउँदै छ । आज समयले अझै धेरै धनबहादुर बाजेहरू खोजिरहेका वेला उनी संसारबाट बिदा भए । उनको अभाव माझी समुदायमा र सचेत मानिसहरूको बीचमा सधैँ खड्किरहनेछ ।

 

[email protected]