
‘सुन भोटै छ, नुन भोटै छ, भोटे साहू भोटै छ ।
क्या गर्नु हे दैव ! दुख्यारीका करम खोटै छ ।’
मालको चुचुरोमा हिउँको सेतो रङ पोतिएको थियो । त्यही हिमालको मुनि साना–ठूला रूखहरूले घेरेको डाँडागाउँ हिमालको हत्केलामै बसेजस्तो लाग्छ । ढुंगा, माटो र काठले बनेको तीनतले घर । सबैभन्दा तल्लो तला गाईगोरु र हिउँदमा राख्ने बनाएका हुन्थे । बीच र माथिल्लो तलामा मान्ठ बस्ने ठाउँ । एउटै चुलोबाट छुटेका मौउ (परिवार) एउटै घरका फरक–फरक कोठामा आ–आफ्नो चुलो बनाएर बस्ने । जाडोदेखि बच्न एउटै बर्कोमा गुटमुटिएको जस्तो, एक–अर्कासँग टाँसिएर बसेका जुम्ल्याहा घरहरू, एउटा घरको थाडा (छत) चढ्दा अर्को घरको आँगन सुरु भैजान्छ । ठिक लिस्नु चढ्याजस्तै । टाढाबाट हेर्दा घरमाथि टेकेर घर उभिएको जस्तो देखिन्छ ।
रित्तो थैलो काखी च्यापेर पुनिमल घर आइपुग्दा छोराछोरीहरू धुलोमा बसेर बुबालाई हेरिरहेका थिए । आज पनि बुुबाको हातमा रित्तै थैलो देखेर सानी छोरी कमला र छोरा शान्त सुँक्कसुँक्क गर्दै रुन थाले । ठूली छोरी शान्ति उँधोमुन्टो पारेर चुपचाप धुलोमै खेलिरही । रित्तो थैलोलाई आधा रित्तिसकेको फापरको घम(भकारी)माथि राख्दै पुनिमलले भन्यो, ‘आइपन केही जोहो भएन ।’ लोग्नेतिर हेर्दै नहेरी उजेली एकसुरले चोती घोट्दै थिई । चुलोमा लगर (फापरको रोटी) पाक्दै थियो । मसिनो पाइपले निकैबेर फुकेपछि एक चोक्टो लाइटोमा बल्लतल्ल ह्वात्त आगो बाल्यो । आगोसँगै उडेको थप्तुल (फिलिंगो) र खरानीले उजेलीलाई सेताम्य बनायो । थप्तुल, खरानी र धुवाँले साँघुरो घरलाई सर्लक्कै ढाकिदिएको थियो ।
साँघुरो घर, जहाँ भित्तामा दाउरा कोचेर पुराना टालोहरू तुर्लुंग झुन्ड्याएको थियो । पुनिमल र भाइ छुट्दा एउटै कोठालार्ई बीचबाट फल्याकले बारेर दुईटा कोठा बनाएर छुटेका थिए । फल्यास सुकेर फाटेको ठाउँबाट वारपार नदेख्न र हावा छेक्न पुरानो धोती टाँगेको थियो । चुलो छेउछाउमा सानाठूला गरी तीनचार ताउलो र बटुको छरपस्ट थिए ।
सन्नाटालाई चिरेर निकैबेरसम्म ओसिएको दाउराबाट चुइँचुइँ आवाज आइरह्यो । सुल्पामा तमाखु भर्दै गर्या पुनिमलतिर हेरेर उजेलीले भनी, ‘क्या गर्नु ! सबैको हाल उही त हो । काम छैन । कुनै पनि गाउँमा आउनजान दिएको छैन । दे (खै) क्या पो रोग आइगो, कहिले नीलो हुन्या हो !’
