• वि.सं २०७८ श्रावण १२ मंगलबार
  • Tuesday, 27 July, 2021
राजकिशोर रजक/टासी टेवा
२०७८ असार ५ शनिबार ०९:२२:००
अनुवाद

अरुन्धती रोयद्वारा अम्बेडकरको महिमा–मण्डन

२०७८ असार ५ शनिबार ०९:२२:००
राजकिशोर रजक/टासी टेवा

 

रोयले किताबभन्दा ठूलो भूमिका लेखेर ज्ञानमाथि नियन्त्रण गर्न खोजेको देखिन्छ

 

‘जातको विनाश’ डा. भिमराव अम्बेडकरको भाषण हो, जसलाई  जातपात तोडक मण्डलले वाचन गर्न दिएन । सवर्ण नेतृत्वको जातपात तोडक मण्डलले निमन्त्रणा गरे पनि पछि कार्यक्रमलाई रद्द गरे । त्यसपछि अम्बेडकरले उक्त भाषणलाई मे १५, १९३६ मा आफ्नै खर्चमा प्रकाशन गरे । लगत्तै थुप्रै दलित प्रकाशन गृहहरूले उक्त भाषणलाई प्रकाशन पनि गरे र लाखौँ कपीहरू बिक्री भए । उक्त भाषणलाई फेरि नवयाना प्रकाशनले अरुन्धती रोयलाई भूमिका लेख्न लगाएर सन् २०१४ मा प्रकाशनमा ल्यायो । 

 

त्यसरी छापिएको किताबलाई दलित विज्ञहरूले सर्वत्र विरोध गरेपछि सन् २०१७ मा रोयले उक्त भूमिकालाई छुट्टै किताबको रूपमा ‘द डाक्टर एन्ड द सेन्टः अम्बेडकर–गान्धी डिबेटः कास्ट, रेस एन्ड एनिहिलेसन अफ कास्ट’ एसडी आनन्दको सहयोगमा ‘पेन्गुइन’ले प्रकाशन गर्‍यो । त्यसै किताबलाई नेपालीमा अनुवाद गर्दै ‘बेला प्रकाशन गृह’ले ‘ती विद्रोही ती महात्माः अम्बेडकर–गान्धी बहस’ भनेर चाँडै ल्याउने भएको छ जसको अनुवाद पत्रकार नरेश ज्ञवाली र कवि विनोदविक्रम केसीले गरेका छन् । 

 

पहिला किताबका बारेमा केही भनौँ । सुरुवातमा रोयले दलितहरूको अवस्थालाई व्याख्या गरेकी छिन् । यसमा दलितको राजनीति, कार्यपालिका, प्रशासन, मिडिया र व्यापारमा रहेको न्यून उपस्थिति उल्लेख गरेकी छिन् । दलितहरूविरुद्ध बढ्दो हत्या र हिंसाको वृत्तान्तलाई उजागर गरेकी छिन् । सवर्णले सामान्य कार्यहरूबाट मात्र नभई भोट बैंक, विभिन्न समुदायका मध्यस्थकर्ता, लाभ, पैसा र शक्ति आर्जनका निमित्त दलितको प्रयोग र दुरुपयोग भइरहेको स्विकारेकी छिन् । त्यस्तै, दलितको प्रश्नलाई केलाउने क्रममा चतुवर्ण, इतिहास र विकास, कठोर कार्यान्वयन र त्यसबाट नेताहरूले पनि दलित र आदिवासीमाथि भएको अत्याचारलाई ठाउँ दिएका छन् । ‘जाति–व्यवस्थाभन्दा ठूलो अपमानजनक सामाजिक संगठन हुनै सक्दैन । यो व्यवस्थाले मान्छेलाई शिथिल, पंगु तथा अपांग बनाएर उसलाई कुनै उपयोगी कार्य गर्न दिँदैन ।’ अम्बेडकरले उद्घोष गरेका छन् । गान्धी अम्बेडकरको विचारसँग असहमति राख्दै जात भारतीय समाजको प्रतिभालाई प्रतिनिधित्व गर्ने दलिल दिन्छन् । 

 

