• वि.सं २०७८ श्रावण १२ मंगलबार
  • Tuesday, 27 July, 2021
दुुर्गा न्यौपाने
२०७८ असार २६ शनिबार १२:२९:००
रिपाेर्ट

पूर्व‘विद्रोही’को आत्मवृत्तान्त पढेपछि

२०७८ असार २६ शनिबार १२:२९:००
दुुर्गा न्यौपाने

नेतृ हिसिला यमीको पुस्तक ‘हिसिला : विद्रोहीदेखि प्रथम महिलासम्म’ पेन्गुइन बुक्सले भर्खरै प्रकाशित गरेको छ । भारतमा आर्किटेक्ट इन्जिनियरिङ अध्ययनकै क्रममा बाबुराम भट्टराईलगायत अन्य नेपाली विद्यार्थीको संगतले अखिल भारत नेपाली विद्यार्थी संघको माध्यमबाट नेपालको राजनीतिमा कदम उठाएकी अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को केन्द्रीय अध्यक्ष, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा १३ वर्षसम्म अध्यापन, राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ–संस्थासँग जोडिँदै सामाजिक कार्यमा पनि उत्तिकै पहलकदमी बढाएकी यी लेखकको राजनीति यात्रा अझै जारी छ ।

 

२०५२ साल फागुन १ गतेबाट सुरु भएको नेपालको १० वर्षे जनयुद्धमा सुरुका दिनबाटै जोडिन पुगेकी हिसिला नेपाल कम्युनिस्ट पार्टीको पोलिट ब्युरो सदस्य, महिला विभाग प्रमुख र अन्तर्राष्ट्रिय विभागकी सदस्य बनिन् । १० वर्षे जनयुद्धदेखि शान्ति प्रक्रिया हुँदै बृहत् शान्ति–सम्झौतापश्चात् खुला राजनीतिमा उनले गरेको योगदानबारे यस पुस्तकमा चर्चा गरिएको छ ।

 

दुईपटक संविधानसभाको सभासद् रहेकी उनले क्रमशः २०६४ मा अन्तरिम सरकारको भौतिक योजना तथा निर्माणमन्त्री, २०६५ मा काठमाडाैँ निर्वाचन क्षेत्र नम्बर ७ बाट संविधानसभा सदस्यमा निर्वाचित भएपछि पर्यटन तथा नागरिक उड्डयनमन्त्री र २०६८ सालमा भूमिसुधार तथा व्यवस्थापनमन्त्री बनिन् ।  संविधान निर्माणलगत्तै ३०औँ वर्षसँगै रहेको नेकपा (माओवादी) पार्टी परित्याग गरी २०७२ सालमा ‘नयाँ शक्ति पार्टी’ नेपालमा सामेल भइन् । हाल उनी जनता समाजवादी पार्टी नेपालको कार्यकारी समिति सदस्य छिन् । ६१ वर्षीय लेखकले ३६८ पृष्ठ लामो यो अंग्रेजी आत्मवृत्तान्तमा राजनीतिका तीता–मीठा भोगाइ, अनुभव, आरोह–अवरोह, सुख–दुःख सम्पूर्ण पाटाहरूलाई एक–एक गरी केलाएकी छिन् ।

 

प्रचण्ड छिटो निर्णय गर्न सक्ने नेता, तर शक्तिको भोको साथै अवसरवादी नेता भएको उनको ठहर छ । किरण बढी आदर्शवादी, शास्त्रीय मार्क्सवादी र चुनौती सामना गर्न नसक्ने नेतामा दर्ज गरेकी छिन् । बाबुराम बढी वैचारिक, तर संगठनका मसिना काममा कम चासो राख्ने व्यक्ति भएको उनको मत छ ।

 

तीन भागमा र ३८ विविध शीर्षकमा छुट्याइएको यो पुस्तकको पहिलो भागमा लेखकको बाल्यकाल पढ्न पाइन्छ । भारतमा काम गर्ने नेपाली मजदुर र नेपाली राजनीतिज्ञहरूसँगको भेटघाटले जीवनको लक्ष्य समाजलक्षित हुँदै गएको उल्लेख गरेकी छिन् । उनका पिता धर्मरत्न यमी नेपाली राजनीतिका चर्चित व्यक्तित्व भए तापनि सुरुवाती दिनमा राजनीतिभन्दा हिसिलामा लैंगिक सजगता बढी देखिन्छ । सातजना सन्तानमा सबै दिदी–बहिनीहरूले सरकारी विद्यालय पढेको र बुबाको सम्पूर्ण पैतृक सम्पत्ति एकल दाजुको नाउँमा रहेकाले यो किन भन्ने मनोगत सवालले उनमा लैंगिक सजगता देखाउँछ ।

