• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
कुमारी लामा
२०७८ असार १२ शनिबार ०७:०८:००
इतिहास

कैद समयमा पुँजीवादी रजाइँ

२०७८ असार १२ शनिबार ०७:०८:००
कुमारी लामा

एउटा अनौठो ऐतिहासिक हस्तक्षेपको चंगुलमा हामी छौँ । विनाकुनै जानकारी या विनाकुनै आभास नै । धेरैलाई लाग्दो हो आफूले बाँचिरहेको समय त नि:सर्त आफ्नो हो, जो उसले आफ्नो इच्छामा चलाइरहेको छ । बिहान उठ्नुदेखि, प्रातः टहलाई, चियाकफीका समय, काम जिम्मेवारीमा व्यतित हुने पलक्षण लाग्दो हो आफूअनुसार नै चलिरहेको छ । तर, भो अब त्यो भ्रमको पर्दा उघारौँ । समय निर्धारित छ । समय कसैको प्रभुत्वमा परिसकेको छ, हामी जन्मनुभन्दा निकै अघि नै । हामीले फेरेको प्रत्येक सास र गन्ती गरिने समय प्रभुत्वशाली ‘ग्रिनविच टाइम’ हो जो उन्नाइसौँ शताब्दीको उतराद्र्धतिर नै मानकीकृत (स्ट्यान्डराइज्ड) भइसकेको थियो । हामीले मानिरहेको समय उही मानकीकरणमा परेको युरोपियन समय हो । 

 

समयको कथा

 

उन्नाइसौँ शताब्दी अघि ‘समय’ एउटा निश्चित मापदण्डमा कैद थिएन । विश्वभरको समय–तालिका एक थिएनन् । सूर्यको गतिअनुसारको आ–आफ्नै स्थानीय समयमा चल्ने गर्थे सबै । प्रकृतिसँगको मीठो तादाम्यतामा रहेको मानव समाज सूर्यको हिँडाइ, झ्याउकिरीको गनगन, हावाको बहावमा या पानीको फाटफुटसँगै समय र ऋतु परिवर्तनका चाल मार्थे । त्यसैअनुसार समय अघि बढ्थ्यो । जीवन निर्वाह भएकै थियो फरक लयमा । समयलाई एउटै बनाउनुपर्ने दर्कार नै थिएन । उन्नाइसाैँ शताब्दीको उत्तराद्र्धतिर जब बेलायतमा रेलवे लाइनको विस्तार थालियो तब उनीहरूले समयको कडा तालिका निर्धारणको महसुस गरे । त्यसताका बेलायतभर पनि एउटै समय थिएन । स्थानीय टाउन सेन्टरमा घन्टाघर हुन्थ्यो जसले नगरवासीलाई स्थानीय समयको जानकारी दिने गथ्र्यो । त्यही समयअनुसार उनीहरू चल्थे । रेलवे सञ्जालको विस्तार र सञ्चालनसँगै एक निश्चित समयको आवश्यकता प¥यो । खासमा रेलवे सञ्जालबाहेक अन्य उद्योगका लागि यति कठोर समय निर्धारणको सरोकारै थिएन । विभिन्न ठाउँका स्थानीयवासीले पछिसम्म पनि देशभर लादिएको समयको एकरूपतालाई स्वीकार गरेका थिएनन् । 

 

रेलको चुस्तदुरुस्त सञ्चालनका लागि त्यसैताका एक अमूर्त र सर्वमान्य समय–तालिकाको निर्धारण गरियो । टेलिग्राफ र रेलको सञ्जालसँग जोडेर लन्डनभर एउटै समय सिग्नल थालियो । त्यही समयबाट स्वतन्त्र र सत्य मानिएको समयले आफ्नो अस्तित्व गुमाई एक मानकीकरणमा कैद हुन पुग्यो । ब्रिटेनले सन् १८८० मा त कानुनमार्फत नै ग्रिनविच मिन टाइमलाई वैधता दिलायो । युरोपका अन्य देश र अमेरिकामा पनि त्यसै समयतिर केबल लिंक स्थापना भइसकेकाले बिट्रेनले संस्थागत गरेको समयलाई नै उनीहरूले पनि औपचारिक रूपमा स्वीकार गरे । त्यसै समयबाट ग्रिनविचले दु्रतगतिमा विश्वको औपनिवेशिकीकरण सुरु गरेको दाबी गर्छन् जागो मोरिसन । त्यतिन्जेलमा समयसँग जोडिएका पूर्ववत् मान्यता र धारणाहरू उग्र रूपमा परिवर्तित भई एउटा ग्रिनविच टाइम जोनभित्र कैद हुन पुगिसकेको थियो । 

 