अम्बेडकरलाई इतिहासले अन्याय गरेको भने पनि विशेष गरी गान्धीको दोहोरो चरित्रका बारेमा रोयले लेखेकी छिन् । यसमा दक्षिण अफ्रिकामा गान्धीको ब्रिटिस साम्राज्य र ‘पैसेन्जर इन्डियन्स’लाई सहयोग गरेको, तर भारतीय ‘इन्डेचर्ड’सँग विभेद गरेको सहजै बुझ्न सकिन्छ । गान्धीको घृणित यौनजीवन, उसको आधुनिकीकरणप्रतिको घृणालाई उल्लेख गरेका छन् । डा. अम्बेडकरले २६ फेब्रुअरी १९५५ मा बिबिसीलाई दिएको अन्तर्वार्तामा ‘गान्धी राजनीतिज्ञका रूपमा कहिले ‘महात्मा’ थिएनन् । मैले उनलाई महात्मा भन्न अस्वीकार गरेँ । म मेरो जीवनमा उसलाई कहिले पनि महात्मा भन्दिनँ । ऊ त्यो उपाधि पाउन योग्य छैन । उसको नैतिकताको दृष्टिकोणले पनि छैन’ भनेर भनेका थिए । रोयका अनुसार गान्धीले देखाएको गरिबीले गरिबमा व्याप्त शक्तिको अभावलाई लुकाएका छन् । तैपनि गान्धीलाई घनश्याम दास बिर्लाजस्ता धनाढ्य उद्योगीले समेत सहयोग गरेको तथ्यलाई पनि उजागर गरेका छन् जसलाई रोयले वर्तमान सन्दर्भको व्यापारीहरूले सहयोग गरिरहेको गैरसरकारी संस्थासँग पनि तुलना गरेकी छिन् ।

अरुन्धती रोय

किताबमा गान्धीको भूमिकालाई झन्डै ९० पानासम्म खर्चेका कारण पनि विभिन्न दलित विज्ञहरूले रोयको अम्बेडकरको मुख्य कृति ‘जातको विनाश’मा लेखेको झन्डै १२० पाना लामो भूमिकालाई थुप्रैले प्रश्न गरेका थिए । ती प्रश्नहरूलाई सम्बोधन गर्दै पेन्गुइन रेन्डम हाउस इन्डिया भन्ने प्रकाशकले ‘द डाक्टर एन्ड द सेन्ट’ २०१७ मा छुट्टै प्रकाशन गरेका थिए । त्यसको पहिलो भागमा रोय लेख्छिन्, ‘अम्बेडकरको किताबमा गान्धीलाई प्राथमिकतामा राखेकोमा मेरो गल्ती भएकै हो । म दोषी नै छु । तर, आधुनिक समाज, विशेष गरी पश्चिमेली समाजमा गान्धीको स्थान एकदमै महत्वपूर्ण रहेको हुनाले अम्बेडकरको विचार बुझ्न माथिको दृष्टिकोणलाई विश्लेषण गर्नैपर्छ ।’

 

गान्धी सार्वजनिक स्मृतिबाट हराउँदै गएको अवस्थामा रोयले कृत्रिम अक्सिजन दिने काम गरेकी छिन् । रोय–नभयाना प्रोजेक्टले सुविचारित रूपमा ‘जातिका विनाश’ किताब आफैँमा पर्याप्त होइन र यसलाई भूमिकाको रूपमा एउटा बैसाखीको आवश्यक्ता छ भनेर आफैँ महिमा मन्डित गर्‍यो । भूमिकालाई किताबभन्दा पनि ठूलो बनायो । एकजना फ्रान्सेली अमेरिकी चिन्तकको भाषामा अति वास्तविकता (हाइपर रियालिटी)जस्तै रोयले ‘जातिको विनाश’ किताबलाई लेखेको देखिन्छ । किताबभन्दा ठूलो भूमिका लेखेर ज्ञानमाथि नियन्त्रण गर्न खोजेको देखिन्छ ।

 

किन उक्त भूमिकालाई दलित विज्ञहरूले विरोध गरे ? यसलाई बुझ्न उनीहरूको तर्कलाई पहिला बुझौँ । डिसेम्बर २१, २०१४ मा मुम्बई विश्वविद्यालयमा भएको अम्बेडकरमाथिको उपनिवेशिकता विषयक छलफलमा वरिष्ठ लेखक तथा सम्पादक कुफिरले सवर्णको विश्वविद्यालयमा ९८ प्रतिशतको उपस्थित दबदबालाई जोड्दै उक्त शिक्षक तथा प्राध्यापकहरूले पनि अम्बेडकरको किताबलाई छाडेर अरून्धती रोयको किताबलाई नै प्राथमिकता दिने र रोयको उपस्थितिलाई अम्बेडकर, फुले, नानक, कविर, बुद्ध र चारवकहरूको दाँजोमा समेत तुलना गर्ने ब्राह्मणवादी धृष्टतालाई नांगो पारेका थिए । 