सुल्पालाई चुलोमा अड्याएर पुुुुुनिमलले धेलोनेरको दुईबीस (चालीस पाथी) फापर अटाउने घम खोलेर हेर्यो । घममा आधाभन्दा नि कम फापर थियो । खुट्टा उचालेर घमभित्र हात गाडेर अनुमान गर्यो– एकबीस जति त होला, यति फापर पिस्दा पन्ध्र–सोह्र दिनलाई पुगिजाला । घमको छेवैमा भर्खर खाडलबाट निकालेको पाँच–छ डल्ला चोती थियो । त्यहीँबाट पुनिमलले चारैतिर नजर घुमायो । घरमा अरू खानेकुरा केही थिएन । छोराछोरी र बूढीआमा सम्झेर उसको मन चसक्क भयो ।
जग्गा–जमिन न नभएको होइन । एउटा जग्गा भिरालो ठाउँ थियो । जसलाई बीचबाट भाग लगाएर दाजुभाइ छुटेका थिए । सबैले आफ्नो भागमा परेको जग्गाको वरिपरि खनेर दुईबीस फापर फाल्ने जग्गा बनाएको थियो । तैपनि खस्रो माटो र भिरालो जग्गामा जति पाखुरा बजारे पनि बाली हुँदैनथ्यो । पुनिमलको मौउ निक्कै मिहिनेत गरेर एक वर्ष फापर र एक वर्ष चिनु, कागुनी फल्थ्यो । फापर र चिनुको बीच–बीचमा सिमी छर्थी– उजेली । तर, जेजति गरे पनि खान पुग्दैनथ्यो । बजारको महँगो सामान किनेर खान उनीहरूको आर्थिक स्थितिले भ्याउँदैथ्यो । बाँकी छकाल–बाहाको छाक अरूको खेतबारीमा काम गरेको ज्यालाले टार्नुपर्थ्यो ।
उजेली आफ्नो काम सकाएर ओल्लोपल्लो गाउँमा दाउरा टिप्ने, गोडमेल गर्ने, घाँस काट्ने, ढुंगा ओसार्ने काम गर्थी । पुनिमल पनि हलो जोत्ने, ढुंगा ओसार्ने, दाउरा चिर्ने गथ्र्यो । त्यही काम गरेको ज्यालाले केही छकाल बाहा टार्थ्यो । बर्खा लागेपछि पुनिमल कटुकी, बुल्ते, सतुवा आदि जडीबुटी खनेर छोराछोरीको कापीकलम र लुगाफाटो किन्ने पैसा कमाउँथ्यो । दुई–तीन वर्ष यार्चा टिप्न जाँदा यार्चा नभेटेपछि उल्टै ऋण बोकेर फर्किनुपरेको थियो । त्यसपछि यार्चाको पछि लाग्न छाडिदियो । बरु ताक्लाकोटमा ज्याला–मजदुरी गर्न जान थाले । कार्तिक–मंसिरमा पुनिमल मैदा, चामल, सलाई र हिउँदका लागि एक–एक जोर जुत्ता बोकेर फर्कन्थे । त्यही सामान हिउँदमा निकै फारु गरीगरी खाएर ताक्लाकोट नखुलुन्जेल पुर्याउनुपर्थ्यो ।
खिरौँला र पिँडालु खन्ने वेला बैकिनीहरूले गाएको देउडा गीतको मीठो ध्वनि हावाका लयमा नाच्दै–नाच्दै पूरै वनमा गुन्जिन्थ्यो । तल बगिरहेको कर्णाली नदीतिर हेरेर उजेली पनि गाउँथी ।
पुनिमलकी बूढीआमा लौरो टेकेर घट्ट ढुक्न जान्थी । दिनभर घट्ट पिस्न आउने मान्ठहरूको पिठो चाल्ने, पिसेको पिठो जम्मा गरेर थैलोमा हाल्न सहयोग गर्थी । बेलुका घट्टमो लापी (घट्ट ज्याला) नातिनातिनीहरूलाई बोकाएर घर ल्याउँथी । त्यो घट्ट पुनिमलको बुबाले बनाएको थियो । वरिपरिका गाउँमा राम्रो घट्ट नभएकाले गाउँलेहरू उनीहरूकै घट्टमा आउँथे । दाजु भाइ छुट्दा घट्ट आमाको