 

पुस्तकको दोसो भागमा जनयुद्ध र पार्टीको दुई लाइन संघर्षबारे बृहत् चर्चा गरिएको छ । भूमिगत जीवन उनको जीवनको निकै ऊर्जावान् समय भएको उल्लेख गरिएको छ । पूर्णकालीन माओवादी बन्दा के–कस्ता मान्यताको सामना गरियो, नेताहरूसँगको सम्बन्ध, छलफल, व्यवहार, २१औँ शताब्दीको लोकतान्त्रिक विकासको रूपरेखा, भारतसँगको जनयुद्धकालको सम्बन्ध, अन्तर्राष्ट्रिय सम्बन्ध, रोल्पामा आधार इलाका, जनयुद्धभित्रका लैंगिक सवाल, पार्टीभित्र प्रेम, विवाह र बच्चाहरू, सांस्कृतिक समूह साथै नैतिकताको बहस, बलात्कार, दलित मुद्दा, राष्ट्रियता साथै पार्टीमा गणतन्त्रको मुद्दामाथि विजयका सवालहरू प्रमुख छन् । जनयुद्धले देशको मात्र होइन उनको आफ्नै जीवनमा पनि कायापलट ग¥यो भन्ने उनको ठम्याइ छ । नेतृत्वको भद्दा केन्द्रीकरणले कसरी पार्टीमा अन्तर्संघर्ष निम्त्यायो र जनयुद्धभित्रको पार्टीको आन्तरिक युद्धले कति हदसम्म मर्माहत गर्‍यो भन्ने विश्लेषण झनै मार्मिक छ । 

 

अरूले जस्तो लेखकले भौतिक रूपमा त्यति धेरै चोट खप्न नपरे पनि, जनयुद्धमा दुई लाइन संघर्षमा पार्टीभित्रै खप्नुपरेको अपहेलना, भेदभाव र पदबाट घटुवा, आपूmलाई सिध्याउनेसम्मको प्रयत्न आदि क्षणको सामना गर्दाको अनुभूति पीडादायी छन् । पार्टीमा निहित पितृसतात्मक पुरुषवादी चिन्तनमाथि खरो प्रहार छ । पार्टी हेडक्वार्टरमा प्रचण्ड, किरण, बाबुराम, बादल र दिवाकरसँग निरन्तर काम गर्ने मेसो मिलेकोे र को नेता कस्ता भन्ने खरो टिप्पणी गरिएको छ । प्रचण्ड छिटो निर्णय गर्न सक्ने नेता, तर शक्तिको भोको साथै अवसरवादी नेता भएको उनको ठहर छ । किरण बढी आदर्शवादी, शास्त्रीय मार्क्सवादी र चुनौती सामना गर्न नसक्ने नेतामा दर्ज गरेकी छिन् । बाबुराम बढी वैचारिक, तर संगठनका मसिना काममा कम चासो राख्ने व्यक्ति भएको उनको मत छ । बादल पार्टीको आन्तरिक संघर्षमा राजनीतिक अडान राख्न नसक्ने नेता भएको र शास्त्रीय अवधारणाप्रति उन्मुख व्यक्ति भएको उल्लेख गरेकी छिन् । संगत गरेका नेतामध्ये दिवाकर शालीन, भद्र र आदर्श कम्युनिस्ट भएको स्पष्टोक्ति छ । 

 

२०६१ सालमा रोल्पाको फुल्टीवाङको बैठकमा पार्टी केन्द्रका केही सदस्यले भारतमा धरपकडमा परेका नेताहरूको सवाललाई लिएर बाबुराममाथि शंका गर्दै दक्षिणपन्थी साथै भारतीय विस्तारवादको पक्षपोषण गरेको आरोप सुन्दा र हिसिला आफूलाई बुर्जुवा भएको आरोप सुन्दा नियन्त्रण गर्न नसकी अनायासै आँसु खस्दा बैठक हल छाडेर बाहिर निस्केको वृत्तान्तले पाठकको मन चसक्क घोच्नेछ । पार्टीको आन्तरिक संघर्ष, वर्गसंघर्षभन्दा बढी पेचिलो र पीडादायी हुने उल्लेख गरिएको छ । सम्पूर्ण उमेर पार्टी र जनयुद्धमा खर्चेकी हिसिलाले आफूलाई राजनीतिक कारबाही गर्दा त्यो कारबाहीलाई उनले २१औँ शताब्दीको राजनीतिक सती उपमा दिएकी छिन् । पार्टी दुई लाइन संघर्ष सहज हुँदा पार्टीका कामकारबाहीमा एकरूपता हुने साथै वर्ग दुश्मनलाई परास्त गर्न सहज हुने सवाल ऐतिहासिक चुनवाङ बैठकपछि प्रचण्ड र बाबुरामको सम्बन्धमा आएको सुधारको परिणाम कालिकोटको पिलीको आक्रमणमा जनमुक्ति सेनाको जित साथै यसले संसदीय पार्टीहरूमा माओवादीप्रतिको विश्वसनीयता बढेको, गणतन्त्रको एजेन्डा स्विकारिएको र माओवादी शान्ति प्रक्रियाउन्मुख भएको उल्लेख छ । 