 

उक्त कार्यक्रममा दलित–बहुजन मिडिया राउन्ड टेबलका सम्पादक अनु रामदासले पनि रोय गैरदलित भएर भन्दा पनि अम्बेडकरको किताबलाई नबुझेको र अझ सनसनीपूर्ण भूमिकाले अम्बेडकरको भूमिकालाई नै खतरामा पारेको भनाइ प्रस्ट पारेका थिए ।

 

त्यसैगरी, हैइदरावादमा उक्त किताबको उद्घाटनको साथै बोजा थाराकाम रोयसँग उक्त किताबका बारे छलफल गर्ने भन्ने थियो, तर पछि त्यो कार्यक्रम हुन सकेन । सन् १९८९ मा बहुजन समाज पार्टीको महासचिव बनेका बोजा थाराकाम द छुनदुरु संघर्ष समितिको संस्थापक संयोजक, दलित महासभाको संस्थापक अध्यक्ष हुनुको साथै एपी सर्वोच्च अदालतको वरिष्ठ वकिल पनि हुन् । 

 

दलित क्यामेराले सार्वजनिक गरेको थाराकामको वक्तव्यअनुसार रोयले अम्बेडकरको मुख्य कृति जातको विनाशलाई नकारेर गान्धीसँगको वार्तालाई प्राथमिकता दिएकोमा खेद प्रकट गरेका थिए । थाराकामका अनुसार उक्त किताबमा गान्धीसँगको राजनीतिक वार्ताका बारेमा हुँदै नभएको, तर हिन्दू जात व्यवस्थालाई कसरी विनाश गर्न सकिन्छ भन्ने अम्बेडकरको मुख्य ध्येयलाई बंग्याएको देखिन्छ । रोयले उक्त मुख्य किताबका बारेमा लेख्न सक्थिन्, तर नलेखेको हुनाले पनि रोयको ब्राह्मणवाद प्रस्ट हुने भन्ने थाराकामको बुझाइ देखिन्छ ।

 

आफ्नो बचाउमा रोयले अम्बेडकरको मुख्य कृतिलाई छुट्टै प्रकाशनमा ल्याउन एकदमै गाह्रो हुने र प्रकाशन गर्नै नदिने खतरा महसुस गरेको बताएकी थिइन् । कोही लेखकहरूले विश्व बजारमा गान्धी र रोयको उपस्थितिलाई देखाउँदै रोयको भूमिकालाई बजारको एउटा रणनीति बताए पनि हामीले यसलाई कथित मूलधारे प्रकाशन गृहहरू र बजारमा उपल्लो जातकै दबदबा रहेको र ती ब्राह्मणवादी संयन्त्रहरू अम्बेडकरका कृतिहरूलाई विशेष स्थान दिन रुचाउँदैनन् भन्ने प्रस्ट सन्देशको रूपमा पनि बुझ्न पर्छ भन्ने हो ।

 

 

त्यसै उपनिवेशिकताको तर्कलाई थप जोड दिँदै २०१५ मा अम्बेडकर एज कलेक्टिभले ‘हेर्टेड इन द बेलीः पोलिटिक्स बिहाइन्ड द एर्पोपिएसन अफ डा. अम्बेडकरस राइटिङ’ लेखेर प्रकाशनमा ल्याए । लेखकहरूले एउटा प्याराग्राफबाहेक रोयले अम्बेडकरको किताबको मुख्य तर्कहरूको विश्लेषण नगरेको र किताबको सन् १९३६ देखिको इतिहासलाई पनि नकेलाएको दाबी अघि सारेका छन् । 

 