आज विश्वलाई नै एक वैश्विक गाउँ मानिएको सन्दर्भमा ब्रिटेनको त्यही कदमबाट नै समयको वैश्विकीकरणको विजारोपण भएको देखिन्छ । समय आफ्नौ जैविक या खगोलीय समयचक्रमा नभई ‘ग्रिनविच टाइम’मा विलय भएको छ जसलाई राजनीतिक विचारक ड्यान थु ङुयनले ‘गणितीय आख्यान’ भनेका छन् । त्यसैताकाबाट मानिसको समय र स्थानका विशिष्ट अनुभूतिहरूलाई गणितीय सूत्रले निमिट्यान्न पारिदिएको छ । त्यो त केवल सुरुवात थियोः तत्पश्चात् विश्वभर फिँजाइएको समयको प्रभुत्व झन् दर्दनाक छ । 

 

कैद समयमा मानव दोहन

 

बेलायतले निर्धारण गरेको मानक समय बिस्तारै विश्वका अन्य देशहरूले स्वीकार गर्दै गए । नगरोस् पनि कसरी ? त्यसवेलाको बेलायतको साम्राज्यवादी प्रभुत्वले सारा विश्व हल्लाएकै थियो । एसियादेखि अफ्रिकासम्मको औपनिवेशिक कब्जा अझै खुकिलिन बाँकी नै थियो । बेलायतलगायत युरोपका अन्य देशहरू नै औद्योगीकरणको उत्कर्षतिर हानिएको थियो । युरोपले समयको सर्वमान्यतालाई अंगीकार गरेसँगै मानव दासताको अर्को युग सुरु भयो । यसले सबैभन्दा बढी असर पारेको थियो रेलवे विस्तार र अन्य उद्योगमा कार्यरत श्रमिक वर्गलाई । उनीहरू उद्योगको समय–तालिकामा कैद भएका थिए । पुँजीवादी उत्पादन प्रणालीले समय व्यवस्थापनको नाममा अत्यन्त कष्टकर र जटिल समय प्रणालीको चंगुलमा सम्पूर्ण श्रमिक वर्गलाई पारिसकेको थियो । रेलका चालकहरू १६ घन्टासम्म गर्नुपर्ने समयको कठोर तालिकामा कैद भई पूर्ण रूपमा समय–तालिकाको दासमा परिणत भइरहेका थिए । पुँजीवादी उत्पादन प्रणालीले मानिसलाई कारखानाको मेसिन र निर्धारण गरिएको समय–तालिकाको गतिमा चल्नुपर्ने बाध्यता सिर्जना गरिदिएको थियो । औद्योगिक युगमा मानिस आफ्ना मानवीय गुणहरूबाट अलग भई यान्त्रिक जीवमा हेलिएका थिए । त्यसको अन्तर्यमा पुँजीपतिले लाखौँ श्रमीकमाथि थोपरेको समयको अमूर्त र अमानवीय मोडेलको प्रभुत्व थियो । 

 

मानिसको दासत्व र दोहन खासमा औद्योगिक समयभन्दा निकै पुरानो परिघटना हो । एथेन्स नगर राज्यको उत्पत्तिकै समयमा नै कुलीन मालिक र दासहरूबीचको सम्बन्ध शोषणपूर्ण रहेको थियो । मालिकहरूको दोहनलाई झन् बढी बढाएको थियो वस्तुको उत्पादन र बिक्रीसँगै अघि बढेको मुद्रा उत्पादनले । त्यसैताका नै पुँजीवादको बीजारोपण भएको स्पष्ट हुन्छ । मुठीभरका मालिकहरूले असंख्य दासहरू तहमा राखी साना उद्योगदेखि अन्य काममा दलाउँथे । उत्पादनको विकास र विनिमयको विस्तारसँगै दास मालिकको निश्चित वर्ग विभाजित भएको समाज वर्गीय चक्रको नवीन भुमरीमा परेको फ्रेड्रिक एंगेल्सको ठम्याई छ । यसको मतलब आजको भूमण्डलीकृत पुँजीवादको जरा नगर राज्यको स्थापनाकालीन सुदूर समयसँग जोडिन्छ । सोह्रौँ–सत्रौँ शताब्दीबाट नै पुँजीवादी युगमा फड्को मारेको विश्वले समयसँगै विविध रूप परिवर्तन गरी उन्नाइसौँ शताब्दीमा आइपुग्दा भने पुँजीवादले नांगो रूप देखाएरै छाड्यो । युरोप निर्मित समयको प्रभुत्व र पुँजीवादी उत्पादनको जगजगीमाझ श्रमिक वर्गको दलनले पराकाष्ठा छोयो । उनीहरू उद्योगधन्दा कलकारखानाको यन्त्रको गतिमा चल्ने मेसिन मानवमा परिणत भए । 

 