जिउनी छुट्याएको थियो । अरू छुट्दा जिउनी जग्गाजमिन छुटाउँथे, तर उनीहरूसँग जग्गाजमिन थिएन । एक गाउँबाट अर्को गाउँमा आवतजावत बन्द गरेदेखि पल्लो गाउँका मान्ठहरू ढिलै भए पनि आफ्नै गाउँको घट्टमा पालो ढुकेर बस्थे । सुरुसुरुमा दुईचार दिन कोही नआए पनि आमा दिनभर घट्ट ढुकेर बेलुका घर फर्कन्थी । धेरै दिनसम्म पनि कोही नआएपछि घट्ट जान छाडिदिई । त्यसपछिका दिनहरूमा आधा लगर (फापरको रोटी) पानीसित खाएर उनी घरछेउको ओखरको रूखमुनि बसिरहन्थी ।
गाउँमा आवात–जावत बन्द हुनुअघि पुनिमलले पल्लो गाउँमा दुई दिन ढुंगा ओसारेको थियो । दुई दिनको ज्याला आठ पाथी चिनु जाँदा रित्तै थैलो बोकेर ऊ घर फर्किए । निकै दिनसम्म पनि गाउँमा आउन–जान बन्द गरेपछि गहिरो अनिश्चितताले उसलाई ढाक्यो । रोगको बारेमा उसलाई केही थाहा थिएन्, तर साना छोराछोरी र बूढीआमाको भोको अनुहार उसलाई भयानक लागिरहेको थियो । पुनिमल हरेक बिहान घम खेलेर हेथ्र्यो । फापरको घम रित्तिदै जाँदा उसको धड्कनको गति बढ्दै जान्थ्यो । उसलाई रोगसित होइन, भोकसित डर लाग्न थालेको थियो ।
उजेली निकै फारु गरीगरी खाना पकाउँथी । आमा र छोराछोरीलाई आधा पेट खुवाएर, आपूmहरू एक छाक मात्र खाएर बस्थे । सानी छोरी भात खान्छु भन्दै रुन्थी । हुन पनि भातै नदेखेको तीनचार महिना भइसकेको थियो । कहिलेकाहीँ खाद्य संस्थानले चामल दिँदा पैसा हुँदैनथ्यो । पैसा भएका वेला चामल पाउँदैनथ्यो । उनी दिनभर लाइन बसेर पालो पर्खँदापर्खँदै उनको पालो कहिले आएन । दुईपटक उनी खाद्य संस्थानको ढोकासम्मै पुगेका थिए । तर, प्रत्येकपटक पालो आउने वेलामा ठूलाठालु, पहुँचवालाहरूले पालो मिच्दा रित्तै थैलो काखी च्यापेर घर फर्किनुपरेको थियो । रोग आउनु पहिले नै भोक युद्ध त लडिरहेकै थियो, तर रोग आइसकेपछि भोक झन् भयानक डर लाग्दो बनेर आएको थियो ।
लकडाउन भएको अठारौँ दिन फापरको घम खोलेर हेर्दा पूरै रित्तिसकेको थियो । अब के गर्ने ? यही कुरा सोचेर उजेली र पुनिमल दुवैलाई रातभर निद्रा लागेन । न जोहो गर्न अन्त जाने ठाउँ थियो न उनीहरूलाई सरसापट दिने नै कोही थिए । गरिब नै भए पनि यति धेरै गरिबीको आभास उनीहरूलाई यसअघि कहिले भएको थिएन ।
फापर सकिएको भोलिपल्ट उजेलीले सिस्नु फाँडो बनाई । तीनचार दिन सिस्नुको फाँडो खाएर बिताए । त्यसपछि पुनिमल र उजेली कुटो र रित्तै थैलो बोकेर वन जान थाल्यो । खिरौँला र पिँडालु खनेर घर फर्कन्थ्यो । रित्तो पेट बाआमा कुरिरहेका छोराछोरी र बूढीआमालाई खिरौँला र पिँडालु उसिनेर दिन्थे । पिँडालु खाँदा शान्ति भातको स्वाद सम्झिने पटक–पटक कोसिस गर्थी, तर उसको जिब्रोले भातको स्वाद बिर्सिसकेको