प्रतिनिधित्व र अरूको कृतिलाई आफूअनुकूल बनाउने सवर्ण प्रवृत्तिलाई पनि विश्लेषण गर्दै केही लेखमा रोयको आलोचना गरे पनि समग्रमा यो किताब ब्राह्मणवाद र सवर्णको शोषणको विरोध हो । मुख्य किताबभन्दा झन्डै तीन गुना लामो रोयको भूमिका रहेकोमा समेत आपत्ति राखेका छन् । लेखक जेम्स माइकल र अक्षय पाठकका अनुसार नवयानाले प्रकाशन गरेका ६१ किताबहरूमध्ये १६ जना लेखकहरू श्वेत र २१ जना लेखकहरू माथिल्लो जातको जसमा १६ जना ब्राह्मण भएको तथ्य अघि सारेका छन् । अर्का लेखक कार्तिक आरएमका अनुसार विशेष गरी दमनको सिद्धान्त के हो, नवउदारवाद के हो, प्रतिरोध के हो भनेर ब्राह्मणहरूले नै निर्धारण गर्छन्, त्यस्ता ज्ञानले प्रतिरोधात्मक विचारधारालाई निर्माण गर्ने स्थान पनि प्रदान गर्दैनन् भन्ने तर्क अघि सार्दै ब्राह्मणवादलाई नयाँ तरिकाले विरोध गरेका छन् । 

 

तैपनि लेखक रोयले यसरी झुक्याउन कोसिस गरेको त्यो अन्तिमपटक भने पक्कै होइन । भर्खरै मिनिसोटा विश्वविधालयका प्राध्यापक निक ऐस्टेसँगको एउटा किताब विमोचनको कार्यक्रममा पनि रोयले आफू ब्राह्मण नभएको स्वीकार गरेकी छिन् । आश्चर्यको कुरा पेन्गुइनले प्रकाशन गरेको र गुगल बुक्समा समेत पाइने रोयले भूमिका बाँधेको उक्त किताबमा आफ्नो बाबु हिन्दू ब्रह्मो र आमा सिरियन क्रिस्चियन हो भनेर खुलाएकी छिन् । बाबालाई नदेखेको र आमासँगै बच्चैदेखि समय बिताएको लेख्दै सवर्ण संस्कृतिबाट आफूलाई टाढा राख्ने कोसिस गरेकी छिन् । 

 

निक ऐस्तेले ‘रोय के तिमी ब्राह्मण हौ ?’ भन्ने प्रश्नलाई रोयले ब्राह्मणवाद ब्राह्मणका बारेमा नभएको र आफ्नो बाबा पनि ब्राह्मण होइन भन्दै आफू पनि ब्राह्मण नभएको’ प्रस्ट उत्तर दिएकी थिइन् । तर, एन्टाई कास्ट स्कलर तेजास हारदले ब्राह्मणवाद ब्राह्मणहरूको बारेमा नभए के हो त भनेर विरोध गर्दै ट्विट् पनि गरेका थिए । दलित चिफले उक्त उत्तरमा रोयको हिपोक्रेसी पनि प्रस्ट भएको थपेका छन् । यसबाट थप प्रस्ट हुने भनेको रोयले आपूmलाई डि–कास्ट गर्न नसकेको नै हो । 

 

अब हेरौँ, उक्त किताब वा भूमिकाका केही तर्कहरू । सबै तर्कहरूलाई ठाउँ दिन नसकेका कारण हामीले यहाँ केही तर्कलाई छलफलमा ल्याएका छौँ । विशेष गरी उक्त तर्कहरूको दृष्टिकोणको चिरफार गर्न उचित सम्झेका छौँ । 

 

किताबको सुरुवातमै रोयले मलाला युसुफजई र सुरेखा भोतमाँगेको चर्चा गरेका छन् । यसको बारे ‘सुन्नुभएको छैन भने तपाईंले अम्बेडकरलाई अवश्य पढ्नुपर्छ ।’ अरुन्धती रोय लेख्छिन् । 

 

९ अक्टुबर, २०१२ मा तालिबानी बन्दुकधारीले मलालालाई स्कुल बसबाट घसिटेर बाहिर ल्याई उसको टाउकोमा गोली हान्यो । मलाला इंग्लैन्डमा सर्वोत्तम उपचारपछि बाँच्न सफल भइन् । संसारभरिबाट सहयोग, सद्भाव, ऐक्यबद्धता प्राप्त भयो । 

 