 

पुस्तकको अन्तिम खण्ड– नयाँ सुरुवात शीर्षकबाट सुरु हुन्छ, जुन बढी पेचिलो र आलोचनात्मक छ । भूमिगत राजनीतिबाट पार्टी खुला राजनीतिमा आउँदै गर्दा २०६२/२०६३ मा दोस्रो जनआन्दोलन भयो । जसमा मध्यम वर्गको साथ लिँदै माओवादी काठमाडाैं छिरेको प्रसँग जोडिएको छ । अन्तत : जनयुद्धको जग र दोस्रो जनआन्दोलनले राजसंस्थाको अन्त्य र गणतन्त्रको उदय भयो । प्रचण्ड गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री बने । लेखकका शान्ति प्रक्रियापछिका पाँच वर्ष धेरै उर्वर रहे । तापनि पार्टीभित्रको पितृसत्तात्मक सोच र नजानिँदो दुई लाइन संघर्ष, गुट, उपगुट यहाँ पनि कायमै रह्यो । पालुङटार विस्तारित बैठकले पार्टीभित्र बाबुरामको लाइन मजबुत हुँदै गर्दा धोबीघाटको अनौपचारिक बैठकले पहिलोचोटि प्रचण्ड पार्टीभित्र अल्पमतमा परेको, फलस्वरूप प्रचण्डको बाबुरामलाई प्रधानमन्त्री बन्न नदिने बखेडा अल्पमतमा पर्‍यो र अन्ततः बाबुराम संघीय गणतान्त्रिक नेपालको चौथो प्रधानमन्त्री बनेको प्रसँग पुस्तकमा उल्लेख छ ।

 

नेपालको जनयुद्ध र त्यसपछिका परिणतिहरूबारे अंग्रेजी भाषामा यति विस्तृतमा सायदै पुस्तकहरू लेखिएका छन् । दशवर्षे जनयुद्धमा अर्थपूर्ण सहभागिता जनाएकी लेखकले यस पुस्तकमा राखिएका तथ्यपरक र स्पष्ट धारणाले उनको इमान झल्काउँछ ।

 

अर्थमन्त्री बन्दा जनताको मन जित्न सफल डा. भट्टराईले प्रम हुँदा पूर्ण बजेट ल्याउन राष्ट्रपतिबाट सहयोग पाएनन् । पार्टीभित्र र बाहिरबाट अनेक अवरोध सामना गर्दै काठमाडाैँको बाटो विस्तार, लगानी बोर्डको स्थापना, हेलो सरकार डेस्क सञ्चालन, भौतिक पूर्वाधार विकासका राष्ट्रिय गौरवका आयोजनाहरू विकास गरे, तर बजेट अभावमा यी कार्य अधुरा रहे । बाबुरामको साख गिराउन उता प्रथम महिला हिसिलालाई पार्टीभित्र र बाहिर उपेक्षा गरियो । यस पुस्तकको सबैभन्दा मार्मिक र हृदयस्पर्शी पक्ष यही हो । लेखकले नसोचेका परिघटना आफूमाथि थोपरिएको लेखेकी छिन् । जनयुद्धमा १० वर्ष भूमिगत जीवन भोगेकी, आर्थिक रूपमा अरूभन्दा राम्रो हैसियत भएकी यिनलाई विनाप्रमाण ‘कमिसनखोर’ र ‘भ्रष्टाचारी’को आरोप लाग्यो । ‘क्राइम टुडे’ पत्रिकाले दक्षिण एसियाकै ‘भ्रष्ट महिला’को आरोप लगायो । यसको खण्डन सबुतसहित कानुनबाट सफाइ पाएको लिखित प्रमाण प्रस्तुत गरिएको छ । यहाँसम्म कि एकजना विकसित देशको महिला राजदूतले डा. भट्टराईलाई हिसिलासँग पारपाचुके गर्न दिएको सुझाब सुन्दा उनलाई अचम्मित तुल्यायो । हिलारी क्लिन्टनको पुस्तक पढेपछि कसरी विश्वमा प्रथम महिलाको सक्रिय सहभागितालाई दुत्कारिन्छ भन्ने सन्देश मिलेको उनको भनाइ छ । यो मानेमा जीवनमरणको ठेगान नभएको जनयुद्धकालीन भूमिगत जीवन उनको बालु्वाटारको बसाइभन्दा धेरै हदसम्म खुसी र उमंगमय थियो । 

