• वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रोशन शेरचन
२०७८ असार २६ शनिबार ०९:१७:००
साहित्य

कविता : गोजीमा नाक

२०७८ असार २६ शनिबार ०९:१७:००
रोशन शेरचन

एक दिन एकाएक
नाक हरायो शीर्ष नेताको

 

अचम्मको खबर
नेटको लट्ठामा झुन्डिएर
गल्ली संसारमा फैलियो 
भयप्रद आशंका पनि फैलियो 
रहस्यमयी व्यक्ति चक्कु लिएर
साँझपख मान्छेको नाक काट्न निस्कन्छ 

 

सातौँ दिन ब्रेकिङ न्युजले अर्काे तरंग ल्यायो 
शीर्ष नेताको नाकको स्थानमा
अर्को नाक देखापरेको छ 

 

क्रमशः दोस्रो तहका नेता र कार्यकर्ताको 
नाक हराउने
र नयाँ देखिने 
धेरै खबर आउन थाले 

 

अचम्म त एकै व्यक्तिको
नाक पनि पटक–पटक फेरिन थाले

 

पजेरोमा गुड्दा
वा पैदल हिँड्दा 
नाकहरू एक–आपसमा ठोक्किएर 
नेताको गोजी बज्छ 
मानौँ
बालकले गोजीभित्र गुच्चाहरू खेलाइराखेको छ

 

मतदाताको घरदैलोमा 
भोट माग्न जाँदा
नेताजी
गोजीबाट एकमुट्ठी नाक निकाल्छ
र विनम्रताले नुहेको सानो नाक लगाउँछ
नेताको शिरभन्दा अगाडि निहुरिने फुचुरे नाक देखेर 
मतदाताको मन त्यसै–त्यसै पग्लन्छ

 

चुनाव जितेपछि 
फुचुरे नाकको आयु सकिन्छ
ठाडोखोलाको बाढीले
बस्तीलाई हुत्याएझैँ 
फुचुरे नाकलाई धकेल्दै
अकडले चुलिएको
बडेमाको नाक देखापर्छ 

 

‘क’ वर्गको ठेकेदारले प्रायोजित गरेको पार्टीमा 
बोझ मात्र हुन्छ नाक
नेता नाक निकालेर टेबुलको एउटा कुनामा राख्छ
नाकविहीन हुँदा 
सजिलो हुन्छ 
चियर्स गर्न 
मोलतोल गर्न
इजार फुकाल्न 
नाक नै नभएपछि
नाक जोगाउन सजिलो 

 

नयाँ नाक हुनेहरू
जे गर्न पनि तम्तयार
जैविक नाक हुनेहरू
दशतिर सोचेर त्यसै सुस्त

 

नाक फेर्नेहरूको
सफलताको कथाहरू
देशको दूरदराजसम्म फैलिएको छ 
नाक–पसल
गल्ली संसारको
चोक–चोकमा खुलेको छ
बेस्मारी फस्टाएको छ

 

अनेक रंग
आकार
र तौलका
नाकहरू उत्पादन भएका छन्
नाकका नयाँ भेरियन्टहरू पनि बजारमा आएका छन्
प्राइभेट कम्पनीहरू लगानी थप्दै छन् 
केही कम्पनीले आइपिओ जारी गरेको छ

 

नाक छान्न सजिलो होस् भनेर 
विश्वबजारले
एप्स बनाएको छ

 

अजिंगर र हाब्रेको छालाले मोडिएको 
विभिन्न नापका नाक राख्ने 
आकर्षक केसहरू बजारमा देखिएको छ 
गोजीमा थरीथरीका नाक बोकेर
हिँडिरहेका छन् नेता, कार्यकर्ता र सर्वसाधारण

 

हिजोसम्म
बरु मरुँला, जैविक नाक छाडिन्न भन्नेहरू पनि 
नाक पसलको लाममा उभिएका छन्