तर, सुरेखा ४० वर्षकी दलित महिला थिइन् । सुरेखाको परिवारले हिन्दू धर्म त्यागेर बौद्ध धर्म ग्रहण गरेकी थिइन् । सुरेखा र उसका पतिले महाराष्ट्रको खैरलान्जी गाउँमा जमिनको सानो टुक्रा किनेका थिए । सुरेखाको जमिनको चारैतिर उच्च जातको जमिन थियो । दलित भएकै कारण विभिन्न दमनको सामना गरिन् । जस्तै, बिजुली जडानवाट बञ्चित थिए । छोपडीलाई पक्की घर बनाउन दिइएन । तर, सुरेखाले विरोध गरिन् । गाउँलेहरूलाई असह्य भयो र सुरेखाको आफन्तमाथि आक्रमण गरे । भिडले सुरेखा, प्रियंका र दुईटै छोरालाई घसिटेर घरबाट बाहिर निकाले । भिडले सुरेखाको छोरालाई आमा र बहिनीलाई बलात्कार गर्न आदेश दिए । छोरा उक्त कुकर्म गर्न नमान्दा भिडले उसको यौनअंगलाई क्षतविक्षत गरेर हत्या गरे । सुरेखा र प्रियंकालाई सामूहिक–बलात्कार गरेर कुटपिट गरी हत्या गरे । चारजनाको लासलाई नजिकैको नहरमा फाल्यो । 
सवर्ण पुलिस र अदालतले घटनाबाट जातलाई नै निकालेर फालिदिए । सुरेखाले कतैबाट कुनै सहयोग, सद्भाव तथा ऐक्यबद्धता पाइनन् । 

 

अरुन्धती रोयले मलाला र सुरेखाको चर्चा किन गरिन् होला ? यस विषयमा फ्रान्सिसी मनोचिकित्सक तथा राजनीतिक दार्शनिक फ्रान्ज फैननको विचार विचारणीय छ । एलजिरिया फ्रान्सको उपनिवेश हुँदा बलात्कारको घटना खुब हुन्थ्यो । फ्रान्सिसी बुद्धिजीवीले नै घटनाका बारेमा लेख्थे । तर, फ्रान्सिसी बुद्धिजीवीहरूलाई बलात्कारको घटनाबाट समस्या थिएन । अत्याचार अत्यधिक भयो भने विद्रोह हुने खतरा हुन सक्छ । सम्भावित विद्रोहलाई रोक्न र शक्तिलाई नियन्त्रणमा राखिराख्नका लागि ‘वाच डग’को रूपमा काम गर्थे । यस्ता खालको प्रवृत्ति संसारको हरेक देशमा शासक वर्गमा हुन्छन् भन्दा अत्युक्ति नहोला । 

 

विद्रोहलाई मोडरेट गर्नका लागि रोयले सुरेखाको चर्चा गरेको देखिन्छ । विशेष गरी पहिले दलितविरुद्धका बारेमा खासै केही नलेखेको र नबोलेको विगतलाई सम्झने हो भने पनि रोयलाई दलितमाथि हुने दैनिक अत्याचारदेखि खासै मतलब छैन भन्न सकिन्छ । धेरै माथिल्लो जातको लेखकहरूजस्तै रोय पनि जात–व्यवस्थाको विरुद्ध कम बोल्ने, लेख्ने तर साम्राज्यवादी शक्तिविरुद्ध लेख्न माक्र्सवादी वर्गीय विश्लेषणलाई प्रधानतामा राख्ने गरेको पनि देखिन्छ । 

 