विश्वको औद्योगिक क्रान्तिलाई महिला स्वतन्त्रताको द्योतकका रूपमा धेरै विश्लेषकहरूले हेर्ने गर्दछन् । तथापि, धेरै समाज चिन्तकहरूको फरक मत छ । उद्योगधन्दाको वृद्धिसँगै महिलाहरूले घरको सीमित धेराभन्दा बाहिर आई काम गर्ने स्वतन्त्रता पाए । महिलामाथि लामो समयदेखि थोपरिएको पितृसत्तात्मक पकडलाई औद्योगिक क्रान्तिले भन्जन गरेजस्तो देखिए तापनि खास अन्तर्यमा रहेको कुरातिर विमर्श जरुरी छ । उन्नाइसौँ शताब्दीको सुरुवातसँगै औद्योगिक क्रान्तिमा पश्चिमी मुलुक होमिएको बखत कलकारखानामा काम गर्ने मनग्ये मजदुरको आवश्यकता थियो । समाजको ठूलो हिस्सा रहेको महिलालाई घरभित्र मात्र थन्क्याएर त ती उद्योगहरूका लागि आवश्यक पर्ने श्रमिकको आपूर्ति मुस्किल थियो । त्यसैले महिलाहरू घर–घरबाट बाहिर निकाली कारखानाहरूमा मजदुरीका लागि भर्ती गरिए ।

 

घरघेराबाट बाहिर निस्किन पाएका महिलाजनले त्यसैलाई आफ्नो स्वतन्त्रतासँग जोड्नु अन्यथा थिएन तर तत्पश्चात् के भयो भन्ने कुरा महŒवपूर्ण छ । घरबाट मात्र नभई सानो ठाउँबाट उद्योग सञ्चालन भएको नगरतिर मानिसको लस्कर बढेसँगै सामाजिक परिदृश्य पनि परिवर्तन हुनपुग्यो । पारिवारिक विगठन, प्रेमविवाह, एकल परिवारजस्ता मान्यताको स्थापना पुँजीवादकै उपज भएको समाजशास्त्री चैतन्य मिश्रको दाबी छ । निश्चित रूपमा औद्योगिक विकास र पुँजीवादी समयसँगै पहिलेको पारिवारिक संरचनामा समाज चलिरहन सक्ने सम्भावना भएन । संयुक्त परिवारको भन्जन र प्रेमविवाहलाई बढावा दिने काम पनि औद्योगिक विकासले ग¥यो । पहिलाभन्दा निकै स्वतन्त्र भइसकेका कारखानामा काम गर्ने मजदुर महिलाहरू प्रेम र स्वमर्जीको विवाहतिर पनि लागे । तर, यसका बाबजुद निर्धारित समयको पाबन्दी र पुँजीवादी उत्पादन प्रणालीको दोहनमा त उनीहरू परिसकेकै थिए । 

 

उत्पादनको विकास र विनिमयको विस्तारसँगै भिन्न आयाम पक्डिएको पुँजीवादी व्यवस्थाले चालै नदिई मानिसलाई नै वस्तुमा (कमोडिटी) परिणत गरिसकेको थियो । भलै मानिसको कमोडिफिकेसनको जरा ट्रन्स एटलान्टिक स्लेभ ट्रेडको समयतिर नै व्यापक भइसकेको थियो । औपनिवेशिक समयमा अफ्रिकन दासहरू मानिस नभई दासबजारमा बिक्री हुने वस्तु भइसकेका थिए । पुरुषको शारीरिक सुगठन र महिलाको स्तनको आकारलाई हातले नापेर किनबेच गरिने समय केही सय वर्ष पुरानो मात्र न हो । पुँजीवादी उत्पादन सम्बन्धको जरा माल अर्थव्यवस्थासँग जोडिएको छ । आधुनिक पुँजीवादी समयमा आइपुग्दा मानिस यान्त्रिक मात्र नभई मालमा पनि परिणत भइगए । मालकरणको सिलसिलमा महिला शरीर अझ बढी दोहनमा परेको छ । भारतीय कवि कात्यायनीले उप्काएको कुरा निकै सह्राहनीय लाग्छ । उनको दाबी छ कि पुँजीवादी विकासले घरको चौघेराबाट बाहिर निकालेका महिलाहरू आज बजारको चरम निरंकुश उपभोक्तावादी संस्कृतिका कारण पूर्ण रूपमा वस्तुमा रूपान्तरित भएका छन् । उनीहरूको शरीर र सौन्दर्यको सौदा यही बजारले गर्छ र वस्तुसरह बिक्री गर्छ, उपभोक्ताको स्वादअनुसार । महिला शरीर पुँजीवादी उपभोक्तावादको चरम दोहनका सिकार भएका छन् । 

 

कैद समयतिरै 

 