 

डा. भट्टराई प्रम हुँदा आफूलाई समानान्तर सरकार चलाएको आरोप पनि लागेको उनी थप्छिन् । पार्टीको आर्थिक कमिटीको सदस्यको नाताले चन्दा संकलन गरेको, तर भ्रष्टाचारको आरोप लाग्दा पार्टीले रक्षा नगरेको उनको दुःखेसो छ । त्यसैगरी, दोस्रो संसदीय निर्वाचनमा पार्टीले धेरै हदसम्म चुनाव हार्नुको मूल कारण पार्टी नेतृत्वको राजनीतिक अडान स्पष्ट नभएको र अस्वस्थ अन्तरपार्टी संघर्ष रहेको बताउँछिन् । 

 

पुस्तकको तेस्रो खण्ड माओवादी खुला राजनीतिमा आएदेखि हालसम्म राजनीतिमा के–कस्ता परिवर्तन आए भन्ने व्याख्या गरिएको छ । अबको राजनीतिको नयाँ बाटो, एक्काइसौँ शताब्दीको लोकतान्त्रिक विकासको अभ्यास र आर्थिक रूपान्तरणका लागि आर्थिक वृद्धि, समावेशी सहभागितामूलक, दिगो समाजवादको स्थापना गर्नु नै हो, उनको बुझाइ छ । जसका लागि हाल केपी ओलीहरू एक ध्रुवमा र जसपालगायत नेपाली कांग्रेस, नेकपा (माओवादी), एमाले–नेपाल/खनाल पक्ष र अन्य लोकतान्त्रिक शक्तिहरू अर्कोतिर ध्रुवीकृत हुनुपर्ने अवस्था सिर्जना भएको छ । जनयुद्ध र त्यसपछिका दिनमा आफ्नै पार्टी माओवादीभित्रको अन्तरसंघर्ष त हाल आएर सत्तापक्षमा रहेका अलोकतान्त्रिक र असंवैधानिक हर्कतका विरुद्ध पैदा भएको अर्को संघर्षको सामना गर्नु हालको मूल मुद्दा हो । 

 

नेपालको जनयुद्ध र त्यसपछिका परिणतिहरूबारे अंग्रेजी भाषामा यति विस्तृतमा सायदै पुस्तकहरू लेखिएका छन् । १० वर्षे जनयुद्धमा अर्थपूर्ण सहभागिता जनाएकी लेखकले यस पुस्तकमा राखिएका तथ्यपरक र स्पष्ट धारणाले उनको इमान झल्काउँछ । गरिबी र शोषण रहेसम्म पितृसत्ता रहिरहन्छ र पितृसत्ताले यी कुराको अन्त्य हुन दिँदैन भन्ने निचोडमा रहेकी उनको सारमा संसारमा धेरै आन्दोलन भए, तथापि गरिब, शोषित र महिला सबैभन्दापछि मुक्त हुनेछन् भन्ने उनको तथ्यपरक अभिव्यक्ति हो, जुन ध्रुवसत्य छ । 

 

पार्टी अन्तरसंघर्षले समाजमा अग्रगमनको बाटो प्रशस्त गर्छ भन्ने सन्देश दिन खोजेको यो पुस्तकले राजनीतिलाई मूल विषयवस्तु बनाए तापनि यसमा उल्लेख भएका विभिन्न पक्षले यो पुस्तक राजनीतिज्ञ, विद्यार्थी, शोधकर्ता, अनुसन्धानकर्ता, नारीवादी, योद्धा, साथै नेपालको जनयुद्धलाई सूक्ष्म रूपमा अध्ययन गर्न खोज्नेहरूका लागि उपयोगी छ । लेखकलाई शुभकामना ।

 

[email protected]