अर्कोतिर, धेरैजसो तथ्यहरू तथ्यांकमा आधारित जस्तै कतिजना ब्राह्मण धनाढ्य छन् भनेर खुलाउँदा श्रमको विभाजन र क्रणका बारेमा मात्र खुलाउँछन्, तर ती धनाढ्यहरू कसरी ब्राह्मणवादको उपभोग गर्दै पुँजीे जम्मा गरे र उत्पीडित मजदुरहरूको शोषण, र दलित तथा आदिवासीहरूका विभिन्न सम्बन्धलाई खतम पार्दै भूमिबाट विस्थापित गर्दै लगे, अरुन्धती लेख्दैनन् । अफ्रिका गायनिसका इतिहासकार वाल्टर रोडनीले (१९७२) ‘हाउ युरोप अन्डरडेभलप्ड अफ्रिका’मा साम्राज्यवाद र पुँजीवादले कठोर र मिहिनेती श्रम मात्र नभई लाखौँ मजदुरहरूको श्रमलाई उचित ज्याला पनि नदिएको पृष्ठभूमिमा पनि हेरिनुपर्ने तर्क अघि राखिसकेका थिए । यसमा श्रम मात्रभन्दा पनि विभिन्न उत्पीडित समुदायका मानिसहरूका शरीर, संस्कृति, र जैविक विविधतालाईसमेत वस्तुकरण साम्राज्यवाद र ब्राह्मणवादले गर्दै छन् भनेर पनि थप विश्लेषण गर्न सकिन्छ । टाढैबाट दलित आएको छ कि छैन र दलित शरीर र अस्तित्वलाई सुरुदेखि नै नामेट पार्न खोज्दै आफ्नो शरीरलाई चोख्याउन खोज्ने ब्राह्मणवादी सामाजिक, राजनीतिक, आर्थिक तथा लैंगिक दृष्टिकोण र व्यवहारको छुट्टै विश्लेषण गर्न अतिअवश्यक छ । सर्वोच्चमा न्यायाधीशको कुरा गर्दा न्याय प्रणालीको अवस्थालाई खासै प्रश्न गरेको पनि देखिँदैन । 

 

त्यस्तै सर्वेक्षण, जनगणना, तथा तथ्यांकमा आधारित भएकै कारण पनि ब्राह्मणवादको असमान तर विभिन्न सामाजिक तथा राजनीतिक परिदृश्यका बाबजुद पनि अपराधीकरण गर्ने प्रक्रियाको अवस्थालाई नकारेको देखिन्छ । रिजर्भेसनको विषयमा लेख्दा मेरिट पनि सम्भ्रान्त वर्गका निमित्त हजारौँ वर्षसम्म एउटा अभिन्न अंग हो भनेर केही वाक्यमा सीमित राख्दै लेखे पनि त्यसको जात व्यवस्थाबारे खासै केही लेखेकी छैनन् । भर्खरै हार्वड विश्वविद्यालयका प्राध्यापक अजन्था सुब्रमनियन (२०१९) ‘कास्ट इज द मेरिट’ भन्ने किताबमा मेरिट भन्ने शाब्दिक निर्माणले कथित माथिल्लो जातलाई नै सहयोग गरेको र उक्त मेरिटयुक्त विचारहरूले सीमित जातको विशेषाधिकार पनि दर्साउने दाबी गरेका छन् । 

 

नवउदारवाद तथा हिन्दुत्वको विकाससँगै कसरी ब्राह्मणवाद हिन्दुत्वमा परिणत भएको र विशेष गरी १९४० देखि नै एमएस गोलवालकरको आरएसएस र शिव सेनासँगै सन् २००२ पछि मोदीबाट गुजरात आतंक तथा त्यसपछिको भारतको सत्ताले हिन्दुत्वको अर्को रूप प्रस्तुत गरेको सवालमा किताबमा खासै केही भेटाउन सकिँदैन । 

 

अर्कोतिर, अम्बेडकरले आदिवासीविरुद्ध अपशब्द बोल्यो भन्ने तर्क राख्दै विशेष गरी अम्बेडकरले आदिवासीका निमित्त संविधान लेख्ने क्रममा संवैधानिक प्रावधानहरूका बारेमा गरेको संघर्ष र इतिहास र त्यसबाट हालसम्म भारतका आदिवासीलाई परेको प्रभावबारे ढाकछोप गर्दै अम्बेडकर र दलित आन्दोलनविरुद्ध आदिवासीलाई भड्काउन खोजेको पनि देखिन्छ । अन्त्यमा, माथिका विविध कारणहरूबाट एउटा कुरा प्रस्ट के हुन्छ भने किताबको निहुँबाट ब्राह्मणवादी समूह तथा लेखकहरू ज्ञानमाथिको नियन्त्रणका साथै दलित बहुजनको आवाज र आन्दोलनलाई दबाउन विभिन्न खाले चक्रव्यूह बुन्न खप्पिस भइसकेका छन् । तैपनि रोय र उक्त किताबको विरोधमा उठेका कैयौँ दलितका आवाज तथा आन्दोलनहरू अब कसैले छेक्न सक्ने वाला छैन । 

 

(रजक अम्बेडकर अध्येता हुन् भने टासी वेन्नर ग्रेन फेलो र वासिङ्टन विश्वविद्यालय सन्त लुइसका पिएचडी उम्मेदवार हुन् ।)