समयमाथि नै गणितीय मिलानको किर्ते गरी विश्वलाई समय प्रभुत्वमा कैद गर्ने पश्चिमी शक्तिहरू उसै चुप लागी बस्ने कुरै भएन । आर्य नश्लीय शुद्धताको सनक चढेपछि हिटलरले दोस्रो विश्वयुद्धको ताण्डव मच्चाए । डहाउ र अस्विचजस्ता अनगिन्ती कन्सन्ट्रेसन क्याम्पको ग्यास चेम्बर र स्लटर हाउसहरूमा विनाकारण लाखौँ यहुदीहरूको नरसंहार गरे । उसको आफ्नै पतन पनि निश्चितै थियो, र भयो । दोस्रो विश्वयुद्ध नै मानवसंहार र ध्वंसीकरणको यस्तो बिन्दु बन्यो जहाँबाट फेरि विश्वले पुँजीवादी विकासको नवीन लय पक्रियो । तर, विचार गर्नुपर्ने कुरा के छ भने पुँजीवादी उत्पादन सम्बन्धको जग विभेद हो, शोषण र दोहन नै हो । विश्वयुद्धले निम्त्याएको विध्वंसलाई थोरै सम्याउनु थियो शक्ति राष्ट्रहरूलाई । सायद अलिकति चोख्याउनु थियो होला यतिन्जेल गरेको नरसंहार र हतियार व्यापारबाट गरेको आर्जनलाई । युद्ध त खासमा व्यापार हो, हतियारको । धनी देशहरू विश्वका विभिन्न देशमा युद्धको वातावरण तयार गरिदिन्छन् र गर्छन् भरमार हतियारको व्यापार । पल स्विजीको विश्लेषणमा आर्थिक मन्दीको घोर निराशामा डुबेको अमेरिकी समाजलाई उकास्ने काम रुजबेल्टले सन् १९३७ मा ल्याएको न्यु डिल र चालिसको दशकमा अत्यधिक बढेको मिलिटरी सामग्रीको बिक्रीले गरेको थियो । दोस्रो विश्वयुद्ध चर्केसँगै अमेरिकाको बेरोजगारी स्वाट्टै हराएको थियो । तब न युद्ध त व्यापार हो पुँजीवादी ठूला राष्ट्रहरूको । उनीहरू त केवल व्यापार गर्छन् र नाफा पोको पार्छन् । उनीहरूलाई खास मतलब रहन्न मानवीय क्षति र विध्वंशमा परेको मानव जीवनको । 

 

दोस्रो विश्वयुद्धको समयमा धेरै नेपाली जनजाति युवाहरू गोरा र राणाको सौदाबाजीमा परेको कुरा जगजाहेर नै छ । ती युद्धमा पहाडी युवाहरूको रगत र दोहनको कथा लुकेको छ । युद्धपश्चात् २००२ सालतिर ब्रिटेनले वार्षिक १० लाख रुपैयाँ र एकमुष्ठ २१ लाख रुपैयाँ नेपाललाई दिएको कुरा सरदार भीमबहादुर पाँडेको खुलासा छ । के रहेछ र युद्ध भन्नु, जनताको रगतसँग गरिने मोलतोलबाहेक । पुँजीवादी अर्थ–व्यवस्थाको यस्तै निकृष्ट रूपको साक्षात्कार गरिरहेको छ हाम्रो समय । अझ अचम्मको कुरा त के भने तिनै देश जो सारा विश्वमा युद्धको खेती गर्छ फेरि उनीहरू नै मानवताको पाठ पढाउँदै सहयोगको नाटक गर्छन् । खासमा अमेरिकी मार्सल प्लानले पनि त्यही गरेको न हो । खतरनाक कुरा त स्विजीले भनेजस्तै सहयोगको नाममा कुशलतापूर्वक प्रक्षेपण गरिएको विस्तारवाद नै त हो । खासमा अमेरिकी पुँजीवाद त सैनिकवाद र साम्राज्यवादी विस्तारमै केन्द्रित रहेको जो–कोहीले भेउ पाइसकेका छन् । 

 

आजको विश्व प्रभुत्वशाली युरोपियन समय र साम्राज्यवादी अमेरिकी पुँजीवादको फन्दामा परेको पक्कै हो । नेपाल पनि यही भूमण्डलीकृत पुँजीवादी व्यवस्थाको चक्र र नवउदारवाद नामक पश्चिमा पासोमा नराम्ररी अल्झेको छ । स्वतन्त्र बजार र निजीकरणको नाममा देशका विकट गाउँसम्म बहुराष्ट्रिय कम्पनीहरू पसिसकेको आजको संगीन अवस्थामा हाम्रो देशले यहीँको माटो र समाज सुहाउँदो अर्थ–व्यवस्थाको वैकल्पिक खोजमा लाग्नु अपरिहार्य भइसकेको छ ।