थियो । उजेली बूढीआमालाई पिँडालु र खिरौँला मुछेर दिन्थी । पानीसित कपाकप पिँडालु र खिरौँला खाएर उनी चुपचाप बसिरहन्थी । गुनी (बाँदर÷लङ्गुर)को खाना (हुम्लातिर खिरौँलालाई गुनीको खाना पनि भनिन्छ ।) पनि खानुपर्ला भनेर उनले कहिले सोचेकी थिइनन् । किककिक गर्दै पिँडालु र खिरौँला खाइरहेकी आमालाई हेर्न नसकेर पुनिमल कोप्चोतिर फर्केर आँसु पुछ्थ्यो ।
भाइको कोठामा रेडियो बजिरहेको हुन्थ्यो । रेडियोले दिनमा यतिजना कोरोना लागेर मरे, कैयन मजदुरहरू भोक–भोकै पैदल घर फर्के भनेर सुनाउँथ्यो । कताकता राहत बाँडेको समाचार सुन्दा पुनिमललाई अलिकति आस र साहस पलाउँथ्यो ।
हुनेखानेहरू थाडामा घाम तानेर बसिरहेका हुन्थे । घमहरू रित्तिँदै जाँदा दैनिक काम गरेर छकालबाहा टार्नेहरूको घरबाट रित्तो भाँडाकुँडाको आवाज ठूलो हुँदै जान्थ्यो । खिरौँला र पिँडालु खन्ने वेला बैकिनीहरूले गाएको देउडा गीतको मीठो ध्वनि हावाका लयमा नाच्दै–नाच्दै पूरै वनमा गुन्जिन्थ्यो । तल बगिरहेको कर्णाली नदीतिर हेरेर उजेली पनि गाउँथी :
‘सुन भोटै छ, नुन भोटै छ, भोटे साहु भोटै छ ।
क्या गर्नु हे दैव ! दुख्यारीका करम खोटै छ ।’
यस्तो लाग्थ्यो उनी गीतबाटै आफ्नो दुःख कर्णाली नदी र हिमालहरूलाई सुनाइरहेकी थिई ।
राहत बाँड्नै कोही आउँछ कि भनेर पुनिमल पटक–पटक थाडाबाट हेथ्र्यो । लामो समयसम्म पनि कोही नआउँदा उसको आशा मरिसकेको थियो । पहिले राहत बाँडेको समाचार सुन्दा केही आस र साहस पलाएझैँ हुन्थ्यो । अब उसलाई राहतको समाचारदेखि दिक्क लाग्न थालेको थियो ।
एक दिन थाडामा बसेर खरानी उडाएर ताजा पारेको तमाखु तान्दै सोचिरहेको थियो– गरिबको दुस्मनी आखिर कोसित ? रोग, भोक या ठुलाठालुसित माठसित ? रोगसित लड्नु कि भोकसित ? उसको मनमा अनेक प्रश्न उठे । तर, उत्तर थिएन ।
दिन, दिनदिनै लम्बिँदै गइरहेको थियो । हरेक दिन चरक्क चर्को घाम लाग्थ्यो । बन्दाबन्दी भएको पनि छब्बीस दिन भइसकेको थियो । डाँडागाउँमा स्वास्थ्यचौकी थिएन । पखाला लागेर बूढीआमा निकै कमजोर देखिन थालेकी थिई ।
दिनभर ओखरको रुखमुनि बसेर बूढीआमा चामल र मैदालाई सराप्थी । ‘उहिले चामल र मैदा केही नहुँदा पनि भोकै बस्नु पर्या थिएन । आफ्नै जिउलामा फलेको अन्न फारु गरीगरी खाइन्थ्यो । आपत्विपत् पर्दा काम लाग्ला भनेर फापर, चिनु, कोदो, कागुनो आदि जोहो गरेर राखिएको हुन्थ्यो । सिस्नु, मर्सी, रादे (फर्सी) आदि पनि सुकाएर राखिन्थ्यो । चामल र ताक्लाकोटे मैदाले त हामीकन अर्का मुख ताक्ने बनाइगो ।’
बन्दाबन्दी भएको महिना दिनपछि एक साँझ गाउँमा राहत बाँड्ने मान्ठहरू आए । मलिन अनुहारहरूमा खुसी छायो । पुनिमल र उजेली भोलिको पर्खाइमा थिए । खुसीले उनीहरूलाई रातभर ङित लाग्या थिएन ।
छकालै गाउँलेहरू राहत दिने ठाउँमा पुगे । पुनिमल र उजेली पनि हतारहतार पुगे । उनीहरूको आशा थियो, धेरै नभए पनि तीनचार पाथी चामल त कसो नदेला । तर, राहत लिने ठाउँमा पुग्दा उनीहरूले सबैको हातमा रित्तो थैलो मात्रै देख्यो । राहत थाप्न आएका मान्ठहरू गुनगुन गरिहेका थिए । कसैको अनुहारमा खुसी थिएन । पुनिमल र उजेली जब राहत बाँड्ने ठाउँमा पुगे– उनीहरूले देखेको मीठो सुइना नराम्रोसँग टुट्यो । पुनिमललाई पटक्कै राहत थाप्न मन लागेको थिएन । अचानक लाइनबाट निस्केर घर जान पनि सकेन । त्यसपछि राहतमा पाएको तीनवटा साबुनको डल्ला र केही मास्क, दाल र चामल हाल्न लगेको थैलोमा पोको पारेर बूढाबूढी घर फर्किए ।
बाटोभरि पुनिमलले अनेक कुराहरू सोच्यो । श्रीमतीसँग पनि खासै बोलेन । उसले सोचिरह्यो– पेट भोको छ । यो साबुन र मास्कले के गर्ने अब ?’ उसलाई त्यो पोका सिस्नुको झ्याङमा फालिदिउँजस्तो पनि लाग्यो । तर पालेन । चामल लिएर आउँछु भनेको छोराछोरीलाई अब के भन्ने होला ! सोच्दासोच्दै ऊ घर पुग्यो ।
दैलोनेर पुगेपछि उसको पाइला अघि सर्न मानेन । त्यहीँ अडिएर घरभित्रबाट आएको गुनगुन आवाजलाई सुनिरह्यो । घरभित्र बूढीआमा नातिनातिनीलाई भोक तर्साउने कला सिकाइरहेकी थिई ।
आमा भन्दै थिई, ‘उहिले–उहिले पनि गाउँमा यस्तै रोग आको थियो । उवेला पनि यस्तै एक गाउँबाट अर्को गाउँ जान मिल्दैनथ्यो । बाटोबाटोमा मान्ठहरू पालैपालो ढुकेर बस्थ्यो । भोटे अम्जीहरू त्यो रोगलाई ‘डुब’ भन्थे । त्यतिवेला अम्तै धोङ लाग्या (सबै परिवारको मृत्यु हुनु) थियो । त्यतिवेला पनि हाम्रो सबै घम रित्तिएको थियो । घरमा खाना नहुँदा हामी बच्चाहरू पेटमा चिसो पटुकी बाँधेर बस्थ्यौँ । बाआमा पनि उसै गरी काममा जान्थे । कहिले पेटमा पातलो, गोलो ढुंगा राखेर पटुकी बाँन्थ्यौँ । यसो गर्दा भोक कम लागेजस्तो हुन्थ्यो ।’ भिजाएको पटुकी पेटमा बाँधेर भोक भगाउने कला मेरी आमाले नातिनातिनालाई सिकाइरहेकी थिई । उहिलेको भोक भगाउने कला फेरि सिकाउन विवश थिई, आमा ।
भोको पेट च्यापेर रोइरहेका नातिनातिनीहरू बज्यैको कुरा सुनेर रुन छाडेका थिए । बज्यैले पटुकी बिझाएर कम्मरमा बाँधेदेखि शान्ति र शान्तलाई भोक हराएको जस्तो लागिरहेको थियो । तर, सानो नातिनी कमलाचाहिँ चिसो पटुकी बाँध्दा पनि भोक कम नभएकोमा बज्यैसित गुनासो गरिरहेकी थिई । बाहिर बसेर छोराछोरी र आमाको कुरा सुनिरहँदा पुनिमलको मुटु कामेको थियो । उसको आँखाबाट लगातार आँसु खसिरहेको थियो । त्यो आँसुले राहतमा पाएको साबुनको डल्ला र मास्क भिजाइरहेको थियो ।